विकासन्युज

होम क्वारेन्टाइनमा रहेकी गर्भवतीको मृत्यु

सप्तरी । होम क्वारेन्टाइनमा रहेकी सप्तरीको कञ्चनरुप–११ की २४ वर्षीया एक गर्भवतीको आज मृत्यु भएको छ । आइतबार राति अत्यधिक ज्वरो र श्वासप्रश्वासमा समस्या आएपछि स्वास्थ्य परीक्षणका लागि राजविराज ल्याउने तयारी गरिरहेका बेला बिहान मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । गर्भवती महिलालाई १००.२ डिग्री ज्वरो आएपछि गत बिहीबार राजविराजस्थित डा विनिता यादवको क्लिनिकमा उपचारका लागि लगिएको थियो । चिकित्सकले ५ दिनपछि पुनः परीक्षणका लागि बोलाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार महिलालाई पिसाबको सङ्क्रमण (युटीआइ) भएको भन्दै चिकित्सकले औषधि दिनुका साथै होम क्वारेन्टाइनमा रहन सल्लाह दिएका थिए । अठार साताकी गर्भवतीलाई १० दिनदेखि ज्वरो आएको थियो । कोरोना सङ्क्रमणसित मिल्ने लक्षण देखिएको र होम क्वारेन्टाइनमा रहेकीले मृतकको स्वाब लिने तयारी भइरहेको कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव डम्बर महतोले जानकारी दिए । मृतकको स्वाब सङ्कलनको रिपोर्ट नआउञ्जेल दाहसंस्कारका लागि प्रतिक्षा गर्न उपयुक्त हुने महतोले बताए । मृतकको साढे ५ वर्षका जुम्ल्याहा एक छोरा र एक छोरी छन् । रासस

२ सैनिकसहित थप ५ जनामा कोरोना पुष्टि

काठमाडौं । बारा जिल्लामा २ सैनिकसहित थप ५ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । मंगलबार बारा जिल्लाको पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका ३ जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका २ जना सैनिकमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै बारामा कूल संक्रमितको संख्या ४१ पुगेको छ । २ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने १ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । मंगलबार विहान सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म नेपालमा ६ सय ९९ जनामा काेराेना पुष्टि भइसकेकाे छ ।

