कृषि क्रान्ति ल्याउन यस्ताे छ अटाेमाेबाइल व्यवसायी शिवाकोटीकाे सुझाव
काठमाडाैं । नाडा केन्द्रीय कार्यसमिति सदस्य तथा ट्रयाक्टर, कृषि उपकरण तथा वर्कसप टुल्स समितिका सभापति कपिल शिवाकोटी नेपालमा कृषि क्रान्ति ल्याउन आगामी बजेटको लागि विभिन्न सुझाव दिएका छन् । उनले कृषिलाई आधुनिकीकरण गर्ने हो भने नेपालमा पनि सरकारले ट्रयाक्टरलाई प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । उनले नेपालमा कृषि क्रान्ति ल्याउने नै हो भने आगामी बजेटको लागि ट्रयाक्टर तथा कृषि उपकरण सम्बन्धी केही सुझावहरु दिएका छन् । एक, अहिलेको नयाँ परिस्थितिमा कोरोना भाइरसको चपेटामा परेर लाखौ नेपालीले वैदेशिक रोजगारी गुमाउनु पर्ने अवस्थाको सृजना भएको छ । धेरै नेपालीलाई नेपालमा नै स्वरोजगार बनाएर कृषि क्षेत्रमा काम गर्न लगाउनुको विकल्प छैन । त्यसैले कृषिसँग सम्बन्धित र कृषिलाई आधुनिकीकरण गर्ने सबैभन्दा पहिलो उपकरण भनेको ट्रयाक्टर भएकोले कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टरहरुमा लगाइएको १३ प्रतिशत भ्याटलाई छुट दिइएमा कृषि पेशासँग आबद्घ हुनेलाई ठूलो राहत हुने थियो । दाेश्राे, किसानले योजना देखाएर आफूलाई आवश्यक कृषि उपकरणहरु किन्न खोजेमा नेपालका बैंक तथा वित्तीय संस्थाबाट ३० लाख सम्मको ऋण बिनाधितो त्यही उपकरणहरु नै धितो रहने गरि ऋण रकम उपलब्ध गराउने ब्यवस्था बजेटमा गरिनु पर्ने देखिन्छ । तेश्राे, ट्रयाक्टर खरिद गरेको पाँच बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाको कारण वित्तीय निकायहरुले लगानी नगर्ने भएकोले सो पाँच बर्षे अवधिको व्यवस्था हटाउनु पर्ने देखिन्छ । चाैथाे, ४० कोरोना भाइरसको कारणले बैदेशिक रोजगारी गुमाउने र नेपालमा नै कृषिसँग सम्बन्धित कार्यहरु गर्ने नेपालीहरुको लागि कृषि उपकरण सञ्चालन गर्ने सम्बन्धी तालिमहरु सरकारी स्तरबाटै दिनु पर्ने छ । पाँचाै, यसरी तालिम प्राप्त नेपालीहरुले ट्रयाक्टर तथा कृषि उपकरण खरिद गरेमा नेपाल सरकारले सब्सिडी दिनु पर्ने व्यवस्था गरिदिनु पर्ने छ । छैटाैं, नेपालका बैंकहरुबाट ट्रयाक्टर र सोसँग सम्बन्धित उपकरणहरु किसानले नेपालका बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा लिएर खरिद गरेमा उक्त कर्जालाई कृषि कर्जाको मान्यता दिनु पर्ने देखिन्छ । साताैं, नेपाल सरकारको राजपत्रमा प्रकाशित नेपालमा आयात गर्न निषेध गरेका समाग्रीहरुमा कृषिसँग अत्यन्त आवश्यक पर्ने कम्बाइन हार्वेस्टर समेतमा रोक लगाइएकोले उक्त हार्वेस्टरको आयात खुल्ला गरिनु पर्ने छ। आठाैं, नेपाल सरकारले ट्रयाक्टरलाई पनि प्रदुषण मापदण्डको दायरामा ल्याउन लागेको बताइएकाले उक्त विषय चाँडो कार्यान्वयन गर्नु पर्ने देखिन्छ ।
‘मन्त्रीज्यू, बालमैत्री क्वारेन्टाइन केन्द्र हुनुपर्यो’
