विकासन्युज

भय अनि उपाय

  दिन चलिरहेकै थियो सबैको दुई छाक टरिरहेकै थियो र जिन्दगी चलिरहेकै थियो मान्छेहरु आफ्नो गन्तव्य तिर लम्किरहेका थिए हावा आफ्नै गतिमा थियो हावासँगै चराहरु आकाशमा उडिरहेका थिए घाम प्रकाश छरिरहेको थियो जुन सितलता दिइरहेकै थियो सबै आफ्नो कर्ममा ब्यस्त थिए आफ्नो कर्तव्य पूरा गरिरहेका थिए कसैलाई कुनै भय थिएन सबै आफ्नै सुरमा थिए त्यतिन्जेल सबथोक ठिकै त थियो सबै सँगै थिए, आफ्ना थिए कोहि बिरानो थिएन जुन बेलासम्म यो कोरोना थिएन। लेखकएकाएक कसरी जन्मियो यो अदृश्य शत्रु जुन एटम बम भन्दा शक्तिशाली छ जस्ले सारा विश्वलाई हल्लाइरहेको छ मै हुँ भन्ने शक्तिहरुलाई रुवाइरहेको छ सबैलाई आफ्नो कब्जामा राखिरहेको छ सारा मानव सभ्यतालाई नै धावा बोलिरहेछ संसार एक जुट हुनुपर्ने बेला सबैलाई एक अर्काबाट टाढा लखेटिरहेको छ हातमा हात मिलाएर हिड्नु पर्ने बेला सबैलाई एक अर्काको साथ छोड भनिरहेको छ चराचुरुङ्गीलाई पिंजडामा राखेर बाहिरबाट तमासा हेर्ने हामी मान्छेहरुलाई आफ्नै घर भित्र बन्दी बनाएर राखेको छ अनि हाम्रै तमासा हेरिरहेको छ स्वतन्त्रता एउटा कोठा भित्र सीमित भएकोछ कसैलाई थाहा छैन आखिर कुन शक्तिले चलिरहेछ यो ? संसार एक जुट हुनुपर्ने बेला सबैलाई एक अर्काबाट टाढा लखेटिरहेको छ हातमा हात मिलाएर हिड्नु पर्ने बेला सबैलाई एक अर्काको साथ छोड भनिरहेको सारा विश्व नै अचम्मित छ एक अर्काको दुर्दशा देखेर भयभीत छ मान्छेहरु ससंकित छन् कयौं आत्मीय मनहरु गुमाइसकेका छन् कयौं मनहरु गुमाउने डरमा छन् गुमिसकेका मनहरु पनि अलपत्र छन् जाने कहाँ गर्ने के कसैलाई थाहा छैन चन्द्रमा देखि मंगल ग्रहको भ्रमण गर्ने विज्ञान अहिले चुपचाप छ रुगा खोकी देखि क्यान्सरको उपचार गर्न सक्ने चिकित्सा क्षेत्र आफै बिरामी परेको छ विश्व युद्ध लडेका शक्तिहरु डराएर शक्तिहिन भएका छन् विश्व अर्थतन्त्रले घुडा टेकिसकेको छ मान्छेहरु बेजोजगारीको त्रासमा छ्न् भोकमरीको भयमा छ्न् लाग्छ ठुलो प्रलयमा छन् कसैलाई थाहा छैन आखिर के चाहान्छ यो ? तर यस बिपतलाई हामी मनन गरौं चिन्ता हैन चिन्तन गरौं यसको विरुद्धमा गर्न सकिने सबै गरौं आफ्नो लागि पनि गरौं अरुको लागि पनि गरौं सम्पूर्ण मानव सभ्यताको लागि गरौं मर्ने डर सबैलाई हुन्छ र त बाच्ने रहर पनि सबैलाई हुन्छ डार्बिनले भने जस्तै हामी बाँच्नको लागि संघर्ष गरिरहेका छौँ यो संघर्ष जितेर हामी अझै धेरै बाँच्नु छ यो संसारबाट धेरै कुरा लिनु छ अनि यहि संसारमा धेरै कुरा गर्नु छ आफ्नो लागि परिवारको लागि समाजको लागि देशको लागि अनि सारा पृथ्वीको लागि। हामी धैर्यका साथ यसको समना गर्यौ भने यो डगमगाएको मानव इतिहासले फेरि अर्को इतिहास रच्ने छ यो अस्वस्थ चिकित्सा क्षेत्र फेरि निको भएर तङरिने छ यो चुपचाप विज्ञानले फेरि अर्को चमत्कार गर्ने छ यो क्षणिक बन्धन र सुन्यता फेरि स्वतन्त्र हुनेछ यो सुस्ताएको अर्थतन्त्रले फेरि अर्को शिखर चुम्ने छ यो कालो समय अवस्य फेरिने छ फेरि उज्यालो समयले जन्म लिनेछ डराएका मनहरु शक्तिशाली हुनेछन् छुटेका आत्महरु फेरि एक हुनेछन् र नयाँ नयाँ सिर्जनाहरु गर्ने छन् नकारात्मक तत्व हटेर जानेछ सकारात्मक तत्वले बास गर्ने छ हामी फेरि उस्तै हुनेछौं जस्ता हिजो थियौ र हामी फेरि आफ्नो कर्ममा फर्किने छौ। [email protected]

टिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि–४ मा टिपरको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी नायव निरीक्षक मृत्यु भएको छ । सोमबार राति बा ४ ख ४७०१ र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भई ठोक्किँदा ड्युटीमा खटिएका सई निमबहादुर घर्तीमगरको मृत्यु भएको हो । उनको उपचारको क्रममा मंगलबार बिहान करिब ५ बजे नर्भिक अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । टिपरका चालक धादिङ थाक्रे बस्ने ४० वर्षीय राजेश सैजु र राजेन्द्र प्याकुरेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। चालक सैजुले मापसे गरेर टिपर चलाएर दुर्घटना भएकाे प्रहरी जनाएकाे छ ।

सुृर्खेतमा थप १२ जनामा काेराेना पुष्टि, कर्णालीमा प्रदेशमा संक्रमितकाे संख्या २३

काठमाडौं । सुर्खेतमा मंगलबार बिहान थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सुर्खेत जिल्लामा काेराेना संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा १ जना महिलासहित ८ जना, भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा २/२जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष, वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको हाे । त्यस्तै सुर्खेतको भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय २ जना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएकाे छ ।  

फौजी किराको आतङ्कले किसान चिन्तित, नियन्त्रण गर्ने विषादी अभाव

खोटाङ । अन्नबाली लगाउन शुरु गरेलगत्तै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किराको आतङ्कले जिल्लाका किसान चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही नगरपालिका र गाउँपालिकामा मात्र देखिएको फौजी किराको प्रकोप यस वर्ष जिल्लाका १० वटै स्थानीय तहमा फैलिएको हो । गत वर्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क, हलेसी तुवाचुङ नगरपालिकाको ११ वटै वडा तथा आसपासका केही स्थानीय तहमा देखापरेको फौजी किराको प्रकोप यस वर्ष १०वटै स्थानीय तहका बेँसीक्षेत्रमा लगाइएको मकै सखाप पार्न थालेको किसानले बताएका छन् । तीन/चार पात पलाउँदादेखि नै फौजी किराले मकैको बिरुवालाई आक्रमण गरेपछि किसान चिन्तित बनेका छन् । प्रकोप देखिएको क्षेत्रमा विषादी हाल्दा फौजी किरा नियन्त्रणमा आए पनि नयाँ–नयाँ ठाउँमा फैलिने गरेको देखिएको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए । “उपचार गरेको ठाउँमा फौजी किरा नियन्त्रणमा आएको देखिन्छ तर, नयाँ ठाउँमा देखा पर्दै आएकाले समस्या सिर्जना भएको छ”, उनले भने, “जिल्लाभरका किसानको अन्नबालीमा प्रकोपका रूपमा फैलिएको फौजी किराको आतङ्क रोक्न सम्बन्धित स्थानीय तहसँग सहकार्य शुरु गरिएको छ ।” गत वर्ष सबैभन्दा बढी