आशा लघुवित्तले प्रभु इन्स्योरेन्सबाट गरायो सबै कर्मचारीको कोरोना बीमा
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले आफ्ना सबै कर्मचारीहरुको कोरोना माहामारी बिरुद्धको बीमा गरेको छ । वित्तीय संस्थाले प्रभु इन्स्योरेन्स मार्फत सबै (स्थायी, करार, प्रशिक्षार्थी तथा दैनिक ज्यालादार कामदार) कर्मचारीको कोरोना बीमा गरेको हो । संस्थाले वित्तीय संस्थामा काम गर्ने हरेक कर्मचारीहरुको स्वास्थ्यको ख्याल गर्दै विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बिरुद्धको बीमा गरेको हो । बीमा भए पश्चात अब वित्तीय संस्थामा कार्यरत कुनै पनि कर्मचारीहरुमा कोरोना भाईरस परिक्षण गर्दा पोजेटिभ पाईएमा इन्स्योरेन्स कम्पनीले तोकिय बमोजिमको रकम सम्बन्धित कर्मचारीलाई क्षतिपुर्ति स्वरुप प्रदान गर्ने कुरा वित्तीय संस्थाले जानकारी गराएको छ । नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो । हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ५५ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । संस्थाको हालसम्म करिब २ अर्ब ३१ करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७३ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।
क्यानाडाको सैनिक विमान दुर्घटनाग्रस्त
ओट्टावा । क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार अर्का घाइते पाइलटको उपचार भइरहेको छ । प्रत्यक्षदर्शीले लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवाशीय क्षेत्रमा खसेको बताएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले उक्त घटनाबाट आफू दुःखी भएको बताएका छन् । एएनआई
शोकमा डुब्यो नरैनापुर : उच्च सुरक्षा सतर्कता
राँझा । क्वारेन्टाइनमै रहेको अवस्थामा एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर क्षेत्रमा शोकमा ढुबेको छ । सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित सो नगरपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो । शोकमग्न रहेको अवस्थामा स्थानीय मृतकको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएपछि गाउँमा सङ्क्रमण फैलिएको हुनसक्ने आशङ्कामा त्रसित समेत हुन पुगेको स्थानीय अगुवा सोहनलाल यादवले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइनमा स्वास्थ्य र व्यवस्थापनको पक्ष फितलो रहेको गुनासोसमेत आएको छ । सो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले अचानक भएको अकल्पनीय निधनले सिङ्गो गाउँपालिका शोकमा ढुबेको बताए । “कोरोना सङ्क्रमितको सङ्ख्या थपिने आशङ्काले पनि स्थानीयवासी त्रसित भएको देखिएको छ, त्रसितभन्दा पनि संयमित हुन जरुरी छ”, उनले भने, “गाउँपालिकाले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखेको छ ।” भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ । शनिबार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आइतबार अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका स्थानीय स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो । रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थानदेखि करिब तीन किलोमिटरको दूरीमा रहेको शवदहन क्षेत्रमा धार्मिक संस्कारअनुसार दाहसंस्कार गर्ने निर्णय गरिएको थियो । स्थानीय र परिवारका व्यक्ति शोक र त्रासका कारण अन्त्येष्टिमा सहभागी हुन सकेनन् । बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले शवलाई परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्पराअनुसार नेपाली सेना, नेपाल प्रहरीलगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको जानकारी दिए । उनले नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको जानकारी दिए । मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती मध्ये तीन जना दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको छ । सङ्क्रमित व्यक्तिको सम्पर्कमा रहेका आधारमा नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट शनिबार २ सय ६३ जनाको स्वाब सङ्कलन गरिएको छ । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आज आउने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए । तराई मानव अधिकार रक्षक सञ्जाल नेपालगञ्जका प्रमुख आलम खानले नरैनापुरको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै क्वारेन्टाइन व्यवस्थापन र स्वास्थ्यकर्मीलाई आवश्यक सुरक्षा सामग्री पर्याप्तमात्रामा उपलब्ध गराउनुपर्ने सुझाव दिए । उनले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन अपिलसमेत गरे ।
जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, अमेरिकी जनजीवन बिस्तारै सामान्य
न्यूयोर्क । विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका र युरोपका नेताहरुले कोरोनाभाइरसको खोप तत्काल निर्माण सम्भव नभएपछि जोखिम लिएरै पनि आफ्ना मुलुकमा जारी लकडाउन र प्रतिबन्धहरुमा सहजीकरण गर्न थालेका छन् । यहीबीच, भारतमा एक दिन ५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित देखिएका छन् भने १ सय ५७ जनाको ज्यान गएको छ । एसियाली मुलुकमै चीनपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोविड–१९ का कारण भारतमा कूल मृतकको संख्या तीन हजार नाघेको छ । चीनमा सोमबार सात जना नयाँ संक्रमित देखिएका छन् र पछिल्लो पटक समस्या देखिएको जिलिन प्रान्तमा सामाजिक दूरीका नियमहरुमा अझ कडाई गरिएको छ । कोरोनाभाइरसको खासै समस्या नदेखिएका बेइजिङ समेतका चीनका अन्य भागमा प्रतिबन्धहरु खुकुलो बनाइनेछ । स्थानीय प्रशासनले प्रतिबन्धहरु खुकुलो बनाएसँगै मानिसहरु मास्क नलगाई सडकमा देखिन थालेका छन् । जापानको प्रधानमन्त्री कार्यालयले सोमबार मुलुकको यथार्थ कूल गार्हस्थ्य उत्पादन (जिडिपी) ३.४ प्रतिशत रहने पूर्वानुमान गरेको छ । कार्यालयले आगामी दिनमा जिडिपी अरु न्यून हुने जनाएको छ । जापानको व्यापार चीन र संयुक्तराज्य अमेरिकामाथि बढी नै निर्भर भएकाले पनि अर्थतन्त्र खुम्चिएको हो । निकै समस्यामा परेको इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले सोमबार मुलुकका रेस्टुराँ, बार र बिचहरु खुला गर्ने बताए । इटालीमा यी सेवा खुला गर्न केही हप्ता लाग्ने बताइए पनि प्रधानमन्त्री कोन्टेले परिस्थितिमा नाटकीय सुधार आएको बताउँदै तोकिएको समयावधि अघि नै यी सेवा खुला गर्न आदेश दिए । प्रधानमन्त्री कोन्टेले भने, “हामीले यो जोखिमको सामना गर्नु परिरहेको छ, हामीलाई यसलाई स्वीकार्नै पर्दछ, अन्यथा हामीले कहिल्यै पनि जनजीवन खुला गर्न सक्दैनौं ।” विश्वका अरु मुलुकका