महाकाली सन्धि गर्नेले एमसीसी पास गर्नु पर्छ भन्न थाले: भीम रावल
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता डा. भीम रावलले महाकाली सन्धि गर्नेले अमेरिकी सहयोग एमसीसी पास गर्नु पर्छ भन्न थालेकाे बताएका छन् । सोमबार संसदमा जारी नीति तथा कार्यक्रममाथिको छलफलमा उनले यस्तो बताएका हुन । रावलले भने, ‘काँग्रेसका एकजना नेताले यो छिटो पारित गर्नुपर्छ भन्नुभयो, उहाँले महाकाली सन्धीमा पनि त्यस्तै करा गर्नु भएको थियो । महाकाली नदिको १०/१० वर्षमा पुनरावलोकन हुनुपर्छ भन्ने कुरा भएको थियो तर न पुनरावलोकन भयो न न कार्यान्वयन नै भयो । त्यसैले एमसिसीको कुरा जुन यहाँ गरिएको छ । म आशा गर्छु यो त्यो सम्झौता अनुसारको अंग हुने छैन । यदी त्यो भयो भने राष्ट्रिय हित विपरित हुनेछ ।’ उनले विवादास्पद एमसिसी पछाडिएको ढोकाबाट आउन खोजेको अनुभुत भएको बताएका छन् । उनले एमसीसी पास गरे नेपाली जनताले आवाज उठाएको कुराको विपरित हुने पनि बताए । एउटा स्वाधिन देशको हैसियतमा आँच पुर्याउने कुरा कुनै पनि पैसामा साट्न नसकिने उनकाे भनाइ छ ।
नागरिक जोगाउन लकडाउनमा थप कडाइ गरिने : मुख्यमन्त्री भट्ट
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोभिड–१९ को सङ्क्रमणबाट नागरिकलाई जोगाउन लकडाउनमा थप कडाइ गरिने बताएका छन् । मुख्यमन्त्री भट्टले कोरोनाको सङ्क्रमण फैलिन नदिन सुदूरपश्चिमका सीमा नाकामा थप कडाइ गर्नुका साथै नागरिकको आवतजावतमा समेत नियन्त्रण गरिने बताए । सुदूरपश्चिम प्रदेशले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना रोकथाममा सहजता भएको बताउँदै मुख्यमन्त्री भट्टले भने, “हामीले भारतीय सीमामा कडाइ गरेका कारण कोरोना भित्रिन सकेको छैन, कोरोना नियन्त्रणमा सबैको सहयोग अनिवार्य रहेको छ ।” फोन संवादकै क्रममा उनले अहिलेको सङ्कट व्यवस्थापनको पहिलो र प्रभावकारी उपाय भनेको बन्दाबन्दी मात्र भएकाले सरकारले नागरिकलाई थप सचेत बनाउँदै लकडाउनलाई कडाइका साथ पालना गर्न लगाइने उल्लेख गरे । मुख्यमन्त्री भट्टले थप भने, “लकडाउन भनेको जो जहाँ छ, त्यहीँ बस्ने हो, खान नपाएको खण्डमा सरकारले व्यवस्थापन गर्ने छ, लकडाउनको विकल्प छैन ।” मानवको पहिलो प्राथमिकता स्वास्थ्य भएकाले पछिल्लो समय फैलिएको सङ्क्रमणको अवस्थालाई हेरेर लकडाउनलाई कडाइ गर्न निर्देशन दिन लागिएको उहाँले जानकारी गराए । मुख्यमन्त्री भट्टले घर आउन नपाएर भारतीय सीमा क्षेत्रमा रोकिएका नेपालीलाई नेपाल ल्याएर क्वारेन्टाइनमा राख्ने विषयमा पहल भइरहेको जानकारी दिए । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको बन्दाबन्दीलाई आम नागरिकले सहयोग गर्न र पूर्ण पालना गर्नसमेत मुख्यमन्त्री भट्टले सबैमा आग्रह गरे । रासस
महाँकालमा जेठ १० सम्म दुई पाङ्ग्रे सवारीसाधन समेत सञ्चालनमा रोक
काठमाडौं । दक्षिण ललितपुरको महाँकाल गाउँपालिकाले आजदेखि आउँदो जेठ १० गतेसम्मका लागि दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोभिड–१९ का कारण मुलुक बन्दाबन्दी भई यहाँ दुई जना नेपालीले ज्यान गुमाइसकेको अवस्थामा महाँकालले आफ्नो गाउँपालिकामा जोखिम बढ्न नदिन शनिबार एक सूचना जारी गरी उक्त कुराको जानकारी गराएको हो । सूचनामा गाउँपालिकाबाट दैनिक बिक्री वितरणका लागि बजार जाने तरकारी तथा दूधका साथै अन्य दुईदेखि चार दुई पाङ्ग्रे सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गरिएको छ । पालिकाभित्रका पसल भने बिहान ६ देखि दिउँसो ११ बजेसम्म खुल्न पाउने र होटल पूर्णरुपमा बन्द गर्न आग्रह गरिएको छ । यसैगरी गाउँपालिकामा बाहिरबाट आउने व्यक्तिको अन्य नाका तथा वडाबाट निगरानी गर्ने तथा गराउने र अत्यावश्यक कामबाहेक यस गाउँपालिकाबाट अन्य स्थानीय तह जान नपाउने कुरा सूचनामा उल्लेख गरिएको छ । रासस
