विकासन्युज

तीन दिनसम्म मेघगर्जन, हुरी बताससहित पानी पर्ने सम्भावना

काठमाडाैं । प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । उनले भने, ‘प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।’ अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन्न अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्याह्नपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी तथा मध्य भूभागमा केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहने छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस रहने छ । रासस

ह्याकर भारतीय भनेपनि आइपी एड्रेस चार देशमा देखियो, कति सुरक्षित छन् नेपाली वेवसाइट ?

काठमाडौं । पछिल्लो केही दिन यता नेपाली सरकारी वेवसाइटहरु ह्याकिङ भएका खवरहरु बाहिरिन थालेका छन् । कोरोना भाइरसले उत्पन्न लकडाउनको समयमा विभिन्न सरकारी वेवसाइटहरु ह्याक गर्ने प्रयास ह्याकरबाट भइरहेको छ । अझ कतिले त अहिले नेपाल–भारतको सीमा विवादको विषयलाई लिएर दुवै देशका ह्याकरहरुले एकअर्का देशका वेवसाइटहरु ह्याक गरेको र गर्न खोजेको पनि बताइरहेका छन् । यस बारेमा सम्बन्धित निकायले अनुसन्धान त गरि नै रहेको छ । तर, सरकारी निकाय र आफ्ना महत्वपूर्ण तथ्याङ्कहरु वेवसाइटमै राखेकाहरु डाटा लिक हुने होकि भन्ने थप चिन्तामा परेका छन् । यो एक दुई हप्ताको समयावधिमा ह्याकरहरुले नेपालका एक दर्जनभन्दा बढी सरकारी  र दर्जनाै‌ं निजी वेवसाइटहरु ह्याक गरेको र गर्न खोजेका छन् । अझ उनीहरुले धेरै ह्याक गर्न सक्ने पनि चेतावनी दिइरहेका छन् । केही दिन अगाडि मात्र भारतको भनेर दावी गरिएको इन्डियन साइबर ट्रप नामको ट्विटर ह्यान्डलबाट सक्रिय ह्याकरको समूहले बाँकेको वनस्पति अनुसन्धान केन्द्रको वेवसाइट ह्याक गरेर खुलेआम अझै धेरै नेपाली वेवसाइट ह्याक गर्ने चेतावनी दियो । त्यसको केही दिनपछि मात्र पुनः सोही समूहले नेपाल पुस्तकालयको वेबसाइट पनि ह्याक गर्यो । त्यसमा पनि उनीहरुले सोही चेतावनी दिए । गत शुक्रबार पुनः भारतीय ह्याकर नै भनेर दावी गरिएको GH057_5P3C7P6  नामको ट्विटर हेन्डलबाट नेपाल उड्डयन प्राधिकरणको वेबसाइट ह्याक भयो । उनीहरुले ती वेवसाइटहरु ह्याक त गरे तर त्यसबाट कुनै पनि डाटा लिक हुन पाएन । उनीहरुले ती वेवसाइटबाट कुनैपनि डाटा चोर्न त सकेनन् तर नेपाली सरकारी अधिकारी तथा अन्य निजी वेवसाइट चलाउनेहरु भने चिन्तित बनेका छन् । ह्याकरहरूले सामान्य रूपमा एउटा फाइललाई वेबसाइटको फाइलभित्र छिराएर कुनै पनि डाटा लिक हुन नपाए पनि कतै नेपाली वेवसाइटहरुमा राखिएकमा सुचनाहरु चोरी अर्थात लिक  हुने त होइन भन्ने जोखिमको विषय पनि बनेको छ । यसरी एकपछि अर्काे वेबसाइटमा समस्या देखिएपछि वेबसाइट सुरक्षित छैनन् कि भन्ने प्रश्नसमेत उठिरहेका छन् । यद्यपि सरकारी अधिकारीहरू भने वेबसाइटहरू पूर्ण सुरक्षित रहेको दावी गर्छन् । आइपी एड्रेस विदेशमा देखियोः रमेशप्रसाद पोखरेल ह्याकरहरुले बारम्बार सरकारी वेवसाइटहरुलाई निशानामा राखेपछि सरकारी निकायले पनि त्यसको अनुसन्धान र वेवसाइट सुरक्षित पार्ने प्रयास गरिरहेका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका सहायक निर्देशक एवं सूचना अधिकारी रमेशप्रसाद पोखरेलले यी घटनाहरु पछि आफुहरु थप सजग र सचेत बनेको बताए । दैनिक सरकारी वेवसाइटहरु आक्रमण गर्ने प्रयास गरिएको बताउँदै उनले आफुहरुले पनि त्यही अनुसारको अनुसन्धान र सुरषित बन्ने उपाय अवलम्बन गर्दै आएको उनको भनाई छ । उनले अनुसन्धान तीव्र रुपले भइरहेको पनि उनले बताए । अनुसन्धानको नजिक पुगेको पनि उनको भनाइ छ । लामो समयसम्म ह्याक नभएपनि ह्याक गर्ने कोसिस गरिएकाे छ, हामीलाई अहिलेसम्म नोक्सान भने केही भएको छैन, कहाँबाट हयाकिङ भइरहेको छ भनेर अनुसन्धान भइरहेको छ,’ उनले भने । अहिले नेपालका सरकारी वेवसाइटहरु भारतीय ह्याकरहरुले ह्याक गरेको भनिए पनि आइपी एड्रेस भने केही नेपाल र विदेशमा देखिएको उनले बताए । उनका अनुसार ह्याक गर्नेहरुको आइपी एड्रेस नेपाल, साउदी अरविया, थाइल्याण्ड र इण्डोनेसिया देखिएको छ । ह्याकरहरुले ह्याक गरेकोभन्दा एक स्टेप माथि रहेर आफुहरुले त्यसबाट सुरक्षित र सजग बन्ने उपाय र रणनीतिका साथ काम गरिरहेकाे उनले बताए । हालसम्म केन्द्र मातहत २/३ हजार वेवसाइट रहेको उनले बताए । केन्द्रबाट होस्टिङ गरिएका सबै वेबसाइटहरू सुरक्षित रहेको उनले बताएका छन् । ‘जुन इन्टरेनट सेवा प्रदायकको आइपी एड्रेस देखिएको छ, हामीले हो कि होइन भनेर पष्टि गर्न भनेका छौँ,’ उनले भने । वेबसाइटभित्र छिर्ने मुख्य दुई ठाउँ हुन्छन् । एक कन्ट्रोल प्यानेल र अर्काे कन्टेन्ट म्यानेजम्यान्ट सिस्टम । यी दुवै सिस्टमको युजर नेम र पासवर्डबाट वेबसाइडको डाटाबेस र अन्य फाइलहरूमा प्रवेश गर्न सकिन्छ । ह्याकरहरूले बाहिरी माध्यमबाट वेबसाइटमाथि आक्रमण गर्ने गर्छन् । ‘नेपाल