विकासन्युज

नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई पीसीआर मेसिन खरिद गर्न सहयोग

काठमाडौं। नबिल बैंकले कर्णाली प्रदेश सरकारलाई उक्त प्रदेशको अस्पतालमा पीसीआर मेसिन खरिद गर्न वित्तीय सहयोग प्रदान गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड –१९) रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पु¥याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई प्रदेश अस्पताल विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन खरिदका लागि वित्तीय सहयोग गर्ने भएको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २८ लाख २५ हजार आर्थिक सहयोग गरेको छ । सो आधुनिक एवं उच्च क्षमताको मेसिनबाट नमूना छिटो र उच्च परिमाणमा परिक्षण गर्न सहयोग मिल्ने र पहिचान, उपचार तथा कोरोना संक्रमण रोकथाममा प्रभावकारी सहयोग हुने बैंकले विश्वास लिएको छ ।

मकवानपुरमा रुखले च्यापिएर दुई जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएकाे छ । पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका- ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडानम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् ।  

सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा

काठमाडौँ । मुलुकको कूल वन क्षेत्रको सबैभन्दा बढी वन क्षेत्र कर्णाली प्रदेशमा छ भने सबैभन्दा कम प्रदेश नं २ मा रहेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार नेपालको कूल वन क्षेत्रको हिस्सा (प्रतिशत) मध्ये कर्णाली प्रदेशमा १७ दशमलव ९० र प्रदेश नं २ मा तीन दशमलव ९९ प्रतिशत रहेको छ । यसैगरी कूल वन क्षेत्रमध्ये प्रदेश नं १ मा १७ दशमलव १६, वाग्मती प्रदेशमा १६ दशमलव ५०, गण्डकी प्रदेशमा १२ दशमलव ३६, प्रदेश नं ५ मा १४ दशमलव ७४ र सुदूरपश्चिम प्रदेशमा १७ दशमलव ३४ प्रतिशत वन क्षेत्र रहेको छ । मुलुकभर प्रदेश नं २ मा ८४, प्रदेश नं १ मा १३ र प्रदेश नं ५ मा नौ गरी १०६ तहमा वन क्षेत्र नरहेको स्थिति छ । नेपालको कूल भूभागको ४० दशमलव चार प्रतिशत वन र चार दशमलव चार प्रतिशत झाडी तथा बुट्यान क्षेत्र गरी कूल क्षेत्रफलको ४४ दशमलव सात प्रतिशत वन क्षेत्रले ओगटेको छ । नेपालको भूधरातलीय आधारमा सबैभन्दा बढी वन क्षेत्र मध्यपहाडमा छ भने सबैभन्दा कम वन क्षेत्र तराईमा छ । आर्थिक वर्ष २०७६÷७७ को फागुनसम्ममा २२ हजार ४१५ सामुदायिक वन उपभोक्ता समूहमार्फत २२ हजार ७२ लाख ३५६ हेक्टर वन क्षेत्रको व्यवस्थापन भई २९ लाख २७ हजार ३२९ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित भएको आर्थिक सर्वेक्षणमा उल्लेख छ । जैविक विविधता एवं पारिस्थितिकीय प्रणालीको संरक्षण र प्रकृतिमा आधारित पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्रसमेत गरी २० संरक्षित क्षेत्र स्थापना गरी मुलुकको ३४ हजार ४२० वर्ग किमी अर्थात् २३ दशमलव चार प्रतिशत भूभाग संरक्षित क्षेत्र प्रणालीअन्तर्गत व्यवस्थापन गरिएको छ । यस आवमा ६०० हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना पछिल्लो वन्यजन्तु गणनाअनुसार नेपालमा हाल २३५ बाघ, ४४१ अर्ना, ६४५ गैँडा, ३२६ कृष्णसार र १९८ घडियाल (गोही) रहेका छन् । त्यसैगरी ४७८ गौरीगाई, ३५० देखि ४०० हिउँ चितुवा र दुई हजार ३२५ बाह्रसिंहा रहेको सर्वेक्षणमा जनाइएको छ । आव २०७५÷७६ मा दुई हजार ४४ हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना गरिएको थियो । साथै सोही आर्थिक वर्षमा कूल दुई करोड पाँच लाख बिरुवा उत्पादन/खरिद तथा वितरण गरी चार हजार २०० हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको थियो । त्यस्तै आव २०७६÷७७ को फागुनसम्म ६०० हेक्टर अतिक्रमण हटाई वनको पुनस्र्थापना गरिएको छ भने ९८ लाख बिरुवा उत्पादन गरिएको छ । जडीबुटी प्रशोधन तथा उत्पादन कम्पनी लिमिटेडद्वारा आव २०७५÷७६ मा १५ टन सुगन्धित तेल उत्पादन र २२ लाख २४ हजार थान हर्बल केयर उत्पादन भएको थियो भने चालू आवको पहिलो आठ महिनामा ३० टन सुगन्धित तेल उत्पादन र ४८ लाख थान हर्बल केयर उत्पादन भएको छ । आव २०७५÷७६ मा निजी र राष्ट्रिय वन गरी कूल एक करोड ९४ लाख घनफिट गोलिया काठ उत्पादन भएको थियो भने चालू आवको फागुनसम्म यस्तो उत्पादन एक करोड दुई लाख ५९ हजार घनफिट रहेको सर्वेक्षणमा उल्लेख छ । संरक्षित क्षेत्रमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटक र राजश्व परिचालन विगत दशकमा क्रमशः वृद्धि भएको सरकारले जनाएको छ । आव २०७५/७६ मा सात लाख छ हजार १११ पर्यटकले संरक्षित क्षेत्रको भ्रमण गरेकामा आव २०७६/७७ को पहिलो आठ महिनामा पाँच लाख १० हजार २७८ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको आर्थिक सर्वेक्षणमा जनाइएको छ ।

पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन

प्युठान । क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ। महिलासँगै बसेका परिवारका पाँच सदस्यको आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। लामो समयदेखि भारतमा ब्रेन ट्युमरको उपचार गराइरहेकी उनलाई चिकित्सकले निको नहुने बताएपछि उनी स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेकी थिइन्।

गोकर्णेश्वर–४ का सङ्क्रमितको सम्पर्कमा आएका सबैको नतिजा नेगेटिभ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ का कोरोना सङ्क्रमितको सम्पर्कमा आएका सबैको परीक्षणको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका पहिलो सङ्क्रमित गोकर्णेश्वर–४ का स्थानीयवासी भन्सार कार्यालय भैरहवामा हल्का सवारी चालक पदमा कार्यरत ५८ वर्षीय पुरुषको सम्पर्कमा आएका त्यस क्षेत्रका १९७ जनाको ट्र«ेसिङ गरी आरडिटी परीक्षण गरिएको थियो । आरडिटी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएकामा पिसिआर परीक्षण गरेपछि सबैको नतिजा नेगेटिभ आएको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका आठजनाको सम्पर्कमा आएका १६ जनाको पनि पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएको उनले बताए । परीक्षणको परिणाम आउनुअघि पोजेटिभ आएकालाई नेपाल मेडिकल कलेज अत्तरखेलमा राखिएको थियो । पिसिआरको परिणाम नेगेटिभ आएपछि सबैलाई घर पठाइएको नगरपालिकाले जनाएको छ । यसअघि नगरका जनप्रतिनिधि, कर्मचारीलगायत अग्रभागमा रहेर काम गर्नेमा गरिएको पिसिआरको प्रतिवेदन भने नेगेटिभ आएको थियो । नगरपालिकामा हाल दुईजना कोरोना सङ्क्रमित पुष्टि भएपछि दुवै जनालाई आइसोलेशनमा राखी उपचार भइरहेको छ । यसैगरी कागेश्वरी मनोहरा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं अग्रभागमा रहेर सेवा दिने ९७ जनाको पिसिआर परीक्षणका लागि आज स्वाब सङ्कलन गरिएको छ । जनप्रतिनिधि, कर्मचारी र नेपाली सेना गरी ९७ को स्वाब सङ्कलन गरी परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको नगरपालिकाका प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिए । नगरपालिकामा यसअघि गरिएका आरडिटी र पिसिआर परीक्षणको प्रतिवेदन नेगेटिभ आएको जनाइएको छ ।