क्षति पुगेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष पनि मकै छर्नेबित्तिकै फौजी किराको प्रकोप देखिएको किसानले बताएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्ले, लफ्याङ, दिक्तेल, सोल्मा, खार्मी, पाथेका, नुनथला, जालपालगायत वडा तथा दिप्रुङ चुइचुम्मा गाउँपालिकाको सबै वडाको बेँसीक्षेत्र, खोटेहाङ गाउँपालिकाको इन्द्रेणीपोखरी, खोटाङबजार, सिम्पानी, लिच्कीराम्चेको तल्लो क्षेत्र, ऐसेलुखर्क गाउँपालिकाको ज्यामिरे, महेश्वरी, माक्पालगायत वडामा फौजी किराको प्रकोप फैलिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्ष अन्तिम समयमा देखिएको फौजी किराको प्रकोप यस वर्ष रावाबेँसी गाउँपालिकामा खेतीपाती शुरु गरेलगत्तै फैलिएको वडा नं ३ चिउरीवासका स्थानीय बासिन्दा वीरेन्द्र मगरले बताए । “प्रकोप देखिनासाथ गाउँपालिकाले कोबेरा नामक विषादी उपलब्ध गराएको थियो”, उनले भने, “गाउँपालिकाले उपलब्ध गराएको विषादीले नपुगेपछि खरिद गर्न खोज्दा बजारमै पाउन छाडिएको छ ।” जताततै प्रकोपका रूपमा फैलिएको अमेरिकन फौजी किरा नियन्त्रण गर्न स्थानीय तहले आ–आफ्नै प्रयास शुरु गरेका छन् । अधिकांश स्थानीय तहमा किटनाशक विषादी ल्याएर कृषि प्राविधिकमार्फत सङ्क्रमित क्षेत्रको मकैमा छर्कने काम भइरहेको पाइएको छ । जिल्लाका कतिपय स्थानीय तहले किसानलाई विषादि निःशुल्क उपलब्ध गराएको छ । कृषि ज्ञान केन्द्रले पनि स्थानीय तहमार्फत किसानलाई आवश्यक विषादी निःशुल्क उपलब्ध गराउने गरिएको निमित्त प्रमुख राईले बताए । गाउँपालिकाको तर्फबाट विषादी ल्याएर कृषि प्राविधिक अध्ययन गरेका स्थानीय व्यक्तिलाई पाँच दिन परिचालन गरेर फौजी किरा नियन्त्रणको प्रयास गरिरहेको गाउँपालिका प्रमुख प्रदीप राईले बताउनुभयो । “कृषि पढेर आएका व्यक्तिलाई स्रोत परिचालन शीर्षकबाट पाँच दिन विषादी छर्कने काममा लगाएका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाबाट परिचालित उनीहरु बढी प्रभावित क्षेत्रमा गएर किसानको सहयोगमा मकैको बिरुवामा विषादी हाल्छन्, हाल्न सिकाउँछन् र विषादी दिएर फर्कन्छन् ।” ऐसेलुखर्क गाउँपालिकाले पनि आफैँले तालिम दिएर तयार पारेको कृषि स्रोत व्यक्तिलाई फौजी किरा नियन्त्रणमा उपयोग गरिरहेको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताउनुभयो । जिल्लाका अन्य स्थानीय तहले पनि निःशुल्क तथा सःशुल्क विषादी उपलब्ध गराएर नियन्त्रण गर्ने प्रयास गरिहेको पाइएको छ । रातको समयमा बढी सक्रिया हुने फौजी किराले अन्नबालीसँगै आसपासको वनजङ्गलमा पाइने पापतिङ्गरसमेत सखाप पार्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन् । फौजी किरा साँझ परेपछि मात्र सक्रिय हुने भएकाले त्यही बेला अन्नबालीमा विषादी छर्कनु उपयुक्त हुने कृषि प्राविधिकको सुझाव छ । रासस

