हट्यो लघु बीमाको मूल्य अभिवृद्धी कर
काठमाडौं । लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हट्ने भएको छ । हालसम्म लघु बीमामा मूल्य अभिवृद्धि कर समावेश थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य प्रस्तुत गर्दै सो कुरा जनाएका हुन् । जीवन बीमामा भ्याट लाग्दैन भने निर्जीवन बीमामा भ्याट लागू हुँदै अाएकाे छ ।
भत्ता, भ्रमण, सेमिनार खर्च पूर्ण बन्द, सरकारी कर्मचारीको १ लाख बीमा निःशुल्क
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले विदेश तथा स्वदेश भ्रमण भत्ता, बैठक भत्ता, सभा सम्मेलनमा भाग लिन पाउने भत्ता सबै रोकेका छन् । आगामी साउनदेखि यी सबै भत्ता रोकिएको उनले बजेट भाषणमा सुनाए । कोरोना उपचारमा खटिने स्वास्थ्य कर्मी र सुरक्षाकर्मी बाहेकले पाउने प्रोत्साहत भत्ता, खाना, खाजा भत्ता पनि बन्द गरिएको उनले बताए । राजश्व संकलनमा आउने संकुचन र सार्वजनिक खर्चमा परेको भारबीच आर्थिक सन्तुलन ल्याउन मितव्ययि हुनुपर्ने उनले बताए । कार्यलय सञ्चालन खर्च, इन्धन खर्च, फर्निचर खरिद, सवारी खरिदमा उल्लेख्य बजेट कटौति गरिएको उनले बताए । काममा दोहोरोपना भएको संस्थाहरु खारेज गरिने, सार्वजनिक निकायमा नयाँ नियुक्ती बन्द गरिने, सार्वजनिक संस्थामा सञ्चालन अनुदान बन्द गरिने, दोहोरो अनुदान र सुविधा बन्द गरिने उनले बताए । उनले सबै सरकारी कर्मचारीको लागि एक लाख बीमाङ्क रकमको कोरोना बीमा निःशुल्क गर्ने गरिने बताए ।
आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आयोजना बैंक अनलाइनबाटै सञ्चालन गरिने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । उनले आयोजना बैंक विध्युतीय माध्यमबाट सञ्चालन गरी संघीय स्तरमा सञ्चालन हुने आयोजनाको पहिचान, मूल्याङ्कन, छनोट र प्राथमिकीकरण गरिने बताएका छन्।
आन्तरिक ऋण विकासमा मात्रै खर्चिइने
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष लिने आन्तरिक ऋण विकास कार्यक्रममा मात्रै खर्च गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
सरकारी कर्मचारीको अतिरिक्त सुविधा भत्ता खारेज
काठमाडाैं । सरकारले सरकारी कर्मचारीलाई दिँदै आएको अतिरिक्त सेवा सुविधाहरु खारेज गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो रकम प्रस्तुत गरेका हुन् । उनले सरकारी कर्मचारीका अनावश्यक सेवा सुविधा र अतिरिक्त खर्च कटौती गर्ने बताएका हुन् । यो कोरोनाको उपचारमा खटेका कर्मचारीहरुको हकमा लागु हुने छैन ।
काठमाडाैंमा सुरूङमार्ग र फ्लाइओभर निर्माण गरिने
काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले काठमाडाैंमा सुरूङमार्ग र फ्लाइओभर निर्माण गरिने बताएका छन् । उनले कलंकी–कोटेश्वरमा ३ वटा फलाई ओभर बनाउने बताएका छन् । तिनकुने–कोटेश्वर–जडिबुटी खण्डमा सुरुङ मार्ग वा फ्लाई अभोर बनाउने, बानेश्वरमा अण्डरपास बनाउने र माइतघर, थापाथली त्रिपुरेश्वरमा उपयुक्त विकल्प खोजीका लागि बजेट छुट्याएको बताए । उनले काठमाडाैं-नाैविस सुरङमार्ग निर्माण गरिने, काठमाण्डौं–नुवाकोट–रसुवा खण्डको सुरङ मार्ग निर्माण गरिने बताए । विभिन्न क्षेत्रकाे सुरूङ मार्ग निर्माण गर्न ६ अर्ब ४२ करोड बजेट विनियोजन गरिएको उनले बताए ।
आर्थिक वर्ष २०७७/७८ को बजेटमा यसरी समेटीयो विज्ञान तथा सूचना–प्रविधि
काठमाडौं । आगामी आर्थिक २०७७/७८ वर्षभित्र विज्ञान तथा प्रविधिको विकास गरी शैक्षिक कार्यक्रमको विकास गरिने जनाइएको छ । सरकारले विश्वस्तरीय विशिष्टीकृत विश्वविद्यालयको रुपमा ‘मदन भण्डारी विश्वविद्यालय’ स्थापना गर्न तथा ‘विज्ञान प्रविधि’ मा समेत विकास गर्ने भएको हो । उक्त विकासका लागि १ अर्ब २५ करोड रुपैयाँ विनियोजन गरीएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको सुदृढीकरण तथा परमाणविक प्रशोधन केन्द्र स्थापनकालागि समेत बजेट विनियोजन गरिएको छ । यस्तै, राष्ट्रिय स्तरको प्रयोगशालाई बढ्वा दिईने भएको छ । आगामी आर्थिक वर्षमा २ प्रदेशमा प्रयोगशाला स्थापना गरिने भएको छ । साथै, उक्त प्रयोगशाला आगामी वर्षहरुमा अन्य प्रदेशमा विस्तार गर्ने सरकारको लक्ष्य छ । सोही प्रयोजनकालागि १ खर्ब ७१ अर्ब ७१ करोड रुपैयाँ छुट्ईएको अर्थमन्त्री डा. युवराज खतिवडाले जनाएका छन् ।
भौतिक पूर्वाधार तथा यातायातका लागि १ खर्ब ३८ अर्ब ८० करोड
काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायातका लागि १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले विभिन्न सडक, जलमार्ग तथा रेलमार्गसहितका आयोजनाका लागि उक्त रकमको बजेट विनियोजन गरिएको बताए ।