विकासन्युज

नेपालमा कोरोना संक्रमित १ हजार नाघे, ५१ जिल्लामा फैलियो संक्रमण

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे संख्या १ हजार नाघेकाे छ । बिहिबार १ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएसँगै नर्पालमा काेराेना संक्रमितकाे संख्या १ हजार नाघेकाे  हाे । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । याेसँगै याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितकाे संख्या १ हजार ४२ पुगेकाे छ । यस्तै चार नयाँ जिल्लामा संक्रमित देखिएसँगै नेपालका ५१ जिल्लामा संक्रमण फौलिएको छ ।  हालसम्म १ सय ८७ जना निकाे भएर घर फर्किएका छन् भने ५ जनाकाे मृत्‍यु भएकाे छ ।  

बजेटमा निर्माण र पर्यटन व्यवसायीका सुझावः कर छुट, जरिवाना मिनाहादेखि विशेष उद्योगमा परिभाषित गराउनेसम्म

काठमाडाैं । अर्थमन्त्री युवराज खतिवडाले आज संसदमा आर्थिक वर्ष २०७७/७८को बजेट प्रस्तुत गर्दैछन् । बजेट ल्याउनुभन्दा अगाडि विभिन्न संघ संस्थाहरुले सरकारलाई आफुलाई बजेटमा प्राथमिकताकासाथ समेट्न सुझाव पनि पेश गरिसकेका छन् । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण तीव्र भयरहेको बेला सुस्त भएका विभिन्न उद्योगी व्यवसायीहरुले सरकारलाई व्यवसायको पुर्नजीवनका लागि आफुलाई बजेटमा प्राथमिकताकासाथ समेट्न आग्रह गरिसकेका छन् । नेपाल निर्माण व्यवसायी महासंघले पनि चालु आर्थिक वर्षको बजेट मार्फत निर्माण व्यवसायमा राहत प्याकेजदेखि निर्माण क्षेत्रको पुर्नत्थानका लागि बजेटमा विभिन्न विषयहरु समेटन् माग गरेको छ । विशेष गरेर महासंघले स्थानीय स्तरमा लक्षित गर्दै निर्माण कार्यहरु संचालन गर्न २ करोड देखि ५ करोडसम्म सम्बन्धित जिल्लामा र २५ करोडसम्म प्रदेश स्तरमा आयोजनाहरु निर्माण गरी रोजगारी सिर्जना गर्नुपर्ने महासंघको सुझाव छ । यस्तै,ठूला आयोजनाहरुमा स्वदेशी निर्माण कम्पनीलाई लक्षित गरी आयोजनाहरुको प्याकेजिङ गर्नुपर्ने महासंघले जनाएको छ । लकडाउनले गर्दा निर्माण कार्य हुन नसकेको हुँदा ती खरीद कार्यहरुको म्याद थप गर्दा पेश गर्नु पर्ने बैंक ग्यारेण्टी र बीमाको नविकरण शुल्क मिनाहा गरिनु पर्ने माग महासंघको छ । लकडाउनका कारण विकास निर्माणका कार्यहरु हुन नसकेको र लकडाउन खुले पनि अब विकास निर्माणका कार्यहरु मंसिरबाट मात्र संचालनमा आउने हुँदा निर्माण व्यवसायीहरुले बैंक ऋण तिर्न नसक्ने भएकाले २०७६ चैत्र देखि २०७७ पौष मसान्तसम्मको सावा र व्याज किस्ता रकम थप गरी पुर्नकर्जा प्रदान गरी चौबिसे महिने किस्ता गर्न निर्देशन गरिदिन महासंघले माग गरेको छ । ब्याज रकमलाई बिना जरिवाना र हर्जाना साँवामा परिणत हुने गरी व्यवसायीहरुलाई राहत स्वरुप सो परिणत भएको साँवा रकम पुर्नकर्जा स्वरुप प्रंदान गरिनु पर्ने माग महासंघको छ । यस्तै, पर्यटन व्यवसायीहरुले पनि कोरोना भाइरसको कारण सबैभन्दा बढी पर्यटन क्षेत्रलाई असर परेको भन्दै पर्यटनलाई विशेष प्राथमिकताका साथ बजेट छुट्यनाउनु पर्ने बताएका छन् । उनीहरुले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा त्यति राम्रा कार्यक्रमहरु नसमेटिए पनि अब बजेटमा पर्यटन व्यवसायीहरुलाई राहत हुने खालका कार्यक्रम आउनेमा विश्वास लिएको बताएका छन् । उनीहरुले नेपाल भ्रमण वर्ष सफल पार्न करोडौं ऋण लगानी गरेका पर्यटन व्यवसायीहरु बैंक व्याज तिर्न असमर्थ रहेकाले त्यसको अवधि बढाई व्याज मिनाहा गर्नु पर्ने सुझाव दिएका छन् । पर्यटन व्यवसायीहरुलाई बिना धितो २० लाख सहुलियत ऋण २ प्रतिशत मा दिने व्यवस्था गर्नुपर्ने, पर्यटन क्षेत्रमा मुल्यअभिवृद्धि कर छुट गर्नु पर्ने, पर्यटन व्यवसायीका लागि लाग्ने विभिन्न जरिवाना मिनाहा गर्नु पर्ने लगायतका मागहरु पनि बजेटमा राखेका छन् । यस्तै, सरकारी तथा निजी सबै कर्मचारीहरुले वर्षको एकपटक अवश्य घुम्न जानुपर्ने व्यवस्था सरकारले गर्नुपर्ने, महँगो ठाउँमा पर्यटन व्यवसाय गर्दे आएका पर्यटन व्यवसायीको आधा घरभाडा सरकारले तिर्नुपर्ने, अलपत्र परेका पर्यटन व्यवसायीको तत्काल उद्दार गर्नु पर्ने सुझाव तथा मागहरु पनि यो बजेटमा समेट्नु पर्ने उनीहरुको सुझाव छन् । पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र पुनर्जीवनको लागि विशेष वित्तीय सुविधा सहितको प्याकेज ल्याई पर्यटन उद्योगलाई विशेष उद्योगको परिभाषामा अन्तर्गत राखिनु पर्ने पनि माग राखेका छन् । यस्तै,त्रिभुवन अन्तर्रा्ष्ट्रिय बिमानस्थलको स्तरोन्नती, गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थलको २०७७ साल भित्र निर्माण सम्पन्न गर्नुपर्ने, मूख्य पर्यटकीय गन्तव्य जस्तै पोखरा, लुम्बिनी, मुक्तिनाथ, चरिकोटलाई जोड्ने सडकहरुको स्तरउन्नती यथासिघ्र गर्नुपर्ने लगायतका मागहरु उनी उनीहरुले राखेका छन् ।

