दाङका कोरोना संक्रमित १८ जना भारतबाट
काठमाडौं । दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित जिल्लामा संक्रमितको सङ्ख्या १८ पुगेको छ । उनीहरु सबै विभिन्न मितिमा भारतबाट फर्किएका हुन् । जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणबाट आज एकै दिन कोरोना पुष्टि भएका १५ जनामध्ये घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ जना छन् । घोराही १० र १८ ले निर्माण गरेको क्वारेन्टिनमा बसेका सात संक्रमित सबै भारतको नयाँदिल्लीबाट यही जेठ ९ गते फर्किएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिनुभयो । उनीहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उपमहानगरपालिकाले ल्याएर सीधै क्वारेन्टिनमा राखी स्वाब परीक्षणमा पठाइएको बताइएको छ । संक्रमण पुष्टि भएका सातै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको घोराही उपमहानगरपालिका कोरोना फोकल पर्सन विकेश रेग्मीले जानकारी दिए । यस्तै लमही नगरले जेठ ९ गते २२ र ११ गते ४७ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाएकामध्ये आज कोरोना संक्रमण पुष्टि भएका आठ जना पनि भारतका विभिन्न ठाउँबाट फर्किएका व्यक्ति रहेको नगरपालिकाले जनाएको छ । संक्रमितमध्ये वडा नं १ का २३ वर्षीय पुरुष तथा वडा नं २ का ३० र १७ वर्षीय पुरुष जेठ ९ गते हैदरावादबाट कृष्णनगर नाका हुँदै लमही आएका थिए । यस्तै वडा नं ४ का २६ वर्षीय पुरुष राजस्थान र वडा नं ५ का २० वर्षीया महिला तथा २० र २३ वर्षीय पुरुष पनि भारतका दार्जिलिङ, पञ्जाब र दिल्लीबाट आएका हुन् । लमही नगर प्रमुख कुलबहादुर केसीका अनुसार दार्जलिङबाट आएकी २० वर्षीया विद्यार्थी भारतको सिलगुडी हुँदै नेपालको झापाबाट धरान आएको र धरानबाट दाङका ५० जनाभन्दा बढी मिलेर गाडी रिजर्भ गरेर दाङ आएका हुन् । ती महिलासँगै घोराही, तुलसीपुर र भालुवाङका यात्रु पनि संँगै आएको महिलाले दिएको जानकारीबाट खुलेको उहाँले बताउनुुभयो । वडा नं ८ का अर्का २३ वर्षीय पुरुष भने दिल्लीबाट आएका थिए । संक्रमित सबैलाई उपचारका लागि कोरोना अस्पताल बेलझुण्डी पु¥याइएको नगर प्रमुख केसीले बताए । यसअघि घोराहीमा भेटिएका कोरोना संक्रमित पनि दिल्लीबाट कृष्णनगर हुँदै जेठ ३ गते दाङ आई सोझै कुइरेपानी क्वारेन्टाइनमा बसेका थिए । समुदायमा हेलमेल नभएकाले सामुदायिक संक्रमण नभए पनि उनीहरुसँग गाडीमा अरु ३२ जना आएकाले सबैको परीक्षणको तयारी रहेको घोराही उपमहानगरले जनाएको छ ।
सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयक पारित
