विकासन्युज

६ दिनदेखि स्वास्थ्यमन्त्री होम क्वारेन्टाइनमा

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल आफूले भेटेर आएको विरामीलाई कोरोना पुष्टि भएसँगै ६ दिनदेखि होम क्वारेन्टाइनमा रहेका छन् । मन्त्रालय स्रोतका अनुसार गत बिहिबारदेखि स्वास्थ्यमन्त्री ढकाल मन्त्रालय नआएको जनाएका छन् । मनमोहन कार्डियो भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत एक महिलालाई बुधबार भेट्न ढकाल अस्पताल पुगेका थिए । कोरोनाको आशंका गरी बिहीबार स्वाब संकलन गरेसँगै ढकाल क्वारेन्टाइनमा गएको मन्त्रालयका अधिकारीहरूले बताए । ति महिलाको शनिबार रिपोर्ट पोजेटिभ आएको थियो । त्यस अगाडि सरुवारोग महाशाखाका चिकित्सकलाई कोरोना पुष्टि भएसँगै पनि मन्त्री ढकालको पिसिआर परीक्षण गरिएको थियो । मन्त्री ढकालको मंगलबार स्वाब संकलन गरिएको छ । बेलुकासम्म रिपोर्ट आएपछि साेही आधारमा मन्त्रीको आगामी सेडुल तय हुने अधिकारीहरूले बताए ।  

जाजरकोट घटनाको छानविन गर्न पाँच सदस्यीय समिति गठन, के भन्छन् गृहमन्त्री थापा ?