सनराइज बैंकका ग्राहकले औषधि किन्दा २२ प्रतिशतसम्मको छुट पाउने

काठमाडौं । सनराइज बैंकका ग्राहकले घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२ प्रतिशतसम्म छुट र क्यास ब्याक पाउने भएका छन् । बैंकले ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै उक्त व्यवस्था ल्याएको हो । बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराइज बैंकको क्यू.आर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि खरिद तथा ब्लड टेष्ट फ्रम होम सुबिधा लिने ग्राहकहरुलाई १२ प्रतिशत छुट र १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक प्रदान गर्नेछ । त्यसका साथै ग्राहकहरुले बैंकको कार्ड वा क्यू.आर कोड प्रयोग गरी आवश्यक मेडिकल किट जस्तै मास्क, पन्जा, सेनिटाइजर, स्प्रे तथा अन्य सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको विशेष छुट पनि पाउन सक्नेछन् । अवस्थाको जटिलता तथा ग्राहकहरुको सहजता, सुविधा र सुरक्षालाई ध्यानमा राखेर बैंकले काठमाडौं अरगेनिक, नेप मेड्स, मेरो किराना र फुडमाण्डुमा आवश्यक सामान खरिद गर्दा १० प्रतिशत वा ५०० रुपैयाँसम्म क्यास ब्याक पाउन सक्ने व्यवस्था गरेको छ । त्यस्तै, घरमा नै सुरक्षित बसी डिजिटल बैंकिङ सुविधाको उपभोग गर्न बैंकले ग्राहकलाई आग्रह गरेको छ । साथै, बैंकले ग्राहकको सहजतालाई ध्यानमा राख्दै देशव्यापी ए.टि.एम नेटवर्क, अनलाइन बैंकिङ्ग सेवाका साथै केहि नगद काउन्टर, रेमिटयान्स सेवाहरु सुचारु राख्दै आएको छ ।