सरकारहरु सहित अमेरिकाका धेरै राज्यले कोरोना भाइरसका कारण जारी लकडाउनमा सहजीकरण गर्न र जनजीवन खुला गर्न संघर्षरत छन् । संयुक्तराज्य अमेरिकाका धेरै राज्यका बारहरु, रेस्टुराँ, बिचहरुमा मानिसको ठूलो भिडभाड देखिएका छन् । उनीहरुले राज्यहरुले जारी गरेका सामाजिक दूरी समेतका नियमहरु बेवास्ता गरेको पाइएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोनाभाइरसको खोप सम्भवतः कहिल्यै बनाउन नसकिने बताए । विश्वभर खोप बनाउन प्रयास भइरहे पनि यो सम्भव देखिन्न, प्रधानमन्त्री जोन्सनले भने । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र र जनजीवनलाई जतिसक्दो चाँडो सहज तुल्याइने बताए । उनले एनबिसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भने, “हामी खोप बनाउने, उपचार गर्नेतर्फ विचार गरिरहेकै छौं, तर यी कुराहरु निकै जटिल छन् ।” राष्ट्रपति ट्रम्पका वरिष्ट आर्थिक सल्लाहकार पिटर नाभारोले कोरोना भाइरस महामारीका बारेमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पर्याप्त अध्ययन गर्न नसकेको बताए । अमेरिकामा मात्र ३ करोड ६० लाख मानिस बेरोजगार भइसकेका छन् । व्यवसायहरु बन्द भएका कारण ठूलो क्षति व्यहोर्न बाध्य धेरै अमेरिकी राज्यहरुले घरमै बस्ने र अरु प्रतिबन्धहरु हटाएका छन् । राज्यहरुले केही विशेष किसिमका व्यवसाय खुला गर्न दिइसकेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार झण्डै ४८ लाख मानिस कोरोना संक्रमित भइसकेका छन् भने तीन लाख १५ हजार भन्दा बढी मानिसको मृत्यु भएको छ । अमेरिकामा मात्र ८९ हजारभन्दा बढीको मृत्यु भएको छ भने युरोपेली मुलुकहरुमा १ लाख ६० हजारभन्दा बढीको ज्यान गइसकेको छ । अधिकांश अवस्थामा मानिसमा कोरोनाभाइरसका सामान्य लक्षणहरु देखिन्छन् । तर ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या रहेका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्छ । यस्ता व्यक्तिको मृत्यु पनि हुने गर्दछ । रासस–एपी
बैंकको व्याज ५% घटाएर ३ वर्ष नबढ्ने बनाउनु पर्यो, पारिश्रमिक एक तिहाई मात्रै दिन्छौंः एफएनसीसीआई
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआइ) का अध्यक्ष भवानी राणालले कोरोना भाइरस संक्रमण रोक्न सरकारले गरेको लकडाउनका कारण उद्योग व्यवस्था जिर्ण बनेको बताएकी छन् । परिस्थिति धेरै प्रतिकूल भएकोले उद्योग प्रतिष्ठानको लागि विशेष राहत कार्यक्रम ल्याउनु पर्ने उनको भनाइ छ । अध्यक्ष राणाले पत्रकार सम्मेलन गर्दै सरकारले तत्काल राहत कार्यक्रम ल्याउनु पर्ने बताएकी हुन् । उनले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जाको व्याजदर ५ प्रतिशत कम गरी आगामी ३ देखि ५ वर्षसम्म नबढ्ने व्यवस्था गर्न पनि माग गरेकी छन् । ‘विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालभर जारी अहिलेको लकडाउनको अवस्थाले उद्योग, व्यापार, सेवा क्षेत्र ठप्प रहेको छ, यसको समय सीमा अनिश्चित बन्दै जाँदा व्यापार व्यवसायमा कति प्रभाव पार्ने हो आँकल गर्न नसकिने अवस्था छ, उद्योग प्रतिष्ठान बचाउने हो भने बैंकको व्याजदर ५ प्रतिशतले घटाएर ३ देखि ५ वर्षसम्म नबढ्ने व्यवस्था मिलाउनु पर्यो, कामदारलाई परिश्रमिक प्रदान गर्न पनि कठिन भएकोले रोजगारदाता, श्रमिक र सरकारले बराबर योगदान गर्ने