विकासन्युज

८० दिन देखि ठप्प रहेको व्यापार सुरु

काठमाडौं । लकडाउनको कारणले ८० दिन देखि बन्द रहेको व्यापार आजबाट खुल्न थालेका छन । हिजोको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई व्यवस्थित बनाउने निर्णय गरेसँगै व्यापार व्यवसाय निर्वाध खुल्न पाउने भएका हुन् । सरकारले विहिबार देखि जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसगँै बजारमा चहलपहल बढ्न थालेको हो । लकडाउनको समयमा पनि कृषि, उद्योग, दुग्ध व्यवसाय र अत्यावश्यक वस्तुको ढुवानी सञ्चालनमा नै थियो । आज देखि सबै किसिमको पसल सञ्चालन हुन थालेका छन् । पसलहरुले स्वास्थ्य सुरक्षाका मापदण्ड भने पुरा गर्नुपर्नेछ । लकडाउनकै समयमा व्यवसायीले पसल सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै आएका थिए । सरकारले लकडाउनकै समयमा कर उठाउने निर्णय गरेपछि व्यापारीले पसल खोल्न थालेका थिए ।

कम काम भएपछि मध्यपहाडी लाेकमार्ग आयोजनाकाे ४ अर्ब फिर्ता

काठमाडौं । राष्ट्रिय गौरवको आयोजना अन्तर्गतकाे मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाले ४ अर्ब ३७ करोड रूपैयाँ फिर्ता हुने भएको छ । बन्दाबन्दी जारी रहँदा निर्माणको काम कम भएकाले सो आयोजनाको सो रकम फिर्ता हुन लागेको जनाइएको छ । सरकारले चालू आवमा सो आयोजनाका लागि १२ अर्ब रूपैयाँ विनियोजन गरेको थियो । आयोजनाअन्तर्गत ५ योजना कार्यालयमार्फत निर्माणको काम अघि बढिरहेको छ । ती योजनाले सडक र पुलका गरी गत फागुनसम्म १ सय ४० ठेक्का सम्झौता गरेकामा बन्दाबन्दीको अवधिमा जम्मा ३४ ठेक्कामा मात्रै काम भएको निर्देशनालयका प्रमुख दीपक केसीले बताए । ती योजनामा पनि थोरै जनशक्तिले काम गरेको उनले जानकारी दिए । उनले भने, “लकडाउनका समयमा यति काम भयो भनी उल्लेखीयरुपमा काम भएको छैन ।” सरकारले बन्दाबन्दीको घोषणा गर्नासाथ निर्माणस्थलमा रहेका अधिकांश कामदार घर फर्किएका थिए । सरकारले राष्ट्रिय गौरवको आयोजनाको निर्माण पुनः सञ्चालन गर्ने निर्णय गरे पनि काम गर्न सहज वातावरण नबनेको उनले बताए । सरकारले निर्णय पछि जिल्ला प्रशासन कार्यालयले सवारी पास उपलब्ध गराएका थिए । स्थानीय तहले भने अरु ठाउँबाट आएका नागरिकलाई सजिलै प्रवेश रोकेकाले काम गर्न असहज भएको हो । सडकमा काम गर्ने मजदुरहरु फरक जिल्लाका हुँदा ल्याउन नसकिएको हो । उनले भने, “कतिपय पालिकाले १४ दिनसम्म क्वारेन्टिनमा राखेरमात्रै निर्माणस्थल जान दिएका थिए ।” सरकारले विकास निर्माणलाई अघि बढाउने निर्णयपछि योजना कार्यालयले निर्माण व्यवसायीसँग काम गर्न सकिन्छ कि सकिँदैन