विकासन्युज

नुवाकोटमा दुई वर्षकी बालिकाको मृत्यु, कोरोनाको आशंकाले स्थानीयबासीमा त्रास

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर २ स्थिति सिरिसे टोलमा २ वर्षकी एक बालिकाका मृत्यु भएको छ । आइतबार घरमै लडेर बेहोस भएकी ति बालिकाको सोमबार धादिङ जिल्लाको धार्केस्थिति शिवदर्शन अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले विरामीको अवस्था जटिल भएको भन्दै थप उपचारको लागि काठमाडौं लैजान भनेको तर बच्चाको बुबाले विरामी घरमा लैजादै गर्दा ती बालिकाको मृत्यु भएको बुझिएको छ । ती बालिकाको मृत्यु कोरोना भाइरसको कारण भएको हो कि भन्ने आशंका भएको र आवश्यक जाँचको लागि जिल्ला सदरमुकाम विदुरबाट स्वास्थ्यकर्मीको टोली बोलाइएको वडा अध्यक्ष रमेशप्रसाद न्यौपानेले बताए । कोरोनाको कारण मृत्यु भएको हो कि भन्ने आशंकाले स्थानीयबासी चिन्तित भएको र शंका निवारण गर्नको लागि शवको स्वाव परिक्षणका लागि स्वस्थ्य टोली मगाउने निष्कर्षमा स्थानीयबासी पुगेको खनियाँखर्क निमाविका शिक्षक दामोदर सापकोटाले बताए ।

झापाका कोरोना संक्रमित ६२ वर्षीय वृद्ध निको भएर घर फर्किए

काठमाडाैं । विराटनगरमा उपचाररत झापाका एक जना कोरोना संक्रमित सोमबार निको भएर घर फर्किएका छन् । झापा दमक ३ का ६२ वर्षीय वृद्ध निको भएर घर फर्किएका हुन् । उनी कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार गराईरहेका थिए । यहीसँगै नेपालमा काेराेना निकाे भएर घर फर्किनेकाे संख्या ३७ पुगेकाे छ ।  

आज भेटिएका बाँकेका ४७ सङ्क्रमितलाई नरैनापुरमै व्यवस्थापन गरिने

बाँके । बाँकेको नरैनापुरमा आज भेटिएका ४७ सङ्क्रमितलाई नरैनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिने भएको छ । एकैपटक ठूलो सङ्ख्यामा सङ्क्रमित फेला परेपछि नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको सुविधायुक्त भवनलाई आइसोलेशन अस्पतालका रुपमा सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले खजुराको क्यान्सर अस्पतालमा सञ्चालन गरेको कोरोना विशेष आइसोलेशन अस्पतालकै रुपमा आइसोलेशन अस्पताल सन्चालन हुनेछ । लक्ष्मणपुर स्वास्थ्य केन्द्र चिकित्सकको दरबन्दी भए पनि केही वर्षदेखि चिकित्सकविहीन छ । निजी अस्पतालले शय्यालगायत आवश्यक सामग्री सहयोग गरिसकेकाले भेरी अस्पतालको मातहतमा रहने गरी नरैनापुरमा आइसोलेशन सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेशन अस्पताल सञ्चालनका लागि पूर्वाधार अध्ययन भइरहेको जानकारी दिनुभयो । सङ्क्रमितलाई आज क्वारेन्टिनबाट अलग्गै सुरक्षित तरिकाले राख्ने काम भइरहेको बताइएको छ । भारतबाट आएर नरैनापुरको विभिन्न क्वारेन्टिनमा रहँदै आएका एक महिलासहित ४७ जनामा आज कोरोना पुष्टि भएको हो । यसअघि नेपालगञ्जमा फेला परेका सङ्क्रमित २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा तथा नरैनापुरका आठ जनालाई दाङ पठाइएको छ । बाँकेमा प्रदेश सरकारले खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका २५ र बर्दियाका एक गरी २६ जनाको उपचार हुँदै आएको छ ।