हेटौँडा । वाग्मती प्रदेशसभाको आज बसेको दोस्रो बैठकले प्रदेश सूचनाको हकसम्बन्धी ऐन २०७६ को विधेयकलाई बहुमतले पारित गरेको छ । उक्त बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्रीले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी मन्त्री शालिकराम जम्कट्टेलले उक्त बैठकमा प्रदेश प्रहरी सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गरियोस् भनी राख्नुभएको प्रस्ताव बैठकले विभिन्न समितिमा छलफलमा पठाउन सहमति दिएको छ । उक्त बैठकमा प्रहरी विधेयक सम्बन्धमा छलफलमा उठेका जिज्ञासाको आन्तरिक मामिला तथा कानूनमन्त्री जम्कट्टेलले उत्तर दिनुहुँदै प्रदेशमा प्रहरीको ऐन तर्जुमा गरी प्रहरी जनशक्तिलाई प्रदेश सरकारको मातहतमा राखी जनतालाई दिगो शान्ति र सुरक्षा पु¥याउन सरकारले समन्वय र सहकार्यको माध्यमबाट अघि बढ्ने बताए । प्रदेशमा प्रहरीको इञ्चार्ज प्रहरी नायब महानिरीक्षकको नियुक्ति सङ्घीय सरकारले गर्ने गरिएको भए पनि प्रदेशभित्र प्रहरी उपरीक्षकलगायत अन्य अधिकृतको पदस्थापन सरुवा, बढुवालगायतका जिम्मेवारी तोक्ने प्रदेश सरकारकै भूमिकामा रहने भएकाले प्रदेश सरकारले प्रहरी सञ्चालनमा निष्पक्षका साथ राजनीतिक हस्तक्षेप नहुने आन्तरिक मामिलामन्त्री जम्कट्टेलले स्पष्ट पारे । उक्त बैठकमा रमेश पौडेल, विराजभक्त श्रेष्ट, नरोत्तम वैद्य, राधा घले, रत्न ढकाल, दीपेन्द्र श्रेष्ठ न्हुच्छेनारायण श्रेष्ठ सुरेन्द्रराज गोसाई, केशवप्रसाद पोखरेल, रीना गुरुङ र रीता माझीले छलफलमा सहभागी भई विभिन्न सुझाव प्रस्तुत गरेका थिए । उक्त बैठकमा प्रदेशसभाका सार्वजनिक लेखा समितिका सभापति न्हुच्छेनारायण श्रेष्ठले समितिको वार्षिक प्रतिवेदन बैठकमा प्रस्तुत गरे । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित गरेका थिए ।
दीपावली गरेर गणतन्त्र दिवस मनाउन सरकारको आग्रह
काठमाडौं । गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा आग्रह गरेको छ। मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो। मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ।
सही पहिचान गरेर परीक्षण गरिएकाले धेरै सङ्क्रमित फेला परेको हो– सेना
काठमाडौं । नेपाली सेनाले कोभिड–१९ रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि स्वास्थ्य, आपूर्ति, सुरक्षा र सूचनाको पाटोलाई थप प्रभावकारी रुपमा परिचालन गर्ने तयारी भइरहेको बताएको छ । कोभिड १९ को जोखिम नियन्त्रणमा भइरहेको प्रयास र राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश द्रुतमार्ग आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी दिन नेपाली सेनाद्धारा आज यहाँ आयोजित भर्चुअल पत्रकार सम्मेलनमा कोभिड–१९ नियन्त्रणका लागि सरोकारवालाबीच राष्ट्रिय एक्यबद्धता आवश्यक रहेको जानकारी दिइयो । कोभिड–१९ को सङ्क्रमण अहिलेसम्म काबु बाहिर नरहेको बताउँदै सेनानी नवीन फुयालले सम्भावित सङ्क्रमित व्यक्तिको सहि पहिचान र परीक्षण गरिएकाले थोरै परीक्षणबाट पनि धेरै सङ्क्रमित फेला परेको