भनी छलफल गरेका थिए । ‘काम गर्न सक्छु’ भनेर शुरु गरेका निर्माण व्यवसायीलाई पनि आवश्यक जनशक्ति जुटाउनै कठिन भएको छ । जिल्ला प्रशासनले पास दिए पनि सम्बन्धित पालिकाले व्यक्ति र सवारी रोकिरहेका छन् । कोभिड–१९ सङ्क्रमित धेरै भएका जिल्लामा मात्रै होइन सङ्क्रमित नै नभेटिएका वा थोरै रहेका जिल्लामा पनि नयाँ नागरिक प्रवेश नहोस भन्ने चाहेको पाइएको छ । ‘स्वास्थ्य सुरक्षा अपनाएर काम भए पनि स्थानीय तह विश्वस्त हुन सकिरहेको छैन ।’ सडक विभागका कतिपय आयोजनामा जनशक्तिसँगै निर्माण सामग्रीको समेत अभाव रहेको छ । यो आयोजनामा भने निर्माण भइरहेका स्थानमा निर्माण सामग्रीको अभाव नरहेकाे जानकारी दिए । विगतका वर्षहरुमा सडक कालोपत्रको काम अन्तिम चौमासिकमा हुने गरेकामा अन्तिम चौमासिकको शुरुसँगै जारी बन्दाबन्दीले प्रगति कम रहेको छ । फागुन महिनासम्म काम गरिरहेको टिम साइटमा भइरहेको भए अहिलेसम्म धेरै प्रगति हुने उहाँको भनाइ छ । बन्दाबन्दी हुनासाथ फर्किएकामध्ये धेरैले चाहेर पनि अहिले निर्माणस्थल आउन सकेका छैनन् । सरकारले आगामी तीन वर्ष अर्थात् आव २०७९/८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । यो वर्ष लक्ष्यभन्दा कम काम हुँदा त्यसले आयोजना समयमै सम्पन्न गर्न कठिन हुनसक्ने प्रमुख केसीले बताए । आगामी आवमा यही अवस्थामा भए त्यसले लक्ष्यमा सम्पन्न गर्न गाह्रो हुनेछ । कोभिड–१९ को समस्या समाधान भएमा निर्माणलाई तीव्रता दिन सकिने उनले भने । आगामी आवमा बजेटका कारणले पनि धेरै काम हुन नसक्ने उनको भनाइ छ । गत आवमा १२ अर्ब रूपैयाँ रहेकामा सरकारले आगामी आवका लागि ८ अर्ब  रूपैयाँ बजेट विनियोजन गरेको छ ।  “हामीले १४ अर्ब माग गरेकामा ८ अर्ब विनियोजन भएको हो ” प्रमुख केसीले भने । मध्यपहाडका जिल्लाको जीवनस्तर उकास्नका लागि राष्ट्रिय यातायात नीति, २०५८ मा मध्यपहाडी लोकमार्गको परिकल्पना गरिएको थियो । यसको ६ वर्षपछि आव २०६४/६५ बाट निर्माणको काम नै शुरु गरियो । लोकमार्गले मध्यपहाडका २५ जिल्लाका करिब ३ सय बस्तीलाई जोड्दै ७५ लाखभन्दा बढी नागरिक लाभान्वित हुने विश्वास गरिएको छ । सडकको लम्बाइ १ हजार ७ सय किमी रहेको छ । निर्माणाधीन मध्यपहाडी लोकमार्गको आसपासमा १० वटा नयाँ शहर विकास गर्न लागिएको छ । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको नयाँ शहर आयोजना समन्वय कार्यालयले १० वटै शहरमा अत्यावश्यक शहरी पूर्वाधार निर्माणलाई अघि बढाएको छ ।   रासस

होटलको क्वारेन्टिनमा बस्नेले डेढ लाख रुपैयाँसम्म तिर्नुपर्ने, कुन स्तरको होटलमा बस्न कति शुल्क ?