नेपाल भारत सीमामा रहेका ७ सय ५८ नेपाली भित्रिए

लम्की । नेपाल भारत सीमामा रहेका नागरिकलाई नेपाल प्रवेश दिएपछि कैलालीको गौरीफण्टा नाकाबाट ७५८ जना नेपाल भित्रिएका छन् । यसरी नेपाल भित्रिएका नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा पठाइएको छ । कैलाली र कञ्चनपुरका सबै नागरिकलाई सम्बन्धित पालिकाको क्वारेन्टिनमा पठाइएको तथा डोटीका १२ र बझाङका चार जना धनगढीस्थित क्वारेन्टिनमा राखिएका छन् । उनीहरु यही जेठ २ र ३ गते नेपाल भित्रिएका हुन् । सीमाबाट आउनेलाई गौरीफण्टामा स्वास्थ्य परीक्षणपछि मात्रै स्थानीय पालिकामा पठाउन थालिएको छ । यसअघि भारतमा क्वारेन्टिनमा राखिएका नेपालीलाई भारतले भारतीय सीमासम्म पु¥याउने व्यवस्था गरेको छ भने नेपालका क्वारेन्टिनमा रहेका भारतीयलाई भारत फर्काउन थालिएको छ । नेपाल भारत सीमामा दर्जनौंँ नाका भए पनि हाल धनगढी मात्र खुला रहेको छ । धनगढी त्रिनगर भन्सारपछिको दैनिक हजारौंँ मानिस ओहोरदोहोर हुने नाका खक्रौला थियो । लकडाउन लम्बिँदै जाँदा खक्रौला नाका पनि बन्द छ । नाका बन्द भएपछि खक्रौला भएर नेपाल आउन चाहने मानिसलाई पनि धनगढी भएर आउनू भन्ने गरिएको टीकापुर नगरपालिकाका प्रवक्ता दीर्घबहादुर ठकुल्लाले जानकारी दिए । बन्दाबन्दीका बेला दुईदेशीय सीमामा एकार्काका नागरिकलाई आदानप्रदान गर्न जिल्लामा एउटै नाका मात्र रहेकाले केही दिनअघि टीकापुरमा क्वारेन्टिनमा रहेका भारतीयलाई टीकापुरबाट धनगढी पु¥याइएको थियो भने पलिया क्वारेन्टिनमा रहेका नेपालीलाई भारतीय अधिकारीले गौरीफन्टामा ल्याई बुझाएका थिए । रासस  

गगन थापाको प्रश्नः मान्छे फिर्ता नल्याउनेले माटो फिर्ता ल्याउँछ ? (भिडियोसहित)

