विकासन्युज

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

भीमदत्तनगर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले गड्डा चौकी नाकाबाट सुरक्षा सर्तकता अपनाएर नेपालीलाई भित्रिन दिने निर्णय गरेको थियो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बेलुकीसम्म नेपालीहरु फर्किने क्रम जारी रहेको बताए । “भारतबाट आउने सबैको तापक्रम मापनलगायत स्वास्थ्य परीक्षण गर्दा सबैको अवस्था सामान्य देखियो ।” सहायक प्रजिअ उपाध्यायले भने, “एक हजार पाँच सयभन्दा बढी नागरिक सम्बन्धित पालिकातर्फ हिडिसकेका छन् । दिउँसो १२ बजेदेखि खोलिएको गड्डाचौकी नाका राति भएपछि आवागमन बन्द गरिएको छ ।” प्रशासनले भोलिदेखि भने बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म भारतबाट अलपत्र परेका र समस्यामा रहेका नेपालीलाई आउन दिने जनाएको छ । भारतीय सुरक्षाकर्मीहरु नेपाल–भारत सीमा क्षेत्रसम्म नेपालीलाई पु¥याएका थिए । उनीहरुको गड्डाचौकी नाकामा नेपाली सेना र जनस्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेपछि थप व्यवस्थापनका लागि भन्सार कार्यालय परिसरमा राखिएको थियो । भन्सार परिसरमा भोकै बसेका नागरिकलाई कञ्चनपुरका युवा व्यापारी तथा व्यवसायीहरुले खाना र पानीको प्रबन्ध मिलाएका थिए । नेपाली सेनाको सीमा नाकामा सिंहशार्दूल गुल्म भगतपुर ब्यारेकले खाना र पानी वितरण गरेको थियो । “सीमामा केही समययता नेपाली भोकै बसेको पनि सुनियो ।” यहाँका युवा व्यापारी दिनेश मल्लले भने, “साथीहरुको समन्वय र सहयोगी भावले नै आज अलपत्र नेपालीहरुको भोक र प्यास मेटाउन सक्यौँ ।” युवा व्यापारी तथा व्यवसायीका साथै केही सञ्चारकर्मीहरुको पहलमा नाकाबाट भित्रिएका दुई हजार जनालाई खाना खुवाइएको थियो । त्यसैगरी कञ्चनपुर प्रशासनले नाकामा भित्रिने व्यक्तिहरुको विवरण सङ्कलन गरिरहेको छ । भित्रिएका नेपालीलाई सम्बन्धित स्थानीय तहमा पठाउन लागिएको सहायक प्रजिअ उपाध्यायले जानकारी दिए । “कालिकोटलगायतका केही जिल्लाका नागरिकलाई पठाइसकेका छौँ ।” उनले भने, “अरुलाई पनि गन्तव्यमा पठाउन यातायातको व्यवस्था गरिएको छ ।” उता गड्डा चौकी नाका खुलेसँगै सीमावर्ती भारतीय बजारमा नेपाली आउने क्रम बढेको छ । कञ्चनपुरको ब्रह्मदेव, दोधारा चादँनीलगायतका सीमानाका छलेर नेपालीहरु भारतबाट आउने क्रम बढेपछि स्थानीय प्रशासनले गड्डा चौकी नाकाबाट आवागमन सुचारु गरेको हो ।