अब काम गर्ने शैलीमा धेरै परिवर्तन आउँछ

विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको असर हरेक क्षेत्रले प्रत्यक्ष रुपमा भोग्दै आएका छन् । कोरोना महामारीकै कारण विश्वका विभिन्न मुलुकहरु लक डाउनमा छन् । महामारीसँगै विश्वमा जीवन बीमाकाे माग बढेकाे समाचार प्रकाशित भएका छन् । नेपालमा के भइरहेकाे छ ?  महामारीले नेपालको बीमा क्षेत्रमा कस्तो असर गरिरहेकाे छ ? नयाँ परिस्थितिमा बीमा कम्पनीहरू के साेचिरहेका छन् ?  रिलायबल लाइफ इन्स्योेरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनीसँग विकासन्युजका लागि नबिन पोखरेलले यिनै विषयमा कुराकानी गरेका छन् ।  विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको प्रभाव नेपालको जीवन बीमा क्षेत्रमा कस्तो छ ? जीवन बीमामा अहिले तत्कालको लागि भन्ने हो भने धेरै शाखा कार्यालयहरु खोल्न सकिने अवस्था छैन । नयाँ व्यापार पनि आउन सकेको छैन । नविकरण पनि निकै कम भइरहेको छ । त्यस्तै अर्कोतर्फ बैकहरुले दिएको व्याज पनि दुई, साढे दुई प्रतिशतले घटेको छ । यसरी बीमा क्षेत्रमा तत्कालको लागि कोरोना महामारीले नकारात्मक असर पारेको छ । तर कोरोना महामारीबाट बाहिरीएपछि मानिसहरुलाई जति बेला जेपनि हुँदो रहेछ, नसोचेका जोखिम जीवनमा आईलाग्दा रहेछन् भन्नेमा सबैजना सचेत हुनुपर्छ । यस्ता जोखिमका लागि आर्थिक रक्षावरण गर्न समयमै जीवन बीमा गर्नेहरुको संख्या बढ्न सक्छ । वैदेशिक रोजगारमा पुगेकाहरु स्वदेश फिर्ता हुने सम्भावना धेरै छ । भोलिको आर्थिक अवस्था कस्तो रहला त्यो त ठ्याक्कै अनुमान गर्न मिल्दैन । आर्थिक समस्या एउटा पाटो हो तर जीवन बीमा भनेको आवश्यक कुरा हो । यतिबेला कुनैपनि कम्पनी चलाउन सजिलो छैन । प्रमुख कार्यकारी अधिकृतको हैसियतले कम्पनीको व्यवस्थापकिय नेतृत्व कसरी गर्दै हुनुहुन्छ ? साधारणतया हामीले अहिले प्रविधिको सहयोगबाट काम गरिरहेको अवस्था छ । यही समयमा हामीले कर्मचारीहरुको व्यक्तित्व विकास हुने खालका अनलाईन तालिम समेत गरिरहेका छौँ । आफ्नो स्वास्थ्य, परिवारको स्वास्थ्य, हाम्रो स्टेकहोल्डर तथा अभिकर्ता साथीहरुको स्वास्थ्यको ख्याल गर्नु पर्ने अवस्था छ । राज्यको लक डाउनको समेत हामीले पालना गर्नुपर्ने कुरा त्यतिकै जरुरी छ । भोलि प्रविधिबाटै बीमा सेवा दिन डिजिटल