इलाममा छोरीले गरि बुबाको हत्या
काठमाडौं । इलाममा गए राति एक युवतीले आफ्नै बुबाको हत्या गरेकी छन् । इलाम देउमाई नगरपालिका–६ शान्तिडाँडाकी सुष्मा राईले बुबा फुलबहादुर राईको हत्या गरेकी हुन् । शान्तिडाँडाको गोरेडाँडा निवासी ५२ वर्षीय बुबा फुलबहादुरको करिब २५ वर्षीया छोरी सुष्माबीच झगडा भइरहने गरेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मङ्गलबारेका प्रहरी निरीक्षक राजकिशोर शाहले जानकारी दिए । उनका अनुसार रातको समयमा झगडा हुँदा छोरीले नै हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घरमा जेठी छोरी सुष्मा साथै उनका बुबा र आमा मात्र रहेको अवस्थामा राति खाना खाइसकेपछि पनि झगडा भएको थियो । फुलबहादुरको टाउकोमा चोट देखिएको छ । टाउकोमा चिर्पट प्रहार गरेर हत्या गरेको हुनसक्ने बताइएको छ । “गहिरो चोट नदेखिएका कारण धारिलो हतियार प्रयोग नभएको हो कि जस्तो छ, अनुसन्धान भइरहेको छ”, प्रहरी निरीक्षक शाहले भने । कान्छी छोरी र ज्वाइँसमेत शान्तिडाँडा घरमा आएको र हिजो दिउँसो पनि झगडा भएपछि गाउँमा सुत्न गएको बताइएको छ । घटनास्थलमा प्रहरी पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । छोरी सुष्मा बेलुकैबाट फरार रहेकाले खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ । रासस
मंगलबार यस्तो छ अमेरिका डलरको भाउ
काठमाडौं । मंगलबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार १ अमेरिकी डलरको खरिददर १ सय २१ रुपैयाँ १६ पैसा तोकिएको छ भने बिक्रिदर १ सय २१ रुपैयाँ ७६ पैसा तोकिएको छ । मंगलबार १ युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४६ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा तोकिएको छ। १ यूरोपियन यूरोको खरिददर १ सय ३१ रुपैयाँ २ पैसा रहेको छ भने बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ। भने १ बहराईन दिनारको खरिददर ३ सय २० रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २२ रुपैयाँ ४६ पैसा तोकिएको छ । साउदीको १ रियालको खरिददर ३२ रुपैयाँ २५ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा राष्ट बैंकले तोकेको छ । त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ८८ पैसा तोकिएको छ ।१ मलेसियन रिँगिटको खरिददर २७ रुपैयाँ ७३ पैसा तोकिएको छ भने बिक्रिदर २७ रुपैयाँ ८६ पैसा तोकिएको छ । १ कतारी रियालको खरिददर ३३ रुपैयाँ २८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ४४ तोकिएको छ । १ कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ १० पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ५ पैसा राष्ट बैंकले तोकेको छ ।
कृषिमा राेजगारी बढ्दैन, झन घट्दै जान्छ