सरोकारवाला सबैले प्रश्न उठाउँदा पनि सरकारको ध्यान किन आरडीटीमै ?

काठमाडौं । आरडिटी अर्थात र्यापिड डायगोनेस्टिक किट हाल कोरोना परीक्षणमा नेपालमा प्रयोग भइरहेको किट हो । शरीरमा भाईरसको एन्टिबडी छ कि छैन भनेर करिब २५ मिनेटको वरिपरीमा यस किटले नतिजा दिने गरेको छ । हाम्रो शरीरले जहिले पनि कुनै पनि रोगसँग लड्नको लागि एन्टिबडी उत्पादन गर्छ । वैज्ञानिकहरुले यही एन्टिबडीलाई आधार मानेर परीक्षण गर्नको लागि र्यापिड डायग्जनोस्टिक किट विधि ल्याएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशका डा. रुणा झा बताउँछिन् । ‘एन्टिबडी पत्ता लगाएर रोग पत्ता लगाउने विधि भने नयाँ होईन । डेंगु, हेपाटाईटिस, ऐड्सहरुको पनि हामीले यही एन्टिबडीको मार्फत रोग पत्ता लगाउने गरेका छौं,’ डा. झाले भनिन् । जब कोरोना भाईरस (कोभिड–१९) हाम्रो शरीरमा प्रवेश गर्दछ, तब हाम्रो शरीरले त्यससँग लड्नको लागि प्रकारका एन्टिबडी उत्पादन गर्दछ । कोभिड १९ सँग लड्नको लागि पनि हाम्रो शरीरले दुई प्रकारकै एन्टिबडि उत्पादन गर्दछ । आईजीएम यो एन्टिबडी रोग लागेको सामान्यत एक हप्तापछि शरीरले उत्पादन गर्दछ । तर व्यक्ति पिच्छे आईजीएम फरक पर्न जाने र यो शरीरमा २ देखि ३ हप्तासम्म रहने विज्ञले बताएका छन् । आईजीजी यो एन्टिबडी रोग लागेको २ हप्तापछि शरीरले उत्पादन गर्दछ र यो शरीरमा महिनौंसम्म रहन सक्छ । सुरुमा रोग लागिसकेपछि शरीरमा भाईरस मात्र भेटिने र पछि गएर १ हप्तामा आईजीएम र दुई हप्ता बितिसकेपछि आईजीजी पनि भेटिने गर्दछ । यस्तै रोग लागेको एक महिनापछि भाईरस र आईजीएम नेगेटिभ हुनसक्ने तर आईजीजीएम महिनौसम्म रहने गर्दछ । यसको मतलब सुरुमा परीक्षण गर्दा पिसिआर मात्र पोजेटिभ आउन सक्ने र एन्टिबडीको लागि गरिने परीक्षण नेगेटिभ आउनसक्छ । त्यस्तै दुई तीन हप्तापछि परीक्षण गर्दा पिसिआर पनि पोजेटिभ आउने र एन्टिबडी पनि पोजेटिभ आउन सक्छ । र, तीनदेखि चार हप्तापछि पिसिआर नेगेटिभ आउने र एन्टिबडी पोजेटिभ आउने हुन्छ । किन विवादमा आयो आरडिटी ? आरडिटी विवादमा आउनुको मुख्य कारण यो जुन देशमा उत्पादन भएको छ, त्यस देशमा नै यसले मान्यता पाएको छैन । यसमा आउने नतिजा पनि भरपर्दो नरहेको र करिब ३० देखि ५० प्रतिशत नतिजामा त्रुटी आउने गरेकोले झनै तनाव पैदा गरोउने विज्ञहरु बताउँछन् । यद्यपि, विवादमा आए तापनि सरकारले यो किट किन्ने काम भने रोकेको छैन । सरकारले करिब ३ लाखको हारहारीमा आरडिटी किनिसकेको स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । राष्ट्रिय अनुसन्धान परिषद्ले उठायो प्रश्न आरडिटीको गुणस्तरमाथि चौतर्फि ओलोचना सुरु भएपछि स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले किटको अध्ययन गरेर त्यसको सिफारिसको आधारमा प्रयोग गरिने बताएका थिए । तर, सरकारले किटको गुणस्तरबारे स्वास्थ्य अनुसन्धान