विकासन्युज

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ । बैंकले आफ्नो विभिन्न शाखा कार्यालयहरुबाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ रुपैयाँ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । साना तथा लघु बैंकिङ विभाग अन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आएका ग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरहँदा सदस्यको मृत्यु तथा संरक्षकको मृत्यु र सदस्यको परियोजनामा आगलागी भई क्षती भएको हँुदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट उक्त राहत वितरण गरेको हो । यस बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएका कान्छी मर्हजनको असमायिक निधन भएको हुँदा नीजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काज क्रिया रकम क्रमशः १ लाख ८ हजार ७ सय १७ रुपैंया र १ लाख १४ हजार ८० रुपैयाँ मृतककै घरमा गई प्रदान गरेको छ । यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिक मृत्यु भएको हुँदा काज क्रिया खर्च वापत ५ हजार रुपैयाँ प्रति सदस्य राहत प्रदान गरेको बैंकले जनाएको छ । यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुँदा निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप ५ हजार रुपैयाँ राहत वितरण गरेको छ । विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरुले सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेको हो ।

भन्सार वृद्धिपछि विद्युतीय गाडी प्युजोको नयाँ मूल्य ५५ लाख रूपैयाँ

काठमाडौं । साँग्रिला मोटर्स प्रा.लिले प्युजो पार्टनर इलेक्ट्रिकको गाडीको मूल्य ५५ लाख रुपैयाँ तोकेको छ । सरकारले बजेट भाषणमा इलेक्ट्रिक गाडीको करका दर वृद्धि गरेपछि कम्पनीले प्युजो पार्टनस् टेपी इभी ५५ लाखमा बिक्री गर्ने जनाएको छ । प्युजो पार्टनर टेपीमा शक्तिशाली इलेक्ट्रिक ईन्जिन जडान गरिएको छ जसले ६७ एच पी पावर, २०० एन एम टर्क, मात्र ४.२ सेकेन्डमा ३० देखि ६० किमि प्रति घण्टाको रफ्तार तथा ११० कि. मी. प्रति घण्टासम्म गति लिन सक्ने कम्पनीले जनाएको छ । त्यस्तै यसमा जडित २२ किलोवाट लियोन व्याट्रीले एक पटक चार्जमा १७० किलो मिटरसम्म गुड्न सक्छ । पार्टनर टेपी इभी ५ सिटे एमपिभीले वास्तवमै कम खर्चमा स्वचालित हुन्छ । यसमा भएको पछाडिका सिटहरु छुटाउन मिल्ने, फोल्ड गर्न मिल्ने तथा पूर्ण रुपमा झिक्न मिल्ने खालका छन् । पछाडिको सिटमा ३ जना आरामले सवारी गर्न मिल्छ । साथै सिट पछाडि फोल्ड गरी १३५० लिटर सम्म स्पेस पाउन सकिन्छ । सिटहरु झिकी यसले ३००० लिटर सम्म कार्गो /वुट स्पेस दिन्छ । यसको दुबै साइडमा भएको स्लाइडिङ्ग ढोकाले गर्दा चढ्न सजिलो हुनको साथै टाइट पार्किङ्ग एरिमा पनि पार्क गर्न सजिलो हुन्छ । २०० मि. मि ग्राउण्ड क्लियरेन्स भएको कारण कुनै पनि सडकमा गाडिको व्याट्रीले भुइ छोला भन्ने डर नलिई ढुक्क भई चलाउन सकिन्छ । यसलाई तपाईले व्यापारिक प्रयोजन जस्तै ट्रान्सपोर्ट तथा अन्य व्यवसाय जस्तै ट्राभल्स तथा टुर्समा पनि प्रयोग गर्न सकिन्छ । सुरक्षित एविएसस ब्रेक असिस्ट तथा पेसेन्जर र ड्राइभर को लागि साइड तथा कर्टेन एअर व्याग स्टानडर्डको रुपमा नै फिट गरिएका हुन्छन् । अरु फिचरहरुमा क्रुज कन्ट्रोल म्यानुअल एअर कन्डिसनिङ्ग तथा लिड डे टाइम रनिङ्ग लाइट्स, टच स्व्रिmन इन्फोटेन्मेन्ट सिस्टम डि ए बी डिचिटल रेडियो तथा रियर भ्यू क्यामरा सहित पार्किङ्ग, सेन्सर अटोमेटिक हेड लाईट्स् तथा रेन–सेसिङ्ग वाइपरस्, यस्को बहु आयामिक पाटो तथा ड्राइभिङ्ग अनुभवले बजेट मितव्ययी सबैको यो उचित रोजाइ बनेको छ । बजेट पूर्व ल्याएको यी गाडी स्टक रहुन्जेलको लागि यो मूल्य भएको कम्पनीले जनाएको छ । परिवार, होटेलहरु, ट्राभल एजेन्सीहरु, व्यापारिक प्रयोजनका उपयोगि भएको कम्पनीले जनाएको छ । प्युजो ग्रुपको पहिलो ईभी प्युजो पार्टनर ईभी सेप्टेम्बर २०१७ मा बिव्रmी वितरण शुरु भएको थियो र संसारभरी यसले सफलता हासिल गरेको थियो ।

