विकासन्युज

बजेटमा उद्योगीको सुझावः आयकर छुटको सीमा ७ लाख बनाऊँ, भ्याटको दर १० प्रतिशतमा झार

काठमाडौं । उद्योगी व्यवसायीले सरकारलाई आयकरको सीमा बढाउन सुझाव दिएका छन् । आगामी आर्थिक वर्षको बजेटका लागि निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघले दिएको सुझावमा आयकरको सीमा व्यक्तिको सम्बन्धमा २ लाख र दम्पतीको हकमा साढे २ लाख बढाउन सुझाव दिएको हो । महासंघको उद्योग समितिका सभापति अन्जन श्रेष्ठले सरकारलाई दिएको सुझावमा आयकरको सीमा व्यक्तिको सम्बन्धमा वार्षिक ६ लाख र दम्पतिको हकमा वार्षिक ७ लाख रुपैयाँसम्मको कर छुटको सीमा कायम गरिनुपर्ने भनिएको छ । अहिले व्यक्तिको हकमा ४ लाख र दम्पतीको सम्बन्धमा ४ लाख ५० हजार रुपैयाँसम्म छुट हुने व्यवस्था छ । महासंघले पारिश्रमिक आय करको वर्तमान स्ल्यावलाई क्रमशः न्यूनिकरण गरी ५, १५, २५ प्रतिशत गरिनु पर्ने सुझाव पनि दिएको छ । अहिले १० प्रतिशत, २० प्रतिशत र सोभन्दा बढी हुने गरी स्ल्याभ निर्धारण गरिएको छ । व्यक्तिगत आय कर र कर्पाेरेट करको दर २० प्रतिशतले घटाइनु पर्ने महासंघको सुझाव छ । यस्तै प्रोप्राइटरसिप फर्मलाई छुुट्टै व्यवसायिक प्यान दिई आयमा लाग्ने ‘सरचार्जङ खारेज गर्नुु पर्ने पनि भनिएको छ । हाल रहेको कारोबारको आधारमा कर तिर्ने व्यवस्थालाई परिमार्जन गरी ५० लाख रुपैयाँसम्मको कारोबारमा ०.५० प्रतिशत कर र ५० लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्मको कारोबारमा ०.७५ प्रतिशत कारोबारमा आधारित कर लाग्ने व्यवस्था गरिनु पर्ने महासंघको सुझाव छ । करदाताले २०७० सालसम्मको बक्यौता रहेको करलाई व्याज, शुल्क, जरिवाना माफी गर्ने व्यवस्था गरिनु पर्ने पनि महासंघको सुझाव छ । महासंघले आन्तरिक राजस्व विभागबाट अनुमति लिएर चार वर्ष पछि पनि अडिट गर्ने हालको प्रक्रियालाई खारेज गर्नु पर्ने भनेको छ । कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारको निमित्त संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहलाई योगदान गरेको नगद र जिन्सी उक्त वर्षको करयोग्य आय गणना गर्दा खर्च कट्टी गर्न पाउने व्यवस्थालाई आर्थिक ऐनबाट सुनिश्चितता गर्नुपर्ने महासंघको भनाइ छ । यस्तो व्यवस्था आर्थिक ऐनमा नसमेट्दा विभिन्न समयमा आएको कर विवादका कारण महासंघले यस्तो धारणा बनाएको हो । हाल वस्तु निकासीबाट प्राप्त आयमा आय कर दर छुट हुने व्यवस्था सेवा व्यवसायको निकासीबाट भएको आयमा समेत आय करको दरमा छुट हुने व्यवस्था गर्नुपर्ने महासंघको भनाइ छ । यस्तै, औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५४ मा व्यवस्था भए अनुसार खुद नाफाको १ प्रतिशत रकम व्यवसायिक सामाजिक उत्तर दायित्वको लागि छुट्टयाउनु पर्ने रकमलाई आयकरमा खर्च कट्टी गर्न पाउने व्यवस्था गर्नुपर्ने भनिएको छ । करदाताले माग गरेमा समायोजन पछि बढी भएको आय कर ३० दिन भित्र फिर्ता दिनुपर्ने व्यवस्था गर्न पनि महासंघले भनेको छ । दुई वर्षभन्दा बढीको उधारो संकलन हुन नसकेमा कारोबारको २ प्रतिशतमा नबढ्नेगरी त्यस्ता ‘ब्याड डेब्ट’ रहेका रकमलाई करदाताले चाहेमा ‘राइटअफ’ गर्ने व्यवस्था गरिनु पर्ने पनि महासंघको भनाइ छ । महासंघले कुुनै उद्योग व्यवसायले आफ्नो उत्पादन क्षमता बृद्धि गर्न गरेको लगानीलाई ३ वर्षसम्ममा बराबर रुपमा खर्च लेख्न पाउने व्यवस्था हुनुपर्ने सुझाव सरकारलाई दिएको छ । यस्तै, उर्जा बचत तथा बैकल्पिक उर्जाको प्रयोग र वातावरण संरक्षणको लागि गरेको पुँजीगत लगानीे सोही आर्थिक वर्षमा खर्च लेख्न पाउनु पर्ने सुझाव दिइएको छ । निजी क्षेत्रले जरिवानाका दरहरु कसुरको आधारमा समानुपातिक बनाई घटाइनु पर्ने भनेको छ । हालको जरिवानाको ब्याजलाई १५ प्रतिशतबाट घटाएर १० प्रतिशत गरिनु पर्ने पनि उसको सुझाव छ । भ्याटको दर घटाउनु पर्ने कोरोनाको कारण प्रतिकुल प्रभाव परेको अर्थतन्त्रलाई चलायमान बनाउन मूल्य अभिबृद्धि कर (भ्याट) को दर १० प्रतिशत गर्नुु पर्ने भनेको छ । अहिले यस्तो दर १३ प्रतिशत छ । उपभोक्ताले तिर्ने भ्याटको दर कम गर्दा वस्तु तथा सेवाको मूल्य घटेर उपभोग बढ्ने व्यवसायीको तर्क छ । सरकारी निकायसँग गरिने निर्माण तथा मालवस्तु आपूर्तिको ठेक्कामा लाग्ने भ्याटको ५० प्रतिशत