पुस्तकालयको वेबसाइट ह्याक गरेको समूहको आइपी एड्रेस पनि नेपालभित्रकै देखिएको उनले बताए । ‘भिपिएन प्रयोग गरेर भइरहेको हो या नेपालभित्रबाटै भइरहेको हो हामीले मोनिटरिङ गरिरहेका छौँ,’ उनले भने । अनुसन्धानको भइरहेको छः नविन्द अर्याल केन्द्रिय साइवर ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले विभिन्न वेवसाइटहरु ह्याक गर्न खोज्नेहरुको अनुसन्धान भइहरेको बताएका छन् । उनका अनुसार वेवसाइट ह्याक गर्न खोज्नेहरुको आइपी एड्रेस लगायतका माध्यमबाट अनुसन्धान भइरहेको बताए । केही वेवसाइटहरु ह्याक भएको अआधिकारिक निवेदन नआएपनि व्युरोको ध्यान आर्कषण भएको उनले बताए । आवश्यकता अनुसार अनुसन्धान बढाउने उनको भनाइ छ । ‘क्षतिे खासै भएको छैन, धेरै वेवसाइट रिभाइव भइसकेका छन, ह्याक भएका धेरै निजी वेवसाइट पनि नेपालभित्र नभई विदेशी डोमेन भएकोले पनि आक्रमण गर्न खोजिएका छन्,’ उनले भने । सेक्युरिटी अडिट नभएकाहरुमा आक्रमण भएको उनको भनाई छ । विदेशी ह्याकर भएपनि सम्बिन्धत निकायको सहयोग लिएर कारबाहीको दायरामा ल्याउने उनले बताए । ‘लकडाउनको समयमा अधिकांश मानिस घरमै बसेर कम्प्युटर र इन्टरनेटमा व्यस्त हुने भएकाले विद्युतीय अपराध बढी देखिएका छन्, हामीले थुप्रै घटनामा सम्बन्धित कार्यालयलाई अनुसन्धानमा सहयोग गरिदिन पत्राचार पनि गरेका छौं,’ उनले भने । सामाजिक सञ्जालका घटनाहरुलाई लिएर पनि अनुसन्धान भइरहेको उनले बताए । उनले फेसबुक कार्यालयलाई पनि अनुसन्धानमा सहयोग गर्न पत्राचार गरिएको जानकारी दिए । यद्यपि, ब्युरो तहबाट हुन सक्ने घटनामा आश्वयक विश्लेषण र अनुसन्धान भइरहेको उनको भनाइ छ । चिन्ता भने बढाएको छ, तर सुरक्षित छौंः रेवती प्रसाद नेपाल प्रविधिको विकाससँगै वित्तीय क्षेत्रमा चुनौती पनि बढ्दै गइरहेका छन् । बैंक तथा वित्तीय क्षेत्रमा हुने साइबर डकैती पनि त्यस्तै चुनौतीमध्येको एक हो । अविकसित र विकासशील देश मात्र नभई विकसित देशमा पनि साइबर डकैतीका घटना सार्वजनिक हुँदै आएका छन् । पछिल्लो समयमा भइरहेका वेवसाइट ह्याकिङका घटनाहरुले बैंक तथा वित्तीय क्षेत्रहरुमाथि पनि चुनौती थपिएको छ । बैंकिङ प्रणाली ह्याक गरेर नक्कली एटिएमबाट बैंक डकैती गर्ने, बैंकहरूको स्विफ्ट सर्भर ह्याक गरेर एक ठाउँबाट अर्को ठाउँ वा एक मुलुकबाट अर्को मुलकमा पैसा पठाएर डकैती गरिने लगायतका घटनाहरु पनि यो भन्दा अगाडि नेपाली बैंक तथा वित्तीय षेत्रमा नभएका होइनन् । अझ पुनः नेपालको बैकिङ क्षेत्रमा एक किसिमको त्रास भने अवश्य नै देखिएको छ । दैनिक सरकारी वेवसाइटहरु ह्याक गर्ने ह्याकरहरुले कुनै दिन बैंक तथा वित्तीय संस्थाहरुको वेइसाइट ह्याक गरेर महत्वपूर्ण सुचना तथा डाटाहरु लिक नगर्लान भन्न सकिन्न । तर, नेपाली बैंक तथा वित्तीय संस्थाका वेवसाइटहरु सुरक्षित रहेको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणादी विभागका प्रमुख रेवती प्रसालद नेपािलले बताए । ह्याकरहरुले केही दिन देखि सरकारी वेवसाइट ह्याक गरेका खवरहरु आएको सुनिएर त्रास बढेपनि बैंक तथा वित्तीय संस्थाहरु त्यसबाट सुरक्षित रहेको उनको भनाइ छ । ‘अहिले बैंक तथा वित्तीय संस्थाहरुका वेवसाइट ह्याक भएर सुचना लिक हुने समस्या छैन, पछिल्ला केही घटनाहरु भएपछि हामी थप सचेत भने बनेका छौं,’ उनले भने । राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थगाहरुलाई सचेत रहनु भनेर अनौपचारिक रुपमा भनिरहेका बताउँदै त्यस्तो कुनै पनि समस्या आउला जस्तो बैंकलाई नलागेको उनको भनाई छ । ‘हुनत अहिले पनि धेरै बैंकहरुमा २४सै घण्टा मोनिटरिङ गर्ने व्यवस्था छैन, हामीले उनीहरुलाई सुरक्षित हुने उपाय तथा रणनीतिहरु अपनाउनु भनेर भनिरहेका नै छौं, सेक्युरीटी फिचर बढाउने र सिस्टम अडिट गर्ने काम गर्दैै गएका छौं,’ उनले भने । सम्बन्धित देशसँग सहयोग मागेर ह्याकरलाई कारबाही गर्न सकिन्छः बाबुराम अर्याल वकिल बाबुराम अर्याल सम्बन्धित देशको सहयोग लिएर यस्ता घटनाहरुको अनुसन्धान गर्न सकिने बताउँछन् । कानुन कार्यान्वयन गर्नका लागि सम्बिन्धत देशको सहयोग मागेर कारबाही गर्नु पर्ने उनको भनाई छ । विद्युतीय कारोवार ऐन अन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा एक लाख रुपैयाँ वा दुवै सजाय हुने प्रावधान रहेको छ । तर, विद्युतीय कारोवार ऐनबाट कारवाही प्रक्रिया अगाडि बढाइँदै आएको भए पनि प्रविधि विकाससँगै अपराध प्रकृति फेरिँदै गएकाले ऐनले सबै अपराध र कारवाही समेट्न नसकेको बताइएको छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्वीटर, भाइवर, गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने, अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेको हो । साइवर अपराधको ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान रहेको छ । नेपाल विश्वका एक सय ६० मुलुकमध्ये साइबर सेक्युरेटीका हिसाबले ९३औँ स्थानमा छ ।

