विकासन्युज

यसकारण सिफारिस गरियो अल्पकालिन र दीर्घकालिन पुँजीगत लाभकरको व्यवस्थाः निरज गिरीको विचार

धितोपत्र बजार भनेको लिक्विडिटी हो । यो बैंक सरह हो । चाहेको बेलामा किनबेच गर्न पाइन्छ । रकममा कन्भर्ट गर्न पाइन्छ । यो कन्टेक्समा बजार बन्द गर्नु हुँदैन, भनेर हामी आफै भन्छौं । तर, हामीले हाम्रो रियालिटीज हेर्नु पर्ने हुन्छ । किनभने यो विषम परिस्थिति वा हामी कसैले नसोचेको अवस्था हो । यसले गर्दा सरकारको निर्देशन बमोजिम यो बजारलाई बन्द गरेका थियौं । र, बीचमा खोल्ने कोशिस पनि गरेको हौं । तर पछिल्लो समय कारोना संक्रमण थप भयाभह भएपछि भनौं वा काठमाडौंमा पनि फैलिन थालेपछि बजार बन्द गर्ने कुरा भयो । र, सोहि अनुरुप पुनः बजार बन्द भएको हो । तर पनि बजारलाई लामो समयसम्म लकडाउनमा राख्नु हुन्न । अर्थमन्त्रीले पनि यो लामो अवधि बन्द गर्न हुन्न भनिसक्नु भएको छ । त्यसैले यसलाई कुन पक्षबाट खोल्ने भनेर पुँजीबजारका सरोकारवालाहरुसँग छलफल गरिरहेका छौं । जसअन्तर्गत यो बजार बन्दलाई लामो समय गर्न हुन्न भनेर हामी सबै सहमत छौं । किनभने बजार भनेको आफै चल्ने हो । घट्छ बढ्छ भन्ने कुरा लगानीकर्ताको सेन्टिमेन्टमा भर पर्ने हो । अब अगाडि कसरी बढ्ने ? अब कसरी अगाडि बढ्ने भन्ने कुराहरुमा छलफल जारी नै रहेको छ । नेपालमा धितोपत्र बोर्ड आफै अथवा नेप्से आफैं मात्र भएर नभएको हुनाले यो मुभमेन्टमा अलि गाह्रो भएको हो । जस्तै, पुँजीगत लाभकरको कुरा गर्नुपर्दा हामीले लङटर्म र सर्टटर्मकाे पुँजीगत लाभकर यसपालिको बजेटमा पनि उठाउनको लागि सुझाव दिएका छौं । त्यस्तै, अहिले कर उठाउने जिम्मेवारी नेप्सलाई दिईएको छ । वास्तवमा त्यो नेप्सेको जिम्मेवारी नै होइन । किनभने कर उठाउने काम सरकारको हो, सरकारी निकाय छ, त्यसले उठाउनु पर्ने हो । अन्तर्राष्ट्रिय अभ्यासमा के छ भने आफुले वर्षभरि गरेको कारोबारको आधारमा कर फाइलिङ्ग गरिन्छ र त्यसको आधारमा पुँजीगत लाभकर तिरिन्छ । यो हामी कहाँ नभएको हुनाले पनि अलमल भईरहेको छ । जस्तै, क्यापिटल गेन ट्याक्स यति लाग्ने हो भनेपछि बजारमा त्यसको प्रभाव देखिन थाल्छ । जुन हुनुहुँदैन । यस्ता सुझावहरु पनि अर्थमन्त्रालयमा दिएका छौं । त्यस्तै, क्यापिटल गेन ट्याक्स फाइनल ट्याक्स हो कि होइन भन्ने ठूलो प्रश्नको रुपमा आइरहेको छ । यस विषयमा कुरा उठाईरहेका छौं । आशा छ, यसमा केहि निश्कर्ष आउनेछ । अर्को, मार्जिनलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर ब्रोकर एशोसियसनसँग बसेर छलफल गरिरहेका छौं । उहाँहरुले नेप्सेको बाई लसमा केही संशोधनहरु गरिदिनु पर्यो भन्ने कुरा गर्नुभएको छ । यसको लागि नेप्सले कार्यविधि बनाएर पठाईसकेको थियो । बोर्डले यसमा केही अध्ययन पुगेन भनेर पुनः पठाउन नेप्सेलाई भनेको छ । उक्त कार्यविधि पाएपछि हामीले यसलाई कसरी फ्लेक्जिबल बनाउन सक्छौं भन्नेमा छौं । त्यस्तै, अनलाइनमा जान लगानीकर्ताहरु त्यति इच्छुक भएको देखिन्न । यसलाई कसरी लान सकिन्छ भनेर पनि हामी छलफल गरिरहेका छौं । छलफल गरिरहेकोमध्ये एउटा, अनलाइन जानको लागि कमिसन घटाउने पो हो कि ? फिजिकल कारोबार गर्ने हो भने एउटा किसिमको सुविधा र अनलाइन गर्ने हो भने अर्को किसिमको सुविधा हुनुपर्छ । अर्को, नेप्सेको आम्दानी ब्रोकरको कमिसनसँग टाईअप भएको हुनाले यसलाई छुट्याउनु पर्ने हो कि ? यस विषयमा अन्तर्राष्ट्रिय अभ्यासमा के छ भनेर हामीले नेप्सेलाई आफै अध्ययन गर्न भनेका छौं । मुख्यतः हामीले नेप्सेसँग यो अनलाईनलाई कसरी व्यवस्थित गरेर लिएर जाने, बैंक इन्टिग्रेसनको पार्टलाई कसरी गर्ने, ब्रोकरहरुको शाखा खोल्ने र ब्रोकरहरुको पहुँचलाई कसरी बढाउने भन्नेमा पनि छलफल भईरहेको छ । मार्केट मेकरको कुरा गर्नु पर्दा, अन्तर्राष्ट्रिय अभ्यासमा त्यति छैन । मार्केट डिलरको लागि हामीले पहिलेदेखि नै कार्य गरिरहेका छौं । ब्रोकर हुनासाथ डिलर हुन्छ भन्ने अन्तर्राष्ट्रिय अभ्यास हो । त्यसैले यसमा पनि हामीले कोशिस गरिरहेका छौं । तर अब हाम्रो रेगुलेशनहरु अर्थमन्त्रालयमा छलफल हुँदा यो अहिले अलि बेला भएको छैन भनेर यो प्रस्ताव रेगुलेशनबाट हटाईएको छ । तर पनि हामीचाहिँ यसमा लागिरहेका छौं । ढिलो चाडो भन्ने मात्रै हो । तर हामी ब्रोकर भनेको डिलर हो भन्ने कन्सेप्टमा जानुपर्छ । डिमान्ड साईड क्रियट गर्न ब्रोकरको पहुँच बढाउनु पर्यो । यसको लागि के गर्न पर्छ, हामी तयार छौं । मार्केटले डिमाण्ड गरेको कुरा हामीले दिने हो । त्यसैले यसको लागि के गर्नुपर्छ भनेर नेप्से, ब्रोकर एशोसिएसन र मर्चेन्ट एशोसिएसनले नियामकलाई पहल गर्नुपर्छ । त्यस्तै, हाम्रो मार्केटमा ऋणपत्रको त्यति कारोबार हुने गरेको छैन । हामीले देखेको व्यक्तिगत र संस्थागतको लागि फरक व्याजदर भएकोले यो कारोबार हुन सकेको छैन । त्यसैले यसको लागि के गर्न सकिन्छ भनेर हामीले सरकारलाई सुझाव दिएका छौं । बैंकलाई ब्रोकर लाइन्सेन्स दिने भन्ने कुरामा हामीले अहिलेको ब्रोकरहरुलाई पनि एक्स्पान्सन गर्न दिनुपर्छ र बैंकहरुलाई पनि उनीहरुको सहायक संस्था आउन चाहन्छ भने आउन दिने हो । यो एउटा त ऐनमा भएको कुरा हो । अर्को, अन्तर्राष्ट्रिय अभ्यास पनि हो । स्टक एक्स्चेञ्ज डब्लुएफएको र धितोपत्र बोर्ड आईएसओको मेम्बर भइसकेको छ । त्यसकारण हामीले अन्तर्राष्ट्रिय अभ्यासहरुलाई पनि फलो गर्दै जानु पर्छ । हामीले यहि कन्टेक्समा हाम्रो नियमावलीमा अनलाइन सिष्टम आईसकेपछि ब्रोकरहरुको शाखा कार्यालय सम्बन्धि जुन व्यवस्था थियो, त्यो व्यवस्था परिवर्तन भएर आईसकेको छ । र, अब कार्यान्वयनमा जान्छ । जसअन्तर्गत ब्रोकरहरुलाई शाखाहरु पनि खोल्न दिने हो । ब्रोकर साथीहरु र बाहिर बजारमा के बुझाई भएको छ भने ‘धितोपत्र बोर्डको सोच भनेको अहिलेको ब्रोकरलाई सिद्याउन बैंकलाई काम गर्न दिने’, त्यो कदापि होइन । किनभने हाम्रो सोच भनेको कोहि आउँछन् भने आउन दिने हो । र, प्लेइङ फिल्ड चाहिँ बराबर हुनुपर्छ, त्यसलाई मेन्टेन गर्नुपर्छ भन्ने हो । त्यसैले ब्रोकरहरुलाई पनि बाहिर जाने दिने र नियममा भएको जस्तो बैंकको सहायक कम्पनीलाई पनि आउन दिने हो । अर्को, ब्रोकर साथीहरुको भनाई के छ भने हामीलाई मार्केटिङ् गर्न दिईदैन । यसलाई पनि खुल्ला गर्नु पर्छ । रियल सेक्टरलाई ल्याउन बोर्डले के प्रयास गरेको छ ? रियल सेक्टर कम्पनी ल्याउनको लागि छलफल गर्दा प्राइभेट कम्पनीले पहिला के भन्थे भने पब्लिकमा आईपीओमा जाने व्यवस्थाहरु जे छ त्यो साह्रै कठोर (रिजिड) छ । जस्तै, भनौं न प्रिमियममा जान नपाउने, प्रिमियम भए पनि यतिभन्दा जान नपाउने भन्ने किसिमको । त्यसैले हामीले अहिले यो व्यवस्थालाई खुकुलो बनाईसकेका छौं । अर्को, बुक बिल्डिङ् प्रोसेस ल्याईसकेका छौं । त्यसमा कम्पनीले आफै आफ्नो मूल्य तोक्न पाउछ । यसले उनीहरुलाई बजारमा आउन ठूलो मद्दत गर्छ भन्ने हाम्रो अनुमान हो । त्यसैगरी, सरकारले पनि कर छुट दिएको छ । अर्को कम्पनी ऐनमा नै व्यवस्था गरेर सर्टेन क्यापिटल भन्दा बढीलाई बजारमा ल्याउनु पर्छ । हाम्रो अहिलेको मार्केट, बैंक तथा वित्तीय संस्थाहरुको इन्डिकेटर जस्तो भएको छ, जुन कि समग्र अर्थतन्त्रको व्यारोमिटर होइन । त्यो बनाउनु पर्छ भनेर हामीले कोशिस गरिरहेका छौं । धेरैजसो देशमा बजार रिकभर भएको छ । उनीहरुकोमा सरकारले दिएको प्याकेजको आधारमा लगानीकर्ताहरुको कन्फिडेन्स बढेको छ र मार्केटले गति लिएको छ । त्यसैले हाम्रोमा पनि आगामी आर्थिक वर्षको बजेट आउँदै छ, जसमा केही न केही आउँछ भन्ने हामीले आशा गरेका छौं । लकडाउनको अवस्था परिवर्तन भएपछि त्यसले हाम्रो मार्केटमा केही न केही सकारात्मक प्रभाव पार्छ । अन्ततः संकट भनेको एउटा अवसर पनि हो । त्यसैले मार्केट खुलाउँदा घट्छ अब सिद्धिन्छ भन्ने होइन कि । त्यसमा पनि त अवसर छ भन्ने सोच्नु पर्दछ । (एशोसिएसन अफ चार्टर्ड एकाउन्टेन्स् अफ नेपाल (एक्यान)ले आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले  व्यक्त गरेकाे धारणामा )