कर रकम कट्टा गर्ने व्यवस्था जोइण्ट भेन्चर प्रकृतिका ठेक्कामा मात्र लागू गरिनु पर्ने र सो रकम ७ दिनभित्र सम्बन्धित कर कार्यालयमा दाखिला गर्नुु पर्ने व्यवस्था मिलाउनु पर्ने पनि महासंघको सुझाव छ । इन्धन (डिजेल) को भ्याट क्रेडिट गर्न पाउने व्यवस्था गरिनु पर्ने, लगातारको लकडाउनका कारण बिक्री नभई कच्चा पदार्थ तथा तयारी मालवस्तुको डेट एक्सपायर हुने भएकोले सरल तरिकाले लगत कट्टा गर्न पाउनु पर्ने पनि महासंघको सुझाव छ । भ्याट माफी भएका वस्तुहरु उत्पादन गर्ने उद्योगले भ्याटमा ऐच्छिक रुपमा शुन्य दरमा दर्ता हुनसक्ने व्यवस्था गरिनु पर्ने महासंघको भनाइ छ । यस्तै, फुल अडिट नगरिकन पनि भ्याटको भेरिफिकेसन अडिटको आधारमा मात्र भ्याट क्रेडिट रकम फिर्ता गर्ने व्यवस्था हुनुपर्ने महासंघको भनाइ छ । भ्याट ऐन बमोजिम ४ वर्ष अगाडिको कारोबार परिक्षण वा कर निर्धारण गर्न प्रावधान नरहेको हुँदा कुनै पनि निकाय समक्ष सो अवधि भन्दा अगाडिको भ्याट सम्बन्धी कारोबार, बिल बिजक, प्रमाण पेश गर्ने र जिम्मेवारी करदाताको हुनुु नपर्ने भन्दै महासंघले यो विषय पनि बजेटले प्रष्ट पारिदिनुपर्ने भनेको छ । प्यान तथा भ्याट नम्बर सरकारले नै जारी गर्ने भएकोले ननफाइलर भएको अवस्थाको आधिकारिक जानकारी विभागको वेभसाइटमा सूचित नगरुन्जेलसम्म सोको जिम्मेवारी सरकारको हुनुपर्ने भनेको छ । त्यसैले कुनै दुई करदाताबीच भएको खरिद बिक्री निजहरुबीच भएको कारोबार, बिल बिजकहरु मान्य हुनु पर्ने सुझाव दिइएको छ । कारोबार भएको बेलामा क्रेता वा बिक्रेता नियमित नै रहेकोे खण्डमा पनि करदाताको लेखा परीक्षण हुँदा कुनै क्रेता, बिक्रेता टाटपल्टेको, व्यापार बन्द गरी विस्थापित भई सकेको वा मृत्यु भैसकेको, ननफाइलर वा कर बक्यौता रहेको अवस्था हुन सक्छ भन्दै महासंघले यस परिस्थितिमा करदातालाई सो क्रेता वा विक्रेताको पोर्टल क्लियर गर्ने दायित्व करदातामाथि राख्ने हालको व्यवस्था अव्यवहारिक तथा करदातामैत्री नभएकोलाई अविलम्ब खारेजीको साथै सोको कारणले रोकेको भ्याट फिर्ता रकम फिर्ता गर्ने व्यवस्था गर्नुुपर्ने भनेको छ । महासंघले ५० लाख रुपैयाँभन्दा बढी कारोबार हुने तर व्यवसाय कम देखिने कारोबारहरुलाई अनिवार्य रुपमा करको दायरामा ल्याउन प्रभावकारी कार्यान्वयन गर्नु पर्ने भनेको छ । यस्तै, चालुु आर्थिक वर्षमा भित्र इपेमेन्टबाट खरिदमा १० प्रतिशत भ्याट फिर्ता दिने व्यवस्था हालसम्म लागू नभएकोलाई तत्काल कार्यान्वयनमा ल्याइनुु पर्ने पनि भनेको छ । स्थानीय उद्योगहरुको प्रतिस्पर्धी क्षमता बढाउन र समान अवसर प्रदान गर्न भ्याट छुट दिनुुपर्ने संस्था, निकाय, प्रहरी, सेना, परियोजना आदिलाई छुट्टै सिरिजमा दर्ता गरी निजहरुले नै आन्तरिक राजस्व विभागबाट भ्याट फिर्ता दावी गर्ने तथा दिने व्यवस्था गर्नु पर्ने महासंघको भनाइ छ । भ्याट छुट दिनुुपर्ने संस्था, निकाय, प्रहरी, सेना, परियोजना आदिलाई भ्याटको छुट्टै सिरिजमा दर्ता गरी निजहरुले नै आन्तरिक राजस्व विभागबाट मूू.अ. कर फिर्ता दावी गर्ने तथा दिने व्यवस्था गर्नु पर्ने भनिएको छ । पर्यटकले खरिद गरेको सामानको भ्याट फिर्ताकोे व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने महासंघको सुझाव छ । भ्याट विवरण समयभित्र दाखिला नगरेको कारणले लाग्ने जरिवाना १ हजार प्रतिमहिनालाई घटाई एक सय रुपैयाँ गर्नु पर्ने साथै लगातार १२ महिना शुन्य कारोबारको विवरण दाखिला गर्दा भ्याट दर्ता स्वतः खारेज गर्नु पर्ने व्यवस्था भए पनि सो लागू हुन नसकेको कारणले तत्पश्चात कुनै जरिवाना लगाउन नहुने भनिएको छ । सुर्ती, मदिरा र गाडी बाहेकमा अन्तशुल्क घटाऊँ महासंघले स्वास्थ्यमा प्रत्यक्ष प्रतिकूल असर पार्ने सुर्ती तथा मदिराजन्य र सवारी साधन बाहेक अन्य सबै वस्तुहरुमा अन्तःशुल्कको दरलाई क्रमशः घटाउदै ३ वर्ष भित्र शुन्य गर्नुपर्ने सुझाव दिएको छ । सहायक कच्चा पदार्थ, प्याकेजिङ मेटेरियल जस्ता उत्पादित वस्तुसँग प्रत्यक्ष रुपमा जोडिने वस्तुमा तिरेको अन्तःशुल्क कट्टा गर्न पाउने व्यवस्था हुुनुपर्ने महासंघको सुझाव छ । कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ मेटेरियलमा तिरेको अन्तःशुल्क सोबाट उत्पादित वस्तु निर्यात हुँदाको अवस्थामा निर्यातित