काठमाडौं । ‘मन्त्रीज्यू, बालबालिकाहरुलाई कोभिड–१९ संक्रमण देखियो भने घरपरिवार छोडेर क्वारेन्टाइन केन्द्रमा बस्नुपर्छ । तर, त्यो ठाउँ बालबालिकामैत्री छैनन् । त्यहाँ त्रास र चिन्तापूर्ण अवस्थाबाट गुज्रिनुपर्छ नि ।’ कोरोना संक्रमण दर उच्च देखिएको नेपालगञ्जकी १५ बर्षीया बालिकाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई सोधेको प्रश्न हो यो । ‘क्वारेन्टाइन केन्द्रहरु बालमैत्री बनाउने कार्यलाई प्राथमिकतामा राखिएको छ, केन्द्रमा रहने संक्रमित बालबालिकाको मानसिक स्वास्थ्य र समग्र हितलाई असर नहोस् भनेर अत्याधिक प्रयत्न गर्ने सबै बालबालिकाहरुलाई आश्वस्त पार्न चाहन्छु,’ मन्त्री गुरुङले भने । यो सवाल जवाफ सेभ दी चिल्ड्रेनको सहयोगमा सिआईएनले उत्पादन गरेको ‘बालबालिकासँग मन्त्री’ कार्यक्रममा भएको हो । बालबालिकाका आवश्यकता र चुनौतीहरु सम्बोधनका लागि निर्वाचित जनप्रतिनिधि र नीति निर्माताहरुलाई थप जिम्मेवार बनाउन पैरवी गर्ने उद्देश्यले सुरु भएको बालबालिकासँग मन्त्री कार्यक्रमले यसअघि विभिन्न प्रदेशका सामाजिक विकास मन्त्रीहरुसँग बालबालिकाका सवाललाई जोड्ने प्रयत्न गरेको थियो । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललाई विद्यालयमा बनाइएका क्वारेन्टाइन केन्द्रका कारण त्रास बढ्न सक्ने भन्दै बालबालिकाले गुनासो गरेपछि विद्यालय सञ्चालन अघिदेखि नै निर्मलीकरण गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यस्तै, प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवलकिशोर शाहले बालमैत्री दुरशिक्षाका साधनको अवलम्वन गर्दै सबैको पहुँचमा ध्यान पुर्याउने बताएका थिए । सेभ दी चिल्ड्रेन नेपालकी अन्तरिक राष्ट्रिय निर्देशक बन्दना रिसालले वर्तमान संकटको रोकथाम, जोखिम न्यूनीकरण तथा सम्बोधन केन्द्रित विश्वव्यापी रणनीति अन्तर्गत रहेर कार्यक्रम गरिएको बताइन् । उनले बालबालिकाको सिकाई, जीवन रक्षा, विद्यालय सुरक्षा, बालमैत्री वातावरण, सामाजिक सुरक्षा, खाद्य सुरक्षा र परिवार तथा समुदायबाट बालबालिकाको हेरचाह लगायतका विषयमा सम्पूर्ण सरोकारवालाहरुले ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिइन् । कार्यक्रममा उठेका विषयवस्तु र प्रतिबद्धताको संगालो सम्बन्धित मन्त्रालयहरुमा बुझाईने सेभ दी चिल्ड्रेनले जानकारी दिएको छ ।
पाँच वर्षमा २५ लाख विदेशी पर्यटक भित्र्याइने, ९ लाख रोजगारीकाे सिर्जना गर्ने
काठमाडाैं । सरकारले आगामी पाँच वर्षभित्र २५ लाखभन्दा बढी विदेशी पर्यटकको नेपाल भ्रमण गराउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले मंगलबार संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण २०७६/७७ मा सन् २०२५ सम्म २५ लाख विदेशी पर्यटक भित्र्याएर आठ लाख ९८ हजार रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको हो । सन् २०२० लाख नेपाल भ्रमण वर्षको घोषणा गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेकामा कोभिड-१९ को महामारीको कारण भ्रमण वर्ष स्थगन भइसकेको छ । नेपालका प्राकृतिक, सांस्कृतिक, जैविक एवं मानव निर्मित सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गर्दै नेपाललाई विश्व मानचित्रमा आकर्षक, रमणीय र सुरक्षित गन्तव्यस्थलको रुपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोण लिई पर्यटकको सङ्ख्या बढाउने