विकासन्युज

नक्कली स्यानिटाइजर बनाउने पक्राउ

काठमाडाैं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र काठमाडौं महानगरपालिका–१४ कलङ्कीका ३३ वर्षीय प्रदीप उपाध्याय लुइँटेल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । काठमाडौं महानगरपालिका–१६ नयाँबजार खुसिबुमा अवैधरूपमा गुणस्तरहीन मानव स्वास्थ्यमा असर पर्ने ह्याण्ड स्यानिटाइजर तथा कस्मेटिक सामान तयार गरी बिक्री वितरण गरिरहेको भन्ने सूचनाका आधारमा महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उनीहरुले मङ्गलबार पक्राउ गरेको हो । बजारमा अत्यधिक माग भएका ह्यान्ड स्यानिटाइजरलगायत विभिन्न कस्मेटिक सामान नक्कली उत्पादन गरी बिक्री वितरण गर्न तयार पारी भण्डारण गरी राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरिएको थियो । उनीहरुले विभिन्न प्रख्यात ब्राण्डका स्टिकर आफैंले छपाइ गरी खाली बोतलमा लेभलिङ तथा महङ्गो मूल्यसमेत राखी दुरुस्त बनाइ बजारमा अवैधरूपमा बिक्री वितरण गर्ने गरेको खुल्न आएको छ । उनीहरुले स्यानिटाइजर, विभिन्न ब्राण्डका स्याम्पु र विभिन्न ब्राण्डका नक्कली फेस क्रिमलगायत नक्कली कस्मेटिक सामान उत्पादन गर्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले सूचना जारी गरी जनाएको छ । उनीहरुको साथबाट विभिन्न साइजको प्लाष्टिकको ग्यालेन तथा ड्रममा राखेको स्यानिटाइजर बनाउन प्रयोग हुने कच्चा पदार्थ ३ हजार २ सय ९० लिटर, तयारी नक्कली स्यानिटाइजर ५ सय एमएलको ८ बोतल, पाँच लिटर तयारी सेनिटाइजर, विभिन्न आकारमा बोतलमा राखिएको सयौं बोतल स्यानिटाइजर बरामद गरिएको छ । यस्तै नक्कली कस्मेटिक सामान, स्यानिटाइजरमा टाँस्ने स्टिकर एक झोला, विभिन्न रङका मसी, त्यसमा प्रयोग गरिने केमिकल तथा प्रयोग हुने यन्त्र उपकरण बरामद गरिएको छ ।  रासस

पाँच वर्षमुनिका ४ सय ७२ बालबालिका क्वारेन्टाइनमा

काठमाडाैं । जिल्लाको नौवटै स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा पाँच वर्षमुनिका बालबालिकाको सङ्ख्या ४ सय ७२ रहेको छ । ती सबै बालबालिका भारतका विभिन्न ठाउँमा मजदुरी गर्न गएका आमाबुवासँगै नेपाल आएर क्वारेन्टाइनमा बसेका हुन् । ती बालबालिकामध्ये छेडेदह गाउँपालिकामा ६२, बूढीगङ्गा नगरपालिकामा १५३, त्रिवेणी नगरपालिकामा १११, बडिमालिका नगरपालिकामा ४२, गौमुल गाउँपालिकामा ३२ बालबालिका क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । त्यस्तै हिमाली गाउँपालिका आठ, स्वामिकार्तिक खापर गाउँपालिका ३०, जगन्नाथ गाउँपालिकामा १२ बूढीनन्दा नगरपालिकामा २२ बालबालिका छन् । बुधबार बिहानसम्म नौवटै स्थानीय तहमा रहेका १३२ क्वारेन्टाइनमा जम्मा ५ हजार ३ सय ३२ रहेका छन् । जसमा तल्लो क्षेत्रमा पर्ने बडिमालिका नगरपालिकामा २ सय ७६, गौमुल गाउँपालिकामा ३ सय ४०, खप्तड छेडेदह गाउँपालिकामा १ हजार १ सय ९५ जना बूढीगङ्गा नगरपालिकामा १ हजार २ सय ७८ र त्रिवेणी नगरपालिकामा १ हजार ८३ जना रहेका छन् । त्यस्तै पूर्वी–उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकामा ३ सय ४, स्वामिकार्तिक खापर गाउँपालिकामा २ सय ८०, जगन्नाथ गाउँपालिकामा ३ सय १८, बूढीनन्दा नगरपालिकामा ३ सय २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका जनस्वाथ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए । त्यसैगरी हालसम्म २० जना सुत्केरी तथा गर्भवती महिला क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । क्वारेन्टाइनमा रहेका ५ हजार ३ सय ३२ मध्ये ४ हजार ४ सय १६ भारतबाट आएका छन् । ४ सय ६७ को स्वाब सङ्कलन जिल्लाका नौवटै स्थानीय तहका क्वारेन्टिनमा बसेका ४ सय ६७ जनाको स्वाब सङ्कलन गरिएको छ । भारतबाट आएका, आरडिटी पोजेटिभ देखिएका र कोरोना सङ्क्रमित भेटिएको क्वारेन्टिनमा बसेका शङ्कास्पद ४ सय ६७ जनाको स्वाब सङ्कलन गरिएको हो । स्वाब सङ्कलन गरिएकामध्ये १ सय ५ महिला र ३ सय ६२ पुरुष गरी ४ सय ६७ रहेको स्वास्थ्य कार्यालय बाजुराले बताएको छ । हाल जिल्लामा दुई जना आइसोलेसन श्यया छन् भने एक कोरोना सङ्क्रमित उपचार गराइरहेका छन् । यस्तै एक दुई वर्षकी बालिकाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । जिल्लामा हाल भिटिएम किट पनि २७ वटा मात्र बाँकी छन् । प्राप्त २ सय ५२ वटा खर्च भइसकेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङ्क छ । हालसम्म १ हजार ९ सय ६८ को आरडिटी परीक्षण गरिएको जनाएको छ । जसमा ४ सय ७ महिला र १ हजार ५ सय ६१ पुरुषको आरडिटी परीक्षण गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लामा पछिल्लो केही सातादेखि स्थानीय तहले सबै ठाउँमा गरेर १ सय ६७ श्ययाको आइसोलेसन कक्ष बनाएका छन् । जिल्ला अस्पताल बाजुरामा १२ श्ययाको आइसोलेसनकक्ष रहेको छ भने त्रिवेणी नगरपालिकामा ६०, बूढीगङ्गा नगरपालिकामा ३५, खप्तड छेडेदह गाउँपालिकामा आठ, गौमुल गाउँपलिकामा १०, बडिमालिका नगरपालिकामा ३७, स्वामीकार्तिक खापर गाउँपालिकामा एक हिमाली गाउँपालिकामा दुई र बूढीनन्दा नगरपालिकामा दुई गरी १ सय ६७ श्ययाका आइसोलेसनकक्ष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।  रासस