दुई अमेरिकी साइकोलोजिष्ट दनिङ र क्रुगरले १९६९ मा गरेको एक अध्ययनले एउटा रोचक तथ्य अगाडि सारेको थियो । केही कम क्षमता भएका मानिसलाई के लाग्छ भने उनीहरुसँग अदभुत् क्षमता छ । आफुलाई ज्ञाननै नभएको विषयमा आफुलाई गज्जवको ज्ञान भएको भ्रान्ती उनीहरुमा हुन्छ । यस्तो संज्ञानात्मक पूर्वाग्रहलाई दनिङ क्रुगर इफेक्टको नाम दिइएको थियो । दनिङ भन्छन्, यस्तो सामान्य मान्छेमा हुँदा कम क्षति हुन्छ तर कुनै कम्पनीको मालिक वा देशलाईचलाउनेलाई यस्तो भयो भने बर्बादै हुन्छ । त्यसमाथि यस्तो कम क्षमता भएका मानिसका वरिपरि रहनेहरुले हुँदै नभएको ज्ञान र क्षमतामा पनि क्या बात क्या बात भनिरह्यो भने देश वा कम्पनी दुर्घटनामा पर्न सक्छ । यो नीति तथा कार्यक्रम पढिरहँदा यस्तै तरिकाले ग्रस्त भएर हाम्रो नेपाल दुर्घटनाको नजिक पुगेको भान मलाई भएको छ । यो दस्तावेज प्रधानमन्त्रीले एक्लै बसेर कविता लेखे जस्ताे होइन नकुनै मन्त्रीहरुले लुकेर लेखेको अध्यादेश जस्तो । यो त पहिला लेखियाे हाेला । सचिव, मन्त्री अनि पछि प्रधानमन्त्रीको टिमले लेखेको होला । यो ल्याउनुभन्दा पहिले पटक पटक पढियो पनि होला । यो महामारीले गर्दा विश्वको व्यवस्था र अवस्थामा कसरी खलबल ल्याएको छ । यसबाट हामी अछुतो होइन हामी झन बढी प्रभावित भएका छौं, हुनेछौं भन्ने कसैले भनेन ? घरभित्र र बाहिरको आपुर्ति प्रणाली अस्तव्यस्त हुँदा बालिदेखि भकारीसम्म प्रभावित भएको यो बेलामा लामो गन्थन नलेखौं । तत्काल बाली र भकारीको प्रभावलाई कसरी कम गर्ने भन्ने कसैले भनेन ? सम्बृद्ध नेपाल सुखी नेपालीह लेख्दै गर्दा कयौं रोजगारी पाएकाहरु पनि बेरोजगार भइसके भन्ने कसैले भनेन ? भोकले कोही मर्दैन, कोही भोकै हुँदैन भन्ने लेख्दै गर्दा भोकै मरिसके भन्ने कसैले भनेन ? सरकारको अभुतपूर्व कामले संक्रमण नियन्त्रण भयो भन्ने लेख्दै गर्दा संक्रमण कम भएको होइन परीक्षण कम भएको हो भन्ने कसैले भनेन ? कोरोनाको कारण एउटाको पनि ज्यान गएको छैन भनिरहँदा यस्तै तरिका हो भने केही समयपछि मर्ने मानिसको लास गन्न भ्याइँदैन भनेर कसैले भनेन ? यो दस्तावेज पढ्दै गर्दा म निरास होइन म लज्जित भएको छु । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि जारी छलफलमा भाग लिँदै सांसद गगन थापा l Gepostet von Bikashnews.com am Montag, 18. Mai 2020 लिम्पियाधुरासहितको नक्सा निकालिन्छ पहल गरिन्छ भन्दै गर्दा मैले सोचेँ जसले मेरो सिमानामा अलपत्र परेका नागरिकलाई जोगाउँदैन भने उसले मेरो सीमा जोगाई दिन्छ ? जसले खाडीमा अलपत्र परेकालाई फिर्ता ल्याउँदैन त्यसले मेरो भूमि फिर्ता ल्याइदिन्छ ? यो संसदमा कहिले काँहि वहस हुन्छ राष्ट्रियता भनेको मान्छे हो की माटो हो ? दुइटै हो सभामुख महोदय । जसले आफ्नो मान्छे चिन्न सक्दैन त्यसले माटो जोगाउन पनि सक्दैन । जसलाई पसिनाको गन्धको अनुभुति हुँदैन त्यो पसिनाको गन्धले माटोको सुगन्ध पनि थाहा पाउँदैन । त्यसैले मेरो मान्छे फिर्ता नल्याउने सरकारले माटो पनि फिर्ता ल्याउँछ भन्ने रत्तिभर पनि विश्वास छैन । ( सासंद थापाले प्रतिनिधिसभा बैठकमा राखेकाे विचार)