कोरोना महामारीसँगै नेपाली अर्थतन्त्रको संरचनामा ठूलो परिवर्तन आउने आंकलन शुरु भएको छ । विप्रेषण आयमा व्यापक गिरावट आउँदै छ भने पर्यटन क्षेत्र पनि धेरै वर्ष उठ्न नसक्ने देखिएको छ । औद्योगिक उत्पादन वा सेवा क्षेत्रमा पनि संकुचन आउँदैछ । यी सबै क्षेत्रका रोजगारी कटौती हुँदैछ । यो समस्याबाट गुज्रेका मान्छेहरु कृषि व्यवसायमा फर्कने अनुमान छ । सरकारले पनि यो क्षेत्रमा लगानी प्रोत्साहित गर्न चाहेको उसको नीति तथा कार्यक्रमले संकेत गरेको छ । कृषि र कृषिमा आधारित प्रशोधन उद्योगको सम्भावना कति छ ? कृषि उत्पादन प्रशोधन गर्ने उद्योगहरु सञ्चालन गरी सफलता हासिल गरिरहेका निम्बस समूहका कार्यकारी निर्देशक आनन्द कुमार अग्रवाल बगरियासँग सोधेका छौं । लकडाउन भएको दुई महिना बित्यो । घर भित्र बसेर बिजनेश गर्दाको अनुभव कस्तो छ ? हाम्रो व्यवसाय आंशिक रुपमा खुलेको छ । तर काम गर्न गाह्रो छ । पासको व्यवस्था गर्नुपरेको छ । ढुवानीको साधन नपाउने भनेको समयमा सामान नपुग्ने जस्ता समस्याहरु छन् । पहिला भन्दा बढी व्यस्त भएको छु । माइक्रो म्यानेजमेन्टमा व्यस्त हुनु परेको छ । सिष्टमले नियमित काम नगर्दा आफैँ खट्नु परेको छ । सबैलाई गाह्रो छ । चिन्ता सबैलाई छ । तपाईंलाई पनि मिडिया चलाउन गाह्रो भएको होला । तपाईंको व्यस्तता बढेको रहेछ, बिजनेश चाँही बढेको छ कि छैन ? बिजनेशको ग्रोथ त नेगेटिभ छ । यतिबेला बिजनेशन त एकाध कम्पनीको होला । यतिबेला खर्च धान्न सक्यो भने पनि त्यो ठूलो उपलब्धी हो । आफ्ना कम्पनीहरुले खर्च धानेका छन् कि छैनन् ? हिसाब गरेको छैन । लकडाउनपछि हिसाब गर्नुपर्ला । अहिले हिसाब गर्न थाल्यो भने मनोबल पनि गिरेर जानेछ । खाद्यान्यको बिजनेश भएकोले काम गरिरहेका छौं । उद्योग बन्द गरेर बस्नु परेको छैन । धेरै उद्योगहरु बन्द छन् । यो अवस्थामा तपाईंले आफ्नो उद्योग चलाईरहने मौका पाउनु भएको छ । कृषिमा आधारित वा खाद्यान्य उद्योगमा लागेकोमा कस्तो अनुभूति भईरहेको छ ? बाँच्नको लागि अन्तिम समयसम्म गर्नै पर्ने उद्योग त यहि हो । सरकारले पनि खाद्यान्य उद्योग खुलाउने भनेको छ । तर यो व्यवसायलाई चारैतिरबाट अप्ठ्यारा छन् । कार्यस्थलमा धेरै समस्या छ । समन्वय नभएर हो कि, नजानेर हो कि, ढुवानीमा समस्या छ । डलरको मूल्य ११४ बाट १२३ पुगिसक्यो । त्यसको असर मूल्यमा परेको छ । कुरै नबुझी नियामकले समेत तपाईंहरुले मूल्य बढाउनु भयो भन्छन् । केहीले बदमासी गरेका होलान् । उनीहरुलाई कारवाही होस् न । एक्का-दुक्काले बदमासी गरे भनेर सबैलाई गाह्रो बनाउने नियम बन्छन् । लकडाउनको बेलामा त यस्तो समस्या झन् बढी भयो । नीति डरले बनाउने कि राम्रो गर्ने उदेश्यले बनाउने ? नीति निर्माताले पनि सोच्नुपर्ने हो । यस्तो बेलामा पनि चन्दा माग्नेहरुले घेर्छन् । बरु बन्द गरिदिएको भए हुन्थ्यो कि । कोरोना महामारीसँग धेरैले भन्छन्- ‘अब त खेतीकिसानी गर्ने हो, अब त पशुपन्छी पालन गर्ने हो, अब त कृषिमा आधारित उद्योग लगाउने हो ।’ के साँच्चै कृषिमा लगानी बढ्ने, धेरै मानिसहरु कृषि उद्यममा लाग्ने परिस्थिति बनेको हो ? कृषिलाई प्राथमिकता दिनुपर्छ, कृषिलाई उकास्नुपर्छ भन्ने भनाईहरु पछिल्लाे दुई महिनामा आएको नयाँ कुरा होइन । यस्तो कुरा हुन थालेको ३०/४० वर्ष भईसक्यो । म यो क्षेत्रमा काम गर्न थालेको दुई दशक भईसक्यो । यहि कुरा सुन्दा सुन्दा दाह्री फूलिसक्यो । अब त कुरा सुन्दा पनि दिक्क लाग्छ । पक्कै पनि कृषिमा सम्भावना छ । सम्भावना देखेर नै म यो क्षेत्रमा लागेको हो । सरकारले कहिले कृषिमा व्यवसायीकरण भन्यो, मैले आधुनिकरण भने, कहिले आत्मनिर्भर बन्ने भन्यो, कहिले निर्यात गरेर धनी बन्ने भन्ने कुरा आउँछ । यसपालिको सरकारको नीति तथा कार्यक्रममा पनि त्यहि कुरा आएको छ । तर कहि भएको छैन । काम गर्ने तौल तरिकामा पनि परिवर्तन भएको छैन । तथ्याङ्कहरुले देखाईरहेको छ कि हामी वार्षिक करिब ४ खर्बको खाद्यान्य आयात गरिरहेका छौं । जनसंख्या छ, बजार छ, खपत भईराखेको छ तर उत्पादन भईरहेको छैन । कोभिड-१९ मा तातिएर खाद्यान्य उत्पादन हुँदैन । कृषि भनेको आज गाडी आयात गर्यो, भोलिदेखि तेल हालेर गुडाए जस्तो होइन । कोभिडले कृषिको इन्जिन चलाउन सक्दैन । यसको लामो प्रकिया छ । अब रेमिट्यान्स आउँदैन, कृषि उत्पादन बढाएर निर्यात बढाउँछौं भन्ने कुराले राजनीतिक मैदानमा अर्थ राख्ला तर व्यवहारमा सम्भव देख्दिन । सरकारी तथ्याङ्कले भन्छ हामीले एक वर्षमा ५५ लाख टन धान उत्पादन गर्यौं, २५ लाख टन मकै उत्पादन भयो । २५ लाख टन गहुँ उत्पादन भयो । २० लाख टन आलु उत्पादन गर्यौ । उत्पादित धान सबै खपत हुनको लागि औषतमा एक नेपालीले एक दिनमा ३५० ग्राम चामल खानुपर्छ, २४५ ग्राम गहुँ खानुपर्छ, २४५ ग्राम मकै खानुपर्छ, १९५ ग्राम आलु खानुपर्छ । के एक जना नेपालीले दैनिक एक किलो अन्न खान्छ ? म यति खानेकुरा एक सातामा पनि खाई सक्दिन । दुई/तीन वटा कुरा ख्याल गर्नुपर्छ । सरकारी तथ्याङ्कले भन्छ हामीले एक वर्षमा ५५ लाख टन धान उत्पादन गर्यौं, २५ लाख टन मकै उत्पादन भयो । २५ लाख टन गहुँ उत्पादन भयो । २० लाख टन आलु उत्पादन गर्यौ । उत्पादित धान सबै खपत हुनको लागि औषतमा एक नेपालीले एक दिनमा ३५० ग्राम चामल खानुपर्छ, २४५ ग्राम गहुँ खानुपर्छ, २४५ ग्राम मकै खानुपर्छ, १९५ ग्राम आलु खानुपर्छ । के एक जना नेपालीले दैनिक एक किलो अन्न खान्छ ? म यति खानेकुरा एक सातामा पनि खाई सक्दिन । कयौं मान्छेले वर्षभरीमा पनि एक किलो मकै खाएका हुँदैनन् । यति धेरै उत्पादन भएको भए हामीले निर्यात गर्नु पर्ने थियो । निर्यात पनि देखिँदैन । हामीले प्रयाप्त खाना खायौं भने अहिले पनि खाना अपुग भएका धेरै मानिसलाई कुपोषण हुन्छ । मलाई लाग्छ सरकारी तथ्याङ्क गलत छ । केही दिनअघि मात्र सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रममा खाद्यान्यका धेरै उपजहरुमा नेपाल आत्मनिर्भर भएको र आत्मनिर्भर नभएका उपजमा पनि आत्मनिर्भर