५५ दिनयता कोरोनामुक्त बन्याे बागलुङ

बागलुङ । गत चैत २० मा दोस्रो कोरोना सङ्क्रमणको घटना पुष्टि भएयता बागलुङ जिल्ला कोरोनामुक्त बनेकाे छ । त्यसयता जिल्लामा नयाँ सङ्क्रमित भेटिएका छैनन् । त्यसअघि चैत १५ मा बागलुङ नगरपालिका-४ की १९ वर्षीया युवतीमा पहिलोपटक कोरोना देखिएको थियो । बेल्जियमबाट युवतीसँगै फर्किएकी सोही नगरपालिका-३ की ६५ वर्षीया महिला जिल्लाको दोस्रो सङ्क्रमित छन् । उनीहरु चैत ४ मा कतार एयरको विमानबाट दोहा हुँदै काठमाडौं आएका थिए । युवती नेपालको पाँचौ र महिला छैटौँ सङ्क्रमित छन् । कोरोनालाई जितेपछि दुवै सामान्य जीवनमा फर्किसकेका छन् । धवलागिरि अस्पतालबाट स्वास्थ्यलाभ गरी घर फर्केको पनि महिना दिन बितिसक्यो । चैत १० मा काठमाडौँकी १९ वर्षीया युवतीमा कोरोना देखिएपछि ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा जिल्लाका दुई जनामा सङ्क्रमण पुष्टि भएको थियो । काठमाडौँकी युवती पनि फ्रान्सबाट दोहा हुँदै कतार एयरको विमानमार्फत नेपाल आउनुभएको थियो । नेपालमा कोरोना प्रवेशको शुरुआती चरणमै बागलुङका दुई व्यक्तिमा सङ्क्रमण फेला परेपछि जनसाधारणमा एकाएक त्रास छाएको थियो । घर आएको ११ दिनपछि युवतीमा र १६ दिनपछि महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सो अवधिमा सङ्क्रमितले परिवारका सदस्य, बसोबास क्षेत्र र भौतिक सम्पर्कमा आएका व्यक्तिमा भाइरस सारेको हुनसक्ने भयले धेरैलाई सताएको थियो । सौभाग्य नै मान्नुपर्छ दुवै जनाबाट अर्को व्यक्ति सङ्क्रमित भएको पाइएन । तत्कालै ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी कोरोना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आयो । घरकै सदस्य र भौतिक सम्पर्कमा आएका व्यक्तिमा कोरोना नदेखिएपछि जिल्लावासीमा उत्पन्न डरको ताप घट्यो । स्थानीय अधिकारी, जनस्वास्थ्यकर्मी र चिकित्सक समुदायमा सङ्क्रमण नसरेको निष्कर्षमा पुगे । झण्डै दुई महिना बित्न लाग्दासम्म नयाँ सङ्क्रमण नभेटिनुलाई स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले समुदायमा भाइरस नफैलिएको रुपमा अथ्र्याए । ‘पहिले भेटिएका सङ्क्रमितबाट कुनै जोखिम आइलागेन’, उनले भने, ‘भारतलगायत बाहिरी ठाउँबाट जिल्ला भित्रने क्रम शुरु भएकाले अब जोखिम थपिँदैछ ।’ उनले नेपाल कोरोनामुक्त नभएसम्म जिल्लामा सङ्क्रमणको जोखिम सधैँ रहिरहने बताए । प्रमुख गुरौले पछिल्ला दिनमा सयौँको सङ्ख्यामा मानिसहरु भारतबाट जिल्ला फर्केकाले सङ्क्रमण फेरि देखिन सक्ने सम्भावना औँल्याए । ‘स्थानीय समुदायमा कोरोना नभए पनि बाहिरबाट आउनेबाट सङ्क्रमणको खतरा छ’, उनले भने, ‘क्वारेन्टिन व्यवस्थापन र बढीभन्दा बढीमा कोरोना जाँच गर्नुबाहेक हामीसँग अरु विकल्प छैन ।’ स्वास्थ्य कार्यालयका अनुसार भारतबाट आएका करिब ३०० अहिले क्वोन्टिनमा छन् । धवलागिरि अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले पनि भारतलगायत सङ्क्रमित क्षेत्रबाट आएका व्यक्तिबाट सङ्क्रमणको जोखिम रहेको उल्लेख गरे । उनले लामो समयसम्म नयाँ सङ्क्रमण नभेटिनुलाई सुखद् मान्नुपर्ने बताए । दुई सङ्क्रमितलाई निको बनाएको अस्पतालले शङ्कास्पद बिरामीलाई पनि आइसोलेसनमा राखेर उपचार गर्ने गरेको छ । ‘ज्वरोका बिरामीलाई विशेष निगरानी गर्छौँ, शङ्कास्पद देखिएमा कोरोना जाँच हुन्छ’, प्रमुख चिकित्सक पोखरेलले भने । अहिले अस्पतालको आइसोलेसनकक्षमा कोही पनि बिरामी छैनन् । नयाँ सङ्क्रमित फेला नपरे पनि ढुक्क भएर बस्ने स्थिति नरहेको प्रमुख चिकित्सक पोखरेलको भनाइ छ । ‘सम्भावित जुनसुकै अवस्थाका लागि हामी तयारी अवस्थामा बस्नुपर्छ’, उनले भने । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला कमाण्ड पोष्टका संयोजक गौलोचन सैँजूले भारतबाट आउने नागरिकलाई व्यवस्थित क्वारेन्टिनमा राख्नु नै अहिलेको मुख्य जिम्वेवारी रहेको बताए । ‘उहाँहरुलाई क्वारेन्टिनमा राख्ने र पिसीआर विधिबाट कारोना जाँचका लागि हाम्रो पहल अघि बढेको छ’, उनले भने । प्रजिअ सैँजूका अनुसार क्वारेन्टिन व्यवस्थापनमा स्थानीय तहसँग समन्वय गरेर काम भइरहेको छ । भारतलगायतका ठाउँबाट एकैसाथ ठूलो सङ्ख्यामा सर्वसाधारण भित्रिँदा क्वारेन्टिनमा श्यया थप्नु र गुणस्तर कायम राख्नु चुनौतीपूर्ण बनेको उनको भनाइ छ । जिल्ला कमाण्ड पोष्टले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि सबै पक्षसँग समन्वय र सहकार्यमा काम गरिरहेको छ । कन्ट्याक्ट ट्रेसिङ, उच्च निगरानी र सावधानी, बन्दाबन्दीको पालनाजस्ता कारणले कोरोना नियन्त्रणमा सघाएको कमाण्ड पोष्टको बुझाइ छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका एक हजार २७१ जनामा दु्रत जाँच र ३०८ जनामा पिसीआर विधिबाट कोरोना जाँच गरिएको छ । जसमध्ये १८ जनाको रिपोर्ट आउन बाँकी छ । सोमबार पनि पत्रकारलगायत थप शङ्कास्पद व्यक्तिमा कोरोना जाँचका लागि स्वाब लिइएको छ । जिल्लामा सङ्कलित स्वाबको नमूना परीक्षण पोखरास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । रासस

लकडाउन भरिको घरभाडा छुट गराउन माग

फिदिम । पाँचथरमा व्यवसायीले बन्दाबन्दीका समयको घरभाडा छुट गराउन माग गरेका छन् । यहाँका १४० व्यवसायीले सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीका कारण आर्थिक सङ्कटमा परेको भन्दै व्यवसायको घरभाडा छुटको प्रबन्ध मिलाउन माग गरेका हुन् । उनीहरुले पाँचथर उद्योग वाणिज्य सङ्घ, फिदिम नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै बन्दाबन्दीले व्यवसायी व्यवसाय बन्द गर्ने अवस्थामा पुगेकाले उक्त अवधिको भाडा छुट गराउन माग गरेका हुन् । बन्दाबन्दीको दुई महिना पूरा हुँदा घरधनीले भाडा माग्ने र नदिए व्यवसाय बन्द गर्न दबाब दिएको उनीहरुको गुनासो छ । विशेषत साना तथा मझौला व्यवसायी बन्दाबन्दीको चपेटामा परेकाले बन्दाबन्दीका समयको भाडा छुट गराउन माग गरिएको व्यवसायी सुनिता केरुङले बताए । ‘व्यवसायी लकडाउन भन्न पाउनुभएको छैन । घरभाडा नबुझाइ नहुने, बैङ्कको किस्ता पनि तिर्नै पर्ने अवस्था आएको छ’, केरुङले भने, ‘धेरै व्यवसायी पलायन हुने स्थितिमा पुगेकाले भाडा मात्रै भए पनि छुट गराउन माग गरेका हौँ ।’ कतिपय व्यवसायीलाई जीवन निर्वाहमा समस्या सिर्जना हुन थालेको तथा बैंक तथा वित्तीय संस्थाको ऋण र किस्ता बुझाउन असमर्थ हुँदा व्यवसाय छोड्नुपर्ने स्थिति आएको व्यवसायी लक्ष्मण लावतीको भनाइ छ । व्यवसायीहरुको ज्ञापनपत्र बुझ्दै फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङले व्यवसायीलाई परेको समस्याबारे आफूहरु जानकार रहे पनि सङ्घीय सरकारबाट स्पष्ट नीति नबन्दासम्म स्थानीयस्तरमा ठोस काम गर्न कठिन परेको बताए । उनले नगरपालिकाभित्र बन्दाबन्दीका समयको भाडा छुट गराउन आफूले पहल गर्ने बताए । पाँचथर उद्योग वाणिज्य सङ्घका महासचिव नवराज घिमिरे बन्दाबन्दीको प्रभावले कतिपय व्यवसायीले नै व्यवसाय बन्द गरेको बताउँछन् । “घर भाडा, बैंकको ऋण र दैनिकी सञ्चालनमा समस्या पर्दा कतिपयले व्यवसाय नै बन्द गर्नुभएको छ”, घिमिरेले भने। पाँचथर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक नेपाल व्यवसायीलाई कर, ब्याजदर र भाडा छुट अत्यावश्यक रहेको बताउँछन् । यहाँका व्यवसायीका गुनासा उद्योग वाणिज्य सङ्घका प्रदेश तथा केन्द्रीय समितिमा समेत राखिएको बताउँदै अध्यक्ष नेपालले सङ्घीय सरकारले स्पष्ट नीति बनाइ व्यवसायीलाई सहयोग गर्नुपर्ने बताए । बन्दाबन्दीका समयको घरभाडा छुट गराउँदा घरधनीलाई घरबहाल करको दायरामा ल्याउने अवसरसमेत रहेको नेपालको भनाइ छ । ‘अहिलेसम्म व्यवसायीले नै घरधनीको घरबहाल करसमेत तिर्नुपर्ने अवस्था थियो । अब घरधनीलाई घरबहाल करको दायरामा ल्याउन भाडा छुटका लागि कुनै मापदण्ड बनाउनैपर्छ’, उनले भने । यहाँ धेरै साना तथा मझौला व्यवसायी लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्थामा छन् । धेरैले आफूकहाँ रहेको सामग्री बिक्री गरिसकेका छन् र व्यवसायको चालू पूँजीसमेत दैनिकी चलाउन खर्च गरिसकेका छन् । ‘भाडा छुट दिएर मात्रै पनि पुग्दैन । लकडाउन खुल्नेबित्तिकै व्यवसाय सञ्चालनमा आउँदैनन्’, अध्यक्ष नेपालले भने, ‘सामान बिक्री भइसक्यो, सङ्कलित रकमसमेत दैनिकीमा खर्च भयो । अब सरकारले चालू पूँजी सस्तो ब्याजदरमा उपलब्ध गराउनुपर्छ ।’ पाँचथरमा पाँचथर उद्योग वाणिज्य सङ्घ तथा सरकारी निकायमा दर्ता भएका झण्डै तीन हजार व्यवसायी छन् । अनुगमनमा निस्केका हबल्दारको ट्रकको ठक्करबाट मृत्यु इलाम-पाँचथर सीमावर्ती राँकेबजारमा बन्दाबन्दीको अनुगमनमा निस्केका एक प्रहरी हवल्दारको ट्रकको ठक्करबाट ज्यान गएको छ । सवारी आवागमनको अनुगमनका लागि सादा पोशाकमा खटाइएका प्रहरी हबल्दार नवीन बस्नेतको सोमबार भएको दुर्घटनामा मृत्यु भएको हो । लकडाउनको प्रभावकारी कार्यान्वयनका लागि सीमा क्षेत्रमा भइरहेको सवारी आवागमनको अनुगमन गर्न प्रहरी चौकी राँकेबाट बस्नेतलाई खटाइएको थियो । उनी एक स्थानीयवासीको मोटरसाइकल लिएर इलामतर्फ गइरहेका थिए । राँकेबजारको चामु होटल छेउमा बस्नेत सवार मे११प ४६६ नंको मोटरसाइकल र झापाको विर्तामोडबाट फिदिम आइरहेको मे१ख १८६३ नंको ट्रक ठोक्किँदा बस्नेत गम्भीर घाइते भइ ढलेका थिए । उपचारका लागि जिल्ला अस्पताल इलाम पु¥याउँदा उनलाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रोमनराज अर्यालले जानकारी दिनुभयो । प्रहरी हबल्दार बस्नेत चिलिङ्दिन प्रहरी चौकी राँकेमा कार्यरत थिए । दुर्घटनामा ठक्कर दिने ट्रकका चालक कमल सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । झापाको अर्जुनधारा घर भएका बस्नेत केही महिनादेखि उक्त चौकीमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । रासस

