यस वर्ष मनसुन एक साता ढिलो भित्रिने
काठमाडौं । यस वर्ष नेपालमा मनसुन एक साता ढिलो भित्रिने भएको छ । दक्षिण भारतको केरला हुँदै मनसुन प्रवेश गर्दछ । केरलामा मनसुन भित्रिने समय जुन १ हो । तर यस वर्ष सो स्थानमै ढिलो अर्थात् जुन ५ भन्दा अगाडि मनसुन नभित्रिने सङ्केत देखिएकाले यहाँ पनि एक साता ढिलो मनसुन भित्रिने अनुमान गरिएको मौसमविद् विभूति पोखरेलले जानकारी दिए । गत वर्ष पनि १० दिन ढिलो अर्थात् (२० जुन) मा मनसुन भित्रिएर असोज २५ मा बाहिरिएको थियो । उनका अनुसार मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघगर्जन हावाहुरीसहित वर्षा हुने गर्दछ । हाल पश्चिमी वायु, पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखा र स्थानीय वायुको प्रभाव रहेको छ । यी प्रणाली विकसित हुने क्रमै रहेकाले पनि मनसुन ढिलो भित्रिने अनुमान मौसमविद्को रहेको छ । एउटा प्रणाली आएपछि अर्को प्रणाली आउन केही समय लाग्छ । यसका साथै मनसुन भित्रिनका लागि दक्षिणपूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करिब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ । तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन । जलवाष्पयुक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने बताइएको छ । मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव चार डिग्री र अधिकतम तापक्रम २७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ४० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । रासस
यस्ता छन् बीमा समितिले दिएका बजेट सुझावहरु
काठमाडौं । बीमा समितिले बजेट सुझाव स्वरुप सबै प्रदेश र स्थानिय तहमा बीमाको पहुँचमा पुर्याउन आवश्यक रहेको कुरा उठान गरेको छ । समितिले हरेक नेपालीलाई प्राकृतिक जोखिमबाट रक्षावरण गरी बीमाको दायरामा ल्याउँने कुरा आफ्नो सुझाव पत्रमा उठान गरेको हो । बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलका अनुसार अबको केही घण्टामा बजेट भाषण सुरु हुने भएकाले बजेटमा समितिले उठान गरेका कुराहरु समावेस भएमा त्यसको प्रभाव पूरा बीमा क्षेत्रमा पर्न जाने तथा रक्षावरणमा सहज हुने उनको भनाई छ । ‘हामीले उठाएका कुराहरु बजेटमा समावेस भएमा बीमा क्षेत्रमा रक्षवरणमा थप सहज हुने थियो’, समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल विकासन्युजसँग भने । कृषि क्षेत्र ः बीमा समितिले कृषि क्षेत्रको उत्पादनको सुनिश्चितता र स्वरोजगार सिर्जना गर्ने कार्यमा आउँन सक्ने जोखिमलाई रक्षावरण गर्ने जनाएको छ । समितिले उक्त जोखिमलाई बाली तथा पशुपक्षी बीमा मार्फत रक्षावरण गर्ने जनाएको हो । लघु बीमा ः बजेट सुझावमा विपन्न तथा न्यून आय भएका वर्गमा बीमाको पहुँच बिस्तार गर्न लघु बीमाको बीमाशुल्कमा नेपाल सरकारबाट ७५ प्रतिशत अनुदान प्रदान गर्ने जनाईएको छ । जीवन बीमामा कर छुट – यस्तै, जीवन बीमा गर्दा हाल २५ हजार रुपैयाँसम्म कर छुट हुन्छ । समितिले उक्त करको सिमा बढाई ५० हजार रुपैयाँसम्म कर छुटको व्यवस्था माग गरेको छ । नेपाल सरकार तथा सरकारी स्वामित्वमा रहेका सम्पत्ति र नागरिकको सम्पत्तिको सुरक्षण गर्न स्थानीय तहसँग समन्वय गरी सम्पत्ति बीमा गर्ने व्यवस्था गर्न माग गरेको छ । समितिले सुरक्षण गर्नु पर्ने नागरिकको सम्पतिमा घर, भवन, पुल, मठ, मन्दिर शिक्षण संस्था, अस्पताल आदिलाई तोकेको छ ।