रूकुम घटना: वडाअध्यक्षसहित १२ जना पक्राउ

रूकुम । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासीमा नवराज विश्वकर्माको विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको छ । साेही घटनामा दोषी रहेको आरोपमा रुकुम प्रहरीले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ललगायत १२ जनालाई पक्राउ परेका छन् । तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया मल्ल थरकी युवतीकहाँ पुगे । नवराज र उनका १९ जना साथी बाटोमा हौसिँदै गएको बताउँछन् । तर जब युवा सोती पुगे, माहोल एकाएक बिग्रियो । कथित दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिले पनि उनीहरु विवाह बन्धनमा बाँधिन चाहन्थे । तर, नवराजका आमाबाबालाई भने अन्तरजातीय विवाह मन परेको थिएन । छोरीले ढिपी गरेपछि हुन्छ भन्ने मुडमा आफूहरु पुगेको अभिभावक बताउँछन् । त्यसैले नवराज शनिबार राति आफ्ना साथीहरुलाई लिएर दुलही ल्याउन सोती गएका थिए । पटक–पटक मानसिकरूपमा तनाव र शारीरिकरूपमा कुटपिट व्यहोरोका नवराजलाई शनिबार ठूलो सङ्ख्यामा साथी लिएर आउन भनी युवतीले सल्लाह दिएका कारण सोहीअनुसार १९ साथी लिएर सोती गएका थिए । जब उनीहरु घर नजिकै पुग्दा युवतीभन्दा, युवतीकी आमाको नजर युवामा पर्यो । त्यसपछि उनले “जति पिटाइ खाए पनि केही लागेन है, फेरि आइस् आज त मारेर फालिन्छ” भन्दै गाउँका मानिसलाई बोलाएपछि युवामाथि कुटपिट शुरु भएको घाइते युवा आशिष विकले बताए । कुटपिट शुरु हुँदै गर्दा आफूहरु भागेर करिब चार किलोमिटर दूरी पार गरेको आशिषको भनाइ छ । लखेटी–लखेटी भेरी नदीसम्म पुर्याउँदा धेरै साथी घाइते भएको उनले बताए । नवराजको शनिबार नै मृत्यु भयो भने ज्यान बचाउन नदीमा हामफालेकामध्ये चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढाको पानीमै डुबेर मृत्यु भयो । कुटाइबाट घाइते भएका युवाले पानीमा पौडिन नसक्दा मृत्यु भएको घाइतेले बताएका छन् । अन्य भेरी नगरपालिकाका सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् । मृतक युवाका बुवाले भने, “हाम्रो जात नमिलेकै हो, यो विवाह ठिक छैन भनेर मैले पटक–पटक भनेको थिएँ । दुईपटक प्रहरीकहाँ उनले आफैं उजुरी गर्दा छलफलमा जाँदा उनीहरु आफैं छलफलमा नआउँदा हामी फर्किएका थियौं ।” नवराजका बाबाका अनुसार ती युवती पुसमा दुईपटक नवराजको घरमा आएकी थिइन् । नवराजका बुवाले यो अन्तरजातीय कुरा भएकाले सम्भव छैन भनी पठाइदिएका थिए । “शनिबार बुहारी लिन जाँदा यो अवस्था आयो”, नवराजका बुवाले भने । घाइते युवा सरोज भँडेल भन्छन्, “हामी आधा घण्टासम्म सडकमा दैडिरहेका थियौं । सडक तेर्सो भएकाले मारिने डर भएपछि नदीमा हामफालेका थियौं । आफूहरुले नदीमा हामफाले पनि ढुङ्गामुढा गर्न छाडिएन । प्रहरी आएपछि हामीलाई पक्राउ गरेपछि बल्ल हामी सुरक्षित भएको महसुस भयो ।” मृतक युवाको शव जाजरकोट अस्पतालमा राखिएको छ । घटनालाई ढाकछोप गर्न खोजिएको भन्दै आफन्तले शवको परीक्षण गर्न दिएका छैनन् । रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले दुवै जिल्लाका प्रहरीबीच समन्वय भएर छलफल चलिरहेको र अनुसनधान पनि जारी रहेको बताए । त्यस्तै घटनाको न्यायिक छानविन होस् र पीडितले न्याय पाऊन् भन्दै प्रतिनिधिसभा सदस्य सत्य पहाडीले माग गरे । त्यस्तै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, “नेपाल प्रहरीलगायत सम्बन्धित निकायको तर्फबाट तदारुकताका साथ उक्त घटनाको अध्ययन र अनुसन्धान कार्य भइरहेको छ, विश्वास गरौँ, घटनाको उचित छानविनसहित दोषीहरुलाई कारवाही हुनेछ । अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाउन सबैले सहयोग गरौँ ।” प्रनाउ ठकबहादुर केसीका अनुसार प्रहरीले वडाध्यक्ष मल्लका साथै केटी, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, डिल्ली मल्ल, सन्तोष मल्ल, तुलबहादुर मल्ल, मानबहादुर मल्ल, रमेश मल्ललगायत १२ जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न अन्यको खोजी भइरहेकोे छ । मृतक तीनै जनाको शव भेरी नदी किनारमा भेटिएको थियो । अन्यको खोजीकार्य जारी रहेको छ । घटनामा परेर भेरी नगरपालिकाका सुदीप खड्का, मदन शाही, सरोज भँडेल, आशिष विकलगायत १२ घाइते भएका छन् । खड्का र शाहीको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ भने अन्य सामान्य उपचारपछि घर फर्केका छन् । रासस सम्बन्धित समाचार : अन्तरजातिय प्रेमकै कारण ज्यान गुमाउनु परेको घटना, दोषीउपर कडा कारवाहीकाे माग

