वडावासीको पेट भर्दै वडाध्यक्ष लामा, दैनिक एक हजारलाई खाना
काठमाडौं । पोखरा महानगरपालिका–१३ को वडा कार्यालय अगाडि बिहान ९ बजे नै मानिस जम्मा हुने गर्छन् । सामाजिक दूरी कायम गरेर वडाले लगाएको घेराभित्र उभिनेहरुको हातमा एउटा झोला पनि हुन्छ । उनीहरु सेवा लिन आएका भने होइनन् । बन्दाबन्दीका कारण हातमुख जोड्न समस्यामा परेकाहरु वडाले वितरण गरेको खाना खानका लागि त्यहाँसम्म आइपुगेका हुन् । पोखराको १३ नं वडाले बन्दाबन्दीका कारण बिहान बेलुकाको छाक टार्न समस्यामा परेकालाई लक्षित गरेर खाना वितरण गर्न थालेपछि विपन्न परिवारले वडामा गएर भोको पेट भर्ने गरेका छन् । सोही वडामा बस्दै आएका ३० वर्षीय मन विकले वडाले खाना वितरण गरेपछि भोको बस्नु नपरेको बताए । “ज्यामी काम गर्थें, बन्दाबन्दी भयो, अहिले भोको पेट भरिएको छ अब त काम गर्न पाए पनि हुने”, विकले भने । खानाको लाइमा बस्नुभएकी पार्वती परियारले पनि चार जनाको परिवारलाई बिहान–बेलुका वडाबाटै खाना लैजाने गरेको बताउनुभयो । सोही ठाउँका खबहादुर विक पनि भोको पेट वडाध्यक्षले भरिदिएपछि खुशी हुन्छ । खाना पाए पनि सबैको एउटा चाहना छ, “बन्दाबन्दी सकियोस् काम गर्न पाइयोस्, भोको पेटको राग आफ्नै पसिनाले मेट्न पाइयोस् ।” खानाका लागि लाइनमा पालो पर्खिरहनुभएकी सुन्तली विकले भने, “मलाई त काम गर्न कहिले पाइएला भनेर अत्यास लागेको छ, अहिले भोको पेट अध्यक्षले भर्नुभएको छ, तर सधैँ त हुन्न होला नि ? कहिले पानी पर्छ, कहिले हावा चल्छ, खाना लिन आउन पनि समस्या नै हुन्छ तर बाध्यताले आउनैपर्छ ।” उनले आफू र श्रीमान् मात्रै रहेकाले दुई जनालाई खाना लैजान गरेको बताए । वडा नं १३ वडाका विपन्न परिवारलाई दुई चरणमा राहत वितरण गरे पनि ग्यासलगायत अन्य समस्याले खाना पकाउन असहज भएको गुनासो आएपछि वैशाख २३ गतेदेखि विपन्न परिवारका सदस्यलाई बिहान बेलुका नै खान खुवाउन शुरु गरेको वडाध्यक्ष दर्शन लामाले बताए। “हामीले पहिलो चरणमा एक हजार ४ सय २३ र दोस्रो चरणमा केही तिनै व्यक्तिसहित अन्य गरी एक हजार ६ सय ९५ जनालाई राहत बाँड्यौं तर कतिपयले खान पकाउन ग्यास भएन अरु समस्या भयो भनेर भन्न थाल्नु । उनीहरुलाई लक्षित गरेर वैशाख २३ गतेबाट खाना खुवाउन शुरु गरेका हौं।” वडाध्यक्ष लामाका अनुसार खाना खुवाउने अभियानमा वडाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य स्वयंसेविका, टोल विकास संस्थाका सदस्य, आमा समूहलगायत दैनिक २० जना खटिएका छन् । भगवती क्याटरिङले खाना पकाउने कुक र भाँडाकुँडा सहयोग गरेको छ । विभिन्न सामाजिक भावना भएका व्यक्तिले खाद्य सामग्री उपलब्ध गराएका छन् । “शुरुका दिनमा दैनिक २०० देखि २५० सम्म खाना खाने हुनुहुन्थ्यो, पछिल्लो समय ४ सयदेखि ५ सय जनालाई खाना खुवाइरहेका छौं”, वडाध्यक्ष लामाले भने । उनले प्रवेशद्वारमा थर्मलगनबाट ज्वरो परीक्षण गर्दै सामाजिक दूरी कायम गरेर मात्र भित्र खानाका लागि प्रवेश दिने गरेको बताए । ‘सुरक्षाको सम्पूर्ण प्रक्रिया अपनाएका छौं, फेरि पनि चाप दिनदिनै बढिरहेको छ, जसले जति परिवार छन् त्यति नै खाना आफूले लिएर आएको भाँडामा राखेर लैजानुहुन्छ । अब अर्को तरिकाबाट व्यवस्थापन गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं ।’ रासस
दक्षिण सुडानका उपराष्ट्रपति दम्पतीमा कोरोना भाइरसको संक्रमण
काठमाडौं । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर दम्पतीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । समाचार संस्था रोयटर्सका अनुसार माशर उनकी उनकी पत्नी एजेलिना टेनीलाई कोरोना संक्रमण पुष्टि भएको हो । उपराष्ट्रपति माशरकी पत्नी एजेलिना दक्षिण सुडानको रक्षामन्त्रीसमेत हुन् । माशरको उमेर ६० वर्षभन्दा बढी छ । उनमा १३ मेमा कोरोना परीक्षण गरिएको थियो । कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि उपराष्ट्रपति माशरलाई पनि परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । दक्षिण सुडानमा अहिलेसम्म २ सय ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ४ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ ।
विश्व स्वास्थ्य संगठनलाई २ अर्ब डलर दिने चीनले गर्याे घोषणा