हो भने । उनले भने, “परीक्षणको दायरालाई ठीक ढङ्गबाट अघि बढाइएको छ, अहिलेसम्म सङ्क्रमण काबु बाहिर गएको छैन, आगामी दिनमा बढ्न सक्ने सम्भावित जोखिमलाई दृष्टिगत गरी परीक्षण विस्तार लगायतका तयारी गरिएको छ ।” सरकारले यसअघि नै परीक्षणको दायरा बढाएर कूल जनसङ्ख्याको दुई प्रतिशत पु¥याउने घोषणा गरिसकेको छ । यसैबीच, सेनाले काठमाडौँ, तराई मधेश दु्रतमार्ग निर्माणको जिम्मेवारी समयसीमाभित्रै पूरा गर्न हालसम्मको लकडाउनबाट खासै असर नपर्ने जानकारी दिएको छ । उक्त आयोजनाका प्रमुख सहायकरथी शरदलाल श्रेष्ठले भने, “कोभिड १९ का कारण आयोजनालाई सहजरुपमा अघि बढाउन केही चुनौती भए पनि अहिलेसम्मको लकडाउनले तोकिएको समय सीमाभित्र आयोजना पूरा गर्न खासै असर पु¥याएको छैन ।” लकडाउन लम्बियो र अन्तर्राष्ट्रिय परामर्शदाता आउन कठिनाइ भएको खण्डमा भने समयमा आयोजना पूरा गर्न चुनौती हुनसक्ने बताउँदै उनले भने, “यदि त्यो स्थिति आयो भने अरु विकल्प र कार्ययोजना बनाएर काम गरिने छ ।” मुलुकको विकासको मेरुदण्डको रुपमा रहेको द्रुतमार्ग सबैभन्दा प्राथमिकतामा परेको राष्ट्रिय गौरवको आयोजना हो । ललितपुरको खोकनादेखि निजगढसम्म करिब ७२ किलोमिटर लामो दूरीको उक्त सडक नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ । पत्रकार सम्मेलनमा नेपाली सेनाका प्रवक्ता एवं सहायकरथी विज्ञानदेव पाण्डेले कोभिड १९ को नियन्त्रणका लागि राष्ट्रिय ऐक्यबद्धता आवश्यक भएको औँल्याउनुभयो । उनले कोरोना १९ सँग सम्बन्धित चीनबाट खरिद गरिएको केही स्वास्थ्य सामग्री आइसकेको र बाँकी सामग्री केही दिनभित्र आइपुग्ने उनले जानकारी दिए ।
राष्ट्र बैंकले भन्योः संस्थागत निक्षेपको ब्याज नबढाउनु, व्यक्तिगत लगायतमा ०.५% बढाए हुन्छ
काठमाडौं । नेपाल राष्ट बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत निक्षेपको व्याजदर नबढाउन निर्देशन दिएको छ । बैंकले बुधबार एक सर्कुलर जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई कल डिपोजिट तथा संस्थागत मुद्दती निक्षेपमा तोकिएको न्यूनतम ब्याजदरभन्दा बढी ब्याजदर नतोक्न निर्देशन दिएको हो । बैंकले जारी गरेको सर्कुलरका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत र बचत निक्षेपमा भने तोकिएको न्यूनतम ब्याजदरमा ०.५ प्रतिशतसम्म ब्याजदर बढाउन पाउने छन् । उक्त सर्कुलर अनुसार बैंक वित्तीय संस्थाहरूले प्रकाशित ब्याजदर भन्दा बढी ब्याज सँस्थागत निक्षेपकर्तालाई दिन पाउने छैनन्। याे सर्कुलरले केही संस्थागत निक्षेपकर्ता भने अवश्य नै प्रभावित हुनेछन् । तर, यसले व्यक्तिगत र बचत लगायतका निक्षेपकर्तालाई भने कुनै असर गर्ने छैन । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत बिनर्देशन २०७६ मा व्यवस्था गरिएका बुँदामा संशोधन गर्दै सो व्यवस्था गरेको हो । [pdf id=217620]
