विकासन्युज

रौतहट र बारामा थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ सय ४

काठमाडौं । रौतहट र बारा जिल्लामा थप ९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडाैंमा गरिएको परीक्षणमा रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामाईमा १ जनामा कोरोना पुष्टि भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । जो रौतहट, इशनाथ नगरपालिका- २, ३, ६ र ९ निवासी २१, २१, २३, २५, २५, २९, ३० वर्षिय पुरुषहरु र रौतहट माधवनारायण नगरपालिका -३ निवासी २८ वर्षिय महिला र बारा जिल्लाको करैयामाई- ५ निवासी ३८ वर्षिया पुरुषमा कोरोना पुष्टि भएको हो । हाल सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इन्धनको मूल्य नघटाउन पेट्रोलियम व्यवसायीको मन्त्रीलाई चिठी

काठमाडौं । पेट्रोलियम व्यवसायीले इन्धनको मूल्य नघटाउन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई पत्र लेखेको पाइएको छ । २ जेठमा इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ मूल्यसूची घटेर आउने अनुमानका आधारमा एक दिनअघि बागमती पेट्रोलियम डिलर्स एसोसिएसनले मन्त्री भट्टलाई मूल्य नघटाउन दबाब दिएको हो । एसोसिएसनमा उपत्यकासहित बागमती प्रदेशका पेट्रोलपम्प व्यवसायी सदस्य छन् । बाँसबारीको खड्का आयल स्टोरका सञ्चालक अच्युत खड्का यसका अध्यक्ष छन् । उनको पम्पलाई नाकाबन्दीका वेला इन्धनमा कालोबजारी गरेको र डेढ वर्षअघि पनि चालकको हडतालमा तेल लुकाएको आरोपमा कारबाही गरेको थियो । अध्यक्ष खड्काले मन्त्रालयमा सचिव वैकुण्ठ अर्याल र आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेललाई मन्त्रीसम्म पुग्ने गरी पत्र दिएको बताए । ‘मैले सचिव (अर्याल)का अगाडि जिएम साहेब (पौडेल)लाई पत्र दिएको हुँ,’ उनले भने, ‘मूल्य घटाउनुहुँदैन भनेर पत्र लेखेको हो । ट्रक ढुवानी, ट्याक्सी भाडाको भाउलगायत घटेन । अनि किन भाउ घटाउनु भनेर सुझाब दिएको हुँ । म अध्यक्ष भएको नाताले डिलर र उपभोक्ताको कुरा उठाएको हो ।’ स्रोतका अनुसार खड्काले लेखेको पत्रलाई पम्प व्यवसायीको केन्द्रीय संगठन पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले समर्थन गरेको छैन । एसोसिएसनका एक केन्द्रीय सदस्यले भने, ‘हामी व्यवसायीले मूल्य घटाउनु र बढाउनु भनेर पत्र लेख्दैमा केही हुँदैन । फेरि लबिङ नै गर्नु थियो भने भेटेर कुरा राखेको भए हुन्थ्यो । पत्र नै लेखेर संगठनको बेइज्जत नगरेको भए हुन्थ्यो ।’ मन्त्री भट्टले पहिलेदेखि नै लकडाउनभर मूल्य नघट्ने सार्वजनिक टिप्पणी गर्दै आएका थिए । स्रोतका अनुसार आफूलाई नेकपा पूर्वमाओवादी बताउने खड्काले मन्त्री भट्टको नजरमा पर्न यस्तो पत्र पठाएका हुन् । अहिले बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोमा नयाँ प्रमुख प्रदीप यादव पुगेका छन् । निगमकै हितमा काम गरिरहेको देखाएर यादवको प्यारो बन्न खड्काले पत्र लेखेको स्रोतको भनाइ छ । यता, आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले खड्काको पत्र आएको भोलिपल्ट २ जेठमा विज्ञप्ति जारी गर्दै मूल्य समायोजन नगरेको जानकारी दिएका थिए । पेट्रोलियमको माग अत्यन्त न्यून रहेकाले मूल्य समायोजन नभएको विज्ञप्तिमा उल्लेख छ । लकडाउनका कारण इन्धन खपत करिब २० प्रतिशत मात्र रहेको आयल निगमले जनाएको छ । (नयाँपत्रिकाबाट)