लक्ष्य लिइएको हो । अद्वितीय प्राकृतिक एवं समृद्ध सांस्कृतिक सम्पदाको कारण नेपालको तुलनात्मक लाभको क्षेत्रको रुपमा पर्यटन रहेको छ । कोभिडबाट नराम्ररी असर परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आन्तरिक पर्यटन प्रवद्र्धन गरी अन्तरराष्ट्रिय पर्यटक ल्याउने आधार तयार गर्नुपर्ने अपरिहार्य रहेको व्यवसायी बताउँछन् । सन् २०१९ मा ११ लाख ९१ हजार १९१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यस्तै सन् २०१८ मा ११ लाख ७३ हजार पर्यटन आएका थिए । सन् २०१७ मा १० लाख हाराहारी विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । विगत १० वर्षको अवधिमा आव २०७२/७३ मा नेपालमा पर्यटन आगमनमा केही कमी आएको थियो । पछिल्लो समय पर्यटन आगमनको सङ्ख्या बढ्दो दरमा रहेको छ । आव २०७५ पुसदेखि २०७६ पुससम्मको अवधिमा प्रति पर्यटकको सरदर बसाई अवधि १३ दिन रहेको छ । सन् २०१९ मा कूल पर्यटक आगमनको सङ्ख्या देशगत रुपमा सबैभन्दा बढी पर्यटक आउने पाँच मुलुकहरुमा क्रमशः भारत २१.२ प्रतिशत, चीन १४.२ प्रतिशत, अमेरिका ७.८ प्रतिशत, बेलायत ५.१ प्रतिशत र श्रीलङ्काको ४.७ प्रतिशत रहेका छन् । यी देशहरुबाट आएका पर्यटकको सङ्ख्या कूल पर्यटक आगमनको करिब ५३ प्रतिशत रहेको छ । रासस
अब घरमै बसेर नगद उपहार जित्न सकिने, सञ्चालनमा आयाे ‘क्यास क्वीज’ एप
काठमाडाैं । लकडाउनका बेला घरमै बसिरहेकाहरुलाई मध्यनजर गरेर ज्ञान बढाउने उद्धेश्यका साथ क्यास क्वीज एप सञ्चालनमा आएको छ । होम सर्भिस नेपालले इनोभेशन वेभ ग्रुपसँगको सहकार्यमा डेभलप गरी लोकसेवा तयारी गर्नेहरुलाई मात्र नभई सबैलाई उपयोगी हुने किसिमको एप सञ्चालनमा ल्याएको हाे । लकडाउनमा घरमा बसिरहेकाहरुलाई मनोरन्जन, ज्ञानको साथमा नगद उपहार समेत जित्न सक्ने गरी ‘क्वीज खेलौं नगद जितौं’ योजना सहित मोबाइल एप संचालनमा ल्याइएको होम सर्भिस नेपालका प्रबन्ध निर्देशक दामोदर श्रेष्ठले जानकारी दिए । लकडाउनका कारण विद्यालय तथा कलेज जान नपाएका विद्यार्थी, लोकसेवाको तयारी गरिरहेकाहरु लगायत आम मानिसलाई एप उपयोगी हुने श्रेष्ठले बताए । क्यास क्वीजमा सहभागी भएर जितेको नगद उपहारले मोवाइल टपअप गर्न सकिने छ । एपमा प्रश्नोत्तर खेलका आधारमा एकपटकमा एक हजार रुपैयाँदेखि ६ हजार रुपैयाँसम्म जित्न सकिने छ । केहि समय पश्चात नगद उपहारको सीमा ५० हजार रुपैंयासम्म पुर्याउने तयारी भैरहेको श्रेष्ठले जानकारी दिए । विशेष गरेर लोक सेवा आयोगको तयारी गरिरहेकाहरुलाई लक्षित गरेर बनाइएको यो मोबाइल एप लकडाउनका बेला लोकप्रिय बन्दै गएको छ । हाललाई गूगल प्लेमा मात्र उपलब्ध यो एप २ सातामा १५ हजारभन्दा बढीले डाउनलोड गरिसकेका छन् । विद्यालय तथा कलेजका विद्यार्थीकोहरुको सहभागिता धेरै बढेको इनोभेसन वेब ग्रुपका प्रबन्ध निर्देशक दिपेश बर्तौलाले जानकारी दिए । उनका अनुसार क्यास क्वीजको युट्युब च्यानलमा राखिएका क्वीज सम्बन्धि भिडियोमा अधिकांश प्रनोत्तरलाई समेटिएको छ । च्यानलको भिडियो हेर्नेहरुलाई क्वीजमा सहभागि हुन धेरै सहज हुने उनले बताए । हरेक दिन साँझ ५ बजे र ९ बजे सञ्चालन हुने लाइभ गेममा सहभागी हुनेहरुले मात्र नगद उपहार जित्न सक्ने छन् । अन्य समयमा प्राक्टिस मोडमा क्वीज गेम खेल्न सकिनेछ । क्यास क्विज एप प्रयोग गर्न इन्टरनेट कनेक्सन अनिवार्य गरिएको छ । लाइभ क्वीज गेम सुरु हुने समयमा एप खोलेर सहभागिता जनाउनु पर्ने हुन्छ । सहभागि भएको केही बेरमा खेल सुरु हुन्छ । खेल सुरु हुने समयसम्ममा खेलमा सहभागि नभएकाहरुले अर्को पटक मात्र खेल खेल्न सक्छन् । तर प्राक्टिस मोडमा कुनै पनि समयमा खेल्न सकिन्छ । अहिले दिनको २ पटक सञ्चालन हुने लाइभ गेममा क्यास क्विजले सोधेको प्रश्नको जवाफ दश सेकेन्ड भित्र दिनु पर्ने हुन्छ । जवाफ नआएमा लाइफ लाइनको समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ । १० वटा प्रश्न सोधिने एक खेलमा आठौं प्रश्नसम्म २ पटक लाइफलाइन प्रयोग गर्न सकिन्छ । क्यास क्विजले सोधेका दश वटै प्रश्नको सही जवाफ दिने व्यक्तिलाई विजेता घोषणा गरिनेछ । दुई वा दुई भन्दा बढी सहभागीले दश वटै प्रश्नको सहि जवाफ दिएमा तोकिएको नगद उपहार दामासाहीले सबैलाई बराबर बितरण गरिने छ ।
ग्रील उद्योगमा कोभिड-१९ को बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्दै ग्रील महासंघ
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले ग्रील उद्योगमा कोभिड-१९ को बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने भएको छ । हालको अवस्थामा उद्योग सञ्चालन गर्दा उच्च सर्तकता अपनाउनु पर्ने र सुरक्षित रहेर काम गर्नु पर्ने बाध्यात्मक अवस्था भएको हुँदा यो सचेतना कार्यक्रमलाई देशब्यापी रुपमा सञ्चालन गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले बताए । उनले महामारीको रुपमा फैलिएको कोभिड १९ बाट बच्न लगाईएको लकडाउन खुलेपछि उद्योग व्यवसाय सचालन गर्न ठुलो चुनौती रहेको अवस्थामा ग्रील उद्योगमा प्रयोग हुने तथा उद्योगबाट उत्पादित ग्रील जन्य फलाममा कोरेनाको संक्रमण बढी समय सम्म रहने हुँदा यसको जोखिम बढी हुनुका साथै मानव बस्ती एवंम ठुला भवन, आयोजना, परियोजना, अर्पाटमेन्ट र सहरमा गएर फलामको काम गर्नु पर्ने भएकोले सुरक्षित भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् । साथै, यस उद्योगमा बिषेश गरि कोरोनाका जोखिम रहेको क्षेत्र तराईका तथा छिमेकी मुलुक भारतका कामदारहरु बढी कार्यरत रहेको हुँदा उद्योग सञ्चालन गर्दा उच्च सर्तकता अपनाउनु पर्ने र सुरक्षित रहेर काम गर्नु पर्ने बाध्यात्मक अवस्था भएकोले उक्त कार्यक्रमको आयोजना गर्ने उनले बताए । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपाल र स्वीटजरल्याण्ड सरकार तथा नेपाल सरकारको दुईपक्षिय सम्झौतमा सञ्चालित दिगो तथा सम्मानित रोजगारीको लागी शिप परियोजना (ईन्स्योर प्रोजेक्ट)बिच छलफल कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उक्त कार्यक्रममा अब उद्योगहरु क्रमश सञ्चालनमा ल्याई वर्तमान असामान्य अवस्थालाई सामान्य अवस्थामा ल्याउन पर्ने भएकोले कसरी कारोनाको संक्रमणबाट सुरक्षित रहेर उद्योगहरु सञ्चालन गर्न र सम्भावित दुर्घटनाबाट बच्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । छलफलमा ग्रील उद्योगलाई सुरक्षित कार्यस्थलको रुपमा रुपान्तरण गरि सञ्चालन गर्ने बिषयमा स्वास्थ बिज्ञ डा.