सरकार हामी परदेशी मौन भयौं भनेर समस्या सकियो भन्ने नसोच्नुस

काठमाडौं । विगत ८ महिना देखि जब नेपालको ओशो र फ्युचर मनपावरबाट हामी महिनाको १ लाखदेखि १ लाख ५० हजार कमाइ हुने प्रलोभनमा परेर २ लाख ५० हजारदेखि ३ लाख सम्म बुझाएर युएइ को शार्जहा स्थित इमिरेट्स क्याब त्याक्सिमा आइयो । त्यहाँको सबै अवस्था बुझियो अनि मेनपावरमा पनि फोन गरियो तर सबैको एउटै कुरा आयो अरुको हल्ला नसुन्नु आफु काम गर्नु अनि मात्र थाहा हुन्छ भन्ने आस्वासन पाएर अनि नेपालमा आफ्नो ब्यवहार सम्झेर पनि हामी बसियो दुख सुख र अन्तत काम सुरु पनि गरियो । तर आखिर सत्य सत्य नै हुन्छ भने झै महिना भरि काम गर्यो सेलरि आयो दुई सय आठ दिराम, अब खाने यसैमा अनि बस्ने रुम भाडा यसैमा अब कसरि चल्छ र यो अवधि सम्म मा नेपाल बाट उल्टो पैसा मगाएर खाइदै थियो । कोरोना फैलिएसँगै काम नचल्ने भयो भनेर रिजाइनको लागि कम्पनी गयौं तर उल्टो रिजाइन गर्दा भए नभएको हिसाब देखाएर हजारौं दिराम तिर्नु पर्ने देखाए पछि हामी कानुनी बाटोबाट नेपाल जाने तयारीमा लागियो । आफूले दुतावास पनि धेरै पटक धाइयो ,यतिन्जेल हामी खाना बस्नको धेरै समस्यामा थियौ भने कहिले पार्क कहिले फलैचा चाहर्दै दिन रात कटाउदै थियौ । दुतावासको फितलो पहलले गर्दा हामि मध्ये १५ जना साथिहरु नेपाल फर्किसके भयो भने हाम्रो काममा ढिलाइ भइरहेको छ । यसरी नै हामी दिनानु दिन आर्थिक समस्या बढ्दै गएको छ । आफ्नो घर परिवार अनि आफ्नो आर्थिक ब्यवहारको चिन्ताले हामी मानसिक अनि शारीरिक चिन्तामा फस्दै गयौं । यसो हुँदा हुदै भिसा पनि क्यानसिल भएन र विश्वमा कोरोना माहमारी अझ अन्धकारमा धकेलियौं । यो अवधिमा हाम्रो सबै समस्याको समाधान त कसरी हुने हो र तर पनि खाना बस्नको लागि एनआरएनए युएइले हामीलाई केहि पैसा कोठा भाडाको लागि अनि खानाको समान प्रदान गरेर हामीलाई पार्कको सुताइबाट कोठासम्म ल्याउएसँगै खानाको व्यवस्था गरेका छन् । यसरी नै तनावमा बाच्दा बाच्दै आजभोलि भन्दै दिन कटाउदै बसियो र भिसा क्यानसिल पनि गराइयो तर न त नेपाल सरकारले हामीलाई उद्धार गर्ने कोसिस गर्यो न त केहि पहल नै गर्यो । हाम्रो अवस्था गर या मर भन्नेमा पुगेको थियो किन कि खाना को व्यवस्था भए पनि रुम को लागि दिएको थोरै पैसा ले बस्न नसक्ने भएर अनि हाम्रो आवाज सरकारसम्म पुर्याउन हरेक मिडियामा आयौ हाम्रो समस्या पोखियो तर सुनुवाइ हुने छाटकाट नदेखिएको र हामी सबै मानसिक रोगी हुन लागेको अवस्थामा सरकारको एउटा निकाय दुतावास हो भन्ने ठहर गरेर ३८ जना पिडितमध्ये १७ जना दुतावासको शरणमा पुगियो । हाम्रो समस्या सुनुवाइ हुने झिनो आशा बोकेर ,त्यहा पनि सबै कुरा राखियो समस्या बताए पछि राजदुतावासको पहलमा एनआरएनएले खाना बस्नको ब्यवस्था गर्ने निर्णय पत्रकार तथा एनआरएनएको रोहवरमा प्लेन आउने बितिकै प्रथामिकतामा राखेर नेपाल पठाउने भन्ने कागज गरेर उहाँहरुले नै गाडिको ब्यवस्था गरेर हामीलाई बस्न र खानाको ब्यवस्था सहित शार्जहामा ल्याइयो । हामी शार्झा आएको पनि एक महिना हुन लाग्यो अब हामीले एनआरएनएको सहयोग खाएको महिनौ भै सक्यो । एनआरएन युएइ अध्यक्ष प्रकाश कोइराला ,उपाध्यक्ष पासाङ शेर्पा र उपाध्यक्ष नरेश सेनले हामी लगायत हजारौं पिडितलाई सहयोग गर्नु भएको छ । यस्तो कोरोना महामारिको बेलामा तर खोइ त सरकारको पहल कि आफ्ना नागरिक छिटो सकुशल नेपाल फर्काउने बारेमा कि सधै अरु कै मुख ताक्ने हो र ? कुबेरको ढुकुटि त सकिएको थियो यहाँ त सरहरुले आफ्नै खर्चले पनि अहिलेसम्म कसैलाइ भोकै मर्न दिनु भएको छैन । राहत हो, सबैलाइ थाहा नै हुन्छ के के कुराको अभाव हुन्छ भनेर तर पनि अहिलेको अवस्थालाइ मद्यनजर गरेर हामी यहि सुख दुख बस्दै आएका छौं । सरकारले पिडित विदेशस्थित नेपालीलाई ल्याउने निर्णयहरु सरकारका हुन थाले पछि केहि आशा पलाउन थाल्यो तर अहिले आएर दिनानु दिन बहाना बाजि गरेर ल्याउने ल्याउने मात्र भन्ने तर झुलाउने काम भएको प्रष्ट देख्न सकिन्छ । सरकार हामी मौन भएका थियौं किन कि हामि जस्तो सयौं पिडितलाई उद्धार गर्नु हुन्छ भनेर प्रतिक्षा गरेर बसियो अहिलेसम्म केही देखिएन अब यसरी नै बहाना बाजीमात्र गरेर हामीलाइ झुलाउने हो भने हामी अब मौन रहन सक्दैनौ । आखिर ज्यान नै जाने भए पछि त्यसै किन मर्ने दुतावासमा नै गएर मर्ने छौं सरकार र अब पनि पिडितलाई नेपाल लैजान ढिला गर्ने हो भने क्वारेन्टाइन होइन मानसिक अस्पताल निर्माण गर हामी सबै मानसिक रोगी बन्दै छौ ,नबनौ पनि कसरी ,कसैको औषधि सकिएको छ ,कोहि महिला गर्भवती छन् अनि कोहि आफन्त भेटन आउनु भएको आफन्त कै जागिर गएर अप्ठेरोमा अनि कसरि हामी सुरक्षित बस्न सक्छौ होला सरकार ! खर्च नहुँदा आर्थिक तनाब अनि घर परिवारको सम्झना अनि म्यानपावरले डुबाएर बडेको ऋण अनि घरमा खानाको तनाब कसरी झेल्ने हो । समयमा नै बुद्धि पुर्याउनु होला सरकार तिमीमा जुन रगत छ नेपालीको हामीमा पनि त्यहि रगत छ याद रहोस् । अन्त्यमा हामीलाई एयरपोर्टबाट सिधै लिपुलेक लानुस हामी क्वारेन्टाइन पनि बस्छौं र सिमाको रक्षा पनि गर्छौ । इलाम हाल शार्जह युएइ