परिषद्को रिपोर्ट समेत नपर्खी त्यसलाई मन्त्रिपरिषद मार्फत पास गराई प्रयोगमा ल्यायो । भर्खरै मात्र स्वास्थ्य अनुसन्धान परिषद्ले आरडीटी किट अध्ययन, अनुसन्धान गर्न मिल्ने तर कोभिड–१९ को निदान प्रक्रियामा प्रयोग गर्न नमिल्ने प्रतिवेदन मन्त्रालयलाई बुझाएको छ । परिषदले दिएको सुझावमा समुदायमा एकै पटक ठूलो संख्यामा केस आए संक्रमित पत्ता लगाउन आरडीटी विधिमार्फत परीक्षण गर्न सकिने उल्लेख गरिएको छ । क्लिनिकल माईक्रोबायोलोजिस्ट संघ पनि विपक्षमा नेपाल क्लिनिकल माईक्रोबायोलोजिस्ट संघले पनि आरडिटीको गुणस्तरमा प्रश्न उठाएको छ । आरडिटी परीक्षण विधि भरपर्दो नभएको र कोरोना संक्रमितको पहिचानको लागि पर्याप्त नभएको भन्दै संघले मन्त्रालयलाई सुझाव दिएको छ । के भन्छन् विज्ञहरु ? जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे आरडिटी किट अनुसन्धान, अध्ययनको लागि प्रयोग गर्ने किट रहेको बताउँछन् । यसलाई संक्रमण फैलिएको क्रममा प्रयोग गर्नु बेकार भएको उनको भनाइ छ । आरडिटी परीक्षणमा करिब ३० देखि ५० प्रतिशत नतिजामा त्रुटी हुने उनी बताउँछन् । ‘आरडिटी पोजेटिभ आएपनि पिसिआर नै गर्नुपर्छ र नेगेटिभ आएको अवस्थामा पनि पिसिआर नै प्रयोग गर्नुपरेको छ, त्यसैले किन हामी पिसिआर नै प्रयोग गर्न सक्दैनौं ?’ डा. पाण्डेले प्रश्न गरे । पिसिआरले भाईरस शरीरमा प्रवेश गरेको दोस्रो दिनमा नै नतिजा देखाउने तर आरडिटीमा भाईरस प्रवेश गरेर एक हप्तापछि मात्र नतिजा आउने हुनाले यसलाई पहिलो चरणमा प्रयोग गर्न बेकार रहेको पाण्डेले बताए । कस्तो अवस्थामा आरडिटी प्रयोग गर्न सकिन्छ ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कस्तो अवस्थामा आरडिटी किटको प्रयोग गर्ने भनेर अहिलेसम्म प्रोटोकल जारी गरेको छैन । विज्ञहरुको अनुसार आरडीटी परीक्षण विशेषत समुदायमा संक्रमण कुन चरणमा छ भनेर पत्ता लगाउन, क्वारेन्टिनमा १४ दिन बिताएका व्यक्तिहरुमा र महामारी अन्त्य भएपछि कति संक्रमित भएका थिए भन्ने जाँच गर्न प्रयोग गर्न सकिन्छ । के भन्छ स्वास्थ्य मन्त्रालय ? स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका सहप्रवक्ता डा. समिरकुमार अधिकारी सरकारले पिसिआरको वैकल्पिक रुपमा आरडिटीलाई नहेरेको बताउँछन् । ‘हामीले आरडिटीलाई पिसिआरको सट्टा प्रयोग गर्ने भनेर भनेका नै छैनौं, आरडिटीलाई कुनै पनि समुदायमा कोरोनाको त्रास छ कि छैन भनेर मात्र जाँच गर्न प्रयोग गरिरहेको छौं, समुदायमा आरडिटी प्रयोग गर्नुको कारण त्यस समुदायका मानिसहरुको शरीरमा कोरोना भईसकेर पनि एन्टिबडी उत्पादन भईसकेका छ कि छैन भनेर जाँच्छौं, यसरी जाँच्दा उनीहरु कति जोखिमा छन् भन्ने मापन हुन्छ,’ सहप्रवक्ता अधिकारीले भने । क्वारेन्टिनमा बसेकाहरुलाई पनि त्यहाँ अवस्था कस्तो छ भनेर हामी आरडिटी प्रयोग गर्ने गरिएको उनले जानकारी दिए ।