सिग्नेचरलाई मान्नु पर्ने हुन्छ । सोही विषयमा हाम्रो नियामक बीमा समितिसँग छलफल पनि भइरहेको छ । अहिले दिन बिराएर प्राशासनका साथीहरु अफिस आईरहेका छौं । हप्तामा एक दिन हामीले शाखा पनि खोल्ने प्रयास गरेका छौं । मुलुक लकडाउनमा परेको दुई महिना भयो । यस्तो बेलामा नियामक निकाय बीमा समिति तथा सरोकारवाल पक्षबाट कस्तो सहयोग पाइरहनु भएको छ ? बीमा समितिले पनि कतिपय अवस्थामा अहिले बुझाउनु पर्ने शुल्कहरु पछि बुझाउन मिल्ने सुविधा दिएको छ । यस्तै, अभिकर्ताहरुको नविकरणहरुको जरिवाना नलाग्ने बनाएर पछिको लागि सारिएको छ । बीमा समितिले परिस्थिति हेरेर समयको आवश्यकता अनुसारको निर्देशन दिईरहेको छ । साथै, बीमा कम्पनीहरुले दिएका सल्लाय सुझावलाई समितिले सकारात्मक रुपमा लिएको अवस्था छ । अहिलेकोे अवस्थामा बीमा कम्पनीहरु राम्रोसँग अडिन सकेमा भोलिका दिनमा उनीहरुले दिने सेवा सुदृढ हुनेछ । कम्पनीहरुको निरन्तरता नै अहिलेको प्राथमिकता हो । यस्तो कुरा बीमा समितिले राम्रोसँग बुझेको देखिन्छ । कोरोना महामारीले भर्चुअल वल्र्डको महत्व बढेको छ । रिलायबल लाइफले दिने कुन कुन सेवा डिजिटल्ली उपलब्ध छन् ? हाम्रो अनलाईनबाटै बीमा पोालिसी खरिद गर्न सकिने व्यवस्था छ । अर्को भनेको विभिन्न अवस्थामा भौतिक कारोवार नगरिकन डिजिटल्ली भुक्तानीको सेवा दिइरहेका छौँ । हामीले सबै सरोकारवालाहरुलाई आफ्नो वेव साइटमा सम्पर्क नम्बर राखेर कुनै किसिमका समस्या आएका सम्पर्क गर्न भनेको छौं बीमित, अभिकर्ता वा कम्पनीबाट सेवा लिन चाहाने जो कोहीले पनि आफ्नो भनाई कम्पनीको कर्मचारीसँग राख्न सक्नुहुनेछ । सकेसम्म हामी उहाँहरुको माग अनुसार सेवा दिने प्रयास गरिहेका छौं । रिलायवल लाइफको कुन बीमा पोलिसीले कोरोना महामारी पीडितलाई आर्थिक सुरक्षा प्रदान गर्छ ? हामीले कोरोना विशेष प्रोडक्ट ल्याएका छैनौ । प्रोडक्ट ल्याउन पनि प्रकृया केही लामै छ । पहिले प्रोडक्ट डिजाइन गरेर, त्यसलाई बीमा समितिमा पठाउनु पर्छ । साथै, यसरी पठाएको प्रोडक्ट डिजाईन एक्चुरीको तर्फबाट पनि जाँचबुझ गर्न आवश्यक हुन्छ । त्यसपछि बीमा समितिले स्वीकृत दिन्छ । अहिलेको परिस्थितिमा नयाँ पोलिसी जारी गर्न झन बढी समय लाग्छ । तत्कालका लागि हामीले विगतबाट संचालनमा ल्याएका बीमा पोलिसीहरु बिक्री गरिरहेका छौँ । लक डाउन खुले