काठमाडाैं । सरकारले विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटलकाे क्वारेन्टाइन राख्ने तयारी गरेसँगै उनीहरुले शुल्क तिर्नु पर्ने छ । उनीहरुका लागि होटल संघले नेपालले शुल्क तोकेको छ । संघका अनुसार उनीहरुले आफूले चाहेको होटलमा बस्न सक्नेछन् तर तोके अनुसारको शुल्क पे गरेर मात्रै । विदेशबाट उद्धार गरिएकाहरुसँगै कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी लगायतलाई पनि राख्न होटल दिन सकिने होटल संघ नेपाल (हान) ले बताएको छ । सरकारले विभिन्न मुलुकमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धारका लागि स्वदेश ल्याउने निर्णय गरिसकेको छ । अब उनीहरु नेपाल आउन पाउने छन् । उनीहरु नेपाल आएर विभिन्न होटलहरुको क्वारेन्टिनमा बस्नु पर्नेछ । यसरी उद्धार गरेकाहरुलाई केही दिन काठमाडौंको होटलहरुमा क्वारेन्टाइनमा राख्ने र परीक्षण गरेर मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ । होटलमा राख्नुपूर्व स्वास्थ्य चेकजाँच गरी संक्रमण नभएको यकिन हुने प्रमाणपत्र चाहिने उसको पहिलो शर्त छ । क्वारेन्टाइनमा बसेकाहरुको प्रत्येक दिन स्वास्थ्य जाँच हुनुपर्ने, होटल सञ्चालनका लागि कानुनी अनिवार्य शर्तका रुपमा तोकिएको अन्तर्राष्ट्रिय स्तरका मापदण्डमा कुनै क्षति नहुने ग्यारेन्टी गर्नुपर्ने र कर्मचारी तथा छिमेकमा रहेका स्थानीय समुदायलाई कोरोना संक्रमणबाट बचाउन स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको रोहबरमा होटल सञ्चालन हुनुपर्ने होटल संघ नेपालले पर्यटन विभागमा बुझाइएको प्रस्तावमा उल्लेख छ । क्वारेन्टिनमा बस्नेहरुका लागि हानले भाडादर पनि तोकेको छ । होटल एशोसिएसन अफ नेपालले ३ वटा पाँच चारतारे, ९ वटा तीनतारे, दुईवटा दुईतार, एउटा एकतारे डिलक्स होटल, ५ वटा एकतारे र २७ वटा पर्यटक स्तरका होटलहरुमा उनीहरुलाई राख्ने बताएको छ । दैनिक २ हजारदेखि ११ हजारसम्म शुल्क हानले न्यूनतम २ हजार रुपैयाँदेखि अधिकतम ११ हजार रुपैयाँसम्ममा कोठा दिन सकिने बताएको छ । एउटा कोठामा दुई जना बसेको अवस्थामा भने  ३५ सयदेखि ११ हजारसम्म लाग्नेछ भने एक्लै बस्दा २ हजार रुपैयाँदेखि ८ हजारसम्म तिर्नु पर्ने छ । उनीहरुले अब ४ तारे होटलमा प्रतिदिन व्यक्तिगत र दम्पत्तिका लागि क्रमशः ८ हजार र ११ हजार रुपैंया, तीन तारेमा लागि ६ हजार र १० हजार, दुई तारेका लागि ५ हजार र ७ हजार, एकतारेका लागि ४ हजार र ५ हजार तथा पर्यटक मापदण्डका होटलका लागि प्रतिदिन २ हजार र ३५ सय रुपैंया शुल्क तिर्नु पर्नेछ । हानका महासचिव साजन शाक्यका अनुसार क्वारेन्टिनमा बस्नेहरुका लगि यो शुल्क अन्य समयको भन्दा सस्तो नै हो । हानले क्वारेन्टाइन अवधिभरि उपलब्ध गराइने छाक पौष्टिक खाना र आवश्यक पर्ने सबै खाले आधारभूत सेवासुविधाका लागि पर्ने रकम पनि प्रस्ताव गरेको छ । होटेल संघ नेपाल (हान)का अनुसार पाँचतारे होटलमा प्रतिव्यक्ति दैनिक लागत न्यूनतम ८ हजारदेखि ११ हजारसम्म लाग्नेछ । यसमा दैनिक ४ छाक खाना, खाजासमेत पर्नेछ । ‘यो मूल्यले पनि हामीलाई नाफा हुँदैन, हामीले व्यापार गर्न खोजेको पनि होइन, उनले भने, ‘सञ्चालन खर्च मात्र उठे मात्र पनि हुने गरी मूल्य तोकिएको हो ।’ होटललाई क्वारेन्टाइनको रुपमा उपयोग गरी सञ्चालन गर्ने क्रममा व्यवस्थापन तथा समन्वयका लागि होटल संघ नेपालका प्रतिनिधिसमेत रहने गरी सम्बन्धित सरकारी निकाय संलग्न समिति गठन हुनुपर्ने हानले उल्लेख गरेको छ । साथै कर्मचारीहरुको उपलब्धता, भौतिक संरचना र उपकरणहरु संचालनलाई ध्यानमा राखेर क्वारेन्टाइनका लागि होटल दिने नदिने निर्णय प्रत्येक सदस्य प्रतिष्ठानले लिनसक्ने समेत हानले उल्लेख गरेको छ १४ दिनमा डेढ लाख तिर्नुपर्ने विदेशबाट आएकाहरुले कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड छ । उक्त शुल्क अनुसार एउटा व्यक्तिले १४ दिनको क्वारेन्टिन समयावधिमा २८ हजार रुपैंयाँदेखि डेढलाखसम्म तिर्नु पर्नेहुन्छ । उनीहरुले प्रतिदिन पाँचतारे होटलमा बस्दा ११ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ भने १४ दिन बस्दा १ लाख ५४ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै चार तारे होटलमा बस्ने दम्पत्तीले १ लाख ४० हजार तिर्नु पर्नेहुन्छ भने एक व्यक्तिले १ लाख १२ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ ।

