‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’
काठमाडाैं । ‘रुघाखोकी सबै कोरोना होइन, कोरोना लाग्दैमा मरिँदैन’, मध्यपुरथिमि नगरपालिकाले आम नागरिकका लागि सचेतना अपनाउन जारी गरेको यो सूचना अरनिको राजमार्गको आकाशे पुलमा देख्न पाइन्छ । धेरैको नजर आकाशे पुलमा टाँगिएको यो ब्यानरमा ठोकिन्छ तर यसको अर्थ कतिले बुझे होलान् वा कतिले वास्तै गरेनन् । कोरोनादेखि आत्तिनु हुँदैन भन्ने सन्देश प्रवाह गर्न यस्ता प्रचार सामग्री राखेको बताउँदै मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ भन्छन्, “रुघाखोकी लाग्दैमा धेरै मानिस आत्तिने गरेका छन्, कोरोना पो भयो कि भनेर अस्पताल धाउने गरेको पाइन्छ । सामान्य कुरामा पनि यसरी अस्पताल धाउँदा रुघाखोकी लागेको मानिसलाई पनि सङ्क्रमण हुने जोखिम बढ्छ, त्यसैले यस प्रकारको सूचना प्रवाह गरेका हौँ ।” रुघाखोकी लाग्दैमा कोरोना हँुदैन है भन्ने सन्देश सबैतिर फैलाउन नसक्दा मानसिक तनाव बढेको र घरपरिवारदेखि टोल समाजमा समेत विभेद हुने गरेको पछिल्ला धेरै घटना आएका छन् । भक्तपुर अस्पतालमा चौतारा साँगाचोकगढीँ नगरपालिका घर भई भक्तपु्रको सल्लाघारीमा बस्ने राधिका खड्का रुघाखोकी लागेपछि घरभेटीदेखि समाजमा समेत विभेदपूर्ण व्यवहार सहनु परेकोे बताउँछन् । रुघाखोकी लाग्दैमा घरभेटीले कोरोना परीक्षण गरेर रिपोर्ट ल्याउन भनेपछि बाध्य भएर परीक्षणका लागि अस्पताल आएको उनी बताउँछन् । खड्का भन्छन्, “अस्पतालले सामान्य रुघा भनेर औषधि दियो, घरभेटी कोरोना परीक्षण गर भन्छन्, आफ्नै घरका परिवार पनि डराएका छन्, बाहिर निस्कदा छिमेकी भाग्छन्, रुघा निको नभएसम्म तनाबले नै बाच्नै गाह्रो भो ।” भक्तपुर अस्पतालको मेडिकल सुपरिटेन्डन्ट डा सुमित्रा गौतम कोरोनाको त्रासले मानिसमा मनोरोग बढ्ने खतरा बढ्दै गएको बताउँछन् । उनका अनुसार मानिसमा जनचेतनाको कमीले रुघाखोकी लाग्नेबित्तिकै कोरोना भइहाल्यो भनेर आत्तिनै प्रवृत्ति गलत भएको बताउँछन् । डा गौतम भन्छन्, “रुघाखोकी लाग्दैमा कोरोना हँुदैन, कोरोना लागिहाले पनि मरिहालिन्छ भन्ने हैन, कोरोना सङ्क्रमित धेरै निको भएर घर फर्किएको उदाहरण हाम्रो देशमा मात्रै नभई विश्व मै हेर्न सक्छौँ ।” सामान्य मौसमी रुघा लागे पनि आत्तिदै अस्तालमा कोरोना परीक्षण गर्न आउने गरेको सुनाउँदै डा गौतम भन्छन्, “भक्तपुर अस्पतालमा सामान्य रुघाखोकी लागेका मलाई कोरोना भयो कि परीक्षण गर्नुप¥यो भन्दै आउँछन्, अवस्था हेरेर शङ्का लागेकालाई स्वाब लिएर परीक्षणमा पठाउँछाैँ, अन्यलाई रुघाको औषधि र मनोपरामर्श दिएर पठाउँछाैँ, अहिलेको समयमा मनोपरामर्श अत्यावश्यक छ ।” नेपालकोरिया नगरपालिकामैत्री अस्पतालका मेडिकल डाइरेक्टर डा डिके रोशन रुघाखोकी लाग्दैमा कोरोना नहुने र कोरोना लाग्दैमा मान्छे मरिहाल्छ भन्ने भ्रम पाल्न नहुने बताउँछन् । आत्मबलले नै कोरोना जितेको धेरै उदाहरण रहेको बताउँदै डा रौशन भन्छन्, “रुघाखोकी लाग्दैमा मानिस आत्तिँदै अस्पताल जाने, मानसिक तनाब बढी लिने गर्छन्, रुघाखोकी लाग्दैमा कोरोना भइहाल्छ र कोरोना लाग्ने बित्तिकै मरिहालिन्छ भन्ने मानसिकतालाई हटाउनुपर्छ ।” सबै रुघाखोकी कोरोना नहुने र संयमित भएर सुरक्षा अपनाउँदै आत्मबल बलियो बनाउन सके कोरोनालाई जित्न