थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि
काठमाडाैं । नेपालमा थप ६ जनामा काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले ६ जनामा काेराेना भएकाे पुष्टि गरेका हुन् । उनीहरू माेरङ, धादिङ, र गुल्मीका रहेकाे देवकाेटाले बताए । उनीहरू सबै १८ वर्षदेखि ४६ वर्षका रहेकाे उनले बताए ।
नेपालमा एकैदिन ६२ जनामा देखियाे काेराेना संक्रमण
काठमाडौं । नेपालमा एकैदिन ६२ जनामा कोराना देखिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १ सय ९० जनाको परीक्षण गर्दा ४७ जनामा काेराेना पाेजेटिभ देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। त्यसबाहेक विभिन्न स्थानमा छ जनामा पनि कोभिड-१९ देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए। यसअघि आज नौ जनामा सङ्क्रमण पुष्टि भएको थियो। यो वृद्धिसँगै नेपालमा अहिलेसम्म कुल ३ सय ५७ जनामा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये दुई जनामा मृत्यु भइसकेपछि सङ्क्रमण पुष्टि भएको हो। अहिले प्रदेश नं ५ र २ मा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित छन्।
महालक्ष्मी विकास बैंकले सबै कर्मचारीको गर्यो कोभिड-१९ बीमा
काठमाडौं । महालक्ष्मी विकास बैंकले सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गरेको छ । बैंकले काेराेना भाइरस (कोभिड-१९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड-१९ बीमा गरेको हो । विकास बैंकले हाल जारी रहेको लकडाउनको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै संस्थाले सबैको कोरोना बीमा गरेको हो । संस्थाले हाल देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।
बाँकेमा ४७ जनामा देखियो कोराना पाेजेटिभ
बाँकेमा ४७ जनामा कोराना देखिएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्दा ४७ जनाको रिपोर्ट पोजेटिभ आएको हाे । याे सँगै नेपालमा ३ सय ५१ जनामा काेराेना देखिएकाे छ । यसकाे थप विवरण भने आउन बाँकी छ ।
पूर्व अर्थमन्त्री कार्कीको प्रस्तावः गरिब नेपालीलाई मासिक ५ हजारको दरले नगद दिऊँ
काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली काँग्रेसका नेता ज्ञानेन्द्र बहादुर कार्कीले रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले नगद राहत दिन प्रस्ताव गरेका छन् ।प्रतिनिधिसभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै नेता कार्कीले यस्तो प्रस्ताव गरेका हुन् । सरकारले जारी गरेको लकडाउनको कारण रोजगारी गुमाएका तथा दैनिक ज्यालादारीमा परिवारको छाक टार्दै आएका व्यक्ति तथा परिवारलाई समस्या भएकोले प्रतिव्यक्ति ५ हजार रुपैयाँका दरले राहत दिनुपर्ने बताए । ‘रोजगारी गुमाएका श्रमजीवी, वेरोजगार र विपन्न वर्गलाई महिनाको ५ हजारका दरले तीन महिनाका लागि १५ हजार रुपैयाँ दिन प्रस्ताव गर्दछु । यसले उनीहरुको जनजीवीकालाई सहज बनाउन सहयोग पुग्छ,’ पूर्व अर्थमन्त्री कार्कीले भने । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमले कोरोना संक्रमण संकटबाट उत्पन्न परिस्थितिको सामना गर्न गाह्रो हुने पनि उनको धारणा छ । पीसीआर टेष्टको परीक्षण बढाउने वित्तिकै कोरोना संक्रमितको संख्या बृद्धि भएको छ तथा कोरोना संक्रमणकै कारण दुई जनाको ज्यान गइसकेको सन्दर्भ उल्लेख गर्दै उनले पछिल्लो समय सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण देखिएको बताए । ‘यस्तो असमान्य परिस्थितिमा ६३ पेजको २७६ बुँदाको सामान्य नीति तथा कार्यक्रम ल्याएको छ, यो बेला भारतको प्रख्यात साहित्यकार सर्वेश्वर दयालको कविताको याद आएको छ,’ नेता कार्कीले भने । त्यसपछि नेता कार्कीले भारतीय साहित्यकार दयालको कविताको भावानुवाद सुनाए, जुन यस्तो थियोः यो दुनियाँमा मावनको जीवनभन्दा ठूलो केही छैन । न इश्वर, न ज्ञान, न चुनाव यदि तिम्रो घरको एउटा कोठामा आगलागी भयो भने तिमी दोस्रो कोठामा सुत्न सक्छौं ? यदि तिम्रो घरको एउटा कोठामा लासहरु सडिरहेका छन्, भने तिमी दोस्रो कोठामा प्रार्थना गर्न सक्छौं ? के तिमी यी कुराहरु सुन्न सक्छौं, सुन्न सक्दैनौं भने मैले भन्नु केही छैन …। कार्कीले यति कविता वाचन गरेपछि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्न थाले । सो कवितामा उल्लेख गरिए जस्तै अवस्थामा अहिलेको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, यसले अहिलेको समस्याको समाधान गर्न सक्दैन भन्ने कार्कीको निक्र्योल छ। अहिलेको प्राथमिकता मानवसंकट, स्वास्थ्यउपचार, राहत र अर्थतन्त्रको पुनर्वहालीमा केन्द्रीत हुनुपर्छ भन्दै उनले तर यी कुरालाई नजरअन्दाज गरेर नीति तथा कार्यक्रम ल्याइएको बताए । यसले थप विकराल अवस्था सिर्जना गर्न सक्ने कार्कीको अनुमान छ । उनले यथार्थतालाई आत्मसात गरेर कार्यान्वयनमुखी बजेट ल्याउन आग्रह गरे । मुलुकलाई रोग र भोकबाट जोगाउने गरी बजेट ल्याउनु पर्ने कार्कीको भनाइ छ । यस्तै, लिम्पियाधुरा, लिपेलुक र कालापनी नेपाली भूमी हो भन्दै उनले यो सधैं नेपालकै रहनुपर्छ भने । तर यो विषय सस्तो लोकप्रियतामा मात्र सीमित राख्न नहुने उनको भनाइ छ । एमसीसीलाई सत्तारुढ दलभित्रको विवादको विषय बनाइएको प्रति पनि कार्कीले असन्तुष्टि जाहेर गरे । एमसीसी चाँडै सदनमा पेश हुनुपर्ने र घनिभूत छलफल हुनुपर्ने उनको भनाइ छ । यो सरकारले जनतालाई रोग र भोकबाट जोगाउनु पर्ने कार्कीको भनाइ छ । सम्बन्धित सामग्री सबै नेपालीलाई मासिक ५ हजार ऋण दिऊँ, यसरी जुट्छ पैसा
आत्मनिर्भर अर्थतन्त्रलाई साकार पार्न महिला उद्यमशीलताको विशेष भूमिका
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको असर अन्तराष्ट्रिय श्रम बजारमा एकदमै नकारात्मक परेको छ । विश्वका विभिन्न मुलुकहरुको विकास खर्चमा भारी कटौती गर्दा श्रम गन्तव्य राष्ट्रहरुमा श्रमिकको माग एकदमै न्युन भएको छ र कतिपय राष्ट्रले श्रमिक कटौती गर्दा स्वदेशमा फिर्ता गर्ने अभियान समेत चलाएका छन् । यसले गर्दा नेपाल जस्तो अल्प विकसित राष्ट्र जसको विप्रेषणको हिस्सा जीडीपीमा महत्वपूर्ण हुने राष्ट्रलाई प्रतिकुल असर गरेको छ । विप्रेषणमा आएको कमीले नेपालको विदेशी मुद्रा सञ्चिति तथा अन्तराष्ट्रिय व्यापारमा नकारात्मक असर पर्न गई देशको अर्थतन्त्रमै गम्भीर समस्या पर्न सक्दछ । नेपालमा वैदेशिक रोजगारीले बढेको विप्रेषण आप्रवाहले आम मानिसको जीवनस्तर उकासेको छ । महिलाहरु हाल उद्यमशीलता तथा व्यवसायमा त्यति आकर्षित भएको पाइदैन । विप्रेषणबाट आउने रकम घर खर्च तथा दैनिक जीविकोपार्जनमा अधिक खर्च हुने र पुँजीगत खर्च तथा बचत कम रकम हुने हुनाले समेत विप्रेषणबाट आएको रकम सही ठाउँमा सदुपयोग नभएको हो कि भन्ने आभाष हुने गरेको छ । विप्रेषण आप्रवाहले सामाजिक जीवन भड्किलो बनाएको छ र यसले महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्ने भन्दा पनि घर व्यवहार र पारिवारिक हेरचाहमै सीमित गरेको छ । यसले भविष्यमा महिलाहरुको जीवनमा गम्भीर असर गर्ने निश्चित छ । लेखक वर्तमान अवस्थामा नेपालमा दैनिक घरयासी प्रयोजनमा प्रयोग हुने सामानहरुको आयात बढ्दो छ । यसले प्रत्येक वर्ष अर्बौको रकम विदेश पलायन हुने स्थिति छ । घरेलु तथा मझौला उद्योगबाट उत्पादन हुने सामानहरुको उत्पादनमा महिलाहरुको सहभागिताले महिलामा उद्यमशीलता बढ्ने साथै सामाजिक कुरिति तथा पारिवारिक बेमेलको समस्या समेत निकारण भई महिला उद्यमशीलताले समाजमा दोहोरा प्रभाव पार्ने निश्चितै छ । नेपाल सरकारले २०७७/७८ को नीति तथा योजना संसदमा भर्खरै पेश गरेको छ र यसमा संसदको पूर्ण बैठकमा एजेण्डाको रुपमा विशेष छलफल भैरहेको छ । सरकारले पेश गरेको नीति तथा कार्यक्रममा कृषि उत्पादनलाई आधुनिकीकरण गरी दश वर्षमा दोब्बर गर्ने लक्ष्य लिएको छ । साथै, फजुल खर्च रोक्ने, वित्तीय अनुशासन कायम गर्ने, रोजगारी गुमाएका नागरिकहरुको सदुपयोगिता गर्ने, रोजगारी श्रृजना गर्ने र आम्मनिर्भर अर्थतन्त्रको विकास गर्ने लक्ष्य प्राथमिकताको साथ पेश गरेको छ । यसर्थ सरकारले कल्पना गरेको निश्चित छ । राष्ट्रिय योजना आयोगले नवप्रवर्तन शुरुवाती पुँजी अनुदान प्रदान गर्न भर्खरै मात्र सुचना जारी गरेको छ । विभिन्न व्यवसायको नविनतम ज्ञान, सीप, योजना तथा क्षमता भएका र स्वपुँजी नभएको युवाहरुलाई उद्यमशीलता तर्फ आकर्षण गर्न सरकारले शुरुवाती पुँजी अनुदान दिने निर्णय गरेको छ । साथै नेपाल सरकारले महिला उद्यमशीलता कर्जामा छ प्रतिशत व्याज अनुदान दिएर पन्ध्र लाखसम्म कर्जा सरल ढंगले प्रवाह गर्ने व्यवस्था मिलाउन बैंक वित्तीय संस्थाहरुलाई निर्देशन समेत जारी गरिसकेको अवस्थामा स्वपुँजी नभएर महिलाहरु उद्यमशीलतातर्फ आकर्षित नहुने समस्या निराकरण हुने निश्चित प्राय नै छ । नेपाल सरकारले महिलाद्धारा उत्पादन गरिएको वस्तु तथा सामानहरुको बजार व्यवस्थापन गर्नु पर्दछ । बजारमा केही लागत महंगो भएता पनि उत्पादन भएका वस्तुको बिक्रीको जिम्मेवारी सरकारले लिएर महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षण गर्न सकिएमा घर भान्सा र पारिवारिक माहोलमा सीमित भएको महिलाहरुले देशको अर्थतन्त्रमा समेत ठुलो हिस्सा योगदान गर्न सक्नेछन् । साथै महिलाहरुले विभिन्न नियमाक निकायहरुबाट झेल्ने समस्याहरुको समाधान गर्न समेत सरकारले विशेष ख्याल गर्नुपर्ने देखिन्छ । हाल नेपाल सरकार २०७७/७८ को बजेट तयारीमा तिव्र रुपमा लागि रहेको छ । हाल महिलाको नाममा दर्ता भएको व्यवसायहरुको