विकासन्युज

बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन बृद्धिदर घट्यो, रेमिटान्स पनि घट्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा संकलन हुने निक्षेप र प्रवाह हुने कर्जाको बृद्धिदर कम भएको छ । गत आर्थिक वर्ष (आव) को तुलनामा चालु आवको चैत मसान्तसम्म निक्षेप संकलन र कर्जा प्रवाहको बृद्धिदर कम भएको देखिएको हो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांकले यस्तो देखाएको हो । गत चैत मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंक तथा वित्तीय संस्थाको निक्षेप बृद्धिदर करिब १ प्रतिशतले घटेको हो । गत चैत मसान्तमा चल्ती, बचत र मुद्दतीको कुल निक्षेपमा क्रमशः ८.५ प्रतिशत, ३२.२ प्रतिशत र ४९.३ प्रतिशत अंश रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.६ प्रतिशत, ३३.६ प्रतिशत र ४७.३ प्रतिशत रहेको थियो । गत चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.४ प्रतिशत रहेको छ । २०७५ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४५.२ प्रतिशत रहेको थियो । कर्जा प्रवाह चैत मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । गत वर्षको चैत मसान्तसम्मको तुलनामा चालु आवको चैत मसान्तसम्ममा कर्जा प्रवाहको बृद्धिदर ५ प्रतिशतले कम देखिएको हो । बैंक तथा वित्तीय संस्थाको गत चैत मसान्तमा लगानीमा रहेको कर्जामध्ये ६५.१ प्रतिशत घरजग्गाको धितोमा र १३.३ प्रतिशत चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । गत वर्षको चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४ प्रतिशत र १४.१ प्रतिशत रहेको थियो । रेमिटान्स गत चैत मसान्तसम्मको अवधिमा विप्रेषण (रेमिटान्स) आप्रवाहमा ४ प्रतिशतले कमी आई ६ खर्ब २६ अर्ब ९० करोड रुपैयाा कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो । चैत मसान्तसम्मको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो । एक वर्षको अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई ७ खर्ब १३ अर्ब ११ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो । चालु खाता १ खर्ब ३५ अर्ब घाटामा, शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड बचतमा एक वर्षको अवधिमा चालु खाता घाटा १ खर्ब ३५ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २ खर्ब ४ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १८ करोड रहेको छ । पुँजीगत ट्रान्सफर ११ अर्ब ६२ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ४८ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ४८ करोड रुपैयाँ र प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब १० करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति ३६ अर्ब ६१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६४ अर्ब ६८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ । निर्यात १३ प्रतिशतले बढ्यो, आयात साढे ७ प्रतिशतले घट्यो चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ७८ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २५.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१ प्रतिशत र ७.५ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात घटेको छ । चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर ९ खर्ब ८२ अर्ब ५३ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१ प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३ प्रतिशत र १.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ । निर्याततर्फ वीरगंज, विराटनगर, मेची र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा कमी आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ । व्यापार घाटा ९ खर्ब चालु आर्थिक वर्षको नौ महिनामा कुल वस्तु व्यापार घाटा ८.९ प्रतिशतले संकुचन भई ९ खर्ब ३ अर्ब ७२ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले वृद्धि भएको थियो । निर्यात–आयात अनुपात ८.० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६.६ प्रतिशत रहेको थियो । गत चैत महिनामा भन्सार तथ्याङ्कमा आधारित वार्षिक बिन्दुगत आधारमा निर्यातको एकाइ मूल्य सूचकाङ्क ०.६ प्रतिशतले बढेको छ भने आयात मूल्य सूचकाङ्क ३.२ प्रतिशतले घटेको छ । २०७५ चैत महिनामा वार्षिक बिन्दुगत आधारमा १.९ प्रतिशतले घटेको व्यापारको शर्त २०७६ चैत महिनामा ३.९ प्रतिशतले बढेको छ । मूल्यबृद्धि करिब ७ प्रतिशत गत चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यबृद्धि ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ । काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।