हाँसेकी छौ पीडा लुकाई
हाँसेकी छौ पीडा लुकाई तिमी ठूली भइछौ लाग्छ पीडा लुकाई बोल्ने तालिम लिइछौ स्नेहले सुम्सुम्याउँदै प्राण भर्न खोज्छौ हावासँग सापट मागी सास भरी दिन्छौ । चर्चामा आउने मन छैन प्रतिमा बन्ने काम गर्छौ आशाको दियो जलाउदै मृत्युलाई जीवनमा बदल्छौ पाप र धर्मका कुरा छोडी पेशाको धर्म निभाउछौ निदाउन नसक्ने सहरलाई शान्तिले सुत्ने बनाउछौ । दयाको मुहान भएकी छौ कलकल बगिदिन्छौ ममताको छहारी दिएकी छौ ओत बनी बसिदिन्छौ ज्यानको बाजी लगाई ज्यान बचाउँछौ सारा खुसी बिर्सिएर अस्पताल धाउँछौ । बनस्थली, काठमाडौं
लकडाउनमा पनि घटेनन् पाटन अस्पतालमा बिरामी
काठमाडौँ । कोभिड–१९ को ‘हब’ अस्पतालका रुपमा रहेको पाटन अस्पतालमा अरु रोगको उपचारका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको पहिलो केही सातासम्म दैनिक झण्डै १५० जना उपचारका लागि आएकामा अहिले त्यो सङ्ख्या तीनदेखि चार सय पुगेको छ । बन्दाबन्दीको दुई महिना बित्दा नियमित सेवाका लागि आउने बिरामी बढिरहेको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले बताए । काठमाडौँ उपत्यकामा बिरामीको चाप उच्च रहने अस्पतालमध्ये यो पनि एक हो । सामान्य अवस्थामा दैनिक झण्डै दुई हजार बिरामी आउँछन् । उनले भने, “लकडाउन लम्बिरहँदा नियमित सेवाका सबै खालका बिरामी बढिरहेको छ ।” अस्पतालमा प्रसूति सेवा र गर्भवती नियमित जाँचका लागि आउनेको सङ्ख्या बढिरहेको छ । बन्दाबन्दीको शुरुका दिनदेखि नै अस्पताल आउने गर्भवतीको जाँच गरिरहेको छ । अहिले दैनिक सातदेखि १२ महिलाले सन्तानलाई जन्म दिइरहेका छन् । यो सङ्ख्या सामान्य अवस्थाकै हाराहारीमा भएको अस्पतालले जनाएको छ । अस्पतालले बन्दाबन्दीको शुरुदेखि नै कोभिड–१९ का सङ्क्रमितको उपचारसँगै नियमित सेवाका लागि आउने बिरामीको उपचार गरिरहेको छ । अस्पतालले कोभिड–१९ का सम्भावित बिरामीलाई ‘आइसोलेशन श्यया’ मा राखेर उपचार गरिरहेको छ । बन्दाबन्दीका कारण बिरामीलाई अस्पतालसम्म आउन सहज नभएकाले केही सङ्ख्या घटे पनि अहिले पुनः बढिरहेको निर्देशक शर्माले बताए । उनले भने, “बिरामीको सङ्ख्या सामान्य अवस्थाभन्दा कम भए पनि सबै खालका बिरामी आइरहेका छन् ।” अस्पतालले सङ्क्रमित व्यक्तिलाई उसको अवस्थाअनुसार उपचारका लागि तयारी गरेको छ । रुघाखोकी र ज्वरोका कुनै बिरामी अस्पताल पुगेपछि उसलाई छुट्टै राख्ने श्यया (आइसोलेशन वार्ड) छ । त्यही बिरामीको परीक्षण हुन्छ । परीक्षणमा पोजेटिभ देखिँदा ती व्यक्तिलाई राख्न अस्पतालमा छुट्टै १५ श्ययाको व्यवस्था छ । पहिले पिसिआर प्रविधिबाट परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउने गरिएकामा अहिले अस्पतालमै परीक्षण हुन्छ । अस्पतालमा २० वटा सघन उपचार कक्ष छन् । कतिपय श्ययामा