काठमाडौं । सरकारले जारी गरेको लकडाउनको समयमा घरभाडा छुट दिने भन्ने संघीय सरकारको निर्णयले स्थानीय तह, घरधनी र भाडावालबीच अनावश्यक विवाद र द्वन्द सिर्जना गरेको छ ।
घरभाडा छुट दिने सम्बन्धी स्पष्ट मापदण्ड र आधार तयार नपारी संघीय मन्त्रिपरिषदले लोकप्रियताको लागि गरेको निर्णय आफ्नो कार्यक्षेत्रभन्दा बाहिरको रहेको कारण कार्यान्वयनमा समस्या सिर्जना भएर विवाद र द्वन्द बढाउने माध्यम मात्रै बनेको हो ।
गत १४ बैशाखको मन्त्रिपरिषद निर्णय सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले लकडाउनको बेला आयस्रोत गुमाएका भाडावालाहरुसँग घरभाडा नमाग्न घरधनीहरुलाई आग्रह गरेका थिए । सरकारले लकडाउन घोषणा गरेको ११ चैतदेखि व्यापार व्यवसाय बन्द गरेर बसेका व्यवसायी पनि आफूहरुको आम्दानीको स्रोत गुमेको भन्दै घरभाडा छुट हुनुपर्ने दाबी गरिरहेका छन् । तर, संघीय मन्त्रिपरिषदले गरेको घरभाडा छुट दिने निर्णय व्यापारीको हकमा त कुरै छोडौं, डेरावालाको हकमा पनि कार्यान्वयन भएको छैन ।
घरभाडाको विषयले विवाद सुरु भएको स्थानीय तह बताउछन् । नेपालको संविधानले घरवहाल कर लिने अधिकार स्थानीय तहलाई दिएको छ । संघीय सरकारले घरभाडा छुट दिएका घरधनीलाई करमा विचार गरिने बताएको थियो । तर, आफूले कर उठाउने अधिकार क्षेत्रभित्रै नपरेको विषयमा संघीय सरकारले निर्णय गरेका कारण कार्यान्वयनमा जटिलता आएको हो ।
घरभाडा छुट दिने निर्णय लागू नभएमा सरकारले कडाइका साथ अनुगमन गर्ने र आवश्यक परे कारबाही समेत गर्ने मन्त्री खतिवडाले बताएका थिए । अनुगमनको जिम्मा स्थानीय तहलाई दिने भनिएको पनि थियो । तर स्थानीय सरकार भने घरभाडा छुट दिने संघीय सरकारको निर्णय लागू गर्न नसकिने बताउछन् ।
घरभाडामा लिएर बस्ने र व्यापार गर्नेहरुले पनि घाडा छुट हुनुपर्छ भनेर माग गरिरहेका छन् । न्यूरोड लगायतका व्यापारिक केन्द्रका व्यापारीहरुले लकडाउनको समयको भाडा छुट हुनुपर्छ भनेर अन्दोलन नै गरेका छन् । सरकारले घरभाडा छुट दिने भनेपछि भाडामा बस्नेदेखि व्यापार गर्ने व्यापारीसम्म छुटको आशामा छन्, जुन निर्णय कार्यान्वयन भएकै छैन ।
घरभाडा छुट दिने अधिकार स्थानीय सरकारलाई नै छ । तर स्थानीय सरकारको प्रतिनिधित्व गरिरहेका जनप्रतिनिधिहरु संघीय सरकारले भाडा छुट दिने भन्ने बितिकै स्थानीय सरकारले दिन नसक्ने बताउछन् । संघीय सरकारले सबै स्थानीय तहलाई स्पष्ट कानुनी मापदण्ड तयार पारी यो विधि र प्रक्रिया अनुसार घरभाडा छुट दिनु भन्ने परिपत्र जारी गरे मात्रै सोको कार्यान्वयन गर्न सकिने अन्यथा कुनै व्यक्तिले के बोले भन्ने कुराको अर्थ नहुने स्थानीय तहका अधिकारीहरुको भनाइ छ ।
काठमाडौं महानगरपालिकाका उममेयर हरिप्रभा खड्गीले संघीय सरकारले बोल्दैमा घरभाडा छुट दिन नसकिने बताइन् । सरकारको प्रवक्ताको जिम्मेवारी वहन गरिरहेका संचार तथा सुचना प्रविधि मन्त्री डा. खतिवडा अर्थमन्त्री पनि हुन् । संघीय सरकारका अर्थमन्त्रीले भाडा छुट दिने भनेर टेलिभिजनमा बेलेको आफूले पनि सुनेको भन्दै उपप्रमुख खड्गीले कसरी र कुन कानुनमा टेकेर छुट गर्ने भन्ने समस्या भएको बताइन् ।