लिला पौडेल कोरोना संक्रमणबाट बच्ने उपाय र व्यवसायजन्य स्वास्थ तथा सुरक्षा बिज्ञहरु दिनेश प्रसाद शाहले कोरोना संक्रमणबाट कसरी सुरक्षित भएर उद्योग सञ्चालन गर्न सकिन्छ भन्ने बिषयमा बृत चित्र सहित जानकारी गराएका थिए । कोरोनाको असर कहिलेसम्म रहने हो यकिन नभएको हुँदा कोरोनालाई पनि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ सम्बन्धि(ओएचएस) समोवेश गराउन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा प्रस्ताव पेश गर्ने समेत कटुवालले बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका लागी स्वीटजरल्याण्डको राजदुताबासका वरिष्ठ कार्यक्रम अधिकृत डा. उषा भण्डारीले विश्वब्यापी रुपमा फैलिएको कोरोनाको प्रकोपबाट सुरक्षित भई काम गर्न गराउन यस किसिमको सचेतना कार्यक्रमले सहयोग पुग्ने भएकोले ग्रील उद्योग लगायत अन्य व्यवसाय प्रतिष्ठानमा समेत सहकार्य गरि सञ्चालन गर्न आफुले सक्दो सहयोग गर्ने बताएका छन् । कार्यक्रममा सिटिईभि, हेलबेटास र ईन्स्योर प्रोजेक्टका प्रतिनिधी, ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका केन्द्रीय पदाधिकारी, प्रदेश संयोजकहरु जिल्ला प्रतिनिधीहरुले जिज्ञासा तथा सुझाबहरु राखेका थिए ।
कोरोना संक्रमणले अर्थतन्त्रमा १ खर्ब ६८ अर्बको नोक्सानीः राष्ट्र बैंक
काठमाडौं । विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस संक्रमणको कारणले नेपाली अर्थतन्त्रमा १ खर्ब ६८ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी भएको छ । नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा यस्तो उल्लेख गरिएको छ । विगत ३ वर्षमा औसत ७.३ प्रतिशत आर्थिक वृद्धि हासिल भएकोमा चालु आर्थिक वर्षसमेत सोही प्रवृत्ति कायम रहने प्रक्षेपण गरिएको भएपनि कोरोना भाइरस संक्रमणपछि सरकारले जारी गरेको देशव्यापी लकडाउनले अर्थतन्त्रमा गम्भीर असर देखिएको राष्ट्र बैंकको भनाइ छ । ‘कोभिडपूर्वको अवस्थामा चालु आर्थिक वर्षका लागि यस बैकले गरेको ७ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपण र केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको २.२८ प्रतिशत आर्थिक वृद्धिको अनुमानबीचको अन्तरका आधारमा कोभिड–१९ महामारीका कारण प्रचलित मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ६८ अर्ब रुपैयाँ नोक्सानी हुने प्रारम्भिक अनुमान छ’, राष्ट्र बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासिक समीक्षामा उल्लेख छ । नेपालसहित छिमेकी तथा नेपालका व्यापार साझेदार देशहरुले गरेको लकडाउनको कारण वैदेशिक व्यापारमा सिथिलता आएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत चैतदेखि बैशाखसम्ममा ७ अर्ब १६ करोड रुपैयाँको निर्यात र १ खर्ब ९० करोड रुपैयाँको आयात भएको छ । गत वर्षको सोही अवधिमा १७ अर्ब ३१ करोड रुपैयाँको निर्यात र २ खर्ब २९ अर्ब ३ करोड रुपैयाँको आयात भएको थियो । लकडाउनको कारण नेपालमा आउने रेमिटान्स पनि करिब आधा कम भएको तथ्यांकले देखाएको छ । गत चैतदेखि बैशाख महिनासम्मको अवधिमा करिव ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिटान्स प्राप्त भएको राष्ट्र बैंकको अनुमान छ । गत वर्षको सोही अवधिमा १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिटान्स प्राप्त भएको थियो । गत फागुन महिनामा ५ अर्ब १० करोड रुपैयाँ पर्यटन आय प्राप्त भएकोमा चैतमा १ अर्ब ६० करोड रुपैयाँ प्राप्त भएको छ । गत चैतदेखि बैशाखसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाले ८३ अर्ब रुपैयाँ निक्षेप संकलन र २२ अर्ब कर्जा लगानी गरेको अपरिष्कृत तथ्याङ्क छ । गत चैतदेखि बैशाखसम्मको अवधिमा बैंकिङ्ग प्रणालीमा सुविधाजनक तरलता रहेको राष्ट्र बैंकको भनाइ छ । बैशाख महिनामा बैकिङ्ग प्रणालीमा औसत ४९ अर्ब २ करोड रुपैयाँ अधिक तरलता छ । गत चैतदेखि बैशाखसम्मको अवधिमा नेपाल राष्ट्र बैंकबाट ३१ अर्ब ६९ करोड रुपैयाँ तरलता प्रवाह भएको छ । यस अन्तर्गत स्थायी तरलता सुविधामार्फत ३० अर्ब १३ करोड र ओभरनाइट रिपोमार्फत् १ अर्ब ५६ करोड रुपैयाँ खुद तरलता प्रवाह भएको छ । गत चैतदेखि बैशाखसम्मको अवधिमा वाणिज्य बैंकहरुबीच १ खर्ब ५३ अर्ब २० करोड रुपैयाँ र वित्तीय संस्थाहरुबीच (बाणिज्य बैंकहरुबीच बाहेक) ८ अर्ब ३ करोड रुपैयाँ अन्तरबैंक कारोबार भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तरबैंक कारोबार दर गत चैतमा २.१३ प्रतिशत रहेकोमा बैशाखमा ४.०६ प्रतिशत कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा नेपाल सरकारले १ खर्ब ९५ अर्ब आन्तरिक ऋण लिने योजना रहेकोमा जेठ ९ सम्ममा ४५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल, १ खर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र, १३ करोड ५० लाख रुपैयाँ बराबरको नागरिक बचतपत्र र ५० लाख २० हजार रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्रसमेत गरी कुल १ खर्ब ४५ अर्ब १४ करोड २० हजार रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ । कोभिड—१९ को प्रभाव न्यूनीकरण गर्न के के भए पहल ? कोभिड—१९ संक्रमण रोकथाम गर्न चालिएका कदमबाट अर्थतन्त्रमा पर्न गएको असरलाई दृष्टिगत गरी तरलतालाई थप सहज बनाउने र व्याजदर कटौती गर्ने उद्देश्यले राष्ट्र बैंकले गत चैत १६ मा अनिवार्य नगद अनुपात, बैंकदर र रिपोदरमा कटौती गरेको थियो । कोभिड—१९ महामारीका कारण प्रभावित भएका तर तोकिएका क्षेत्रका ऋणीहरु बाहेकका लागि गत चैतमा कायम व्याजदरमा आधार दरभन्दा कम नहुने गरी २ प्रतिशत विन्दुले कम गरी चालु आर्थिक वर्षको चौथो त्रयमासको व्याज गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्था अन्तर्गत खुद्रा लघुवित्त कर्जा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाले ३ प्रतिशत र थोक कर्जा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाले २ प्रतिशत विन्दुले कम गरी ब्याजदर गणना गर्नुपर्ने व्यवस्था गरिएको छ । उत्पादनमुलक तथा प्राथमिकता प्राप्त क्षेत्रमा माग हुने कर्जालाई ध्यानमा राखी पुनरकर्जा कोषको सीमा वृद्धि गरी ६० अर्ब पु¥याउने र यसलाई क्रमिक रुपमा वढाउँदै लैजाने नीति राष्ट्र बैंकले लिएको छ । पुनरकर्जा सुविधामा कोभिड–१९ बाट प्रभावित साना तथा मझौला उद्योगलाई प्राथमिकता दिने व्यवस्था मिलाइएको छ । गत चैतदेखि जेठसम्म भुक्तानी गर्नुपर्ने कर्जा दायित्वहरुलाई २०७७ असार मसान्तसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै, चालु पुँजी प्रकृतिका अल्पकालीन कर्जाहरुको भुक्तानी अवधि ६० दिनसम्म थप गर्न सक्ने व्यवस्था गरिएको छ । गत पुस मसान्तसम्म साँवा र व्याज नियमित भुक्तानी गरिरहेका पर्यटन तथा यातायात क्षेत्रका ऋणीहरुले अल्पकालीन कर्जा माग गरेमा साँवा तथा व्याज बक्यौता रहे तापनि आवश्यकता अनुसार निश्चित सीमासम्म शीघ्र प्रक्रिया अपनाई कर्जा प्रकृया शुरु गरिएको ५ कार्यदिनभित्र कर्जा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ । कोभिड—१९ संक्रमण रोकथाम तथा उपचार गर्न प्रयोग हुने आवश्यक वस्तुहरुको व्यवस्थापनका लागि माग हुने कर्जामा समेत लागू गरिएको छ । कोभिड—१९ संक्रमितको उपचारमा सहयोग पुग्नेगरी सेवा विस्तार वा स्तरोन्नति गर्न चाहने निजी स्वास्थ्य संस्थालाई प्रवाह भएको कर्जालाई प्राथमिकता प्राप्त क्षेत्र कर्जामा गणना गर्न सकिने व्यवस्था गरिएको छ । बैदेशिक रोजगारीमा जान अनुमति लिएका तर संक्रमणका कारण रोजगार गन्तव्यमा जान नपाएका व्यक्तिहरुले संक्रमण जोखिम सकिएपश्चात् मुलुकभित्रै उद्योग व्यवसाय संचालन गर्न कर्जा माग गरेमा निबेदन दिएको ७ कार्यदिनभित्र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी क्षमता बढाई आर्थिक गतिविधि चलायमान बनाउन काउन्टरसाइक्लिकल बफर सम्बन्धी व्यवस्थालाई स्थगन गरिएको छ । बन्दाबन्दीको अवधिमा भुक्तानी कारोबार सहजीकरण गर्न र विद्युतीय भुक्तानीे कारोबारलाई प्रोत्साहित गर्न आरटीजीएस मार्फत् गरिने कारोबारमा २०७६ चैत १० देखि अर्को सूचना जारी नभएसम्मका लागि शुल्क नलाग्ने व्यवस्था राष्ट्र बैंकले मिलाएको छ । त्यसैगरी, मोवाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, वालेट जस्ता माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा वृद्धि गरिएको छ ।
६१ प्रतिशत नागरिकको बैंक खाता
काठमाडाैं । सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल ७५३ मध्ये ७४६ स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुलेको र वित्तीय पहुँचसमेत बढेको पाइएको हो । अब मात्रै सात स्थानीय तहमा वाणिज्य बैंकको शाखा खुल्न बाँकी छ । बैंक तथा वित्तीय संस्था एवं लघुवित्त वित्तीय संस्था समेतको शाखा सङ्ख्या नौ हजार ६४० पुगेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको आर्थिक सर्वेक्षण २०७६/७७ मा चालू आवको फागुन मसान्तसम्म २७ वाणिज्य बैंक, २३ विकास बैंक, २२ वित्त कम्पनी, ८९ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी कूल १६२ बैंक तथा वित्तीय संस्था सञ्चालनमा रहेका छन् । अघिल्लो फागुन मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ९.