प्रदेश नं २ मा कोरोना सङ्क्रमित १ सय ३१

जनकपुरधाम । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ३१ पुगेको छ । समाजिक विकास मन्त्रालयको कोरोनासम्बन्धी तथ्याङ्कअनुसार यस प्रदेशमा आइतबारसम्ममा १ सय २२ जना कोरोना सङ्क्रमित थियो । सोमबार बिहान ९ जना थपिएपछि यो सङ्ख्या १ सय ३१ पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा बिहान जारी गरिएको विज्ञप्तिमा यस प्रदेशअन्तर्गतका रौतहटका ८ र बाराका १ गरी ९ जना कोरोना सङ्क्रमित पुष्टि भएको उल्लेख गरिएको छ । जो ९ जना संक्रमितमा रौतहटको इशनाथपुर नगरपालिकाको २, ३, ६ र ९ वडाका २१ देखि ३० वर्षसम्मका सात जना पुरुष, माधवनारायण नगरपालिका–३ की २८ वर्षीया महिला र बारा जिल्लाको करैयामाई–५ का ३८ वर्षीय पुरुष रहेका थिए । सोमबार बिहानसम्म प्रदेशको ८ जिल्लामध्ये रौतहटमा २१, बारामा ५, पर्सामा ९१, धनुषामा ५, महोत्तरीमा ४, सर्लाहीमा ३, सप्तरी र सिरहामा १/१ जनामा कोरोना पुष्टि भएकाे छ ।

कोरोना बीमासँग जोडेर आफ्नो विज्ञापन नगर्नुहोस्- राजुरमण पौडेल

काठमाडौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले कोरोना बीमासँग जोडेर आफ्नो विज्ञापन नर्गन जीवन बीमा तथा अन्य संस्थाहरुलाई निर्देशन दिएका छन् । उनले निर्जीवन बीमा व्यवसाय गर्ने बीमक बाहेक अन्य संस्थाहरुलाई कोरोना बीमासँग जोडेर आफ्नो सेवा व्यवसाय बिक्री नगर्न निर्देशन दिएका हुन् । उनले सोमबार एक सूचना जारी गर्दै बीमा ऐन, २०४९ बमोजिम यस्तो नर्गन तथा नगराउन अन्य संस्थाहरुलाई अनुरोध गरेका हुन् । हाल कोरोना बीमालेखसँग जोडी केही जीवन बीमा व्यवसाय गर्ने बीमाक तथा अन्य संस्थाहरुले समेत कोरोना बीमा गर्ने र निःशुल्क कारोना बीमा गरिदिने भन्दै प्रचार गरेकाेमा बीमा समितिको ध्यानाकर्षण भएको छ । त्यसैले, अबका दिनमा सो सम्बन्धि प्रचार प्रसार नर्गन उक्त संस्थाहरुलाई समितिले निर्देशन दिएको छ । समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमा गराउन स्वीकृति दिईसकेको छ ।

