विकासन्युज

संसदबाट बजेट बहुमतले पारित

काठमाडाैं । प्रतिनिधिसभा संसदबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट (विनियोजन विधेयक) पारित भएको छ। सभामुख अग्नि सापकोटाले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको हाे। गत जेठ १५ गते अर्थमन्त्री डा‍. युवराज खतिवडाले १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका थिए।  जसमा ९ खर्ब ४८ अर्ब चालु खर्चका लागि छुट्याइएको छ। त्यस्तै पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ७२ अर्ब छुट्याइएको छ। विभिन्न सांसदहरुले गरेको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। आगामी आर्थिक बर्षको बजेटको विभिन्न मन्त्रालयत शीर्षकमाथि सांसदहरुले २६ वटा खर्च कटौती प्रस्ताव गरेका थिए । सबै खर्च कटौतीसम्बन्धी प्रस्तावहरु सदनमा निणयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत भएका हुन् । बजेटले आगामी आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ। बुधबार बजेटमाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री केपीशर्मा ओलीले नै जवाफ दिएका छन्।  

फेरि सर्‍यो मन्त्रिपरिषद् बैठक

काठमाडाैं । आज २ बजे बस्ने भनिएकाे मन्त्रिपरिषद्को बैठक फेरि सरेको छ ।  लकडाउनको मोडालिटी लगायतका विषयमा निर्णय गर्न दिउँसो २ बजेका लागि तय भएको मन्त्रिपरिषद्को बैठक फेरि सारिएकाे हाे । दिउँसो बोलाइएको बैठक बेलुका ५ बजेका लागि सरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए। संसद बैठक जारी नै रहेकाले २ बजेका लागि भनिएको बैठक बेलुका मात्रै बस्न लागेको हो। आजको बैठकले लकडाउनको मोडल केही परिवर्तन गर्ने बताइएको छ। हिजाे हुने भनिएकाे बैठक प्रधानमन्त्रीकाे व्यस्तताकाे कारण देखाउँदै आजकाे लागि सारिएकाे थियाे ।