सकिने उनको भनाई छ । सबै रुघाखोकी कोरोना नहुने बताउनुहुन्छ भक्तपुर अस्पतालका वरिष्ठ चिकित्सक डा सुनिल ढुङ्गेल । अहिले मौसमी रुघाखोकी र विभिन्न एलर्जीको रुघाखोकी लाग्ने समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ । एउटा स्वास्थ्य र रोग प्रतिरोधात्मक शक्ति बलियो भएको मानिसले रुघाखोकीलाई जितेजस्तै कोरोनालाई पनि जित्न सक्ने उनी बताउँछन् । दीर्घरोगी, शरीरमा पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति कम भएकालाई कोरोनाले अलि समस्या पार्छ । डा ढुङ्गेल भन्छन्, “अहिलेको अवस्थालाई हेर्दा कोरोना सङ्क्रमण भएका ८५ देखि ९० प्रतिशत सामान्य अवस्थामा रहेका छन्, बाँकी १० प्रतिशतमा पनि करिब सात प्रतिशत निको हुन्छन्, जो दीर्घरोगी, शरीरमा कुनै पत्ता नलागेका रोग भएका, प्रतिरोधात्मक शक्ति निकै कम भएकाको मृत्यु हुने गरेको छ ।” आफ्नै करेसाबारीमा फलेका तरकारी, घरमा पकाएको सन्तुलित खानेकुरा खाने र जङ्कफुड नखाने गरेमा रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुने उनको भनाइ छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार रुघाखोकी लाग्नु, १०४ डिग्रीभन्दा बढी ज्वरो आउनु, स्वासप्रश्वासमा अत्यधिक समस्या हुनु, घाँटी, टाउको तथा जिउ दुख्नु, निमोनिया हुनुजस्ता लक्षण कोरोनामा देखिन्छ । त्यस्ता बिरामीको नजिक नजाने, नियमित साबुनपानीले हात धुने, खोक्दा र हाछ्युँ गर्दा नाक तथा मुख छोप्ने, जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने, अण्डा तथा मासु राम्ररी पकाएर खाने, लक्षण देखिए अस्पताल जाने गरेमा कोरोनाबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।
चार्टर्ड उडानका नाममा यात्रुसँग लिएकाे बढी भाडाबारे छानबिन समिति गठन
काठमाडाैं । सरकारले चार्टर्ड उडानका नाममा यात्रुसँग बढी भाडा लिएको गुनासोका सन्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हङकङ र जापान जान अनुमति पाएका नेपाली र विदेशी नागरिकको चार्टर्ड उडानमा ट्राभल एजेन्सीले यात्रुबाट अस्वभाविक रुपमा बढी रकम लिई टिकट बिक्री गरेको भनी आएको गुनासोबारे छानबिन गर्न मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिको सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका हवाई यातायात महाशाखा प्रमुख सदस्य र पर्यटन मन्त्रालयका उपसचिव राजन नेपाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सो सम्बन्धमा जहाज चार्टर्ड गरी यात्रु ओसार्दा टिकट बिक्री गर्ने चार्टर्ड पार्टी एवं ट्राभल एजेन्सीले यात्रुसँग के कस्तो आधारबाट के कति भाडा लिएको हो सत्यतथ्य छानबिन गरी सात दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको छ । साथै आगामी दिनमा विमान चार्टर्ड गर्दा जुन देशको लागि हो उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट यात्रुको नामावलीसहितको पूर्वस्वीकृति र यात्रुसँग लिने भाडा रकमसमेत खुलाएर मात्र चार्टर्ड उडानको लागि सम्बन्धित वायु सेवा कम्पनीमा निवेदन दिनसक्ने व्यवस्था गरिएको छ । भाडादर नखुलेको अवस्थामा र चार्टर्ड गरेको रकमको आधारमा विमान कम्पनीले नियमानुसार दिने कमिशन र अन्य मुलुकमा बुझाउनुपर्ने कर दायित्वको आधार प्रस्तावित भााडा दर उचित भएको