चिउराकै भरमा ९ दिन पैदल यात्रा, दालभात कस्तो हुन्छ भन्ने भइसक्यो

सुर्खेत । “रसुवा जिल्लाबाट हिँडेको आज नौ दिन भयो तर पनि घर पुग्न सकेका छैनौं । प्रहरीले जान नदिएपछि १२ घण्टादेखि बबईमा थन्किएका छौं”, डुङ्गेश्वर गाउँपालिका–३ कल्सीगाउँ दैलेखका हर्कबहादुर बुढामगरले दुःखेसो पोखे । हर्कबहादुरसहित पाँच जनाको टोली गत फागुन अन्तिम साता ज्याला मजदुरीका लागि रसुवा जिल्लाको आमा छेदुङ्मोमा पुगेको थियो । भूकम्प पीडितहरुको घर निर्माण गर्न पुगेको उनीहरुको ज्यालादारी काम दुईसाता नपुग्दै रोकियो । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि कामविहीन भएको हर्कबहादुरले बताए । उनले भने, “लकडाउन खुलेपछि घर फर्कने आश गर्दै करिब दुई महिना बित्न थाल्यो । कमाउने आधार बन्द हुँदा खान बस्न समस्या भयो । बन्दले गाडी पाउन सक्ने अवस्था रहेन । त्यसपछि हिँड्न बाध्य भयौं । ९ दिनपछि आज आफ्नै प्रदेशको मूलद्वारमा आएका छौं ।” अर्का मजदुर कर्णबहादुर बुढामगरले ९ दिनसम्म चिउरा र चाउचाउ खाएर मात्र पैदलयात्रा गरेको बताए । उनले दुःखेसो पोख्दै भने, “बाटोमा कतै पनि खाना पाइएन । चिउरा र चाउचाउ पनि कठिनले पाउने अवस्था रह्यो ।” यति दुःखका साथ आफ्नै प्रदेशमा पुगेर घर पुग्ने अवस्था असहज भएपछि भने निकै दुःख लागेर आएको उनको भनाइ थियो । उनले सरकारले घर पुर्याएपछि स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्ने बताए । यता डुङ्गेश्वर गाउँपालिका दैलेखका अध्यक्ष नगेन्द्र मल्लले प्रदेश सरकारले दैलेख–सुर्खेतको सीमा पुर्याएपछि मात्र आफूहरुले बुझ्ने बताए । “हामीलाई बबई नाकाबाट आफैंले ल्याउने अनुमति छैन”, अध्यक्ष मल्लले भने, “यसका लागि कर्णाली प्रदेश सरकारसँग आवश्यक समन्वय भइरहेको छ ।” दालभात कस्तो हुन्छ भन्ने भइसक्यो पोखराबाट हिँडेर सात दिनपछि कर्णाली प्रदेशको बबई सीमानाकामा पुगेका मुगु खत्याड गाउँपालिका निवासी पञ्चबहादुर रावतले पैदल अवधिभर खाना नपाएको गुनासो गरे । मजदुरीका लागि पोखरा गएका उनले नेपाल सरकारले गरेको लकडाउनले काम गर्ने ठाउँ नै बन्द भएपछि कमाउने आधार सकिएको बताए । “कमाएको पैसा यो बीचमै सकियो । त्यसपछि त्यहाँबाट हिँडे”, रावतले भने । दाङ पुगेपछि भने रसुवाबाट फर्केका डुङ्गेश्वर गाउँपालिका दैलेखका साथीहरुसँग भेट हुँदा यात्रा अलि सहज भएको बताए । उनले भने, “यो सात दिनको १४ छाक चाउचाउ र चिउरा खाएरै पैदल हिँडिएको छ । दालभात कस्तो हुन्छ भन्ने भइसक्यो । बाटोमा खानबस्न कसैले नदिँदा यात्रा झनै कष्टकर बन्यो ।” कर्णाली प्रदेशका थुप्रै बबई पुग्दा पनि मुगु पुग्ने यात्राको टुङ्गो नलाग्दा घर पुग्ने पिरलोले सताएको भन्दै दुःख व्यक्त गरे । गाउँकै स्थानीय क्वारेन्टाइनमा बस्ने भन्दै रावतले सुर्खेत, दैलेख, कालीकोट, बाजुरा भएर मात्र मुगु सकिने भएकोले घरसम्म पुर्याइदिन सरकारलाई आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारीले बबई पुग्ने सबै कर्णालीवासीलाई सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको समन्वयमा जिल्ला पठाइने बताएकाे छ ।  रासस