विपद्को पीडा र बन्दाबन्दीको उपचार

बन्दाबन्दीपछिकाे सुनसान बस्ती सिङ्गो विश्वमा यतिबेला हायलकायल बनाउने कोरोना भाइरसको महामारी चलिरहेको छ । यस किसिमको महामारी करिब सय वर्षको हाराहारीमा फैलिएको विगत छ । नेपाल जस्तो विकासोन्मुख देशको कुरा छोडौँ, अमेरिका बेलायत लगायत समृद्ध भनिएका युरोपेली मुलुकहरुले पनि मानवजीवन बचाउका लागि कुनै उल्लेख्य काम गरेको देखिएन । चीनको वुहान प्रान्तबाट सुरु भएको भनिएको कोरोना भाइरस बिस्तारै संसारभर फैलिदै महामारीको रुप लियो । यो भाइरस चमेरो चरा हुँदै सालक जीवबाट मान्छेमा सरेको हुन सक्ने समाचारहरू प्रकाशनमा आएका छन् । कतिपय मिडियाले यो वुहानमै भएको अति संवेदनशील मानिएको जीवाणु प्रयोगशालाबाट कुनै भुलचुकले कोरोनाको जीवाणु चुहावट भएर मानिसमा संक्रमण भएको अनुमान गरे तर यी सबै अनुमानका कुरा हुन्, तथ्यमा आधारित छैनन् । कोरोनाले महामारीको रुप लिने क्रममा विभिन्न खाले परिदृश्यहरु देखिए । स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि प्रयोग हुने सुरक्षाकवच (पिपिई) समेत समयमा उपलब्ध हुन नसक्दा समृद्ध देशका स्वास्थ्यकर्मीहरुको समेत रुवाबासी नै चल्यो । सुरक्षाकवचकै अभावमा स्वास्थ्यकर्मी स्वयंले ज्यानको बाजी राखेर भगवान् भरोसामा काम गर्नुपर्यो । कयौँ स्वास्थ्यकर्मीहरुले ज्यानसमेत गुमाउनु पर्यो । महामारीसँग लड्ने सवालमा विश्वका समृद्ध मुलुक पनि निरीह सावित भए । कयौँ मुलुकले व्यक्तिको जीवन रक्षालाई भन्दा आफ्नो देशको आर्थिक स्थितिलाई महत्व दिँदा हरेक दिन हजारौँको संख्यामा ज्यान गुमाउनु पर्यो । अमेरिका स्वयंले चौवीस घन्टामा पैतालीस सय मानिस गुमाउनु परेको तथ्यांक बाहिर आयो । साधन र स्रोतले सम्पन्न मुलुकहरुले यो महामारीसँग लड्न धैर्य नगुमाउलान् । विभिन्न विधिहरु अपनाउँदै लड्ने साहस गर्लान् तर नेपालजस्तो मुलुकमा यो महामारीसँग लड्ने आधार छैन । भाइरस फैलने तरिकाको हालसम्म कुनै वैज्ञानिक आधार भेटिएको छैन । यो अझै पनि शोधको विषय नै छ । यो महामारीसँग विजय प्राप्त गर्न समय लाग्न सक्छ । सामान्य रुपमा यो भाइरसको साङ्लोलाई तोड्न सकेको खण्डमा जीवन रक्षा गर्न सकिन्छ । त्यसको लागि हुलमुलमा जान भएन । भाइरस सर्ने प्रक्रियाका सन्दर्भमा सयौँ सूचनाहरु, भिडियोहरु इन्टरनेटमा छन् । अधिकांशकोे आधिकारिकता छैन । यो बीचमा केही व्यक्तिहरुले आफूलाई विज्ञ बनाए । शोधबिनाको सतही लेखनले मानिसलाई दिग्भ्रमित पार्ने काम गरे । नेपालमा फेरि अनौठो प्रचलन छ । जो पनि जुनसुकै विषयको विज्ञ बन्न मिल्ने । महामारीको यस्ता समाचारले भौतिक रुपमा भन्दा मनोवैज्ञानिक रुपमा डर, त्रास र भय भर्ने काम गरे । बालक वृद्ध र असक्तहरुको मनोविज्ञानमा निकै ठूलो असर पुर्यायो । नेपालमा खुला सिमाना हुँदा हुँदै पनि कोरोना सङ्क्रमणको अवस्था न्यून देखिएको छ । कोरोना परीक्षणको संख्या उल्लेख्य हुन नसक्दा शायद हामी सुरक्षित छौँ भन्ने भ्रममा छौँ । नेपालीहरुको जीवनशैली र खानपानका कारणले पनि रोगसँग लड्ने प्रतिरक्षा प्रणाली बलियो छ भनिएको छ । कारण जे जस्तो भए पनि नेपालमा कोरोनाको प्रभाव कमै देखिएको छ । तर, यो स्थिति कहिलेसम्म रहने हो थाहा छैन । कोरोनाबाट बच्न सरकारी तबरबाट पनि मनग्ये सूचनाहरु आएका छन् । मोबाइल म्यासेज, भाइबर, फोनको रिङ्टोन, विभिन्न छापा तथा अनलाइन समाचारको माध्यमबाट । वृद्ध, बालक र अशक्तको विशेष ख्याल गर्ने, लकडाउनलाई लक्ष्मण रेखा मानेर घरभित्रै बस्ने, हिँडडुल गर्नु पर्दा मास्क लगाउने, हातमा पञ्जा, स्यानिटाइजरको प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने, विशेष गरी घर बाहिरबाट आउँदा ख्याल गर्ने, शरीरको रोगसँग लड्ने प्रतिरक्षा प्रणाली वृद्धि गर्नमा ध्यान दिने, आफन्त र साथीभाइहरुको नियमित सम्पर्कमा रहने, विदेशबाट आएका व्यक्तिहरुको जानकारी दिने आदिका बारेमा सुझाव गरेको पाइयो । छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दीप प्रज्वलन गरेर कोरोनासँग लड्ने ऐक्यवद्धता देखाए भने हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसैको सिको गर्दै राष्ट्रिय गान गाउन लगाए । प्रधानमन्त्रीबाट राष्ट्रको नाममा सम्बोधनहरु आए तर तात्विक रुपमा जनताका आकांक्षालाई सम्बोधन गर्न सकेनन् । लेखक छिमेकी मुलुक भारतले लामो समय बन्दाबन्दी गरेर कोरोना महामारीबाट जोगाउने पहलकदमी गरे भने नेपालका प्रधानमन्त्रीले उस्तै खाले बन्दाबन्दी किस्ताबन्दीमा गरे । बन्दाबन्दी हठात् हुँदा व्यवस्थापन फितलो बन्यो । गाउँका मान्छे समेत शहरमै थुनिए । मानिसहरु आ–आफ्नो गन्तव्यमा पुग्न सकेनन् । विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको स्वदेश फर्कने विकल्प बन्द भए । छिमेकी मुलुक भारतमा रहेका हजारौँ नेपालीहरु आफ्नो गाउँ ठाउँ फर्कन कतिले चोरबाटो प्रयोग गरे । कतिले महाकाली नदी नै पौडिएर तरे । आज पनि विदेशमा लाखौँ नागरिक अलपत्र परेका छन् । उनीहरुको रोजी रोटी ठप्प छ । आ–आफ्नाे कोठामा महिनौँदेखि बस्न बाध्य छन् । देश फर्कन उनीहरु यति बेला हार गुहार गरिरहेका छन् । यो भयावह अवस्थाबाट पार पाउने कहिले हो थाहा छैन । देशभित्रै पनि राजधानीलगायत विभिन्न शहरहरुमा सामान्य मजदुरी गरेर जीवन धान्ने व्यक्तिहरु जीवन चलाउन नसकेर कोसौँ दुरीको यात्रा पैदलै तय गरिरहेका छन् । बस्ने खानेको ठेगान छैन । हप्तौँदेखिको यात्रा गर्दै आफ्नो थातथलोमा पुग्ने क्रम जारी छ । यस किसिमको जोखिम मोल्न जनताहरु बाध्य भएका छन् । यसप्रति सरकार र सरोकारवाला निकायहरु मौन छन् । कोरोनाले गर्दा सबैको दैनिकी फेरियो । कोही रमाए । कोही आत्तिए । सुरु सुरुमा रमाउनेहरु पछि पछि आत्तिए । सरकार पनि थामथुम गर्न बन्दाबन्दी किस्ताबन्दीमा लगाउँदै गयो । पर्यटन वर्ष सन् २०२० सफल पार्ने नाममा, कोरेना महामारीमा विश्व जुधिरहेको बेला परिस्थितिको आकलन नगरी हाम्रा नेता नेपाल कोरोना मुक्त देश हो भन्दै देश विदेशमा प्रचार गरे । यसबाट सरकार विवादित बन्यो । यो बाहेक सरकारले भ्रष्टाचारको सञ्जाललाई तोड्न सकेन । महामारीको कठिन घडीमा