वस्तुमा अन्तःशुल्क लाग्ने वा नलाग्ने भए पनि भुक्तानी गरिएको अन्तःशुल्क फिर्ता हुनु पर्ने भनिएको छ । जरिवानाका दरहरु कसुरको आधारमा समानुपातिक बनाई घटाइनु पर्ने भन्दै महासंघले हालको जरिवानाको व्याजलाई १५ प्रतिशतबाट घटाएर १० प्रतिशत गरिनु पर्र्नेे भनेको छ । कर सम्बन्धी कानूनी व्यवस्था तथा न्याय प्रणाली सर्वोच्च अदालतबाट भएको फैसलालाई नजिर मानी लागू गर्नु पर्ने महासंघको सुझाव छ । प्रशासकीय पुनरावलोकनमा १० प्रतिशत धरौटी र राजस्व न्यायाधिकरणमा अतिरिक्त धरौटी बुझाउन नपर्ने व्यबस्था गर्नु पर्ने भन्दै महासंघले करदाताको पक्षमा फैसला भएमा फिर्ता पाउने रकममा व्याज समेत दिइनु पर्ने भनेको छ । अहिलेसम्म धरौतीमा व्याज दिने व्यवस्था छैन । कर सम्बन्धि विवाद छिटो र छरितो समाधान गर्न राजस्व न्यायाधिकरणबाट भएको फैसलामा करदाताले चित्त बुझाएको खण्डमा सोही फैसलालाई अन्तिम मानी अन्तिम कर निर्धारण गर्नुपर्ने महासंघको भनाइ छ । कर सम्बन्धी विवाद समाधान गर्न निजी क्षेत्रको प्रतिनिधि तथा स्वतन्त्र विज्ञको सहभागिता हुने गरी स्थायी प्रकृतिको स्वायत्त निकाय गठन गरिनु पर्ने महासंघले भनेको छ । अदालतमा रहेका राजस्व सम्बन्धी मुद्दा फिर्ता लिई कर तिर्न चाहेमा तिर्नु पर्ने कर रकमको २५ प्रतिशत छुट दिइ व्याज जरिवाना नलाग्ने व्यवस्था गर्नु पर्ने तथा ऐन बमोजिम तोकिएको सरश्रेस्ताहरु राख्नुपर्नेे अवधि समाप्त भए पश्चात कुनै पनि किसिमले वा कारणले त्यस्ता समाप्त भएका अवधिको प्रमाणहरु करदाताले कुनै पनि निकाय समक्ष पेश गर्नु नपर्ने व्यवस्था हुनु पर्ने बजेट सुझावमा उल्लेख गरिएको छ । केन्द्रीय राजस्व बोर्ड स्थापना गरौं महासंघले निजी क्षेत्रको सहभागिता हुने गरी केन्द्रीय राजस्व बोर्डको स्थापना गरिनु पर्ने सुझाव दोहोर्याएको छ । यस्तै, आय कर तथा भ्याट दर्ता खारेजी ऐनमा व्यवस्था भए अनुसार सरलिकृत तरिकाले दर्ता खारेजी गर्ने, कर विवरण बुझाए पश्चात दिइने कर चुक्ता प्रमाण पत्र करदाताले विद्युतीय माध्यमबाट स्वयं प्राप्त गर्न सक्ने व्यवस्था कार्यान्वयन हुनुपर्ने जस्ता सुझाव पनि सरकारलाई दिइएको छ । संघ, प्रदेश र स्थानीय तहले लगाउने करहरुको व्यवस्था स्पष्ट हुँदाहुदै दोहोरो, तेहोरो भएका करहरु (जस्तैः कर्पोरेटले तिर्ने घरबहाल कर, नेपालको संविधान २०७२ लागू हुनुभन्दा अगाडिको नक्सा पास) खारेज गरिनु पर्ने महासंघको भनाइ छ । यस्तै, भन्सार कार्यालयबाट २५ किमी दुरीसम्म भारतीय ट्रकलाई मालवस्तु ढुवानीको भुक्तानी गर्दा रिजर्भ भ्याट/टीडएएस नलाग्ने व्यवस्था गरिनु पर्ने भनिएको छ । महासंघले भ्याट, आय कर र अन्तःशुल्क बढी दाखिला भई नियमानुसार फिर्ता पाउनु पर्ने रकमहरुलाई करदाताले बैंक ग्यारेण्टी उपलब्ध गराएमा तुरुन्त फिर्ता दिने र त्यसको कर निर्धारण सम्बन्धित कर कार्यालयले ९० दिन भित्र गरिसक्नु पर्ने व्यवस्था मिलाउन पनि भनेको छ । यस्तै, सरकारद्वारा औद्योगिक व्यवसायको स्थापना तथा प्रवद्र्धनका लागि पूूर्वाधारको विकास सरकार कै तर्फबाट गर्ने भनी प्रतिवद्धता जनाइएको तर कार्य सम्पादन नभएको अवस्थामा निजी लगानीकर्ता स्वयंले आफ्नै लगानीमा त्यस्तो पूर्वाधारको विकास गरेमा आफुूले गरेकोे लगानी वापतको रकम आयकर छुटपछि बुुझाउनु पर्ने करबाट मिलान गर्ने व्यवस्था गर्नुपर्ने भनिएको छ ।

जीवन मरणको दोसांधमा साना तथा घरेलु उद्योग, पूनर्जीवनको लागि यस्ता छन् उपायहरु

अष्ट्रेलियाको सिड्नीमा मेरा मित्र विनोद प्रसाद मैनाली बस्छन् । उनको सिड्नीमा नै एडिज किचेन कम्पाईस नामको रेष्टुरेन्ट छ । छोटो अवधिमा राम्रो व्यवसाय गरे । कोभिड-१९ को आतंक पछि अष्ट्रेलिया सरकारले लडाउन घोषणा गर्दै सबै उद्योग व्यवसाय बन्द गर्‍यो । मैनालीको रेष्टुरेन्ट पनि बन्द भयो । राहत स्वरुप स्टेट सरकारले १० हजार डलर, केन्द्र सरकारले २० हजार डलर देखि १ लाख डलर सम्म नगद राहत दिने घोषणा गर्‍यो । बेरोजगार कर्मचारीलाई सरकारले १५ दिनको १ हजार देखि १५०० डलर सम्म निर्वाह भत्ता दिने भयो र घरभाडा सहमतिमा छुट दिन अनुरोध गर्‍यो । लकडाउन पछि व्यवसाय चलाउनको लागि बैंकिङ,कर छुट र अन्य सुविधा त अझै कति कति । व्यवसाय बन्द भए पनि उनी त्यति दुखि देखिएनन् । लकडाउन पछि नयाँ व्यवसायको संभावना हेरेर थप योजना बनाउँदै गरेको जानकारी दिए । काठमाडाैंमा बैंक, बीमा र व्यवसायिक अनुभव भएका दश बाह्र जना मिलेर पचास लाख लगाएर नयाँ सोच अनुसार हेरचार डट कम २ वर्षदेखि सुरेश सापकोटा जी ले चलाइरहेका थिए । पचास हजार घरभाडा, प्रत्यक्ष तेह्र र अप्रत्यक्ष पन्ध्र कर्मचारीको तलब भत्ता चार लाख र अन्य खर्च पचास हजार समेत मासिक पाँच लाख खर्च थियो । युटिलिटी सर्भिसको लागि कर्पोरेट सोच अनुसार तुरुन्त सेवा दिने स्टार्ट अप सेवा उद्योग क्रमशः काठमाडाैंमा जम्दै गइरहेको थियो । लकडाउन अगाडि मासिक ७/८ लाख आम्दानी भइरहेको थियो । ३० लाख खुद नोक्सान र १० लाख बजारमा उठाउन बाँकी भए पनि यो वर्षदेखि कम्पनीलाई नाफामा लैजाने गरी काम भइरहेको थियो । दुर्भाग्य भनौं लकडाउन संगै ब्यवसाय पूर्णत बन्द भयो । खर्च यथावत आम्दानी जिरो भयो । स्टार्टअप काम, सानो पूँजी र मासिक आम्दानीले खर्च धानिरहेको थियो । कम्पनी बन्द हुँदा राहतको नाममा सुको नपाए पछि लकडाउन खुलेपछि कसरी चलाउने, पूनः कहाँबाट पूँजी जोहो गर्ने चिन्ताजनक अवस्थामा सापकोटाजी पुगेका छन् । माथिको साना तथा घरेलु उद्योगको वर्तमानको दुइ यथार्थ चित्रण हो । अष्ट्रेलियामा सरकार सहयोगि बन्यो व्यवसायी विनोद मैनाली थप केही गर्ने उत्साहमा छन् । नेपालमा सरकारको कुनै सहयोग नपाएको अवस्थामा उद्योग व्यवसाय बन्द गर्ने सोचमा छन् । हेरचार डट कम का लगानीकर्ता कहि न कही संलग्न रहेकोले ५० लाख डुब्दा पनि बाच्न सक्छन तर तेही ठाउँमा आफ्नै स्वंपुँजी वा बैंक कर्जामा लिएर हेरचार डट कम चलाएको अन्य व्यक्ति हुँदो हो त सडकमा आउने अवस्था हुन्थ्यो । बांच्नको लागि वा जीवन निर्वाहको लागि सरकार सहयोगी नबनेको अवस्थामा सडकमा भिख माग्ने वा विद्रोही बन्ने बाहेक उसंग विकल्प हुँदैनथ्यो । नेपालमा २०७६ चैत्र ११ मा लकडाउन गरे पछि देशभरि सम्पुर्ण उद्योग व्यवसाय प्रायः बन्द अवस्थामा छन् । लकडाउन भएको ६० दिन नाघि सक्दा पनि केही टुङ्गो छैन । संक्रमितको संख्या दिनहुँ सयौंको संख्यामा बढ्न लागेको र खुला बोर्डर भएका र लाखौ नेपाली भारतबाट दैनीक रुपमा आए संगै भविश्य अझै भयावह हुने आंकलन गरिँदैछ । यस्तोमा अन्य क्षेत्र संगै घरेलु तथा साना उद्योगको अवस्था झनै दयनीय बन्दै छ । घरेलु तथा साना उद्योग व्यवसायलाई अर्थतन्त्रको मेरुदण्ड मानिन्छ । देशको उत्पादकत्व तथा राष्ट्रिय आय वृद्धिमा यसले महत्वपुर्ण भूमिका खेलेको हुन्छ । सिमित साधन स्रोतले घर कम्पाउन्डमा गरिने घरेलु उद्योग तथा एक करोड रूपैयाँसम्मको पूँजीमा गरिने साना उद्योग व्यवसायले रोजगारी वृद्धिमा ठुलै भर दिएका हुन्छन् । नेपालमा पछिल्लो तथ्यांङ्क अनुसार चार लाख अठार हजार जति घरेलु तथा साना उद्योग रहेका छन । यिनमा करिव ४ खर्ब १२ अर्ब जति लगानी लागेको छ । ५ लाख घर परिवार यसमा संलग्न रहेको अनुमान छ भने यी उद्योग व्यवसायले करिब १८ लाखलाई रोजगारी दिएको देखिन्छ । कुल ग्राहस्थ उत्पादनमा पनि यिनको योगदान महत्वपूर्ण रहेको छ । यति खेर लकडाउनको सबैभन्दा ठूलाे मारमा घरेलु तथा साना व्यवसायी परेका छन् । स्वपूँजी वा बैंक ऋणबाट संचालित लाखौको संख्याको यी उद्योग व्यवसाय पुर्ण बन्द छन् । मासिक कारोबारबाट सीमित आम्दानी गरी दशौं लाखलाई रोजगारी दिने उद्योग ठप्प हुँदा यिनको लगानी डुबी सकेको छ । उत्पादन तथा बिक्रि नहुँदा नगद प्रवाह हुन सकेन, बजारको बाँकी उठ्ने कुरै भएन अनि यी सबै सडकमा आइसकेका छन् । रोजगारी र अर्थतन्त्रको मेरुदण्ड भएको घरेलु तथा साना उद्योगलाई महामारीको प्रभावबाट बचाउन यिनलाई सरकारले पूनर्जीवन दिनु जरुरी छ । यसको लागि अष्ट्रेलिया, भारत, अमेरिका, व्रिटेन, जापान लगायतले साना व्यवसायीलाई नगद राहत घोषणा गरे सरह तथा नोवल पुरस्कार विजेता अभिजित बेनर्जिले भने जस्तो अर्थतन्त्र उकास्न नगद राहत दिनै पर्छ । यस तर्फ तत्काल सोच्नुको साथै निम्न कदमहरु चाल्नु आवश्यक देखिन्छ । घरेलु तथा साना उद्योगको लकडाउनको समस्या लकडाउनमा लामो समय उद्योग व्यवसाय बन्द हुँदा चालु पुँजी सकिसकेकोले पूनर्जीवन वा पूनर्सञ्चालनको लागि पुँजीको अभाव सबैभन्दा ठुलो समस्या देखिन्छ । कोरोना भाइरसको संक्रमणको त्रास र महामारीको संकटको बेला परिवारसंग