विकासन्युज

राष्ट्रपतिबाट २ सय ४१ कैदीकाे कैद सजाय र जरिवाना मिनाहा

काठमाडौं । तेह्रौ गणतन्त्र दिवसको अवसर २ सय ३३ कैदीलाई कैद सजाय मिनाहा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा २ सय ३३ कैदको सजाय र ८ जना व्यक्तिहरुको कैद, दण्ड जरिवानाा, विगो लगायतका सजाय माफी गरिदिएकी हुन् । नेपाल सविधानको धारा २७६ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) एने २०७४ तथा फैजदारी कसूर नियमावली, २०७६ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा रामबहादुर भन्ने रमेश विश्वकर्मसमेतका २ सय ३३ जना कैदीहरुलाई सजाय माफी मिहाना गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । त्यस्तै संविधानको धारा २७६ र मुलुकी फैजदारी कायैविधि संहिता, २०७४ को दफा १५९ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा कपिलदेव शाहसमेत ८ जना व्यक्तिलाई कैद, दण्ड, जरिवाना, विगो सर्वस्वलगायतको सजाय माफी दिएको सहायक राष्ट्रपति कार्यालयका प्रवक्ता घिमिरे प्रेस विज्ञप्तीमार्फत जानकारी दिए ।

नेपाल संस्थागत हुन, सुढृत बन्न र त्यसको परिणाम दिन निश्चित समय लाग्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपाल संस्थागत हुन, सुढृढ बन्न र त्यसको परिणाम दिन समय लाग्ने बताएका छन् । १३ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाललाई शुभकामना दिदैं उनले कुनै पनि कोणबाट गणतन्त्रमाथि प्रश्न उठाउने र पुरानो व्यवस्थातिर फर्कन खोज्ने प्रतिगामी चेष्टाहरु अनुचित हुने धारणा व्यक्त गरेका छन् । ‘इतिहासको गतिलाई पछाडि फर्काउन अब कसैले पनि सक्दैन । हामी अपूर्णताबाट पूर्णतातिर र नयाँपनबाट परिपक्वतातिर अगाडि बढिरहेका छौं’  गणतन्त्र स्थापनाको छोटो समयका उपलब्धिबाट विश्वस्त रहेको भन्दै ‘विगतका अलोकतान्त्रिक शासन प्रणालीहरुका कारण क्षति हुन गएको, सुस्ताएको हाम्रो विकास यात्रा, ओझेलमा परेका समृद्धिका आकाङ्क्षाहरु र कमजोर बन्न पुगेको राष्ट्रिय स्वाभिमानलाई छोटो समयमै पुनस्र्थापित गर्न र नयाँ ऊर्जा भर्न सक्नेछौँ । लोकतान्त्रिक गणतन्त्रको माध्यमबाट विश्व मानचित्रमा नेपाललाई एउटा विकसित राष्ट्रको नयाँ पहिचान दिन सक्ने छौं ’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओली यति वेलाको अवस्थामा एकजुट भई विश्वमा नै फैलिएको कोरोना भाइरस विरुद्ध लड्न तथा एकबाट हुने विपत्तिको मिलेर सामना गर्न आग्रह गरेका छन् । आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु ! आज बाह्रौं गणतन्त्र दिवस । सर्वप्रथम यस दिवसको सुखद उपलक्ष्यमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा जन्मसिद्ध श्रेष्ठताको सामन्तवादी प्रणालीमाथि आधारित र जबर्जस्ती थोपरिएको राजतन्त्रको अन्त्य गरेर गणतन्त्र स्थापनाको सपना देख्नुहुने र तिनै सपनाद्वारा हामीलाई आन्दोलनमा मार्गदर्शन गर्नुहुने अग्रजहरुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । आफ्नो जिन्दगी उत्सर्ग गरेर हामीलाई गणतन्त्रको उज्यालो प्रदान गर्नुहुने प्रातःस्मरणीय सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । गणतन्त्र प्राप्तिको यस कष्टसाध्य र लामो आन्दोलनमा सहभागी सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक अभिनन्दन अर्पण गर्न चाहन्छु । जनता साँचो अर्थ सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय दिन हो । गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव हो । यस उत्सवमा म यहाँहरु सबैलाई पुनः हार्दिक वधाइ ज्ञापन गर्दछु । मानव सभ्यताको विकास क्रममा सामाजिक प्रबन्ध र राज्यहरूको उत्पत्ति गणराज्यहरुबाटै भएको थियो । लोकतान्त्रिक विधिबाट निर्वाचित हुने गणनायकहरुबाट गणराज्यहरुको व्यवस्थापन हुने र हरेक महत्वपूर्ण निर्णयहरु जनताको अभिमतबाट निर्णित हुने यस्तो व्यवस्थाबाटै नेपाली सभ्यताको पनि आरम्भ भएको थियो । तसर्थ, गणराज्य नेपाली समाजको मौलिक प्रणाली होे । तर