प्रदेश नं २ मा एकैदिन ७६ जनामा देखियाे सङ्क्रमण, संख्या ४०० पुग्यो

काठमाडाैं । प्रदेश नं २ मा बिहीबार बिहान ९ बजे थप ७६ जनामा काेराेना सङ्क्रमण भएकाे पुष्टि भएकाे छ । यससँगै यस प्रदेशमा कोभिड-१९ बाट सङ्क्रमितको सङ्ख्या ४०० पुगेको छ । यसअघि बुधबारसम्म ३२४ मा सङ्क्रमण पुष्टि भएको थियो । गत मङ्गलबारसम्म यो सङ्ख्या २६८ रहेको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयको तथ्याङ्कले देखाएको छ । पछिल्लोपटक सङ्क्रमण पुष्टि भएकाहरुमा धनुषाका २९, महोत्तरीका १७, सप्तरीका १४, सर्लाहीका सात, सिरहाका छ र रौतहटका तीन रहेका निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । पछिल्लो पुष्टिसँगै प्रदेशमा सबैभन्दा बढी सङ्क्रमित रौतहटमा ११२ पुगेका छन् । त्यसैगरी पर्सामा ९५, बारामा ४६, धनुषामा ४२ र सर्लाहीमा ४० पुगेका छन् । त्यसैगरी सप्तरीमा २९, महोत्तरीमा २२ र सिरहामा १४ जनामा सङ्क्रमणको पुष्टि भएको छ । अहिले प्रदेशका आठवटै जिल्लाका भारतीय सीमावर्ती नाकामा घर फर्कनेको लाम बढ्दो छ । भारतमा सञ्चालन गरिएको रेल सेवासँगै घर फर्कनेको सङ्ख्या ह्वात्तै बढेको हो । प्रदेशमा सङ्क्रमण पुष्टि भएका धेरैजसो भारतबाट नै फर्केका पाइएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झा बताउँछन् । प्रदेशमा पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन कार्य तीव्र बनाइएको छ । बुधबारमात्र प्रदेशका आठ जिल्लामा गरी ७४३ को स्वाब सङ्कलन गरिएको छ । प्रदेशभित्र १० हजार ५८९ को स्वाब सङ्कलन भएको निर्देशनालयले जनाएको छ । यसबाहेक प्रदेशभित्रका बासिन्दा रहेका ७२ जनाको स्वाब सङ्कलन अन्य प्रदेशमा भएको जनाइएको छ । प्रदेशका आठै जिल्लाका क्वारेन्टिन केन्द्रमा आज पनि स्वाब सङ्कलन गरिँदैछ । स्वाब परीक्षण गरिएकामध्ये आज बिहान ९ बजेसम्म ४०० जनाको नतिजा पोजेटिभ आएको छ । प्राप्त नतिजामध्ये सात हजार ९१५ को नेगेटिभ र दुई हजार २७४ को रिपोर्ट आज साँझसम्म आइपुग्ने उनले जानकारी दिए । प्रदेशका आठै जिल्लामा गरी अहिले ३०१ क्वारेन्टिन केन्द्र बनाइएका छन् । सीमा क्षेत्रबाट मुलुक भित्रिने क्रम बाक्लिएसँगै जेठ दोस्रो सातामै १२० क्वारेन्टिन केन्द्र थपिएका हुन् । यसअघि १८१ केन्द्र सञ्चालित थिए । अहिले ३०१ केन्द्रमा १६ हजार ९१४ श्यया छन्, जसमा १३ हजार ४०२ शङ्कास्पद बसेका छन् । यसबाहेक स्वास्थ्यकर्मीको रेखदेखमा होम क्वारेन्टिनमा चार हजार ९०३ रहेका उनले बताए । त्यसैगरी प्रदेशमा ६४५ आइसोलेसन श्यया तयार छन् । अहिले १८९ जना शङ्कास्पद आइसोलेसनमा छन् । प्रदेशमा सङ्क्रमणपछि उपचारबाट निको भएर घर फर्कने पनि ९७ जना पुगेका छन् । प्रदेशमा बढ्दै गएको सङ्क्रमणलाई मध्यनजर गर्दै सीमा व्यवस्थापन अझ बढी प्रभावकारी बनाउनुपर्ने विज्ञहरुको सुझाव छ । क्वारेन्टिन केन्द्र र श्यया थपिँदै गए पनि पिसीआर परीक्षण सघन हुनसकेको छैन । यो परीक्षणका लागि स्वाब सङ्कलन गर्न आवश्यक सामग्री पर्याप्त नहुँदा गति बढ्न नसकेको क्वारेन्टिन केन्द्रको रेखदेखमा रहेका स्वास्थ्यकर्मीको भनाइ छ । निर्देशनालयले भएको सामग्री र दक्ष जनशक्ति स्वाव सङ्कलनमा लगाइँदै आइएको जनाएको छ । रासस