लकडाउनको समयमा मोबाइल फोन बिग्रियो ? चिन्ता नगर्नुस् साथी आउँदैछ

काठमाडाैं । लकडाउनको समयमा मोबाइल फोन बिग्रिएर समस्यामा रहेका व्यक्तिहरुका लागि नयाँ सेवा संचालनमा आएको छ। राइड सेयरिङ्ग एप साथीमार्फत एपमार्फत अब ग्राहकहरुको घरदैलोमा नै मोबाइल फोनको पिकअप र ड्रप सर्भिस सेवा शुरु गरिएको हो । कोभिड १९ महामारीले गर्दा देशभर लकडाउनको अवस्था रहेको र संक्रमणबाट बच्नुपर्ने साथै सुरक्षित हुनुपर्ने अवस्थालाई मध्यनजर गरेर भर्खरै संचालनमा आएको राइड सेयरिङ्ग एप साथीले मोबाइल फोन पिकअप र ड्रप गर्ने नयाँ सेवा शुरु गरेको हो । विभिन्न मोबाइल कम्पनीहरुका सर्भिस सेन्टरहरुसँगको सहकार्यमा वारेन्टी भएका तथा वारेन्टीनभएका मोबाइल फोनहरु घर तथा कार्यालयबाट लिएर मर्मत पश्चात फेरी सोहि स्थानमा पुर्याउने सेवा थप गरेको छ । नयाँ सेवा अन्तरगत कुनैपनि ब्राण्डका मोबाइल फोनहरु मर्मत तथा संभार गर्न गराउन अब सहज हुने भएको छ । यस एपलाई डाउनलोड गरी मोबाइल पिक एण्ड डेलिभरी सर्भिसमा क्लिक गरि बिस्तृत जानकारीहरु राखेर पिकअप सर्भिसको लागि अर्डर गर्न सकिनेछ । हालका लागि यो सेवा काठमाडौं उपत्यकाको रिङ्गरोड भित्र मात्र उपलब्ध रहेको छ भने केहि सयमपछि रिङ्गरोड बाहिरका स्थानहरुका साथसाथै देशभर क्रमश सेवा बिस्तार गरिनेछ । मोबाइल फोनको मर्मतको शुल्क लाग्ने भएमा ग्राहकहरुबाट लिएर सम्बन्धित मर्मत तथा सर्भिस सेन्टरहरुमा भुक्तानी गर्ने व्यवस्था राखिएको छ भने त्यसबाहेक पिकअप तथा ड्रपको लागि न्यूनतम ३५ रुपैयाँबाट यो सेवा लिन सकिने कम्पनीले उल्लेख गरेको छ । कम्पनीका कार्यकारी अधिकृत विक्रान्त रेग्मीले कोभिड-१९ को महामारीले लकडाउनको अवस्था रहेको र मानिसहरुबिच संक्रमण फैलन सक्ने हुँदा मोबाइल प्रयोगकर्तालाई सुरक्षित बनाउन यो सेवा शुरु गरेको जानकारी दिए । ‘हामीले सबैलाई घर वा कार्यालयबाटै मर्मत तथा सर्भिस सेन्टरको सुबिधा लिन सकिने गरि सुरक्षित साथ सेवा दिनेछौं । यसले गर्दा सबैजना भिडभाडमा जानु नपर्ने तथा मर्मतपछि मोबाइल समेत समयमा नै उपलब्ध हुनेछ,’ कार्यकारी अधिकृत रेग्मीले भने । यस एपको अन्य मुख्य फीचर भनेको राईड सेयरिङ्गका लागि बाईक, स्कूटर र ट्याक्सी बोलाउन सकिनको साथै विभिन्न यात्राको लागि रिजर्भेशन गर्न सकिने छ । यसका साथै निकट भविश्यमा अफिसका कर्मचारीहरुलाई कार्यालयबाट घरसम्म ल्याउन र पुर्याउने सेवा समेत आउँदैछ । जसमा बस, माइक्रोबस, कार, जिपद्धारा घरबाट कार्यालय पुर्याउने र पुन घरमा नै ल्याउने सेवा हुनेछ । हाल यो साथी एप गूगलको प्लेस्टोरमा उपलब्ध रहेको छ भने केहि समयपछि एप्पलको एप स्टोरमा समेत उपलब्ध हुनेछ ।

कर्णाली टिपर दुर्घटना अपडेट: दुई मृतकको पहिचान, तीन जना अझै बेपत्ता

काठमाडाैं । कर्णाली नदीमा भएको टिपर दुर्घटनाका दुई मृतकको पहिचान खुलेकाे छ । मृत्यु हुनेहरुमा रास्कोट नगरपालिका २ का शर्मिला सार्की र थम्की सार्की रहेको बताइएकाे छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार कालिकोटस्थित कर्णाली नदीमा भएको टिपर दुर्घटनाका अन्य तीन जना अझै बेपत्ता छन् । प्रहरीले टिपर चालक २९ वर्षीय रंगनाथ धमलालाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान कालीकोटको लालीघाट नजिकै जिते बजारबाट भारततबाट फर्किएका यात्रु लिएर क्वरेन्टिनतर्फ जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर जितेबजारको पारीपट्टी कर्णाली र तिला नदीको संगमस्थलमा खसेको थियो। ३९ जना सवार रहेको टिपर बुधबार बिहान करिब १० बजेर ४० मिनट जाँदा लालीघाटस्थित कर्णाली नदीमा खसेको थियाे ।