पनि भ्रष्टाचारको नमिठो गन्ध आइरह्यो । प्रधानमन्त्री बेडमा थलिए । सरकारको बिँडो थाम्नेहरुले समयलाई चिन्न सकेनन् । जनताहरुको सहानुभूति बटुल्नु पर्ने बेलामा भ्रष्टाचारको दलदलमा फसेर जनताहरुलाई चिढाए । सरकारको विरोधमा आगो ओकल्नेहरुले राम्रो मौका पाए । स्वास्थ्य सामग्री खरिदको विषयमा भएको चरम अनियमितता छरपस्ट भयो । सोसम्बन्धी अनलाइन समाचारलाई इन्टरनेटबाट हटाउने प्रपंञ्चलाई लिएर सरकारले चर्को आलोचना खेप्नु पर्यो । बन्दाबन्दीकै बीच काठमाडौँदेखि दुई दिनको लागि बाहिर जान दिने हठात् निर्णय र त्यो निर्णयबाट पछि हट्ने सरकारको चालबाजीको सर्वत्र विरोध भयो । छिमेकी मुलुक भारतले लामो समय बन्दाबन्दी गरेर कोरोना महामारीबाट जोगाउने पहलकदमी गरे भने नेपालका प्रधानमन्त्रीले उस्तै खाले बन्दाबन्दी किस्ताबन्दीमा गरे । बन्दाबन्दी हठात् हुँदा व्यवस्थापन फितलो बन्यो । गाउँका मान्छे समेत शहरमै थुनिए । मानिसहरु आ–आफ्नो गन्तव्यमा पुग्न सकेनन् । विभिन्न देशमा छरिएर रहेका नेपालीहरुको स्वदेश फर्कने विकल्प बन्द भए । छिमेकी मुलुक भारतमा रहेका हजारौँ नेपालीहरु आफ्नो गाउँ ठाउँ फर्कन कतिले चोरबाटो प्रयोग गरे । कतिले महाकाली नदी नै पौडिएर तरे । हरेक फोनको रिङटोनमा विदेशबाट कोही आएमा वा तिनको सम्पर्कमा गएमा कोरोनाको चेकजाँच गर्ने भनिए पनि त्यसलाई बेवास्ता गर्दै घरमा लुकेर बसेको घटना चालीस दिनपछि बाहिर आउँदा आतंक नै सिर्जना भयो । विदेशमा कोरोनाको महामारी चलिसक्दा विमानस्थलबाट हजारौँको संख्यामा मानिसहरु भित्रिए । ती व्यक्तिहरुमा कोरोना परीक्षण गराउन सकेको भए यति धेरै डरमर्दो अवस्था बन्ने थिएन । सुरुका दिनमा सरकारले चीनमा अलपत्र परेका विद्यार्थीलाई स्वदेश फर्काएर चौध दिनसम्म सुरक्षित राखी घरघरमा पठाउने सह्रायनीय काम गरेको थियो । त्यसलाई निरन्तरता दिन सकेन । सरकार यति बेला सीधा बाटो नपक्डेर बाङ्गो बाटो हिड्न बाध्य छ । कोरोना भेटिए पछि मात्र त्यो व्यक्ति पहिचान गरी कुन प्लेनमा आयो भनेर खोज्न थाल्याे। उता कोरोना प्लेन चढेर आयो अनि गाडी चढेर गाउँ बस्ती पुग्यो । आफ्नो घरमा एकान्तवास बस्ने सर्तनामा गरेकाहरु सर्त अनुसार बसे वा बसेनन् त्यसको अनुगमन गर्ने संयन्त्र भएन । दक्षिणतिर खुला सिमानाबाट सुरुका दिनमा कति मानिस छिरे त्यसको लेखाजोखा छैन । कति स्वदेश फर्कने क्रममा महाकाली नदिकाे किनारमा राेकिएका नेपाली । फाेटाेःसुविना श्रेष्ठ, अलजजिरा । क्वारेन्टाइनबाट भेडाबाख्रा सरी भागेको दृश्य देखियो । व्यक्ति स्वयंले बरु ठाउँ ठाउँमा पहरा दिएर रोग भित्रिन नदिन पहलकदमी गरिरहे । सरकारको क्षमता यस्तै कठिन परिस्थितिमा हुन्छ । यो सरकारले साथ र सर्मथन लिने बेला हो । तर, सरकारका केही थान मान्छे यस्तै अप्ठेरो परिस्थितिको फाइदा उठाउन लागे । सँगसँगै कोरोनासंग जुधेका मुलुकहरुमा सामान्य गल्ती कमजोरीमा पनि कडा कारवाही गरेको सुनियो । सायद हाम्रो विडम्बना यसैमा छ । सरकार जनताप्रति जवाफदेही कहिल्यै बन्न सकेन । जुन जोगी आए पनि कानै चिरेका भनेको यही होला ! यिनै बेथिति सहन गर्न नसकेर कयौँ नेपालीहरुले पलायन रोजेका हुन् । नत्र कसैलाई पनि आफ्नो जन्मभूमि छोड्ने रहर हुदैँन । यहाँ कारवाही भोग्ने भनेकै साना र निमुखाले हो । ठूलाबडालाई जसरीतसरी चोख्याउन खोजिन्छ । देशमा आशा गर्ने ठाउँ छैन । देशका संयन्त्रहरु ठीकठाक छैनन् । कोरोनाबाट बच्ने सवालमा सरकारले राम्रो पहलकदमी लिन्छ भनेर विश्वास गर्ने ठाउँ छैन । अस्पतालमा अहोरात्र खटिने डाक्टरमाथि नै स्पष्टीकरण मागिएकाे समाचार प्रकाशित भए । हुनत डाक्टरको पेशाको धर्म बिरामीको उपचारमा खटिनु हो । मिडिया बाजीमा उत्रिनु होइन । अस्पताल गएर रोग ठीक होला भन्दा पनि मानिसहरुले गर्ने घृणा सहन गर्न गाह्रो छ । स्वास्थ्य सुरक्षा सामाग्रीको अभावमा काम गर्न परिरहेकोले अस्पतालहरु असुरक्षित छन् । रोग सर्ने र समयमा उपचार नपाउने डरले मानिसहरु घर भित्रै लुकेर बसेको पाइयो । संसारभर कोरोनाको महामारीले हरेक दिन हजारौँको सङ्ख्यामा ज्यान गुमाएका छन् । यो कहालीलाग्दो समयमा पनि मानिसहरु सामाजिक सञ्जालमा मिष्ठान्न परिकारहरु पकाएको, तास खेलेको, जन्मदिन मनाएको फोटो र भिडियो राख्न मस्त छन् । कोहीले चर्चा कमाउने ध्येयले राहत बाँडेका तस्वीर र भिडियोहरु राखे । गरिव र निमुखा मानिसको पीडालाई धज्जी उडाएर राहत भन्दा आहत बाडिँरहे । कोही चर्चाका भोकाहरु अनलाइनबाट पढाउने कुरालाई लिएर आफ्नाे प्रचार प्रसारमा जुटिरहे । कोही आफन्तहरु स्वास्थ्यकर्मी भएको फाइदा उठाएर आफनै लागि सान्त्वना लिन र आफनै प्रचारप्रसार गर्न लागे । थरी थरीका मानिसका थरि थरिका चरित्रहरु उदाङ्ग भैरहे । बन्दाबन्दीको मारमा महिलाहरु नै बढी परे जस्तो लाग्छ । जति बेला पनि घरका सदस्यहरुको हेरविचारमा समय खर्चिनु पर्यो । उनीहरुको व्यक्तिगत जीवन रहेन । प्रायः पुरुषहरु गफ गर्नमा, मोबाइल ल्यापटप चलाउनमा, थरि थरिका परिकारहरुको माग गर्नमा व्यस्त भए । घरभित्र गर्ने काम कति हुन्छ कति ! वरको सिन्को पर नसारी दिन कटाउनेहरुले घरको काम कसरी देख्ने ! पढ्नमा रुचि हुनेहरुको लागि यो समय जति भए पनि अपुग नै छ । पढाइमा रुचि नहुनेका लागि कुरै बेग्लै । कतिपय मानिसहरु पुरानो फोटो भिडियो सामाजिक सञ्जालमा राखेर चित्त बुझाए । लाग्छ कसै कसैलाई अहिलेको पीडाले छोएकै छैन । थरि थरिका वस्त्र पहिरिएर टिकटकमा रमाउन भ्याएका छन् । महामारीको यो विकराल अवस्थामा पनि मानिसहरु धुमधामका साथ जन्मदिन मनाउन भ्याए । नयाँ वर्ष पनि धुमधामले मनाउन भ्याए । कतिपय मानिसहरु यस्तो बेलामा पनि जन्मदिन मनाउन पर्यो, नववर्ष मनाउन पर्यो भनेर बहानाबाजी गर्न भ्याए । मानौँ जुकरवर्गले उनीहरुलाई जागिर नै दिएको छ । कतिपय मानिसहरु कोरोनाको अफवाहहरु फैलाउन उद्यत भए । कसैलाई घरबाट घरबेटीले निकाल्यो भने । आज यति मानिस यो हस्पिटलमा मरे भन्दै आतंकित पारे । विदेशतिर सडकमा पैसा फालेको सुन्नमा आयो । कोरोना सार्ने ध्येयले नेपालमै पनि सडकमा पैसा फाल्दै हिडेको समाचार आयो । सत्य के हो, झुट के हो ठम्याउन