काठमाडौंको टोखा क्षेत्र सिल

काठमाडाैं । टोखा नगरपालिकाका २ व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका २ रहेका छन् । काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाका २ व्यक्तिमा कोरोना सङ्क्रमित देखिएसँगै उक्त क्षेत्रलाई सिल गरिएको जानकारी दिए । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८ सयभन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो । रासस

बलिउडका निर्माता करण जोहर आइसोलेशनमा

काठमाडौं । बलिउड निर्माता तथा निर्देशक रहेका करण जौहर १४ दिन आइसोलेशनमा बस्ने भएका छन् । उनको घरमा काम गर्ने दुई जनामा कोरोना देखिए पछि करण आइसोलेशनमा बसेका छन् । रिपोर्ट नेगेटिभ आए पनि आफन्त र छिमेकीको स्वास्थ्य सुरक्षाका लागि आफू १४ दिन आइसोलेशनमा बसेको ट्वाटमार्फत जानकारी दिएका हुन् । “परिवारका सबै सदस्य र अन्य सहयोगीहरूको कोरोना परीक्षण गरिएको छ र सबैको रिपोर्ट नेगेटिभ आएको छ, तर, हाम्रा आसपासका सबै मानिसको सुरक्षाका लागि १४ दिनसम्म हामी सबैजना आइसोलेसनमा बस्दैछौं” उनले भने ।

अन्तरजातिय प्रेमकै कारण ज्यान गुमाउनु परेको घटना, दोषीउपर कडा कारवाहीकाे माग

काठमाडौं । अन्तरजातिय प्रेमकै कारण रुकुममा ज्यान गुमाउनु परेको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारवाही गर्न प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले सरकारसँग माग गरेकी छिन् । दैलेखबाट संसद्मा प्रतिनिधित्व गरेकी सांसद विशुन्खेले प्रेस विज्ञप्ति जारी गरी रुकुमपश्चिम चौरजहारी–८ मा कुटपिटबाट जाजरकोटका नवराज विश्वकर्मा र रुकुम चौरजहारी–१ कै टीकाराम विश्वकर्माको मृत्यु भएको घटनामा संलग्न दोषीलाई कडाभन्दा कडा कारवाही गरी पीडित परिवारप्रति कानूनी राज्यको अनुभूति दिलाउन आग्रह गरेकी हुन् । “यसरी नै जातीय भेदभाव तथा छुवाछूतका घटना बढ्दै जाने हो भने संवैधानिक व्यवस्था भएको र संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्र भएको यो राष्ट्रले महङ्गो मूल्य चुकाउनुपर्ने अवस्थालाई दृष्टिगत गर्दै जातीय छुवाछूतको सवाललाई शून्य सहनशीलता प्रभावकारीरूपमा कार्यान्वयन गरियोस् भनी सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु” उनले भनिन् । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीय गाउँलेको कुटाइबाट नवराज र टीकारामको मृत्यु भएको थियो । त्यसैगरी नेपाल दलित मुक्ति सङ्गठनले पनि विज्ञप्ति जारी गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न, मृतक नवराज विक र टीकाराम विकलाई सांस्कृतिक शहीद घोषणा गर्न र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसमक्ष जोरदार माग गरेको छ ।