अमेरिकन आइडलको उत्कृष्ट २ मा दिवेश पोखरेल

काठमाडौं । नेपालका दिवेश पोखरेल ‘अमेरिकन आइडल’को उपविजेता अर्थात उत्कृष्ट २ मा स्थापित गरेका छन् । अर्थरगनको नामले अमेरिकन आइलमा आफूलाई स्थापित गरेका पोखरेल फाइनल राउन्डमा उपविजेता भएका हुन् । विजेता उपाधि  २१ वर्षीया जस्ट सामको वास्तविक नाम समन्था डियाज भएकी छिन् । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । त्यस्तै पछिल्लो समय कोरोनाको संक्रमण फैलिएसँगै अमेरिकन आइडलमा सहभागि सबै प्रतियोगीले आफ्नो घरबाट प्रस्तुती प्रस्तुत गर्दै आएका हुन् । यसअघि २२ वर्षिय दिवेशले गेभिन डिग्रको ‘आइ डोन्ट वान्ट टु बि’ बोलको गीतमा आफ्नो प्रस्तुति दिदैं उत्कृष्ट पाँचमा पुगेका थिए ।  ‘अमेरिकन आइडल’को १९ औं संस्करणमा दाेस्राे विजेता घाेषित भएका हुन् । सम्बन्धित समाचार : अमेरिकन आइडलको उत्कृष्ट ७ मा नेपालका दिवेश

भक्तपुरका २९ पत्रकारको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपाल कोरियामैत्री अस्पतालले सञ्चालनमा ल्याएको पिसिआर मेशिनसहितको ल्याबमा गरिएको कोरोना परीक्षणमा भक्तपुरका क्रियाशील पत्रकारको नतिजा नेगेटिभ आएको छ । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा गत शुक्रबार भक्तपुर जिल्लाका कार्यरत २९ पत्रकारको स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गरिएको थियो । ल्याबले आइतबार नतिजा सार्वजनिक गर्दै परीक्षण भएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए । समाचार सङ्कलनका क्रममा अग्रभागमा रहेर काम गर्ने क्रियाशील पत्रकारको कोरोना परीक्षण गर्न नगरपालिकाले आग्रह गरी स्वाब सङ्कलन गरेको थियो । यसअघि सोही ल्याबमा नगरपालिकाका जनप्रतिनिधिका साथै विदेशबाट मध्यपुरथिमिमा फर्किएका करिब १ सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । ती सबैको नतिजा नेगेटिभ नै आएको उनले जानकारी दिए । रासस

इ पास र पहेंलो रङको सवारी पास खारेज, पैदल हिड्न पनि निषेध

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले इ पास र पहेलो रङका सवारी पास रद्ध गरि निलो रंगको पास जारी गर्ने भएको छ । उपत्यकाभित्र अनावश्यक हिड्ने तथा पैदल यात्रुहरुलाई काठमाडौं प्रवेशमा निषेध गरिएको छ । कोरोनाको संक्रमण बढेसँगै लकडाउनलाई थप प्रभावकारी बनाउनका अतिआवश्यक सामग्री ढुवानीका सवारी तथा स्वास्थ्य सेवाका एक्बुलेन्स संचालन हुने छन् । सवारी पास आवश्यक पर्ने व्यक्ति तथा संस्थाहरुले नियामक निकायहरुमा सम्पकै गर्न तथा नियामक निकाय नतोकिएकाले हकमा जिल्ला प्रशासन कार्यालयबाट लिन सकिने छ । काठमाडौंका मूल सडक, भित्री सडक तथा गल्लीहरुमा विभिन्न बहानामा मानिसहरुको अनावश्यक भीडभाड नगर्न आग्रह गर्दै त्यस्तो गरेका सुरक्षाकर्मीले प्रचलित कानून बमोजिम कारबाहीका लागि नियन्त्रणमा लिन सक्ने जनाएको छ ।  गत बैशाख २८ र जेठ दुई गते जारी गरेको सूचनामा केहि द्धिविधा उत्पन्न भएकोले जिल्ला प्रशासन कार्यालय काठमाडौं सो सूचना जारी गरेको हो । शव बाहन, औषधी तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, खानेपानी ढुवानी संलग्न सवारी तथा ट्याकर, सबै प्रकारका खाद्य वस्तु, कृषि कार्यसँग सम्बन्धित सामग्री, पशुपक्षीजन्य आहारा, मासु तथा तरकारी एवं फलफूल, दुधजन्य पदार्थ बोकेका सवारी साधजहरु पास विना परिवहन हुने सक्ने छन् । त्यस्तै निर्माणका सामग्री बोक्ने सवारी साधनहरु बेलुकी ८ बजेदेखि विहान ६ बजेभित्र सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं स्वीकृति दिएको छ ।