गाह्रो । नेपालका एक जनाले भारतमा कोरोना फैलाउने षड्यन्त्र रचे भनेर भारतीय मिडियाहरु कुर्लिए । अमेरिकी एक जना वैज्ञानिकले चीनसंग मिलेर कोरोनाको जीवाणु प्रयोगशालामा उत्पादन गरे र सोबापत उनलाई अमेरिकी सरकारले कारवाही गर्यो भनेर अफवाह फैलाउन भ्याए । कोही सरकारलाई असफल बनाउन हातै धोएर लागे । यसरी लाग्नेमा आफ्नै दलको रुष्ट नेता तथा कार्यकताहरु देखिए। संसारभर कोरोनाको महामारीले हरेक दिन हजारौँको सङ्ख्यामा ज्यान गुमाएका छन् । यो कहालीलाग्दो समयमा पनि मानिसहरु सामाजिक सञ्जालमा मिष्ठान्न परिकारहरु पकाएको, तास खेलेको, जन्मदिन मनाएको फोटो र भिडियो राख्न मस्त छन् । थरि थरिका वस्त्र पहिरिएर टिकटकमा रमाउन भ्याएका छन् । यतिन्जेलसम्म खाद्यान्नको कमी भएन तर सुरक्षित तरिकाबाट किन्ने माहोल भने रहेन । पैसा नहुनेहरुको पीडा बेग्लै छ, व्यक्त गर्ने शब्दहरु छैनन् । नजिकका पसलहरु जतिबेला पनि खचाखच भरिए । हातमा पञ्जा नलगाई मास्क नलगाई लामबद्ध नभई भीडभाड गरिदिए । पसलेहरुले पनि आफ्नो व्यापारलाई असर पुग्ने डरले ग्राहकलाई केही भन्न सकेनन् । त्यसमा पनि मुखमा मास्क हातमा पञ्जा लगाएर सुरक्षित भएर पसल जानेहरुप्रति नै पसलेहरु डराए । पैसा साटासाट गर्दासमेत उनीहरु निकै झस्किए । लकडाउनमा किनमेल गर्दै सर्वसाधारण । फाेटाेः मदन ठाकुर, माइ रिपब्लिका सुरुका दिनहरुमा मोबाइल, इन्टरनेट चार्ज गर्ने कार्डहरु समेत पाइएन । ग्याँसको आपूर्ति पूर्णरुपमा ठप्प भयो । सुनिन्छ ग्याँस भर्ने सिलिन्डरहरुको अभावमा ग्याँसका टयाङ्करहरुले सेवा सुचारु गर्न सकेका छैनन् । घर घरमा चाहिनेभन्दा बढी ग्याँसका सिलिन्डरहरु जम्मा गर्नाले यो अवस्था आएको हो । लकडाउनले गर्दा इन्डक्सन चुलोको जोडजाम गर्न सकिएन । नाकाबन्दीताकाको स्टोभलाई ठोकठाक पारेर चलाउने प्रयत्न गरिए । फेरि कुरा आयो मट्टितेलको । त्यस्को जोहो गर्न फेरि सकस पर्यो । यो बन्दाबन्दीको बेलामा आफन्तहरुसँग बोल्ने विषय नै छैन । नबोल्दा नबोले जस्तो, बोल्दा बोल्ने कुरा नै नहुने । एउटै कुरा कति मात्र गर्नु । नेटको पहुँच नभैदिएको भए कस्तो हुन्थ्यो होला यो संसार ? बच्चा बच्चीलाई घरभित्र राख्न कहाँ सकिन्थ्यो होला ? यो नेटको सर्वसुलभताले मानव जीवनमा रंग भरिदिएको छ । एक मनले यसो भन्छ । तर, अर्को मनले फेरि यो कुरा स्वीकार्न चाहदैन । यसले मानिसको समय पुरै खाइदिएको छ । यो बिनाको जीवन असम्भव जस्तै लाग्दैछ । यो विकराल माहोल कहिले सुध्रिने हो ? नेपाल फर्कन चाहनेहरु त्यत्रो भीडभाड छिचोलेर त्यति लामो यात्रा कसरी कहिले गर्ने हो थाहा छैन । त्यतिन्जेलसम्मको दैनिकी त्यो बिरानो मुलुकमा कसरी धान्ने हो ? जागिरमा फर्कने माहोल छैन । कतिको त जागिर पनि गैसक्यो । घर भित्र बसेर मुखमा माड लाग्दैन । भोलिको दिनकोे दैनिकी कसरी चल्ने हो अन्यौल छ । कतै नेपालबाट पैसा पठाएर सास धान्ने मेलो गर्न पर्ने पो को कि ! त्यो जुटाउने फेरि सबैको हैसियत नहोला । मानव जातिमाथि परेको यो बज्रपात कसरी अन्त्य हुने हो, यो सबै भविष्यको गर्भमा छ । आजभोलि सबैका हातमा केही न केही इलोक्ट्रिोनिक सामान छन् । के बालक, के वृद्ध सबै नेटमा डुबिरहेजस्तो लाग्छ । नेट चलेन भने मात्र परिवारसँग बोल्ने हुन् । नत्र एकै ठाउँमा घन्टौँ बसिरहे पनि एक अर्कामा बोलचालसम्म हुँदैन । सबैको आ–आफ्नाे संसार छ । यो अवास्तविक संसारको यति धेरै मोहमा फसेको छ मान्छे ! त्यो मोहजालबाट बाहिरिने कुनै संभावना छैन । यतिबेला रमाइलो दृश्य पनि देखिएको छ । घरका छत छतबाटै गफ गर्छन् । कोही छतमै हिँड्छन्, कोही फोनमा झुन्डिइरहेका हुन्छन् । कोही छतमा नाचिरहेका हुन्छन् । यति लामो समयसम्म घरभित्र थुनिएको सम्भवत वि. सं. २०४६ सालको जनआन्दोलनपछिको पहिलो अनुभव हो । घर वरिपरि यतिबेला गाडीको कोलाहल छैन । घरमा आउने धुलो पनि निकै कम छ । घरका फर्निचर पहिलाजस्तो पुछिरहन पर्दैन । वायुमण्डलमा पनि धुलोको कणहरु देखिन छाडे । प्रकृतिले पनि काया फेरेजस्तो, सुविस्ताले सास फेरेजस्तो लाग्दैछ । जनावर, पशुपंक्षी, चराचुरुङ्गी र कीराफट्याङ्ग्राहरुले निर्बाध रुपमा उपस्थिति देखाएजस्तो लाग्छ । यो पृथ्वी मान्छे मात्रको होइन उनीहरुको पनि हो भन्ने आभाष मिलेको छ । प्रकृतिको दोहन मानिसले हदैसम्म गरेकोले शायद यो दुष्परिणामको पो हो कि ? पसलहरुमा सामानहरु खरिद गर्दा मिति हेरेर गरिन्थ्यो तर यो पटक त्यसो गरिएन । सामान पाए पुग्यो भन्ने भयो । पसलमा महिनौँदेखि थन्किएर रहेका खाद्यान बिक्री भए । खाद्यान र औषधीका पसलबाहेक अन्य पसलहरु टाट पल्टिने अवस्थामा पुगे । घरभाडा तिर्ने कसरी ? फेरि घरभाडा नतिरे घरबेटी कसरी बाँच्ने ? यो कठिन मोडमा पुगेका व्यापार व्यवसाय तङ्ग्रिन कति समय लाग्ने हो । सरकारले पनि घरधनी तिरै सोझिएर सरकार आफूले राहत दिएझैँ गरी घरभाडा छुट गरीदिन अनुरोध गर्छ । यसबाट घरधनी र भाडावालबीच भोलिको दिनमा द्वन्द्व हुन सक्छ । घरभाडा छुट गर्ने भन्ने कुरा स्वतस्फूर्त रुपमा आ–आफ्नो गच्छे हेरेर गर्ने कुरा हो । कसैको करकापले गरिने विषय होइन । बन्दाबन्दीको समयमा कतिपय मानिसहरुले निर्बाध रुपले हिँड्ने सवारी पास जुटाए । कोही एम्बुलेन्स मिलाएर गाउँको घरसम्म पुगे । कोहीले कालाबजारी गर्नसमेत भ्याए । कसैका सवारीसाधनहरु गुडेको गुडै छन् । कोही भने घरभित्र थुनिएको थुनिएै छन् । सरकार भन्छ, सवारीपासको दुरुपयोग भयो । अब त अनलाइनबाट पास दिने रे । त्यो पनि काजकिरियाको लागि मात्र । बिरामी पर्दा के गर्ने हो थाहा छैन । मृत्युको शोकमा डुबेको बेला कता अनलाइन पास जुटाउने रहेछ ! मान्छे बिरामी हुन्छ, तुरुन्तातुरुन्तै अस्पताल पुर्याउनु पर्छ । कता अनलाइन भर्ने, के के डकुमेन्ट अपलोड गर्ने र सवारी पास लिने ! बिरामीलाई छिटो भन्दा छिटो अस्पताल पुर्याउने कि अनलाइन फर्म भरेर बस्ने ! यो सुन्दै पनि व्यवहारिक नलाग्ने । राजधानीमा पानीको हाहाकार छ । यो समयमा इनारको पानी समेत आउँदैन । यो काकाकुल समयमा बाहिरबाट ल्याएका खाद्यसामग्री, तरकारी फलफुल साबुनपानीले धोएर घरभित्र छिराउनु पर्छ । घरमा बस्दा पनि