कोरोना महामारीभन्दा पनि भोकको चिन्ता

घोडाघोडी । कैलालीको बर्दगोरिया गाउँपालिकामा–२ मुढामा रहेका बादी समुदायका महिलाले कोरोनाको महामारीमा पनि कोरोनाभन्दा भोकले मर्नुपर्ने अवस्था आएको बताएका छन् । “हामीसँग कुनै काम छैन, पहिलाजस्तो देह व्यापार पनि सबैले गर्दैनन्, गाउँपालिकाले दिएको १५ किलो चामल सकिएको धेरै भयो, हामी भोकले मर्नुपर्ने अवस्थामा आइसकेका छौं”, बादी समुदायमा बस्दै आएकी यमुना बादीले भने, “हामीले हाम्रा लागि सरकार छ भनेर कसरी सोच्ने १५ किलो चामल, अलिकति दाल, नुन दिएर गएको हाम्रो स्थानीय सरकार फेरि हाम्रो अवस्था बुझ्न कहिले आएन ।” उनीहरुका अनुसार गाउँमा भएका युवा पनि कमाउनका लागि भारत गएका उतै रोकिएका छन् । यहाँ केटाकेटी र महिला छन् । एक बादी महिलाले भनिन्, पुरानो पेशा परिवर्तन गर्न निकै सङ्घर्ष गरेर टोलमै सानो चिया पसल चलाउँदै आएको थिएँ, तर अहिले त्यो पनि बन्द भयो । लामो समय बन्दाबन्दी भएका कारण आउने बाटो कहीँकतै भएन, भएको खाद्यान्न खाइसक्याैं अब भोकै बस्नुपर्ने अवस्था छ । लामो समयको सङ्घर्ष र चेतनापछि हाम्रो समुदायका केही मानिसमा पहिले–पहिले गरिआएको देहव्यापार सही नभएको र विकल्पमा अर्को कुनै श्रमलाई मुख्य पेशाका रूपमा अङगाल्नुपर्ने सोचको विकास भएको थियो । तर अहिलेको यो विषम परिस्थितिले यस्तो अवस्था सिर्जना गरिदियो कि भोकभन्दा अर्को ठूलो कुनै सङ्कट छैन । हामीलाई राज्यले कि काम दिन कि माम दिन पर्याे होइन भने हाम्रो पुरानो पेशालाई सञ्चालन गर्न दिनपर्यो भन्ने आवाज समुदायमा उठ्न थालेको सुनिता बादीले बताइन् । “हामीलाई अहिले विश्वभर फैलिएको कोरोनाको भन्दा बढी चिन्ता भोकको छ । हाम्रा केटाकेटीले पेटभरि खान पाउँदैनन्, हामी कयौं दिन भोकै सुतेका छौं ।” यस्तोमा हामीलाई सरकारले हेर्दैन भने कसले हेर्छ ? भनेर सरकारलाई प्रश्न गर्छिन् सितला बादी । “सबैले कोरोना रोगले मर्छन् भन्थे । यहाँ त खाना खान नपाएर भोकले मरिएलाजस्तो हुन थालिसक्यो”, सितलाले भने, “थोरै भएको अन्न दिन बिराएर खाऊ भने पनि दुई दिनलाई छैन विजचार गरौं भोकै कति दिन बाँच्न सकिन्छ ।” आफूहरू रोगभन्दा भोकको शोकले पिरोलिएको सितलाको गुनासो छ । बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम चौधरी गाउँपालिकाको तर्फबाट बादी समुदायले पहिलो चरणको राहत पाइसकेको बताए । बन्दाबन्दी लम्बिँदै गएका कारण अन्न सकिएको पनि होला तर फेरि दोस्रो चरणको राहत वितरणका क्रममा बादी समुदायमा पनि बुझ्ने र आवश्यक परे राहत प्रदान गर्ने अध्यक्ष चौधरी बताए । गाउँपालिकामा कोही जनता भोकै नरहुन् भन्ने सोचका साथ आफूहरू लागिपरेको चौधरी जानकारी दिए ।