एमसीसी पास नगराउन राष्ट्रिय उद्योग व्यापार महासंघको आग्रह

काठमाडौं । राष्ट्रिय उद्योग व्यापार महासंघ केन्द्रिय समितिले एमसीसी पास नगराउन सबैसँंग आग्रह गरेको छ । अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने विस्तारका साथ ल्याइएको एमसीसी पास नगराउन महासंघले सवैसमक्ष आग्रह गरेको हो । महासंघले बुधबार विज्ञप्ति मार्फत नेपाल कम्युनिष्ट पार्टी जस्तो पार्टी सतामा र नेपाली कांगे्रस जस्तो पार्टी प्रमुख प्रतिपक्षमा रहँंदा यस्तो प्रतिकुल परिस्थिति आउनु दुःखको कुरा भएको जनाएको छ । ‘नेकपा सत्तामा छ र नेपाली कांग्रेस प्रतिपक्षमा । तर आज दुःखद् आश्चर्यको कुरा के हुँदैछ भने यी दुवै मिलेर देशमा राष्ट्रघाती एमसीसी परियोजनालाई संसदबाट पास गर्न खोजिरहेका छन्, विज्ञप्तिमा भनिएको छ । यस कार्यक्रम अन्तर्गत अमेरिकाले नेपालमा ५० करोड डलर या करिब ५५ करोड रूपैयाँ ल्याउने र नेपाल सरकारले मिसाउने १३ करोड डलर वा करिब पन्ध्र करोड रूपैयाँ राख्ने र यसरी जम्मा हुन आउने करिब ७० अर्ब रूपैयाँ ५ वर्षभित्रमा काठमाडौंदेखि भारतको गोरखपुरसम्म्को विद्युत् प्रसारण लाइन १०० किमि सडक विस्तारमा खर्च गर्नुपर्ने उल्लेख छ । तर वास्तविकता यसको विरोध भनेको अमेरिकाको विरोध पनि नभई र विदेशी सहयोगको विरोध पनि त झन् हुँदै नभएको विज्ञप्तिमा उल्लेख छ । यसको विरोध यससँग जोडिए आउने शर्तहरूको भएको विज्ञप्तिमा जनाइएको छ । यसको मूल उद्देश्य नै यस क्षेत्रमा अमेरिकाले ठूलो सैनिक आधार तयार गर्ने र आवश्यक पर्दा यहीँबाट युद्ध विस्तार गर्ने हो । चाहे आर्थिक अनुदान र विकासको नाउँमा होस्, चाहे अर्को कुनै पनि निहुँमा होस्, बाह्य घुसपैठ र हस्तक्षेप यो महासंघलाई कदापी स्वीकार्य छैन, विज्ञप्तिमा भनिएको छ । यसकारण सरकारले प्रस्ताव गरेको एमसीसी जस्तो घातक योजनालाई कुनै पनि हालतमा पारितन गर्न महासंघले सांसदज्यूहरूलाई हार्दिक अनुरोध गरेको छ । नेपालको अध्याबधिक नक्सा निर्माण गरी नेपाली जनताले २०४ बर्षदेखि देख्न नपाएको नेपालको नक्सा सार्बजनिक गरेर राष्ट्रियताको पक्षमा ऐतिहासिक काम गरेको सरकारलाई आफनो छबि नधमिल्याउन र यस्तो राष्ट्रघाती सम्झौता तत्काल खारेज गर्न तथा नेपालको हित अनुकुल हुने गरी मात्र बिदेशी अनुदान स्वीकार गर्न महासघले अनुरोध गरेको छ ।

गायक अधिकारीको नयाँ गीत सार्वजनिक

काठमाडाैं । गायक  पुष्पबिक्रम अधिकारीकाे नयाँ गीत सार्वजनिक भएकाे छ । उनकाे जवदेखि मैले होस पाएँ बाेलकाे गीत सार्वजनिक भएकाे हाे । म त सूदुरपश्चिमेली ठीटो बाेलकाे गीतबाट चर्चामा आएकाे उनकाे याे गीतले पनि दर्शक स्राेताकाे मन जित्न सक्ने उनले विश्वास लिएका छन् ।  सुदूरपूर्वको भाषा र संस्कृति बोकेको परिवारमा जन्मेका पुष्पबिक्रम अधिकारी सुदूरपश्चिमकाे समाजमा हुर्किए सँगै सुदूरकै पहिचान दिने खालमा रचना गरिरहेका छन् । नेपाली लोकपप शैलीको मेलोडी गीत “जव देखि मैले हाेस पाएँ” गायक अधिकारीले आफै रचना गरेका हुन भने संगीत समेत आफै तयार गरेका हुन । गीतमा अधिकारीको गायकी, सङ्गीत संयोजन र रचना सशक्त र परिपक्व छ । गीतको म्युजिक भिडियो पनि आजै अधिकारीको आफ्नै युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । म्युजिक भिडियोमा कलाकार विशाल रावत, पुजा चन्द र बाबा सिंहको उत्कृष्ट अभिनय रहेको छ भने गायक अधिकारीकै जीवनसङ्गिनी विजया आचार्य अधिकारीको कन्सेप्ट र कोरियोग्राफी रहेको छ । भिडियाे हेर्नुस्:  