इराकको ग्रिन जोनमा दुई वटा क्षेप्यास्त्र प्रहार

बग्दाद । इराकी गृह मन्त्रालयले इराकको राजधानी बग्दादस्थित ग्रिन जोनमा बुधबार दुई वटा कात्युसा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । सुरक्षा व्यवस्था निकै कडा बनाइएको ग्रिन जोनमा मुख्य इराकी सरकारी कार्यालयहरु र अमेरिकी राजदूतावास रहेका छन् । उक्त क्षेप्यास्त्र प्रहारबाट भएको क्षतिबारे केही उल्लेख छैन । ग्रिन जोनलाई लक्षित गरी विभिन्न समूहले बेलाबखत क्षेप्यास्त्र र मोर्टार प्रहार गर्ने गरिएको छ । बग्दाद र वासिङ्टनबीचको सम्बन्धका साथै इराकमा अमेरिकी फौजको भविष्यका बारेमा बिहीबार रणनीतिक छलफल हुनैलाग्दा यो आक्रमण भएको हो । दुबै देशका उच्च सरकारी अधिकारीहरु वार्ताका लागि इराकमा भेला भएका छन् । अमेरिकी ड्रोनले बग्दाद विमानस्थलमा गत जनवरी ३ मा आक्रमण गरेपछि इराक र अमेरिकाबीचको सम्बन्ध तनाबको अवस्थामा छ । उक्त आक्रमणमा इरानी क्वेड सुरक्षाबलका पूर्व कमान्डर कासिम सुलेमानी र इराकी अर्धसैनिक बल हस्द शाबीका उपप्रमुख अबु माहदी अल–मुहान्दिसको मृत्यु भएको थियो । अमेरिकी आक्रमण लगत्तै इराकी संसदले जनवरी ५ मा देशभित्र विदेशी सैन्यबललाई हटाउने एक प्रस्ताव पारित गरेको थियो । इस्लामिक स्टेट्सका लडाकू विरुद्धको संघर्षमा इराकी फौजलाई मद्दत गर्न अमेरिकाले पाँच हजारभन्दा बढी सैनिक पठाएको छ । अमेरिकी सैनिकहरुले हाल मुख्य रुपमा इराकी सेनालाई तालिम र परामर्श सेवा उपलब्ध गराइरहेका छन् ।  रासस–सिन्ह्वा

कोरोनापछिको नेपालको पुँजी बजारमा के-केकाे असर पर्छ ?