हुनै लागेको उल्लेख छ । तपाई कसरी भन्नुहुन्छ कि सरकारी तथ्याङ्क गलत छ ? मेरो अनुभवमा खाद्यान्यमा नेपाल धेरै परनिर्भर नै छ । हामीले फिड उद्योग चलाईरहेका छौं । सबै प्रकारका फिड उद्योगहरुले वर्षमा बढीमा ५ लाख टन मकै खपत गर्छन् । सरकारी तथ्याङकले भन्छ वर्षमा २५ लाख टन मकै उत्पादन हुन्छ । हामीले नेपालमा मकै किन्न खोज्यो भने पाइदैन । फिड इन्डष्ट्रिजहरुले वर्षमा करिब ३ लाख टन मकै आयात गरेको सरकारी तथ्याङ्कले नै देखाउँछ । सहरी क्षेत्रमा प्रयोग हुने पप्कर्न सबै विदेशबाट आयात भएको हो । ढिँडो खाएर मात्र २० लाख टन मकै खपत पक्कै भएको छैन । सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई निकै जोड दिइएको छ । यसले तपाईहरुमा उत्साह कत्तिको थपेको छ ? म त खाद्यान्य उद्योगमा भएकोले स्वभाविक रुपमा सरकारले जति धेरै लगानी गर्छ त्यति खुशी हुने नै भने । तर अरु सबै क्षेत्रप्रति निराश भएर सरकारले त्यो निराशा कृषिमा पोख्न खोजेको हो भने त्यसको नतिजा राम्रो आउँदैन । अर्थतन्त्रका सबै क्षेत्र अन्तर सम्बन्धित हुन्छ भन्ने सत्यलाई हामीले भुल्नु हुँदैन । अर्को कुरा, यो वर्ष मात्र होइन, सरकारको हरेक वर्ष नीति तथा कार्यक्रम, बजेटमा कृषि क्षेत्रलाई निकै जोड दिएको देखिन्छ । तर नतिजा के कस्तो आएको छ, सबै अगाडि छर्लङ छ । मैले २० वर्षको बजेट हेरेको छु । कुन वर्ष कति कृषिमा खर्च भयो ? कति उत्पादन वृद्धि भयो ? कुन नीति कहिले आयो ? त्यसको कति वर्षमा नतिजा के आयो ? स्कोर कार्ड बनायौं ? छैन, केही पनि छैन । कृषिलाई जहिले पनि राजनीतिक एजेण्डा बनाउने काम भयो । नतिजामुखी काम कहिल्यै भएको छैन । अरु मन्त्रीको कुरै छोडौं, वर्तमान अर्थमन्त्री त तथ्याङ्कको हिमायती मान्छे । खोइ त स्कोर कार्ड बनाएको ? दुई वर्षमा कृषिमा कति लगानी भयो ? कतिले रोजगारी पाए ? कति उत्पादन वृद्धि भयो ? ५५ लाख टन धान उत्पादन भएको भए किन चामल आयात भएको छ ? किन तराईका चामल मिलहरु बन्द भए ? मैले २० वर्षको बजेट हेरेको छु । कुन वर्ष कति कृषिमा खर्च भयो ? कति उत्पादन वृद्धि भयो ? कुन नीति कहिले आयो ? त्यसको कति वर्षमा नतिजा के आयो ? स्कोर कार्ड बनायौं ? अरु मन्त्रीको कुरौ छोडौं, वर्तमान अर्थमन्त्री त तथ्याङ्कको हिमायती मान्छे । खोइ त स्कोर कार्ड बनाएको ? बरु सरकारले लगानी गर्दै नगरेको ह्याचरीमा हामी आत्मनिर्भर भएका छौं । त्यहा सरकारको योगदान भनेको हस्तक्षेप छैन । म सरकारको आलोचना गर्न चाहान्न । सरकारको इन्टेन्शन सहि नै होला । बजेट पनि देशको अवस्था अनुसार ठिकै छ । तर सरकारको भनाई र व्यवहारमा तालमेल मिलेको देखिन्न । विदेशबाट फर्केका वा सहरमा रोजगारी गुमाएका मानिसहरु कृषिमा फर्किए भने त्यसको प्रभाव कस्तो होला ? धेरै मानिसहरु कृषिले ठूलो संख्यामा रोजगारी सिर्जना गर्छ भन्छन् । कृषिमा आधुनिकरण वा व्यवसायिकरण हुँदै जाँदा यस