काठमाडौं । चीनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई दुई अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने घोषणा गरेको छ । विश्वमा कोरोनाले भयावह स्थिति पैदाँ गरेसँगै चीनले सो रकम कोरोना भाइरस विरुद्ध लड्नका लागि डब्लुएचओ प्रदान गर्ने निर्णय गरेको राष्ट्रपति सि चिन फिङले जानकारी दिए । विश्व स्वास्थ्य सम्मेलनका क्रममा राष्ट्रपति सिले कोरोना भाइरस सम्बन्धि विवरण चीनले डब्लुएचओे र अन्य देशहरुलाई उपलब्ध गराउने जनाएको छ । राष्ट्रपति फिङले भने ‘हामीले कोरोना भाइरसको नियन्त्रण र उपचारसम्वन्धी आफ्ना अनुभव सबैलाई बाँड्न चाहन्छौं, हाम्रो श्रोत र शक्ति पनि वितरण गर्न चाहन्छौं ।’ कोरोना नियन्त्रण तथा न्युनिकरणका लागि संयुक्त राष्ट्रसंघीय यस निकायलाई चीनले सहयोगको घोषणा गरेकाे अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएकाे छ ।
साउदी अरबमा कोरोनाबाट ४ नेपालीको मृत्यु, संक्रमितको संख्या ६ सय ७४
काठमाडौं । साउदी अरबमा कोरोना भाइरस (कोभिड १९) संक्रमणको कारण ४ नेपालीको मृत्यु भएको छ । दुतावासले जारी गरेकाे पछिल्लो तथ्यांक अनुसार साउदी अरबमा ६ सय ७४ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमितमा ६ सय ६३ पुरुष र ११ जना महिला रहेका छन् । खाडीमा हालसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित नेपालीको संख्या साउदीमा रहेको साउदीको रियादस्थित नेपाली दूतावासले जनाएको छ । त्यस्तै दुतावासले मृत्यु हुनेहरुको विवरण औपचारिक रुपमा सार्वजनिक नगरेको जनाएको छ । त्यस्तै साउदीमा विभिन्न कारण मृत्यु हुने करिब ३८ नेपाली कामदारको शव अलपत्र परेका छन् । कोरोना संक्रमित बढेसँगै त्यहाँको अवस्थालाई ध्यानमा राख्दै साउदी सरकारले आगामी मे २३ देखि मे २७ तारिकसम्म देशभर २४ घण्टे कफ्र्यु घोषणा गरेको छ ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ४८ लाख ८७ हजार ८ सय ४२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख १९ हजार ९ सय ६० जनाको मृत्यु भइसकेको छ भने १९ लाख ४ हजार ५ सय ४० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९१ हजार ९ सय ७६ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १५ लाख ५० हजार ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३ सय ४० पुगेको छ भने अहिलेसम्म ३ हजार १ सय ५६ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ३ सय ७५ जना संक्रमित भएका छन् भने २ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ३७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
खोटाङ र दैलेखमा पनि देखियाे काेराेना संक्रमण
काठमाडौं । खोटाङ र दैलेखमा पनि काेराेना संक्रमण देखिएकाे छ । यि दुई स्थानका एक एकजना पुरुषमा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साेमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकामा उनीहरु पनि परेका हुन् ।
खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई
कोरोना तिमी उडायौ चीनको वुहानबाट जे जेमा समात्न सक्थ्यौ समात्यौ त्यहिबाट पाउ बसाल्यौ तिमी सहि ठाउमा मानिसलाई ल्यायौ उसकै औकातमा जब तिमी आयौ संसारमा अंधकार छायो मानिसलाई उपवास बस्न बाध्य बनायौ सहर गाउँ शुन्य बनाइ आफू दुलिहिड्यौ सबैलाई संक्रमित बनाइ चिहानमा पुर्यायौ आफन्तलाई आफन्तबाट टाढा बनायौ जीन्दगीलाई जंगलको बास बनायौ सम्पूर्ण वातावरणलाई स्वच्छ बनाई अर्थतन्त्रमा भूइचालो ल्याइदियौ लेखक सजिलो छैन तिमीलाई हराउन तर हार मान्दैनौ हामी नेपाली आऊ अब लडौ यो माहामारीबाट जबसम्म समाप्त गर्दैनौ यो माहामारीलाई एक संयम एक विश्वास लिएर अब हामी हार नमानी,मनको पिडा हताई सिमा रेखा नतोडि ,कर्तव्यलाई पालना गरी समाप्त गरौ यो कोरोनालाई उम्रन्न दिन्नौ कोरोना तिमीलार्ई हाम्रो खुशी खोस्न दिन्नौ कोरोना तिमीलाई सबै ठाउँमा स्वछता राखी हात नमिलाई नमस्कार गरी साबुन सेनिटाइजर साथमा राखी हात धोइ नडराई सावधान भई , केहि दिनको कुरा मानी यो कोरानाले के गर्छ हामीलाई जब यो संसार साथमा छ भने
थप १८ मा कोरोना पुष्टि, संक्रमितको संख्या ३७५ पुग्याे
काठमाडौं । नेपाल थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालगञ्जमा १२,धनुषा २,खोटाङमा १,दैलेखमा १,सुनसरीमा १ र झापामा १ जनामा कोरोना पुष्टि भएको छ । सोमबार एकैदिन ८० नयाँ संक्रमित थपिएका हुन्। यसअघि एकैदिन सर्वाधिक ८३ जनामा संक्रमण देखिएको थियो। यो संगै नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ भने निकाे भएर घर जानेकाे संख्या ३७ रहेकाे छ ।