बाँकेमा अनिश्चितकालीन निषेधाज्ञा

काेहलपुर । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभर अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ सरुवा भएर आएकै दिन जिल्ला सुरक्षा समितिको बैठकबाट बुधबार रातिदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको हो । सुरक्षा समितिले बुधबार राति १० बजेदेखि अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लामा निषेधाज्ञा जारी गरेको प्रजिअ कुरुम्वाङद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । कोरोना भाइरसको संक्रमणबाट जिल्लामा हालसम्म एक जनाको ज्यान जानाका साथै १७० जना संक्रमित भएका छन् । संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रवद्र्धनात्मक कार्य गर्न जरुरी रहेको जनाउँदै निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी कुरुङ्वाङद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । निषेधाज्ञामा जिल्लामा अत्यावश्यक सेवा भोजनालय, औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने तथा निर्माणमा प्रयोग हुने ढुवानी सञ्चालनमा रोक लगाइएको छैन । यस्तै खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी, भण्डारण वितरण, फोहोरमैला संकलन तथा ढुवानी, विद्युत् सेवा, कृषि तथा कृषि पशुपक्षीजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन, वर्कशप जस्ता अत्यावश्यक सेवाबाहेक अन्य सेवा जिल्लाभरि सञ्चालन नगर्न / नगराउन अनुरोध गरिएको छ । रासस