देखिएमा मात्र चार्टर्ड उडान अनुमति प्रदान गरने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । कोभिड १९ को कारण सिर्जित परिस्थिले गर्दा नेपालमा रहेका विदेशी तथा भिसाा अवधि सकिन लागेका नेपाली यात्रुलाई उद्धार गर्ने क्रममा नेपाल एयरलाइन्सको जहाज हङकङ र जापान चार्टर्ड गर्दा ट्राभल एजेन्सीले धेरै पैसा लिएको यात्रुहरुको गुनासो रहेकोप्रति पनि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएकोे विज्ञप्तिमा उल्लेख छ ।
नेपाल हेपिन मान्दैन: प्रधानमन्त्री ओली
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीले नेपाललाई धम्क्याउन खोजेकाे हो भने त्यो उचित नभएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक, २०७७ अन्तर्गत छलफलमा उठेका प्रश्नको प्रधानमन्त्रीले दिएको जवाफमा सांसद प्रेम सुवालले मुख्यमन्त्री योगीले नेपालले सीमा निर्धारण गर्दा परिणामबारे सोच्नुपर्ने र तिब्बतले गरेको गल्ती सम्झनुपर्ने धम्की किन दिए भनी स्पष्टीकरण माग गरेका थिए । जवाफको स्पष्टीकरणका सन्दर्भमा प्रधानमन्त्री ओलीले भने, “यदि त्यसरी बोलेको हो भने त्यो जायज होइन, नेपाललाई धम्क्याउन खोज्नुभएको हो भने त्यो उचित होइन, उहाँ भारतको केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि होइन, तैपनि मुख्यमन्त्रीका हिसाबले पनि बोलेको भए त्यो नबोलिनु पथ्र्याे ।” उनले त्यसरी बोलेको भए त्यो आलोच्य र निन्दनीय विषय हो, त्यस्तो कुरालाई हामी नेपालमाथि अवहेलनाको विषयमा बुझ्छाैँ भने । प्रधानमन्त्री ओलीले भने, “नेपाल हेपिन तयार छैन र हेपिन मान्दैन ।” बैठकमा आज प्रधानमन्त्रीले विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिएका थिए ।
पिसिआर परीक्षण माग गर्दै कैलालीमा आरडिटी पोजेटिभहरुकाे आन्दोलनमा
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाले सञ्चालन गरेको आइसोलेशन वार्डमा बसिरहेका आरडिटी पोजेटिभ भएकाहरू पिसिआर परीक्षण माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले स्थानीय घोडाघोडी बहुमुखी क्याम्पसमा सञ्चालन गरेको आइसोलेशन वार्डमा बसेका आरडिटी पोजेटिभ भएकाहरू लामो समय भइसक्दा पनि पिसिआर परीक्षण नगरिएको, प्लाष्टिकको चामल खुवाइएको, चर्को गर्मी विद्युत् व्यवस्थापन नभएको, खानेपानीको समस्या रहेको र बारम्बार आग्रह गर्दा पनि कुनै व्यवस्थापन नगरिएको आरोप लगाउँदै आन्दोलित भएका हुन् । आइसोलेशन वार्डमा बसिरहेका घोडाघोडी–९ का केवल बटालाले पटक पटक जानकारी गराउँदा पनि कसैले वास्ता नगरेको र अति भएर सडकमा आउनुपरेको बताए । प्रदेशभरि नै स्वाब सङ्कलन रोक्न निर्देशन भएअनुसार घोडाघोडीमा पनि रोकिएकाले पिसिआर परीक्षणमा समस्या भएको नगर प्रमुख ममताप्रसाद चौधरीले बताए । उनका अनुसार स्वाब सङ्कलन गर्न भिटिएमको समस्या छ । अब नगरपालिकाले आफैँ भिटिएम खरीद गरेर स्वाब सङ्कलन गर्छ र परीक्षणका लागि पठाउँछ । सामुदायिक क्याम्पसलाई आइसोलेशन वार्ड बनाउँदा व्यवस्थापनमा समस्या भएको नगरप्रमुख चौधरीले बताए । ‘प्लास्टिकको चामल खुवाइएको भनिएको छ हामी त्यसको छानबिन गर्छौँ, यदि त्यस्तो भेटिएमा जिम्मेवारीमा रहेकालाई कारवाही गर्छाैं’, नगर प्रमुख चौधरीले भने ।
‘लकडाउनले मात्रै ११ युरोपेली मुलुकमा धेरैको ज्यान बचाउने’