साबुनपानीले हात धुनपर्छ । यो दैनिकी कष्टकर बन्दै गइरहेको छ । सासै फेर्न सकस भइसक्यो । आफैले फेरेको सासप्रति पनि शंका भइसक्यो । त्यो सासले जीवन दिन्छ कि मृत्यु भन्ने ? कतै हामीले फेर्ने सासमा कोरोना भाइरसका जीवाणुहरु त छैनन ? मान्छे यतिसम्म स्वार्थी बन्ने रहेछ । आफूले घरभित्र महिनौँसम्म पुग्ने खाद्यान्न जुटाएँ भनेर तरकारी किन्न हिँडेकालाई समात्न घरका छतबाट प्रहरीलाई बोलाए । प्रहरीले भने ती निरीह व्यक्तिहरुलाई भ्यानमा कोच्न सकेनन् । शायद उनीहरुले पनि आफ्नो परिवार र आफन्तहरुको व्यथा सम्झे होलान् । यसो भन्दै गर्दा औषधी किन्न गएकालाई निर्घात रुपमा पिटेको दृश्य पनि देखियोे । यो बीचमा केही अनौठा घटनाहरुसँग पनि साक्षात्कार भइयो । मान्छे यतिसम्म स्वार्थी बन्ने रहेछ । आफूले घरभित्र महिनौँसम्म पुग्ने खाद्यान्न जुटाएँ भनेर तरकारी किन्न हिँडेकालाई समात्न घरका छतबाट प्रहरीलाई बोलाए । प्रहरीले भने ती निरीह व्यक्तिहरुलाई भ्यानमा कोच्न सकेनन् । शायद उनीहरुले पनि आफ्नो परिवार र आफन्तहरुको व्यथा सम्झे होलान् । यसो भन्दै गर्दा औषधी किन्न गएकालाई निर्घात रुपमा पिटेको दृश्य पनि देखियोे । डाक्टरहरु स्वयंले पिटाइ खाएको सुन्नमा आयो । पैदल यात्रा गरी घर फर्कने क्रममा बाटाेमा थकाइ मार्ने कामदारहरू । फाेटाेः रमन पाैडेल, डाउनटुअर्थ यो बन्दाबन्दीको समय घरभित्र थुनिए पनि, बुद्धि विवकेलाई थुनेको थिएन । सिर्जनात्मक काम गर्न केल्ले छेक्थ्यो र ? घरभित्र गर्ने काम पनि कति हुन्छ कति । पुरुष र महिलाको भेदभाव नराख्ने हो भने काम गरेर नभ्याइने काम घरभित्रै छन् । घरभित्रको सरसफाइ गरे भयो । करेसाबारीमा गोडमेल गरे भयो । गमलाहरुमा फूल तरकारी सार्नेे गरे पनि भयो । किताबहरुको धुलो पुछे पनि भयो । लुगाफाटाहरु सुकाउने र उठाउने गरे भयो । अस्तव्यस्त सामानहरुलाई व्यवस्थित गरे पनि भयो । कागजातहरुलाई व्यवस्थापन गरे भयो । सकिन्छ, छोराछोरीको पढाइमा सहयोग गरेपनि भयो । उनीहरुलाई आफूसरह कुनै सिर्जनात्मक काममा सरिक गराए पनि भयो । पुस्तकहरु पढ्दा भयो । लेखरचना लेख्दा भयो । पठनसंस्कृतिको विकास गर्ने योभन्दा उपयुक्त समय अरु कुन होला ? बहानाबाजी गरेर आफूसँग नभएको खोजेर भएकोलार्ई बेवास्ता गरेर कसरी हुन्छ ? प्राइभेट स्कुल, कलेजहरुको पनि आआफनै कथा छ । महंगो भर्ना र शुल्क उठाउन पल्केका उनीहरु यतिबेला रन्थनिएका छन् । ब्रिजकोर्स र तयारी कक्षा भनेर मोटो रकम उठाइरहेको बानी, उनीहरुको व्यापार चौपट भएको छ । अनलाइनबाटै भएपनि मोटो रकम असुल्न सकिन्छ कि भनेर तानाबाना बुन्दै छन् । विद्यार्थीहरुलाई जति बेला पनि घोकाइरहन पर्ने किन ? विद्यार्थीहरुलाई केही समय आफ्नै बुद्धिविवेकले अध्ययन, मनन र चिन्तन गर्न दिँदा के बिग्रन्छ ? विद्यार्थीहरुको सिर्जनशीलता माथि यिनै च्याउसरी उम्रेका ब्रिजकोर्स र तयारी कक्षाले कुठाराघात गरेका छन् । वनका काँडा त्यसै तीखा हन्छन् । तिनलाई तिखार्न पर्दैन । कमलको फूल फोहोरी हिलो छेडेर फक्रिएरै छाड्छ । त्यसैले यी प्राइभेट स्कुल र कलेजहरुले अस्वभाविक रुपमा हतार गरेकोमा स्वार्थको गन्ध आएको छ । कोरोना महामारीले केही कुरा सिकाएको पनि छ । भीड मात्र रुचाउने मानिसको जीवनशैलीलाई एकपटक चुनौती दिएको छ । प्रकृतिप्रति मानिसको अधिक दोहनलाई नरुचाएको प्रस्ट छ । यो पृथ्वी मानवमात्रको होइन भन्ने अनुभूति गराइदिएको छ । जैविक हतियारलाई युद्धको माध्यम बनाउन खोजेमा त्यसको ठूलो मूल्य चुकाउन पर्छ भन्ने पाठ सिकाएको छ । भलै अहिलेको महामारी त्यो उदेश्यका साथ नहोस् । जति नै सम्पन्न मुलुक भएपनि महामारीसँग लड्ने क्षमतामा गरिब मुलुकहरुको तुलनामा तात्विक भिन्नता रहेन । यतिबेला न त कुनै विज्ञानको चमत्कारले काम गर्यो । न त कुनै अध्यात्मको साधनाले काम गर्यो । नेपालको सन्दर्भमा महामारीसँग जुध्ने क्रममा वास्तविक विज्ञहरुको खोजी हुन सकेन । एउटा विपद्सँग लड्ने सर्वमान्य राष्ट्रिय संयन्त्र पनि बन्न सकेन । आफ्नाे  घर, परिवार भन्दा सुरक्षित अरु केही रहेनछ । त्यही घर, त्यही परिवारको सन्तुष्टिले नै जीवन बाँच्ने आधार दिने रहेछ । मान्छेलाई आफ्नो धरातल र चौघेराको वास्तविक मर्मको अनभूति भयो । भीडभाडभन्दा एकान्तवासको खोजी गर्न सिकायो । आजको जीवनशैलीलाई बदल्न सिकायो । यतिबेला सहर भन्दा गाउँ बस्ती प्यारो भयो । रोजगारीका तौर तरिकामा परिवर्तन ल्याउन पर्ने भयो । कतिपय ठाउँमा पैसाले काम गर्न छाड्यो । पैसाले सुख दिए पनि खुसी बाढ्न सकेन । आफ्ना मानिसहरुको मृत शरीरको दाहसंस्कार गर्ने मौकासमेत गुमाए । मान्छेको मरण जनावरको सरह भयो । मिडियाहरु पनि यतिबेला घरै बसेर समाचार लेख्न बाध्य भए । बलिउड र हलिउडको पनि महत्व रहेन । तेलखानीको पनि महत्व रहेन । अमेरिकाको दबदबा पनि सकियो । सबै खाले असमानताका पर्खालहरु भत्किए । मानवताभन्दा पर केही देखिएन । यो विषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुको पेशाप्रतिको निष्ठाले काम गर्यो । कतै कतै देश हाक्ने सच्चा नेताको बुद्धि विवेकले काम गर्यो । मानिसहरु आ–आफ्ना घरमा फर्किए । घरमा फर्कन मरिहत्ते गरिरहे । ज्यानै लाने महाकाली नदीसमेत तर्न भ्याए । सयौँ कोशको यात्रा पनि हिडेरै पूरा गरे । आफ्नाे  घर, परिवार भन्दा सुरक्षित अरु केही रहेनछ । त्यही घर, त्यही परिवारको सन्तुष्टिले नै जीवन बाँच्ने आधार दिने रहेछ । मान्छेलाई आफ्नो धरातल र चौघेराको वास्तविक मर्मको अनभूति भयो । भीडभाडभन्दा एकान्तवासको खोजी गर्न सिकायो । आजको जीवनशैलीलाई बदल्न सिकायो । यो महामारीले हाम्रो दायरा र सीमाको अवगत गरायो । हामी जुन ज्ञान र बोधका साथ बसेका छौँ, त्यो जीवनरक्षाका लागि पर्याप्त रहेनछ । प्रकृतिको अत्यन्तै न्यून ज्ञान हामीसँग रहेछ । जहिले पनि विपद्को लागि तयारी अवस्थामा बस्नु पर्ने रहेछ । विपद्लाई विपद्को रुपमा बुझन नसक्दा सिङ्गो विश्वले ठूलो मूल्य चुकाउन पर्ने रहेछ । (विपद् जोखिम न्यूनीकरणमा महाविद्यावारिधी गरेका डा.तिवारी  पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापन पेशमा सक्रिय छन् ।)