शिक्षामा २० प्रतिशतसम्म बजेट राख्न सुझाव

काठमाडाैं । हाल शिक्षा क्षेत्रमा कूल बजेटको १० प्रतिशत बजेट रहेकामा कोरोना महामारीको असरसमेत परेकाले यसलाई बढाएर २० प्रतिशतसम्म बनाउन सुझाव दिइएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालद्वारा आयोजित ‘शिक्षा बजेट कस्तो र कसरी रु’ विषयक भर्चुअल संवादमा पूर्व स्वास्थ्यमन्त्री तथा पूर्व शिक्षा सचिव विद्याधर मल्लिकले यो महामारीमा राष्ट्रिय कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को ५.५ प्रतिशतसम्म शिक्षामा लगानी गर्नुपर्ने बताए । सन् २०२१ सम्ममा विद्यालयक्षेत्र सुधार कार्यक्रमले परिलक्षित गरेको लगानीका लागि पनि बजेट बढाउनुपर्ने उनले बताए । सरकारले यही जेठ १५ गते आर्थिक वर्ष २०७७/७८ को राष्ट्रिय बजेट प्रस्तुत गर्दैछ । शिक्षाविद् डा विनय कुसियतले हाल शिक्षाको वार्षिक बजेटमा करिब एक खर्ब २६ अर्ब रूपैयाँ अपुग रहेको स्थितिमा कोरोना महामारीपछि कक्षाकोठा र शिक्षक दरबन्दी थप्नुपर्ने हुँदा दातृ निकायसँग मागेर वा प्रगतिशील कर लगाएर भए पनि बजेट बढाउनु आवश्यक रहेको औँल्याए । उनले निजी वित्तअन्तर्गत विद्यार्थी शुल्क/अभिभावक, ऋण र सहयोग/सापटी, वैदेशिक सहयोग तथा अनुदान, बाह्य छात्रवृत्ति र गैरसरकारी संस्थाबाट आर्थिक जोहो गर्न सकिने जनाए । शिक्षामा निजीतर्फ ५६.२ र सरकारी स्रोत ४३.८ प्रतिशत रहेको एक अध्ययनले देखाएको छ । संसद्बाट यही जेठ ६ गते पारित सरकारको नीति तथा कार्यक्रमले उच्च गतिको इन्टरनेट सुविधा विद्यालयमा जडान गर्नेबाहेक कोभिड-१९ लाई सम्बोधन नगरेकाले पनि बजेट वृद्धि आवश्यक रहेको उनको भनाइ छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कृष्ण काप्रीले स्वास्थ्यपछि शिक्षालाई नै प्राथमिकतामा पर्ने गरी कार्यक्रम प्रस्ताव गरिएको बताउँदै तत्काल पठनपाठन सामग्री उपलब्ध गराउने अर्थ मन्त्रालयमा एक करोड १२ लाख रूपैयाँ स्वीकृतिको चरणमा रहेको जानकारी दिए । रासस