नेपालमा चार दिनको शिशुमा पनि देखियो कोरोना

फाइल फाेटाे काठमाडाैं । नेपालमा चार दिनकाे शिशुलाई पनि काेराेना भाइरस देखिएकाे छ । बाजुराको बुढीगंगा नगरपालिकाका एक ४ दिनका शिशुलाई कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएकाे हाे । अस्पतालका अनुसार सुदूरपश्चिममा बिहिबार थपिएका २७ जना कोरोना संक्रमितमध्ये ४ दिनका शिशु पनि रहेका छन्। सबै २७ जनाको धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा परीक्षण पश्चात कोरोना पुष्टि भएको हो। यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक सय ९१ पुगेको छ।

थप २ सय ५० जनामा देखियाे काेराेना संक्रमण, संक्रमितकाे संख्या ४६ सय नाघ्याे

काठमाडौं । बुधबार थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गाैतमले थप २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै पछिल्लो २४ घण्टामा १८७ जना डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या हालसम्म ८६१ पुगेको छ । याेसँगै नेपालमा ८ सय ६१ जना निकाे भएर घर फर्किएका छन्, काेराेना संक्रमितकाे संख्या ४६ सय १४ पुगेका छ जसमा १५ जनाले ज्यान गुमाईसकेका छन् । मन्त्रालयका अनुसार देशभरका आइसोलेसनमा ३ हजार ७३८ जना छन् भने क्वारेन्टिनमा १ लाख ६२ हजार १२ जना छन् । कुन प्रदेशमा कति संक्रमित ? हालसम्म प्रदेश एककाे १३ जिल्लामा ३०७ जना संक्रमित, प्रदेश दुईकाे ८ जिल्लाका १६७१ जना,  बागमति प्रदेशकाे १२ जिल्लाकाे १४७ जना, गण्डकी प्रदेशकाे ९ जिल्लामा १४७ जना, प्रदेश ५ काे १२ जिल्लाका १३९९ जना, कर्णाली प्रदेशकाे ९ जिल्लाकाे ७५९ र सुदुरपश्चिमकाे ९ जिल्लाकाे १९२ जना काेराेना संक्रमित रहेका छन् । कतिकाे परीक्षण ? हालसम्म १ लाख १५ हजार ९ सय ३० काे पिसिआर विधि र १ लाख ७८ हजारकाे १ सय २७ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन ।  

घरभाडा छुट दिने संघीय सरकारको निर्णय अलपत्र, स्थानीय तह भन्छन्ः टिभीमा भाषण सुनेका मात्रै हौं