मृतक सुत्केरीको शिशुसहित परिवारका सदस्यमा कोरोना नभएको पुष्टि
काठमाडौं । कोरोना भाइरसको संक्रमणले निधन भएकी सिन्धुपाल्चोककी महिलाको सम्पर्कमा रहेका परिवारका सदस्यसहित १४ दिने शिशुमा पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सुत्केरी महिलाका १४ दिने शिशुसहित परिवारका चारजनाको रिपोर्ट नेगेटिभ आएको धुलिखेल अस्पतालले जानकारी दिएको छ । शिशुसहित चारैजनालाई हाल धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको छ । नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुने पहिलो नेपाली हुन् । उनी सिन्धुपाल्चोकको बाह्रविसे–९, राम्चेकी सुत्केरी महिलाको गत बिहीबार धुलिखेल अस्पतालमा मृत्यु भएको हो । गत वैशाख २४ गते काठमाडौंको टिचिङ अस्पतालमा शिशुलाई जन्म दिएकी थिइन् । रासस
बारामा पनि पत्रकारलाई कोरोना संक्रमण
काठमाडौं । बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ । सोमबार स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ । यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ । संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
बन्दाबन्दीको समयमा ‘होलेसुङ–जनकराज मार्ग’ स्तरोन्नति गरिने
खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीय बासिन्दाले चार वर्षअघि निर्माण गरेको ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नतिको तयारी थालिएको छ । स्थानीय बासिन्दाको श्रम तथा चन्दा सङ्कलनबाट अढाई वर्ष लगाएर निर्माण गरिएको दुर्छिमस्थित छापडाँडाको दलस्वर चोकदेखि सुनकोशीको बतासेघाट जोड्ने १३.२७ किलोमिटर सडकका लागि प्रदेश नं १ सरकारले बजेट विनियोजन गरेपछि बन्दाबन्दीकै समयमा सडक स्तरोन्नतिको तयारी गरिएको हो । पूर्वी तराईबाट उदयपुरको लिम्चुङबुङ गाउँपालिका हुँदै त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने सबैभन्दा छोटो पर्यटन मार्गका रूपमा उपयोग गर्न सकिने ‘होलेसुङ–जनकराज राई मार्ग’ स्तरोन्नति गर्न आर्थिक वर्ष २०७६/७७ मा आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २५ लाख रुपैयाँ बजेट प्राप्त भएको छ । ‘आफ्नो गाउँ आफैं बनाऔँ’ भन्ने नाराका साथ विसं २०७२ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा ल्याइएको सो सडक स्तरोन्नति गर्न स्थानीय कमल चाम्लिङको अध्यक्षतामा निर्माण उपभोक्ता समिति गठन गरिएको छ । उपभोक्ता समितिको उपाध्यक्षमा धनहरि राई, सचिवमा भोजराज राई, सहसचिव दविन राई, कोषाध्यक्षमा अञ्जना राई तथा सदस्यमा बलबहादुर राई, विशाल राई, मैना राई र तिम्सिना राई चुनिएका छन् । यस्तै, बाबुराम राईको संयोजकत्वमा केवलनारायण राई र लगनकुमारी राई सदस्य रहेको अनुगमन समिति बनाइएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दी जारी रहेकाले सडक स्तरोन्नतिका लागि नगरपालिकासँग अनुमति मागिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष चाम्लिङले बताए । “बन्दाबन्दीको अवसर पारेर अधिकांश युवा गाउँ फर्किएका छन्”, उनले भने, “सडक स्तरोन्नतिको काम पनि यही मौकामा गर्नुपर्ने भएकाले तिनै युवालाई सहभागी गराएर गर्ने योजना बनाएका छौँ ।” ‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित खोटाङ तथा खोटाङ बाहिरका ३ सय ७८ दाताको आर्थिक सहयोगमा विसं २०६९ चैत ५ गते दुर्छिमको दलश्वरचोकदेखि शुरु गरिएको सुनकोशी किनारको बतासेघाट जोड्ने सडक विसं २०७२ जेठ ९ गते उद्घाटन गरिएको थियो । स्थानीय बासिन्दाको सक्रियतामा गाउँमा सडक पुगेर यातायातसमेत नियमितरूपमा सञ्चालन भएसँगै दैनिक उपभोग्य वस्तु ढुवानी तथा आवतजावतमा सहज भएको छ । करिब ४ सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङको स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढी आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको निर्माण उपभोक्ता समितिले जनाएको छ । सडक निर्माणका लागि समाजसेवी जनकराज राईले मात्रै २२ लाख ५४ हजार २ सय ३७ रुपैयाँ आर्थिक सहयोग गरेका थिए । सडक निर्माणका लागि तत्कालीन दुर्छिम गाविसबाट दुई लाखको हाराहारीमा मात्र बजेट प्राप्त भएको निर्माण उपभोक्ता समितिले जनाएको छ । स्थानीय कृषिउपज ढुवानी तथा आवतजावतमा प्रयोग हुने उक्त सडक निर्माणका लागि आवश्यक बाँकी रकम दाताबाट गच्छेअनुसार जुटाइएको हो । जिल्लामै सबैभन्दा बढी गिट्टी र बालुवा पाइने सुनकोशीबाट निर्माणजन्य सामग्री निकासीका लागि पनि उक्त सडक उपयोगी बनेको छ । स्थानीय बासिन्दाको सक्रियतामा सडक सञ्चालनमा आएपछि पूर्वी तराईका विभिन्न जिल्लाबाट हलेसी आउने दर्शनार्थी सोही सडकमार्फत आउने गरेका छन् ।
‘बीउ र मल’ नपाए भोकमरीको भाइरस आउँछ
काठमाडौं । भोक नै सबैभन्दा ठूलो रोग हो । धम्मपदमा उल्लिखित शाक्यमुनि बुद्धको उक्त वचनलाई स्वीकार्दै रुपन्देहीका जनप्रतिनिधिले सरकारको ध्यानकर्षण गराएका छन् । भैरहवामा आइतबार आयोजित कार्यक्रममा भेला भएका जनप्रतिनिधिले बीउबिजन समयमै नपाए मुलुकमा भोकमरी आउने उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । रुपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसद तथा १६ पालिकाका प्रमुखले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विशेष कार्यक्रम ल्याउन सरकारलाई आग्रहसमेत गरेका छन् । कृषिको पकेट क्षेत्र जिल्लाको मर्चवार क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेशसभाका सदस्य बसीउद्धिन खानले किसानलाई यतिबेला बीउको समस्या रहेको जनाउँदै सहज ढंगले उपलब्ध हुने गरी योजना बनाउनुपर्ने बताए । मर्चवारकै प्रदेशसभा सदस्य अष्टभुजा पाठकले कृषिमा विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बेला आएकामा जोड दिए । प्रदेशसभा सदस्य सुनिताकुमारी ठठेरले गाउँ फर्केकाहरुलाई सामाजिक दूरी कायम गर्दै कृषि उद्यममा लगाउनुपर्ने बताए । अर्का प्रदेशसभा सदस्य पुष्पा चौधरीले खेती गने समयमा बीउ र मल अभाव भए भोकमरीको भाइरस सिर्जना गर्ने बताएका छन् । प्रदेशसभा सदस्य सन्तोष पाण्डेले कृषिमा सरकारको विशेष योजना आवश्यक रहेकामा जोड दिए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अध्यक्षतामा सम्पन्न जिल्लास्तरीय कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकमा सहभागी प्रदेशसभा सदस्यले मात्रै होइन गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखले पनि कोभिड –१९ सँग जुध्दै गर्दा कृषि क्षेत्रलाई