संसद्मा बोल्दा बोल्दै प्रधानमन्त्रीले भने–‘मलाई गाह्रो भयो, उभिएर बाेल्न सकिन’
काठमाडौं । मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा बोल्दै थिए । कोराना महामारी बारे विश्वको अवस्था र नेपालको बारेमा उनी सांसद्हरुलाई जानकारी गराउँदै थिए । काेराेना महामारीकाे बेलाका सरकार ढाल्न खाेजेकाे, अस्थिरता निम्त्याउने खाेजेकाे विषयमा पनि बाेलेका थिए । संसदको रोष्ट्रममा उभिएर करिब २० मिनेट बोलेपछि प्रधानमन्त्रीले आफूलाई उभिएर बोल्न गाह्रो भएको बताए । ‘सभामुख महोदय, मलाई उभिएर बोल्न गाह्रो भयो । बसेर बोल्ने व्यवस्था मिलाईदिनुपर्यो ।’- उनले भने । प्रधानमन्त्रीले उभिँदा आफूलाई खुट्टा दुःखेको बताए । प्रधानमन्त्रीको मागपछि सभामुख अग्नीप्रसाद सापकोटाले तत्काल संसद सचिवालयको कर्मचारीलाई प्रधानमन्त्रीलाई बस्ने व्यवस्था मिलाउन निर्देशन दिए । तर सचिवालयका कर्मचारीले तत्काल कुर्सीको प्रबन्ध मिलाउन सकेनन् । त्यसपछि सभामुखले प्रधानमन्त्रीलाई रोष्ट्रमबाट तल गई बसेर बोल्न प्रधानमन्त्रीलाई सुझाव दिए । प्रधानमन्त्री ओली तल जान मानेनन् । ‘तल बसेर बोल्दा सबैलाई देख्न सकिदैन’ प्रधानमन्त्रीले सभामुखलाई आग्रह गरे । सभामुखले तत्काल प्रधानमन्त्रीको भनाईमा सहमति जनाए । सभामुखको दायाँबायाँ नयाँ कुर्सी खोजी भयो । अन्त्यमा जहाँ उभिएर बोल्दै थिए, त्यहाँ अग्लो कुर्सीको प्रबन्ध मिलाइयो । प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था देखेर सांसदहरू ट्वाेलाएका थिए । संसदमा सुनसान देखिएकाे थियाे । कुर्सीमा बसेपछि अप्रेसन सँगै खुट्टामा समस्या भएकाे उनले बताए । त्यसपछि, अहिले उनी राेस्टममै राखिएकाे कुर्सीमा बसेर बोलिरहेका छन् ।
हामीलाई कोरोनाले बहुँतै महंगोमा मूल्यवान शिक्षा दिएको छ- प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाले मूल्यवान शिक्षा दिएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले कोरोनाले बहुँतै महंगोमा मूल्यवान शिक्षा दिएको बताएका हुन् । ‘हामीले यसमा धेरै खर्च गर्यौ । फेरि पनि हामीले धेरै खर्च गर्नुपर्ने अवस्था आउँदै छ । यसले गम्भीर समस्या बनाएको छ । तर विश्वास छ मानवजातिले यसलाई जित्ने छ ।’- उनले भने ।
अमेरिकी राष्ट्रपति ट्रम्पले डब्लुएचओलाई दिए ३० दिनको अल्टिमेटम, सदस्यतामाथि नै पुनर्विचारको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई ३० दिने अल्टिमेटम दिएका छन् । डब्लुएचओ प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि उनले ३० दिनको म्याद दिएका हुन् । डब्लुएचओले निश्पक्ष रुपमा काम गर्न नसकेको राष्ट्रपति ट्रम्पको आरोप छ । अमेरिकाको माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी पनि ट्रम्पले दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड १९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ । ट्रम्पले डब्लुएचओले चीनको वुहानबाट फैलिएको यो महामारीबारे प्राप्त भएको विश्वसनीय प्रतिवेदनलाई पनि बेवास्ता गर्दै आएको आरोप लगाएका छन् । डब्लुएचओले निरन्तर चीनको प्रशंसा गरेको ट्रम्पको आरोप छ । उनले