बस्ने चाहनाले कामदार वा दक्ष जनशक्ति उद्योग क्षेत्र छाडेर आफ्नो थात थलो नेपाल वा नेपाल बाहिर गइसकेका छन् । दक्ष जनशक्तिको अभाव पनि ठुलै समस्या देखिन्छ । निर्यातजन्य उद्योग वा आन्तरिक खपतको उत्पादनको लागि बाहिर भारत लगायतको मूलुकबाट आउने कच्चा पदार्थको निर्यात र आपूर्तिको समस्या पनि ठुलै देखिन्छ । उत्पादित वस्तुको बिक्री वितरणको पहिलेको नेटवर्क भताभूंग भै सकेको छ । कतिपय मध्यस्थकर्ताहरु छैनन् पनि । त्यसैले कसै गरि वस्तु र सेवा उत्पादन गरे पनि विक्रि वितरणको सुनिश्चितता छैन । घरेलु तथा साना उद्योगहरुको पूनर्जीवनको लागि उपायहरु देशभरि ४ लाख ८० हजारको संख्यामा रहेका घरेलु तथा साना व्यवसायीहरु ठूलाे पीडामा छन् । दशौंलाख बेरोजगार भएका छन् । यिनलाई पूनर्स्थापना र पूनर्जीवन दिन तत्काल नगद राहत (स्टिमुलस पैकेज) उपलब्ध गराउनु पर्छ । यसको लागि निजहरुले २०७६ चैत्रसम्म ९ महिना तिरेको भ्याट बराबरको रकम उपलब्ध गराउन सकिन्छ । भ्याटलाई आधार मान्दा दुरुपयोग र वेइमानी हुने संभावना रहन्न । बैंक र वित्त कम्पनीहरुबाट तत्काल सरल तरिकाले ५ प्रतिशत व्याज दरमा थप पुँजी उपलब्ध गराउनु पर्ने देखिन्छ । नेपाल राष्ट्र बैंकले २ प्रतिशत व्याज दरमा पूनरकर्जा दिइ ३ प्रतिशत मार्जिन राखेर बैक वित्त कम्पनीले दिन गाह्रो हुँदैन । कति कर्जा दिने सन्दर्भमा भ्याटको मासिक बिक्रि खाता हेरी ६ महिना बराबरको रकम चालु पुँजी कर्जा दिँदा ओभर फाईनान्स वा जो पायो त्यसले कर्जा पाउँदैन । सही उद्यमीले पाउने ग्यारेन्टी हुन्छ । घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तु अन्य मूलुकबाट आयातित प्रकृतिको वस्तु भन्दा निश्चित रुपमा महंगो पर्छ । यिनलाई प्रोत्साहन र निरन्तरता दिन यस्ता उद्योगको उत्पादन १० देखि १५ प्रतिशत महंगो भए पनि सरकारी कार्यालय र स्थानीय निकायले खरिद गर्नै पर्ने व्यवस्था गर्नु पर्ने छ । सस्तो ब्याजदरमा चालु पूँजी कर्जा दिइ सकेपछि व्यवसाय संचालन त हुन्छ । तर तुरुन्त नगद प्रवाह हुन गाह्रो हुन्छ । त्यसैले पुरानो बैंक कर्जा छ भने बाँकी साँवा ब्याज जोडेर पुनरतालिकिकरण गर्ने र दुबै कर्जाको ब्याज तिर्न ६ महिनाको ग्रेस पिरियड र सांवा किस्ता तिर्न १ वर्षको ग्रेस पिरियड दिँदा राहत हुने देखिन्छ । घरेलु तथा साना उद्योगको लागि बाहिरबाट आउने र आवश्यक कच्चा पदार्थको सहज उपलब्ध गराउने तथा उत्पादित माल निश्चित गुणस्तर र मूल्य निर्धारण गरी खरिद गर्ने व्यवस्था को लागि घरेलु तथा शिल्प भण्डार केन्द्रको कार्यालय प्रत्येक स्थानिय निकायमा संचालन गर्ने यो संचालनको लागि एक पटक सरकारले लगानी गर्ने अथवा स्थानीय निकाय र स्थानीय व्यवसायीको पब्लिक प्राईभेट साझेदारीमा खोल्न लगाउनु पर्ने देखिन्छ । घरेलु तथा साना उद्योगको लागि आवश्यक जनशक्ति उत्पादन तथा तालिमको लागि सरकारी र गैर सरकारी क्षेत्रका दर्जनौ संस्थाहरु करोडौ बजेट लिएर क्रियाशिल छन । तिनको बजेट उद्देश्य मूलक तरिकाले सदुपयोग गर्ने । बजेट सिध्याउन झारो टार्ने गरि दिइने सिपमूलक तालिमलाई नियन्त्रण गर्ने र केन्द्रिकृत गरी योजनाबद्ध तरिकाले उद्देश्यमूलक तालिम दिँदा थोरै बजेटमा धेरै काम गर्न सकिन्छ । कोरोना संक्रमणको त्रासले र विभिन्न बेरोजगार भएका कारण दक्ष जनशक्ति देश फर्कि सकेका छन् वा फर्किने क्रममा छन । तीनको सीप अनुसार लगत राख्न सकिएमा उद्योग व्यवसायको दक्ष जनशक्तिको आवश्यकता पूर्ति गर्न पनि सकिने र रोजगारी अभिवृद्धि पनि हुने देखिन्छ । सरकारले नयाँ स्टार्टअप कम्पनीलाई ५ लाख देखि ५० लाख सम्म अनुदान दिने गरि नियमावली र ५ अर्बको बजेट विनियोजन गरी सक्यो र एक महिने प्रस्ताव आह्वान पनि गरि सक्यो । प्रस्ताव स्विकृतिको लागि योजना आयोगको सदस्यको अध्यक्षतामा सरकारी संयन्त्र पनि बनाई सक्यो । अव प्रश्न उठ्छ लकडाउनको कारण ५ लाख व्यवसायलाई बचाउने की दुइ चार सय नयाँ उद्योग व्यवसाय चाहे स्टार्टअप नै किन नहोस खोल्ने ? सहजै भन्न सकिन्छ अहिले संचालित उद्योगलाई बचाउने हो । नयाँ काम व्यवसाय गर्ने बेला होईन । त्यसैले यो ५ अर्ब बजेट आफ्ना कार्यकर्ता पोस्न तिर लाग्नु भन्दा पुरानो व्यवसाय बचाउन तिर लगाउँदा राहत र उपलब्धीमूलक हुन्छ । सरकारले उद्योग