लिपुलेक र लिम्पियाधुरासहितको नक्सा मन्त्रिपरिषदबाट पास
काठमाडाैं । सरकारले लिपुलेक, लिम्पियाधुरासहितको नक्सा पारित गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सा पास गरेको स्राेतले बतायाे । भूमि सुधार मन्त्रालयले लिपुलेक समेटिएर नक्सा मन्त्रिपरिषद्मा पेश गरेको थियो। यसअघि सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा,कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने उल्लेख गरिएकाे छ । नापी विभागले तयार पारेको नक्सालाई भूमिसुधार मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछि मात्र नक्सा पारित भएकाे हाे । नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि नक्सा जारी गरेकाे थियाे ।
मापदण्ड बमोजिम क्वारेन्टाइन सञ्चालन गर्न आयोगकाे आग्रह, कस्ताे हुनुपर्छ क्वारेन्टाइन ?
काठमाडाैं । राष्ट्रिय मानवअधिकार आयोगले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डबमोजिम क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी निर्देशिका लागू गरी त्यहाँ रहेका व्यक्तिहरुलाई छिटो प्रक्रियाबाट स्वास्थ्य परीक्षण गरी सुरक्षित स्थानतर्फ स्थानान्तरण गर्न आग्रह गरेको छ । आयोगले प्रदेश तथा स्थानीय तहसँग पर्याप्त समन्वय गर्दै केन्द्रीय राहत कोषलाई उपयोगमा ल्याउन आग्रह गरेकाे हाे । प्रत्येक स्वास्थ्य उपचार केन्द्र तथा अस्पताललाई स्वास्थ्य सुरक्षाको दृष्टिकोणबाट पूर्ण रुपमा सुरक्षित राख्नेतर्फ आवश्यक कदम चाल्दै सङ्क्रमण फैलिन नदिनेतर्फ सजग भई कार्य गर्न, गराउन आयोगले सरकारको ध्यानाकर्षण गराएको छ । विश्व स्वास्थ सङ्गठनको क्वारेन्टाइन व्यवस्थापन मापदण्डअनुसार क्वारेन्टाइनमा उपयुक्त र पर्याप्त खाना, पानी र सरसफाइको प्रबन्ध हुनुपर्ने, सङ्क्रमण रोकथाम तथा नियन्त्रणका न्यूनतम उपायको कार्यान्वयन गर्नुपर्ने, स्वास्थ्य अवस्थाको अनुगमन तथा न्यूनतम आवश्यकता पूर्तिको सुनिश्चितता गर्नुपर्ने उल्लेख गरिएको छ । त्यस्तै, क्वारेन्टाइनका व्यक्तिलाई सम्भव भएसम्म पर्याप्त रुपमा हावामा ओहोरदोहोर गर्न सक्ने खालको एकल कोठा उपलब्ध गराउनुपर्ने, शारीरिक दूरी कायम हुनुपर्ने, परिवारका सदस्यहरुसँग कुराकानी र सञ्चार गर्ने प्रबन्ध मिलाउनुपर्ने, यथासम्भव इन्टरनेट, समाचार तथा मनोरञ्जनको व्यवस्था मिलाउनुपर्ने, मनोसामाजिक सहायता उपलब्ध गराउनुपर्ने र बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिनुपर्ने लगायतका व्यवस्था हुनुपर्ने उल्लेख छ । आयोगको अनुगमनको क्रममा उक्त मापदण्ड अनुरुप क्वारेन्टाइनमा पर्याप्त पोषणयुक्त खाना, पिउने पानी, शौचालय, उचित बसोबास, स्वास्थ्य हेरचाहजस्ता आवश्यकतासमेतको उचित व्यवस्थापन हुन नसक्दा व्यक्तिका आधारभूत मानवअधिकार सङ्कुचनमा परेको देखिन्छ । व्यवस्थित हुन नसक्दा सम्भावित सङ्क्रमित क्वारेन्टाइनमा बस्न नचाहने र बसिरहेका पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको आँखा छली उम्किने, भाग्ने गर्दा समाजमा सङ्क्रामक रोग अझ बढी फैलिने देखिन्छ । नेपालमा फैलिरहेको कोभिड-१९ को असर र त्यसको कारणबाट नेपालमा एक सुत्केरी महिलासहित दुई जनाको निधनप्रति आयोगले समवेदना प्रकट गरेको छ । कोभिड-१९ को कारणबाट मृत्यु हुनेको प्रत्येक परिवारलाई उचित राहत उपलब्ध गराउने व्यवस्था मिलाउन आयोगले सरकारलाई आग्रह गरेको छ । रासस