बीमा कम्पनीले नयाँ बिजनेससँगै पोलिसी ल्याप्स कसरी कम गर्ने भन्नेतिर ध्यान दिनुपर्छ

विश्वमा कोरोना भाइरस महामारीका कारण उत्पादनमूलकदेखि सेवा मुलक क्षेत्रहरु प्रभावित हुन पुगेका छन् । सोही अवस्थामा अत्यावश्यक सेवाभित्र पर्ने बीमा क्षेत्रले आगामी दिनको योजना के कस्तो छ भन्नेमा सबैको चासो छ । बीमा समितिले ल्याएको कोरोना बीमा कार्यक्रमले बीमा कम्पनीको वित्तीय स्थायित्वमै असर पर्ने त होइन भन्ने चिन्ता पनि गर्न थालिएको छ । यस्तै अवस्थामा बीमा क्षेत्रले कस्तो रणनीति अपनाउँला, भोलिको बीमा बजार कस्तो होला भन्नेलगायतका विषयमा बीमा क्षेत्रको नियामक निकाय बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलसँग विकासन्युजका लागि नविन पोखरेलले कुराकानी गरेका छन्ः कोरोना महामारीपछि बीमा बजारमा के कस्ता परिवर्तन आउन सक्छन ? कुनै पनि घटना घटिसकेपछि यसले केही न केही रूपमा असर त गर्छ नै । तर, त्यसले चुनौति सँगसँगै यसले अवसर पनि ल्याएको हुन्छ । हाल बीमा क्षेत्रमा कोरोनाले ल्याएको चुनौतिलाई अवसरको रूपमा परिणत गर्ने समय आएको छ । बीमा क्षेत्रमा रहेको परम्परागत कार्यशैलीलाई प्रविधिमैत्री र समयसापेक्ष सेवा प्रवाहको नयाँ कार्यशैलीमा रूपान्तरण गर्नुपर्दछ । अबका दिनमा बीमा कम्पनीहरूले जारी गर्ने बीमालेखलाई अनलाइन प्रणालीबाट बिक्री गर्ने व्यवस्था गर्नुपर्ने तथा बीमाका उपकरण र क्षेत्रलाई पनि विविधिकरण गर्नुपर्ने हुन्छ । हालको महामारीको अवस्थालाई समेत समेट्ने गतिशील बीमालेख बनाउनु पर्छ भन्ने बिषय यस अवस्थाले सिकाएको छ । जीवन बीमा बिक्री गर्ने पहिलो पक्ष अभिकर्ता हुन् । यो समयमा अभिकर्ताहरूलाई प्रविधिमैत्री बनाई बीमा बजारको विकास गर्नु पर्दछ । जनताको परिवर्तित चाहाना बमोजिमका बीमालेख ल्याउन सकेमा कम्पनी अगाडी बढ्न सक्नेछन् । र, जनताले स्वतः बीमा पोलिसी खरीद गर्ने अवस्था आँउछ । बीमा कम्पनीहरूले स्वास्थ र कृषि क्षेत्रमा उत्पन्न हुने आर्थिक जोखिमको सुरक्षण प्रदान गरी राज्यको नीति अनुरूपको सर्वसुलभ स्वास्थ्य तथा व्यवसायिक कृषि प्रणालीमा टेवा पुर्याउन ध्यान दिई बीमालेखहरू तयार गर्नु पर्छ । नियमकको हिसबले यस कठिन अवस्थामा सरोकारवाला निकायसँग कसरी समन्वय गरिरहनु भएको छ ? वास्तवमा नियमक निकाय भनेको सहजकर्ता पनि हो । यसले आफ्ना सरोकारवालाहरूसँग समन्वय गरेर यस्तो बिषम परिस्थितिमा पनि कोरोना भाइरस बीमालेख ल्याई बीमामा नविनतम अभ्यासको शुरूवात गरेको छ । बीमा समितिले नेपाल बीमक संघ, जीवन बीमक संघ, लगानीकर्ता, बीमा अभिकर्ता र बीमा सर्भेयर र अन्य सबै सरोकारवालाहरूसँग छलफल गरी बीमा बजारमा के कस्ता सुविधा तथा राहत प्रदान गर्न सकिन्छ भन्ने विषयमा निरन्तर छलफल तथा अन्तरकृया गरिरहेको छ । त्यसतर्फ उन्मुख भई निर्जीवन बीमातर्फ यातायात व्यवसायमा केही राहात होस् भन्ने ठानेर मोटर बीमा निर्देशिकामा छुटको व्यवस्था गरिसकिएको छ । जीवन बीमातर्फ बीमालेख धितो राखी ऋण लिएका बिमितलाई बन्दाबन्दी (लकडाउन) को अवस्थामा व्याज रकमको १५ प्रतिशत छुटको व्यवस्था गरिसकिएको छ । नेपाल सरकारसँग छलफल गरी यस्तो सेवा सुविधामा सहुलियत दिइरहेको अवस्था छ । बीमा कम्पनीहरूले धमाधम जोखिम धारण गरिरहेका छन्, यस अवस्थामा भोलि जोखिम