विज्ञ भन्छन्ः यस्तो लकडाउन एक वर्ष गरेपनि संक्रमण रोकिँदैन

काठमाडौं । लकडाउनको मोडल परिवर्तन नगरे कोरोना भाईरस (कोभिड-१९) संक्रमण नरोकिने जनस्वास्थ्य विज्ञले बताएका छन् । जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले लकडाउनको मोडललाई परिवर्तन नगरे एक वर्षसम्म लकडाउन गरेपनि कोरोना भाइरस संक्रमण नरोकिने पाण्डे बताएका हुन् । ‘यो सरकारले गरेको असफल लकडाउन हो । हामी अझै पनि यही पुरानो लकडाउनमा जाने हो भने संक्रमितको संख्या कहाँबाट कहाँ पुग्छ भन्ने आकलन लगाउन सक्दैनौं, संक्रमण बढिरहन्छ,’ डा. पाण्डेले भने । सरकारले जेठ ५ सम्म तोकेको लकडाउन थपेर जेठ २० सम्म पुराएको छ । लकडाउन मोडल परिवर्तन हुन्छ भनेर सरकारले भनिरहेको अवस्थामा यस मोडलमा खासै परिवर्तन आएको छैन । सरकारले टेष्टको दायर केही बढाए पनि जति आवश्यक छ त्यति गर्न नसकेको पाण्डे बताउँछन् । ‘पावरको प्रयोग गरेर मानिसहरुले आवतजावत बढाएपछि सुरक्षित क्षेत्र पनि असुरक्षित भएको छ । यदि यस्तो कार्य तत्काल नरोक्ने हो भने लकडाउन गर्नु अर्थहिन हुनेछ,’ उनले भने । अहिलेको मोडलमा बस्तीमा मानिसहरुले लकडाउनलाई चाड जस्तो ठानेर भिडभाड झनै बढेको, संक्रमित मानिसहरु आफु सक्रमित भएको बारेमा अनविज्ञ भएको, सिमाबाट आउने मान्छे नरोकिएको र उनीहरुको राम्रोसँग परीक्षण नै भएको पाण्डे बताउँछन् । नयाँ मोडल कस्तो हुनुपर्छ ? जनस्वास्थ्य विज्ञ पाण्डेको अनुसार कोरोना संक्रमण रोक्न लकडाउन नै र्गे हो भने सबैभन्दा पहिला परीक्षणको दायर तिव्र गर्नुपर्ने, सिमानामा कडाई गर्नुपर्ने, भारतसँग सिमाना भएका सबै जिल्लामा प्रतिजिल्ला ५ हजारको क्षमता भएको क्वारेन्टाइन केन्द्रको स्थापना गर्ने जस्ता नयाँ मोडल अपनाउनु पर्छ । नयाँ मोडलबारे डा. पाण्डेका सुझाव १. क्वारेन्टाइनमा हावा, स्वच्छ खाना, पर्याप्त पानी, पंखा, पर्याप्त शौचालय, प्राथमिक उपचारका सामान, एकजना स्वास्थ्यकर्मी, एम्बुलेन्सको व्यवस्था, अस्पतालसँग कनेक्सन, इम्युनिटी पावर बढाउने जडिबुटी सेवन, व्यायम, योग, ध्यान, प्रवचन आदिको व्यवस्था हुनुपर्छ । २. सकिन्छ भने देशभर १५ दिन कर्फ्यु वा वैकल्पिक रुपमा कर्फ्युस्तरको लकडाउन हुनुपर्छ । यसो गर्दा संक्रमितमध्ये ८५.५ आफै निको हुन्छ । लक्षण देखिए अस्पताल पुर्याउन सकिन्छ, अनि रोग समुदायमा फैलिन पाउंदैन । ३. मान्छेहरु मर्निंग वाक, इभिनिंग वाक, सपिङ आदि कामले बिहान बेलुका घर बाहिर निस्किरहेका छन् । तसर्थ बिहान बेलुका कर्फ्यु लगाएर दिउँसो १२–३ बजेसम्म पसल जान समय तोकियोस् । यसो गर्दा भीडभाड हुँदैन । ४. डिपार्टमेन्टल स्टोर तथा तरकारी बजार बन्द गर्ने । फलफूल तथा तरकारी स्थानीय पसलबाट खरिद बिक्री गर्ने व्यवस्था भएमा भीडभाड हुँदैन । ५. सडकमा ट्राफिक प्रहरी, भित्री बस्ती र गल्लीमा अन्य सुरक्षाकर्मीको गस्ती होस् । भिडभाड मुख्य सडकमा हुँदैन, भित्री बस्तीमा हुन्छ । ६. मास्क नलगाएमा, सामाजिक दुरी कायम नगरेमा तथा ३ जनाभन्दा धेरैजना सँगै हिड्ने गरेमा अन्य देशमा जस्तै जरिवानाको व्यवस्था होस् । ७. १५ दिनपछि लकडाउन खुकुलो गर्नको लागि रेड, एल्लो, ग्रीन जोन छुट्याउने, विभिन्न चरणको प्रारूप तयार गर्ने, अस्पतालमा आइसीयु तथा भेन्टिलेटरको संख्या बढाउने लगायतका तयारी होस् । साथै किसानलाई मल, बिउ तथा अन्य राहत उपलब्ध गराइयोस् ।