‘हात धोएर घरभित्र पस्नू, नत्र कोरोनाको डर हुन्छ’
धनगढी । धनगढी उपमहानगरपालिका-१३ का मोहन जोशीले शनिबार बहिनी अनितालाई सम्झाउँदै भने, ‘हात धोएरमात्र घरभित्र पस्नु, नत्र कोरोनाको डर हुन्छ ।’ घर नजिकैको खेतमा बिहान बाख्रा चराएर फर्किएकी अनिताले दाइले भनेअनुसार साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर हात धोएर खाना खाने तयारी गरिन् । लगत्तै काम विशेषले उनीहरुको घर आइपुगेका एकजना छिमेकीले दाजु-बहिनीको संवाद सुनेर भने, ‘कोरोनाबाट जोगिन सरसफाइमा ध्यान पुर्याउने चेतना बढ्दा राम्रै भएको छ ।’ तीनैजनाबीच केही समय कोरोना रोगले निम्त्याएको त्रासका बारेमा छलफल पनि भयो । कोरोनाबाट जोगिनका लागि समूहमा नहिँड्ने, नयाँ मान्छेसँग भेट हुँदा टाढैबाट कुरा गर्ने, पटक पटक साबुन पानीले मिचिमिचि करिब आधा मिनेट जति समय लगाएर हात धुनुपर्ने कुुरामा उनीहरु सचेत देखिन्थे । कोरोना सङ्कटसँगै जारी लकडाउनको असर शहर बजारमा बढी देखिए पनि गाउँमा यसको त्यति पालना नभइरहेको तर्फ उनीहरुको चिन्ता देखिन्थ्यो । जोशीले भने, ‘गाउँमा मान्छेको चहलपहल खासै नघट्दा कोरोना निम्तिने खतरा छ, शहरमा भने लकडाउनले सुनसान भएको सुनिन्छ ।’ विद्यालय बन्द भएर घरमै बस्नुपर्दा फुर्सदिला बनेका मोहन र अनिताले व्यक्तिगत रुपमा भएपनि सरसफाइमा ध्यान दिन थालेका छन् । दुवैबीच खाना पकाउने, तरकारी बारीमा झार निकाल्ने र तरकारीको बोटमा पानी दिने र बाख्रा चराउने कामको बाँडफाँड हुने गरेको पनि छ । विद्यालय बन्द भए पनि घरको पढाइ भने उनीहरुले नियमित गरिरहेका छन् । ‘बिहान बेलुका पुस्तक पढ्ने, केही समय टेलिभिजन हेर्ने गरेका छौँ, बाँकी दिउँसोको समय घरको काममा बुबाआमालाई सघाउने गरेका छौँ’, अनिताले भनिन् । साबुन पानीले हात धुनु केवल कोरोनाबाट मात्र बँचिने होइन यो एक स्वास्थ्य जीवनको आधारभूत कुरा पनि हो । हरेक व्यक्तिले आफूले आफ्नो घर होस् वा कार्यालय जहाँ जाँदा पनि गन्तव्यमा पुगिसकेपछि उक्त घरमा प्रवेश गर्नु अघि राम्ररी हात खुट्टा धुनु निकै उपयुक्त देखिन्छ । यसले एकातिर आफूलाई कोरोना जस्ता महामारी रोगको किटाणुरहित बन्नमा मद्दत पुर्याउँछ भने अर्का व्यक्तिको आनीबानीमा सुधार आई व्यक्तिगतरुपमा स्वस्थ्य र सफा रहन्छ । सधैँ सरसफाइ गर्ने व्यक्ति निकै फुर्तिलो हुन्छ विश्वभरमा फैलिरहेको कोरोनाले समाजमा निकै परिवर्तन ल्यायो अर्थात् निकै गतिलो संस्कारको पुनरावलोकन तथा अभ्यास गराएको आभाष गराएको छ । प्रायः खानाखानु पहिले सकेसम्म राम्ररी हात धुन बिर्सेका हामी मानव समुदायलाई कोरोनाको सङ्क्रमणको त्रासले एकैदिनमा पनि पटकपटक हात धुने बनाइ दिएको छ । हात खुट्टा धुन लापरवाही गर्नेहरूका लागि कोरोनाले राम्रोसँग हात धुनपर्छ भन्ने सिकाएको छ । यति मात्र नभएर अझ घरबाहिरबाट घरमा पुगेपछि घरमा राम्रोसँग हातखुट्टा धोएर मात्रै घरभित्र बस्ने एक पुरानो तर वैज्ञानिक संस्कृति कोरोनाको त्रासले सिकाएको छ । विद्यार्थीहरु मानसिकरुपमा अन्योल वार्षिक परीक्षा नसकिँदै शैक्षिक संस्था बन्द भएपछि अब विद्यालयमा पढाइ हुने/नहुने भन्नेमा विद्यार्थीहरु मानसिकरुपमा अन्योलमा देखिँदा अभिभावक पनि चिन्तित देखिएको शिक्षक लेखराज ओझाले बताए । ‘विद्यालय बन्द हुँदा विद्यार्थीको पढाइप्रतिको निरन्तरता कमजोर देखिन थालेको छ’, उनले भने, ‘घरमा पढ्ने र विद्यालय गएर पढ्ने कुरा फरक हुने भएकाले विद्यार्थीमा अन्योलता देखिएको हो ।’ जारी बन्दाबन्दीका कारण घर बाहिर निस्कन नसकेका कतिपय व्यक्ति आफ्नो स्वास्थ्य र सरसफाइप्रति सचेत हुँदा उनीहरुको रहनसहन र बानी व्यवहारमा परिवर्तन आउन थालेको छ । बन्दाबन्दीले बिनाकाम जहाँ पायो त्यहीँ जथाभावी हिँडिरहने पहिलेको बानी पनि छुट्न गई घरमै बसेर भान्सामै पाकेको खाना र खाजा खानुपर्ने अवस्था आएपछि धेरैको रहनसहन र बानी व्यवहारमा परिवर्तन आउन थालको हो । ‘कोरोनाको सङ्कटले धेरैलाई घरमै बन्दी बनाइदिँदा स्वास्थ्य र सरसफाइमा देखिएको सचेतनासँगै धेरैको जीवनशैली पनि फेरिन थालेको छ’, स्थानीय बिस्नुराज बुर्लाकोटीले भने, ‘बजारका पसलमा पुगेर जङफुड खाने बालबालिकाको बानी अहिले फेरिँदा बालबालिकाको स्वास्थ्यमा पनि सुधार हुने देखिएको छ ।’ बेलुका होटेल रेस्टुराँ पुगेर नियमितजसो मदिरा पान, धूम्रपान गर्ने बानी परेकाहरुको स्वास्थ्यमा सुधार ल्याउन पनि बन्दाबन्दीले टेवा पुर्याइरहेको छ । ‘अहिलेको अवस्थाले सुर्ती र चुरोट सेवन गर्ने र रक्सी खानेहरुको बानीमा निकै सुधार भई उनीहरुको खराब लत पनि छुटाउन मद्दत पुगेको छ’, स्थानीय ढुङ्गे बजारमा भेटिनुभएका मजदुर सन्तोष चौधरीले भने। मजदुरी पाउने अवसर गुमे बन्दाबन्दीले उद्योग, पेशा, व्यवसाय सबै क्षेत्रमा प्रतिकूल प्रभाव परिरहँदा सबैभन्दा बढी मारमा दैनिक घर बाहिर निस्केर मजदुरी गरेर कमाइ गर्ने मजदुर वर्ग परेका छन् । कोरोनाले मजदुरी पाउने अवसर गुमेका कारण अब कमाइ कसरी गर्ने र कमाइ नगरे के खाने भन्ने समस्या आइलागेको गुनासो अर्का मजदुर रामप्रसाद चौधरीले बताए । उनले दुखेसो सुनाउँदै गर्दा नजिकै रहेका अर्का मजदुर रमेश चौधरीले आग्रह गरे, ‘घरमा खान केही छैन सर, सरकारलाई भनिदिनुपर्यो ।’ आफूसँग कुरा गर्ने मान्छे सरकारको कर्मचारी भएकाले राहत दिन आएको भन्ने बुझाई राखेका उनीहरु दुवैजना मजदुरी नपाउँदा जीविका कसरी चलाउने भन्ने चिन्तामा थिए । ‘काम गर्न पनि नदिने यो कोरोना रोग कहिले सकिन्छ सर, रमेशले प्रश्न गरे, कतै काम पाइहालेमा कोरोना सर्ने होकी भन्ने डर पनि छ ।’ एक महिनासम्म घरमा भएको नगद र अन्नपातले जेनतेन जीविका चलाएका कतिपय मजदुर लकडाउन लम्बिँदै जाँदा घरमा सामल सकिएको भन्दै भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको गुनासो सुनाउँछन् । स्थानीय तहले विपन्न परिवारलाई राहतस्वरुप चामल, दाल, नुनलगायतका सामग्री वितरण गरिरहेको भए पनि पर्याप्त मात्रामा वितरण गरिएको छैन । जसका कारण घरमा रहेको खाद्यान्न सकिँदा कतिपय मजदुर साँझ बिहानको समयमा पेटभरी खान नपाइरहेको बताउँछन् । कोरानाको सङ्कटले छात्रछात्रा, मजदुर मात्र नभई हुनेखाने वर्गका व्यक्ति र विभिन्न पेशा व्यवसाय गरिरहेकाको दैनिकीको पनि फेरिन थालेको छ । बन्दाबन्दीले बनाएको पट्यार लाग्दो बसाइँका बीच धेरैले आफ्नो करेसाबारीमा साग, तरकारीखेती गर्ने, गोडमेल गर्नेजस्ता काम गरेर चित्त बुझाइरहेका देखिन्छन् । ‘स्कूल बन्द भएको दुई महिना पुग्न लाग्यो’, शिक्षक ओझाले भने, ‘घरमा त्यसै बस्नुभन्दा तरकारी उत्पादन गर्न सकेमा साग तरकारी किन्नु पर्ने पैसा बचत हुन्छ ।’ विपन्नलाई पर्याप्त राहत वितरण भएन कोरोनाको सङ्कटसँगै समस्यामा परेका विपन्न समुदायका व्यक्तिलाई स्थानीय तहले राहत वितरण गरिरहेका छन् । स्थानीय तहले एक चरणमा विपन्नलाई राहतस्वरुप खाद्यान्न वितरण गरिरहेको भए पनि पाइएको राहत सकिन थालेको विपन्नको गुनासो छ । कैलालीको भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले राहत वितरण गर्न बनाइएको मापदण्डका आधारमा प्रतिपरिवारलाई २५ किलो चामल, दुई किलो नुन, एक लिटर तेल, दुई किलो दाल, दुई चक्की साबुन वितरण गरिसकिएको बताए । नगर क्षेत्रका दुई हजार ७० विपन्न घरपरिवारलाई पहिलो चरणमा राहत वितरण गरिएको छ, नगर प्रमुख चौधरीले भने, ‘दोस्रो चरणको राहत बाँड्ने तयारी भइरहेको छ ।’ रासस
एउटै गाउँपालिकामा ५६ सङ्क्रमित, आइसोलेशन वार्ड तयार गरिँदै
काठमाडाैं । एक जना सङ्क्रमितको ज्यान गएसँगै बाँकेको नरैनापुर गाउँपालिका कोरोनाको केन्द्रविन्दु बन्न पुगेको छ । आज फेला परेका ४७ जनासहित नरैनापुरमा मात्रै सङ्क्रमित ५६ पुगेका छन् । यसअघि नै नरैनापुरमा एकजनाको ज्यान जानेगरी नौ जनामा सङ्क्रमण देखिएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या आजसम्म ८१ पुगेको छ । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक जना गरी २५ जनामा सङ्क्रमण देखिएको थियो । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुरमा आज सङ्क्रमित देखिएका अधिकांश नागरिक भारतबाट फर्किएर क्वारेन्टिनमा बस्दै आएका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । आइतबार मात्रै नरैनापुर ५ का एक २५ वर्षीय युवकको कोरोनाबाटै निधन भएको थियो । श्रेष्ठका अनुसार आज सङ्क्रमण फेला परेका सबै यसअघि भेटिएका आठ सङ्क्रमितको सम्पर्कमा आएका व्यक्ति हुन् । आठ सङ्क्रमितको सम्पर्कमा आएका आधारमा दुई दिनअघि शनिबार नरैनापुरका विभिन्न वडामा रहेका क्वारेन्टिनबाट सङ्कलन गरिएको स्वाब नेपालगञ्जस्थित भेरी अस्पतालको आरटिपिसिआर यन्त्रमा परीक्षण गर्दा ४७ जनामा रिपोर्ट पोजेटिभ आएको हो । नरैनापुर २ को आदर्श मावि, लक्ष्मणपुरबाट ८७, वडा नं. ५ को दीपेन्द्र प्रावि, भोजभगवानपुरबाट ३९, वडा नं ५ कै नेराप्रावि, हुलासपुरबाट ७२ र वडा नं ६ को जयकिसन मावि, भगवानपुरबाट ६५ जना गरी २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । आइतबार थप ११ जनाको स्वाब सङ्कलन गरिएको श्रेष्ठले बताए । नरैनापुरबाट सङ्कलित २७४ मध्ये अझै केही स्वाबको परीक्षण बाँकी रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले बताए । “पूरै स्वाबको रिपोर्ट आइसकेको होईन, म बाहिर फिल्डमै भएकोले एक्जाक्ट मलाई पनि थाहा भएन”, उनले भने, “सङ्क्रमितलाई व्यवस्थापनको लागि छलफल भइरहेको छ ।” एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि नरैनापुरमै आइसोलेशन वार्ड तयार गर्ने कि अन्यत्र व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल भइरहेको उनको भनाइ छ । यसअघि सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखिएको छ भने आठ जनालाई दाङ पठाइएको छ । २३ सङ्क्रमितको पुनः स्वाब सङ्कलन नेपालगञ्जमा फेला परेका २३ सङ्क्रमितको आज पुनः स्वाब सङ्कलन गरिएको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा तयार गरिएको कोरोना विशेष अस्पतालमा उपचाररत २५ मध्ये समयावधि पुगेका २३ सङ्क्रमितको कोरोना परीक्षणका लागि पुनः स्वाब सङ्कलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालगञ्जका पहिलो सङ्क्रमितसहित २३ जनाको स्वाब सङ्कलन गरिएको छ । पछिल्लो पटक सङ्क्रमण भेटिएका दुई पुरुषको समयावधि पुगेपछि पुन परीक्षण गरिने बताए । पहिलो सङ्क्रमितको आजसहित तेस्रो पटक स्वाब सङ्कलन गरिएको हो । ६० वर्षीय पहिलो सङ्क्रमितको यसअघि गत हप्ता गरिएको पुनः परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको थियो । रासस
गुल्मीका शिक्षकमा कोरोना देखिएपछि अस्पताल सिल
काठमाडाैं । उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका मदानेका ४१ वर्षीय शिक्षकमा आज साेमबार कोरोना संक्रमण पुष्टि भएको हो । निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका उनको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिए। अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उनले बताए । मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आएका उनमा एक्कासि ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागि क्रिमसन अस्पतालमा आएका मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए । रासस
गुल्मीका कोरोना संक्रमितको अवस्था गम्भीर
काठमाडौं । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमितकाे अवस्था गम्भिर भएर भेन्टिलेटरमा राखिएकाे छ । रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उनलाई राखिएकाे अस्पताल श्राेतले जनाएकाे छ । उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । उनलाई दुईदिन आईसीयूमा राखिएकाे तर स्वास्थ्यमा सुधार नअाएपछि उनलाई भेन्टिलेटरमा राखिएकाे श्राेतले जनाएकाे छ ।
बूढानीलकण्ठका तीन वडा राति १२ बजेदेखि सिल गरिने
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ बस्ने एक युवतीमा पिसिआर रिपोर्ट पोजेटिभ देखिएपछि नगरपालिकाका तीनवटा वडा सिल गर्ने तयारी गरिएको छ । वडा नं १०, ११ र १२ का जनप्रतिनिधिको संयुक्त बैठकले नगर प्रमुखको सल्लाहबमोजिम आज राति १२ बजेदेखि तीनवटै वडा सिल गर्ने तयारी गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । यस अवधिमा कोही पनि घर बाहिर हिँडडुल गर्न नपाउने विज्ञप्तिमा उल्लेख छ । सर्लाहीको रामनगर स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका-१२ स्थित तेन्जिङ चोकमा बसोबास गर्दै आएकी युवतीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उक्त क्षेत्र आजदेखि सिल गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । शङ्कास्पद सातजनामा गरिएको परीक्षणमा