समयक्रममा यो प्रणाली भत्कियो । सामन्तवादको थालनीसँगै जन्मसिद्ध श्रेष्ठताका आधारमा शासकहरु स्थापित हुने, उनीहरुको वंश परम्पराका आधारमा शासन व्यवस्था सञ्चालन हुने र उनीहरुको हुकुम नै कानुन हुने चरम अलोकतान्त्रिक प्रणालीहरु स्थापित र विकसित हुँदै गए । झण्डै दुई हजार वर्षसम्म चलेको यस्तो सामन्ती प्रणालीलाई अन्त्य गरेर हामीले इतिहासको एउटा महत्वपूर्ण कडीलाई जोडेका छौँ । र, विकास गरेका छौं । नेपालमा कुनै पनि स्वरुपको अनिर्वाचित सत्ता अन्त्य भएको छ । आज जनताले निर्वाचित गरेका प्रतिनिधिहरुद्वारा प्रतिपादन गरिएको संविधानद्वारा मुलुकको शासन व्यवस्था सञ्चालित छ । संविधानमा जनताका अधिकार एवं सर्वोत्तम हित र आकाङ्क्षाहरु प्रतिविम्बित भएका छन् । हाम्रा सम्पूर्ण साधनस्रोतहरू र प्रयासहरु ती आकाङ्क्षालाई मूर्त रुप दिन केन्द्रित छन् । सशस्त्र द्वन्द्वको शृङ्खला अन्त्य भएर मुलुकमा दिगो शान्ति कायम भएको छ । राजनीतिक अस्थिरता र सङ्क्रमणको पीडादायी कालखण्ड अब इतिहास बनेको छ । गणतन्त्र स्थापनासँगै हामीले हासिल गरेका यी उपलव्धिहरु गौरवपूर्ण र दूरगामी महत्वका छन् । तर यिनै उपलव्धिमा मात्र आत्ममुग्ध भएर बस्न मिल्दैन । गणतन्त्र लोकतान्त्रिक आन्दोलनको सर्वोच्च उपलब्धि हो । यस युगान्तकारी राजनीतिक परिवर्तनलाई सामाजिक जीवनका समग्र आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्रै यो दिगो बन्न सक्छ । लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन हामीले सामाजिक न्याय, सुशासन र समृद्धिका तीनवटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाइरहेका छौँ । गणतन्त्र गणहरुमार्फत अर्थात् जनताहरूमार्फत जनताको तन्त्र हो । जनतालाई केन्द्रबिन्दुमा राखेर, जनताको इच्छामा र जनताका लागि सञ्चालित हुने शासन व्यवस्था हो । संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन सक्दैन । यसका लागि उत्पादनका साधनमा जनताको पहुँच आवश्यक छ । यसका लागि उत्पादनको न्यायोचित वितरण र न्यायपूर्ण प्रबन्ध जरुरी छ । शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा जनताको पहुँच आवश्यक छ । श्रम गर्न सक्नेका लागि रोजगारीको प्रबन्ध र श्रम गर्न नसक्नेका लागि फराकिलो सामाजिक सुरक्षाको जरुरी छ । यसका लागि अधिकार, अवसर, सुरक्षा र सम्मानमा सबैलाई समान व्यवहार गरिने कुरा सुनिश्चित हुन जरुरी छ । हाम्रा सम्पूर्ण प्रयासहरु यी कामहरु मार्फत् गणतन्त्रलाई जनताको जीवनसँग जोड्ने विषयमा केन्द्रित छन् । यसैलाई हामीले परिपूर्ण लोकतन्त्र भनेका छौँ । गणतन्त्र शासन प्रणाली मात्रै होइन । यो त नयाँ सभ्यता, संस्कृति र सामाजिक जीवन पद्धति पनि हो । गणतन्त्र सामाजिक न्याय र समानतामा आधारित समृद्धि सहितको प्रणाली हो, त्यसैले यहाँ महिला, दलित, पछाडि परेका कुनै पनि समुदायमाथिका कुनै पनि विभेदहरू ग्राह्य र सह्य हुन सक्दैनन् । गणतन्त्रमा जाति, वर्ण, धर्म वा अरु कुनै पनि आधारमा कसैमाथि पनि असमानता, भेदभाव र छुवाछुतको व्यवहार स्वीकार्य हुन सक्दैन । गणतन्त्र उन्नत लोकतान्त्रिक संस्कार भएको शासन प्रणाली हो । यहाँ विचारहरुबीच स्वस्थ बहस, मान्यताहरुबीच मर्यादित छलफल र असहमतिहरुको निर्वाध अभिव्यक्तिको प्रत्याभूति हुन्छ । तर घृणा, विद्वेष र विभाजन ग्राह्य हुन सक्दैन । गणतन्त्र विगतका अन्य कुनै पनि प्रणालीभन्दा शासन व्यवस्थाका हिसाबले मात्रै नभएर आचरण र व्यवहारले पनि उन्नत र परिस्कृत प्रणाली हो र हुनु पर्दछ । गणतन्त्रमा आफ्ना विचारहरु निर्वाध ढङ्गले अभिव्यक्त गर्न पाउने स्वतन्त्रता हुन्छ, तर आफ्ना विचार या स्वार्थका लागि हिंसा र आतङ्क तथा डर र त्रासको प्रयोग स्वीकार्य हुन सक्दैन । अधिकार र कत्र्तव्यको न्यायोचित सन्तुलनले नै गणतन्त्रलाई सफल र सार्थक तुल्याउँछ । सरकारको प्रयास गणतन्त्रलाई हरेक हिसाबले परिपूर्ण बनाउने कुरामा केन्द्रित छ । १२ वर्ष आफैमा धेरै लामो अवधि होइन । गणतन्त्र स्थापनाका १२ वर्षमध्ये