पर्सामा कोरोना निको भएर थप ४३ जना घर फर्किए, नारायणी अस्पताल भयाे खाली

काठमाडौं । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराईरहेका थप ४३ जना डिस्चार्ज भएका छन् । ४३ जना कोरोना निको भएर डिस्चार्ज भएको अस्पतालका मेसु डा मदनकुमार उपाध्यायले जानकारी दिए । । उनीहरुको पछिल्लो दुई वटा पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको उनले बताए । ४३ जनाको डिस्चार्ज भएसँगै नारायणी अस्पतालको आइसोलेसनमा अब एक जना पनि संक्रमित नरहेको उनले बताए । याेसँगै कोरोना जितेर घर फर्कनेको संख्या १५५ पुगेकाे छ ।  

६ महिनासम्म ब्याज मिनाहा गर्न पेट्रोल पम्प व्यवसायीको माग

काठमाडौं । नेपालभर सञ्चालनमा रहेका पेट्रोल पम्पमा लगानी भएका बैँकहरुको कर्जाको व्याज ६ महिनासम्मका लागि मिनाहा गर्न पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनले नेपाल आयल निगमसँग माग राखेको छ । दुई महिना लामो बन्दाबन्दीमा पेट्रोलियम पदार्थको खपतमा कमी आएको भन्दै संस्थाले निगमसँग बैँकको किस्ता भुक्तानी अवधि बढाउनका लागि आवश्यक पहल गर्न तथा अन्य व्यवसायसरह पम्प व्यवसायलाई पुनर्कर्जाको व्यवस्थाका लागि समेट्न आग्रह गरेको छ । एशोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानका अनुसार बन्दाबन्दीका कारण पेट्रोलियम व्यवसायमा समेत प्रत्यक्ष प्रभाव परेको र कर्मचारीलाई तलब भुक्तानीमा समस्या भएकाले कारोबार बन्द भएका अवधिमा कर्मचारीको तलव निगमका तर्फबाट भुक्तानी गर्ने लगायत सातबुँदे माग राखिएको छ । एसोसिएसनमा आबद्ध एक हजार पाँच सय पम्पमा करीब पाँच हजार कर्मचारी छन् । एउटा पम्पमा पाँच देखि १० जना कर्मचारीले काम गर्दै आएका एशोसिएशनको तथ्यांकमा उल्लेख छ ।

बर्दियाको एक फार्ममा आगलागी हुँदा जले १ सय २८ बाख्रा

बर्दिया । बर्दियाको गेरुवा गाउँपालिका—३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताउनुभयो । आगलागीबाट फार्ममा रहेका बाख्रासँगै दाना, खोर र औषधिसमेत जलेर नष्ट भएका छन् । विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर खड्काले बताउनुभयो । करीब तीन घण्टाको प्रयासमा प्रहरी र स्थानीयवासी मिलेर आगो नियन्त्रणमा लिएका थिए ।

प्रेमिका भगाउन गएका युवालाई मारेको आरोपमा वडाध्यक्षसहित १२ पक्राउ

जाजरकोट । शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला परेको छ । अझै चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका–४ का २१ वर्षीय युवा नवराज विककी प्रेमिका सोतीकी युवतीलाई लिन भनी १९ जना गएका थिए । सोतीमा गाउँले र ती युवाहरुबीच झडप हुँदा भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको लाश फेला परेको छ । सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ । भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् । घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित स्थानीय १२ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक ठकबहादुर केसीले जानकारी दिए । घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरे । उनले भने, “हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन् ।” उनले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भने,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।” करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिए । भेरी नगरपालिकाबाट १९ युवा नवराजकी प्रेमिका १७ वर्षीया युवतीलाई भगाउन भनी गएका थिए । तीमध्ये १२ जना घाइते छन् । यो समाचार तयार पार्दासम्म जाजरकोट जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले दोषीमाथि कारवाहीको माग गर्दै धर्ना दिइरहेका छन् । जिल्ला अस्पतालमा राखिएको लाश परिवारले बुझ्न मानेका छैनन् । रुकुम पश्चिम जातीय छुवाछुत जिल्ला घोषणा भइसकेको छ ।