विश्वव्यापी माहामारीको रूपमा संसारभर फैलिएको कोरोना भाइरसका कारणबाट असर नपुगेको क्षेत्र सायदै होला । नेपालको पुँजी बजारमा सूचीकृत संगठित संस्थाहरुको क्षेत्रगत हिस्सा हेर्ने हो भने करिब ६० प्रतिशत हिस्सा बैंक तथा वित्तीय संस्थाहरुको रहेको देखिन्छ । नेपालको पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाहरुको हिस्सा सबैभन्दा बढी रहेको देखिन्छ । यसको अर्थ बैंकिङ्ग क्षेत्रका लागि सरकारले लिने नीति तथा कार्यक्रमहरु, नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति तथा बेलाबेलामा जारी हुने निर्देशनहरु, बैंक तथा वित्तीय क्षेत्रको नाफाको अवस्था, कोरोना भाइरसको प्रकोप तथा असरबाट बच्नका लागि घोषणा गरिएका राहत प्याकेजहरु लगायतका कारणबाट यसको असर प्रत्यक्ष रूपमा पुँजी बजारमा पर्ने निश्चित छ । यसैगरी पुँजी बजारमा दोश्रो र तेश्रो बढी हिस्सा भएका क्षेत्रहरुमा परेको प्रभावले पनि असर पार्ने देखिन्छ । तसर्थ, कोभिड-१९ को प्रकोपबाट नेपालको पुँजी बजारमा पर्ने असरलाई निम्नानुसार देखाउन सकिन्छ । वित्तीय क्षेत्रको नाफामा हुने संकुचनबाट पर्ने असरः मौद्रिक नीतिको तेश्रो त्रैमासिक समिक्षा अनुसार आर्थिक वर्ष २०७६।७७ मा कुल आन्तरिक कर्जाको वृद्धिदर २४ प्रतिशतमा र निजी क्षेत्रतर्फको कर्जाको वृद्धिदर २१ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण रहेकोमा २०७६ चैत मसान्तमा यस्तो कर्जाको वार्षिक विन्दुगत वृद्धिदर क्रमशः १४.२ प्रतिशत र १५.४ प्रतिशत रहेको छ । यसैगरी राष्ट्र बैंकबाट जारी ९ महिनाको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेको छ । यसको प्रत्यक्ष असर बैंक तथा वित्तीय संस्थाको नाफामा पर्ने देखिएको छ । यो आ.व.को तेश्रो त्रैमासिकको वित्तीय विवरणमा नै कतिपय बैंक तथा वित्तीय संस्थाहरुको वितरणयोग्य नाफा ऋणात्मक देखिनुले यो आ.व. मा सेयरधनीहरुले प्राप्त गर्ने प्रतिफल अवश्य घटने देखिन्छ । यसको प्रत्यक्ष असर पुँजी बजारमा पर्ने देखिएको छ । विप्रेषण आयमा आउने कमीबाट पर्ने असरः २०७६ चैत्रमा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु.६२६ अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो । २०७६ चैतदेखि २०७७ बैशाखसम्मको अवधिमा करिब रु.७५ अर्ब ४८ करोड विप्रेषण प्राप्त भएको अनुमान छ । गत वर्षको सोही अवधिमा रु.१४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो । केन्द्रिय तथ्याङ्क विभागबाट जारी भएको आ.व.२०७६।