अधिकांश समय हामीले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउन, नयाँ संविधान निर्माण गर्न र सङ्क्रमणकालको अन्त्य गर्न केन्द्रित गर्नु परेको थियो । गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको छ । जनताको चेतनाले ठूलो फड्को मारेको छ । वर्षौँदेखि मूच्र्छित विकास र समृद्धिका सपनाहरुले साकार रुप लिन थालेका छन् । आफ्नो देश आफै बनाउन सकिन्छ भन्ने आत्मविश्वासमा अभूतपूर्व वृद्धि भएको छ । राष्ट्रिय एकता सुदृढ भएको छ । आफ्नो निर्णय आफै गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको छ । विश्व रङ्गमञ्चमा एउटा सार्वभौम, स्वतन्त्र, लोकतान्त्रिक, शान्तिप्रिय र विकासको नयाँ यात्रा अगाडि बढाइरहेको मुलुकको रुपमा नेपालको छवि बलियो बन्दै गएको छ । लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।  यसअघि लगातार औसत ७ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धिदर हासिल हुनु, निरपेक्ष गरिबीमा निरन्तर कमी आउनु र सुशासन, शान्ति, व्यवसायिक वातावरणजस्ता महत्वपूर्ण विश्व सूचकहरुमा उल्लेख्य सुधार आउनुले हामी सही दिशातिर अगाडि बढिरहेको स्पष्ट हुन्छ नै । कोरोना महामारी सुरु हुनु पूर्वका सूचकहरु अत्यन्त उत्साहवद्र्धक छन् । जनताको सेवा र विकास निर्माणका लागि सङ्घीय संरचनाका तीनै तहबीच समन्वय कायम गर्र्दै अगाडि बढ्ने काम भएको छ । दाजुभाइ दिदीबहिनीहरु ! आज सिङ्गो मानव समुदाय कोरोना महामारी विरुद्धको कठिन सङ्घर्षमा जुटेको छ । हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो यस चुनौतीले हाम्रा प्राथमिकताहरु मात्रै होइन, हाम्रो कार्यपद्धति र जीवनशैलीलाई नै प्रभावित गरेको छ । हामी नेपालीहरु पनि कोरोना महामारीका विरुद्धको कठिन सङ्घर्षमा केन्द्रित छाैं । गणतन्त्र दिवसको यस सन्दर्भमा म यहाँहरु सबैमा कोरोना सङ्क्रमणबाट सुरक्षित रहन सक्नुहोस् र यसबीचमा जसलाई सङ्क्रमण भएको छ, उहाँहरु छिट्टै निको भएर सामान्य जीवनमा फर्कन सक्नुहोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । गणतन्त्र प्राप्तिको लामो र कष्टसाध्य सङ्घर्षको अनुभवमाथि आधारित भएर भन्न चाहन्छु, यस चुनौतिलाई पनि हामीले परास्त गरिछाड्ने छौँ । भनिन्छ नि, रात जतिसुकै लामो भए पनि बिहानी अवश्यंभावी छ । यस्तो बेलामा हाम्रो सिंगो देश, हामी सबै दाजुभाइ–दिदीबहिनीहरू एकजुट भएर कोरोना विरुद्ध लड्न जरुरी छ । र, गणतन्त्रलाई वास्तविक अर्थमा संस्थागत गर्न एकताबद्ध प्रयासहरूलाई अगाडि बढाउन जरुरी छ । यसका निम्ति म सबैमा हार्दिक आह्वान र अनुरोध गर्दछु । धन्यवाद ।

समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने : राष्ट्रपति

काठमाडाैं ।  नेपालको संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख आर्थिक प्रणाली र सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल गर्ने अभियानमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउन सम्पूर्ण राजनीतिक दलहरु तथा नागरिकमा  राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वानसमेत गरेकी छन् । राष्ट्रपति भण्डारीले १३औं गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गर्दै लोकतान्त्रिक गणतन्त्र प्राप्तिकाे सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञातअज्ञात शहीदप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण  व्यक्त गरेकी हुन् । गणतन्त्र दिवसकाे अवसरमा सम्पूर्ण नेपालीहरुलाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न थप ऊर्जा प्रदान गरोस्’ राष्ट्रपति भण्डारीले भनिन् । गणतन्त्र स्थापनार्थ भएका आन्दोलनमा होमिएका सम्पूर्ण राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ता एवं आम जनताको योगदानको उच्च प्रशंसा गर्दै उहाँले गणतन्त्रलाई थप सुदृढ तुल्याउन आह्वानसमेत गरेकी छन् । ऐतिहासिक जनआन्दोलनको परिणामस्वरुप स्थापित जननिर्वाचित पहिलो संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपालमा गणतन्त्र घोषणा गरेको ऐतिहासिक दिनको सुखद् स्मरण गर्दै राष्ट्रपति भण्डारीले प्रत्येक वर्ष गणतन्त्र दिवस मनाउँदै आए पनि यस वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका कारण औपचारिक कार्यक्रम आयोजना गर्न कठिनाइ उत्पन्न भएको उल्लेख गरिन् । ‘आजको यस ऐतिहासिक दिवसले सम्पूर्ण नेपालीहरुलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा यहाँ उपलब्ध प्राकृतिक सम्पदाको दिगो उपयोग गर्दै सामाजिक, आर्थिक र सांस्कृतिक रुपले सभ्य र समुन्नत समाज निर्माणका लागि एकजुट हुन प्रेरणा दिनेछ भन्ने विश्वास लिएको छु’ उनले भनिन् । नेपालको भौगोलिक अखण्डता कायम गर्ने तथा राष्ट्रियता सुदृढीकरण गर्न अतुलनीय योगदान पुर्याउने पूर्वजहरुको योगदानको स्मरण गर्दै  स्वाभिमान, वीरता र आदर्शबाट अनुप्रेरित भई राष्ट्रको सर्वाङ्गीण विकासमा अग्रसर हुन राष्ट्रपतिले हार्दिक आह्वान गरेकी छन् । राष्ट्रपति भण्डारीले विश्वमा नै फैलिएकाे कोरोना भाइरसको सङ्क्रमणमा परी स्वदेश तथा विदेशमा अमूल्य जीवन गुमाउने सवै नेपालीहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शाेकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दै सङ्क्रमित बिरामीहरुको स्वास्थ्यलाभको कामना गरिन् ।  

संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न सुदृढ राष्ट्रिय एकता कायम: सभामुख

काठमाडौं । गणतन्त्र दिवसले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्नका लागि प्रेरणा मिल्ने विश्वास सभामुख अग्निप्रसाद सापकोटाले गरेका छन् । १३ औं गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सभामुख सापकोटाले १९ दिने जनआन्दोलन एवं विभिन्न संघर्षका क्रममा जीवन आहुती दिएका सम्पूर्ण सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली दिँदै घाइते तथा अपाङ्गता भएका एवं बेपत्ता योद्धाहरुलाई स्मरण गर्दै उच्च भावका साथ सम्मान गरेका छन् । ‘गणतन्त्र स्थापनाका गौरवशाली १२ वर्ष पूरा हुँदै गर्दा कोभिड–१९ महामारीबाट उत्पन्न प्रतिकूल परिस्थितिको सामना गर्न बाध्य छौं, जसका कारण यस वर्षको गणतन्त्र दिवस उल्लासमय तवरमा मनाउन सकिने अवस्था रहेन’, शुभकामना सन्देशमा भने , ‘एकातिर महामारीबाट जनताको जीवन रक्षाको सवाल छ भने अर्कोतिर बन्दाबन्दीका कारण उत्पन्न आर्थिक विषमतालाई पार गरेर अघि बढ्नुपर्नेछ, गणतन्त्र दिवसलाई हामीले यो विषम परिस्थिति पार गरेर अघि बढ्ने संकल्प दिवसको रुपमा मनाउनुपर्ने अवस्था आएको छ ।’ संविधानमा संघीयता र धर्मनिरपेक्षता पनि सुनिश्चित गराएर व्यावहारिक अभ्यास भइरहेको र अब हरेक नेपाली जनताको जीवनस्तर माथि उठाउनुपर्ने दायित्वमा दत्तचित्त भएर लाग्नुपर्ने उल्लेख गरेका छन् ।

ललितपुरमा कोरोना संक्रमणबाट १ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ललितपुर जिल्लामा १ जनाको मृत्यु भएको छ । किष्ट अस्पतालमा कोरोना उपचारको क्रममा ललितपुर महानगरपालिका २२ का ५७ वर्षिय पुरुषको बुधबार बेलुका उनको निधन भएको हो । जेठ ११ गते अस्पताल भर्ना भएका उनको बुधबार कोरोना पुष्टि भएको थियो । बुधबार विहान उनको स्वास्थ्यमा गम्भिर समस्या देखेपछि भेन्टिलेटरमा सारिएको थियो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ५७ लाख ८१ हजार ६ सय ५० पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ५६ हजार ८ सय ३९ जनाको मृत्यु भइसकेको छ भने २४ लाख ९३ हजार ३ सय ४७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २ हजार १ सय ८ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ४५ हजार ६ सय ९० रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ५८ हजार ८६ पुगेको छ भने अहिलेसम्म ४ हजार ५ सय ३४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ९ सय १ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १८३ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)