व्यवसाय, कृषि, व्यवसायीक तालिम जस्ता कुनै काम गर्दा पनि सरकारी कर्मचारीको संलग्नतामा मात्र समिति निर्माण गर्दछ । व्यवसाय वृद्धिको लागि व्यवसायीक सोच र अनुभव नभएका कर्मचारीबाट कार्यान्वयन हुनै सक्दैन । यो लेखक विरगंजमा महालक्ष्मी फाइनान्सको कार्यकारी प्रमुख हुँदा हेल्भेटास नेपाल संग मिलेर गरेको रोजगार मूलक सानो व्यवसाय र विरगंज नगरपालिका संग मिलेर गरेको गरिवी निवारण सम्बन्धी कार्यक्रम शत प्रतिशत सफल भएको थियो । त्यसैले कर्जा लगानी सम्बन्धि संयन्त्रमा स्थानीय निकाय, व्यवसायी र बैंक प्रतिनिधि राख्दा प्रभावकारी हुन्छ । तिलोत्तमा नगरपालिकाले कोरोनाको कारण रोजगारी गुमाएका १८ देखि ५० वर्ष सम्मको व्यक्तिलाई बीना धितो ४ लाख सम्मको कर्जा, तरकारी, फलफुल, पुष्प व्यवसाय,च्याउ, जडिबुटी, पशुपन्छी, माछापालन, नगदे बाली सम्बन्धी घरेलु उद्योगलाई पुरूषको लागि ४.५ प्रतिशत र महिलाको लागि ३.५ प्रतिशत व्याजमा ५ वर्षे कर्जा बैंक मार्फत दिने योजना ल्याएको छ । यसकाे लागि २ करोड नेपाल बैंकमा जम्मा नि गरि सक्यो । वालिङ नगरपालिकाले आफ्नो ग्यारेन्टिमा तरकारी र पशुपालनको लागि ५० हजार देखि ५ लाख सम्म विउ पूँजी दिने योजना ल्याएको छ । साच्चै भन्ने हो भने घरेलु तथा साना उद्योगलाई बचाउन तथा नयाँ व्यवसाय संचालन गर्न स्थानीय निकायलाई परिचालन गर्दा बढी प्रभावकारी हुने देखिन्छ । यो प्रकृयालाई हरेक स्थानिय निकायमा अभियानको रुपमा लैजानु पर्छ । स्थानीय साधन स्रोतमा आधारित घरेलु तथा साना उद्योग व्यवसायको लागि सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ६०० भन्दा बढी स्थानीय निकायमा २ अर्ब ३० करोड पठाउने भएको छ । यो रकमको वितरण तिलोत्तमा र वालिङ नगरपालिका जस्तै स्थानिय निकायको जमानिमा बैंक मार्फत परिचालन गर्ने व्यवस्था गर्नु पर्छ । सरकारले घरेलु तथा साना उद्योग र अन्य उद्योगलाई पनि प्रोत्साहन गर्न प्रत्येक स्थानिय निकायमा औद्योगिक ग्रामको निर्माण गरी विजुली,पानी र स्थानिय कर छुटको सुविधा दिने तथा प्रत्येक प्रदेशमा निर्यात प्रबर्द्धन गृहको संचालन गरेमा स्थानिय निकायमा उत्पादित निर्यात योग्य फलफुल, अर्गानिक तरकारी, हस्तकला सामाग्री, जडिबुटी लगायतले अन्तरिक तथा बिदेशी बजारको सुविधा पाउने संभावना रहन्छ। सरकारले देशको हावापानी, माटो र जनशक्ति अनुसार स्थानीय निकायलाई पकेट क्षेत्र घोषणा गरी त्यहाँ उत्पादन हुने वस्तु किटान गर्नु पर्छ र सोही बमोजिम आवश्यक सुविधा दिनु पर्छ । प्रदेश स्तरमा स्थानिय निकायहरू विच प्रतिस्पर्धा गराई रोजगारी बृद्धि र उत्पादन वृद्धि गर्ने, स्थानिय निकाय प्रमुखलाई प्रदेश स्तरमा पुरस्कृत गर्ने र ति निकायलाई बजेट बृद्धिको कार्यक्रम बनाउँदा तिनलाई प्राथमिकता दिंदा राम्रो उपलब्धी दिने संभावना रहन्छ। लकडाउन अवधिमा प्रायः सबै आर्थिक क्रियाकलाप ठप्प नै भएकोले घरेलु तथा साना उद्योगको नामको सबै किसिमको बीमाको अवधि तिन महिना थप गर्ने, विद्युत महशुल छुट दिने र चैत्र देखी आषाढ सम्म कारोबार शुन्यताको अवस्थालई हेरी आय कर लाग्ने भएमा २५ प्रतिशतमा १० प्रतिशत छुट दिइ १५ प्रतिशत मात्र लाग्ने सुविधा प्रदान गर्ने । यसरी देशभरि रहेका पाँच लाखको हाराहारीको घरेलु तथा साना उद्योगलाई पूनर्जीवन दिन उपरोक्त अनुसार तत्काल ठोस र प्रभावकारी कार्यक्रम संचालन गर्न जरुरी छ । लकडाउनले यिनको पूँजी टुटी सकेको छ । सडकमा आइसकेका छन् । जीवन निर्वाह गर्न पनि गाह्रो छ । यिनले राज्यबाट राहत र सहयोग पाएनन् भने आत्महत्या गर्ने स्थितिको श्रृजना हुने देखिन्छ । स्वपूँजी र बैंक वित्त कम्पनीको सानो कर्जामा संचालित व्यवसायले १८ लाख भन्दा बढीलाई रोजगारी दिएको छ । यदि यी व्यवसाय नचली बेरोजगार भएमा कि त मर्ने होइन भने विद्रोही बन्ने विकल्प मात्र बाँकी छ । हिजो यस्तै रोजगारी नपाएका गरिव निमूखा जनतालाई साथ लिएर १० वर्षसम्म माओवादीले विद्रोह गरेको बिर्सनु हुँदैन । माओबादीबाट छुट्टीएका केही नेताहरु यस्तै प्रतिकुल अवस्थाको पर्खाइमा रहेको स्थितिलाई गंभिरता पूर्वक लिनु पर्दछ ।