काठमाडाैं । सरकारले जाजरकोट घटनाको छानविनका लागि पाँच सदस्यीय छानविन समिति गठन गरेको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले जाजरकोट र रुकुम पश्चिमबीचका केही युवाका बीचमा विवाहको विषयलाई लिएर भएको घटनाका सम्बन्धमा छानविनका लागि गृहमन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रहरी वरिष्ठ उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका अधिकृत, महान्यायाधिवक्ताको कार्यालयका अधिकृत र गृह मन्त्रालयका उपसचिव सदस्य रहने गरी समिति गठन गरिएको जानकारी दिए । समितिलाई एक महिनाभित्र प्रतिवेदन पेश गर्न अख्तियारी दिइएको छ । यही जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ बस्ने वीरबहादुर मल्लकी छोरी १७ वर्षीया सुष्मालाई भगाई ल्याउनका लागि जाजरकोट भेरी नगरपालिका-४ का मोहन विकका छोरा २१ वर्षीय नवराजसहितको १९ जनाको समूह स्थानीय सोती पुगेको अवस्थामा झगडा भएको थियो । मन्त्री थापाका अनुसार युवतीलाई भगाई लाने क्रममा केटी पक्ष र केटा पक्षका आफन्तबीच झैझगडा हुँदा केटी पक्षकाले केटा पक्षलाई भेरी नदीतर्फ लखेटेका थिए । जाजरकोट भेरी नगरपालिका-४ बस्ने केटा पक्षका २१ वर्षीय सुदीप खड्का सामान्य घाइते भएको र केटा पक्षकै पाँचजनालाई अस्थायी प्रहरी पोष्ट रावतगाउँ र सातजनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको मन्त्री थापाले जानकारी दिए । हालसम्म फेला परेका शव परीक्षणका लागि जाजरकोट अस्पतालमा राखिएको छ । मन्त्री थापाका अनुसार मृतक नवराज विकको शव जेठ १० गते जाजरकोटको भेरी नगरपालिका-४ स्थित भेरी नदीको बीचभागमा फेला परेको, रुकुम पश्चिम चौरजहारी-१ का लामिछाने बस्ने २० वर्षीय टीकाराम सुनारको शव जेठ ११ गते फेला परेको र जाजरकोट भेरी नगरपालिका-४ का १७ वर्षीय गणेश बुढाको शव फेला परेको छ । हालसम्म फेला नपरेकाको खोजी कार्य जारी रहेको छ । मन्त्री थापाका अनुसार भेरी नपा-११ का लोकेन्द्र सुनार, गोविन्द शाही र सञ्जु विकको खोजी कार्य जारी रहेको छ । बेपत्ताको खोजीका लागि आवश्यकतानुसार गोताखोरसमेत परिचालन गरिने उनको भनाइ छ । नवराज विकसहितको समूहमा गएको रुकुम पश्चिम चौरजहारी नगरपालिका-१ का गोपाल बुढाथोकीबीच बाटोबाटै फर्केको, घाइते सुदिप खड्काको मिसन अस्पताल चौरजहारीमा उपचार गरी ‘डिस्चार्ज’ भइसकेको गृहमन्त्रीले जानकारी दिए। केटा पक्षको सम्पर्कमा आएका सबै १२ जनालाई इलाका प्रहरी कार्यालय चौरजहारीबाट जिल्ला प्रहरी कार्यालय जाजरकोटमा बुझाई सामान्य सोधपुछपछि आफन्तको जिम्मा लगाइएको मन्त्री थापाले बताए । उनका अनुसार युवतीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल र स्वयं युवती सुष्मा, वडाध्यक्ष डम्बर मल्ल, प्रत्यक्ष घटनामा संलग्न भनिएका सन्तोष मल्ल, मोहन पुन मगर, रमेश मल्लासहित १२ जनालाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । सामाजिक सद्भाव, जातीय सद्भाव कायम राख्न, शान्ति सुरक्षाको अवस्थालाई मजबुत बनाइराख्न जिल्ला प्रशासन कार्यालय जाजरकोट र रुकुम पश्चिमबाट समन्वयात्मक ढङ्गले काम भइरहेको गृहमन्त्रीले जानकारी दिए । कानूनी राज्य स्थापना गर्न प्रतिबद्धः गृहमन्त्री गृहमन्त्री थापाको जानकारीमाथि चित्त नबुझेको भन्दै सांसदहरु अनिता देवकोटा, चक्रप्रसाद स्नेही, रामबहादुर कुँवर, प्रकाश पन्त, नरपति लुहार, विमला राई, भैरवसुन्दर श्रेष्ठलगायतले घटनाको छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका थिए । जफावमा गृहमन्त्री थापाले सरकार मुलुकमा कानूनी राज्य स्थापना गर्न प्रतिबद्ध रहेको बताए । उनले स्थानीयस्तरमा गैरसरकारी तहबाट बनाइएको भनिएको छानविन समितिको कुनै अर्थ नभएको स्पष्ट पार्दैै सरकारले सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताए । दोषीमाथि कारवाही गर्न सांसदको माग बैठकको शून्य समयमा सांसदहरुले जातीय विभेद उन्मूलन भइरहेको अवस्थामा दलित युवामाथि भएको ज्यादतिको छानविन गर्न र दोषीलाई कारवाही गर्न माग गरेका थिए । उनीहरुले संविधानले जातीय विभेद अन्त्य गरिसकेको अवस्थामा अहिले पनि दलितमाथि दुव्र्यवहार हुनु दुःखद भएको र दलितमाथि दुर्व्यवहार गर्नेलाई कानूनअनुसार कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । सांसद रामलखन चमारले जाजरकोटमा दलित भएको निहुँमा भएको कुटपटिपछि हत्या गरिएको घटनामा संलग्न सबैलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद विमला राई पौडेलले जाजरकोटको समूहिक हत्याकण्डको भत्र्सना गर्दै सरकारले घटनाको उचित छानविन गर्ने विश्वास गरे । सांसद सिंहबहादुर विकले छूवाछूतमुक्त घोषणा भइसकेको अवस्थामा दलितमाथि हुने दुर्व्यवहार अन्त्य गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराए । सांसद सुमित्रा विसीले २१औँ शताब्दीमा पनि दलितमाथि हुने दुव्र्यवहार र हत्याको घटनाले स्तब्ध भएको उल्लेख गर्दै जाजरकोट घटनाको छानविन गर्न माग गरे । रासस

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् । उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा सीमालगायत विभिन्न विषयमा छलफल हुने जनाइएकाे छ ।