व्यवस्था मिलाउनु पर्यो,’ अध्यक्ष राणाले भनिन् । उनले अति आवश्यक वस्तुका उद्योग, व्यापार तथा व्यवसाय बाहेक सम्पूर्ण ठप्प भई नेपालको समग्र अर्थतन्त्रमा चक्रिय आर्थिक संकट पर्न गएको बताइन् । विषम परिस्थितिमा चीन, भारतलगायत सार्क सदस्य राष्ट्र तथा अमेरिका र यूरोपेली देशसमेतले आफ्ना उद्योगधन्दा सहित समग्र अर्थतन्त्रलाई बचाउन खर्बौंको आर्थिक प्याकेज घोषणा गरिसकेको पनि नेपालले चासो नदेखाएको उनको भनाइ छ । महासंघको नेतृत्वमा अन्य व्यवसायिक संघ संस्थाहरुको तर्फबाट राहत कार्यक्रमका लागि सरकारलाई सुझाव दिएको भएपनि सरकारको नीति तथा कार्यक्रममा आफूहरुका सुझाव नसमेटिएको महासंघको भनाइ छ । महासंघले कम्तिमा ३ वर्ष अवधिका लागि बैंकको कर्जाको व्याजदर ५ प्रतिशतले घटाइनु पर्ने सुझाव दिएको छ । यस्तै, एक खर्ब रुपैयाँको पुनरकर्जा कोष खडा गरि घाटामा जाने उद्योग, व्यापार तथा व्यवसायको लागि ३ वर्ष अवधिका लागि ३ प्रतिशत पुनरकर्जा कोषले व्यहोर्ने र २ प्रतिशत सम्बन्धित बैंकले स्प्रेडबाट मिलान गर्ने गरी कर्जा उपलब्ध गराउनु पर्ने माग गरेको छ । अन्य सबै उद्योगहरुमा तलब तथा व्याजको लागि ५ प्रतिशत रिफाइनान्सिको व्यवस्था गरेर २ वर्षमा किस्ताबन्दीमा भुक्तानी गर्ने व्यवस्था मिलाउनु महासंघको माग छ । महासंघले घाटामा रहेका उद्योगहरूको हकमा सक्ष्म निगरानी (वाच लिस्ट) को समयलाई ५ वर्ष गर्ने र बैंकहरूलाई ऋणको पुनरसंरचनाको लागि स्वीकृत वा सिफारिस गर्ने तथा आगामी ५ वर्षका लागि व्याजलाई पूँजीकरणको व्यवस्था गर्ने र क्रेडिट योग्य असल ऋणीहरूको लागि ५ वर्ष वा योभन्दा बढीको लागि बैंकहरूलाई पूरक ऋण विस्तार गर्न मौद्रिक नीतिमा उपयुक्त व्यवस्था गरिनु पर्ने भनेको छ । ऋणको साँवा, ब्याज भुक्तानीको सम्बन्धमा सरकारले गरेको घोषणाको समय सीमा स्पष्ट नभएको र समय सीमा स्पष्ट गरेपछि एक हप्ताको समय प्रदान गरी १० प्रतिशत छुट पाउने व्यवस्था गर्नु पर्ने अध्यक्ष राणाले बताइन । बैंकहरुले लिंदै आएको सेवा शुल्क, नविकरण शुल्क यो अवधिमा खारेज गर्नुपर्ने उनको भनाइ छ । लकडाउनको अवस्थामा अत्यावश्यक बाहेकका सबै उद्योग, व्यापार तथा व्यवसाय पूर्णतः बन्द छन् । विषम परिस्थितिमा श्रमिकलाई जगेडामा राख्न सक्ने र जगेडामा रहेको अवधिमा श्रमिकलाई पाउने पारिश्रमिकको आधा रकम दिनुपर्ने कानूनी व्यवस्था श्रम ऐन २०७४ मा समेत भएकाले यस्तो विशेष परिस्थितिमा समेत उद्योग,व्यापार तथा व्यवसायमा काम गर्ने श्रमिकलाई लकडाउन अवधिको लागि अधिकतम ५० प्रतिशतसम्म पारिश्रमिक भुक्तानी गर्न पाउनु पर्ने महासंघको भनाइ छ । ‘श्रमिकलाई भुक्तानी गर्नुपर्ने पारिश्रमिक, रोजगारदाता, श्रमिक र सरकार तीनवटै पक्षको बराबर योगदान रहने गरी भुक्तानी गर्ने व्यवस्था गर्नु पर्छ,’ अध्यक्ष राणाले भनिन् । महासंघले ४ महिनाको लागि विद्युत डिमाण्ड चार्ज मिनाहा हुने व्यवस्था गर्न माग गरेको छ । यस्तै बिजुलीको महशुलमा पन्ध्र महिनासम्म २० प्रतिशत छुटको व्यवस्था गरिनु पर्ने महासंघको भनाइ छ । महासंघले यस विषम परिस्थितिलाई आंकलन गरी नेपालको कुल ग्राहस्थ उत्पादनको कम्तिमा ५ प्रतिशतको ’फिस्कल स्टिमुलस’ प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । सरकारले निजी क्षेत्रलाई तिर्नु वा मिलान गर्नुपर्ने रकमहरु भ्याट क्रेडिट, ड्युटी रिफन्ड अन बन्ड, ठेकेदारहरूलाई ठेक्का सम्झौता अनुसार तिर्नुपर्ने रकम, वस्तु तथा सामान सप्लाई गरेको रकम र अन्य केही भएमा सो समेत तुरून्त भुक्तानी गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ ।