थप ९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७७२ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । देवकोटाले दिएको जानकारीअनुसार  महत्तरीका २, बारामा कार्यरत जुम्लाका२, बाराका ३, रौतहटका २२, सिरहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ जना कोरोना संक्रमित थपिएका हुन्। योसँगै संक्रमितको संख्या ७७२ पुगेको छ भने संक्रमण ४६ जिल्लामा पुगेको छ ।  मन्त्रालयका अनुसार संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयले १५५ जना स्वास्थ्योपचार पछि निको भएको पनि जनाएको छ ।

५५ जिल्लामा पुग्याे स्वास्थ्य बीमा, ५ सय ५ स्थानीय तहका पाैने २७ लाख बिमित लाभान्वित

काठमाडौं । ५५ जिल्लाको पाँच सय पाँच स्थानीय तहमा स्वास्थ्य बिमा विस्तार भएको छ । २०७६ को फागुनसम्ममा पाँच सय पाँच स्थानिय तहमा स्वास्थ्य बीमा विस्तार भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । चालु आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वक्षणलाई प्रस्तुत गर्दै खतिवडाले  २६ लाख ७७ हजार बिमित  स्वास्थ्य बिमाबाट लाभान्वित भएकाे बताए । यसमा २५ प्रतिशत गरिब रहेको र करिब ३ लाख जेष्ठ नागरिकले नि:शुल्क स्वास्थ्य बीमा प्राप्त गरेको उनले बताए ।

विद्यार्थी भर्नादरमा सुधार, लैंगिक समानता पनि कायम

काठमाडौं । शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको छ । विगत वर्षहरुको तुलनामा  भर्नादरमा सुधार आएको अर्थमन्त्री डा. युवराज खतिवडाल बताएका छन् । खतिवडाले आर्थिक वर्ष २०७६/७७ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै शैक्षिक सत्र २०७६ मा विद्यार्थी भर्ना दरमा सुधार आएको बताएका हुन् । उनले शैक्षिक सत्र २०७६/७७ मा प्राथमिक तहको खुद भर्नादर ९७ दशमलब १ प्रतिशत, आधारभुत तहको भर्नादर ९३ दशमलब ४ प्रतिशत र माध्यमिक तहको खुद भर्नादर ४७ दशमलब ६ प्रतिशत रहेको बताए । यस्तै, विद्यालय तहका शिक्षामा लैङ्गिक समानता हाँसिल भएको पनि उनले बताए ।

सरकारी जग्गा व्यक्तिको नाममा गराउन मालपोत प्रमुख नै सक्रिय, ९ जनाविरुद्द मुद्दा

काठमाडौं । मालपोत कार्यालय खोटाङका तत्कालीन मालपोत प्रमुख यदुनाथ दाहालले सरकारी जग्गा व्यक्तिको नाममा गरेको खुलेको छ । जिल्ला खोटाङ साविक दिक्तेल गाविस वडा नं. ६ को सरकारी जग्गा व्यक्ति विशेषको नाममा दर्ता गराई सो जग्गा व्यक्तिको नाममा गर्ने उनीसहित अन्य ८ जना विरुद्द अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनलाई चार लाख चौध हजार चार सय त्रिपन्न रुपैयाँ एघार पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी पाउन माददाबी लिइएको छ । उनले मालपोत कार्यालय खोटाङका कर्मचारी टेक बहादुर खड्कासमेतका नाममा कायम गरेको भन्ने व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा उनले भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन आएकोले उनी माथि कारबाहीका लागि आयोगले अदालतमा मुद्दा दायर गरेका बताएको हो । यस्तै, खोटाङको साविक दिक्तेल गाविस. वडा नं. ६ को कित्ता नम्बर १३७ र कित्ता नम्बर ८१५ को छुट जग्गा दर्ता समितिको सदस्यको रुपमा नापी प्रमुख सियाकान्त चौधरीले सरकारी र सार्वजनिक जग्गा बदनियतपूर्वक व्यक्तिविशेषको नाममा सिफारिस गरेकोले उनी विरुद्द पनि मुद्दा दायर भएको छ । उनलाई सरकारी सम्पत्ति हानिनोक्सानी हुने र व्यक्ति विशेषलाई फाइदा र्पुयाउने गरी निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ज) बमोजिमको कसुर गरेको देखिन आएकोले निज नापी प्रमुख सियाकान्त चौधरीलाई उक्त जग्गाहरुको तत्कालीन सरकारी मूल्याङ्कन अनुसार चार लाख उनान्नब्बे हजार दुई सय एक रुपैयाँ एघार पैसा बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम सजाय गरी पाउन माग दाबी लिइएको छ । मालपोत कार्यालय, खोटाङका तत्कालीन मालपोत अधिकृत कटक बहादुर खत्री, नायब सुब्बा भिम बहादुर खत्री, खरिदार टेक बहादुर खड्का, गजेन्द्र कुमार थापा, राम बहादुर थापा अमिन गणेश कुमार खिडहरी र नायब सुव्वा चन्द्र बहादुर कार्की विरुद्द अदालतमा मुद्दा दर्ता गराइएको हो । उनीहरु विरुद्द उनीहरुले गरेको गैर कानुनी कामको आधारमा हुन आउने रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीका लागि मुद्दा दायर गरिएको हो ।

बीमा क्षेत्रमा कर्मचारी टर्नओभरः लकडाउनले एउटा आकार दियो, तानातानको स्थिति हट्दै