हिसाब मात्र नखाेजाैं, काेराेनाकाे चिन्ता गराैं

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सबैकाे भूमीका महत्वपूर्ण भएकाेले सबै मिलेर यसकाे निदान गर्नु पर्ने बताएका छन् । आज प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले सबैलाई काेराेना राेकथाममा भएकाे खर्चकाे मात्र चिन्ता नभई काेराेनाकाे पनि चिन्ता लिन अनुराेध गरे । ‘कुनै पनि अनियमितता, अपारदर्शिता, भ्रष्टाचार जस्ता कुराहरू सरकारले सहँदैन, छानबिन गर्छ, कारबाही गर्छ, कठघरामा उभ्याइन्छ, दोषी पाइएमा दण्डित गरिन्छ, तर याे समय काेराेनाकाे जाेखिम नियन्त्रण गर्न तर्फ खर्च गर्नु पर्छ,’ उनले भने । ’ उनले भने, ‘सरकारका हरहिसाबको प्रतिवेदन राष्ट्रपति र संसद्मा आउँछ, आन्तरिक लेखा परीक्षण हुन्छ, अहिले हिसाबको चिन्ता नगरौं, कोरोनाको चिन्ता गरौं । कहींकतै अनियमितता भएकै हुँदैन भनेर दाबी गर्दैन तर भएकै छ भनेर पनि भन्दिनँ ।’ केही सांसदहरूले जे कुरामा पनि अनियमितता भएको आरोप लगाउने गरेको भन्दै प्रधानमन्त्रीले असन्तुष्टि पनि पोखेका थिए । सांसदहरूले स्वास्थ्य सामग्री खरिदका क्रममा अनियमितता भएको र केही कर्मचारीलाई सरुवा गरेर त्यसबाट जोगिन खोजेको आरोप लगाएका थिए ।    

मोटर बीमापछि सम्पत्ति र हवाई बीमा शुल्कमा छुटको गृहकार्य, स्वास्थ्यमा पनि दाबी घट्यो