७७ को राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कुल र्गाहस्थ उत्पादनमा विप्रेषण आयको हिस्सा १९.०१ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको देखिन्छ । यसरी विप्रेषण आयमा कमी आउनाले राष्ट्रिय बचतमा कमी आई लगानीयोग्य पुँजीमा कमी आउने देखिन्छ । औद्योगिक उत्पादनमा हुने ह्रासबाट पर्ने असरः कोरोना भाइरसबाट बच्नका लागि २०७६ चैत्र ११ देखि शुरु भएको बन्दाबन्दी अझै कति समय जाने हो निश्चित छैन । यस अवधिमा सम्पूर्ण उद्योग कलकारखानाहरु बन्द अवस्थामा भएकाले उद्योगीहरुको उद्योगको क्षमता विस्तार तथा रोजगारी सृजना गर्ने क्षमतामा कमी आउने देखिन्छ । जसको प्रत्यक्ष असर उद्योगको नाफामा पर्नुका साथै वितरणयोग्य रकमको अभाव हुने स्पष्ट छ । जलविद्युत क्षेत्रमा देखिएको अवसरः नेपालको पुँजी बजारको करिब १४ प्रतिशत हिस्सा ओगटने जलविद्युत क्षेत्रमा भने त्यति धेरै नकारात्मक असर नपर्ला । निर्माणाधिन अवस्थामा रहेको आयोजनाहरुको कुरा छोडिदिने हो भने चालु अवस्थामा रहेका आयोजनाहरुले नियमित रूपमा विद्युत प्रवाह गरी आम्दानी गरिरहेका छन । लकडाउनको समाप्तिपछि खुल्ने बजारमा जलविद्युत क्षेत्रको प्रभाव सकारात्मक पर्ने देखिन्छ । विद्युतीय कारोबारमा प्रोत्साहन हुनेः विश्वव्यापी महामारीको प्रभावबाट समग्र विश्व जगतले सामाजिक दुरी कायम गर्ने, भिडभाड नगर्ने, अनावश्यक रूपमा घरबाहिर नहिडने जस्ता मानवीय व्यवहारहरुको परिपालनामा बढोत्तरी हुने देखिन्छ । तसर्थ, सम्बन्धित नियमन निकायहरुले पुँजी बजार कारोबारलाई ग्राहकमैत्री तथा विद्युतीय माध्ययमबाट गर्ने व्यवस्थाको विकास गर्नु अपरिहार्य छ । नेपाल सरकारको कारोबारलाई विद्युतीय माध्यमबाट गर्ने कुरा नीति तथा कार्यक्रममा समेटिएकोले पनि यसको आवश्यकतालाई झन बढाउने देखिन्छ । पुँजी निर्माणको साधनको रूपमा विकास हुन सक्नेः नेपाल धितोपत्र बोर्डले उत्पादनमुलक उद्योगहरुलाई पनि पुँजी बजारमा भित्र्याउनका लागि आवश्यक प्रयत्न गरिरहेको भएपनि यसले मुर्तरूप लिन भने नसकेको अवस्था छ । लामो समयको बन्दाबन्दीका कारणबाट औद्योगिक उत्पादन कम हुने, चालु खर्चमा हुने वृद्धि, बिक्री वितरण व्यवस्थामा भएको आमुल परिवर्तन जस्ता कारणले ठूला औद्योगिक घरानाहरुलाई ठूलो लगानीको आवश्यकता पर्ने देखिन्छ । यस्तो आवश्यकताको परिपूर्तीका लागि बैंकिङ्ग क्षेत्रबाट उपलब्ध हुने ऋणका अलवा अन्य श्रोत नभएको अवस्थामा प्रिमियम मूल्यमा सेयरको सार्वजनिक निष्काशन गरी आवश्यक पुँजी जुटाउन सक्दछन् । तसर्थ, लकडाउन ठूला उद्योगधन्दाहरुलाई दाश्रो बजारमा प्रवेश गराउने उपयुक्त