डिजिटल नेपालको एजेण्डा सरकारको प्राथमिकतामा रहनुपर्छ- विज्ञ

काठमाडौं । विज्ञहरूले सरकार र राजनीतिक उच्च तहकाे प्राथमिकतामा डिजिटल नेपालको एजेण्डा रहनुपर्ने बताएका छन् । फ्रेमवर्कको कार्यान्वयनमा भइरहेको ढिलाइबारे सचेत गराउँदै विज्ञहरूले साे कार्यान्वयनमा जोड दिनुपर्ने बताएका हुन् । सरकारले दुई वर्षअघि डिजिटल नेपाल बनाउने अभियान स्वरूप यसको फ्रेमवर्क सार्वजनिक गरेकाे थियाे । ८ मुख्य डोमेन र ८० वटा इनिसिएटिभ्स सहितको फ्रेमवर्क गत वर्षको कार्तिक ८ गते मन्त्रिपरिषद्को बैठकले पारित गरेकाे थियाे । तर उक्त फ्रेमवर्क भने कार्यान्वयनमा आउन सकेका छैनन् । शनिवार डिजिटल संवाद कार्यक्रममा बोल्दै विज्ञ मनोहर भट्टराईले डिजिटल नेपाल फ्रेमवर्क एउटा लिभिङ डकुमेन्टको रूपमा रहेको तर यसको लक्ष्य र उद्देश्य अनुरूप काम गर्न सरकारी प्रतिबद्धतासँगै राजनीतिक एजेन्डाको रूपमा प्राथमिकतामा राखिनुपर्ने बताए । लकडाउनले डिजिटल अवसर खुला गरेको सन्दर्भलाई नियाल्दै सरकारले संघीय, प्रादेशिक तथा स्थानीय निकायमा पनि डिजिटल नेपालको कार्यान्वयनमा ध्यान दिनुपर्ने भट्टराईको जोड थियो । उनले भने, ‘डिजिटल नेपालका पिलरहरू बलियो बनाउँदै स्थानीय तहसम्म कार्यान्वयन गर्न नेशनल सिआइओको आवश्यकता छ ।’ सरकारले पछिल्लो समय प्रविधिलाई प्राथमिकतामा राख्दै समृद्ध मुलुक बनाउन डिजिटल नेपाल फ्रेमवर्क ल्याएको पूर्व सहसचिव वीरेन्द्र मिश्रले बताए । सरकार फ्रेमवर्कको कार्यान्वयनमा अघि बढेको भन्दै उनले अबको बजेट तथा नीति तथा कार्यक्रम यसतर्फ अघि बढ्न सहज बनाउने बताए । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्वमा डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गरिने कुरा उल्लेख गरिएको छ । सरकारले पहिलो चरणमा ८ वडा डोमेन अन्तर्गत डिजिटल नेपाल फाउण्डेसनको काम भइरहेको जनाएको छ । नेपालमा डिजिटल नेपाल फ्रेमवर्क बाहेक पनि दर्जनाैं पोलिसीहरू निर्माण भएका छन् । अहिले नेपालमा आइसिटी पोलिसी २०१५, ब्रोडब्याण्ड पोलिसी २०१५ सञ्चालनमा छन् । यसैगरी विद्युतीय कारोबार ऐन २०६३ समेत प्रचलनमा छ भने सरकारले सूचना प्रविधि विधेयक ल्याउने तयारी गरेको छ । नेपालमा पोलिसीको अभाव नभए पनि कार्यान्वयनमा समस्या भएको दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । अरूभन्दा इन्टरनेट तथा दूरसञ्चार क्षेत्रमा सन्तोषजनक प्रगति भएको बताउँदै उनले काम गर्दा विभिन्न सरकारी निकायबीच समन्वय जरुरी रहेको बताए । डिजिटल नेपालको लागि फाउण्डेसन तयार पार्ने कामको लागि दूरसञ्चार प्राधिकरणले प्राथमिकताको साथ काम गरिरहेको बताउँदै खनालले कोरोना सकिएको ६ महीनाभित्र ब्रोडब्याण्ड विस्तारले तीव्रता पाउने बताए । नेपालमा धेरै योजना तथा पोलिसीहरू आए पनि कार्यान्वयन फितलो हुँदा हामीले प्रगति गर्न नसकेको जनाउँदै इन्टरप्राइज आर्किटेक्ट विवेक राणाले ग्रामीण क्षेत्रमा साधारण मानिसको जीवनशैली परिवर्तन गर्नेगरी काम गर्नुपर्ने बताए । ई–गभर्नेन्सको रूपमा नेपालमा एप्लिकेशन मात्र प्रयोग भएको तर त्यसको स्ट्यान्डराइज पनि नगरिएको बताए । पोलिसी बनाउँदा सबै क्षेत्रका मानिसहरुको सुझाव र प्रतिक्रिया लिएर अघि बढ्नुपर्ने बताउँदै राणाले सरकारले एक्सेसिबल गुड गभर्र्नेन्समा जोड दिनुपर्ने बताए । सरकारले इन्नोभेसनलाई प्रवद्र्धन गर्न नसकेको बताउँदै डिजिटल नेपालको कार्यान्वयनसँगै इन्नोभेसनलाई अघि बढाउन जेनरल टेक्नोलोजीका सुनैना पाण्डेले सरकारलाई आग्रह गरिन् । सेक्युरिटीका विषयलाई समेत हल्का रूपमा लिइएको बताउँदै पाण्डेले सरकारी काम वान विन्डो सिस्टमबाट हुनुपर्नेमा जोड दिइन् । सरकारले डिजिटल सेवालाई प्राथमिकतामा नराखेको गुनासो गर्दै भनिन्, ‘एकीकृत रूपमा काम गर्न आइसिटी काउन्सिल आवश्यक छ ।’ पूर्वमन्त्री गणेश शाहले कार्यक्रममा बोल्दै पोलिसी निर्माणदेखि कार्यान्वयनसम्म आउँदा सरकार धेरै ठाउँमा चुकिरहेको बताउँदै अब कोरोनाको संकटबाट पाठ सिक्दै अघि बढ्नुपर्ने बताए । डिजिटल डिभाइड कम गर्दै कार्यान्वयन पक्षमा सबै क्षेत्रलाई समेटेर समन्वयकारी भूमिकामा अघि बढ्नुपर्नेमा शाहको जोड थियो । कार्यक्रममा कर्णाली प्रदेशका योजना आयोगका उपाध्यक्ष दिपेन्द्र रोकायाले नीति बनाएर मात्र नहुने तर त्यसको कार्यान्वयनमा दक्ष जनशक्ति तयार गर्दै अघि बढ्नुपर्ने महसुस गरेको बताए । डिजिटल संवादमा विभिन्न प्रदेश सरकारका प्रतिनिधिसँगै १ सय ५० बढीको सहभागिता रहेको थियो । अष्ट्रेलिया सरकारसँग काम गरिरहेका सुदिप कार्कीले डिजिटल ट्रान्सफर्मेशन एजेन्सी बनाएर काम गर्न सुझाव दिए । प्रदेश ५ का प्रतिनिधि सुदिप अर्यालले डिजिटल नेपाल फ्रेमवर्कलाई दिगो विकासको लक्ष्यसँग जोडेर लैजानुपर्ने बताए । कार्यक्रममा आइटी विभागका पूर्व डिजी कपिलदेव श्रेष्ठ, क्यान महासंघका पूर्व अध्यक्ष विप्लवमान सिंह, आइटी उद्यमी लक्ष्मण श्रेष्ठ, आशुतोषमणि दीक्षित लगायतले आफ्नो विचार राखेका थिए । सरकारले ८ महिनाअघि मन्त्रिपरिषद्बाट पारित गरेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयन गर्नेगरी यस वर्ष सरकारले नीति तथा कार्यक्रममा समावेश गरेको छ । ५ वर्षमा देशलाई डिजिटल नेपालको रूपमा प्रस्तुत गर्नेगरी फ्रेमवर्क ल्याएको हो । फ्रेमवर्कमा कतिपय कुराहरू अस्पष्ट रहेको र तयारीमा धेरैलाई समावेश नगरिएको भन्दै आलोचना हुने गरेको छ । सरकारले महत्वपूर्ण योजनाको रूपमा ल्याएको डिजिटल नेपालको कार्यान्वयन अघिल्ला योजनाहरूजस्तो फितलो नहोस् भन्ने पक्षमा सबै चनाखो रहनुपर्ने देखिन्छ । फ्रेमवर्र्कमा रहेका ८ डोमेनहरूमा कृषि, स्वास्थ्य, शिक्षा, अर्बान इन्फ्रास्ट्रक्चर, ऊर्जा, टुरिजम, फाइनान्स र डिजिटल फाउन्डेसन रहेका छन् । यस अन्तर्गत विभिन्न ८० वटा अभियानहरू सञ्चालन गरिने फ्रेमवर्कमा उल्लेख गरिएको छ ।