भारतले फेरि नेपालको चित्त दुखाएको छ- डा. मीनेन्द्र रिजाल

नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ । प्रमुख प्रतिपक्षको भूमिका अपेक्षित रूपमा प्रभावकारी नदेखिएको टिप्पणी भइरहेका बेला उहाँले भारतसँंगको सम्बन्धलाई लिएर कांगे्रसलाई मात्र होइन अन्य दल र सर्वसाधारण नेपाली जनतालाई समेत तरंगित तुल्याउनुभएको छ । डा रिजाल अतिक्रमित भूभाग फिर्ता लिने सम्बन्धमा नेपाली जनताले देखाएको अभूतपूर्व एकता प्रदर्शनीबाट सन्देश लिन भारतीय नेतृत्व तहलाई सुझाव दिनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘भारतले फेरि एकपटक नेपालको चित्त दुखाएको छ ।’ नेपालले गम्भीर र सहिष्णु भएर आफ्ना प्रमाणहरू अघि राख्दै लगातार २३ वर्षदेखि उठाएका विषयलाई बेवास्ता गरेकै कारण नेपालीको मन निकै दुखेको बताउँदै डा रिजालले स्वाभिमानी नेपालीलाई सीमित भारतीयले देखाउने सामन्तवादी व्यवहार सह्य नहुने बताउनुभयो ।  यही विषयमा केन्द्रित रहेर उनीसँग गरेको कुराकानीको सक्षिप्त अंशः छिमेकी मुलुक भारतसँग बेलाबेलामा नेपालको सीमा विवाद उठ्ने गरेको छ, यसलाई कसरी लिनुभएको छ ? प्रजातन्त्रको पुनःस्थापनापछि खासगरी २०५७ सालदेखि कालापानी, लिम्पियाधुरालगायत सीमाको विषय गम्भीर रूपले उठ्दै आएको छ । त्यसबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । त्यसै बेला नेपाल र भारतले सीमाको विषय टुङ्ग्याउन बाँकी भनी स्वीकार गरेका हुन् । त्यसभन्दा अघि २०५४ सालमा भारतीय प्रधानमन्त्री इन्दरकुमार गुजरालको नेपाल भ्रमणको बेला सुल्झाउन बाँकी सीमा मुद्दालाई थाती मुद्दाका रुपमा स्वीकार गरिएको थियो । पछिल्लो समय भारतले नक्सा जारी गरिसकेपछि नेपालले यसको प्रतिरोध गर्यो । भारतले दुवै देश कोभिड-१९ को संक्रमणबाट मुक्त भएपछि कूटनीतिक माध्यमबाट समस्या समाधान गर्न सकिन्छ भनी स्वीकार पत्र पठायो । त्यसभन्दा अगाडि २०७२ सालमा काँग्रेस सभापति सुशील कोइराला प्रधानमन्त्री हुँदा भारत र चीनले लिम्पियाधुरा क्षेत्रमा बाटो बनाउने कुरा गरे । तत्कालै नेपालले भारत र चीनलाई पत्र लेखेर तपाईंहरू नेपालको सार्वभौमिकता रहेको लिम्पियाधुरा र लिपुलेक भञ्ज्याङबाट बाटो बनाउन पाउनुहुन्न, तपाईंहरुले गलत गर्नुभयो, यो दुई पक्षले मात्र कुरा गरेर अघि बढाउने विषय होइन भनेर पत्र पठाइएको थियो । पछिल्लो समय चीनले यस्ता विषयमा एकांगी निर्णय गरेर हुन्न भनेको छ । यस अर्थमा चीनले घुमाउरो पाराले २०७२ मा आफ्नो गल्ती भएको स्वीकार गरेको अनुभव हुन्छ । कोरोनाको कहर सकिएपछि छलफलका माध्यमद्वारा टुङग्याऔँ भनिएको बेला त्यसलाई बेवास्ता गर्दै भारतका रक्षामन्त्रीले मानसरोवर जोड्ने कथित सडक उद्घाटन गरेपछि परिस्थिति जटिल बनेको छ । के नेपालसंँग यस विषयलाई लिएर आफ्नो अडान राख्ने बलिया आधार नभएका हुन् ? आजको दिनसम्मे धेरै सहज रुपमा यो समस्या समाधान गर्ने खालको भारतको सोच देखिन्न । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै हो भन्ने हामीसँग असाध्यै बलिया प्रमाण छन् । हामीसँग भएकाले मात्र होइन, राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा भएका दर्जनाैं प्रमाणले पनि त्यो क्षेत्र नेपालकै हो भन्ने पुष्टि गर्छन् । सन् १८१६ को सुगौली सन्धि र त्यसलाई अझ प्रष्ट पार्न गरिएको १८१७ को सन्धि, विसं २०२७ र २०३० मा जारी भएको नक्सा, दुवै देशका नेतृत्व तहमा २०५४ र २०५७ मा भएका कुराकानी र सहमति पनि यथेष्ट प्रमाण हुन् । भारतकै बृटिशकालीन नक्सा र त्यहाँका प्रान्तका नक्सामा जहिले पनि लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रको भूभाग नेपालको हो भनेर देखाइएको छ । अहिले एकाएक त्यो क्षेत्र समेटेर भारतले नक्सा प्रकाशित गरेको हो । त्यो भूभाग नेपालको हो भन्ने जग्गाको तिरो तिरेको, जनगणनाको, चुनावमा मतदाता रहेको र चन्द्रशम्शेरका पालामा त्यहाँका जनताले दुःख पाए भनेर मुखियाले लेखेको चिठीलगायतका यति धेरै प्रमाणहरू हामीसँग छन् । दुनियाँमा कसैले देख्दा पनि नेपालले अर्घेल्याइँ गरेको छैन भन्ने प्रमाणले नै प्रष्टयाएको छ । यिनकै आधारमा विवादको समाधान हुन्छ । के यसले अब दवाव नै चाहिएको हो भन्ने बुझाउँछ ? हामीले वार्ता र कूटनीतिक माध्यमबाट टेबुलमा बसेर भारतले उब्जाएको समस्या समाधान गर्न दबाब सिर्जना गर्नुपर्छ । भारतको संसद्मा विपक्षी दलले पनि नेपालसँगको सम्बन्ध धेरै पुरानो, गहिरो र मित्रवत् हो, अत्यन्त दुःखका दिन स्वतन्त्रता संग्राममा हामीलाई साथ र सहयोग पुर्याएको थियो, नेपालसँगको सम्बन्धलाई बिग्रन दिन हुन्न भनेर संसद्मै कुरा उठाएका छन् । मैले देखेको र बुझेको दुई वटा भारत छन् । बिपी भन्नुहुन्थ्यो, आम रूपमा असङ्ख्य भारतीयमा नेपालप्रति असाध्यै ठूलो स्नेह र मैत्रीभाव छ । दुईवटा बेग्लाबेग्लै देशका नागरिकको जस्तो भावै छैन । नेपाली नागरिकले भारतमा र भारतीयले नेपालमा सहज रूपमा आवतजावत र रोजगारी समेत गर्न सक्छन् तर सत्तामा बसेका र बाहिरका केही सीमित व्यक्तिमा भने कताकता हिजोको उपनिवेशका बेला बेलायतीले भारतीयलाई हेप्ने गरेजस्तै नेपालीलाई हेप्नुपर्छ भन्नेजस्तो मिचाहा प्रवृत्ति देखिन्छ । यस्तो गलत प्रवृत्तिको अन्त्य हुनुपर्छ । नेपालमा पनि भारत र भारतीयप्रति असाध्यै सद्भाव छ । प्रधानमन्त्री मोदी पहिलो पटक नेपाल आउँदा म सवारीमन्त्री थिएँ । आम नेपाली जनता मोदीलाई हेर्न, भेट्न र छुनलाई उर्लिएको त्यो भीड सम्हाल्न सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको थियो । त्यस भावनालाई दुई देशबीचको सम्बन्धको उदाहरणका रुपमा लिइएको थियो । यस्तो भावनात्मक सम्बन्ध कसरी विवादित भयो त ? एकाएक भूकम्पबाट मार खेपिरहेका बेला नाकाबन्दी गर्ने र कोरोनासंँग लडरिहेका बेला कालापानीलगायतका क्षेत्रको अतिक्रमण गरी नक्सा प्रकाशित गरी सडकसमेत बनाउने काम गरेर भारतले नेपाल र नेपालीको मन कुँडयाएको छ । नेपालले गम्भीर र सहिष्णु भएर प्रमाण अघि राखेर २०५४ देखि आजसम्म २३ वर्ष लगातार कालापानी क्षेत्रको कुरालाई कूटनीतिक माध्यमबाट हेरौँ, मिलाऔँ भनेकामा भारतले पटक्कै नसुन्दा नेपालीको मन दुख्दैन ? केही सीमित भारतीय व्यक्ति र मिडियाकर्मीले स्वाभिमानी नेपालीलाई घमण्ड देखाउने, अपमान गर्न खोज्ने, सामन्तवादी हेपाहा र मिचाहा प्रवृत्ति देखाउन खोज्छन् भने त्यस्तो व्यवहार सहन सक्ने कुरा भएन । नेपाली जाति अरूका लागि समेत जहाँसुकै लडेको जाति हो, इतिहासमा भारतको रक्षा र सुरक्षाका लागि लडेका छौं, दुनियाँमा हाम्रो वीरताको गाथा छ । यहाँ कसैले मिचाहा प्रवृत्ति देखाउँछन् भने कसरी सहने भन्ने भाव देखिनु स्वाभाविक हुन्छ । सीमा र नेपालको नयाँ नक्साका बारेमा भारतीय सञ्चारमाध्यमलाई तपाईंले गतिलो जवाफ दिनुभएको भनेर सर्वत्र प्रशंसा भएको छ नि ? त्यस संवादपछि मप्रति प्रेमभाव उर्लिएको छ, स्वदेश होस् वा विदेशमा बस्ने स्वाभिमानी हरेकले नेपालीले प्रतिवाद गर्ने मीनेन्द्र होइन स्वयम म हुँ भनेर अनुभूत गर्नुभएको हुनुपर्छ । मेरा लागि यो ठूलो निधि हो । अब विगतमा मेरो दुष्प्रचार गर्नेहरूलाई जवाफ दिइरहनु पर्ने अवस्था रहेन । म आफूप्रति देखाइएको प्रेम र सद्भाव, आदर र सम्मानलाई अपमान हुन दिने काम गर्ने छैन । नेपाल भारतबीचमा देखिएका सीमा विवाद सम्बन्धमा सरकारले चालेको कदमलाई तपाईं र तपाईंको पार्टीले कसरी लिएको छ ? यस्तो बेलामा प्रधानमन्त्रीले राष्ट्रलाई एकताबद्ध गर्ने हो । कसको देशभक्ति बढी छ, कसको कम छ भनेर देखाउने बेला यो हैन । यस्ता कठिन घडीमा कसैले कताकता खेल्ने, एकले अर्कालाई औंला देखाउने जस्तो प्रवृत्ति रहन्छ । प्रधानमन्त्रीज्यूलाई सुझाव दिन चाहन्छु, जति सक्नुहुन्छ छिटो जनतालाई एउटा छाताभित्र ल्याएर नेतृत्व गर्दै अघि बढ्नुस्, नेपाली काँग्रेस सहयोग र समर्थन गर्न तयार छ । काँग्रेसजन पनि केमा प्रष्ट हुनुपर्छ भने परराष्ट्र नीति गौँडागौँडाबाट सञ्चालित हुँदैन । यो सत्तापक्षको एउटा प्रतिपक्षको अर्को हुँदैन । सरकारले सञ्चालन गर्ने परराष्ट्र नीतिमा हामीले सरकारलाई सहयोग र समर्थन पुर्याउने हो । सरकारले मागेका सल्लाह सुझाव हामी उपलब्ध गराउँछौँ । प्रधानमन्त्रीज्यूले जति उदार मनले राष्ट्रलाई नेतृत्व गर्न सक्नु हुन्छ, त्यति नै प्रधानमन्त्रीज्यूको ओज बढछ् । राष्ट्रका विषयमा