एकसाथ आई कम्पनीलाई धान्न समस्या पर्ने स्थिति त आँउदैन ? वास्तवमा बीमा भनेको आर्थिक जोखिम हस्तान्त्रण गर्ने माध्ययम हो । बीमा कम्पनीहरूले जोखिमको केही अंश आफैले राख्दछन् र बाँकी ठूला ठूला जोखिमलाई पुनर्बीमाको माध्ययमबाट जोखिमको हस्तान्त्रण गर्ने गर्दछन् । कम्पनीले यस्तो गर्दै आएका हुन्छन् । तर, तपाईले यहाँ हालै जारी गरेको कोरोना भाईरस बीमाको बारेमा कुरा गर्न खोज्नुभएको होला । कोरोना भाईरस बीमालाई पुलको माध्ययमबाट व्यवस्थापन गर्ने व्यवस्था मिलाएका छौं । यसमा पनि नेपाल पुनर्बीमा कम्पनीले २० प्रतिशत र अन्य निर्जीवन बीमा कम्पनीहरूले ८० प्रतिशतको जोखिम लिने व्यवस्था गर्नेगरी व्यवस्था मिलाइएको हो । कोरोना भाईरस बीमाबाट नाफा बाँड्न नमिल्ने हुँदा यसको जोखिमको भार उक्त पुल र पुनर्बीमा कम्पनीबाट हुन सक्दछ । यो बीमालेख बजारमा ल्याएको १ महिना पुगेको छ । यस सम्बन्धमा नेपाल बीमक संघका पदाधिकारीसँग छलफल गरी अन्डरराईटिङ्गको व्यवस्था मिलाउन निर्देशन दिईसकेको अवस्था छ । हामीले यसलाई नजिकैबाट सुक्ष्म रूपमा प्रत्येक दिनको डाटा लिई अध्ययन गरिरहेका छौँ । हामी त्यसको जोखिमतर्फ सजक छौं । कोरोना बीमालाई निर्जीवन बीमा कम्पनीहरूले गर्न मिल्ने व्यवस्था अहिले छ, भोलिका दिनमा यसमा जीवन बीमा कम्पनीहरू पनि जोडिने कत्तिको सम्भावना देख्नुहुन्छ ? वास्तवमा अहिलेको वजारमा हाम्रा निर्जीवन बीमा कम्पनीहरूले धातक रोग सम्बन्धि बीमालेख बिक्री गरेका छन् । त्यसमा जीवन बीमा कम्पनीहरूले आफ्ना मुल बीमालेखमा राईडर थपेर बीक्री वितरण गरेको पाइन्छ । तर यो कोरोना बीमालेख बिल्कुलै फरक किसिमको बीमालेख हो । यो बीमा बीमालेख सामाजिक उत्तरदायित्वसँग जोडेर ल्याइएको हो । आजको बीमा बजारले यसलाई राम्रोसँग ग्रहण गरेको छ । यसबाट धेरै मानिसहरू बीमाको दायरामा आइरहेका छन् । जीवन बीमा गर्ने बीमा कम्पनीहरूसँग छलफल गरी हालको अवस्थामा त्यस्तो बीमालेख विक्री नगर्न जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिइसकिएको छ । यो लघुबीमा निर्देशिकाबाट निर्देशित गरी ल्याएको हुँदा जीवन बीमा कम्पनीहरूलाई भन्दा निर्जीवन बीम कम्पनीहरूबाट उपलब्ध गराइएको हो । समितिका आफ्ना समस्याहरू पनि छन् कि ? समस्या त अवस्य नै छन् । त्यस्ता समस्याहरू पनि समाधान गर्न आफ्ना निकायहरूसँग छलफल गरी समस्याहरू समाधान गर्नेतर्फ नियामक निकाय उन्मुख छ । हाम्रा आफ्नै क्षमता विकास गर्नुपर्ने विषय हाल बजारमा उठेको छ । नियमक निकायका हिसाबले लगडाउनमा के कस्ता काम गर्दे हुनुहुन्छ र के गर्ने योजना बनाउँदै हुनुहुन्छ ? यो लागडाउन भएको आज २ महिनाभन्दा बढी भएको छ । बीमा अत्यआवश्यक सेवा अन्तर्गत पर्ने भएकाले हामीले लगडाउनको समयमा कार्यालय खोलेर आफ्नो सेवालाई निरन्तरता दिएका छौं । यो समयमा बिमितहरूलाई राहात दिने विषयमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरलाई निर्देशन दिएका छौं । यही लगडाउनको समयमा सरोकारवालाहरूसँग परामर्श तथा छलफल गरेर नै कोरोना भाईरस बीमालेख बजारमा ल्यायौं । यस समयमा हाम्रो वार्षिक उत्सव कार्यक्रम जेठ १ गते थियो । त्यो कार्यक्रम पनि हामिले वेबिनारबाट माननीय अर्थ सञ्चार तथा प्रविधि मन्त्रीज्यूलाई प्रमुख आतिथ्य ग्रहण गरी