डब्लुएचओले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सहयोग रोक्नुका साथै डब्लुएचओको सदस्यको रुपमा रहने वा नरहने भन्ने विषयमा पनि अमेरिकाले पुनर्विचार गर्न सक्ने बताएका छन् । ट्रम्पले डब्लुएचओ चीनको पक्षमा लागेको आरोप लगाउँदै आएका छन् । चीनको पक्षमा लागेको भन्दै अमेरिकाले डब्लुएचओलाई दिदै आएको अनुदान कटौंति गरेको छ । अमेरिका एक्लैले सन् २०१८÷१९ मा डब्लुएचओको कुल बजेटको १५ प्रतिशत बजेट प्रदान गरेको थियो । अमेरिकाले बजेट कटौतिको निर्णय गरेपछि अमेरिकी धानढ्य विल गेट्सेले डब्लुएचओलाई सहयोग रकम उलब्ध गराएका थिए भने केही दिन अघि मात्रै चीनले थप सहायता रकम उलब्ध गराएको थियो । डब्लुएचओ सन् १९४८ मा स्थापना भएको संयुक्त राष्ट्र संघ अन्तरगतको निकाय हो । यसको सदस्यमा १९४ देश छन् । बीबीसी डटकमको सहयोगमा
झापा र सुनसरीमा थप ११ जनामा कोरोना, संक्रमितको संख्या ३ सय ९० पुग्याे
काठमाडौं । प्रदेश-१ को झापा र सुनसरस्मा थप ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार कोशी अस्पताल विराटनगर प्रयोगशालामा पीसीआर परीक्षणमा झापाको कचनकवल गाउँपालिकाका ९ जनालाई कोरोना पाेजेटिभ देखिएको हो । प्रदेश -१ कै सुनसरीका २ व्यक्तिलाई विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षणको क्रममा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै विहान मात्रै कपिलवस्तु जिल्लाको मायादेवस् गाँउपालिकाको ४ जनामा कोरोना पुष्टि भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ । काेराेनाबाट २ जनाकाे मृत्यु भएकाे छ भने ३७ जना उपचार पछि घर फर्किएका छन् ।
दक्षिण कोरियामा २० लाख बेरोजगार
काठमाडौं । दक्षिण कोरियामा गएको चार महिनादेखि बेरोजगारीको सङ्ख्या निरन्तर उकालो लाग्दै हालसम्म २० लाख नाघेको छ । जनवरीदेखि अप्रिलसम्मको आकँडाअनुसार यति धेरै बेरोजगारी भएको सन् २००० देखि यताकै उच्च हो । कोरोना भाइरस महामारीका कारण व्यापार व्यवसायमा परेको नकारात्मक मन्दी, सामाजिक दूरी बनाउनुपर्ने बाध्यता र आन्तरिक तथा बाह्य निर्यातमा उच्च गिरावट आएसँगै यो सङ्ख्या बढेको हो । कोरोना भाइरस महामारीका कारण पार्टटाइम रोजगारी गर्ने अधिकांशको रोजगारी गुम्नुका साथै पूर्णकालिन रोजगारी गर्नेहरूको समेत काम घटेर बेरोजगार हुनुपर्ने बाध्यता आइलागेको छ । विशेषत सेवा क्षेत्र, उत्पादनमूलक क्षेत्र, होटल तथा पर्यटकीय क्षेत्रमा रोजगारी गुमाउनेको सङ्ख्यामा अत्यधिक वृद्धि भइरहेको छ । बेरोजगारीको अर्को महत्वपूर्ण कारण निर्यातमा उच्च गिरावट हुनु हो । फेब्रुअरीदेखि कोरोना महामारी देखिएसँगै निर्यातदर घटेको थियो । गत अप्रिलमा २४।३ प्रतिशतले घटेको निर्यात मे महिनामा अझ घटेर ४६.५ प्रतिशतमा आइपुगेको छ । यसरी उत्पादित समानको निर्यात गर्न नसक्दा अधिकांश कम्पनीको उत्पादन घट्नुका साथै कर्मचारी कटौतीमा समेत उल्लेख्य वृद्धि हुन थालेपछि बेरोजगारीको सङ्ख्या ह्वात्तै बढेको हो । यसरी बेरोजगारी दर बढेपछि रोजगारीको सिलसिलामा कोरिया आइपुगेका नेपालीहरूमाथि पनि प्रभाव देखिन थालेको छ । नेपालीले काम गर्ने केही कम्पनीमा काम घटेपछि न्यूनतम काम पनि हुन नसकेको, सिफ्ट छुट्याएर दुई–दुई हप्तामा पालो गर्दै काम गर्नुपरेको र इच्छाविपरीत पनि बिदा बस्नुपर्ने बाध्यता रहेको बताउँछन् । रासस