काठमाडौं । सरकारले जारी गरेको लकडाउनको समयमा घरभाडा छुट दिने भन्ने संघीय सरकारको निर्णयले स्थानीय तह, घरधनी र भाडावालबीच अनावश्यक विवाद र द्वन्द सिर्जना गरेको छ । घरभाडा छुट दिने सम्बन्धी स्पष्ट मापदण्ड र आधार तयार नपारी संघीय मन्त्रिपरिषदले लोकप्रियताको लागि गरेको निर्णय आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको रहेको कारण कार्यान्वयनमा समस्या सिर्जना भएर विवाद र द्वन्द बढाउने माध्यम मात्रै बनेको हो । गत १४ बैशाखको मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउनको बेला आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका थिए । सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि व्यापार व्यवसाय बन्द गरेर बसेका व्यवसायी पनि आफूहरुको आम्दानीको स्रोत गुमेको भन्दै घरभाडा छुट हुनुपर्ने दाबी गरिरहेका छन् । तर, संघीय मन्त्रिपरिषदले गरेको घरभाडा छुट दिने निर्णय व्यापारीको हकमा त कुरै छोडौं, डेरावालाको हकमा पनि कार्यान्वयन भएको छैन । घरभाडाको विषयले विवाद सुरु भएको स्थानीय तह बताउछन् । नेपालको संविधानले घरवहाल कर लिने अधिकार स्थानीय तहलाई दिएको छ । संघीय सरकारले घरभाडा छुट दिएका घरधनीलाई करमा विचार गरिने बताएको थियो । तर, आफूले कर उठाउने अधिकार क्षेत्रभित्रै नपरेको विषयमा संघीय सरकारले निर्णय गरेका कारण कार्यान्वयनमा जटिलता आएको हो । घरभाडा छुट दिने निर्णय लागू नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने मन्त्री खतिवडाले बताएका थिए । अनुगमनको जिम्मा स्थानीय तहलाई दिने भनिएको पनि थियो । तर स्थानीय सरकार भने घरभाडा छुट दिने संघीय सरकारको निर्णय लागू गर्न नसकिने बताउछन् । घरभाडामा लिएर बस्ने र व्यापार गर्नेहरुले पनि घाडा छुट हुनुपर्छ भनेर माग गरिरहेका छन् । न्यूरोड लगायतका व्यापारिक केन्द्रका व्यापारीहरुले लकडाउनको समयको भाडा छुट हुनुपर्छ भनेर अन्दोलन नै गरेका छन् । सरकारले घरभाडा छुट दिने भनेपछि भाडामा बस्नेदेखि व्यापार गर्ने व्यापारीसम्म छुटको आशामा छन्, जुन निर्णय कार्यान्वयन भएकै छैन । घरभाडा छुट दिने अधिकार स्थानीय सरकारलाई नै छ । तर स्थानीय सरकारको प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिहरु संघीय सरकारले भाडा छुट दिने भन्ने बितिकै स्थानीय सरकारले दिन नसक्ने बताउछन् । संघीय सरकारले सबै स्थानीय तहलाई स्पष्ट कानुनी मापदण्ड तयार पारी यो विधि र प्रक्रिया अनुसार घरभाडा छुट दिनु भन्ने परिपत्र जारी गरे मात्रै सोको कार्यान्वयन गर्न सकिने अन्यथा कुनै व्यक्तिले के बोले भन्ने कुराको अर्थ नहुने स्थानीय तहका अधिकारीहरुको भनाइ छ । काठमाडौं महानगरपालिकाका उममेयर हरिप्रभा खड्गीले संघीय सरकारले बोल्दैमा घरभाडा छुट दिन नसकिने बताइन् । सरकारको प्रवक्ताको जिम्मेवारी वहन गरिरहेका संचार तथा सुचना प्रविधि मन्त्री डा. खतिवडा अर्थमन्त्री पनि हुन् । संघीय