शहरको भिडमा बिहान र साँझको हिँडाइ बन्द गरौं

काठमाडौं । लकडाउनको अवधि लम्बिँदै जाँदा बिहान र साँझ हिँड्नेको सङ्ख्या बढ्दै गएको छ । साँघुरा बाटामा समेत हिँड्नेहरूको सङ्ख्या बढेपछि जोखिम थपिएको चिकित्सकहरू बताउँछन् । मानव स्वास्थ्यका लागि व्यायाम अतिआवश्यक पर्दछ । चिकित्सकहरूले पनि बिहान बेलुकी हिँड्न सुझाव दिने गर्दछन् । यतिबेला लकडाउनका कारण दिनभर घरमा खाएर बस्ने मात्रै गर्दा विभिन्न रोग लाग्न सक्ने जोखिम त्यतिकै छ । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख डा प्रकाश खतिवडा भिडमा बाहिर नहिँड्न सुझाव दिएका हुन् । तीन मिटर फरकमा गुणस्तरीय मास्क लगाएर हिँड्न सकिने भए पनि त्यो सबै व्यवस्थापन शहरी क्षेत्रमा सम्भव नहुने भएकाले जोखिम नमोल्न उनको सुझाव छ । घरमा योग गर्न सुझाव दिँदै खतिवडाले अहिलेको अवस्थामा सबै सचेत हुनुपर्ने बताए । साँघुरा सडकमा गाडी आउँदा बीचको भाग छोड्नु पर्छ । छेउबाट भिड गरी हिँड्दा उच्च जोखिमको सम्भावना रहन्छ । वरिष्ठ फिजिसियन डा कालिदास अधिकारी सामाजिक दूरी कायम गरेर तीन पत्रे (ट्रिपल लेयर) सर्जिकल मास्क प्रयोग गर्दा कम जोखिम भए पनि भिडमा नहिँड्नु नै उपयुक्त भएको बताए । अहिले बजारमा त्यस्ता मास्क पाउनै मुस्किल भएको भन्दै यो जोखिमको समयमा घरमै व्यायाम गर्न उनले सुझाव दिए । पहाडी र खाली ठाउँमा हिँडडुल गर्न र सामाजिक दूरी कायम गरी खेतमा काम गर्न सकिए पनि शहरी क्षेत्रमा नहिँड्न उनको सुझाव छ । अहिले जिल्लाको शहरी क्षेत्रमा बिहान सबेरैदेखि र साँझ हुलका हुल मानिस हिँड्ने गरेको पाइन्छ । विगतमा भन्दा धेरै मानिस हिँड्ने गरेको देखिन्छ । मास्कविना र साधारण कपडाको मास्कमा हिँड्डुल गरेको पाइन्छ । सामाजिक दूरी कायम गर्न कठिन छ । नजिकैबाट हिँड्नेले खोक्दा, थुक्दा, हाच्छ्यु गर्दा यसको जोखिम हुने अधकारीको भनाइ छ । घरमै बस्ने र व्यायाम गरेमा सबै रोगबाट बच्न सकिने चिकित्सकको सुझाव छ । नदीमा पौडी खेल्ने क्रममा दुई जना वेपत्ता नारायणी नदीमा डुबेर दुई जना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१६ का २५ वर्षीय प्रवीण दवाडी र २५ वर्षीय विवेक भट्टराई रहेका छन् । उनीहरु आइतबार दिउँसो ४ः३० बजे महानगरपालिका–१६ को गणेश मन्दिर नजकै नदीमा पौडी खेल्ने क्रममा डुबेर वेपत्ता भएका हुन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४७ लाख ९८ हजार ९ सय ५४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १६ हजार ५ सय १४ जनाको मृत्यु भइसकेको छ भने १८ लाख ५५ हजार १ सय २९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९० हजार ९ सय ७३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख २७ हजार ३ सय ५२ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ९५ हजार ६ सय ९८ पुगेको छ भने अहिलेसम्म ३ हजार २५ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म २ सय ९५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

कोरोनाबाट निधन भएका युवकको अन्त्येष्टि

राँझा । बाँकेको नरैनापुरस्थित क्वारेन्टिनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आज अन्त्येष्टि गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परानुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो । भारत, महाराष्ट्र मुम्बईबाट गत वैशाख ३० गते बाँके आएलगत्तै नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टिनमा बस्दैआएका ती युवकको आज बिहान ४ बजेतिर दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो । शनिवार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आज अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारिन्टनमै राखिएको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि आजै बसेको जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टिनदेखि करीब ३ किमीको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय भएअनुसार दाह संस्कार गरिएको हो । सङ्क्रमित ब्यक्तिको सम्पर्कमा रहेको आधारमा नरैनापुरका विभिन्न क्वारेन्टिनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएपछि प्राथमिकताका साथ आज उनको स्वाब परीक्षणको गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।