टेलिकमको मोबाइल बोक्नुहुन्छ ? ५ सय रुपैयाँमा ११ सय मिनेट कुरा गर्न पाइन्छ, भ्यालिडिटी ४२ दिनको
काठमाडौं । हाल नेपाल टेलिकमले विभिन्न प्रकारका प्याकेजहरु संचालन गरिरहेको । उक्त प्याक डाटा (ईन्टरनेट) तथा कल (भ्वाईस) दुवैमा उपलब्ध छन् । यस्तो छ भ्वाईस प्याक एनटीसीका ग्राहकहरुले १२ रुपैयाँको भ्वाईस प्याक लिएमा १४ मिनेटसम्म कल गर्न सक्छन् । उक्त सुविधा २४ घण्टाको लागि उपलब्ध हुन्छ । यस्तै, २५ रुपैयाँको भ्वाईस प्याक लिएमा ४० मिनेटसम्म कुरा गर्न पाइन्छ । उक्त प्याकमा २० मिनेटको बोनस समावेस गरिएकोले कुल कुरा गर्न पाइने समय ६० मिनेट हुन्छ । यस्तो सुविधा भने २४ घण्टाका लागि उपलब्ध हुन्छ । ३० रुपैयाँको प्याकले ३ दिनसम्म कल गर्न सकिन्छ । सो प्याकमा ४० मिनेको समय तोकिएको छ । ६० रुपैयाँको प्याकमा ७ दिनसम्म कुरा गर्न सकिन्छ । सो प्याकले तोकिएको ७ दिनभित्रमा ७५ मिनेटसम्म कुरा गर्न मिल्छ । यसरी नै १ सय रुपैयाँको प्याकले ७ दिनसम्म कुरा गर्न मिल्छ । सो प्याकमा १ सय ९० मिनेट कल सुविधा तथा थप ९५ मिनेटको बोसन पनि पाउँन सकिन्छ । २ सय ४० रुपैयाँको भ्वाईस प्याकमा ४ सय ९० मिनेटसम्म कुरा गर्न सकिन्छ । सो प्याकको अवधि २८ दिनलाई तोकिएको छ । ५ सय रुपैयाँको प्याकमा ४२ दिनसम्म कल गर्न मिल्छ । उक्त प्याक लिएमा ग्राहकहरुले ११ सय मिनेटसम्म कुरा गर्न सक्नेछन् । नेपाल टेलिकमले उपलब्ध गराएको भ्वाईस प्याक सेवा नेपाल टेलिकमकै अर्को सिममा कल गर्दा मात्र लागू हुनेछ । कतिपय प्याकहरु भने अन्य नेटवर्कमा कुरा गर्न मिल्ने पनि छन् । स्टे कनेक्टेड प्याक लोकप्रिय नेपाल टेलिकमले दिएको जानकारी अनुसार स्टे कनेक्टेड प्याक हाल उपभोक्तामाझ लोकप्रिय बन्न छ । ‘ग्राहकहरुलाई नयाँ पुरानो विभिन्न प्याकको सुविधा हामीले दिँदै आएका छौँ तर पछिल्लो समय स्टे कनेक्टेड प्याकमा ग्राहकहरुको आकर्षण राम्रो छ’, नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले विकासन्युजसँग भने । के छ ‘स्टे कनेक्टेड’ प्याकमा ? सय रुपैयाँमा ५ दिनका लागि ४ जिबी डाटा प्याक पाउँने व्यवस्था स्टे कनेक्टेड प्याकमा छ । उक्त ४ जिबी डाटा मध्ये ३ जिबी भने टेलिकमले बोनस स्वरुप दिएको हो । यो प्याक खरिद गरेमा २ सय रुपैयाँमा १० जिबी डाटा पाउँन सकिन्छ । सो डाटाको अवधि ७ दिनका लागि तोकिएको छ । टेलिकमले २ जिबी अल नेट तथा ८ जिबी बोनस स्वरुप शुल्क र अवधि तोकेको हो । यस्तै, मात्र २५ रुपैयाँमा पनि १ दिनका लागि नेपाल टेलिकमको डाटा प्याक चलाउन सकिन्छ । यस प्याकमा २० मिनेटको समयमा थप ४० मिनेटको बोनस नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई दिँदै आएको छ । सय रुपैयाँमा ७ दिनसम्म डाटा प्याक चलाउँने सुविधा छ । सो प्याक अन्र्तगत टेलिकमले ९५ मिनेटमा थप १ सय ९० मिनेट ग्राहकहरुलाई बोनस स्वरुप प्रदान गर्दै आएको छ । यसरी टेलिकमले ग्राहकहरुलाई स्टे कनेक्टेड प्याकको सुविधा दिँदै आएको हो । सो प्याक नै पछिल्लो समय एनटीसीका अन्य थुप्रै प्याकहरु माझ लोकप्रिय बनेको छ । यस्तै, एनटीसीले स्प्रीङ्ग, सोसल मिडीया, अनलिमिटेड नाईट डाटा, भ्वाईस, फोरजी अफर, वान जिबी परडे, इन्टरनेशनल सर्भिस, वान आवर अन लिमिटेड, डे–प्याक स्टे कनेक्टेड लगायत विभिन्न प्याकहरु पनि संचालनमा छन् ।
लकडाउन सुरु भए यता ७५ वटा व्यवसाय कारबाहीमा