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

काठमाडाैं । कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले मङ्गलबार पहिलोपटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान गरेको राजपुर ब्यारेकले जनाएको छ । सेनाको जहाजले एयरपोर्टको पूर्वी तथा पश्चिमी मोहडाबाट दुईपटक परीक्षण उडान गरेको रुद्रध्वज गणा गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, “हाम्रो जहाजले हावाको मापन गर्न एयरपोर्टको दुईतिरकै ठाउँबाट परीक्षण उडान गरेको छ, दुवै मोहडाबाट जहाज सहज तरिकाले अवतरण गर्न सफल भएको छ ।” दिपायल विमानस्थल नेपालका अन्य विमानस्थलभन्दा राम्रो वातावरणको भएको र यहाँ जुनसुक्कै समयमा पनि जहाज उडान तथा अवतरण गर्न सहज हुने आज परीक्षण उडान भर्ने नेपाली सेनाका चालक दलका सदस्यले बताएका छन् । स्तरोन्नति कार्यसम्पन्न भएको पहिलोपटकमा नेपाली सेनाको जहाजले दिपायल विमानस्थलमा परीक्षण उडान गरेपछि दिपायलमा जहाज चल्ने आशामा यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताए । उनले भने, “एयरपोर्टको सम्र्पूण स्तरोन्नति सकिएर सेनाले परीक्षण उडानसमेत गरिसकेको छ, अब जहाज चल्छ कि भन्नेमा आशावादी भएका छौँ ।” लामो समयदेखि यात्रु अभावका कारण देखाउँदै बन्द अवस्थामा रहेको विमानस्थल डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नति तथा कालोपत्रको काम गरिएको हो । करिब  साढे ५ करोड लगानीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नति सम्पन्न भएको सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताए । उनले बताए, “विमानस्थलको सम्पूर्ण निर्माणकार्य सकिएको छ, अब नियमित उडान गराउनका लागि सबै राजनीतिक दल तथा नेताले एकजुट हुन जरुरी छ ।” विमानस्थलको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा नियमितरूपमा जहाज सञ्चालन गर्न स्थानीयवासीको माग छ । गत वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा कालोपत्रसहितको निर्माण शुरु गरिएको दिपायल विमानस्थल कालोपत्रलगायत काम अहिले आएर सकिएसँगै परीक्षण उडानसमेत सम्पन्न भएको छ । दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडीकेदार, वैद्यनाथधामलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन निकै सहज हुने डोटीका पर्यटन व्यवसायी तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताए। उनले भने, “सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके, पर्यटकमात्रै भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो र आम्दानी हुनेछ ।” त्यस्तै सेनाको टोलीले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर र बझाङको चैनपुर विमानस्थलमा समेत मङ्गलबार हवाई निरीक्षण गरेको छ । सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले ती सबै विमानस्थलको हवाई निरीक्षण गरेको हो । पछिल्लो समय यहाँका पाटन, चैनपुर र दिपायल विमानस्थल कालोपत्र भएर परीक्षण उडानका लागि तयारी अवस्थामा रहेका छन् । उता दार्चुलाको गोकुलेश्वर विमानस्थल भने कालोपत्र नभएका कारण बन्द अवस्थामा छ । सुदूरपश्चिम प्रदेशमा हाल गेटा विमानस्थलमात्रै सञ्चालनमा छ । नेपाली सेनाको जहाजले सुदूरपश्चिमको दिपायलबाहेकका अन्य बन्द रहेका विमानस्थलमा हवाई परीक्षण गरेको बताइएको छ ।  रासस