सरकारका अर्थमन्त्रीले भाडा छुट दिने भनेर टेलिभिजनमा बेलेको आफूले पनि सुनेको भन्दै उपप्रमुख खड्गीले कसरी र कुन कानुनमा टेकेर छुट गर्ने भन्ने समस्या भएको बताइन् । ‘घरधनीहरुले पनि बैंकबाट ऋण लिएका छन्, त्यस्तो ऋणको व्याज कसरी तिर्ने भनेर घरधनीहरु पनि समस्यामा पर्छन, धेरै घरधनीले त्यही घरको भाडाले घरायसी खर्च चलाइरहेका छन्, हामीले पनि घरबहाल करबाट धेरै खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ, संघीय सरकारले घरभाडा छुट दिने भनेर बोलेको कुरा मैले पनि सुनेकी हूँ, तर कसरी छुट दिने कस्तालाई दिने भन्ने सम्बन्धमा कुनै जानकारी वा निर्देशन आएको छैन, भाडा छुट दिनुपर्छ भन्ने भाडावाला र दिन सकिदैन भन्ने घरधनीको अडानका कारण अनावश्यक विवाद सिर्जना भएको छ,’ उपप्रमुख खड्गीले भनिन् । ललितपुर महानगरका उपमेयर गीता सत्यालले सरकारले भाडा छुट मात्रै भनेर भन्दैमा छुट गराउन नसकिने बताइन । घाडा छुट दिन पनि कानुन चाहिने हुनाले कानुन निर्माण गरेर मात्रै भाडा छुट दिन सकिने उनको भनाइ छ । ठूला उद्योगी व्यवासायीहरुको प्रतिनिधित्व गर्ने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसघं र नेपाल चेम्बर अफ कर्मशले सरकारसगँ सञ्चालित उद्योगको घरभाडा छुट मागेका छैनन् । तर नेपाल घरेलु तथा साना उद्योग महासंघले भने उद्योग, कृषि, श्रम, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसम्म गएर सके ६ महिनाको र नसके लकडाउ अवधिभरको भाडा छुट गर्ने व्यवास्था मिलाउन सरकारसँग माग गरेका छन् । उद्योगीले मागेका छैनन् भाडा छुट ? नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लकडाउनको कारणले उद्योगमा धेरै समस्या आएको बताए । तर, भाडाको विषयमा महासंघमा छलफल नभएको उनको भनाइ छ । सरकारले भाडा छुट दिने भनेर सार्वजनिक जानकारी दिए पनि औद्योगिक क्षेत्रमा संचालन भएका उद्योगहरुको भवन र जग्गाको भाडाको विल बिल उद्योगीलाई पठाइसकिएको उनले बताए । सरकार आफै छुट भनेर भन्ने अनि बिल पनि पठाउने गरिरहेको उपाध्यक्ष ढकालको भनाइ छ । नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले पनि घरभाडा भन्दा पनि अन्य समस्याको सामाधानका लागि सरकारसँग माग गरेको बताए । नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि व्यापारिक प्रयोजनमा प्रयोग भएको घरभाडाको विषयमा चेम्बरमा छलफला नभएको बताए । भाडामा लिदा नै लिने र दिनेबीच सहमति भएको हुन्छ भन्दै उनले यो विषय घरधनी र घरभाडामा लिने व्यक्तिबीचको छलफल गरेर जाने विषय हो भने । सम्बन्धित सामग्री सरकार भन्छ- पसल खोल्न दिदैनाै‌ं, व्यापारी भन्छन्- पसल खोल्छौं अढाइ महिनादेखि पसल बन्द गरेका व्यापारी भन्छन्ः सटर खोल्ने वित्तिकै ग्राहक होइन, भाडा माग्न घरभेटी आए भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ तनावमा साना व्यवसायीः न रातमा निद्रा लाग्छ नत दिनमा भोक ! (फ्रिडम फाेरमकाे सहयाेगमा)