काठमाडौं । लकडाउन सुरु भए यता मात्र १ सय ६५ उद्योग व्यवसाय (फर्म)मा अनुगमन भएको छ । कोरोनाको महामारी फैलिएसँगै गत चैत ११ गतेदेखि लकडाउन सुरुभएको यता ७५ वटा व्यवसाय (फर्म) बजार अनुगमनको क्रममा कारवाहीमा परेको उद्योग, वाणिज्य तथा आपूर्ति संरक्षण विभागले जानकारी दिएको छ । गत चैत ११ गते यता बजार अनुगमन तथा निरीक्षणको क्रममा कारबाहीमा परेका व्यवसायीबाट जरिवाना वापत १ करोड २ लाख ६५ हजार रुपैयाँ उठेको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताएका छन् । लकडाउनकै क्रममा सामान्य अवस्थामा ५६ वटा व्यवसायहरु, १९ वटा व्यवसायलाई सामान्य कैफियतमा तत्कालै सुधार गर्न निर्देशन दिएको थियो । खान अयोग्य वा म्याद सकिएकाले तत्कालै नष्ट गर्न लगाइएको रकम ९ हजार ८ सय ४८ रुपैयाँ त्यस्तै लकडाउन यता नै २ वटा वस्तु परीक्षणकै लागि नमुना लिइएको छ । ५ वटा व्यवसायको कारोबार शिलबन्दी गरेको छ । आवश्यक कागजात वा स्पष्टिकरण पेश गर्न १० वटा व्यवसायलाई विभागले निर्देशन दिएको छ । आर्थिक वर्ष २०७६/७७ शुरु भएदेखि जेष्ठ १ हजार ७ सय ६२ वटा फर्मको अनुगमन भएको जसमा ५ सय ४५ व्यवसायी फर्मबाट ३ करोड ८ हजार ५ सय रुपैयाँ जरिवाना उठाएको विभागले जानकारी दिएको छ । त्यस्तै गत साउनदेखि उपत्यका बाहिरी ३ सय २४ व्यवसाय अनुगमनमा गरेकोमा ९८ वटा व्यवसाय जरिवानामा परेका छन् । जसबाट ८२ लाख १० हजार रुपैयाँ उठेको छ उद्योग, वाणिज्य तथा आपूर्ति संरक्षण विभागका सूचना अधिकारी ध्रुव खनालले जानकारी दिए ।
श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेकाे भन्दै श्रीमानविरुद्द दुरुत्साहन मुद्दा
कैलाली । कैलालीमा श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै श्रीमान विरुद्द आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको छ । जिल्लाकाे लम्की–चुहा नगपालिका वडा न. ७ खरौलाकी पैतिस वर्षीया सरिता भण्डारीले मंगलबार बिहान आफ्नै घरमा किट्नाशक औषधिको सेवन गरेकी हुन् । उनलाई उपचारका लागि कोहलपुर अस्पताल लैजाद गर्दा बाटैमा निधन बताइएको छ । उनको मृत्यु पछि मृतकका दाई झंकर बहादुुर विष्टले उनका श्रीमान विरुद्ध लम्की–चुहा नगरपालिकाको ईलाका प्रहारी कार्यालयमा आत्महत्या दुरुत्सहानको मुद्धा दर्ता गराएका हुन् । उनका श्रीमानले विवाह भएका केही वर्षदेखि नै मानसिक यातना दिदैँ आइरहेको आरोप मृतकका दाईले लगाएका छन् । मृतकका श्रीमान भक्त भण्डारीले वर्षौदेखि म अर्को विहे गर्न चाहन्छु र सरिता मरेपछि मात्रै सम्भव हुने भन्दै आफ्नी बहिनीलाई मानसिक यातना दिदैं आइरहेको ओराप झंकर बहादुर विष्टको छ । मृतकका दाई झंकर बहादुर विष्टले प्रहरी कार्यलयमा दिएको जाहेरीमा भनेका छन्, ‘सन्तानको जन्म भइसक्दा पनि निजले बारम्बार यातनाको क्रम जारी नै राखेका थिए, कमजोर आर्थिक स्थितिको कारण श्रीमान विदेशमा गई पैसा कमाउने र मृतक बहिनीले घर व्यवहार र बालबच्चाको रेखदेख गर्ने क्रममा पनि विदेशबाट फोनमार्फत मानसिक तनाब दिँदै आएका थिए, म अर्को बिहे गर्न चाहन्छु, तैँले मरे पनि हुन्छ जस्ता मानसिक पिडा हुने शब्द गर्दौ आएका थिए ।’ ईलाका प्रहरी कार्यालय लम्किचुहाका प्रहरी महानायव निरीक्षक ज्ञानेद्र चन्दले मुद्दा दर्ता भइसकेको जानकारी दिए । उनले पक्राउ पुर्जी जारी भएपछि मात्र आरोपितलाई नियन्त्रणमा लिने जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको उनको भनाई छ । मृतकका श्रीमान भक्त भण्डारी विगत लामो समयदेखि रोजगारीका लागि मेलिसियामा थिए । उनी दुई महिना अघि मात्रै मलेसियाबाट नेपाल आएका थिए । शवको पोस्टमर्टम् रिपोर्ट केही दिनमै आउने बताइएको छ । मृतकका दुई छोरा छन् ।