दुविधा भएमा स्व बिपीले ‘एक मुठी माटो हातमा लिएर सोध, माटोले जे भन्छ त्यही गर’ भने झैंँ गर्नुपर्छ । विवेकपूर्ण ढंगले देशप्रति समर्पित भएर निर्णय गर्नुपर्छ । कतिपय ठाउँमा सीमास्तम्भ नासिएर वा नदीले बगाएको पनि छ । साथै भारतीय पक्षले दशगजा क्षेत्र नजिकै बाँध बाँधिदिने गर्दा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । यी समस्याहरुको समाधानमा नेपाल सरकारको पहल नपुगेको हो कि भारतीय पक्ष उदासीन देखिएको हो ? यो चरम असंवेदनशीलता हो । कोरोना भाइरस संक्रमणबाट मुक्ति पाएपछि द्विपक्षीय वार्ता गर्ने भन्ने, अनि त्यही बीचमा बाटोको भच्र्युअल उद्घाट्न गर्ने ? त्यो भन्दा असंवेदनशील कुरा के हुन्छ रु भारतले चाहे सिमानामा बाँध बनाउने बेला होस् वा अन्य काम गर्ने बेलामा, असंवेदनशीलता देखाउँदै आएको छ तर यसलाई झगडा फसादको विषय बनाउनेभन्दा पनि हामीले पनि के सोच्नुपर्यो भने हाम्रो काम गर्ने शैली ढिलो सुस्त छ कि रु भारत अर्कै गतिमा विकास गरिरहेको छ, हाम्रो गति निकै सुस्त भएका कारण उता एकांगी ढंगले काम गरिएको पनि हुन सक्छ । तथापि भारतले जुन संवेदनशीलता देखाउनुपर्ने हो, त्यो देखाएको छैन । भारत र चीन दुवै हाम्रा घनिष्ठ मित्र हुन् र दुवै हाम्रा लागि अत्यन्त महत्वपूर्ण छन् । भारत भूगोल, परम्परा, इतिहास, संस्कृति, भाषालगायतले अझ नजीक छ । जसरी चीनको भूमिका आज विश्वमै बढेर गएको छ, नेपालमा हिजोको भन्दा आज चीनको भूमिका विस्तारित हुन्छ भन्ने कुरा भारतले पनि स्वीकार गर्नुपर्छ । यी सबै कुरा गर्दागर्दै पनि, भारतलाई नजिककोे मित्र मान्दा पनि, भारतले हामीसँग गर्ने व्यवहार मित्रले गर्ने व्यवहारभन्दा फरक देखिन्छ, नेपालका लागि हामीले नै निर्णय गरिदिन सक्छौँ भने जस्तो । के बुझ्नु आवश्यक छ भने भारतले हाम्रा लागि निर्णय गर्न मिल्दैन । हामी बेग्लै सम्प्रभुतासम्पन्न देश हौँ । त्यसैले भारतले जति बढी संवेदनशीलता देखाउँछ, हाम्रो हित त हुन्छ, हामी त सानो देश, साथसाथै भारतको पनि अन्तरराष्ट्रिय प्रतिष्ठा बढ्छ । भारतले नेपालजस्ता घनिष्ठ छिमेकी देशसँग सद्भाव देखाउँदा अन्तरराष्ट्रिय मञ्चमा भारतको उचाइ अझ बढ्छ भन्ने मलाई लाग्छ । अहिले नेपालको सिमानामा तारबार लगाउने बेला भयो भन्ने पनि सुनिन्छ । यो मुलुकको हितमा हुन्छ कि हुँदैन रु यस्ता मुद्दामा मुलुकभित्रका सबै दल आगामी दिनमा कसरी अगाडि बढनुपर्छ ? तराईमा सिमाना छेउका बाटोघाटो नपुगेका कतिपय स्थानमा धेरै गरीबी छ, त्यहाँ जीवनयापन गर्न मानिसलाई कति कठिन छ भन्ने कुरा हामी काठमाडौंमा बसेकाले बुझेका छैनौँ । कुनै बेला नेपालको एक स्थानबाट अर्को स्थानमा जान भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता थियो । ती बाध्यताबाट आधुनिक नेपाल बन्दै जाने क्रममा हाम्रो भारतसँगको सम्बन्ध पनि प्रकारान्तरले परिवर्तित हुँदै गएको छ । एउटा समय थियो, भारतको स्वतन्त्रता आन्दोलनमा हामी पनि लड्यौं, हाम्रो प्रजातन्त्र स्थापनाको आन्दोलनमा उनीहरूको सहयोग हामीले पनि लियौँ होला । अर्को कुरा, विश्वमा चीनको उदय जसरी भएको छ, त्यसले पनि नेपाल र भारतबीचको सम्बन्धमा नयाँ आयाम थपेको छ भन्ने तथ्यलाई हामीले आत्मसात् गर्नुपर्छ । यी सबै कुरालाई स्वीकार गरेर हिँड्नु जाती हुन्छ । त्यसको सट्टा उग्र नारा लगाएर, पर्खाल लगाऊँ वा के लगाऊँ भनेर कसको हित हुन्छ रु हामीले पर्खाल लगाएर गर्ने के रु एकातिर उत्तरतर्फ हिमालको पर्खाल छ, अलिकति खोल्दै जाँदा उपलब्धिका रुपमा हामी व्याख्या गरौंला । अनि दक्षिणतर्फ पर्खाल लगाउने कुराले हामीलाई कसरी मद्दत गर्ला रु विश्वमा चीन र भारतको उदयले नेपालका प्रति अन्तरराष्ट्रिय रुपमा आकर्षण बढ्दै जान्छ । हामीले यसमा खुशी हुने कि दुःखी हुने रु मेरो विचारमा दुनियाँका सबै मुलुकले चीन र भारतको बीचको मुलुक नेपालप्रति अभिरुचि बढाउने विषयलाई हामीले बुद्धिमत्तापूर्वक उपयोग गर्याैं भने नेपाल र नेपालीकोे समृद्धिको हितमा हुनेछ । सरकारले नेपालको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ सच्याउन संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गराएको छ । त्यो प्रस्तावमा केही दलले आफ्ना माग पनि समेट्न सुझाव दिएका छन् । यसलाई कसरी लिन हुन्छ ? नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान चिह्न छ । निशान चिह्नमा रहेको नेपालको गलत नक्सा सच्याउनका लागि संशोधन गर्न लागिएको हो । त्यसैले यसलाई त्यही रुपमा लिनुपर्छ । दोस्रो कुरा, यो सबै नेपालीको स्वाभिमानसँग जोडिएको विषय हो । यसमा नेपाल एकताबद्ध रुपमा उभिएको छ भन्ने सन्देश दिनुपर्छ । त्यस्तो सन्देश दिन संविधान सशोधन गर्न लागिएको होे । त्यस हिसाबले यसको मूल्य त्यसमा बढी छ । यसमा किन्तु परन्तु केही जोड्ने कुरा अनुचित हुन्छ । पहिले यो जँघार तर्नुपर्छ, यो जंघार तरेपछि आउने अन्य जंघार त्यस पछाडि तर्ने हो । त्यसले कुनै पनि पार्टीले केही कुरा छ भने पछि गर्ने हो, अहिले गर्नु हुँदैन, हाम्रो पार्टीले त झन् गर्दै गर्दैन । कोभिड-१९ को संक्रमण रोकथाम र उपचारका लागि नेपाल सरकारले गरिरहेको कार्यलाई थप प्रभावकारी बनाउन यहाँको के सुझाव छ ? कोरोना भाइरसको संक्रमण रोकथाम र उपचारका सन्दर्भमा सरकारका कामका बारेमा मैले सार्वजनिक रुपमै अभिव्यक्त गर्दै आएको पनि छु । सरकारकोे काम गर्ने ढङ्ग मिलेन । अहिले ठूलो कठिनाइ छ तर यस्तो बेला सर्वप्रथम यथार्थलाई स्वीकार गरी इमान्दार हुनुपर्छ । कोरोनाको कहरमा सरकारले बन्दाबन्दी घोषणा गर्नेबाहेक स्वाभाविक रुपमा सम्बोधन गर्न सक्ने काम पनि गर्न सक्थ्यो । त्यसैले सरकारले इमान्दार भएर यस कठिनाइबाट पार पाउन नेतृत्वका साथ सबै पक्षसँग सहयोग लिएर काम गर्नुपर्छ । अर्को कुरा, भारतबाट आउने खाद्य पदार्थ र तरकारी निर्बाध रुपमा काठमाडौंसम्म आइपुग्यो तर यहीँका गाउँका किसानले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पुर्याउन सकेनन् । आपूर्ति व्यवस्था कमजोर छ । आपूर्ति व्यवस्थाको कमजोरीका कारण माग हुँदाहुँदै पनि किसानले आफूले उत्पादन गरेका दूध, तरकारी, अण्डालगायत वस्तु फाल्नुपर्ने अवस्था आयो । यसका लागि पो सुरक्षा बल परिचालित हुनुपर्थ्याे । सरकारले यसबारेमा गम्भीर बनेर आगामी दिनमा योजना अघि बढाउनुपर्छ । नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षीको भूमिका संसद्मा प्रभावकारी निर्वाह गर्न नसकेको भन्ने गुनासो बेलाबेला सुनिन्छ, आगामी दिनमा थप प्रभावकारी र सिर्जनशील प्रतिपक्षीको भूमिका निर्वाहका लागि के गर्नुहुन्छ ? काँग्रेसको तागत हिजो जस्तो पक्कै छैन । हिजोका दिनमा काँग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी अथवा मुलुककै नेतृत्व गर्ने पार्टी थियो । आज सबै प्रदेश र केन्द्रमा काँग्रेसको करीब २२ प्रतिशतको हाराहारीमा मात्र उपस्थिति छ । हामीले आज गर्ने भूमिका हिजोको काँग्रेस सम्झेर हुँदैन । अर्को कुरा, सरकारसँग निराशा छ, त्यसपछि कहाँ मन लगाउने भनेपछि प्रतिपक्षीसँग मन लगाउने हो । पछिल्लो उपनिर्वाचनले पनि कम्युनिष्टको विकल्प काँग्रेस नै हो भन्ने मत प्रकट भएको छ । काँग्रेसका अधिकांश सिनियर नेताहरू यतिखेर संसद् बाहिर हुनुहुन्छ । संसद्बाहिर भएपछि उहाँहरुलाई संसद्का गतिविधिमा खासै ध्यान पनि छैन । र अन्तिम कुरा, मैले भन्नैपर्छ हाम्रो संसदीय दलको नेताले पनि अपेक्षाअनुसार संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्न सक्नुभएको छैन । अन्तमा, संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) को विषयले सदनमा प्रवेश पायो तर यसको अनुमोदनमा किन यति ढिलाइ हुन पुगेको हो ? एमसिसीबारे सरकार कसरी अघि बढ्छ, त्यसपछि हेराैंला । भएभरका सबै विषयलाई एउटै पोको पारेर समस्याको समाधान गर्न सकिँदैन । समस्या समाधान सबै विषयलाई प्राथमिकीकरण गरी अलगअलग छुट्याएर गर्नुपर्छ । अहिले सर्वप्रथम अतिक्रमित भूमि फिर्ता ल्याउन राष्ट्रिय अठोट चाहिन्छ । कोरोनाको कहरबाट नेपाल र नेपालीलाई बाहिर निकाल्ने प्रबन्ध गर्नुपर्ने छ । विदेशमा दुःख परेका नेपालीको सुरक्षित रुपमा उद्धार गर्नुपर्छ । कोरोना संक्रमितको उपचार गर्ने, दुःखमा परेकालाई राहत प्रदान गर्ने र त्यसपछि अर्थतन्त्रलाई तङ्रयाउने कसरी भन्न काम गर्नुपर्छ । रासस