स्वार्थको अन्त्य
रोकिएको छ समय, टक्क अडिएको छ विश्व । जसरी अडिन्छ चुम्बकमा टासिएपछि फलाम । जसरी रोकिन्छ सबथोक मासिएपछि हुरी । संसार जित्न हौसिएकाहरु अहिले घर-घर भित्रै बसेका छन् । मै हुँ भन्नेहरु पनि आज दुलो पसेका छन् । संसार जित्न हौसिएकाहरु अहिले घर-घर भित्रै बसेका छन् । मै हुँ भन्नेहरु पनि आज दुलो पसेका छन् । लेखक जीवन बचाउन लागिपरेछन् केहिथान जीवनहरु । हर्के, सुन्तली र फुलमाया- सिमानाबाट आफ्नो देश छिर्न विलाप गरिरहेछन् । दिनभर आफ्नै जीवन घोटेर मुखमा माड पुर्याउने रामे, काँइलो र बसन्तीहरु – पैतालाले गन्तव्य नापिरहेछन् । समयले, एउटा पाठ पढाइरहेछ, चुनौतीले सधै लखेटिरहन्छ । जसरी बलियोले निर्धोलाई अचेटिरहन्छ । जसरी पिल्सिन्छ एउटा जिन्दगी- परदेश हिड्नु अघिको रात, आज त्यसरी नै पिल्सिएको छ जगत्, त्यति सानो विषाणुको कारण- यहाँ लाखौ जिन्दगीहरुको जिन्दगी गयो । सायद अब त मान्छेको स्वार्थको अन्त्य भयो । टिभीमा समाचार आइरहेको थियो, तपाइँको असावधानीले कोरोना फैलन सक्छ, कृपया सचेत हुनुस् । त्यसपछि एउटा ब्रान्डको साबुनले आफ्नो विज्ञापन यसरी बजायो तपाईको घरमा जुन साबुन छ, त्यसैले हात धुनुस् । हिजोसम्म त मेरो मात्रै सर्वश्रेष्ठ भन्थ्यौ, त्यो अहमता कहाँ गयो ? हो ! आज मान्छेको स्वार्थको अन्त्य भयो ।। रुपा-६, कास्की
कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने
काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रूपैयाँ सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पतालबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए । त्यस्तै शिशलाई १२ कक्षासम्म निःशुल्करूपमा शिक्षा लगायतका विभिन्न सहयोग र उच्च शिक्षापश्चात् रोजगारीसमेतको ग्यारेन्टी गराउन पहल गर्ने पनि उनले प्रतिबद्धता जनाए । धुलिखेल अस्पतालमा उपचारका क्रममा जेठ २ गते ती महिलाको मृत्यु भएको थियो ।
नीति तथा कार्यक्रममाथि छलफल: सत्तापक्षको समर्थन र प्रतिपक्षीको आलोचना
फाइल फाेटाे काठमाडाैं । आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज साेमबार पनि जारी रह्यो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदले नीति तथा कार्यक्रमले मुलुकको समृद्धिको मार्गचित्र प्रस्तुत गरेको भन्दै समर्थन जनाए । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलगायत दलका सांसदले नीति तथा कार्यक्रम पुरानै ढङ्गबाट आएको भन्दै अहिलेको परिस्थितिसँग जुध्न नसक्ने र यथार्थभन्दा बाहिर रहेको आरोप लगाए । नेकपा सांसद भीम रावलले कोरोना महामारीपछि आउन सक्ने सम्भावित आर्थिक क्षति न्यूनीकरण गर्ने विषय नीति तथा कार्यक्रममा समेटिएको बताए। स्वास्थ्य क्षेत्रमा पूर्वाधार निर्माण तथा कृषि र शिक्षा क्षेत्रको विकास गर्न ल्याइएका कार्यक्रम अत्यन्त राम्रो भएको उल्लेख गर्दै उहाँले यसका लागि उपयुक्त ढङ्गबाट बजेट विनियोजन गरेर जानुपर्नेमा जोड दिए । मिलेनियम च्यालेन्ज कर्पोरेशनसम्बन्धी सहयोग सम्झौता यही अवस्थामा संसद्बाट पारित गर्न नहुनेमा जोड दिँदै उनले भने, ‘राष्ट्रिय स्वाभिमानमा आँच आउने कुरा पैसासँग साट्न सकिँदैन ।’ उनले विवादास्पद, जनताले आलोचना गरेका कुरा संसद्बाट पास नहुने आफूले विश्वास गरेको पनि बताए । नेकपाका सांसद राधाकुमारी ज्ञवालीले नीति कार्यक्रमले समृद्ध नेपाल निर्माण गर्ने आधारशीला खडा गरेको बताए । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद शशाङ्क कोइरालाले नीति तथा कार्यक्रमले कोरोना नियन्त्रणमा प्राथमिकता दिएको बताइए पनि खास कार्ययोजना आउन नसकेको बताए । न्यून आय भएका नागरिकलाई राहत दिने योजना ल्याउन नसकेको भन्दै उनले राहत वितरणलाई थप प्रभावकारी बनाउन स्थानीय सरकारको भूमिकालाई सबल बनाउनुपर्नेमा जोड दिए । विपद्को समयमा काँग्रेसले सरकारलाई पर्याप्त साथ दिएको भन्दै महामारी नियन्त्रणमा सरकारको प्रयास कम भएको बताए । सांसद कोइरालाले महामारीपछि भोकमरीको अवस्था आउन नदिन कृषि क्षेत्रको आधुनिकीकरण गर्दै मल र बीउको पर्याप्त व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । कृषिलाई पहिलो प्राथमिकता दिएर कार्यक्रम ल्याउन नसकेको भन्दै उनले प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना कार्यान्वयनको ‘मोडालिटी’ परिमार्जन गर्न सरकारलाई सुझाव दिए । सांसद कोइरालाले ठूलो रोजगारीको माध्यम बनेका कतिपय साना, मझौला तथा ठूला उद्योगहरु धरासायी हुनबाट जोगाउने योजना नीति तथा कार्यक्रममा नआएको भन्दै उत्पादनमूलक क्षेत्र तथा उद्योगलाई संरक्षण गर्न नसकेमा मुलुकको अर्थतन्त्र नै सङ्कटमा पर्ने भएकाले प्रभावित उद्योग जोगाउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए । काँग्रेसकै सांसद प्रकाशमान सिंहले भ्रष्टाचारप्रति शून्य सहनशीलता नारामै सीमित भएको आरोप लगाउँदै अनियमितता गर्नेमाथि सरकारले कारवाही गर्न नसकेको गुनासो गरे । मुलुकको अर्थतन्त्र नकारात्मक दिशामा गएको भन्दै उनले अर्थतन्त्रलाई सही बाटोमा हिडाउने खालको बजेट ल्याउन सरकारलाई सुझाव दिए । राष्ट्रिय जनता पार्टीका सांसद महेन्द्रराय यादवले नीति तथा कार्यक्रम परम्परागत भएको भन्दै यसले कोरोनाबाट उत्पन्न सङ्कट समाधान गर्न नसक्ने बताए । उनले कोरोना प्रभावित क्षेत्रलाई उकास्न उचित बजेट विनियोजन गर्न माग गरे । नेपालको आर्थिक वृद्धिमा कमी आएको भन्दै उनले अर्थतन्त्रलाई टेवा दिने प्रभावकारी नीति तथा कार्यक्रम आवश्यक भएको बताए । सांसद यादवले नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान उल्लेख्य रहेको बताउँदै १० देखि १५ प्रतिशत बजेट कृषि क्षेत्रमा छुट्याउनुपर्नेमा जोड दिए । उनले स्वास्थ्य क्षेत्रमा थप लगानी वृद्धि गर्न पनि आग्रह गरे । सङ्घीय समाजवादीका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले नीति तथा कार्यक्रम सङ्घीयताको मूल्यमान्यतामा नआएको उल्लेख गर्दै प्रदेश र स्थानीय सरकारले गर्ने काम सङ्घीय सरकारले नै ल्याएकामा गुनासो गरे । कोभिड-१९ को महामारीसँग लड्न सक्ने गरी पूर्वाधार निर्माणमा विशेष जोड दिन आग्रह गर्दै उनले यसपछि क्रमागत आयोजनामा बजेट विनियोजन गर्न माग गरे । राप्रपाका सांसद राजेन्द्रप्रसाद लिङ्देनले रोजगारी सिर्जना गर्ने योजना नीति तथा कार्यक्रममा आउन नसकेको बताउँदै अनुत्पादक र फजुल खर्च नियन्त्रण गर्नेतर्फ ध्यान दिन सरकारसँग आग्रह गरे ।