अहिले अरु रोगका बिरामी रहेका छन् । अरु रोगका बिरामीलाई व्यवस्थापन गर्दै कक्ष आवश्यक पर्दा कोभिड–१९ का गम्भीर खालका बिरामीलाई उपचार गर्ने तयारी छ । तत्काललाई अस्पतालले गरेको व्यवस्थापन अपर्याप्त नभएको निर्देशक शर्माले बताए । भविष्यमा महामारीकै अवस्था आउँदा अपर्याप्त हुनसक्ने भए पनि अहिलेको अवस्था पर्याप्त हुने देखिएको छ । जिल्लामा रहेका अस्पतालले उपचारका लागि तयारी अवस्थामा रहनुपर्ने उनले बताए । अस्पतालले कोभिड–१९ का सङ्क्रमित आउनु पहिलेदेखि नै आवश्यक तयारी गरिरहेको थियो । अहिले पनि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिइ) बनाउने, अस्पताल हातामा निसङ्क्रमित गर्ने, गेटबाट नै स्वास्थ्य परीक्षणलगायतका काम गरिरहेको छ । अस्पतालले यहाँ कार्यरत चिकित्सकको सुरक्षाका लागि आफैँले पिपिइ बनाइरहेको छ । यहाँ उत्पादित पिपिइमध्ये धेरै प्रयोग भइरहेको र कतिपय आगामी दिनमा प्रयोग गरिने अस्पताल प्रशासनले जनाएको छ । ‘पिपिइ’ अभावको अवस्था आउन नदिन अस्पतालले आफैँ निर्माण शुरु गरेको निर्देशक डा शर्माले बताए । अस्पतालमा अहिले सङ्क्रमित नौ र छ जना आइसोलेशनमा छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग र पाटन अस्पतालले समन्वयमा बिरामी उपचार गर्दै आएको छ । केही दिन पहिलेमात्रै यस अस्पतालमा एक कोभिड–१९ सङ्क्रमितको शल्यक्रियासमेत भएको थियो ।
उपत्यकामा अझै लुकीछिपी भित्रिन्छन् मानिस
काठमाडौँ । काठमाडौँ उपत्यका प्रवेशमा कडाइ गरेको बताइए पनि अझै लुकीछिपी तथा प्रहरीको आँखा छलेर आउने क्रम भने रोकिएको छैन । पास प्राप्त गाडीमा अनावश्यक व्यक्ति प्रवेश गर्ने गरेको र रातिको समयमा प्रहरीको जाँच कम हुने मौका छोपेर मानिस आउने गरेका छन् । प्रहरीले कडाइ गरेको बताए पनि त्यसरी छलेर आउने क्रम देखिएको उपत्यका नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले जानकारी दिए । पछिल्लो समयमा काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । चन्द्रागिरि, टोखा, मैतीदेवी, बानेश्वर, कालीमाटीलगायत क्षेत्रमा बस्ने व्यक्तिमा कोभिड १९ देखिएको छ । मुलुकभर नै रोगको सङ्क्रमण दर बढ्दै जाँदा उपत्यकाको नाका सिल गर्ने कुरामा भने कुनै कञ्जुस्याईँ गर्न नहुने सचिव श्रेष्ठ बताउँछन् । उनी भन्छन्, “बन्दाबन्दीलाई आन्तरिकरुपमा केही खुकुलो बनाउने विषयमा हाम्रो सहमति हो तर नाकाको आवागमन भने पूर्ण निषेध गर्नैपर्छ, नत्र उपत्यकामा सङ्क्रमण दर धान्न गाह्रो हुनसक्छ ।” सरकारले बन्दाबन्दीको अवधि लम््याउँदै उपत्यका प्रवेशमा कडाइ गरेको जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा उपत्यकामा हुने आवागमनमा थप कडाइ गरेको प्रष्ट्याउछन् । सो निर्णयलार्ई ७५ वटै जिल्लामा परिपत्र गरेर पठाइसकिएको उनको भनाइ छ । मन्त्रालयले उक्त