बूढानीलकण्ठको तेञ्जिङ चोक सिल, तारकेश्वरमा प्रवेश निषेध

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नं १२ स्थित तेञ्जिङ चोकमा बसोबास गर्ने एक १८ वर्षीया युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि उक्त क्षेत्र बन्द गरिएको छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ १२ स्थित तेञ्जिङ चोक बसोबास गदैँ आएकी युवतीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि २ सय ५० मिटर वरपर सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले बताए । पिसिआर परीक्षण पोजिटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पनि पिसिआर परीक्षण गर्ने बताइएको छ । युवतीको पिसिआर रिपोर्ट पोजिटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गरिएको नगर प्रमुख खरेलले जानकारी दिए । उक्त क्षेत्रमा आगामी तीन दिन एक टोलबाट अर्को टोलमा हुने आवतजावत रोकिने बताइएको छ । आवतजावत रोक्नका लागि प्रहरी र स्वयंसेवक परिचालन गरिएको थाहा भएको छ । तारकेश्वरमा प्रवेश निषेध तारकेश्वर नगरपालिकाले अनुमतिविना अपरिचित व्यक्ति र सवारी साधनलाई प्रवेश निषेध गर्ने भएको छ । कोभिड –१९ को संक्रमण मुलुकमा बढ्दै गएकाले नगरपालिकाभित्र अनुमति नलिई प्रवेश गर्न खोज्ने अपरिचित व्यक्ति तथा सवारी साधनलाई नगरपालिका क्षेत्र प्रवेशमा कडाइका साथ रोक लगाइने नगर प्रमुख रामेश्वर बोहराले जानकारी दिए । नगरपालिकाले लकडाउन अवधिमा काठमाडौँ उपत्यका बाहिरबाट कुनै व्यक्ति आफ्नो घर, टोल वा क्षेत्रमा प्रवेश गरेको जानकारी पाएमा तत्काल प्रहरीचौकी, स्वास्थ्यचौकी, वडा कार्यालय र नगरपालिकालाई खबर गर्न आग्रह गरेको छ । नगरपालिकाभित्र सञ्चालित खाद्य सामग्री, तरकारी, ग्यास र दुग्धजन्य पसल दिनको एक पटक बिहान ५ देखि ९ बजेसम्म खोल्न दिइने बताइएको छ । नगरपालिकाभित्र सञ्चालित व्यवसाय एवं उद्योगमा कार्यरत श्रमिकको स्वास्थ्य सुरक्षाको जिम्मा सम्बन्धित उद्योगधनी तथा व्यवसायीले पूर्ण रुपमा लिई सञ्चालन गर्नुपर्ने नगरपालिकाले जनाएको छ । यस्तै कुनै पनि वडामा राहत वितरण र खाना खुवाउने कार्य अबउप्रान्त नगरपालिकाको पूर्वस्वीकृति विना प्रवेश निषेध रहेको बताए । रासस