विशेष ध्यान दिनुपर्ने बताए । सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले तत्कालै बीउको व्यवस्थापनमा सरकार लाग्नुपर्ने सुझाव दिए । शुद्धोधन गाउँपालिका अध्यक्ष किसुनचन्द्र चौधरीले कोरोेनाविरुद्ध एक भएर लडिरहँदा कृषिको विकासका लागि पनि एक हुन जरुरी रहेको धारणा राखे । सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले कृषिका लागि साल्ट ट्रेडिङ र कृषि सामग्री लिमिटेडसँग मलखाद र बीउ भए तापनि वितरण नगर्दा समस्या भएको बताए । कञ्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले क्वारेन्टिन अवधि पूरा गरेका प्रवासीलाई कषि क्षेत्रमा क्रियाशील बनाउने योजना आवश्यक रहेको जनाए । बैठकमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादव, तिलोत्तमा नगर प्रमुख वासुदेव घिमिरे, सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, देवदह नगर प्रमुख हिराबहादुर केसी, सैनामैना नगर प्रमुख चित्रबहादुर केसी, गैडहवा गाउँपालिका अध्यक्ष बछुलाल केवट, मर्चवारी गाउँपालिका अध्यक्ष केशवानन्द बानियाँ, कोटही गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवलगायत जिल्लाका १६ पालिकाका अध्यक्ष र १० प्रदेशसभा सदस्यले कृषिमा वैज्ञानिक योजनासहित अगाडि बढ्न नसके भोकमरी आउने खतरा रहेको धारणा राखे । बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले सामाजिक दूरीलाई कायम गर्दै कृषि कर्मलाई निरन्तरता दिने गरी पालिकास्तरमा काम अगाडि बढाउन आग्रह गरेका थिए । यसअघि मन्त्रिपरिषद्को बैठकले प्रदेश नं ५ मा कोभिड कृषि विशेष कार्यक्रम घोषणा गरेको छ । रासस
भारतको रामपुरमा अलपत्र परेकाको उद्धार, गाउँमा पुग्दा खुशी
काठमाडौं । भारतको उत्तर प्रदेशको रामपुरमा अलपत्र परेका थलारा गाउँपालिकाका ९३ जना गाउँ पुगेका छन् । अलपत्र रहेका थलारावासीलाई उद्धार गरी ल्याउनुपर्ने विभिन्न निकायबाट दबाब सिर्जना भएपछि गाउँपालिकाको टोलीले विभिन्न निकायसँग समन्वय गरी गाउँ ल्याएको हो । भारतको दिल्लीबाट चैत ११ गते घर फर्किनका लागि आएका उनीहरुलाई भारत सरकारले बिचबाटोमा रोकेर रामपुरको क्वारेन्टाइनमा ५० दिनसम्म राखेको थियो । अलपत्र परेका नागरिकलाई उद्धार नगरेको भन्दै चौतर्फीरुपमा आलोचना भएपछि गाउँपालिकाका सबै पार्टीका राजनीतिकर्मी र जनप्रतिनिधिको पहलमा भारतको गौरीफन्टा नाकामा पुर्याएपछि गाउँपालिकाले ५३ दिनपछि उद्धार गरी गाउँ ल्याएको हो । गाउँ पुगेपछि उनीहरूले निकै खुशी हुँदै आफूहरुमा कोरोनाको सङ्क्रमण नभएकोमा ढुक्क भएकोसमेत बताएका छन् । विगत १० वर्षदेखि भारतको फरिदाबादमा चौकीदारी गर्दै आएका थलारा गाउँपालिका–१ का बहादुर थापाले भने, “५० दिनसम्म निकै कष्टकर समय बिताउनुपर्यो, कोरोनाको त्रासले भारत सरकारले समेत लकडाउन गरेपछि घर जाउँ भनी सबै फर्किएका थियाैं तर भारत सरकारले भारतको बरेलीमा रोकेर फेरि ६५ किलोमिटर फर्काएर रामपुरमा लगेर राखेको थियो ।” उनले गाउँ पुगेपछि निकै खुशी भएको बताए । गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले आफूहरुले निरन्तर पाँच दिनसम्म भारतीय दूतावास, कैलाली जिल्ला प्रशासन कार्यालय र प्रदेश सरकारसँग समन्वय गरी भारतबाट उद्धार गरी गाउँसम्म ल्याएको बताउनुभयो । उनले भने, “उद्धार गरी ल्याइएकालाई अब गाउँपालिकाको क्वारेन्टाइनमा १४ दिन राखी स्वास्थ्य परीक्षण गरेपछि मात्र घर पठाइने छ ।” रासस