दर्ता तथा नविकरण शुल्कमा केही राहात भएता पनि व्यवसायिक प्रतिष्ठान र महिलाद्धारा संचालित सामान्य घरेलु व्यवसायले तिर्नु पर्ने कर रकम बराबर रहेको छ । यसतर्फ विशेष ध्यान दिई महिलाद्धारा प्रवर्तित व्यवसायमा केही कर छुट तथा राहात दिएमा समेत महिलाहरुलाई उद्यमशीलता तर्फ आकर्षित गर्न सकिने छ । यसर्थ हालको प्रतिकुल अवस्थामा देशको अर्थतन्त्रले नै समस्या भोगिरहेको र आन्तरिक उत्पादन न्युन तथा आयात केन्द्रित अर्थतन्त्रलाई उत्पादनमुखी र निर्यातमुखी बनाउन महिला उद्यमशीलता विकास गर्ने उपयुक्त समय हो । विभिन्न राष्ट्रले श्रमिक कटौती गर्दा देशमा बेरोजगारी बढ्न गई सामाजिक विचलन आउन सक्ने र समाजमा पर्ने नकरात्मक असर न्युनिकरणको लागि समेत महिलालाई घरेलु तथा मझौला उद्योग तर्फ आकर्षण गर्ने र निर्वामुखी खेती प्रणालीबाट आधुनिक कृषि प्रणाली तर्फ परिवर्तन गरी महिला उद्यमशीला विकास गर्न सके अहिलेको विशम परिस्थिति देशको लागि सुवर्ण अवसर बन्न सक्नेछ ।
कोरोनाले घटेन ठंकराजको मनोवल
काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले सबैलाई त्रसित बनाएको छ । कोरोना भाइरसको जोखिम कम गर्नको लागि सरकारले लकडाउनको घोषणा गरेको छ । सबै मानिस घरभित्रै छन् । यही मौका छोपेर ठंकराज गिरी भने आफ्नो काममा निरन्तर लागि परेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं ८ का अध्यक्ष हुन् ठंकराज गिरी । कोरोना भाइरसको महामारीको बेला पनि धेरै जनप्रतिनिधिहरुले अनियमितता तथा भ्रष्टाचार गरेको समाचारहरु पनि हामी पढ्दै आएका छौं । तर, वडाध्यक्ष गिरी भने यो समयलाई एउटा अवसर ठानेर आफ्नो काममा लागिपरेका छन् । आम नागरिक घरभित्रै रहेको समयलाई अवसरका रुपमा लिँदै ठंकराजले विभिन्न विकास निर्माणका कार्यहरुलाई तीव्रता दिइरहेका छन् । आफ्नो वडामा भएका विपन्न गरिव तथा असायहरुलाई राहत वितरण गर्ने, यो संकटको समयमा औषधी नपाएर घरभित्रै समस्यामा परेका नागरिकलाई घरमै औषधी पुर्याउनेदेखि सडक निर्माणको कामलाई उनले विशेष प्राथमिकताका साथ गरिरहेका छन् । अहिले धेरै युवाहरु शहरबाट गाउँमा छिरेका छन् । कोरोना भाइरसको जोखिम कम गर्नको लागि सामाजिक दुरी कायम गरेर उनले वडाका सम्पूर्ण युवाहरुलाई राेजगार कसरी बनाउने भन्ने तर्फ अगाडि बढाइरहेका छन् । अहिले राहत वितरणको नाउँमा विभिन्न स्थानीय तहहरुमा अनियमितता भएको, कुहिएको खाद्यान्न वितरण गरेको लगायतका कुराहरु पनि बाहिरिएका छन् । तर, उनी भने त्यो कुरा आफ्नो वडामा हुन नदिनको लागि सर्तक बनेका छन् । उनले त्यो परिपाटी आफ्नो वडामा हुनै नदिनको लागि वडाको काममा सहभागी बनौं , राहत होइन पारिश्रमिक लिऔं कार्यक्रम पनि सुरु गरेको बताएका छन् । वडाअध्यक्ष गिरीले कोरोना भाइरसको कारण रोजगारी गुमाएका, खाद्यान्नको अभाव भई हातमुख जोड्न समस्या भएका अति विपन्न, गरिव परिवारलाई एक परिवार एक रोजगार हुने गरी ४ दिनसम्म काममा लगाई दैनिक कामको आधारमा नगद उपलब्ध गराइरहेको बताए । जहाँ कठिनाई छ, त्यहाँ अवसर पनि छ भन्ने बिचारलाई आत्मसाथ गर्दै उनले अहिले वडाभित्र हुने गरेका विभिन्न कामहरुमा सक्रियता