क्षेत्रले रोजगारी घटाउँछ । मुलुकको विकाससँग रोजगारीमा कृषिको निर्भरता घट्छ । नेपालमा दुई दशकअघि ८० प्रतिशत मान्छे कृषिमा निर्भर भनिन्थ्यो । अहिले ५०-६० प्रतिशतमा झरेकाे छ । कोभिड महामारीसँगै भारतबाट १० लाख नेपाली फर्कन्छन, खाडी मुलकबाट ५ लाख श्रमिक फर्कन्छन् । नेपाल भित्रै वार्षिक ५ लाख रोजगारीको खोजिमा निस्कन्छन् । उद्योग तथा सेवा क्षेत्रले नयाँ रोजगारी दिने सम्भावना शुन्य छ । उल्टै रोजगारी कटौति हुने अनुमान छ । उनीहरु सबै कृषिमा फर्कन्छन्, उनीहरुले कृषि क्षेत्रमा काम पाउँछन् भनेर हामीले सोच्यौं भने त्यो गलत हुन सक्छ । यी सबै मानिस कृषिमा खपत हुन सक्दैन । कृषिमा आधारित उद्योगहरुको विस्तारको सम्भावना कति छ ? कृषि र कृषिमा आधारित उद्योग भन्नाले धेरै कुरा आउँछन् । म त के भन्छु भने कृषिमा पनि स्वदेशी उत्पादनमा आधारित र विदेशी कृषि उपजमा आधारित उद्योग भनेर छुट्याउनु पर्ने अवस्था छ । जस्तो हामी दाल प्रशोधन उद्योग लगाएका छौं, विदेशबाट दाल आयात गर्नुपर्छ । तेल उद्योग चलाउँछौं, तोरी विदेशबाट आयात गर्नुपर्छ । भटमास प्रशोधन गर्छौ, सबै आयात गर्नुपर्छ । हामी कहाँ गोदाम गृहको समस्या छन् । हामी कहाँ बजारको समस्या छ । ५०० टन मकै किन्न खोज्यो भने नेपालको बजारमा पाइँदैन । तपाईं २० वर्षदेखि कृषिमा आधारित उद्योग चलाईरहनु भएको छ । २० वर्षमा फरक के भयो ? कार्यान्वयन पक्ष कमजोर भएपनि सरकारको नीतिमा सकारात्मक परिवर्तन हुँदै गएको पाइन्छ । बीमा शुल्कमा अनुदान, कृषि कर्जामा प्राथमिकीकरण, बढ्दो सडक पहुँच, विद्युतीयकरण लगायत केही सुधार पक्कै भएका छन् । कृषिमा आधारित उद्योगहरु बढेका छन् । उत्पादन वृद्धिसँगै प्रशोधन पनि बढेको छ । यो उपलब्धि ३० वर्षको हो । यति लामो अवधिमा यति थोरै परिवर्तन भएको छ, जहाँ हामीले सन्तोष गर्न मिल्ने ठाउँ छैन । रियलमा कृषिमा व्यवसायी करण नै भएको छैन । यसले न कृषिमा आत्मनिर्भर बनाउँछ, न निर्यात गर्न सक्छौं । कृषिमा प्राथमिकीकरण जरुरी छ । कृषिमा हजारौं प्रकारका उत्पादन हुन्छन् । हामीले के-केमा फोकस गर्ने ? मौरी पालन, माछा पालन, अदुवा, सुन्तला, स्याउ, धान, मकै के के हुन सक्छन् ? पहिला हाम्रा प्राथमिकतामा प्रष्टता जरुरी छ । हामी पहिला दाल निर्यात गर्थ्याैं, अहिले आयात हुन्छ । किन यस्तो भयो भने हामीले दाल उत्पादनलाई प्राथमिकता दिएनौं । त्यस्तै, हामीले पूर्वमा पनि मह उत्पादन गर्ने, पश्चिममा पनि मह उत्पादन गर्ने, तराईमा पनि मह उत्पादन, पहाडमा पनि मह उत्पादन भनेर हुँदैन । एउटा क्षेत्रलाई मकै जोन बनाऔं, एउटा क्षेत्रलाई मह जोन बनाऔं, एउटा क्षेत्रलाई चिया कफी जोन बनाऔं, एउटा क्षेत्रलाई सुन्तला जोन बनाऔं । त्यसो भयो भने पूर्वाधार निर्माणमा पनि सजिलो हुन्छ, जनशक्ति परिचालन गर्न पनि सजिलो हुन्छ, बजारीकरण गर्न पनि सजिलो हुन्छ ।
विदेशमा रहेका २५ प्रतिशत भन्दाबढी नेपालीकाे राेजगारी गुम्ने
काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिएसँगै वैदेशिक रोजगारीमा रहेका २५ देखि ३० प्रतिशत श्रमिकको रोजगारी गुम्ने आँकडा तयार भएकाे छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सार्वजनिक गरेको प्रतिवेदन कोरोना भाइरस महामारीको कारणले रोजगारदाता कम्पनी बन्द भई श्रमिकको उद्दार गरी नेपाल फर्काउनु पर्ने श्रमिकको संख्या करिब २५ देखि २३ प्रतिशत रहेको संघले जनाएको छ। भिसाको समयावधि समाप्त भएका र रोजगारी गुमाउने करिब ६ लाख नेपाली श्रमिक नेपाल फर्काउनुपर्ने संघका महासचिव सजित कुमार श्रेष्ठले बताए । करार अवधि वा भिसाको समयावधि समाप्त भई स्वदेश फर्कने श्रमिकको संख्या करिब ६० प्रतिशत छ। कोरोनाका कारण संयुक्त अरब इमिरेट्स (यूएई) र मलेसियामा धेरै कामदारले रोजगारी गुमाएका छन्। संघको प्रतिवेदन अनुसार ती देशमा ३०/३० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएका छन्। यूएईमा ४ लाख र मलेसियामा ५ लाख श्रमिक कार्यरत छन्। कतार र साउदीमा २०/२० प्रतिशतले रोजगारी गुमाउने संघले प्रतिवेदन सार्वजनिक गरेको छ। कतारमा ४ लाख २५ हजार साउदीमा ३ लाख ८० हजार श्रमिक कार्यरत छन् । संघका अनुसार कुवेतमा १५ प्रतिशत, बहराइनमा १२ प्रतिशत, ओमनमा १० प्रतिशतले रोजगारी गुमाउन वाध्य भएको प्रतिवेदनमा उल्लेख छ। कुवेतमा ८० हजार, बहराइनमा ३५ हजार र ओमनमा १७ हजार ५ सय जना कामदार कार्यरत छन् । वैदेशिक रोजगारीमा गएकामध्ये झण्डै ७५ प्रतिशत नेपाली अदक्ष कामदारको रूपमा छन् । कोरोना भाइरस कम्पनी, उद्योग, कल कारखाना, व्यापारिक प्रतिष्ठान, हाटेल–रेस्टुरेन्ट बन्द हुँदा यिनै कामदार सबैभन्दा बढी प्रभावित हुने प्रतिवेदनमा जनाइएको छ । त्यस्तै भिसा अवधि समाप्त भए पनि विदेशमा बसी काम गरिरहेका, गैरकानुनी रूपमा विदेश गएका वा कागजातविहीन थुप्रै नेपाली कामदारलाई नेपाल फर्काउनु पर्नेछ । कोभिड १९ ले पर्यटन क्षेत्रमा परेको परेको असरले मौरिसस्, माल्दिभ्स, युरोपलगायत विश्वका विभिन्न देशका होटल रेस्टुरेन्ट लगायत आतिथ्य सेवामा कार्यरत नेपालीको रोजगारी गुम्ने जोखिम बढेको छ । तेलको मुल्यमा आएको परिवर्तनसँगै मुख्य श्रम गन्तव्य मुलुकमा मात्रै रोजगारी गुमाउनेको संख्या लाखौंमा पुग्ने संघको प्रारम्भिक आँकलन छ । रोजगारदाताले भिसा दिई विदेश अनुमति प्राप्त गरि गरेका १ लाख १५ हजार कामदार कोरोना महामारीको कारणल विदेश जान पाएका छैनन्। त्यस्तै पूर्व स्वीकृति प्राप्त गरेका ३ लाख २८ हजार ६ सय ८१ जना कामदारको प्रक्रिया पनि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघले तयार पारेको प्रतिवेदनमा उल्लेख छ ।
निजी क्षेत्रलाई बजेटमा प्रोत्साहन गर्नुपर्ने