चक्रवात अंपुनको प्रभाव: ३ दिन मेघ गर्जनसहित वर्षाको सम्भावना
काठमाडौं । चक्रवात अंपुनको प्रभावले आगामी तीन दिन देशभरि बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दक्षिण बङ्गालको खाडीको मध्यभागमा अंपुन शक्तिशाली चक्रवात धेरै शक्तिशाली चक्रवातका रूपमा विकसित भइसकेको छ । उक्त चक्रवात अझ शक्तिशाली हुने क्रममा आजदेखि पूर्वी नेपालको मौसम बदली हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबारदेखि अंपुन चक्रवातको प्रभावले देशैभरि बदली भइ केही स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक–दुई स्थानमा भारी हिमपातसमेत हुनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । उक्त प्रणालीको प्रभावले बुधबारदेखि देशैभरि बदली भइ मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “शुक्रबारसम्म देशभर सो प्रणालीको प्रभावले वर्षा हुने र वर्षा प्रिमनसुनको जस्तो भइ निरन्तर भइरहने छ”, मौसमविद् मानन्धरले भन्नुभयो । हाल देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रहेको छ । दिउँसो देशको पूर्वी र मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी भूभागका केही स्थानमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ । बुधबार देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । बिहीबार देशको मध्य तथा पूर्वी भूभागमा पूर्ण बदली भई मध्य र पूर्वी केही स्थान तथा पश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम नौ दशमलव दुई डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३८ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । रासस
नेपाली सेनाले चीनबाट ल्यायो १८.८४ टन स्वास्थ्य सामग्री
काठमाडौं । नेपाली सेनाले मंगलबार तीनबाट १८.८४ टन स्वास्थ्य ल्याएको छ । नेपाल एयरलाइन्समार्फत ल्याइएको स्वास्थ्य सामग्रीमा पीसीआरका लागि किट, पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) एन ९५ मास्क, ग्लोब्सलगायतका सामान रहेका छन् । चीनको ग्वाङ्जाओबाट उक्त सामान नेपाल ल्याइएको हो । नेपाली सेनाले वैशाख पहिलो साता जीटुजी प्रक्रियाबाट स्वास्थ्य सामग्री खरिदका लागि २ अर्ब २५ करोड रुपैयाँ बढीको चिनियाँ वाणिज्य मन्त्रालयसँग सम्झौता गरेको थियो । उक्त सम्झौताअनुसार ४२ टन स्वास्थ्य सामग्री खरिदका लागि सेनाले रकम बुझाइसकेको जनाएको छ ।
कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मायादेवी गाउँपालिका– ४ का ३ जना र वडा नं ३ का एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । मायादेवी गाउँपालिका ४ का ४०, ४२ र ४५ वर्षका पुरुष र वडा नं ३ का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको । १६ जनाकाे काेराेना परीक्षणमा ४ जनामा संक्रमण देखिएकाे हाे । उनीहरु १४ दिनअघि भारतको मुम्बईबाट आएर मायादेवी गाउँपालिकाको जनता प्रावि बलुहवाको क्वारेन्टाइनमा बस्दै आएका थिए । साेसहित हालसम्म नेपालमा ३ सय ७९ जनामा काेराेना पुष्टि भएकाे छ ।