‘घरधनीहरुले पनि बैंकबाट ऋण लिएका छन्, त्यस्तो ऋणको व्याज कसरी तिर्ने भनेर घरधनीहरु पनि समस्यामा पर्छन, धेरै घरधनीले त्यही घरको भाडाले घरायसी खर्च चलाइरहेका छन्, हामीले पनि घरबहाल करबाट धेरै खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ, संघीय सरकारले घरभाडा छुट दिने भनेर बोलेको कुरा मैले पनि सुनेकी हूँ, तर कसरी छुट दिने कस्तालाई दिने भन्ने सम्बन्धमा कुनै जानकारी वा निर्देशन आएको छैन, भाडा छुट दिनुपर्छ भन्ने भाडावाला र दिन सकिदैन भन्ने घरधनीको अडानका कारण अनावश्यक विवाद सिर्जना भएको छ,’ उपप्रमुख खड्गीले भनिन् ।
ललितपुर महानगरका उपमेयर गीता सत्यालले सरकारले भाडा छुट मात्रै भनेर भन्दैमा छुट गराउन नसकिने बताइन । घाडा छुट दिन पनि कानुन चाहिने हुनाले कानुन निर्माण गरेर मात्रै भाडा छुट दिन सकिने उनको भनाइ छ ।
ठूला उद्योगी व्यवासायीहरुको प्रतिनिधित्व गर्ने नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसघं र नेपाल चेम्बर अफ कर्मशले सरकारसगँ सञ्चालित उद्योगको घरभाडा छुट मागेका छैनन् । तर नेपाल घरेलु तथा साना उद्योग महासंघले भने उद्योग, कृषि, श्रम, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयसम्म गएर सके ६ महिनाको र नसके लकडाउ अवधिभरको भाडा छुट गर्ने व्यवास्था मिलाउन सरकारसँग माग गरेका छन् ।
उद्योगीले मागेका छैनन् भाडा छुट ?
नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले लकडाउनको कारणले उद्योगमा धेरै समस्या आएको बताए । तर, भाडाको विषयमा महासंघमा छलफल नभएको उनको भनाइ छ । सरकारले भाडा छुट दिने भनेर सार्वजनिक जानकारी दिए पनि औद्योगिक क्षेत्रमा संचालन भएका उद्योगहरुको भवन र जग्गाको भाडाको विल बिल उद्योगीलाई पठाइसकिएको उनले बताए । सरकार आफै छुट भनेर भन्ने अनि बिल पनि पठाउने गरिरहेको उपाध्यक्ष ढकालको भनाइ छ ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतीश मोरले पनि घरभाडा भन्दा पनि अन्य समस्याको सामाधानका लागि सरकारसँग माग गरेको बताए ।
नेपाल चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि व्यापारिक प्रयोजनमा प्रयोग भएको घरभाडाको विषयमा चेम्बरमा छलफला नभएको बताए । भाडामा लिदा नै लिने र दिनेबीच सहमति भएको हुन्छ भन्दै उनले यो विषय घरधनी र घरभाडामा लिने व्यक्तिबीचको छलफल गरेर जाने विषय हो भने ।
सम्बन्धित सामग्री
सरकार भन्छ- पसल खोल्न दिदैनाैं, व्यापारी भन्छन्- पसल खोल्छौं
अढाइ महिनादेखि पसल बन्द गरेका व्यापारी भन्छन्ः सटर खोल्ने वित्तिकै ग्राहक होइन, भाडा माग्न घरभेटी आए
भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ
तनावमा साना व्यवसायीः न रातमा निद्रा लाग्छ नत दिनमा भोक !
(फ्रिडम फाेरमकाे सहयाेगमा)