अर्थमन्त्रीले आज बजेट प्रस्तुत गर्दै, स्वास्थ्य र रोजगारी प्राथमिकतामा

काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेट प्रस्तुत गर्ने भएका छन् । उनले आफ्नो कार्यकालको तेस्रो बजेट ल्याउन लागेका हुन्। काेराेना भाइरसले उत्पन्न लकडाउनकाे कारण आर्थिक गतिविधि ठप्प रहेका बेला उनले बजेट प्रस्तुत गर्ने भएका हुन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा पनि प्रवेश गरेपछि भाइरसको संक्रमण रोक्न भन्दै सरकारले चैत ११ देखि लागू हुने गरी लकडाउन घोषणा गरेको थियो। कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट ल्याइनेछ ।कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ । यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ । बजेटमा  नयाँ, ठूला र महत्त्वाकांक्षी कार्यक्रम घोषणा नहुने र स्वास्थ्य पूर्वाधार विस्तार, रोजगारी सृजना, आयोजनाको पुन: प्राथमिकीकरण, आर्थिक पुनरुत्थानका कार्यक्रम, कृषिमा यन्त्रीकरण, कर तथा मौद्रिक छुटलगायत विषय केन्द्रित हुनेछन् । चालू आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको हो ।

सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय

हाल विश्वका सारा मानिस त्रसित देखिन्छन् । कारण अदृष्य किटाणु (कोभिड-१९) अर्थात नोबेल कोरोना भाइरस । चीनको वुहान प्रान्तबाट विश्वभर फैलिएको कोभिड – १९ नयॉ प्रकरको कोरोना भाइरसको प्रजाति हो । यसको प्रकोप विश्वको २१० वटा  देशमा देख्न सकिन्छ । जसमा करिब २० लाख मानिस यस भाइरसले पीडित छन् भने मैले यो निबन्ध लेख्ने समय सम्ममा करिब १ लख २० हजार मनिसले ज्यान गुमाएका छन । यहि कारण्ले गर्दा त होला विज्ञहरुले कोरोनाको प्रकोपलाई दोस्रो विश्व युद्ध पछिको मानव इतिहासको महत्वपूर्ण र ठूलो घटनाका रुपमा लिएका छन् । त्यसैले कोरोनाको बुझ वा अबुझ बीच उल्टै चेपुवामा परेका मानिसहरु संङकित हुन भने छाडेका छैनन् । यसले खुला रुपमा हरेक देश्को समाजिक, राजनीतिक, स्वास्थ्य, शिक्षा, रोजगार, अर्थतन्त्रसँग जाेडिका पद्धतिहरुलाई समेत अदलबदल पार्न सक्ने देख्न सकिन्छ  । त्यसैले हरेक देशले आफ्नो सीमना भित्र लकडाउनको घोषणा गरेका छन् । यसको असर नेपालमा समेत परेको छ । सुरुसुरुमा विश्वभर कोरोनाको प्रकोप फैलदा त नेपालमा कुनै पनि असर देखिदैनथ्यो । भन्नुको अर्थ नेपाल सरकारले र जनताले नेपालमा कोरोना नलागेकाले होला केही ख्याल नै दिएको थिएन । तर जब एसईई परीक्षा स्थगित भयो तब सबै जना सतर्क हुन थाले । मैले पनि एसईई परिक्षा हुनुभन्दा एक दिन अगाडि मेरो परीक्षा स्थगित हुन्छ भनेर ठाने कि थिइन । किनभने कोरोनालाई मैले पनि गम्भीरतापूर्वक लिएकी थिइन तर पछि भने आफू पनि सतर्क हुन थाले । गाउँ घरतिर पनि हल्ला चलेको थिएन तर दुई दिन पछि देशभर जब सरकारले लकडाउन गरेकाे समाचार प्रकाशति भए तब दशैंको बेला बाहेक अरु बेला कहिल्यै खाली नदेखिने काठमाण्डौं सहर खाली देखियो । सायद मैले यो पहिलो पटक देखेकी थिए। कोरोनाको प्रकोप कम गर्ने काम एक दिन मै हुने होइन । तर हरेक नागरिक आफू सचेत  भइ यसबाट बच्नुपर्दछ । भनिन्छ कि केही कामको थालनी पनि आफैले आजैबाट अहिलेबाट नै गर्नुपर्छ । घरपरिवारमा सकेसम्म बाहिरि मानिस आउन नदिने, बहिर अति आवश्यक बेला मात्र जाने, सबैसँग विश्व स्वाथ्य संगठनले तोकेको दूरी कायम गर्ने गर्नुपर्दछ । साथै, राष्ट्रले पनि यस्तो बेला नयाँ नीति ल्‍याइ त्यसलाई पालना नगर्नेलाई उचित सजायको पनि व्यवस्था मिलाउनु पर्दछ । यसका साथसाथै जनताले पनि इमान्दारितापूर्वक आफ्नो स्वास्थ्य स्थितिको सूचना दिनुपर्दछ । माथि भने जस्तै हरेक दशैको विभिन्न प्रणाली जस्तै अर्थतन्त्र, रोजगार, शिक्षा, राजनीति, संस्कृतिमा कोरोनाले ठूलो प्रभाव परेको छ । जसका करण धेरै चुनौतिहरु देखापर्न थालिसकेका छन् । अहिले विश्वको लागि सबैभन्दा ठूलो चुनौति त कोरोनाको औषधी वा खोप निकल्नु हो । यसका साथ साथै यस्तो बेलमा इन्टरनेटको माध्यमबाट शैक्षिक प्रणाली चल्यो भने वा घरमै बसेर काम गर्न थलियो भने मानव सभ्यता कस्तो होला भन्ने कुरा पनि सोच्न जरुरी देखिन्छ । नेपालको राजनीतिक दलहरुमा ठूलो चुनौति वा खतरा थपिएको छ । कयौं समयदेखि तोडिएको विश्वास कहाँ एक दिन मै पुनर्निर्माण गर्न सकिन्छ र ? तर यहिं चुनौति उनीहरुका लागि ठूलो अवसर हो । यदि यो समयमा जनताकालागि केही नगरिकन बसे भने जनताहरुको मनमा कहिल्यै राजनीतिक दलहरु प्रति विश्वास पलाउने छैन । यतिमात्रै कहाँ हो र ? नेपाल रेमिट्यान्सले धानिएको देश । नेपालको अर्थव्यवस्थाको करिब करिव २५ प्रतिशत  रेमिट्यान्सले  ओगटेको रेकर्ड नै रहेको छ । तर जब कोरोनाको प्रकोप विश्वभर फैलियो तब विदेशिएका लाखौं नेपाली नागरिकहरु नेपाल फर्कन बाध्य भएका छन् । यसले के देखउन सक्छ त  भन्दा जुन पैसाले  (रेमिट्यान्सले) नेपालको आर्थतन्त्रमा धानेकाे थियाे अब तेसले त्यति नओगट्न पनि सक्छ ।  सरकारले नेपालका साना व्यवसायलाई फस्टाउन मद्दत गर्नुपर्दछ।  कृषिमा बढी ध्यान दिनुपर्दछ । लेखक केही मानिसले त कोरोनाले निम्त्यउने अभावलाई २००८ को आर्थिक अभावसँग तुलना गर्न थालेका छन् । यदि विश्वभर आर्थिक अभाव हुन थाल्यो भने हामीले आहिले १०० रुपैयामा किन्ने आलुलाई पछि हजारौ पर्न सक्छ । महँगाई धेरै बढ्ने छ । यस्तो अवस्थमा नेपालले आफू विकासित हुने ठूलो अवसर पाएको छ । जब विश्वमा अभाव बढ्दै जान्छ तब भोकमरीको आवस्था सिर्जना हुन्छ, तर नेपाल कृषि प्रधान देश भएकै कारणले गर्दा यो समयमा कृषिलाई राम्ररी उपयोग गर्यौ भने हाम्रो देश नेपालको नाम विश्वभरफैलने छ । साथै, आम जनताले पनि कृषकहरुको केही गर्न मनोबल बढाउन सक्नुपर्छ । यसो गर्दा नेपालमा भोमरीको अवस्था कहिल्यै आउदैन । यसका साथै नेपालका लागि सबैभन्दा ठूलो चुनौती त नेपालमा कसरी हुन नदिने हो । नेपालभित्र लकडाउनको घोषणा भएपछि पनि महाकाली नदी पारगरि भारतमा बसोबस गर्दै आएका नेपाली नागरिक आफ्नो जन्मथलो नेपाल आएको समाचार त सबैले नसुन्नुभएको त पक्कै पनि छैन होला । यस्तो समयमा खुला सीमानाको समस्याापनि प्रमुख हो । यो महामारीका करण हाम्रो देश्को स्वस्थ्य प्रणलीमा परिवर्तन हुन सक्छ । देश्मा औषधीको अभाव पनि देखापर्न सक्छ । सस्ता पर्ने औषधीको दामले आकाश छुन सक्छ । यो लकडाउनको मुख्य असर त दैनिक ज्याला मजदूर गरी आफ्नो छाक टार्नेहरुलाई परेको छ। अब यो समस्यालाई राज्यले कुन रुपमा लिन्छ त्यो पनि हेर्नु पर्ने कुरा हो । मैले यो निबन्ध लेख्ने समय सम्ममा नेपालमा १६ जनालाई कोरोनाको सङ्क्रमण देखिएको छ । जुन अरु देश्को तुलनामा निकै नै कम हो । यदि हामी नेपालमा सङ्क्रमण नबढियोस् भन्ने चहन्छौं भने आजैबाट रोक्न लाग्नुपर्छ । सरकारले  ट्रेसिङ,  ट्राकिङ, ट्रेसिङ विधि अपनउनु पर्ने आवश्यक छ । यसको नियन्त्रणका लागि सबै क्षेत्र र निकायको अग्रसरता जरुरी छ । केन्द्र सरकारले मात्र नभएर प्रदेश सरकारले पनि आआफ्नो प्रदेशमा उपयुक्त सेवा सञ्चालन गर्नुपर्दछ ।