काठमाडौं । लकडाउनकै कारण बीमा क्षेत्रमा कर्मचारीहरु एक कम्पनीबाट अर्को कम्पनी जाने (टर्नओभर) प्रकृयाको निकै हदसम्म अन्त्य गरेको छ । कम्पनीहरुले कर्मचारी कटौतिको प्रक्रिया सुरु गरेका कारण कर्मचारी टर्नओभर रोकिएको हो । बीमा समितिले लक डाउनको अवधिमा कर्मचारी टर्नओभरले आकार पाउँदै आएको जनाएको छ भने बीमा कम्पनीहरुका प्रमुुख कार्यकारी अधिकृतहरुले पहिले जस्तो तानातानको स्थिति नरहेको बताएका छन् । बीमा समितिका अध्यक्ष चिरञ्जीवि चाँपागाईका अनुुसार पछिल्लो समय लाईसेन्स पाएका बीमा कम्पनीहरुमा कर्मचारी आवश्यक भएकाले टर्नओभर धेरै चलेको थियो । ‘नयाँ बीमा कम्पनीहरुलाई लाइसेन्स दिएको १ देखि २ वर्षसम्म यो कर्मचारीहरुको टर्नओभर बढी थियो, अहिले त्यसमा कमी आएको छ, २०६० सालतिर बैकिङ् क्षेत्रमा पनि त्यस्तै माहोल चलेको थियो, पछि यो क्रम आफै कम हुदै जान्छ, लकडाउनमा कसले कसलाई नियुक्ति गर्ने भन्ने कुरा प्रथमिकतामा पर्दैन, अब टर्नओभरले आकार लिदैछ’, अध्यक्ष चापागाईँले विकासन्युजसँग भने । तत्कालका लागि लकडाउनले टर्नओभरमा असर पारेको तथा बीमा कम्पनीहरुले व्यवसाय सामान्य रुपमा संचालन गर्न नपाएको अवस्थामा कर्मचारीको माग नहुनु स्वभाविक रहेको अध्यक्ष चापागाईँको तर्क छ । सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याललका अनुुसार वित्तीय क्षेत्रमा राम्रो काम गर्ने व्यवसायिक व्यक्तिहरु एक कम्पनीबाट अर्काे कम्पनीमा जानु स्वभाविक हो । ‘अहिले टर्नओभर हुने कुरै भएन, सुरुमा नयाँ कम्पनीको सेटअपमा यो कुरा चलेको हो, पहिले एकतिर काम गर्दा–गर्दै अर्कौ कम्पनीमा कर्मचारी पुगेको पनि पाईन्थ्यो, अब त लकडाउनकै टुङ्गो छैन, यसले धेरै कुरामा असर पार्छ, त्यस्तै पछिल्लो समय सुस्ताउँदै गएको टर्नओभरको कुरामा त प्रभाव पार्ने नै भइहाल्यो’, सन नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत अर्यालले भने । ज्योति लाईफ ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीका अनुसार अहिले कोरोना महामारीले अवस्था केही अनिश्चित बनाएको छ र पहिलेदेखि आवद्ध रहेको संस्थामै दीर्घकालिन रुपमा काम गर्दा राम्रो हुन्छ । ‘अर्को कम्पनीमा आफ्नो भविष्य राम्रो हुन्छ भनेर कर्मचारीहरु जाने हो, अहिले त महामारी कहिलेसम्म चल्ने भन्ने केही थाहाँ छैन, यस्तो अनिश्चित बेलामा सबैले मिलेर काम गर्नु राम्रो हुन्छ, अर्को कम्पनीमा गएर माहोल बुझ्ने समय पनि होइन, कर्मचारी टर्नओभर लकडाउन अघिदेखि नै निकै हदसम्म कम हुन थालेको थियो’, ज्योति लाईफका प्रमुख कार्यकारी अधिकृत खत्रीले भने । लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नुरप्रकाश प्रधानले दिएको जानकारी अनुसार अहिले लकडाउनको समय भनेको कर्मचारी निकाल्ने राख्ने बेला होइन । ‘बीमा क्षेत्र व्यवसायमा पनि तानातान कर्मचारीमा पनि तानातानकै अवस्था रहेको क्षेत्र हो, अहिले लकडाउनको अवधिमा भने कर्मचारी खासै कसैले तान्नु पर्ने अवस्थामा छैन, लुम्बिनी जनरलकै कुरा गर्दा पनि हामीले खासै त्यस्तो सोच बनाएका छैनौँ’, प्रमुख कार्यकारी अधिकृत प्रधानले भने । अजोड इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीका अनुसार अहिलेको स्थितिमा काम गर्ने वातावरण बनाउँन नै केही कठिन छ भने यस्तो अवस्थामा कम्पनीहरु कर्मचारीहरु लिन कम्पनीहरु उत्साहित छैनन् । ‘लकडाउनमा त्यसै सबै जना घरमै छन्, टर्नओभर त पहिलेको तुलनामा बिस्तारै केही कम हुँदै थियो, तत्कालका लागि सबै घरमै रहनु पर्ने अवस्थामा कसले कसलाई लिनु र’, प्रमुख कार्यकारी अधिकृत खत्रीले भने ।

चालु आर्थिक वर्षमा भित्रियाे ५ खर्ब ९२ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म ५ खर्ब ९२ अर्ब ४२ करोड रूपैयाँ बराबरकाे रेमिट्यान्स भित्रिएकाे छ । संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले साे मात्राकाे रेमिट्यान्स भित्रिएकाे बताएका हुन् । आर्थिक वर्षमा १.८ प्रतिशतले वृद्धि भएकाे हाे । उक्त वृद्धिदर गतवर्षकाे तुलनामा न्यून रहेकाे छ । गतवर्ष साेही अवधिसम्म २३.४ प्रतिशतले रेमिट्यान्स बढेकाे उनले जानकारी दिए । त्यस्तै, चालु आर्थिक वर्षमा २.३ प्रतिशत आर्थिक वृद्धिदर भएको उनले जनाए ।