स्वास्थ्य मन्त्रालय: २ महिनामा २० वटा ल्याब सञ्चालनमा ल्यायौं, दैनिक ४ हजार परीक्षण गर्नसक्ने भयौं

काठमाडौं । नेपालका लकडाउन भएको दुई महिना बितेको छ । नेपालमा दोस्रो कोरोना संक्रमित देखिएको भोलिपल्ट चैत ११ गतेदेखि नै सरकारले देशव्यापी लकडाउन घोषण गरेको थियो । फ्रान्सबाट आएकी १९ वर्षीय महिलामा कोरोना भाईरस पुष्टि भएसँगै सरकारले लकडाउन घोषण गरेको हो । नेपालमा पहिलो संक्रमण पुष्टि भएको ५८ दिनपछि मात्र दोस्रो संक्रमण पुष्टी भएको थियो । सरकारले कोरोना भाईरस संक्रमण रोक्नको लागि पहिलो रणनीतिको रुपमा लकडाउन लागू गरेको थियो । लकडाउन गर्नुको सबैभन्दा मुख्य योजना मानिसहरुको आवतजावत रोक्नु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्यविज्ञ डा. खेम कार्की बताउँछन् । सरकार यसमा सफल भएको पनि उनी दाबी गर्छन् । त्यसपछि सरकारले दोस्रो रणनीतिको रुपमा ट्रयाकिङ ल्याएको थियो । यसको लागि सरकारले विदेशबाट आएका व्यक्तिहरुलाई मोबाईल एप्स मार्फत पत्ता लगाउने काम गरेको कार्की बताउँछन् । यसमा स्थानीय सरकारले पनि गाउँमा आएका मानिसहरुको सूचना संकलन गरी सहयोग पुर्याएको उनले बताए । संक्रमित देशबाट आएका सम्भावित संक्रमित, लक्ष्य देखाएका मानिसहरुलाई सरकारले त्यसपछि क्वारेन्टिनमा राख्ने व्यवस्था गर्यो । सुरुमा सीमित मात्रामा भएको क्वारेन्टिन बेड संख्या हाल ६१ हजार २ सय ४५ रहेको छ । २० वटा कोरोना परीक्षण ल्याब सुरुमा फाट्टफुट्ट कोरोना संक्रमित देखिँदा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र कोरोना परीक्षण हुन्थ्यो । स्वास्थ्य मन्त्रालयले छिट्टै पाँचै प्रदेशमा कोरोना परीक्षण ल्याब बनाउने निर्णय गर्दा आफूहरुलाई पनि त्यो असम्भव लागेको डा. कार्की बताउँछन् । ‘सुरुमा सबै प्रदेशमा ल्याब बनाउने कुरा हामी आफैंलाई पनि असम्भव जस्तो लागेको थियो तर अहिले हामीसँग देशभर पिसीआर प्रविधिबाट परीक्षण गर्ने २० वटा ल्याब छन् । करिब एक महिनाको अवधिमा हामीले २० वटा ल्याब बनाउन सकेका छौं,’ उनले भने । पीसीआर परीक्षण विधि आफैमा निकै गाह्रो रहेकोले पनि परीक्षण ल्याबहरु संचालनमा ल्याउन असम्भव ठानिएको कार्कीले बताए । तर सबैको साथ सहयोगले आफूहरु २० वटा ल्याब बनाउन सक्षम भएको कार्की बताउँछन् । परीक्षण दायर विस्तार पहिलो कोरोना संक्रमण देखिएको ३ महिनासम्म पनि नेपालमा दैनिक रुपमा बढिमा १० देखि १५ वटा परीक्षण हुने गर्थे । तर अहिले दैनिक ४ हजारसम्मको परीक्षण हुने गरेको छ । सुरुमा किट र ल्याबको कमी कारण परीक्षण एक दमै न्युन हुन्थ्यो । तर, अहिले परीक्षण ल्याब र किट पर्याप्त रुपमा उपल्ब्ध भएसँगै परीक्षणको दायर विस्तार भएको डा. कार्की बताउँछन् । २८ वटा कोभिड अस्पताल गएको ४ महिनाको अवधिमा सरकारले २८ वटा कोभिड-१९ का बिरामी मात्र उपचार गराउने अस्पताल बनाएको छ । पहिला टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा मात्र कोरोना संक्रमितको उपचार हुने गर्थ्याे तर विस्तारै सरकारले उपत्यकामा पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताललाई पनि कोभिड १९ अस्पतालको रुपमा सचालनमा ल्यायो । यस्तै उपत्यका बाहिर पनि कोभिड अस्पताल संचालन ल्याएसँगै हाल २८ वटा कोभिड अस्पताल संचालनमा छन् । उनीहरु ३ लेभलमा विभाजित छन् । प्रथम लेभलमा १४ वटा अस्पताल रहेका छन् भने, दोस्रो लेभलमा १२ वटा र तेस्रो लेभलमा ३ वटा अस्पताल तोकिएका छन् । स्वास्थ्य सामग्रीको बन्दोबस्त कोरोनाको पहिलो, दोस्रो संक्रमण पुष्टि भएको अवस्थामा आफूहरुसँग सुरक्षा सामाग्री, परीक्षण किटहरु केही पनि तयारी अवस्थामा नरहेको डा. कार्की बताउँछन् । यद्यपि अहिले सरकारसँग आवश्यक मात्रामा सुरक्षाका सामाग्री, टेस्टिङ किटहरु रहेको उनले बताए । ‘सुरुवातमा त हामीसँग खास केही पनि थिएन, यो हाम्रो देशको मात्र अवस्था थिएन । विश्वको हालत यही थियो । तर हामीले धेरैसँग अपिल गरेर सामाग्रीहरु जुटाउन सफल बन्यौं । अहिले हामीसँगै आवश्यक सामाग्री पर्याप्त छन् । आगामी ६ महिनासम्म हामीलाई कति स्वास्थ्य सामाग्रीहरु आवश्यक हुन्छ सबैको जोह गर्दैछौं,’ उनले भने । हजारभन्दा बढि कन्ट्याक ट्रेसिङ टिम कोरोना भाईरसका संभावित संक्रमितको लागि हाल मन्त्रलायले १ हजारभन्दा बढी टिम खटाएको छ । प्रत्येक टिममा २ देखि ३ जना मानिस रहेका उनले बताए । कोरोना संक्रमणलाई रोक्न यसले निकै ठूलो भूमिका खेल्दछ । संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई कन्ट्याक ट्रेसिङ मार्फत पत्ता लगाइन्छ र परीक्षण गरिन्छ । उनीहरुलाई पत्ता लगाउन सरकारले ४ महिनामा १ हजारभन्दा बढि ट्रेसिङ टिम बनाउन सफल भएको ।