नेपालमा अरु देशको तुलनामा मोबइल तथा इन्टरनेटको प्रयोग व्यापक छ । जसको प्रयोग राष्ट्रिय स्तरमै परिक्षण गरि हुनसक्दछ । हामीले कोरोनाको प्रकोप रोक्न नेपालमा मात्रै नभएर विश्वमा पनि उचित कदम चाल्न जरुरी देखिन्छ । साथै यदि हामी यो भाइरस माथि विजय प्राप्त गर्न चाहान्छौँ भने विश्वव्यापीरुपमा सूचना प्रवह गर्नु आवश्यक छ ।  यो महामारीका करण विश्व त्रसित भएको खण्डमा सबै मानवजाती एक हुनुपर्ने अवस्था देखिन्छ । विज्ञहरु भन्छन् एक आत्मप्रेरित र आत्मसूचित जनसङ्ख्या  अज्ञानी जनसङ्ख्या  भन्दा कयौं गुना प्रभावी हुन्छन् । भविश्यमा कोरोना जस्ता महामारी रोक्न एकता नै आवश्यक हो । मानौं, कोरोना रोकियो रे तर के कोरोना जस्ता अरु महामारी नआउला त ? यो निश्चित छैन । हामी निश्चित छैनौं ।  हामीले सार्स, इबोला र स्वाइन फ्लु जस्ता व्यापक फैलेका महामारी  पछि कोरोना फैलन्छ भनेर सोचेका थिएनौं । यो एउटा ठूलो समस्या हो । महामारी आफैंमा र त्यसले निम्त्याएको आर्थिक अभाव ठूलो समस्या हो ।अब अहिले सबैले मानवताको बारेमा सोच्ने बेला आएको छ । संसारका कैयौ  राष्ट्रवादहरुलाई कोरोनाले चुनौती दिएको छ । कोरोना भाइरसलाई एक समय चिनियाँ भाइरसको नाम दिएका ती मानिसहरु आफ्नै देशमा यस्तो खतर्नाक भाइरस फैलिएपछि हारगुहारको स्थितिमा छन् । विश्वका सबै मानिस बीच एकता हुनुपर्छ । तिनीहरुले एकअर्कालाई विश्वस गर्नुपर्छ । चीनमा बनेको औषधी र उसले कोरोनाको नियन्त्रणमा अपनाएको विधि उसले कुनै स्वर्थ बिना अमेरिका, इटली र स्पेनलगायतका देशलाई भन्न सक्नुपर्दछ । साथै अमेरिका, इटली र स्पेन जस्ता राष्ट्रले पनि चीनमा विश्वस गर्नुपर्ने छ। यो हो एकता, यो हो मेलमिलप । यति मात्रै कहाँ हो र । कोरोनाले मानव सभ्यतालाई नयाँ मोडमा लैजने कुरा खुला रुपमा देख्न सकिन्छ । मैले सुनेको थिए कि कुनै कुरको बानी बसाल्नु छ भने २१ दिनसम्म लगातार त्यो काम गरियो भने बानी बस्छ भनेर । अनि हेर्नुस् त यो कुरा हाम्रो जीवनमा अहिलेको समयमा लागु हुन सक्छ नि । यो लकडाउन भएको २१ दिन भन्दा बढि भएको छ। यो त २१ हप्तासम्म पनि त लम्बिन सक्छ । यतिमा हामी घरमै फलेका सागसब्जी खाने, कसरत गर्ने गर्दा हामीहरु तन्दरुस्त हुन्छौँ । यसले हामीलाई सभ्य बनाउँछ र स्वस्थ पनि । साथै कोरोनाका कारण मानिस बढि सतर्क देखिन्छन् । जबदेखि विज्ञानको राम्रोसगँ विकास हुदैँ गयो तब तब विज्ञानको तथ्यहरुलाई मानिसले आत्मसात गर्दै आए । जस्तै कि सबुनले हात धुदाँ कीटाणुहरू मर्छन् भन्ने कुरा वैज्ञानिकहरुले १९ औं शताब्दीमा पत्ता लगाए। यस कुरालाई मानिसले विश्वास गरे र नियमित साबुन पानीले हात धुन थाले । यो भन्दा आगडि त डाक्टरले पनि शल्यक्रिया गर्दा हात नधोइ शल्यक्रिया गर्थे तर जब साबुन पानीले हात नधुदा हुने असरको पत्ता लाग्यो त्यसपछि बल्ल अफ्नो हात धोए पछि मात्र  शल्यक्रिया गर्न थाले । यसरी सायद मानिस अबदेखि झनै बढी सर्तक हुन सक्छन् । कहाँ यतिमात्र हुनु , लकडउन भएपछि विभिन्न देशमा अझ सम्मकै कम प्रदुषण भएको भनेर समेत मैले सुनेको छु । यसले के दर्शउछ त भन्दा हाम्रो वातावरण अहिले सफा हुदैँछ । कल कारखाना नखुल्दाँ हावा, ध्वनी, पानी प्रदुषण सोच्नै नसक्ने स्तरले कम हुँदैछ । मनौँ न मानव चाहिँ भाइरस अनि कोरोना चाहिँ एन्टिभाइरस । यस्तो पनि त हुन सक्छ । पृथ्वीको धान्ने शक्ति भन्दा जनसंख्या बढी भएपछि  वा मानवले आफ्नो स्वर्थका लागि प्रकृतिको गलत उपयोग गरेकाले पनि त प्रकृतिले सन्तुलन ल्यउनका लागि पनि त यस्तो समस्या मानव जातिले देखेको हुन सक्दछ । सायद, मानवले यो महामारी पछि “म प्रकृतिमा बस्छु । जसरी प्रत्येक कार्यको समान र विपरित प्रतिक्रिया हुन्छ त्यसरी नै  मैले प्रकृतिलाई नकरात्मक होस् वा सकरात्मक होस् असर गरे भने मलाई पनि असर पर्छ” भनेर बुज्यो होला । एक समयमा त कोरोना जीवजन्तुबाट फैलिएको समाचार पनि सुनिएको थियो। जसको प्रतिफल मानिसले जीव जन्तुहरुलाई मानिसको आहरका लागि मार्न अलि अलि  मात्रै भए पनि छाडिएको देखिन्छ । यसले पृथ्वीमा जीवजन्तुहरुको अस्तित्व बचाईदिएको देखिन्छ । अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि  “हामी र हाम्रो विश्व” ।  हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ । अब समय आएको छ, मानवताको बारेमा सोच्ने । हामी आहिले अलमलमा छौँ । “म र मेरो राष्ट्र महान् “, भन्ने कि  “हामी र हाम्रो विश्व” ।  हाम्रो आजको निर्णयले मानवजातीको भविष्यले नयाँ मोड लिने छ । आजको जमानामा मानिस राष्ट्रवादमा यति तल्लिन छन् कि उनीहरुले मानवताको भविष्यको बारेमा बिर्सेका छन् । यदि यसरी नै सोच्दै गइयो भने यस्तो संकटले झन् ठूलो संकट निम्त्यउने छ । यद्यपी, हरेक संकट एउटा अवसर हो । भविष्यम कोरोना जस्ता महामारी भारू आए भने त्योसँग लड्न सक्ने अवसर, मानवताका लागि काम गार्ने अवसर, अनेकताका वा मतभेदका कारण आउन सक्ने प्रकोपको बोध गर्ने अवसर तथा विश्व समस्वार्थताको महत्त्वको बारेमा बुझ्ने अवसर । हाम्रा पूर्खाले हाम्रो लागि धेरै काम गरेका छन् । अब हामी हाम्रो सन्ततीका लागि राम्रो पूर्खा बन्ने समय आएको छ । त्यसैले राष्ट्रवादी बनी अनेकता तिर जाने कि सबैसँग मेलमिलप गरी विश्व एकता तिर जाने हाम्रो निर्णय हो । र, यो निर्णयले नै कोरोना पछिको विश्व कस्तो होला भन्ने कुरा दर्शाउने छ । साथै, अब यो कसैले पनि नकार्न सक्दैन कि आगामी दिनहरुमा हामीले जस्तो पाइला सार्छम त्यसले हाम्रो विश्वको भविश्यको नक्शा कोर्ने छ । कक्षा १० मा  अध्ययनरत छात्रा जि.एस.निकेतन मा. बि.