कोरोना परीक्षण हुने भएपछि सिसडोलकाे फोहर उठ्ने

काठमाडौं । सिसडोलवासीको कोभिड–१९ परीक्षण हुने भएपछि काठमाडौँ उपत्यकाको नियमित फोहर विसर्जन हुने भएको छ । सिसडोलवासीले कारोना परीक्षणको माग राख्दै ककनी गाउँपालिकाले आजदेखि लागू हुने गरी एम्बुलेन्स बाहेकका सवारी आवतजावतमा रोक लगाएपछि कुनै पनि फोहरका गाडी काठमाडौँ उपत्यकाबाट सिसडोल जान पाएका थिएनन् । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या विद्यासुन्दर शाक्यको नेतृत्वमा आज ककनी गाउँपालिका जनप्रतिनिधिसहित बसेको बैठकले तत्कालका लागि यो समस्या समाधान गर्ने सहमति गरेको हो । ककनी गाउँपालिकाका जनप्रतिनिधि र स्थानीयको मागअनुसार सिसडोलवासीमा कोरोना सङ्क्रमण भए–नभएको पुष्टिका लागि काठमाडौँ महानगरपालिकाको नेतृत्व र स्वास्थ्य विभागको सहयोगमा परीक्षण गर्ने सहमति भएको छ । कामपाले भोलि नै स्वास्थ्य विभागको टोलीसहित सिसडोल पुगेर आरडिटी र पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गरिने जानकारी दिए । उपत्यकाको फोहोरा छोपेर सिसडोल लैजाने सहमति भयो । प्रमुख शाक्यले भने, “सहमतिअनुसार बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म फोहर विसर्जन गरिसक्नुपर्ने छ ।” ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले सिसडोलवासीले कोरोना सङ्क्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गरेको र त्यो माग पूरा भएकाले हालको नियमित फोहर विसर्जन हुने जानकारी दिए । कामपा वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार फोहर विसर्जन स्थल आसपासका बढी प्रभावित कम्तीमा ३०० जनाको परीक्षण गर्ने तयारी कामपाको रहको छ । हालको लागि फोहर विसर्जनसम्बन्धी समस्या समाधान भए पनि यो नै दीर्घकालीन समाधान भने होइन, कामपाले दुई वर्षको लागि भन्दै विगत १३ वर्षदेखि सिसडोलमा फोहर व्यवस्थापन गर्दै आएको हँुदा अब त्यहाँ स्थानको पनि अभाव भइसकेको छ । हाल काठमाडौँ उपत्यका १८ वटा स्थानीय तहको फोहर सिसडोलमा विसर्जन हुँदै आएको छ । उपत्यकाबाट दैनिक एक हजार ४५ मेट्रिक टन फोहर उत्पादन हुन्छ । रासस

महामारीका बेलामा कानूनी बाधा कसरी फुकाउने ? निर्णय आइतबार सुनाइने

काठमाडाैं । सर्वोच्च अदालतमा महामारीका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा कानूनी बाधा फुकाउनका लागि प्रधानन्यायाधीशसहित १९ जनाको बृहत् पूर्ण इजलासले गरेको निर्णय यही जेठ ११ गते सुनाइने भएको छ । कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमबाट बच्नका लागि सरकारले बन्दाबन्दी गरेका बेलामा म्याद र हदम्यादका तारिकका विषयमा कानूनी स्पष्टताका लागि बसेको इजलासले आइतबार निर्णय सुनाउने सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र अधिकारीले जानकारी दिए । बन्दाबन्दी एकैपल्ट नखुली आंशिक वा क्षेत्रगत रूपमा मात्र खुलेका स्थितिमा मुद्दाको म्याद र हदम्यादका तारिखको गणना कसरी गर्ने भनेर अप्ठ्यारो स्थिति पैदा भएकाले बाधा अड्काउ फुकाउने बारेमा सो इजलासले निर्णय गर्नेछ । बृहत पूर्ण इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा, प्रकाशमानसिंह राउत, सपना मल्ल, तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, बमकुमार श्रेष्ठ, टङ्कबहादुर मोक्तान, प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्मा रहेका थिए । नेपालको संविधानमा संवैधानिक तथा राजनीतिक समस्यामा बाधा अड्काउ फुकाउने व्यवस्था भए पनि महामारीका बेलामा न्यायालयले कसरी काम गर्ने भनेर सो इजलासले कानूनी स्पष्टता तय गर्नेछ । सर्वोच्च अदालतले यही विषयमा जटिलता उत्पन्न भएकाले महान्यायाधिवक्ता अग्नि खरेल, नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनसँग राय सुझाव मागेको थियो । सरकारले सङ्क्रामक रोग ऐन, २०२० को प्रयोग गरी महामारी नियन्त्रण तथा रोकथामका लागि काम गरिरहेको छ । रासस

भारतबाट झापा आएका एक जनालाई देखियो कोरोना

काठमाडाैं । भारतबाट झापा आएका एक जनामा कोरोना देखिएको छ। झापा कचनकवल गाउँपालिकाका २३ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको हाे । भारतबाट जिल्लामा आएका ६० जनाको नमुना संकलन गरी पठाएकोमा एक जनामा पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा काेराेना संक्रमितको संख्या ३५८ पुगेको छ।