निर्णय कार्यान्वयनका लागि उपत्यकाका १८ वटै स्थानीय तहमा परिपत्र पनि पठाएको छ । उपत्यका प्रवेश गर्ने सबै नाका अत्यावश्यक प्रयोजनका लागिबाहेक पूर्णरुपमा सिल गर्ने र लुकीछिपी आउने क्रमलाई रोक्ने गृहको निर्णयमा उल्लेख छ । श्रेष्ठका अनुसार उक्त निर्णय अझै प्रभावकारी कार्यान्वयन हुन सकिरहेको छैन । गृहमन्त्रालयले बन्दाबन्दी (लकडाउन) प्रभावकारी भए पनि विभिन्न बहाना बनाएर आवागमन हुने गरेकाले पूर्णरुपमा पालना हुन नसकेको निष्कर्ष निकाल्दै एक हप्ता अघि आवागमनमा अझै कडाइ गर्ने निर्णय गरेको थियो । समन्वयात्मक रुपमा काम गर्न भनिए पनि उपत्यकाको स्थानीय तह, प्रहरी र प्रशासनको समन्वयमा पनि कमि देखिएको छ । पछिल्लो समयमा उपत्यका भित्रिने मानिसको अभिलेख राख्न थालिएको छ । गृहमन्त्रालयले स्थानीय तहको नेतृत्वमा प्रशासनको समन्वयमा लुकीछिपी प्रवेश गर्नेको खोजी गरी लगत सङ्कलन गर्ने निर्णय यसअघि गरेको थियो । स्थानीय तहसँगको समन्वयमा सबै सुरक्षा निकायले उपत्यका प्रवेश नाकाको जाँच र निगरानीमा थप कडाइ गर्ने भनिएको थियो तर नाकामा टिपोट गरेर अभिलेख राखिएको भए पनि ती मानिस कहाँ, किन र कसरी जान्छन् यकिन गर्न सकिएको छैन । आएका मानिस कुन स्थानीय तहमा गएर बसे भन्ने कुराको जानकारी नआएसम्म जोखिम कायम नै हुने मध्यपुरथिमी नगरपालिकाका प्रमुखसमेत रहनुभएका उपत्यका नगरपालिका फोरमका सचिव श्रेष्ठ बताउँछन् । उपत्यकामा मानिसको प्रवेश हुँदा जनघनत्व बढ्छ । त्यसबाट रोगको सङ्क्रमण फैलियो भने नियन्त्रणमा समस्या पैदा हुन्छ । स्वास्थ्यकर्मी भारतीय सीमावर्ती क्षेत्रमा उपचारमा खटिएका बेला उपत्यकामा जोखिम बढ्यो भने त्यसले ठूलो असर गर्नेतर्फ बेलैमा ध्यान दिनुपर्ने बताउँछन् फोरमका उपाध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन । पछिल्लो समयमा सरकारले कुनै पनि जिल्लामा मानिस आएमा स्रोत स्थानमै रोक्ने गरी सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नै नाकामा प्रहरी परिचालन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल बताउँछन् । काठमाडौँ आउनका लागि प्रवेश गर्न चाहने व्यक्तिले प्रवेश गर्नुपूर्व उपलब्ध भएसम्म आरडिटी परीक्षण गराउनुपर्ने व्यवस्था गरिएको थियो । उक्त रिपोर्टका साथ उपत्यका प्रवेशका लागि गृहमन्त्रालयमा अनुमति माग्नु पर्नेछ । उपत्यका आउने सवारीलाई प्रवेश बिन्दुमा पुग्नुअगावै प्रस्थान बिन्दुमा नै रोक्न भनिएको छ । काठमाडौँका प्रमखु जिल्ला अधिकारी जनकराज दाहाल गृहमन्त्रालयबाट आएको परिपत्रअनुसार उपत्यकाको सुरक्षा व्यवस्था र लकडाउन कार्यान्वयनमा स्थानीय प्रशासन थप सक्रिय भएको बताउँछन् । उपत्यकामा बिहानीको समयमा भने मानिसको चाप भित्री बजार क्षेत्रमा अत्यधिक बढ्न थालेको छ । बिहान १० बजेसमम्मनै चाप रहने गरेको छ ।