युरोप । युरोपका विभिन्न ११ ओटा देशमा कोभिड-१९ विरुद्धको महामारीबाट ठूलो संख्याका नागरिकको ज्यान बचाउन सक्ने एक अध्ययनले देखाएको छ । ती देशले गत मार्चको २ देखि २९ तारिखसम्म विद्यालय, पार्कलगायत मानिसहरु जम्मा हुने सबै स्थानमा प्रतिबन्ध लगाउनुका साथै देशव्यापी रुपमा लकडाउन गरेका थिए । त्यसले धेरै नागरिकको ज्यान बचाएको भन्दै लकडाउनले ती देशका कम्तीमा पनि ३० लाख मानिस मर्नबाट बचाएको यो अध्ययनमा देखाएको हो ।यदि युरोपेली देशहरुले कोभिडको महामारी नियन्त्रण गर्नका लागि लकडाउन साथै विना औषधीका विभिन्न नियन्त्रणात्मक विधिहरु नअपनाएको भए लाखौँ नागरिकको ज्यान जान सक्ने सो अनुसन्धानले बताएको छ । युरोपका इटाली, स्पेन र बेलायतमा कोभिड १९ को महामारीबाट सबैभन्दा ठूलो क्षति पुगेको समाचारहरुमा जनाइएको छ । रासस/एएफपी
संशोधन फिर्ता नलिए सरिता गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी
काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। गिरीले सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्काे संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् ।
सांसद सरिता गिरीलाई पदबाट हटाउन माग
काठमाडाैं । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले नेपाल टेलिभिजन मार्फत दिएकाे अभिव्यक्तिलाई लिएर नेपाल तरुण दलले विराेध गरेकाे छ । गिरीले नेपाल टेलिभिजन एक अन्तरवर्तामा लिपुलेक लिम्पियाधुरा र कालापानी नेपालकाे नभएकाे अभिव्यक्ति दिएकी थिईन् । पार्टीले उनकाे अभिव्यक्ति देशकाे स्वतन्त्रता, स्वाभिमान र एकता विरुद्धकाे भएकाे जनाएकाे छ । उनले यो अभिव्यक्ति तत्काल सच्चाउनुपर्ने र उनलाई तत्काल पदमुक्त गर्न पार्टीले माग राखेको छ ।
१० देखि ५ बजेसम्म व्यवसाय चलाउने व्यवस्था मिलाउन चेम्बरकाे माग
पोखरा । पोखरा चेम्बर अफ कमर्सले कोरोनाको मारमा परेको अर्थतन्त्रलाई थोरै मात्रामा भए पनि चलायमान बनाउन बन्दाबन्दीलाई खुकुलो बनाउनुपर्ने माग गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसी र कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाललाई ज्ञापनपत्र पेस गर्दै चेम्बरले नेपाल सरकारको निर्देशनमा रोक्का गरिएबाहेकका मझौला तथा साना व्यवसाय बिहान १० देखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ । चेम्बर अफ कमर्स कास्की वस्तुगततर्फका उपाध्यक्ष तथा चेम्बर, कोभिड-१९ नियन्त्रण तथा न्यूनीकरण उच्चस्तरीय समन्वय समितिका संयोजक यमनाथ पौडेलले स्वास्थ्य सतर्कता र सामाजिक दूरी कायम गरी उद्योग व्यवसाय सञ्चालन गर्ने वातावरणका लागि महानगरपालिका र स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको जानकारी दिए । ज्ञापनपत्रमा निर्माण सामग्रीहरुको आपूर्ति साँझ ५ देखि राति १० बजेसम्म गर्ने व्यवस्था मिलाउन एवं होटल तथा रेष्टुरेन्ट व्यवसायीबाट प्याकिङ खाना उपलब्ध गराउन माग गर्दै सरकारले गर्ने हरेक अनुगमनमा चेम्बरको सहभागिताका लागि आग्रह गरिएको छ । चेम्बर अफ कमर्स कास्कीका महासचिव उमराज बास्तोलाले चेम्बरले विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डको पालना गरी उद्योगव्यवसाय सञ्चालन गर्ने प्रतिबद्धता जनाएको बताए । रासस