भीमफेदी–कुलेखानी सुरुङमार्ग ४ वर्षमा पुरा गरिने

काठमाडौं । बागमती प्रदेश सरकारल भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने घोषणा गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा सो कुरा प्रस्तुत गरिएको हो । आज बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाँईले उक्त आयोजनाको डिपिआर तयार भैसकेको भन्दै आगामी ४ वर्षभित्र योजना सम्पन्न गरिसक्ने बताएका हुन । बागमती प्रदेश सरकारले प्रदेशको गौरबको योजनाको रुपमा रहेको भीमफेदी–कुलेखानी सुरुङमार्गलाई चार वर्ष भित्र पुरा गर्ने बताएको हो ।

सुसाइड नोट लेखेर बालकले गरे आत्महत्या

काठमाडौं । शङ्खरापुर नगरपालिकाको पटापमा एक बालकले सुसाइड नोट लेखेर आत्महत्या गरेका छन् । गोथे तामाङका छोरा १५ वर्षीय सुनबहादुरले एउटा कागजको पानामा ‘म छिट्टै स्वर्गमा जाँदैछु, मेरो नामको सम्पत्ति सबै ठूलो भेनालाई दिनू, आमाबुवाले पनि दाइलाई मात्र पैसा दिन्छन्’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरेको प्रहरीले जानकारी दिएको हो । आफ्नै घरमा आत्महत्या गरेका तामाङको शव सोमबार राति गुपचुपरूपमा जलाउन लाग्दा महानगरीय प्रहरी वृत्त बौद्ध र प्रहरी चौकी नाङ्लेभारेको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, “जलाउनै लाग्दा शव हामीले नियन्त्रणमा लिएर परीक्षणका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाएका छौं । घटनाको थप अनुसन्धान हुँदैछ ।” मृतक तामाङ उनका आफ्नै जेठो भिनाजुको स्काभेटरको सहयोगीका रूपमा काम गर्ने गरेका थिए । परिवारमा चार भाइ छोरामध्ये उनी कान्छो हुन् । आत्महत्या गर्नुअघि उनले सोही कोठाको पलङमा सुसाइड नोट राखेको भेटिएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान गर्दै गरेको प्रहरीले शव परीक्षणको रिपोर्ट आएपछि घटनाको थप विवरण प्राप्त हुने जानकारी दिएको छ । रासस

घरेलु लघुवित्तले रौतहटकाे परोहा नगरपालिकालाई दियाे आर्थिक सहयोग

काठमाडाैं । घरेलु लघुवित्त वित्तीय संस्थाकाे रौतहटस्थित लौकाहा शाखाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न परोहा नगरपालिकालाई आर्थिक सहयोग गरेकाे छ । उक्त शाखाले स्थानीय निकायकाे कोरोना भाइरस (काेभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँको आर्थिक सहयोग गरेकाे हाे । घरेलु लघुवित्तको लौकाहा शाखाका शाखा प्रबन्धक रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेख वकिलले उक्त चेक हस्तान्तरण गरेका हुन् । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखा परेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । यस संस्था संचालनमा आएको हाल सम्ममा देशको ११ जिल्लामा १३ वटा शाखा कार्यालयहरु स्थापना गरि ग्रामिण क्षेत्रका ६ हजार १ सय ५० भन्दा बढी विपन्न परिवारहरुमा २१ करोड १७ लाखभन्दा बढी कर्जा रकम लगानीमा र बचतमा ४ करोड ३६ लाख जम्मा भई वित्तीय पहुँच पुर्याउन सफलभ ई ती परिवारहरुसंग वचत तथा कर्जाको कारोवार संचालन गर्दै आईरहेको छ ।

प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि

काठमाडौं । प्रदेश नं १ को बजेट अधिवेशन बुधबारदेखि शुरु हुने भएको छ । अपराह्न २ बजेदेखि प्रारम्भ हुने अधिवेशनलाई व्यवस्थित बनाउन प्रदेशसभा सदस्यलाई दुई ठाउँमा बस्ने व्यवस्था मिलाइएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए । जिल्ला समन्वय समितिको कार्यालयमा सञ्चालन भइरहेको प्रदेशसभाको अधिवेशन विगतमा तल्लो तलाको सभामा सञ्चालन भइरहेको थियो । कोरोना भाइरसका कारण र सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले सोही भवनको माथिल्लो तलामा पनि सदस्यलाई बस्ने व्यवस्था मिलाइएको छ । अधिवेशन सञ्चालन हुनुअगाडि नै सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, कर्मचारी र सञ्चारकर्मीको स्वाब सङ्कलन भइसकेको सचिव पराजुलीले जानकारी दिए । रासस

भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ

काठमाडौं । देश लकडाउनमा गएको पनि २ महिना भइसक्यो । लकडाउन सुरु भएपछि सबै व्यापार तथा उद्योग कलकारखाना बन्द छन् । सरकार लकडाउन बढाउदै गइरहेको छ । दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेलका व्यापारीलाई आफूले सञ्चालन गरेको पसलको घरभाडा कसरी तिर्ने भन्ने चिन्दा बढ्दै गएको छ । घर धनीले व्यापारीहरुलाई फोन गरेर घरभाडा माग्न थालेका छन् । व्यापार व्यवसाय बन्द भएपछि घरधनीलाई कसरी घरभाडा तिर्ने भनेर व्यापारीहरुलाई रातमा निद्रा न दिनमा भोक  भएकाे छ । व्यापारीहरुको लागि कोरोनाभन्दा पनि ठूलो चिन्ता घरभाडाको छ । काठमाडौंको व्यापारिक केन्द्र दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड र ठमेललगायतका व्यापारीहरुको सगंठले धेरै पटक व्यापारीको समस्या सरकारलाई सुनाउने प्रयास गरे। तर सरकारले भने व्यापारीहरुको कुरा नै सुन्न नचाहेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । राजधानीको प्रमुख व्यापरिक क्षेत्र ठमेल, न्युरोड, दबारमार्ग, महाबैद्ध हो । अरुबेला उपत्यका र उपत्यका बहिरका व्यापारी आएर भरिभराउ हुने ठमेलमा दबारमार्ग, न्युरोड अहिले सुनसान छन् । नेपालभर नै सबै किसिमका व्यवसाय बन्द छन् । व्यापार व्यावसय बन्द हुदा अर्थतन्त्रमा असर परेको छ । काठमाडौं महानगरपलिकाले ७ अर्ब राजस्व उठाउने लक्ष्य लिएकोमा करिब साढे ३ अर्ब मात्रै संकलन गरेको छ । काठमाडौंको मुख्य व्यापारिक केन्द्रमा १० हजार सटरहरु व्यापारिक प्रयोजनमा प्रयोग भहिरहेको छ । लकडाउनको कारणले व्यापार नहुँदा महानगरले आफ्नो लक्ष्य अनुसार राजस्व उठाउन नसकेको हो । कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले लकडाउनको घोषणा गरेपछि ठमेल, न्युरोड, महाबैद्ध सुनसान बनेको हो । यसैगरी राजधानीको प्रमुख व्यापारिक क्षेत्र हो, दरबारमार्ग । दरबारमार्ग पनि उस्तै सुनसान छ । प्रहरीले सर्वसाधारणलाई घरबाहिर निस्कन कडाइ गर्नुका साथै पासबिनाका यातायातका साधन सञ्चालन नगर्न भनिरहेको छ । नेपाल राष्ट्रय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योग र व्यापारीको कुरा नै नसुनेको बताए । नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चम्बर अर्फ कर्मसको मात्रै सरकारले समस्या सुनिरहेको उनकाे आरोप छ । व्यापारिक केन्द्रहरुको प्रतिनिधिहरुलाई पनि राखेर एउटा समिति गठन गरेर सबैबीच छलफल गर्नु पर्ने कटुवाल बताउँछन् । ‘१० हजार सटरमा भैरहेको व्यापार अब कतिले छोडेर जाने छन्, बैंकमा लोन छ, घरभाडाका लागि घरधनीको फोन आइरहेको छ, पसलमा काम गर्ने कर्मचारीको तलबको विषय पनि त्यस्तै अवस्था छ, पसल वा गोदममा भएका समान चिसो लागेर बिग्रिएको र मुसाले सामान काटेर नष्ट भएको छ, चीनबाट सामान बोकेको ७ सय कन्टेनर बाटामा नै रोकिएर बसेका छन्, विविध कारणले