महोत्तरीका क्वारेन्टिन खचाखच भरिँदै

महोत्तरी । भारतबाट घर फर्कने क्रम बाक्लिएसँगै महोत्तरी जिल्लाका क्वारेन्टिन केन्द्र भरिभराउ भएका छन् । पछिल्ला पाँच दिनयता भारतबाट फर्कने बढ्दै गएसँगै यहाँका क्वारेन्टिन केन्द्रमा मानिस थपिने क्रम ह्वात्तै बढेको हो । यसअघि १९ क्वारेन्टिन केन्द्र रहेका जिल्लामा अहिले २५ थपेर ४४ पुर्याइएको छ । १ हजार ८ सय ४९ श्ययाका ४४ क्वारेन्टिनमा सोमबारसम्म ३७ महिलासहित १ हजार ५ सय ५३ शङ्कास्पद व्यक्ति बसिरहेका जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । पछिल्ला पाँच दिनभित्र एक हजारभन्दा बढी सङ्ख्या क्वारेन्टिन केन्द्रमा थपिएको कार्यालयका कोभिड–१९ रोकथाम अभियानका स्रोत व्यक्ति जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले जानकारी दिए । यसबाहेक घरमै स्वास्थ्यकर्मीको रेखदेखमा १८२ क्वारेन्टिनमा छन् । जिल्लामा सबैभन्दा बढी भारतीय सीमावर्ती सम्सी गाउँपालिकाका पाँच केन्द्रमा गरी ३ सय ९० छन् । त्यसैगरी जिल्लाको उत्तर मधयवर्ती भङ्गाहा नगरपालिकाका चार केन्द्रमा गरी १ सय ७८, सोनमा गाउँपालिकामा १ सय ३०, मनराशिशवा नगरपालिकामा १ सय २० र जलेश्वर नगरपालिकाका केन्द्रमा ९१ जना रहेका छन् । यसबाहेक जिल्लाका सबैजसो क्वारेन्टिन केन्द्रमा भारतबाट घर फर्केकाहरु थपिँदैछन् । फर्कनेहरु आफ्नै बस्ती छेउको (आफ्नै स्थानीय तहको) केन्द्रमा बस्न चाहँदा कतै श्ययाको अभाव र कतै केही श्यया खाली रहेको स्थिति छ । जिल्लाका १५ वटै स्थानीय तहका केन्द्रमा मान्छे थपिने क्रम ह्वात्तै बढेको हो । जिल्लामा क्वारेन्टिन केन्द्रमा मानिस थपिदै गए पनि पिसीआर परीक्षणका लागि स्वाब सङ्कलनको गति धिमा (सुस्त) देखिएको छ । जिल्लामा सोमबारसम्म २ सय ६९ जनाको मात्र स्वाब सङ्कलन हुनसकेको जनस्वास्थ्य निरीक्षक झाले बताए । स्वाब सङ्कलन गर्न आवश्यक सामग्री र पूर्वतयारी हुन नसक्दा अपेक्षित गति लिन नसकेको कार्यालयको निष्कर्ष छ । पिसीआर पद्धतिबाट जाँच गरिएमध्ये जिल्लाका चार जनामा सङ्क्रमण पुष्टि भएको छ । यद्यपि यी चारै जनाको स्वाब सङ्कलन भने जिल्ला बाहिर नै भएको हो । जिल्लाको जलेश्वर नगरपालिका–३ खैराका एकै परिवारका तीन जनामा सोमबार आरडिटी पोजेटिभ पाइएको छ । तीनै जनालाई जलेश्वर अस्पतालको आइसोलेसनमा राखेर थप जाँच प्रक्रिया बढाइएको कार्यालयले जनाएको छ । जिल्लामा जलेश्वर अस्पतालमा ३० र नेपाली सेनाको रणभीम गणमा छ समेत गरी जम्मा ३६ आइसोलेसन श्यया छन् । आइसोलेसनमा हाल तीन जना रहेका कार्यालयले स्पष्ट पारेको छ । यसैबीच दिनदिनै भारतबाट घर फर्कनेहरुको लाम बढ्दै गएसँगै क्वारेन्टिन र आइसोलेसन श्यया बढाउन र पिसीआर परीक्षणको गति बढाउन जिल्लामा माग बढ्दै गएको छ । यसैबीच जिल्लाको बर्दिवास नगरपालिकाले पिसीआर परीक्षणका लागि आवश्यक उपकरण खरिद र बर्दिवास अस्पतालमा ५० श्ययाको आइसोलेसनकक्ष विस्तारको काम थालिएको जनाएको छ । नगरप्रमुख बिदुरकुमार कार्कीले जेठ २५ भित्रै यो काम भइसक्ने जानकारी दिएका छन् । रासस