काठमाडौं । आगामी बजेटले उद्योग व्यवसाय क्षेत्रको प्रोत्साहन तथा यस क्षेत्रको विकास गर्न उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई सुझाव दिएको छ । कोभिड–१९ महामारीको वर्तमान अवस्था एवं आगामी आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारले ल्याउने बजेटमा उद्योग÷व्यवसाय क्षेत्रको प्रोत्साहन एवं यस क्षेको विकासका साथै प्रदेशको समग्र आर्थिक विकासका सन्दर्भलाई समेट्नुपर्ने विषयका सन्दर्भमा तयार पारेको सुझाव दुवै संस्थाका अध्यक्षद्वय भीम घिमिरे र प्रकाश मुन्दडाले सोमबार दिएका हुन् । सङ्गठनका अध्यक्ष घिमिरेले विश्वव्यापी महामारीको यस समयमा निजी क्षेत्रले पु¥याउँदै आएको सहयोगका बरेमा उल्लेख गर्दै आगामी दिनमा यस क्षेत्रको भूमिकालाई अझ व्यापक बनाउनुपर्ने बताए । उनले वर्तमान कठिन परिस्थितिमा उद्योग व्यवसाय सञ्चालनका लागि सङ्घीय, प्रदेश र स्थानीय निकायबाट तोकिएको प्रावधानबीच एकरुपता नहुँदा उद्योग व्यवसाय सञ्चालनमा विभिन्न बाधा व्यवधान र कठिनाइको सामना गर्नु परिरहेकाले उद्योग व्यवसाय सञ्चालनको सहज वातावरण बनाउन तीनै तहका सरकारबीच आवश्यक समन्वय गरी पहल गर्न मुख्यमन्त्रीसमक्ष अनुरोध गरे । अध्यक्ष घिमिरेले प्रदेश नं १ विषेश गरी सुनसरी, मोरङ र झापाका विभिन्न इँटा उद्योगमा २० हजारभन्दा बढी भारतीय श्रमिकले काम गर्दै आएको भए पनि वर्तमान समयमा इँटा उद्योग सञ्चालनमा नभएको र श्रमिक पनि लामो समयदेखि जारी लकडाउनका कारण उद्योगमै फसिरहेको र घर फर्कन चाहिरहेको हुँदा त्यस्ता श्रमिकलाई स्वदेश फर्कने वातावरण बनाउन आवश्यक पहल गर्न अनुरोध गरे । सङ्घका अध्यक्ष मुन्दडाले उद्योग चरम मारमा परी धरासायी भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै निजी क्षेत्रका तर्फबाट प्रस्तुत सुझावलाई प्राथमिकता दिई कार्यान्वयनमा ल्याउन मुख्यमन्त्रीसमक्ष अनुरोध गरे । सो अवसरमा मुख्यमन्त्री राईले महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा सबै क्षेत्रलाई मार परिरहेको भन्दै प्रदेश सरकारले आगामी दिनमा मानव स्वास्थ्यलाई उच्च प्राथमिकता दिई परीक्षणको दायरालाई बढाउँदै प्रदेश नं १ लाई ‘ग्रिनजोन’को वर्गीकरणमा पार्ने गरी कार्य अघि बढाइने जानकारी दिए । उनले निजी क्षेत्र आर्थिक विकासको सहयात्री भएकाले यस क्षेत्रको विकास र सञ्चालनमा आइपर्ने समस्यालाई समाधान गर्न आफू सदैव तत्पर रहेको उल्लेख गरे । रासस
लाेक सेवा आयोगद्वारा परीक्षा नभएका सबै विज्ञापनका परीक्षा स्थगित
काठमाडौं । लोक सेवा आयोगले सबै तहका परीक्षाको तह नपुगेका कर्मचारी छनोट प्रक्रिया स्थगित गरेको छ । विश्वव्यापी रुपमा कोरोना फैलिएसँगै सरकारले लकडाउन घोषणा गरेकाले पछिल्लो समय अतिआवश्यक कार्यबाहेक सरकारी तथा नीजि कार्य रोकिएका छन् । आयोगले सरकारको निर्णयअनुसार परीक्षा तह नपुगेका कर्मचारी छनोट प्रक्रिया तथा दरखास्त आह्वान भएका सूचना पनि स्थगित गर्ने निर्णय गरेको हो । लोक सेवा आयोगका सहप्रवक्ता देवप्रसाद सुवेदीले २०७७ साल बैशाख १४ गते भएको मन्त्रीपरिषद्का निर्णयलाई मध्यनजर गर्दै आयोगले सो निर्णय गरेको जानकारी दिएका छन् । यस्ताे छ लोक सेवा आयोगले निजामति सेवाको पदपर्ति र सुरक्षा निकाय तथा संगठित संस्थाको परीक्षा सञ्चालन सम्बन्धका दिएको जानकारी :