देखाएकमा छन् । कोरोना भाइरसको जोखिम कम गर्नको लागि स्थानीयको सहयोग र आफ्ना वडा सदस्यहरुको समन्वयमामा उनी अहोरात्र खटिरहेका छन् । उनले वडा नं ८ मा विदेशबाट आएका ४ जनाको स्वास्थ्य परीक्षण गरिएको जानकारी दिँदै सबैको नतिजा नेगेटिभ आएको बताए । अहिले सम्म वडाबाट ५१ घरका करिव एक सयजना भन्दा बढीलाई राहत वितरण गरिएको जानकारी गराउँदै त्यसमा पनि नगरपालिकाकाे समन्वयमा प्राप्त सहयोगको आधारमा राहत कुपन वितरण गरिएको बताए । विपदमा जनताको सेवा गर्ने गहन दायित्व बोकेको उनले संकटको बेलामा आ–आफ्नो ठाउँबाट जे सकिन्छ त्यो गर्न अनुरोध गर्दै सामाजिक उत्तरदायित्वबाट नभाग्न अनुरोध गरेका छन् । केन्द्र सरकारले कोरोना भाइरस विरुद्ध कार्य सुरु गरेदेखि आफु र आफ्ना सहकर्मी जनप्रतिनिधीहरु सधैँ सँगै वडा वासीहरुलाई पर्न सक्ने समस्यालाई समाधान गर्नको लागि नियमित सम्पर्कमा रहेको जानकारी दिए । कोरोना संक्र्रमणको शुरुमा स्वास्थ्यविज्ञले कोरोना भाइरसबाट बच्न साबुनपानीले हात धुने, मास्क लगाउने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाड नगर्ने, सामाजिक दूरी कायम गर्न सुझाए पनि त्यो बेला नागरिकमा चेतना आइनसकेको बताउँदै त्यसको लागि ब्यापक जनचेतना जगाउने काममा सबैको सहयोग प्राप्त भएको उनको भनाइ छ । आफ्नो वडाबाट अस्थायी रूपमा काठमाडौँ बसोबास गर्दै आएका जनताहरुको समस्यालाई मध्य नजर गर्दै अध्यक्ष गिरीले आफ्नै पहलमा गाउँ आउन चाहनेलाई आफै काठमाडौं गएर ५० जनाभन्दा बढी आफ्ना वडाबासीहरु लाई काठमाडौंदेखि गाउँसम्म ल्याउने काम गरेको उनको भनाइ छ । त्यति मात्रै होइन लामो समयसम्म लकडाउनका कारण एक सय जनाभन्दा बढी दिर्घ रोगीहरु कोरोना भाइरस रोगको कारणलेभन्दा पनि नियमित रूपमा सेवन गर्दै आएको औषधी खान नपाउँदा समस्यामा परेका थिए । उनीहरुका लागि आफुले पहिलो चरणमा तत्कालै १५ दिनको शसुल्क औषधी ल्याएर वितरण गरेको बताए । त्यसको केही समयपछि नगरपालिका सँग समन्वय गरेर आफै काठमाडौं गई एक महिनाको लागि निःशुल्क औषधी ल्याई वितरण गरे । वितरण गर्ने क्रममा एउटै ब्यक्तिले २२ हजारसम्म पर्ने आषधी नि:शुल्क प्राप्त गरेको बताए । कोरोनाको संक्रमण फैलिन नदिन नेपाल सरकारले लकडाउन लागू गरे सँगै बाहिरी जिल्लाबाट आई काम गर्न नपाएर अलपत्र बनेका दैनिक ज्याला मजदुरी गर्ने २० जना भन्दा बढी नागरिकलाई राहत उपलब्ध गराएको पनि उनले बताए । उनले अहिले कोरोना भाइरसको कारण धेरैलाई समस्या भएको बताए । अहिले विशेष गरेर खाद्यान्न नभएकाहरुलाई मध्येनजर गर्दै उनीहरुलाई वडाको काममा खटाई नगद उपलब्ध गराउँदै आएको बताए । अहलिे विशेष गरेर आफ्नो वडाले खाद्यान्न भएकाहरुलाई भन्दा पनि नभएकाहरुलाई प्राथमिकता दिएको बताए । कोरोनाको संकट कतिसम्म रहन्छ अनिश्चित भएकोले पछि खाद्यान्न भएकाहरुलाई पनि अभाव हुने हुँदा आफ्नो वडाले त्यतापट्टी पनि ध्यान दिएको उनले बताए ।
भारत र चीनबाट आउने तरकारी प्रतिस्थापन गरौं, सहज रुपले बाँचिन्छः विनोद चौधरी(भिडियाे सहित)
काठमाडाैं । संघीय संसदका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीले भारत र चीनबाट आउने तरकारी प्रतिस्थापन गर्न सकेमात्रै सहज रुपले बाँच्न सकिने बताएका छन् । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद चौधरीले अब सरकारले भारत र चीनबाट आयात हुने तरकारीलाई प्रतिस्थापनमा ध्यान दिनुपर्ने बताए । उनले बेरोजगारी अबको ठूलो चुनौती रहेको भन्दै विदेशबाट फर्केका युवाहरुलाई कृषिमा लगाउन पर्ने बताए । उनले अब आजकाे प्राथमिकता बाच्नु र बचाउनु नै रहेको उल्लेख गरे । ‘रोजगारी, गुम्दैछन्, उद्योगधन्दा बन्द छन्, सडकमा उभिएका दिनहुँ काम गरेर हातमुख जोड्नुपर्ने बाध्यता भएका कामदार कामविहीन रहेका छन्, नाङ्लो पसले, रिक्सा चालकदेखि लिएर समाजको हरेक वर्ग कोभिड १९ र कोभिड भन्दा अगाडि भोकमरीले मरिने हो कि भन्ने त्रास छ,’ उनले भने । उनले निम्न आय भएका श्रमिक, मजदुर र कामकाजीलाई कोरोनासँगसँगै भोकबाट बचाउन आवस्यक रहेकामा जोड दिएका छन् । “सरकारले नीति तथा कार्यक्रममा थुप्रै नयाँ र पुराना योजना ल्याएको छ,” प्रतिनिधिसभाको सोमबारको बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिदै सांसद चौधरीले भने, “तर, दैनिक हातमुख जोर्न इलम गर्ने नागरिकको सुरक्षामा हामी संवेदनशील हुनुपर्ने अवस्था आएको छ । रिक्सा चलाउने, मजदुरी गर्ने, नाङ्लो पसल गर्ने वर्ग कोरोनाभन्दा पहिले भोकबाट मरिने त्रासमा बाँचिरहेको छ । उनीहरूलाई जोगाउने पहल गर्न ढिला गर्नु हुदैन ।” अहिलेको प्राथमिकता पहिले बाँच्नु र बचाउनु रहेको भन्दै चौधरीले गुमेका रोजगारी, बन्द उद्योगधन्दालाई जीवित राख्न तत्काल सरकारले कदम चाल्नुपर्ने बताए । ‘अहिले भइरहेका उद्योगधन्दा बन्द भइराख्ने हो भने भोलि नयाँ उद्योग खुल्लान् र अर्थतन्त्र सबल होला भनेर सोच्नु दिवा स्वप्न मात्रै हो ।’ विदेशबाट फर्किएर आउने र स्वदेशकै श्रमबजारमा थपिने युवालाई कृषिमा सहभागी बनाउन सकिने नीतिको चौधरीले समर्थन गरे । कृषि क्षेत्रलाई बलियो बनाउन सकियो र भारत र चीनबाट आयात हुने तरकारी/फलफूलसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन सकियो भने नेपालको अर्थतन्त्रले काँचुली फेर्न सक्ने उनले बताए । भारत र चीनका कृषि उपजभन्दा नेपालको उत्पादन ३० प्रतिशतभन्दा महँगो पर्ने तथ्यांक उनले राखे । ‘नेपालमा कृषियोग्य जमिन, उत्पादन लागतजस्ता ठूला समस्या छन् । सिँचाइका सामग्री र रासायनिक मलको अनुदान नगन्य छ, सरकारले कृषिमा खुला हृदयले अनुदान अगाडि बढाएन भने आयातीत कृषि उपजभन्दा नेपालकै उत्पादन महँगो भइरहन्छ,’ उनले भने, ‘जापान र अमेरिकाजस्ता मुलुकले कृषिमा खुला हृदयले अनुदान दिएका छन् । तर हामीले भने किसानलाई अनुदान कटौती गरेका छौँ । कृषि क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै विश्व बजारमा प्रतिस्पर्धी उत्पादनका लागि सबल बनाउनु हाम्रो दायित्व बनेको छ । तबमात्र यो क्षेत्रमा क्रान्ति आउँछ ।’ सामुदायिक वन अवधारणाले संसारलाई प्रेरित गरेको उदाहरण दिँदै कृषिमा पनि त्यस्तै अवधारणाले काम गर्न सकिए मुलुकको अर्थतन्त्रले कोल्टे फेर्ने चौधरीले बताए । https://bikashnewscdn.prixacdn.net/uploads/2020/05/Binod-Chaudhary_5-jestha.mp4