मकवानपुरमा ज्वाइँले गरे सासूको हत्या
हेटाैंडा । मकवानपुरमा ज्वाइँले सासूको हत्या गरेका छन् । मकवानपुरगढी गाउँपालिका वडा नं १ फूलबारीटोलकी ७२ वर्षीया कान्छीमाया भोम्जनलाई उनकै कान्छा ज्वाइँ पदमबहादुर नेपालीले हत्या गरेको प्रहरीले जनाएको छ । अपाङ्गता भएकी छोरीसँग बस्दै आएकी वृद्धाका घरमा गत वैशाख ११ गतेदेखि प्यूठान घर भएका ज्वाइँ प्रहरीका पूर्व हबल्दार नेपालीसमेत बस्दै आएका थिए । उनै नेपालीले धारिलो हतियार प्रहार गरेर सासूको हत्या गरेको र उनलाई स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयवासी कमला भोम्जनले जानकारी दिए । बिहान ४ बजे धारिलो हतियारले आक्रमण गरी हत्या गरेको र होहल्ला भएपछि स्थानीयवासीले थाहा पाई नियन्त्रणमा लिएको मकवानपुरगढी गाउँपालिका वडा नं १ का अध्यक्ष आइतसिंह लामाले जानकारी दिए । हाल घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानासहितको प्रहरी टोली पुगेको छ । प्रहरीले अभियुक्त नेपालीलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको नायब उपरीक्षक रानाले जानकारी दिनुभयो । रानाका अनुसार पक्राउ परेका नेपालीले आफूले सासूको हत्या गरेको स्वीकार गरेका छन् । रासस
वाग्मतीमा सङ्क्रमित १ सय ४४, चारको मृत्यु
काठमाडाैं । वाग्मती प्रदेशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या हालसम्म १ सय ४४ पुगेको छ । त्यस्तै प्रदेशमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या ४ पुगेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका ३७ सङ्क्रमित कोरोनालाई जितेर घर फर्किएका छन् भने १ सय ३ जना अझै उपचाररत छन् । सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाईँका अनुसार प्रदेशका १३ जिल्लामध्ये चितवनमा सबैभन्दा धेरै ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसअघि कोरोना सङ्क्रमणमा पहिलो रहेको काठमाडौंलाई चितवनसहित धादिङले समेत उछिनेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या धादिङमा २९ र काठमाडौंमा २७ रहेको छ । रसुवामा भने हालसम्म एक जनामा पनि सङ्क्रमण नदेखिएको मन्त्रालयले जनाएको छ । यसअघि सङ्क्रमण नदेखिएको दोलखा जिल्लामा बुधबार दुई जनामा सङ्क्रमण पुष्टि भएको । रासस
भेलले बगाएका चालक अझै बेपत्ता
काठमाडाैं । भक्तपुरको सल्लाघारी पूर्व आधा घण्टा परेको मुसलधारे वर्षाले अरनिको राजमार्गमा आएको भेलसँगै ढलभित्र छिरेर हनुमन्ते नदीमा पुगेर बेपत्ता भएका ट्रक चालक अझै भेटिएका छैनन् । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको चुनदेवीमा आएको भेलको गहिराइ हेर्न गएका सिन्धुली रानीचुरी घर भई हेटौंडा मकवानपुर बस्ने ५७ वर्षीय नरबहादुर राउत बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । ना६ख १६१६ नंको ट्रकमा हेटौँडाबाट ल्याएको सिमेन्ट सल्लाघारीमा झारेर अरनिको राजमार्गको सर्भिस ट्र्याक हुँदै सूर्यविनायकतर्फ जाने क्रममा चुनदेवी पुगेपछि सडकमा गहिरो छ कि भनेर हेर्न जाँदा उनलाई भेलले हुत्याएर ढलभित्र छिराएर बेपत्ता बनाएको उनले जानकारी दिए । सोही ट्रकका सहचालक एवं प्रत्यक्षदर्शी रुपेश सुनारले भने, “सूर्यविनायक जाने मुख्य सडकमा पनि मोटरसाइकल नै पल्टाउने गरी ठूलो भेल आएको थियो, सर्भिस ट्र्याकमा पनि पानीको भेलले बाटो नै देखिएको थिएन, ट्रक रोकेर ड्राइभर झरेर मुख्य सडक र सर्भिस ट्र्याकको पानी जाने ठाउँमा गहिरो छ कि छैन भनेर हेर्न जाँदा भेलले उहाँलाई हुत्याएर ढलमा हाल्यो, त्यसपछि कहाँ पुगे भेटिएनन् ।” आफ्नै आँखा अगाडि राउतलाई बगाउँदा पनि उद्धार गर्न नसकेपछि प्रहरीलाई खबर गरेको थिएँ । घटनापछि महानगरीय प्रहरी परिसर भक्तपुर, प्रहरी वृत्त जगाती, नेपाली सेना वीरदल गण सूर्यविनायक, सशस्त्र प्रहरी बल दुवाकोटको प्रमुखसहितको सुरक्षाकर्मीको टोली र अरुण सैँजूलगायत स्वयंसेवकको टोलीले खोजी गरेका थिए । सुरक्षाकर्मी र स्वयंसेवकको टोली ढलभित्र छिरेर खोलासम्म पुगेर खोजी गरेका थिए । सल्लाघारीका प्रतक्ष्यदर्शीले टाउकोमा चोट लागेको मानिस बगेको देखेको जानकारी दिएका छन् । सुरक्षाकर्मीको टोलीेले हनुमन्ते खोलाको सल्लाघारीदेखि, राधेराधे, जुडीबुटी र नरेफाँटसम्म हुँदै ललितपुर र काठमाडौँका खोलामा समेत रातिसम्म खोजी गर्दा पनि नभेटिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । रासस
कुवेतबाट बुधबार ल्याउने भनिएको ३ सय नेपाली विहीबार ल्याइँदै
काठमाडौं । बिहीबार कुवेतमा रहेका ३ सय नेपालीलाई स्वदेश फर्काउने भएको छ । नेपाल सरकारले स्वीकृति दिएसँगै बिहीबार दिउँसो दुइटा फ्लाइटमा अधिकांश महिलालाई आउने पक्का भएको छ । कुवेतबाट बुधबार नै नेपाल आउने तय भए पनि केही प्राविधिक समस्याका कारण बिहीबार मात्रै ल्याउन लागिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । कुवेत सरकारले नै पठाउने उक्त दुई जहाजमध्ये पहिलो जहाज १ बजे र दास्रो ३ बजे आउने तयारी रहेको जनाएका छन् । कुवेतमा आममाफी पाएका ३ हजार नेपालीलाई तत्काल उद्धार गर्न जरुरी रहेको दूतावासले जानकारी दिँदै आएको छ भने अर्काे तिर ३ हजारभन्दा बढी नेपालीले रोजगारी तथा श्रमअवधि गुमाएको व्यवहोरोसहित स्वदेश फर्कन आवेदन दिएका छन् । बिहीबार युएइबाट ल्याउने भनिएका नेपालीका बारे अझै कुनै टुंगो लागेको छैन् ।
जोर्ज फ्लोइड: ‘संसदीय समितिमा भाइले भने, पीडा दिने काम बन्द गर’
काठमाडाैं । प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी/अमेरिकी पुरुष जोर्ज फ्लोइडका भाइले प्रहरीले गर्ने व्यवहारमा सुधार ल्याउन र ‘पीडा दिने कार्य बन्द गराउन’ अमेरिकी सांसदहरूलाई आग्रह गरेका छन् । हाउस अफ रेप्रेजेन्टेटिभ्सको न्यायिक समितिको सुनुवाइमा बोल्दै फिलिनिस फ्लोइडले आफ्ना दाइ जोर्ज ‘सूचीमा थपिने अर्को नाम हुन नसक्ने’ बताए । उनले भने, ‘ती नेता हुनू जुन नेता यो देशलाई, संसारलाई चाहिएको छ ।’ उनले कानुन कार्यान्वयन गर्ने तौरतरिकामा अर्थपूर्ण परिवर्तन ल्याउन सांसदहरूलाई आग्रह समेत गरे । मिनिअपलिसमा नियन्त्रणमा लिएर एक श्वेत प्रहरी अधिकारीले करिब ९ मिनेटसम्म गर्दनमा घुँडाले थिचिरहँदा जोर्ज फ्लोइडको गत मे महिनामा ज्यान गएको थियो । आरोप घटनाका अन्तिम क्षणहरू मोबाइलमा कैद गरिएका थिए । घटनामा संलग्न चारजना प्रहरीलाई बर्खास्त गरिएको छ र उनीहरूमाथि हत्या गरेको आरोप लगाइएको छ । ह्युस्टनमा ४६ वर्षीय जोर्ज फ्लोइडको अन्तिम संस्कार गरिएको एक दिनपछि संसद्को तल्लो सदनको न्यायिक समितिमा सुनुवाइ गरिएको हो । जसमा सांसदहरूले नागरिक अधिकारकर्मी तथा कानुन कार्यान्वयन गराउने अधिकारीहरूको धारणा सुनिरहेका छन् । प्रहरी हिंसा र जातीय अन्यायविरुद्ध लड्ने विषय बारेको प्रस्तावित विधेयकलाई समितिले जुलाई ४ तारिखसम्म तल्लो सदनमा पठाउन चाहेको छ । प्रहरीका व्यवहार र जातीय असमानताविरुद्ध देशव्यापी र कतिपय सन्दर्भमा अन्तर्राष्ट्रिय रूपमा पनि आवाज उठेपछि सांसदहरूले विधेयक अघि सारेका हुन् । समितिमा बोल्दै ४२ वर्षीय फिलिनिस फ्लोइडले भने, “पीडा दिने काम बन्द गराउनुहोस् भन्नलाई म यहाँ आएको हुँ ।’ भेदभाव ‘मेरा दाइले सहयोगको याचना गरिरहँदा बेवास्ता गरियो । मैले, हाम्रो परिवारले र संसारका सडकबाट भइरहेका आह्वानलाई कृपया सुन्नुहोस् । सडकहरूमा प्रदर्शन गरिरहेका मानिसहरूले अब अति भयो भनिरहेका छन् ।’ गहभरि आँसु पार्दै उनले थपे, ‘मेरा दाइका बच्चाहरूले त्यो भिडिओ हेर्नु परेको थियो। बडो पीडा भयो कृपया एउटा मानवलाई त्यस्तो नगरियोस् । उनको जीवनको अर्थ थियो । हामी सबैको जीवनको अर्थ छ । अश्वेतहरूको जीवनको अर्थ छ ।’ समितिका अध्यक्ष जेरोल्ड नाड्लरले भने, ‘हामीले यो कुरा सम्झनुपर्छ कि जोर्ज फ्लोइड सडकहरूमा लिनुपर्ने एउटा नाम मात्रै थिएनन् । उनी एउटा मान्छे थिए ।’ ‘उनको एउटा परिवार थियो। हामीले त्यो क्षतिप्रति शोक मनाउनुपर्छ ।’ विधेयकमा घाँटी अठ्याउने कार्य गैरकानुनी हुने प्रस्ताव गरिएको छ भने जातीय भेदभावविरुद्ध प्रशिक्षण लागु गराउन भनिएको छ । छुट्टै सन्दर्भमा राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले प्रदर्शनको विषयलाई सम्बोधन गर्ने र प्रहरीले गरेको ‘दमनका घटना’लाई आउँदा दिनमा सार्वजनिक गर्ने सङ्केत गरेको छ । (बीबीसी नेपालीबाट)
टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु
हेटाैंडा । मकवानपुरको हेटौंडामा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । टिपरको ठक्करबाट स्कुटरमा सवार नेपाल प्रहरीका हबल्दारको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गएराति करिब ९ बजेको समयमा टिपरको ठक्करबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा कार्यरत रहेका प्रहरी हबल्दार केशरदोर्जे थिङको मृत्यु भएको हो । प्र३–०२–०१२प १३३८ नंको स्कुटरमा सवार थिङलाई हेटौँडाको राप्ती पुलबाट बजारतर्फ आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय नजिकै ना८ख ७५५८ नंको टिपरले ठक्कर दिएकाे हाे । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस
माडी नगरपालिका पाँच दिनसम्मका लागि सिल
चितवन । चितवनको माडी नगरपालिकालाई ५ दिनसम्मका लागि सिल गरिएको छ । बुधबार बसेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले आजदेखि लागू हुने गरी ५ दिनसम्मका लागि नगरलाई नै सिल गर्ने निर्णय गरेको हो । यस अवधिमा अत्यावश्यकीय सवारी साधनबाहेक अन्यको हकमा माडी प्रवेश गर्ने र माडी बाहिर जाने कार्यलाई पूर्णरूपमा बन्द गरिएको नगरप्रमुख ठाकुरप्रसाद ढकालले जानकारी दिए । जिल्लामा कोरोना सङ्क्रमित बढ्नुका साथै माडी नगरपालिकामा नै सङ्क्रमित देखापरेपछि यस्तो निर्णय गरिएको नगरप्रमुख ढकालले बताए । समितिको निर्णयअनुसार माडीभित्र पनि सबै मोटरसाइकल, अटो, टेम्पोलगायत सवारी साधन चलाउन पूर्णरूपमा रोक लगाइएको हुँदा कुनै पनि बहानामा सवारी साधन चलाउन पाइनेछैन । यस्तै अत्यावश्यकीय सेवा प्रदान गर्ने संस्था तथा पसलबाहेक अन्य सङ्घसंस्था तथा पसल पूर्णरूपमा बन्द गराउने, अति आवश्यक कामले घर बाहिर निस्कनुपरेमा सुरक्षाकर्मीलाई जानकारी गराउनुका साथै सामाजिक दूरी कायम गरी मास्कको प्रयोग अनिवार्यरूपमा गर्ने, सङ्घसंस्था तथा पसलमा हात धुने व्यवस्था र सामाजिक दूरी कायम गर्ने/गराउने निर्णय भएको छ । यस्तै स्वास्थ्यसम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्था वा बघौडा अस्पतालमा सम्पर्क गर्ने निर्णय गरिएको नगरप्रमुख ढकालले बताए । माडीमा पहिलोपटक सोमबार ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनीहरु भारतबाट आएर सोमेश्वर माविको क्वारेन्टिनमा रहेका थिए । उनीहरु हाल भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत छन् । रासस
राष्ट्रपति ट्रम्पले गरे कम्तीमा ४ राज्यमा चुनावी सभा गर्ने घाेषणा
काठमाडाैं । अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले चुनावी प्रचारप्रसारका लागि ४ राज्यमा चुनावीसभा गर्ने बताएका छन् । कोभिड १९ को कारणले चुनावी नाराबाजी पछिल्ला तीन महिनाको लागि स्थगित गरिएकाे थियाे तर अब भने ट्रम्पले चुनावी प्रचारकाे शुरूवात गर्ने जानकारी दिएका छन् । ह्वाइट हाउसमा पत्रकारहरुलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘ओक्वामा, फ्लोरिडा, एरि जोना र नर्थ क्यारोलिनामा आफ्नो जुलुस शुरू हुन्छ ।’ सम्भवतः पहिले ओकाहोमाको टास्लाबाट जुलुस शुक्रबार शुरू हुने ट्रम्पले जानकारी दिएका छन् । यद्यपि उनले कोभिड १९ को थप संक्रमणलाई रोकथाम गर्न र जोखिम घटाउन यी घटनाहरूको क्रममा कस्तो सावधानी अपनाउने भन्ने बारेमा केही भनेका छैनन् । अमेरिकामा राष्ट्रपति पदको लागि यस वर्ष नोभेम्बरमा हुने चुनावमा ट्रम्प डेमोक्र्याट नेता जो बिडेनको बिरूद्ध चुनावी मैदानमा उत्रिने छन् । (बीबीसीकाे सहयाेगमा)