संसदमा प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै
काठमाडौं ।आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिने भएका छन् । आज संसद बैठक बीक मध्याह्न १२ बजे बस्दै छ । उक्त बैंठकमा हालसम्म उठेका प्रश्नहरुको जवाफ ओलीले दिने छन् । प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई प्रस्तुत गरिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा आइतबार र सोमबार २ दिनसम्म छलफल भएको थियो ।
नरैनापुर अनिश्चितकालका लागि ‘शिल’
काठमाडौं । बाँकेको नरैनापुरमा एकै दिन ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले गाउँपालिकालाई अनिश्चितकालका लागि पूर्ण रुपमा बन्द (शिल) गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि नरैनापुरलाई खतरा क्षेत्र घोषणा गर्दै अर्को निर्णय नहुँदासम्मका गाउँपालिकालाई नै पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिकामा छ वटा वडा छन् । यसको उत्तरपूर्वमा राप्तीसोनारी गाउँपालिका जोडिएको छ । सङ्क्रमण न्यूनिकरणका लागि गाउँपालिकामा अत्यावश्वक कामबाहेक पूर्ण रुपमा आवतजावत ठप्प हुने गरी बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए । उनका अनुसार नरैनापुरमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । नरैनापुरमा सोमबार फेला परेका ५९ जनासहित गाउँपालिकामा मात्रै सङ्क्रमितको सङख्या ६८ पुगेको छ । यसअघि नै नरैनापुरमा एक जनाको ज्यान जाने गरी ९ जनामा सङ्क्रमण देखिएको थियो । नरैनापुरमा शुरुमा फेला परेका ८ जनासँगको सम्पर्कमा आएका २ सय ६३ जनाको स्वाब परीक्षण गर्दा ५९ जनामा सोमबार रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार, सोमवार सङ्कलित ९३ सहित अझै १ सय १० जनाको स्वाब परीक्षणका क्रममा छ । यससँगै बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या सोमबारसम्म ९३ जनामा पुष्टि भएको छ । सोमबार अपराह्न ४७ र राति १० बजेपछि १२ जना गरी ५९ जनामा कोरोना सङ्क्रमण देखिएको थियो । यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ मा २४ र वडा नं ७ मा एक गरी २५ जनामा सङ्क्रमण देखिएको छ । बाँकेमा पहिलो पटक फेला परेका नेपालगञ्जका २५ जनालाई खजुरास्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा राखेर उपचार गरिए पनि त्यसपछि नरैनापुरमा फेला परेका ८ जनालाई दाङ आइसोलेशन अस्पतालमा पठाइएको छ । सोमबार पुष्टि भएका ५९ जनालाई नरैनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य चौकीमा आइसोलेशन सेवासहितको उपचार सेवा दिने तयारी भएको छ । रासस