कार्य सम्पन्न गरेका छौं । अहिलेको समय बजेट अधिवेशनको समय भएको हुँदा नेपाल सरकारलाई बजेटमा बीमाका विषयवस्तुलाई प्रवेश गराउन पहलकदमीमै रहेको अवस्था छ । बीमा समितिले आफ्नो प्रशासनिक कार्यका साथै समय सापेक्ष आफ्नो बीमा बजारलाई नियमित, नियन्त्रित, व्यवस्थित र विकसित गर्ने दायित्व निर्वाह अपेक्षित रूपमा गरिरहेको अवस्था छ । सरकारबाट समितिलाई केही सशक्तिकरण गर्नुपर्ने अनुभूति गर्नुभएको छ कि ? वास्तवमा बैंकिङ, धितोपत्र र बीमा क्षेत्रलाई तुलना गरेर हेर्दा बीमा क्षेत्र अलि ओझेलमा परेको हो कि भन्ने केही महसुस त हुन्छ नै । तर, पनि वित्तीय क्षेत्रमा यसको भूमिका अहम छ । सरकारले पनि यसलाई आफ्नो प्राथमिकतामा राख्नुपर्छ । समितिको सस्थागत क्षमता विकास गर्न सहयोग गर्नुपर्दछ । बीमामा सरकार स्वयम उपस्थित भएपछि हरेक आर्थिक क्रियाकलाप बलियो हुन्छ । त्यस्तै, सरकारी सम्पत्तिहरूको बीमा गरेको खण्डमा भोलिका दिनमा विपद्बाट क्षति भएको खण्डमा क्षतिपूर्ति दिने कार्य गर्दछ । यो राष्ट्रिय सुरक्षाको विषय पनि हो । बीमाको बिषयहरूलाई हाल तयार हुन गईरहेको बजेटमा प्राथमिकताकासाथ अगाडी बढाउनेछ भन्ने महसुश गरेको विषय यहाँ अनुरोध गर्दछु । यसले वित्तीय क्षेत्रमा ‘विनविन’को अवस्था ल्याउँछ । बीमा कम्पनीको शाखा कार्यालय खोल्न नसक्ने अवस्थामा बीमा बजारमा अत्याआवश्यक सेवा कसरी संचालन गर्ने केही योजना बनाउनु भएको छ ? अहिलेको अवस्थामा बीमा कम्पनीहरूले शाखा कार्यालय खोल्न नसक्ने भए तापनि उनीहरूलाई नियमकले अनलाईन सिस्टमबाट आफ्ना कारोवार गर्न भनिसकेका छौँ । लगडाउनको अवस्थामा बीमा समितिले प्रत्येक बीमा कम्पनीहरूलाई ५/५ वटा पास उपलब्ध गराई सेवा सुचारू राख्न निर्देश गरेका छौं । जीवन बीमा कम्पनीमा अभिकर्ताहरूलाई भर्चुअल तालिमको व्यवस्था गर्न निर्देशन दिईसकेका छौं । समितिले बिमकहरूलाई जारी गरेको ‘बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६’ को अधिनमा रही बीमालेख अनलाईन बिक्री गर्ने कार्यविधि तयार गर्ने गरी समितिमा पेश गर्ने निर्देशन दिईसकेका छौं । अबको बीमा बजार प्रविधिमैत्री बनाउनेतर्फ बीमा कम्पनीहरू लागिपर्नु पर्दछ । यो महामारीले सिकाएको महत्वपूर्ण पाठ यही हो जस्तो मलाई लाग्दछ । कोरोना र बीमा बजारलाई जोडेर के भन्न चाहनुहुन्छ ? अहिलेको समय भनेको बाच्ने र बचाउने समय हो । यसमा बीमा कम्पनीका कर्मचारी अधिकृतहरूले कम्पनीको अनावश्यक खर्चलाई कम गर्न के के गर्न सकिन्छ, त्यसतर्फ ध्यान दिनु पर्दछ । लगानीकर्ताले नाफा खोज्ने समय अहिले नहुन सक्छ । जीवन बीमा तर्फ विशेष गरेर मेरो अनुरोध नयाँ व्यवसायको साटो पोलिसी ल्याप्स हुनबाट न्यून गराउन पर्छ । अस्वस्थ प्रतिस्प्रधालाई छोडी सर्वसुलभ बीमा सेवाको उपलब्ध गराउने आजका बीमा कम्पनीहरूको कर्तव्य पनि हो । क्षतिको क्षतिपूर्ति तत्काल दिने विषयमा विशेष ध्यान दिदै बजारको विश्वसनियता कायम राख्ने कुरामा बीमाका सबै सरोकारवालाहरू सचेत हुनु जरूरी छ । बीमाको डिजिटाइजेसनको लागि जनता र बीमा सम्बन्धि सरोकारवालाहरूलाई प्रविधि साक्षरता प्राप्त गर्ने अवसरको रूपमा यसलाई लिनु पर्दछ । दुःखसुखको साथी बीमा हो भन्नेतर्फ सबैको ध्यान आकृष्ट गराउँदै बीमामा आवद्ध हुन अनुरोध पनि गर्दछु ।