माध्ययम बन्न सक्छ । नियमन निकायहरुको क्षमता अभिवृद्धि हुनेः विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको प्रभावबाट विद्यमान कानुनी, नीतिगत, संरचनागत, संस्थागत, प्रक्रियागत तथा पद्धतिगत व्यवस्थाहरुमा आमूल परिवर्तन गर्नुपर्ने देखिन्छ । राष्ट्रिय आवश्यकतालाई मध्यनजर गरेर अति आधुनिक तथा अन्तर्राष्ट्रिय असल अभ्यासहरुको अनुसरण गरी नयाँ र गतिशिल व्यवस्थाहरु गर्नुपर्ने देखिन्छ । पुँजी बजारलाई आधुनिक, सबल, प्रतिस्पर्धि र पारदर्शी बनाउनका लागि बैलैमा आवश्यक छलफल, अन्तक्रिया तथा गोष्ठीहरुको आयोजना गरी निर्णय लिन तयार भएर बस्नु पर्नेछ । यसैगरी नियमन निकायहरुबीचको समन्वयलाई पनि अझ विस्तार गर्नुपर्ने देखिन्छ । महामारीपछि लगानीको उपयुक्त विकल्पको रूपमा विकास हुन सक्नेः नेपालको पुँजी बजारको विगतको इतिहास हेर्ने हो भने महामारी पछि लगानीकर्ताको आकर्षण दोश्रो बजारतर्फ सोझिएको देखिएको छ । २०७२ सालको विनाशकारी महाभूकम्पको परिणामस्वरूप २०७२ श्रावण ६ गते नेप्से सूचकाङ्क सबैभन्दा न्यून ९६३.२३ विन्दुमा झरेको तथा सो २०७३ आषाढ १५ मा यसमा वृद्धि भई नेप्से सूचकाङ्क १७२४.५९ विन्दु पुगेको देखिन्छ । यसरी हेर्दा महामारीपछि लगानीकर्ताको मनोबल गिर्ने, सरकारका नीति तथा कार्यक्रम साधनको उपलब्धता प्रति सहज हुने, नेपाल राष्ट्र बैंकले निजी क्षेत्रमा प्रशस्त कर्जा प्रवाहका लागि नीतिगत व्यवस्था गर्ने, छोटो समयमा धेरै नाफा आर्जन गर्ने होडबाजी शुरु हुने जस्ता कारणबाट कोरोना भाइरसको महामारी पछि पनि पुँजी बजार मापकको रूपमा रहेको नेप्से सूचकाङ्कमा वृद्धि हुने सम्भावना देखिन्छ । निष्कर्ष मानवीय सभ्यतालाई नै चुनौती दिने गरी फैलिएको कोरोना भाइरसका कारणले समग्र विश्व नै आक्रान्त भएको बेला सो को प्रभावबाट नेपालको पुँजी बजार पनि अछुतो रहन सक्दैन । देशको अर्थतन्त्रका प्रमुख अंगहरुको रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरु, उद्योगधन्दा तथा कलकारखानाहरु, बीमा कम्पनीहरु, धितोपत्र कारोबारमा संलग्न कम्पनिहरु, विदेशी लगानीमा स्थापित कम्पनिहरुको वित्तीय स्थितिमा प्रत्यक्ष तथा परोक्ष प्रभाव पर्ने भएकोले सो को प्रभावकारी व्यवस्थापनका लागि नेपाल सरकारका निकायहरु, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड तथा अन्य सम्बन्धित नियमन निकायहरुले आ-आफ्नो ठाएकाट सकारात्मक तथा सहयोगी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । (नेपाल धितोपत्र बोर्डकाे २८औं वार्षिकोत्सव लेख विशेषाङ्क, २०७७ बाट साभार)