सरकारकाे अनुमति पाउने वित्तिकै चुनढुंगा संकलनमा जुटे सिमेन्ट उद्याेग

काठमाडौं । सरकारले उद्याेग संचालनकाे अनुमति दिए लगत्तै सिमेन्ट उद्याेगहरू चुनढुंगा संकलनमा जुटेका छन् । वर्षायाम सुरू हुनअघि नै चुनढुंंगा संकलन गरिसक्नु पर्ने भएकाेले सिमेन्ट उद्याेगले चुनढंगा संकलनमा बढी जाेड दिएका हुन् । वर्षायामको समय हुनुभन्दा अगाडी नै आउँदो मंसिरसम्मका लागि आवश्यक पर्ने चूनढुंगा संकलन गर्नुपर्ने सिमेन्ट उद्योगहरू बताइरहेका छन् । सरकारले लकडाउन केही खुकुलो गरेर संचालन गर्न दिने भनेका  ४४ प्रकारका उद्योगमा सिमेन्ट उद्याेग पनि परेका छन् । गत वर्षको चैत ११ गतेदेखि जारी लकडाउन यो वर्षको २६ वैशाखसम्म सबै अति अवाश्यक बाहेकका उद्योग कलकारखाना बन्द थिए । २६ वैशाखदेखि सरकारले कलकारखाना सञ्चालन गर्ने निर्णय गरेको थियो । सरकारले कलकारखाना सञ्चालन गर्ने निर्णय गरेपछि पनि दिएको पास २ पटक रद्ध गरिसकेको छ । अब भने उद्योग विभागले पास वितरण सुरु गरेको छ । सरकारले उद्योग सञ्चालन गर्न लकडाउन खुकुलो पार्ने निर्णय गरेपछि सिमेन्ट उद्योगीहरू उत्साही भएका थिए । उद्योग खोलेर सिमेन्ट उत्पादन गरी बजार पठाउ भन्दा पनि सिमेन्टको कच्चा पदार्थ चूनढुंगाको खानी सञ्चालन गर्न पाइने भएकाले उनीहरू उत्साही भएका थिए । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले नेपालका सिमेन्ट उद्योगहरुमध्ये अधिकांशले आफैँ चूनढुंगाको खानी सञ्चालन गर्ने गरेको बताए । चूनढुंगा उत्खनन् नगर्ने उद्योगहरुले अन्य उद्योगको खानीबाट चूनढुंगा किनेर सिमेन्ट उत्पादन गर्दै आएका छन् । ‘उद्योग विभागमा १ सय २० वटा सिमेन्ट उद्योग दर्ता भएका छन्, त्यसमध्ये अहिले ६१ वटा मात्रै सिमेन्ट उद्योग सञ्चालनमा छन् । ६१ वटा सिमेन्ट उद्योगमध्ये २१ वटाले खानीबाट चूनढुंगा उत्खनन् गर्छन्’, थापाले भने । सिमेन्ट उद्योगदेखि चूनढुंगा खानीबीचको दूरी लामो छ । उद्योगदेखि खानीसम्म जाने बाटो भएकाले वर्षा सुरुभएपछि चूनढुंगा संकलन गर्न समस्या हुन्छ । वर्षायामभन्दा अघि नै उद्योगहरू चाहिने र अन्य उद्योगलाई बेच्ने चूनढुंगा संकलन गरिसक्नुपर्छ । उद्योगहरूले अघिल्ला वर्षमा आउने मंसीरसम्म पुग्नेगरी चूनढुंगा संकलन गरेर राख्ने गरेका थिए । विश्वभर कोरोना फैलिदै जादा नेपालमा लकडाउन सुरु भयो । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ११ चैतदेखि लकडाउनको घोषणा गरेपछि कच्चा पदार्थ संकलनको काम ठप्प भएको थापाले बताए । उद्योगी पशुपति मुरारकाले बर्षा सुरु हुन लागेकाेले समयमा नै चूनढुंगा संकलन गर्नुपर्ने बताए । अबको केही दिनभित्र नै आगामी ६ महीनाको लागि आवश्यक पर्ने सिमेन्टको कच्चा पदार्थ संकलन गरिसक्नुपर्ने चूनौती आएको बताए । संघका अनुसार गत वर्ष नेपालमा एक करोड टन सिमेन्ट खपत भएको थियो । गत वर्ष नै नेपालका सिमेन्ट उद्योगहरूको उत्पादन क्षमता बढेर एक करोड ६० लाख टन पुगेको थियो । आगामी आर्थिक वर्षमा भने नेपाल सिमेन्टमा भारतसँग निर्भर हुनुपर्ने चिन्ता बढ्दै गएको उद्योगीहरू बताउछन् । चूनढुंगा संकलन गरिसक्नुपर्ने पर्ने समय चैत र वैशाखमा काम गर्न नपाइएकाले यस्तो चुनौती बढ्दै गएको हो । सिमेन्ट उद्योग संघका अध्यक्ष थापाले आगामी वर्ष नेपालमा हुने खपतको परिणाम बढे परनिर्भता बढ्ने निश्चित रहेको बताए । वर्षभरि नै लकडाउन कायम रहेर निर्माण क्षेत्रका काम ठप्प भए माग घट्ने र उत्पादन पनि घट्दा खासै समस्या आउदैन । नेपाल सिमेन्टमा आत्मनिर्भर भए पनि सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने जिप्सम र कोइला लगायतका कच्चा पदार्थ भने केही मात्रामा आयात हुँदै आएको छ । बजार ठप्प रहेको अवस्थामा उद्योगबाट सिमेन्ट उत्पादन गर्न आवश्यक नरहेको सिमेन्ट उद्योगीहरु बताउछन् । सिमेन्ट उद्योगहरूले आंशिक क्षमतामा सिमेन्ट उत्पादन थाल्ने तयारी गरेका छन् ।

डोनाल्ड ट्रम्प भन्छन्: ओबामा र बाइडनलाई जेल हाल्नु पर्छ

काठमाडाैं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामा र पूर्वउपराष्ट्रपति जो बाइडनलाई जेल पठाउनुपर्ने बताएका छन् । अमेरिकाकाे एक टेलिभिजनसँग कुराकानी गर्दै उनले साे कुरा बताएका हुन् । उनल्ओे बामा र बाइडन माइकल फ्लिनको मुद्दामा  दोषी रहेको भन्दै उनीहरुलाई जेल हाल्नुपर्ने बताएका हुन् । ‘म रिपब्लिकन नभई डेमोक्रेट भएको भए सबैजना उहिल्यै जेलमा पुगिसकेका हुन्थे, म ५० वर्षको जेल सजायको कुरा गर्दैछु,’ उनले फक्स बिजनेसमा मारिया बार्टिरोमोसँग कुरा गर्दै भने । त्यसलगत्तै उनले ट्वीट गर्दै ओबामा प्रशासन भ्रष्ट भएकाले आफू निर्वाचित भएको बताएका छन् ।