कोरियाले लगायो मधुमेहका ३१ औषधिमा प्रतिबन्ध
काठमाडाैं । मधुमेहको औषधिमा प्रयोग हुने ‘कार्सिनोजिन’ ले क्यान्सर हुने खतरा थपिने भन्दै कार्सिनेजन प्रयोग हुने विभिन्न ३१ प्रकारका औषधिलाई दक्षिण कोरियाले उत्पादन तथा बिक्रीमा प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य निकायका अनुसार ‘कार्सिनोजिन’ मात्रा समावेश भएका औषधि प्रयोगले क्यान्सरको जोखिम रहने एक अनुसन्धानको निष्कर्षपछि ती औषधि उत्पादन तथा बिक्रीलाई प्रतिबन्धित गरिएको हो । ती सबै मेटफर्मिनमा आधारित औषधि हुन् । यी औषधि बयस्क बिरामीका लागि सिफारिस हुने औषधि हुन् । हाल दक्षिण कोरियामा यी औषधिको सेवन गर्ने बिरामी दुई लाख ६० हजार बढी रहेका बताइएको छ । कोरियाली खाद्य तथा औषधि सुरक्षा मन्त्रालयले मधुमेहका लागि प्रयोग हुने अन्य २५७ औषधिमा पनि ‘कार्सिनोजिन’ को मात्रा भए/नभएको परीक्षण गरिरहेको बताएको छ । परीक्षण भएकामध्ये ३१ औषधिमा एन नाइट्रो सोडियम थाइलामाइनको मात्रा अनुमति दिइएको भन्दा बढी भएको पाइएको छ । जेडब्ल्यु फर्मा, हुटेक्स कोरिया र हान्मी फार्ममा उत्पादित ग्याडमेट, गल्लेस–एम र ग्लाइमफोल चक्कीजस्ता औषधिमा ‘कार्सिनोजिन’को मात्रा तोकिएको मापदण्डभन्दा बढी भेटिएको र यिनीहरूलाई प्रतिबन्ध गरिएको जानकारी छ । रासस
पाकिस्तानमा पनि बढ्दै कोरोना भाइरसका संक्रमित
इस्लामावाद । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको छ । प्राप्त समाचारअनुसार पाकिस्तानमा संक्रमितको संख्या ६१ हजार २ सय २७ पुगेको सोमबार पाकिस्तानी अधिकारीले बताएका छन् । विगत २४ घण्टामा पाकिस्तानमा २ हजार ७६ संक्रमित थपिएका बताइएको छ । पाकिस्तानमा संक्रमित मध्येका १ हजार २६० व्यक्तिको अहिलेसम्म मृत्यु भएको पनि अधिकारीहरले जानकारी दिएका छन् । पाकिस्तानमा बुधबार मात्र ३५ जना संक्रमितको ज्यान गएको छ । पाकिस्तानी समाचार संस्था जिओ न्यूजले सबैभन्दा बढी प्रभावित पाकिस्तानको सिन्ध राज्यमा रहेको बताएको छ । त्यसपछि कोरोना भाइरस संक्रमित राज्यमा पञ्जाव, खैबर पाख्तुनख्वा,बालोचिस्तान, गिलगित बाल्टिस्तान, इस्लामावाद र पाकिस्तान प्रशासित काश्मिरमा रहेका छन् । संक्रमितहरुमध्ये २० हजार २३१ जना व्यक्ति उपचारपछि निको भएर घर फर्किएका पनि प्राप्त समाचारमा जनाइएको छ । अधिकारीहरुले यहाँका विभिन्न अस्पतालमा ३९ हजार ७३६ जना संक्रमितले उपचार गराइरहेको जनाएका छन् । रासस/ सिन्ह्वा
रसियाद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित
मस्को । रसियामा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरु स्थगित भएका छन् । रसियाली राष्ट्रपतिको कार्यालयले कोरोना भाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै उक्त दुबै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ । यी बैठकहरु सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए । क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्याँकन गरी नयाँ मिति घोषणा गरिनेछ । रासस/एएनआई