चिकित्सकको सेवाबाट कोरोनाका बिरामी ढुक्क

लम्की । कैलालीको टीकापुर अस्पतालमा रहेका कोभिड –१९ संक्रमित तीनै जनाको अवस्था सामान्य छ । उनीहरुमध्ये ४० वर्षीय एक जनालाई सामान्य रुघा लागेको छ भने अन्य १९ र २१ वर्षीय युवकलाई केही समस्या देखिएको छैन । ४० वर्षीय पुरुष भारतको महाराष्ट्रबाट आएका हो भने १९ वर्षीय युवक सुनसरीको इटहरी र २१ वर्षीय युवक बाँकेको नेपालगञ्जबाट आएका हुन् । कैलालीको जानकी गाउँपालिका ७ घर भएका २१ वर्षीय युवक गत वैशाख २९ गते बाँकेबाट आए । बाँकेमा अध्ययनरत उनी एम्बुलेन्समा आएर ५ दिन घर बसेपछि जानकी–७ का वडाध्यक्ष लक्ष्मण चौधरी घरमै गएर युवकलाई क्वारेन्टाइन बस्न आग्रह गरे । गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका १६ जनाको स्वाब परीक्षण गर्दा शुक्रबार तीन जनाको नतिजा पोजेटिभ आएको हो । टीकापुर अस्पतालमा भर्ना गरिएका उनीहरुको दैनिक दुई पटक ज्वरो नाप्ने गरिएको छ । त्यसबाहेक चिकित्सकबाट नियमित जाँच भइरहेको छ । कोरोना संक्रमितलाई अस्पतालमा राखिएपछि त्यहाँ त्रास बढेको छ । अस्पतालमा नियमित उपचारमा आउनेहरु घटेका छन् । ‘‘संक्रमितहरुमा समस्या छैन । संक्रमित राखेपछि अस्पतालमा आउने बिरामी भने घटेका छन्’’, टीकापुर अस्पतालका डा जीतेन्द्र कँडेल भने, ‘‘अस्पतालमा दैनिक तीन सय पचास जनासम्म बिरामी आउँथे । आजभोलि एक डेढ सय जना मात्र आउन थालेका छन् ।’’ अस्पतालले दुई साताअघि मात्र बहिरङ्ग सेवा सञ्चालनमा ल्याएको थियो । ओपिडी सेवा सञ्चालनमा आएपछि बिरामीको संख्या बढेको थियो । डा कँडेलले अस्पतालले नियमित सेवा दिइरहेको बताए । ‘‘हामी डराएका छैनौं, यस समयमा हामीले दिने सेवा थप गरेका छौं’’, डा कँडेलले भने, ‘‘बिरामीको एकै समयमा भीड नहोस् भनी २४ सै घण्टा ल्याब र एक्सरे सेवा शुरु गरेका छौं ।’’ अस्पतालले बालबालिकाका लागि नियमित खोप र प्रसूति सेवा निरन्तर दिइएको जनाएको छ । संक्रमितहरु अस्पतालले दिएको सेवाप्रति सन्तुष्ट छन् । संक्रमितमध्येका २१ वर्षीय युवक आवश्यक सेवा समयमै पाइरहेको बताउँछन् । ‘‘पानीको कार्टुन राखिदिएको छ । खानेकुरा समयमै पाइएको छ’’, उनी भन्छन्, ‘‘अस्पतालले बिहान चिया, दिनमा दुई पटक खाना र एकपटक खाजा दिने गरेको छ ।’’ उनका अनुसार तीनै जनालाई एउटै कोठामा बासको व्यवस्था गरिएको छ । ‘‘शौचालय, बाथरुम सोही कोठामा छ, बस्नलाई खासै समस्या छैन’’, युवकले भने, ‘‘२४ सै घण्टा कोठामा बस्न कठिन हुने रहेछ । मसँग त मोबाइल छ । अन्य २ जना संक्रमितसँग मोबाइल नि छैन ।’’अस्पतालले इन्टरनेट जडान गरिदिएको छ । उनीहरु त्यही एउटा भएको मोबाइलमा गीत बजाउँछन् । गफ गरेर समय व्यतीत गछैन् । उनीहरुले आफूमा बिरामीको कुनै लक्षण नदेखिएको तर कोरोना लागेको बताएपछि भने मनमा त्रास बढेको बताए । ‘‘अलिअलि डर पनि लागेको छ तर तीनै जनाले कोरोना संक्रमणलाई हराउँछौँ भन्ने हिम्मत गरेका छौं’’, संक्रमितमध्येका १९ वर्षीय युवक भन्छन्, ‘‘डाक्टरले केही हुन्न भन्नुभएको छ । डाक्टरको कुरा सुन्दा डर हट्ने गरेको छ ।’’   रासस