कोरोना सङ्क्रमितको शव जलाएपछि विद्युतीय शवदाह गृह सञ्चालनको तयारीमा

काठमाडाैं । कोरोनाको सङ्क्रमणबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरिएको पशुपतिस्थित विद्युतीय शवदाह गृह आजदेखि सञ्चालनमा ल्याउने तयारी भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोरोना सङ्क्रमित भई निधन भएकी सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका–९ की सुत्केरी महिलाको गत शनिबार राति शवदाह गरेपछि विद्युतीय यन्त्र भएको कक्षलाई ३६ घण्टासम्म सिल गरी सरसफाइ गरिएको कोषका निर्देशक राजु रेग्मीले राससलाई जानकारी दिए । सरसफाइपछि आज अपराह्नदेखि विद्युतीय शवदाह गृह पूर्ववत् सञ्चालनमा ल्यााउने गरी तयारी भइरहेको छ । शवदाहमा संलग्न भएका छ जना कर्मचारीको पिसिआर परीक्षणसमेत गर्न लागिएको उनले जानकारी दिए । कोरोना सङ्क्रमितलाई जलाउने क्रममा विद्युतीय शवदाह गृहमा संलग्न कर्मचारीले लगाएको व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) पनि नष्ट गरिएको छ । कोरोना सङ्क्रमित भई निधन भएकाको शव जलाएपिच्छे पिपिई परिवर्तन गर्दा अभाव हुनसक्ने चुनौतीसमेत थपिएको छ । कोरोना सङ्क्रमितलाई जलाएपछि शवदाह गृह सफाइका लागि ३६ घण्टा बन्द गर्नैपर्ने भएकाले सेवा सञ्चालनमा समस्या आएको छ । सुरक्षाका कारण कोरोना सङ्क्रमितलाई आर्यघाट र भष्मेश्वर घाटमा जलाउन नसकिने कोषले जनाएको छ । विद्युतीय शवदाह गृहमा दुई शव एकैपटक जलाउन सकिन्छ । दुई कोरोना सङ्क्रमित भई निधन भएकाको शव एकैपटक जलाउने गरी तयारी गर्नेलगायत विषयमा कोषले सरकारसँग वार्ता गर्ने भएको छ । कोरोना सङ्क्रमितको शव जलाउन विद्युतीय शवदाह यन्त्र चलाउने कर्मचारीको समेत अभाव हुन सक्ने देखिएको छ । जम्मा छ जना कर्मचारीले हाल तालिम लिएर यन्त्र चलाउँदै आएका छन् । पिसिआर परीक्षणपछि कर्मचारीलाई कोरोना पोजेटिभ देखिए अरुलाई तालीम दिन तीन महीना लाग्नेछ । नेपाली सेनाले सुरक्षितरुपमा विद्युतीय शवदाह गृहसम्म शव ल्याएपछि कोषका तालीम प्राप्त कर्मचारीले मात्र यन्त्र चलाउन सक्छन् । जनशक्ति व्यवस्थापनका विषयमा पूर्वतयारी नभएकाले समस्या पर्नसक्ने जनाइएको छ । पशुपतिको क्रियापुत्री घर पनि सरसफाइका लागि तीन दिनसम्मका लागि बन्द गरिएको छ । १३ दिनसम्म क्रियापुत्री बसिकेपछि सफाइका लागि तीन बन्द गरेर सरसफाइ गरी पुनः सञ्चालन गर्ने गरिएको छ । क्रियापुत्री एवं भेटघाटका लागि आउने आफन्तमा कोरोना सङ्क्रमण नफैलियोस् भनी यस्तो सतर्कता अपनाइएको कोषले जनाएको छ ।  रासस