पश्चात हामीले कस्तो किसिमको प्रोडक्टको आवश्यकता बजारलाई छ भन्ने बुझेर नयाँ प्रोडक्ट ल्याउछौँ । चैत्र मसान्तको वित्तीय सूचक कस्तो रहयो ? चैत्र मसान्तको वित्तीय तथ्याङ्ककरु राम्रै आएका छन् । अझै केही सूचक तयार हुँदैछ । बीमाशुल्क संकलन बीचमा बन्द भयो । यसरी बीमाशुल्क रोकिदा पनि हामी गत वर्षको भन्दा केही वृद्धि कै अवस्थामा छौँ । आगामी दिनमा कसरी अघि बढ्ने योजना बनाउनु भएको छ ? सबैभन्दा पहिला त हामीले तत्काल गर्नै पर्ने कामहरु कोरोनाबाट बचेर गर्नु पर्ने अवस्था छ । आगामी दिनमा पनि स्थिति त्यति सहज हुने देखिदैन । सोही कारण डिजिटल्ली नै अघि बढ्ने हाम्रो योजना रहेको छ । एकातिर व्यवसाय कसरी वृद्धि गर्ने भन्ने चुनौति छ भने खर्च व्यवस्थापन अर्को चुनौति छ । त्यस्तै, ग्राहकसँगको सम्पर्क बढाउनु पर्नेछ । अबको दिनमा मानिससँग पैसा कम हुनसक्छ । विदेशबाट आउने रेमिट्यान्स रकम घट्दै छ । आम मानिसको आम्दानी घट्दैछ । यस अवस्थामा सस्तो अर्थात कम बीमा शुल्क हुने किसिमका बीमा पोलिसीको माग बढ्ने देखिन्छ । चुनौतिहरु धेरै छन् तर पनि वार्षिक २५/३० प्रतिशतको व्यवसाय वृद्धिले निरन्तरता पाउँछ भन्ने हाम्रो अनुमान छ । कोरोना महामारी अघिको बीमा बजार तथा महामारी पछिको बीमा बजारमा के कस्ता परिवर्तन आउने सम्भावना छन् ? मुख्यत हाम्रो काम गर्ने शैली (अपरेशन मोडल) मा पक्कै परिवर्तन आउँछ । हाम्रा सेवाहरु अनलाइन प्रणालीमा आधारित हुनेछन् । डिजिटल कारोबारले प्राथमिकता पाउने छ । बैंक खाताबाट बीमा शुल्क भुक्तानी, बैंक खाताबाटै बीमा रकम भुक्तानी हुन्छ । नयाँ पोलिसी लिने देखि नविकरणसम्मका काम इन्टरनेटको माध्यमबाटै हुने अभ्यास बढ्दै जाने देखिन्छ । महामारीको बेलामा मानिसहरुले अताल्लिएर बीमा गर्न चाहेका छन् कि ? नयाँ बीमालेख जारीको अवस्था कस्तो छ ? अहिले पनि हामीले कसैले बीमा गर्छु भन्दा हामीले गरेका छौँ । लक डाउनको अवस्थामा बीमा गर्न चाहने व्यक्तिको हामीले बीमा गरि नै रहका छाँै । तर मार्केटिङ्कका लागि भने केही समस्या भएको अवस्था छ । जीवन बीमामा २० लाख रुपैयाँ भन्दा बढीको मेडिकल गर्नु पर्ने हुन्छ । मेडिकल गर्न अहिले व्यक्ति भेटन पनि त्यति सहज वतावरण छैन । तर सो भन्दा बाहेकका हामीले गर्न मिल्ने सम्मका बीमा सेवालाई निरन्तरता दिई रहेका छौँ ।