एकजनामा सङ्क्रमण देखिएको छ भने तीनजनाको परीक्षण नतिजा नेगेटिभ देखिएको छ । तीनजनाको नतिजा आउन बाँकी छ । पिसिआर परीक्षण पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीको सम्पर्कमा आएका १५ जनाको पिसिआर परीक्षण गर्ने बताइएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएको परिवारले जनाएको छ । युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो । बन्दाबन्दी समयमा नेपालगञ्जबाट काठमाडौं आएका १२ जनालाई बूढानीलकण्ठ नगरपालिका-६ स्थित छहारी भवनमा राखिएको नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले बताए । भारतको विभिन्न ठाउँ हुँदै नेपालको सिमासम्म आइपुगेका ती व्यक्ति नेपालगञ्जमा रहेको क्वारेन्टाइमा बसी पत्रसहित सम्बन्धित जिल्ला पठाउने क्रममा काठमाडौं आइपुगेको बताइएको छ । नेपालगञ्जबाट काठमाडौं आएका उक्त व्यक्तिको आरडिटी परीक्षण पहिले नै गरिएको भएतापनि स्वाब सङ्कलन गरी पिसिआर परीक्षण गर्नुपर्ने भएकाले उनीहरुलाई क्वारेन्टाइमा राखिएको नगर प्रमुख खरेलले बताए । क्वारेन्टाइनमा राखिएकाहरु काभ्रे, सिन्धुपाल्चोक, काठमाडौँ, रसुवा, नुवाकोट र सुर्खेतलगायतका छन् । निःशुल्क खानाको सट्टा रोजगारी काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले निःशुल्क खानाको सट्टा रोजगारी दिनेभएको छ । लकडाउनपछि नगरपालिकाले वडा नं ६ ले छहारी भवनमा तथा वडा १० ले निःशुल्क खाना वितरण गर्दै आएको थियो । नगरपालिकाले सञ्चालन गरेको मेसबाट दैनिक चार हजारभन्दा बढी मानिस लाभान्वित हुँदै आएका थिए । यस्तो कार्यक्रमले कोरोना भाइरसको जोखिम बढाउन सक्ने भन्दै नगरपालिकाले निःशुल्क भोजन वितरण कार्यक्रम बन्द गरिएको छ । कार्यक्रम बन्दभए सँगै उनीहरु समस्यामा परेका छन् । कोरोनाको सम्भावित सङ्क्रमणबाट जोगिन सरकारले लकडाउन शुरु गरेदेखि नगरपालिकाले विपन्नका लागि राहत उपलब्ध गराउँदै आएको थियो । खाना कार्यक्रमका अतिरिक्त चार हजार ७२५ मजदुर तथा विपन्न परिवारलाई राहत बाडेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले विपन्न तथा मजदुरका लागि खाना तथा राहतभन्दा पनि रोजगारी दिने तयारी गरेको नगरप्रमुख खरेलले बताए ।
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक, के विषयमा हुँदैछ छलफल ?
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्काे बैठक बोलाएका छन्। उनले प्रधानमन्त्री निवास वालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएक हुन् । स्राेतका अनुसार विदेशमा रहेका नेपालीहरुकाे उद्दारकाे लागि बैठक बाेलाइएकाे हाे । कोरोनाका कारण रोजगारी गुमाएर विदेशमा नेपालीहरू अलपत्र छन्। उनीहरूलाई कसरी स्वदेश फर्काउनेबारे सरकारले तयारी गरिरहेको बताइएकाे छ । आजको बैठकमा कोरोना संक्रमणको अवस्था, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने लगायतका विषयमा छलफल हुने स्राेतले बतायाे । नेपालीहरुले स्वदेश फर्काउन माग गरिरहेका छन्। आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लब्याउने निर्णय गरेको थियो। बैठकमा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा छलफल पनि भएको थियो।