भात खाने अवसर र छाेराकाे खुशी

‘लकडाउन’का कारण समस्यामा परेका डोल्पा ठूलिभेरी नगरपालिका स्थानीयवासीलाई चामल, नुन र तेल लगायतका सामग्री वितरण गरिदै । तस्वीरः हेमन्त केसी/रासस आज गोमाने छिटै घर फर्किए। हुन त उनको नाम गोमानसिंह हो। तर गाउँले सबैले गोमाने भन्छन्। उनी गोमानसिंहभन्दा गोमाने नामले बढी परिचित छन् गाउँमा। उमेरले साठी कटेका गोमानेका कपाल सरी दाह्री पनि सेताम्मे फुलेका छन्। गाला चाउरी परेका, हातमा ठेला उठेका र खुट्टाका कुर्कुच्चा खडेरीले फुटेको खेत जस्तै छन्। पहाडको फेदीमा छ उनीहरुको घर। सँधैभन्दा मलिन अनुहार र रित्तो हात। घरबाट निस्केको दुई घण्टामै फर्किएको देखेपछि कार्कीनी अलमल्ल परिन्। जेठो छोरो मुग्लान(भारत) पसेकाे , माइली छोरीको सानैमा बिहोवारी भएको, साइँलीछोरी चाहि गाउँतिर(खेल्न), सानो छोरा(६ वर्षको)लाई बोकेर कार्कीनी बसेकी छन्। बाबा छिट्टै घर आएको देखेर काखको छोरो पनि उधुम खुसी थियो। उ बाबाका हाततिर हेर्दै थियो। सँधै केही न केही बोकेर आउने बाबाका हात रित्ता थिए। तर कुनै प्रतिक्रिया जनाएन। हेरिह्यो मात्रै। कार्कीनी गोमानेको श्रीमती, उनको पनि नाम त जौमति हो। तर गाउँका कसैले नामले बोलाउँदैनन्। उनको नाम नै कार्कीनी भएको छ। ‘लौं बुढा चाडै आयौं त? साहु घरमा थिएनन् क्या? कि काम भएन ? अनुहार पनि निन्याउरो छ त ? के भयो र ? मैले त तिम्लाई खाना पनि पकाइन।’ गोमानेलाई सोधिन्। खासमा गोमाने सँधै बिहानै साहुकोमा काम गर्न निस्कन्थे। गाउँकै बैदार (विष्ट थरका ती साहूलाई सबैले बैदार भनेर चिन्थे) कोमा उनी काम गर्थे। गोमाने झर्किए। ‘तलाई किन चाहियो? म चाडै आऊ कि ढिला ?’ कार्कीनीका कुनै पनि प्रश्नको उत्तर उनले दिएनन्। कार्कीनीको मनले मानेन। फेरि दोहोर्याइन् उही प्रश्न। ‘मैले भनेको सुनेनौं र ? किन बटारिन्छौं ? के भयो भनन ?’ अब भने नभनी सुखै भएन। तर सबै प्रश्नको उत्तर एकै वाक्यमा दिए गोमानेले। लेखक ‘कामै नभए क्यार्नु त नि। गाउँ नै लकडाउन भयो रे।’ अघिपछि पनि कमै बोल्ने गोमानेको स्वभाव कार्कीनीलाई थाहा थियो। काम किन भएन सोध्न मन थियो। तर पनि सोध्ने कष्ट गरिनन्। कुरो बुझेझैं गरिन्। प्रश्न बाँकी थिएर र उत्तर पनि। बरु कुरो अन्तै मोडिन्। ‘लौ अब के गर्ने त? बिहानलाई पकाएको ढिडो पनि सकियो। हाम्ले त खायौं। तिमी क्यार्छौं त ? लौ छोरो बोक। म केही पकाउँछु।’ गोमाने हच्किए। ‘पर्ख पर्ख। का छोरो बोक्नु। खरानी ले त बरु म हात धुन्छु।’ अघिपछि खाना खाँदा मात्रै हात चोख्याउने गोमानेको कुरा सुनेर कार्कीनी छक्कै परिन्। ‘हात धुने रे ? त्यो पनि खरानीले।’ कार्कीनीको कुरा नसकिँदै गोमाने बोले। ‘हो त । गाउँमा कुन चाहि भाइरस पसो रे। काउरोना(कोरोना) कि के नामको। हात त मिचिमिची धुनुपर्छ रे बुढी। त्यही कारणले त साहुको काम भएन। आज मात्रै होइन अब लामै समय काम हुँदैन रे साहुकोमा। कुन देशमा त कति हजार मान्छे मरे रे । हाम्रो गाउँमा पनि मर्छन् रे। देश त लकडाउन भयो रे। साहुले भनेको।’ कार्कीनीले अघिका आफ्ना प्रश्नको उत्तर पनि पाइन्। तर मनमा थप प्रश्न उब्जिए। गाउँमा भाइरस पसो रे। त्यो के हो ? कहाँबाट आयो ? कस्तो हुन्छ ? मान्छेलाई किन मार्छ। कसले पठायो ? तर सोधिनन्। एक लोटा पानी र हातमा खरानी लिएर आइन्। बुढाले मितिमिची हात धोएर भित्र पसे। चुलोमा झिँजा दाउरा ठोस्दै आगो बाल्न थालिन् कार्कीनी। टिनले छाएको गोठ जस्तो (एकै कोठा भएको) छाप्रो धुवाम्मे भयो। गोमाने छोरो समातेर बसे। कार्कीनीले भाडोमा पानी लगाइन् र पोको पुन्तुरो खोतल्न थालिन्। कुना काप्चामा हेर्न थालिन्। ‘के पकाउउँछस् त?’ गोमानेले सोथे। ‘के पकाउनु नि। खानामा सँधै ढिढो, आटो र मकैको रोटीत हो नि। भात खान त चाड आउनु पनि पर्यो नि। खोज्दै छु केही भेटे उमाल्छु।’ कार्कीनी बोलिन् । ‘थोरै आटो (मकैको च्याख्ला) त थियो जस्तो लाग्छ। भेट्दिन त।’ कार्कीनी एक्लै बोलिन्। उनको मनमा भाइरस बारेको प्रश्न खेल्दै थियो। यहि मौकामा बुढालाई सोधिन्। ‘तिम्ले भन्या भाइरस के रै छ ?’ बुढाले झर्किर्दै भने, ‘जे सुकै होस् आफ्नो काम गर न।’ फेरि पनि कार्कीनीले उत्तर पाइनन्। ‘आफ्नो एउटा झुप्रो र आँगन मात्रै छ। थोरै जग्गा जमिन हाम्रो पनि भए खेती गर्न हुन्थ्यो नि। आपतमा खान हुन्थ्यो’ कार्कीनी एक्लै बोलिन्  । गोमानेले कुनै प्रतिक्रिया जनाएनन्। छोराले बाबाको सेतै फुलेको जुँगातिर हेरेर भन्यो, ‘हामी भात खाने हो?’ गोमाने नाजवाफ भए। मनमनै सोचे भात खानलाई दशैं हो र ? तर छोरालाई सान्तवना दिन भए पनि भने,‘भोलि खाने नि त भात।’ माघी (माघे सक्रान्ती) मा खाएको भात छोराले बिर्सैको रहेनछ। ‘अस्ती जस्तै हैं बाबा’ चिची पनि, काखे छाेराेले भन्याे । गोमाने भक्कानिए। तर बोलेनन्। टाउको मात्रै हल्लाएर छोरालाई समर्थन जनाए। बुढिले आटो पकाइन्। नुन मोलेर गोमानेले मिठो मानी मानी खाए। खाने बित्तिकै हिडे गोमाने। ‘कता हिडेको ?’ काकीनीले सोधिन् तर जवाफ आएन। कार्कीनीलाई भाइरसबारे थप कौतुहलता जाग्दै गयो। मेरो बुढाको कामै बन्द गर्ने भाइरस कुन चाहिले गाउँमा पठाएछ। मान्छे पनि मार्छ रे। कस्तो हुन्छ होला यो भाइरस? उनलाई उत्तर नखोजी भएन। उनी पनि निस्किन् छाप्रोमा द्वार (स्याउला र काठले बनाइएको ढोका) लाएर। नजिकै थियो मास्टर(शिक्षक)को घर। उनले सोचिन् यसबारे तिनलाई त कसो थाहा नहोला। मास्टरको घर पुगिन्। मास्टरनी मात्रै भेटिन्। नमस्कारपछि सोधिन, ‘मास्साप कता जानु भएछ त आज ?’ मास्टरर्नीले जवाफ दिइन्, ‘के पढ्न आयौं नि आज?’ मास्टरनीले जिस्काउँदै सोधिन्। उनी बेलाबेलामा अनेक कुरा सोधि रहन्थिन् मास्टरलाई। ‘के जाति भाइरस पसो रेन्त गाउँमा । मान्छे पनि मार्छ रे। मेरो बुढाको त कामै बन्द गरिदियो’ कार्कीनी बोलिन्। भाइरसबारे सबै कुरा थाहा पाएझैं गरी मास्टरनीले भनिन्, ‘कोरोना भाइरस आयो रे गाउँमा। मेरो बुढाले पनि यही कुरा गर्छन्। स्कूल पनि बन्द छन् । टिभीमा यही मात्रै सम्चार आउँछ।’ कार्कीनी ढुक्क भइन्। अब कोरोनाबारेको जिज्ञासा मेट्न पाइने भयो। मास्टरनी कुरा नसकिदै प्रश्न गरिन्। ‘यस्तो ज्यानमारा भाइरस कसले पठाएछ गाउँमा ?’ घरको बारदलीबाट मास्टरनी बोलिन्, ‘हाम्रो गाउँमै आइसक्या त होइन क्या। आउँछ भनेर मानिसहरु तर्सेका। पख म तलै आउँछु।’ उनी तल झरिन्। ‘धेरै कुरा त मलाई पनि के थाहा। बुढाले भनेको र टिभीमा देखेको । भएन यति भने।’ तल पुग्ने बित्तिकै जवाफ दिइन्। ‘अ साच्चै टिभीमा चाहि कहिले आउँछ त?’ उत्सुकताका साथ कार्कीनीले सोधिन्। ‘पख न अब १ बजेको सम्चारमा आउँला। अघिपछि पनि आइराकै हुन्छ। टिभीले आजकाल कोरोना मात्रै भन्छ।’ कार्कीनीले मास्टरनीको घरको चित्तामा हेरिन्। दिउँसोको साढे १२ बजेको रहेछ। पढे लेखेका नभएनि घडी हेरेर समय भने छुट्याउँछिन् कार्कीनी। ‘अब आधा घण्टा त बाँकी रहेछ १ बज्न। १ बजेपछि त पक्कै भन्छ नि टिभीले। लौं आज त नहेरी भएन।’ कार्कीनी एकोहोरो बोलिन्। मास्टर्नीले जवाफ दिइनन्। टाउको मात्रै हल्लाइन् र समर्थन जनाइन्। मस्टर्नी घरधन्दामा लागिन्। कार्कीनीले भने भित्ताको घडी हेर्दै आधा घण्टा बिताइन्। एक बज्नै आट्दा फेरि बोलिन्। ‘मास्टरनी एक बज्न आट्यो त।’ काखमा छोरो पनि करायो, ‘मम्मी (आमा) पानी खाने।’ मास्टरनीले कुनै नसुनी भनिन्, ‘लौ छोरालाई पानी देऊ। यता बसेर हेर। म टिभी खोल्दिन्छु। मेरो त अझैं कति काम छ।’ मास्टरनी फेरि हराइन् काममा। कार्कीनीले चाख लाएर हेरिन् टिभीतिरै। छोरो पनि खुसी भयो। ‘आमा अब फिलम हेर्ने हो।’ पहिले पनि कहिलेकाही मास्टरकै टिभीमा फिलम हेरको थियो छोराले। कार्कीनीले ‘हो’ भन्दै छोरालाई चुप लाग्न भनिन्। घडीको टिकटिक सँगै एक बज्यो। टिभीमा समाचार आयो। मुख्य समाचारमै कोरोना। उनले ध्यान अझैं केन्द्रीत गरिन्। ‘नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो’ देशभर लकडाउन । पाच हजार क्वारेन्टाइनमा, साटी जना आइसोलेसनमा भारतमा मृतकको संख्या बढ्यो अमेरिकामा सबैभन्दा धेरैको मृत्यु हालसम्म डेढ लाखको ज्यान गयो मजदुरलाई राहत वितरण कोरोनाबाट बच्न बारम्बार हात धुने र मास्क लगाउने संक्रमितको संख्या २५ लाख नजिक। यस्तै यस्तै सुनिन् उनले मुख्य समाचारमा। समाचार चाख मानेरै सुनिन्। तर आफ्ना सबै प्रश्नको जवाफ पाइनन्। बरु मनमा थप केही प्रश्न उठे। समाचार सकिनै लाग्दा मास्टरर्नीले टिभी बन्द गरिन्। बारीमा काम गर्न जानु छ हिड ढोका बन्द गर्छु भन्दै उठेर हिँडिन्। कार्कीनी पनि घर फर्किइन्। यति र उति मरे। बारम्बार हात धुने र मास्क लगाउने बाहेकका कुनै कुरा बुझिनन्। बाटोमा घोत्लिदै सोच्न थालिन्। संक्रमित, कोभिड-१९, क्वारेन्टाइन, आइसोलेसन, पोजेटिभ, नेगेटिभ, राहत। एकएक शब्द सम्झिइन् तर कुरोको छेउटुप्पोसम्म थाहा पाइनन्। घर पुग्दा पनि उनलाई तिनै कुराले पीरोल्यो। अब कहाँ गएर जान्नु? कसलाई सोध्नु? मनमनै कुरा गरिन्। दिन बित्यो उनले जवाफ पाइनन्। साँझ पर्यो। बुढा पर्किए। उही निन्याउरो अनुहार लिएर । दिनभरि कता डुल्यौं, साँझलाई खाने कुरा के ल्यायौं ? यो भाइरस के रहेछ ? धेरै कुरा सोध्न मन थियो। तर सोधिनन्। चुलोचौकोमा लागिन्। आगो फुक्ने र धुवा मडारिने बाहेक उपलब्धी केही भएन। छोरो चिच्याइरहेको थियो। साइँली छोरी पनि घर फर्किसकेकी थिइन्। खानलाई आतुर थिए दुबै जना। सानो छोराले घरि चुलोतिर हेर्छ घरि भाडामा। छोरी त अलि बुझ्ने भैसकेकी छिन्। भोक लागेकै भए पनि बालेकी थिइनन्। भोक नलागेको त बुढाबुढीलाई पनि कहाँ छ र ? बिहानको ढिडो बोहक दिनभर कसैले केही खाएका छैनन्। निकै बेरसम्म गोमाने बोलेनन्। सोची रहे। घोत्ली रहे। तनाव, पीडा कार्कीनीलाई पनि थाहा छ तर समाधान कसैसँग छैन। निकै बेर सोचेपछि गोमाने बोले, ‘लौ केही जोहो गर।’ यति सुन्न नपाउँदै कार्कीनी बोली हालिन्। ‘के चाहि पकाउनु हौं। घरमा केही भए पो। बाँकी अलिकति मकैको पीठो छ। रोटी बनाउँदा एकै दिन पुग्दैन। ढिडो बनाउँछु। दुई तीन दिनलाई होला।’ गोमानेले नबोली सहमति जनाए। छोराले ‘ढिडो पो’ बाहेक कसैले केही बोलेनन्। ढिडो पाक्यो। खाए पनि। साँझमा बुढाबुढीको गफगाफ भयो। गोमानेले गाउँकै चौतारीमा दिन बिताएका रहेछन्। त्यहाँ स्वास्थ्य चौकीका डाक्टर (अहेव,गाउँमा सबैले डाक्टर भन्छन्) पनि आएका रहेछन्। त्यहाँ उनले कोरोना बारे सबै कुरा जान्ने अवसर पाएछन्। सबै कुरा बुढीलाई सुनाए। कार्कीनीको दिनभरिको खुलदुली भेटियो। क्वारेन्टाइन, लकडाउन, आइसोलेसन, पोजेटिभ नेगेटिभलगायत सबै कुराको जवाफ पाइन्। आफ्नो गाउँमा उक्त भाइरस आइनपुगेको पनि पत्तो पाइन्। गाउँमा आइहाल्छ कि भनेर सतर्कता अपनाइएको पनि कुरा बुझिन्। गोमानेले सम्झाए। ‘साबुन पानीले हात धोइरहनु पर्दो रहेछ। हामीसँग त छैन। खरानीले धुँदा पनि हुन्छ होला। भिडभाडमा जानु हुँदैन रे। मान्छेबाट मान्छेमा सर्छ रे। मुखमा मास्क लगाउनु भन्थे । त्यो हामीसँग छैन।’ तर अझैं एउटा प्रश्न भने अनुत्तरित नै रह्यो। जसको जवाफ गोमानेले चौतारीमा पनि सुनेनन्। यो भाइरस कहिलेसम्म रहन्छ ? यही कुरा मनमा खेलाउँदै उनीहरु सुते। ००० दिन बित्यो, रात बित्यो। अवस्था फेरिएन। एक हप्ता भैसक्यो बुढाबुढीले राम्ररी खान नपाएको। केही दिन मागेर पनि कट्यो। एक छाकको तीन छाक बनाएर पनि खाए। खाली पेटमा पटुका बाँधेर पनि बसे। तर छोराछोरीलाई मनाउन सकेनन्। भोको पेट हिँडुल गर्न पनि गाह्रो हुनथाल्यो। करिब ८ दिनपछि गाउँमा राहत बाँडियो। २० किलो चामल, दुई किलो दाल, नुन, तुल आदि आदि। हातमा राहतको सामग्री बोकेर गोमाने घर फर्किए। कपडा उही भएपनि थोपडा(अनुहार) बदलिएको थियो। सँधैको मलिन् अनुहारमा चमक थियो। भोकले गलेका गोमाने जोसिला जस्ता देखिन्थे। गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधैं आइरहे हुने। भाइरस नआए सरकारले राहत दिँदैन। आए भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमानेले ‘होइन’ मात्रै भने। धेरै बोलेनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो। कार्कीनी मुसुक्क हाँसिन् मात्रै। सायद मौन समर्थन जनाइन्। छोरी बोलिनन्। घर पुग्नेबित्तिकै चुल्हो बाल्न भने। कार्कीनीले सोधिनन् चामल कहाँबाट ल्यायौं। कसले दियो। हतारहतार चुल्हो बालिन्। घरमा भात दाल पाक्यो। माघीमा भात खाएको छोराले बैशाखको खडेरीमा फेरि भात खान पाउने भयो। छोरी र बुढाबुढीले पनि। केही दिनदेखिको भोको पेटमा भात पस्ने भयो। छोराछोरीमा उत्साह छायो। छोराले सोध्यो, ‘आज कुन तिहार हो बाबा? ‘तिहार होइन। कोरोनाका कारण सरकारले राहत बाँडेको रहेछ। हामी जस्तै खान नपाएकाहरुलाई। त्यहीबाट ल्याएको चामल।’ गोमानेले जवाफ दिए। कार्कीनीले पनि सुनिरहिन्। तर केही बोलिनन्। भात पाक्यो। कार्की परिवारलाई दशैं आयो। टन्न भात खाएपछि कार्कीनीले सोधिन्। ‘यो राहत कति दिनलाई पुग्ला? बाह्र, पन्ध्र दिन। त्यसपछि फेरि दिन्छ रे ? दिए त राम्रै हैं।’ गोमानेले उत्तर दिन नपाउँदै छोरो बोल्यो। ‘यो भाइरस त राम्रो रहेछ। सँधै. आइरहे हुने हैं। भात खान पाइदो रहेछ।’ छोराको कुरा सुनेपछि गोमाने बोले, त धेरै होइन। ‘होइन होइन।’ कुरा प्रष्ट्याएनन्। सायद उनलाई पनि भाइरसका कारण भात खान पाएकोमा खुसी थियो होला। कार्कीकनी मुसुक्क हासिन मात्रै। छोरी बोलिनन्। ००० राहतको भात खान थालेको पनि हप्ता बित्यो। अब थोरै दिनलाई पुग्ने चामल मात्रै बाँकी थियो। लकडाउन खुलेन। फेरि राहत दिन पनि कोही आएन। अब फेरि के हुने हो ? के खाने हो भन्ने चिन्ताले सताउन थालिसक्यो गोमाने र कार्कीनीलाई। यो भाइरस कहिलेसम्म रहन्छ भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास पनि दुबै जनाले धेरै गरे। मास्टर, मास्टरनी, मुखिया, चोक, चौतारो वा डाक्टर सकैले जवाफ दिएनन्। ‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’ गोमाने सोच्थे। भाइरस सकिए काम गर्न पाइन्थ्यो। काम गरे खानलाई समस्या थिएन। गाउँमा अझैं पनि कसैलाई केही भएको छैन। ‘किन लकडाउन भनेका होलान्। काम त गर्न दिए पनि हुने नि।’ कार्कीनीले बोलिन। सहमति जनाउँदै गोमानेले थपे। ‘साहुकोमा गएर पनि सोधेको, घर नजिकै नआइजा भन्छन्। काम त के दिन्थे।’ ‘भाइरस आइहाले पनि गाउँमा कसलाई लाग्ला हैं। साहुलाई त नलागे नि हुने। राहत दिने सरकारलाई त नलागे नि हुने।’ कार्कीनी बिचैमा बोलिन्। ‘साहु त नमर्नु पर्ने। मरे हामीलाई कसले काम दिन्छ। अनि के खाएर बाच्नु?’ सानो छोरो बिचैमा बोल्यो, ‘भाइरस त सँधै रहे हुन्छ। भात खान पाइन्छ।’ बुढाबुढीले कुनै प्रतिक्रिया जनाएनन्। भाइरस र ज्यानकोभन्दा उनीहरुलाई खानको पीरलो छ। फेरि काम गर्न पाइएला कि नपाइएला? सरकारले दोस्रोपल्ट राहत देला कि नदेला भन्ने पीर छ। सारा संसार ध्वस्त होस् वा गाउँमै भाइरस पसोस्। चिन्ता छैन उनीहरुलाई। राहत दिने सरकार नमरोस्। साहुलाई कोरोना नलागोस्। बस उनीहरु यही प्राथना गरिहे।…. [email protected]

९ दिनमै कोरोना जित्ने भन्छन्, ‘हल्ला धेरै भए पनि निको हुने रहेछ’

काठमाडौं । काठमाडौंमा बहिनीज्वाइँको उपचारका क्रममा कोरोना संक्रमण भएका तुलसीपुर उपमहानगरपालिका वडा नं – ४ का भीमबहादुर वली कोरोनालाई जितेर घर फर्किएका छन्। काठमाडौंबाट तुलसीपुर उपमहानगरपालिकाको एम्बुलेन्सबाट आज घर फर्किएका वलीलाई रक्षाचौरस्थित क्वारेन्टिनमा नगर प्रमुख घनश्याम पाण्डेले फूलमालाले स्वागत गरे। ‘‘कोरोना जित्नुभएकामा तपाईँलाई धेरै धेरै बधाई ’’, नगर प्रमुख पाण्डेले भने। नगर प्रमुख पाण्डेले वलीलाई पोषण आहारका लागि अण्डा, स्वास्थ्य सामग्रीसमेत प्रदान गरेका थिए। लामो समय बहिनीज्वाइँको उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्जमा बसेका ४६ वर्षीय वलीलाई त्यही बेला कोरोना संक्रमण देखिएको हो। स्वाब लिएको दुई दिनमै केही काम छ भन्दै पाटन अस्पताल पुर्‍याइएपछि स्वास्थ्यकर्मीले एकाएक कोरोना संक्रमण भएको जानकारी दिँदा निकै डर लागेको उनले आफ्नो अनुभव बताए। यही जेठ ३ गते कोरोना संक्रमित भएको खबर पाएका वलीले जेठ १२ गतेसम्म तीन पटक जाँच गर्दा रिपोर्ट नेगेटिभ भन्ने खबर पाइएको बताए। ‘‘हल्ला धेरै भए पनि निको हुने रोग रहेछ, नौ दिनमै म ठीक भएँ’’, उनले भने।