कोरोनाको प्रभाव न्यून गर्न नेपाललाई एसियाली विकास बैंकको ३० अर्ब सहुलियत ऋण

काठमाडौं । एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३० अर्ब २५ करोड (२५ करोड अमेरिकी डलर) सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ । बैंकले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त परिमाणको सहुलियतपूर्ण ऋणले कोरोनाविरुद्ध लड्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । यस सहुलियतपूर्ण ऋणबाट कोरोनाको महामारीसँग जुध्ने उपायलाई निरन्तरता दिन, गरिब र कमजोर वर्गका लागि सामाजिक संरक्षणका कार्यक्रम विस्तार गर्दै तीव्र आर्थिक सुधारको चरणलाई तय गर्न सहयोग पुग्ने बैंकका अध्यक्ष मात्सुगु असकावाले जानकारी दिए । कोरोनाका कारणले हाल सार्वजनिक स्वास्थ्यमा समस्या देखिएको र नेपालको समग्र सामाजिक र आर्थिक विकासमा उल्लेखनीय असर पार्ने आशङ्का गर्दै उनले समन्वयपूर्ण तरिकाले बैंकले सरकार र अन्य विकास साझेदारसँग मिलेर काम गर्नेसमेत उल्लेख गर्नुभयो । बैंकले उक्त सहयोग ‘एक्टिभ रेसपोन्स एण्ड एक्पेन्डिचर सपोर्ट’ (केरेस) कार्यक्रम अन्तर्गत प्रदान गर्न लागेको हो । उक्त रकमबाट सातै प्रदेशमा महिला र पुरुषका लागि छुट्टै वार्ड भएका कम्तीमा दुई लाख मानिसका लागि क्वारेन्टिन सुविधा प्रदान गर्न र प्रतिदिन कम्तिमा तीन हजार परीक्षणका लागि सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । यसैगरी कोरोनाको विपद्बाट अतिप्रभावित लघु साना र मझौला उद्योगमा अनुदानपूर्ण ऋण दिइने र त्यसमा कम्तिमा ३० प्रतिशत महिलाको नेतृत्वमा रहेका र कम्तिमा आधा पिछडिएको समुदायबाट आबद्धता भएको हुनुपर्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘कृषिमा दुई लाख रोजगारीको सम्भावना’

काठमाडौं । कोभिड–१९ का कारण लाखौँको सङ्ख्यामा रोजगारी गुम्ने प्रक्षेपण भइरहँदा सरकारले कृषि क्षेत्रमा सम्भाव्यता पहिचान गरी रोजगारीको अवसर सिर्जना गर्ने भएको छ । श्रम रोजगार पत्रकार समूहले आज गरेको भर्चुअल अन्तरक्रियामा कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले तत्काल कृषि क्षेत्रमा दुई लाख रोजगारी सिर्जना गर्ने सम्भावना सरकारले देखेको बताए । कोरोना महामारीपश्चात वैदेशिक रोजगारीमा गएका हजारौँ नेपाली श्रमिक स्वदेश फर्कने आँकलन गरिएको र यस्तो अवस्थामा उनीहरुलाई कृषिमा आकर्षित गर्नुपर्ने बहस हुँदै आए पनि विदेशबाट फर्काइएकालाई कसरी काममा लगाउने भन्नेमा कम छलफल भइरहेको मन्त्री भुसालको भनाइ थियो । विदेशबाट फर्केर कृषिमा लाग्नेका लागि सरकारले प्राविधिक सेवाको ग्यारेण्टी गर्ने, मल, बीउबिजन र पानी सस्तोमा उपलब्ध गराउने, रिफाइनान्सको ग्यारेण्टी गर्ने र उत्पादित बस्तु बिक्छ भन्ने कुराको सुरक्षित गर्दै काम गर्ने वातावरण भने बनाउन सकिने उनको भनाइ छ । उनले आगामी वर्षलाई कृषि क्षेत्र सुधारका लागि आधार वर्षका रुपमा लैजाने बताए । “कृषि क्षेत्रको विकासका लागि स्थानीय आवश्यकताअनुसार व्यवस्था गर्नुपर्नेछ” मन्त्री भुसालले भने, “किसानले उत्पादन गर्ने कृषि सामाग्रीको लागि बिउ बिजन, मल, सिँचाइदेखि उचित भण्डारणको लागि आवश्यक व्यवस्था गर्नुपर्नेछ त्यसका लागि मन्त्रालयले तयारी गर्दैछ ।” सबै स्थानीय तहमा यस वर्ष कृषि सुधारको जग बसाल्ने उल्लेख गर्दै उनले भने, “आगामी वर्ष राम्रो राष्ट्रिय बजार स्थापित गर्दै तेस्रो वर्ष कृषिलाई एक आकारमा ल्याउने हो, जबसम्म कृषकको नाफाको ग्यारेन्टी हुँदैन तबसम्म कृषि क्षेत्रको सुधार हुँदैन त्यसैले समर्थन मूल्य तोक्दैछौँ ।”