७ प्रतिशतले बढेकामा चालू आवको सोही अवधिमा आठ प्रतिशतले वृद्धि भई रु ३४ खर्ब ९४ अर्ब २१ करोड पुगेको छ । गत फागुन मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जाको वृद्धि ११.३ प्रतिशत रहेको छ । अघिल्लो आवको फागुनमा सो वृद्धिदर १५.७ प्रतिशत रहेको सर्वेक्षणमा समावेश छ । गत फागुन मसान्तसम्म वैदेशिक रोजगारमा जाने कामदारसहितको गरी २६ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको छ । सर्वेक्षणअनुसार गत फागुन मसान्तसम्म सहकारी संस्थाको सङ्ख्या ३४ हजार ८३७ पुगेका थिए भने शेयर सदस्य सङ्ख्या ६५ लाख १५ हजार ४६० र शेयर पूँजी रु ७७ अर्ब २४ करोड रहेको छ । सहकारी क्षेत्रले ६८ हजार ४०० लाई प्रत्यक्षरुपमा रोजगारी दिएको छ । यस्तै गत फागुन मसान्तसम्म धितोपत्र बजार पूँजीकरण रु १७ खर्ब ६० अर्ब ९३ करोड रहेको छ । गत फागुन मसान्तसम्म कूल वस्तु निर्यात २२.३ प्रतिशतले वृद्धि भई रु ७४ अर्ब ९१ करोड पुगेको छ भने वस्तु आयात २.६ प्रतिशतले घटेर रु नौ खर्ब २४ अर्ब २४ करोड रहेको छ । यसअघि वस्तु व्यापार घाटा ४.३ प्रतिशतले सङ्कुचन भई रु आठ खर्ब ४९ अर्ब ३३ करोडमा सीमित भएको छ । आर्थिक वर्ष २०७५÷७६ को फागुन मसान्तसम्म रु ५८ अर्ब ९९ करोडले घाटामा रहेको शोधनान्तर स्थिति चालू आवको सोही अवधिमा रु ३७ अर्ब ८४ करोडले बचतमा छ । अघिल्लो फागुन मसान्तसम्म रु एक खर्ब ९१ अर्ब ४९ करोडले घाटामा रहेको चालू खाता चालू आवको सोही अवधिमा सुधार भई रु एक खर्ब २४ अर्ब ९३ करोडमा कायम छ । गत फागुन मसान्तसम्म कूल विदेशी विनिमय सञ्चिति २०७६ असारको रु १० खर्ब ३९ अर्बबाट बढेर रु ११ खर्ब ३६ अर्ब ५१ करोड पुगेको छ । यो सञ्चिति १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।
कर्मचारी सञ्चय कोषले अनलाइनबाटै दिन थाल्यो सापटी, कतिले पाए ? लिने कसरी ?
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई अनलाईनबाटै विशेष सापटी दिन शुरु गरेको छ । हालको असहज परिस्थितिमा सञ्चयकर्तालाई सजिलै तथा प्रभावकारी रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले कोषले मंगलबार(जेठ १३ गते) देखि उक्त कार्य शुरु गरेको हो । यससँगै कोषले मंगलबार मात्रै अनलाईन मार्फत दुई जना सञ्चयकर्तालाई विशेष सापटी वापतको रकम प्रदान गरेको छ । कोषले दार्चुलास्थिति र ललितपुरस्थित बैंकमा रहेको सम्बन्धित सञ्चयकर्ता खातामा रकम प्रदान गरेको कोषका प्रवक्ता ओमकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । यस्तै, यो सेवालाई निरन्तरता दिईने र सेवा लिनको लागि विशेष सापटी लिन योग्यता पुगेका, इन्डिभ्युजल केवाईसी अपडेट र अफिस केवाईसी अपडेट अनिवार्य भएको कोषले जनाएको छ । यसको लागि सबै सञ्चयकर्ताहरुले केवाईसी अपडेट गरी र कोषकट्टी गरी पठाउने सम्पूर्ण कार्यालयहरुको समेत अफिस केवाईसी अपडेट गराउन कोषले आग्रह गरेको छ । साथै, अनलाईन मार्फत विशेष सापटी लिने विस्तृत प्रक्रिया कोषेकाे वेवसाइटमा राखिएको कोषले जानकारी गराएको छ ।