सेञ्चुरी बैंकले अन्तरिम लाभांश वितरण गर्ने, क-कसले पाउँछन् ?

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेयरधनीलाई अन्तरिम लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले यस विषम परिस्थितिमा सेयरधनीलाई ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने निर्णय गरेको हो । गत आर्थिक वर्षको साधारण सभा स्थगित भएपछि बैंकले उक्त निर्णय गरेको हो । बैंकले स्वीकृत नगद लाभांसको ३ प्रतिशत रकम अर्थात् २५ करोड २४ लाख ६४ हजार रुपैयाँ कर कट्टी गरी हुन आउने २३ करोड ९८ लाख ४० हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । उक्त लाभांश गत फागुन ३० गतेसम्म कायम रहेका सेयरधनीले मात्र पाउने बैंकले जानकारी गराएको छ । साथै, बाँकी रहेको नगद लाभांस र बोनस सेयर वार्षिक साधारण सभा भए पश्चात् वितरण गर्ने बैंकले जनाएको छ । बैंकले आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत लाभांश वितरण गर्न स्वीकृत पाएको थियो । बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको छ । हाल विश्वभर फैलिएको कोभिड-१९ को महामारीको कारणले स्थिगित भएको साधारण सभा अर्काे सूचना प्रकाशित नभएसम्मको लागि स्थगित हुने बैंकले जनाएको छ ।

राखियो मेचीपुलमा नेपालकाे नयाँ नक्सा

भद्रपुर । नेपालको पूर्वी सीमानाका काँकडभिट्टाको प्रवेशद्वारस्थित मेचीपुलमा कलापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा राखिएको छ । नेपाल कम्युनिष्ट पार्टीको भातृ सङ्गठनका रूपमा रहेका राष्ट्रिय युवासङ्घ नेपाल र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियनको संयोजनमा आज सो स्थानमा नक्सा राखिएको हो । सो पुलको मुखमा १० फिट लम्बाइ तथा पाँच फिट चौडाइ भएको होडिङबोडमा नयाँ नक्सा प्रदेश नं १ का सांसदद्वय गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीको उपस्थितिमा राखिएको हो । सो अवसरमा सांसद बुढाथोकीले राष्ट्रियताका सवालमा सम्पूर्ण देशवासी एक ठाउँमा उभिएको बताए ।

सर्वोच्चले भन्याे: लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउनु

काठमाडाैं । सर्वोच्च अदालतले लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको इजलासले बुधबार लकडाउन खुलेको ३० दिनभित्र कर तिरे हुने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सिर्जना अधिकारीसहितले अर्थ मन्त्रालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका थिए । रिट निवदेकले कोभिड १९ को कहर समाप्त भएपश्चात् कम्तिमा ३० दिनको म्याद राखी व्यवस्थित र स्वच्छ वातावरणमा कर विवरण र कर दाखिला गर्ने व्यवस्था गर्न माग गरेको थिए । आन्तरिक राजस्व विभागले असार ७ गतेभित्र कर तिर्न जारी गरेको सूचना कार्यान्यवन नगर्न पनि आदेशमा भनिएको छ । “असार ७ र १५ गतेभित्र कर तथा विवरण बुझाउने सम्बन्धमा भनि जारी भएको सूचना बन्दाबन्दीको अवधिसम्म कार्यान्वयन नगरी बन्दाबन्दी पूर्ण रूपमा खुलेपश्चात् बाटोको म्यादबाहेक ३० दिनभित्र सम्बन्धित विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनू,” आदेशमा भनिएको छ । सरकारले गत जेठ २० गते सूचना प्रकाशित गरी जेठ २५ गतेसम्म सरकारलाई बुझाउनुपर्ने कर बुझाउन र नबुझाए कानुनबमोजिम कारबाही गर्ने चेतावनीसहितको सूचना प्रकाशित गरेको थियो । यो सूचनाप्रति तीव्र आलोचना भएपछि सरकारले अर्को सूचना प्रकाशित गर्दै आगामी असार ७ र १५ गतेसम्मको समय दिएको छ ।