काठमाडौं । बीमा समितिले लकडाउनको समयमा जोखिम न्यून भएको क्षेत्रका बिमितलाई राहत दिन अध्ययन थालेको छ । जोखिम न्यून भएका क्षेत्रका बिमितलाई बीमा शुल्क कम गरी राहत दिने गृहकार्यमा समिति लागेको हो । बीमा कम्पनीहरुले पनि जोखिम कम भएका क्षेत्रमा बीमा शुल्क घटाउन सकिने जानकारी दिदै आएका छन् । इन्स्योरेन्स इस्न्टिच्युट अफ नेपालले केही दिन अघि गरेको अन्तराष्ट्रिय वेबिनारमा बोल्दै बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले हवाई बीमाको बीमा शुल्क कम गर्ने बारेमा गृहकार्य भइरहेको जानकारी दिएका थिए । सरकारले ११ चैतदेखि जारी गरेको लकडाउनका कारण सबै प्रकारका हवाइ सेवा बन्द गरिएको छ । लकडाउनको बेलामा बन्द भएका हवाई सेवाले बीमा शुल्क तिर्न नसक्ने भन्दै वायुसेवा संचालक संघले छुट हुनपर्ने माग गरिरहेको छ । यस्तै, लकडाउनको समयमा यातायातका साधन चल्न नपाएकोले दाबी कम परेको पाइएपछि नियामक निकाय बीमा समितिले मोटर बीमाको शुल्क कम गरेको छ । मोटर बीमामा शुल्क कम गरेको समिति अव अन्य क्षेत्रमा पनि शुल्क घटाउन सकिन्छ कि भनेर अध्ययनमा लागेको हो । पछिल्लो समय स्वास्थ्य बीमामा पनि दाबी कम परेको बीमा कम्पनीहरुले जानकारी दिएका छन् । लकडाउनको समयमा निजी तथा सरकारी अस्पतालहरुले नियमित सेवा प्रवाहमा समस्या आएको, नियमित र सामान्य स्वास्थ्य परीक्षणको लागि कोरोना संक्रमण नभएको पुष्टी हुने गरी पीसीआर परीक्षण रिपोर्ट देखाउनु पर्ने र कोरोना संक्रमण डरकै कारण अति आवश्यक नभइ अस्पताल नजानेहरुको संख्यामा बृद्धि भएका कारण स्वास्थ्य बीमामा दाबी कम परेको हो । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अन्य कुन कुन क्षेत्रमा के कसरी राहत र छुटका कार्यक्रम ल्याउन सकिन्छ भनेर अध्ययन भइरहेको बताए । ‘जोखिम कम देखिएपछि मोटर बीमाको शुल्क कम गरियो, हवाइ बीमाको शुल्क पनि कम गर्नुपर्ने आवाज उठिरहेको छ, अन्य क्षेत्रमा पनि यस्तो कुनै राहत वा छुट दिन सकिने ठाउँ छ कि भनेर अध्ययन गरिरहेका छौं,’ कार्यकारी निर्देशक पौडेलले भने । सम्पत्ति बीमामा कस्तो आउँला छुट ? बीमा समितिले सम्पत्ति बीमामा छुट दिनको लागि गृहकार्य सुरु गरेको छ । सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको बजेटमा लकडाउनको अवधिमा बन्द भएका उद्योग प्रतिष्ठानलाई सम्पत्ति बीमामा राहत दिने सन्दर्भ उल्लेख गरेकोले सोही अनुसारको गृहकार्य समितिले थालेको हो । लकडाउनको समयमा साइलेन्स रिस्क कम भएकोले बीमा शुल्कमा छुट दिन समितिले गृहकार्य थालेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । अन्य समयमा उद्योग प्रतिष्ठान बन्द भएको बेलामा बिमांक रकमको प्रतिहजार रुपैयाँमा ३ रुपैयाँका दरले बीमा शुल्क छुट हुने भएपनि लकडाउनको समयमा के कसरी गर्ने भन्ने विषयमा बेग्लै गृहकार्य आवश्यक देखिएको समितिको भनाइ छ । नसोचेको जोखिम आउन सक्छः विज्ञ बीमाविज्ञ सुकल्याण पराजुलीले बीमा क्षेत्रमा नसोचिएको क्षेत्रमा जोखिम बढ्ने संकेत मिलेको बताए । मोटर तथा हवाई बीमामा जोखिम कम देखिए पनि कार्गाे बीमाको दाबी बढी देखिन थालेको उनको भनाइ छ । ‘विश्वव्यापी लकडाउनले आयात निर्यात व्यापार प्रभावित भएको छ, तोकिएको ठाउँमा समयमै नपुगेका कारण केही बस्तुहरु गुणस्तर कम हुने तथा विग्रने खतरा पनि देखिएको छ, केही यस्ता दाबी परेको बीमा कम्पनीहरुले बताउँन थालेका छन्, त्यसैले कुनै क्षेत्रमा दाबी कम परेपनि अर्काे क्षेत्रमा बढी दाबी पर्ने र नसोचिएको क्षेत्रमा दाबी परेका कारण विवाद बढ्ने र कम्पनीहरुलाई दायित्व पनि थपिने सम्भावना छ, यसको लागि नियामक निकाय र बीमा कम्पनीहरु तयार भएर बस्नुपर्ने देखिन्छ,’ बीमा विज्ञ पराजुलीले भने ।