व्यापारी समस्यामा परेका छन्,’ कटुवाले भने । काठमाडौं सटर भाडामा लगाएका घरधनीहरुले मसिक १५ देखि २० लाख भाडा उठाउने गरेका छन् । लकडाउनको भाडा छुट दिनु पर्यो भनेर सम्बन्धित निकायमा माग गरिरहे पनि नियामक निकायले नसुनेको कटुवालले बताए । काठमाडौं महानगरपालिका राजश्व विभागका नुरनिधि न्यौपानेले काठमाडौं महानागपालिकाले राजस्वाको लक्ष्य ७ अर्बको भए पनि ५१ प्रतिशत मात्रै संकलन भएको बताए । ‘८ महिनामा ५१ प्रतिशत मात्रै राजस्व उठेको छ, अरु समय पनि असारमा धेरै राजस्व उठ्ने गरेको थियो, तर लकडाउन कति समय हो भन्ने एकिन छैन्, ठूला व्यापारीहरुले असारमा नै राजस्वा तिर्ने भएकोले पनि कम राजस्व संकलन भएको छ,’ न्यौपानेले भने । किनमेल गर्नेको सधैं भीड रहने महाबौद्ध ठमेल लगायत क्षेत्र व्यस्त रहेने गरेको थियो । यहाँका धेरै व्यापारीहरुले चीनबाट सोझै आयात गर्ने गरेका थिए । काठमाडौं उपत्यकाका विभिन्न स्थानका साथै बाहिरी जिल्लाका खुद्रा बिक्रेताले हारालुछ गरेर खरिद सामान लाने गरेका थिए । भीड कहिल्यै नघट्ने दबारमार्ग, न्युरोड, ठमेल, महाबौद्धका लगायतका बजार यतिबेला सुनसान छन् । भीड नभएको देख्ता जोसुकैलाई अनौठो लाग्ने अवस्था छ । लत्ताकपडा, जुत्ता, मोबाइल र कम्प्युटर लगायतका विभिन्न वस्तुको प्रमुख बजारको रुपमा रहेको महाबौद्ध, असन, न्यूरोड र ठमेलमा लगायतका क्षेत्रमा हुने सामान बिक्री र छहलपहल शुन्य नै छ । धेरैजसो व्यस्त रहने काठमाडौंका व्यापारिक कम्प्लेक्स र व्यापारिक गल्लीहरु शून्य देखिएका छन् । न्यूरोडका कम्प्युटर व्यापारी प्रशान्त श्रेष्ठले अब बैंकको लोन, पसलको भाडा र कर्मचारीको तलबको नै ठूलो समस्या रहेको बताए । ‘घरधनीले घरभाडा चाहियो भनेर फोन गरिसकेका छन्, भाडा पनि महिनाको ४ लाख छ । व्यापार भएको भए केही समस्या हुने थिएन । बैंकको लोनको पनि कुन्दिन फोन आउछ भनेर चिन्ता लागिरहेकको छ’, श्रेष्ठले भने । कारोनासँगै घरभाडा कसरी तिर्ने भनेर चिन्ता भैरहेको उनले बताए । चिन्ताले दिनमा भोक न रातमा निन्द्रा भैसकेकाे  श्रेष्ठकाे भनाइ छ । त्यस्तै महाबौद्धमा कपडा र जुत्ता व्यापारी राम लामाको पनि चिन्ता त्यस्तै छ । ‘ल्याएर पसलमा राखेको सामान पनि बिग्रिले समय भहिसक्यो । लकडाउन कहिले खुल्छ भन्ने थाह छैन, घरभाडा तिर्न नै सबैभन्दा ठूलो समस्या रहेको छ । सरकालाई हामीले कर तिरिरहेका छौं । घर भाडा नै महिनाको ७ लाख छ । सरकारले पनि व्यापारीहरुलाई समस्या परेको बेला सहयोग गर्छ कि भन्ने आसा लागिरहेको छ’, लामाले भने । न्यूरोडका एक भाडा पसलेले नयाँ नम्बरबाट फोन आउदा मनै झसंग हुने गेरेको बताए । उद्यारो सामान झारेर लकडाउन हुनुभन्दा अगाडी बिक्री गरेको र बिक्रीबाट आएको पैसा घर बसेर सकिएको उनी बताउछन् । घरधनीदेखि साहूँले फोन गरेर पैसा मागिरहेका तर आफूसँग पैसा नभएकाे अब पसल नै बेच्ने सुरमा रहेकाे उनले सुनाए ।