सुदूरपश्चिमका थप तीन स्थानमा पिसीआर राख्ने तयारी

अत्तरिया । उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले विकास निर्माण अघि बढ्ने बताएका छन् । गेटा विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै उनले सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोनाका कारण रोकिएका विकास निर्माण अघि बढ्ने बताए । देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाएको उनले भने । कोरोना परीक्षणका लागि सुदूरपश्चिमका थप तीन ठाउँमा पिसीआर मेसिन राख्ने तयारी सरकारले गरिरहेको मन्त्री भट्टले बताए । कञ्चनपुरको दोधरा–चाँदनीमा सुक्खा बन्दरगाहसँगै औद्योगिकग्रामको काम अघि बढ्ने उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशमा कोरोनाको अवस्थाबारे बुझ्न उनीसहितको एक उच्चस्तरीय टोली यहाँ पुगेको जनाइएको छ । सो टोलीले सुदूरपश्चिमको प्रमुख सीमानाका गौरीफन्टा, विभिन्न स्थानमा रहेका ठाउँमा क्वारेन्टिनलगायत औद्योगिक क्षेत्रको पनि अनुगमन गर्ने जनाइएको छ ।  रासस

सडक विस्तार गर्न विश्व बैंकको ५४ अर्ब रुपैयाँ ऋण, नागढुंगा- नौविसे सडक खण्डलाई लाभ

काठमाडाैं । नेपालको सडक पूर्वाधार विकास गर्नका लागि विश्व बैंकको ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ ) ऋण दिने भएकाे छ। बैंकले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त ऋण साहयताबाट नेपालको रणनीतिक सडक पूर्वाधारको विकास हुने विश्वास गरिएको छ। कोरोनापछिको अवस्थामा अन्तरदेशीय व्यापार बृद्धि, थप रोजगारी सिर्जना तथा सुरक्षित सडक यातायातको विकासका लागि खर्च हुनेगरी उक्त ऋण स्वीकृत गरिकएको बैंकले जनाएकाे छ । नेपाल रणनीतिक सडक सञ्जाल र व्यापार सुधार आयोजनाका लागि स्वीकृत भएको यो ऋणबाट विशेषगरी नागढुंगा- नौविसे- मुगलिङ सडक खण्डको स्तरोन्नति तथा कमला- ढल्केबर- पथलैया सडक खण्डको स्तरोन्नतीको काम हुने छ। नेपाल स्ट्राटेजिक रोड कनेक्टिभीटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट अन्तगर्तको यो सहयोग मुलत नागढुंगा–नौबिसे–मुग्लिन सडक तथा कमला–ढल्केवर–पथलैया सडकको सुधार र स्तरोन्नतीमा खर्च हुनेछ । नागढुंगा–नौबिसे–मुग्लिन सडक बिस्तारका लागि अर्थ मन्त्रालय र विश्व बैंंकबीच गत वर्षदेखि नै छलफल भइरहेको थियो । यो खण्ड विस्तारका लागि  २० अर्ब रुपैयाँ ऋण लिने सरकारको तयारी थियो । यस अघि नारायणगढ–मुग्लिन सडकको विस्तार पनि विश्व बैंककै ऋण सहयोगमा गरीएको थियो । ‘यी दुई सडक नेपालको कनेक्टभिटी तथा भारतलगायत अन्य देशहरुको सँगको व्यापारका लागी महत्वपुर्ण रहेको छ’, विश्व बैंकद्धारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ । यी दुवै सडक भारत र अन्य देशसँग नेपालले गर्ने व्यापारको लागि महत्वपूर्ण भएकाले यसको स्तरोन्नतीमा विश्व बैंकले सहायता उपलब्ध गराएको बताएको छ। यसबाहेक, उक्त सहायताबाट राष्ट्रिय सडक सुरक्षा परिषद र सडक विभागको क्षमता अभिवृद्धीमा र अतिव्यस्त सडकहरूको स्तरोन्नती समेत हुने विश्व बैंकले बताएको छ। नेपालका लागि विश्व बैंकका राष्ट्रिय म्यानेजर फारिस हदाद जार्भोसले सडक आयोजनाहरूको सुधारमा खर्च हुने रकमले नेपालमा कोभिड-१९ बाट अर्थतन्त्रमा परेको असर न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षा राखिएको बताएका छन्।

सुनकाे मूल्य बढ्ने क्रम जारी, बिहीबार प्रतिताेला ८९ हजार ६ सयमा काराेबार

काठमाडाैं । पछिल्ला दिनमा  सुनको मूल्य निरन्तर बढ्ने क्रम जारी  रहेकाे छ । बिहीबार छापावाला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ८९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुनको मूल्य तोलाको ८८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ हजार ५ रुपैयाँले बढेर ८९ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुनको मूल्य ८८ हजार १ सय ६० रुपैयाँ थियो। चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएकाे छ ।