दाेलखा र साेलुखुम्बुमा पनि देखियाे काेराेना

काठमाडौं । दाेलखा र साेलुखुम्बुमा पनि काेराेना संक्रमण देखिएकाे छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । दाेलखाका २ जना र साेलुखुम्बुका १ जनामा काेराेना संक्रमण देखिएकाे हाे ।  

अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा

काठमाडौं । अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना–६ अन्तर्गत ३ नम्बर पुलमा दुई ट्रक एकापसमा ठोक्किँदा अवरुद्ध भएको सो सडकखण्ड करिब तीन घण्टापछि दुईतर्फी सञ्चालनमा आएको हो । काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको ना८ख १९५२ नंको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना५ख ९१२२ नंको ट्रक एकापसमा ठोक्किँदा बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको थियो । अहिले सडक दुवैतर्फ सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक कञ्चन तामाङले जानकारी दिए । रासस

एकैदिन १ सय ५६ काेराेना संक्रमित थपिए, साेलुखुम्बुमा पनि देखियाे संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् । यस्तै साेलुखुम्ब, दाेलखा, बझाङ र दार्चुला पहिलाेपल्ट संक्रमण देखिएकाे छ । याे सँगै संक्रमित जिल्ला ५१ पुगेकाे छ । देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्। याेसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितकाे संख्या १ हजार ४२ पुगेकाे छ ।    

३ वटा स्थानीय निकायलाई घरेलु लघुवित्तकाे आर्थिक सहयोग

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरस(कोभिड-१९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्ध लड्न विभिन्न ३ वटा स्थानीय निकायलाई १० हजार रुपैयाँका दरले उक्त रकम सहयोग गरेको हो । घरेलु लघुवित्तको शाखा कार्यालयहरु सुकदेवचौक, रौतहट, लौकाहा, रौतहट र विष्णुपुर, सिराहाका शाखा प्रबन्धकहरु क्रमशः राजेश राय यादवले यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियालाई, रुपेश कुमार झाले परोहा नगरपालिकाको मेयर शेष वकिललाई र अनिल कुमार यादवले विष्णुपुर गाउँपालिकाका अध्यक्ष जागेश्वर यादवको उपस्थितिमा लेखापाल महेन्द्र यादवलाई सम्बन्धित प्रत्येक गाउँपालिका वा नगरपालिकाको कोरोना भाइरस(कोभिड १९) रोकथाम नियन्त्रण तथा उपचार कोषमा उक्त सहयोगको चेक हस्तान्तरण गरेका छन् । यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने समस्यामा परेका मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ । साथै, संस्थाको शाखा कार्यालय महांकाल काठमाण्डौंका शाखा प्रबन्धक सविता अधिकारीले ४३ विपन्न सदस्यका घरपरिवारहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको जानकारी दिएका छन् ।