अधिकांश उद्योगीले दिएनन् चैतको पारिश्रमिक

काठमाडाैं । कोभिड-१९ सङ्क्रमणको जोखिम कम गर्न सरकारले लकडाउनको घोषणा गरेको अवस्थामा गत चैत महिनाको पूरा पारिश्रमिक उपलब्ध गराउने प्रतिबद्धता गरेका अधिकांश उद्योगी व्यवसायी आफ्नै प्रतिबद्धताबाट पछि हटेका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले कोभिड-१९ का कारण श्रमिकमा परेको समस्याको सम्बन्धमा गरेको द्रुत सर्वेक्षणले ‘लकडाउन’ शुरु भएपछि ठूलो सङ्ख्यामा श्रमिकले पारिश्रमिक नपाएको देखिएको छ । गत चैत महिनामा ४२ दशमलव १ प्रतिशत प्रतिष्ठानले श्रमिकलाई पारिश्रमिक उपलब्ध नगराएको सर्वेक्षणमा उल्लेख छ । यसैगरी चैतमा पारिश्रमिक दिएका प्रतिष्ठानमध्ये आधाले समेत गत वैशाखमा पारिश्रमिक नदिएको देखिएको छ । सो द्रुत सर्वेक्षणमा विराटनगरदेखि कैलालीसम्मका उद्योग, होटल, निर्माण कम्पनी, निजी विद्यालय, टेक्सटाइल तथा गार्मेन्टदेखि स्वास्थ्य संस्थासम्म गरी मुलुकका ३२३ प्रतिष्ठानलाई समेटिएको थियो । सर्वेक्षण अनुसार चैत महिनामा ३१ दशमलव ५७ प्रतिशत प्रतिष्ठानले मात्र श्रमिकलाई पूरा पारिश्रमिक दिएको देखिएको छ । ७ दशमलव ४३ प्रतिशतले आंशिक भुक्तानी गरेका छन् भने १८ दशमलव ८८ प्रतिशतले पेश्कीका रुपमा पारिश्रमिक उपलब्ध गराएको देखिएको हो । यसरी दिइएको पेश्की रकम पारिश्रमिकभन्दा कमसमेत हुने गरेको छ । यसरी पारिश्रमिक नदिइएका प्रतिष्ठानमध्ये धेरैजसोमा युनियनसँगको छलफलपछि दिने, बजेटपश्चात् मात्र विचार गर्ने, कुनैले आधा मात्र पारिश्रमिक दिने वा पारिश्रमिक घटाएर मात्र भुक्तान गर्ने जनाएको सर्वेक्षणमा सहभागीले जानकारी दिएका छन् । केही प्रतिष्ठानले भने उद्योग कहिले सञ्चालन हुन्छ, त्यसपछि मात्र दिन सकिने वा नसकिने वा कसरी दिने भन्ने टुङ्गोमा पुग्ने बताएको छ । बहुसङ्ख्यक सामाजिक सुरक्षा कोषमा सूचीकृत छैनन् सर्वेक्षणमा संलग्न उद्योग, प्रतिष्ठानमध्ये बहुसङ्ख्यक प्रतिष्ठान सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएको देखिएको छ । प्रतिष्ठानको नाममात्र सूचीकरण गर्नेहरु ४९ दशमलव २२ प्रतिशत रहेका छन् । तीमध्ये २१ दशमलव ३६ प्रतिशतले श्रमिकलाई समेत सामाजिक सुरक्षा कोषमा सूचीकरण गराएको देखिएको छ । रोजगारदाताको सूचीकरण, श्रमिकको सूचीकरण गरी कोषमा योगदान शुरु गर्ने प्रतिष्ठानको सङ्ख्या १० दशमलव ५२ प्रतिशत मात्र रहेको जनाइएको छ । सञ्चालनमा थोरै उद्योग प्रतिष्ठान अध्ययनअनुसार औषधि, खाद्य तथा पेयसम्बन्धी उद्योग, केही निर्माण कम्पनीसहितका स्वास्थ्य संस्थासमेत गरी १७ दशमलव ६४ प्रतिशत प्रतिष्ठान मात्र यसबीचमा पूर्णरुपमा सञ्चालनमा रहेको देखिएको छ । १३ दशमलव ६३ प्रतिशत प्रतिष्ठान आंशिकरुपमा सञ्चालित छन् भने ६८ दशमलव ७३ प्रतिशत औद्योगिक तथा सेवामूलक प्रतिष्ठान बन्द रहेको देखिएको छ । जिफन्टले कुनै पनि प्रतिष्ठानलाई नेपाल सरकारले कर छुट, जरिवाना मिनाहा वा ब्याज अनुदान वा कुनै सुविधा दिने निर्णय गर्दा श्रमिकलाई पारिश्रमिक दिएको र सामाजिक सुरक्षा कोषमा योगदान गरेको हुनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ । श्रमिकलाई पारिश्रमिक दिन अनिवार्य गर्ने अन्य कानूनी प्रबन्ध पनि गर्न जिफन्टले आग्रह गरेको छ । कार्यस्थलमा कोरोना सङ्क्रमण हुने अवस्था नआउने गरी सामाजिक दूरी कायम गरी औद्योगिक प्रतिष्ठान सञ्चालन गर्ने वातावरण सिर्जना गर्न जिफन्टले सरकारलाई सुझाव दिएको छ । रासस

सङ्क्रमित आमाबाबुकाे बालकको रिपोर्ट नेगेटिभ

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका कोरोना सङ्क्रमित दम्पतीसँगै एकवर्षे बालक साथमा छन् । आरडिटी परीक्षण गरिएकामध्ये दम्पतीको रिपोर्ट पोजेटिभ देखिएपछि बालकसहित आमाबाबुको स्वाब सङ्कलन गरेर सुर्खेत प्रयोगशाला हुँदै नेपालगञ्ज पठाइएको थियो, रिपोर्टमा आमाबाबुको पोजेटिभ आए पनि बालकको भने नेगेटिभ आएको छ । उनलाई दैलेखको सरस्वती मावि तर्ताङमा निर्माण गरिएको आइसोलेसन अस्पतालमा राखिएको छ । बालक पनि उनकै साथमा रहेको छ । घरका आफन्तले उनलाई लिने वा सङ्क्रमित आमाबाबुसँगै बसाल्ने भन्ने विषयको अझै टुङ्गो लागेको छैन । उनीसँगै अन्य सात जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । सङ्क्रमितको सङ्ख्या आठ पुगेको छ । सबै भारतबाट आएका व्यक्ति क्वारेन्टिनमा भएकै बेलामा स्वाब सङ्कलन गरिएकाले समुदायमा फैलिन नपाएको जिल्ला स्वास्थ्य कार्यालय दैलेखका खोप अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए । कर्णालीका पहिलो सङ्क्रमित दैलेखको आठबीस नगरपालिकाका एक युवालाई सरस्वती माविमा निर्माण गरिएको आइसोलेसनमा राखिएको भन्दै चर्को विरोधपछि उनलाई कोरोना अस्पताल सुर्खेत लगिएको भए पनि एकैपटक सात नयाँ सक्रमित देखिएपछि उनीहरुलाई सरस्वती माविमै उपचारका लागि राखिएको छ । रासस

बागलुङमा एकैदिन ६ जनामा देखियाे कोरोना

काठमाडौं । बाग्लुङ जिल्लामा एकैदिन थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमको प्रवक्ता तथा निर्देशक डा. बिनोद बिन्दु शर्माका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड र तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६ जनामा कोरोना देखिएको हो । उनका अनुसार बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १९ र २० वर्षका दुई जना पुरुषमा कोरोना देखिएको हो । त्यस्तै, बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २१, २७, २७ र २१ वर्षका ४ जना पुरुषमा कोरोना भएको पुष्टि भएको हो । उनीहरु सबैलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउन तयारी भैरहेको प्रवक्ता शर्माले जानकारी दिए ।