प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या ३२४ पुग्यो

काठमाडाैं । प्रदेश नं २मा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ पुगेको छ । पछिल्लो २४ घण्टामा यस प्रदेशमा ५६ नयाँ कोरोना सङ्क्रमित पुष्टि भएपछि सो सङ्ख्या पुगेको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएका छन् । थपिएका नयाँ सङ्क्रमितमा रौतहटका ३५, बारामा एक महिलासहित आठ, सप्तरीमा एक महिलासहित ११ र सिरहाका दुई जना छन् । मुलुकभरिमा कोरोना सङ्क्रमणबाट १५५ निको भएको छ । सोमध्ये सबैभन्दा बढी प्रदेश नं २ बाट ९३ जना निको भएको जानकारी गराउँदै सचिव डा घिमिरेले डिस्चार्ज भएका मध्येबाट शिशुका साथै उच्च रक्तचाप, मधुमेहको बिरामी पनि सो सङ्क्रमणबाट निको भएर घर फर्केका हुन् । यस प्रदेशअन्तर्गत सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा एक महिलासहित १५, सिरहाको महेन्द्र गेनाइ अस्पतालको आइसोलेसनमा छ, महोत्तरीको जलेश्वर अस्पतालमा तीन, प्रादेशिक अस्पताल जनकपुरमा दुई महिलासहित २६ र सर्लाहीको अल्पमाई रामनारायण यादव नर्सिङ क्याम्पसको आइसोलेसनमा १३ जनाको उपचार भइरहेको छ । त्यस्तै रौतहटको गौरस्थित गौरी नर्सिङ क्याम्पसको आइसोलेसनमा तीन महिलासहित २८, रौतहटको राजपुर फरहदवा प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा २५, रौतहटको देवाही गौनाही–१४ स्थित धरहरीको पोलिटेक्निक क्याम्पसको आइसोलेसनमा १४, बाराको कलैया अस्पतालमा एक महिलासहित ३९ र पर्साको गण्डक अस्पतालमा दुई महिलासहित नौ जनाको उपचार भइरहेको छ । बुधबार ७४३ जनाको स्वाब सङ्कलन प्रदेश नं २ मा बुधबार ७४३ जनाको स्वाब सङ्कलन गरिएको छ । यस प्रदेशमा अहिलेसम्म १० हजार ५८९ को स्वाब सङ्कलन गरिएकामा सात हजार ९१५ को रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार ३५० को रिपोर्ट आउन बाँकी छ । यस प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२४ छ । अहिलेसम्म छ हजार २८७ को आरडिटी गर्दा २० जनाको रिपोर्ट पोजिटिभ आएको छ । यस प्रदेशमा कोरोना सङ्क्रमित बढ्दै गइरहेको कारण क्वारेन्टिन र आइसोलेसन श्ययामा पनि व्यापकरूपमा वृद्धि गरिएको छ । प्रदेशमा ३०१ क्वारेन्टिनमा १६ हजार ९१४ श्ययाको व्यवस्था गरिएको छ । यतिखेर क्वारेन्टिनमा १३ हजार ४०२, होम क्वारेन्टिनमा चार हजार ९०३ र आइसोलेसनमा २०३ जना बसेका छन् । यस प्रदेशमा ६४५ आइसोलेसन श्यया रहेको छ । रासस

संसदमा आगामी आर्थिक वर्षको बजेट दिउँसो ४ बजे प्रस्तुत हुँदै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट पेस गर्ने भएका छन् । उनले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीबार दिउँसो ४ बजे आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट पेस गर्नेछन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणमा बजेटले प्राथमिकता दिनेछ । यसैगरी, कृषि प्रणालीको आधुनिकीकरण, व्यवसायीकरण, औद्योगिकीकरण र रूपान्तरणमा पनि प्राथमिकता दिनुपर्नेमा जोड दिइनेछ । कोरोना प्रभावित भएका उद्योग, व्यवसाय र श्रमिकलगायतका क्षेत्रलाई राहतसमेत उपलब्ध गराउने गरी बजेट प्रस्तुत गर्ने छन् । सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारीसहित १६ खर्ब ९३ अर्ब रुपैयाँ हाराहारीको बजेट निर्माण गर्ने बताइएको छ । चालू आवको बजेट १५ खर्ब ३२ अर्ब रुपैयाँको हो । अर्थमन्त्री खतिवडाले यसभन्दा अगाडी दुई वटा आर्थिक वर्षको बजेट प्रस्तुत गरिसकेका छन् ।