नेतृत्वको दृढ इच्छा शक्तिकाे खाँचाे

  १७ नोभेम्बर २०१९ मा चीनको बुहान सहरमा देखिएको (साउथ मर्नीङ चाइना पोस्ट अनुसार ) कोरोना भाइरसको संक्रमणले  यति ठूलो रुप लेला भन्ने सायदैले सोचेका थिए । यो आलेख तयार पार्दा सम्म कोरोना भाइरसको संक्रमण बिश्वका २१० देशहरूमा फैलिसकेको छ। २३ लाख ४७ हजार ८१५ जना यो भाइरसबाट संक्रमित भइसकेका छन् भने १ लाख ६१ हजार १२८ जनाले यहि भाइरसका कारण ज्यान गुमाइ सकेका छन् । ६ लाख ५ हजार ७१५ जना उपचार पश्चात निको भएका छन् भने ५५हजार १४६ को अवस्था अझै गम्भीर छ। कुल संक्रमितको ९७ प्रतिशत अथार्त १५ लाख २८ हजार ८२५ जना अझै उपचाररत छन् । अमेरिकामा मात्र संक्रमितको संख्या ७ लाख ३८ हजार ९२३ पुगेको छ भने ३९ हजार १५ जनाले ज्यान गुमाइसकेका छन् ।अमेरिका पछी युरोपेली देशहरू इटालि, स्पेन,फ्रान्स र बेलायतमा कोरोनाका कारण ठूलो मानवीय क्षती भएको छ। एसियालि मुलुकबाट फैलिएको भए पनि यो आलेख तयार पार्दा सम्म अमेरिका र युरोपेली मुलुकको तुलनामा एशियाली देशहरूमा संक्रमित र मानवीय क्षति कम छ। चाइना, ईरान, दक्षिण कोरियामा कोरोनाको प्रभाव बढी देखिएको छ भने पछिल्लो समयमा छिमेकी मुलुक भारतमा पनि यसको प्रभाव बढदो छ। हाल सम्म भारतमा १६ हजार ३६५ जनामा कोरोना संक्रमण देखिएको छ भने ५१२ जनाले ज्यान गुमाइ सकेका छन् । नेपालमा ३१ जनामा संक्रमण देखिएको छ भने हाल सम्म कसैले पनि यो भाइरसका कारण ज्यान गुमाउनु परेको छैन।तर खुल्ला सिमा र प्रयाप्त परिक्षण नभएको हुँदा संक्रमित बढ्ने आँकलन गरिएको छ। छिमेकी देश चीनमा देखा परि फैलिएको कोरोना भाइरसबाट हाम्रो देश नेपाल पनि अछुतो छैन । हाल सम्म ३१ जनामा यो भाइरसको संक्रमण पुष्ठि भैसकेको छ।त्यसमा अधिकांश बिदेशबाट आएकाहरुमा संक्रमण देखिएको छ। केहि उपचार पछि निको भएर फर्किएका छन् । चैत १० बाट घोषणा गरिएको लकडाउन बैशाख १५ सम्म लम्ब्याइएको छ । नेपालमा संक्रमितको सङ्ख्या र छिमेकी मुलुक भारतको अवस्थालाई हेरि लकडाउन खुल्ने र लम्बिने हुनसक्छ। बढ्दै गएको संक्रमितको सङ्ख्यालाई मध्यनजर गर्दै नेपाल सरकारले भारत तिरको खुला सिमानामा कडाइ गरेको छ। खुला सिमाना कै कारण नेपालमा कोरोनाको चुनौती बढ्दो छ। ३१  संक्रमित मध्य १६ जना भारतीय नागरिक रहेको प्रमाणित भएको छ। संक्रमण नियन्त्रणका लागि लकडाउन प्रभावकारि बनाउन सरकारले जनचेतना जगाउने र सुरक्षाकर्मी परिचालन गर्ने कार्यलाई तीव्रता दिएको छ। कोरोना भाइरसको उपचारको लागि बिश्वमा कुनै पनि भ्याक्सिन उपलब्ध छैन । तसर्थ यसको संक्रमणबाट जोगिनु नै पहिलो प्राथमिकता भएको हुँदा सामाजिक र शारीरिक दुरि कायम गर्नु , साबुनपानीले राम्रो संंग हात धुनु, माक्स र स्यानीटाइजर प्रयोग गर्नु, स्वस्थ खाना खानु,प्रसस्त पानी पिउनु ,नियमीत शारीरिक ब्यायाम गर्नु नै कोरोना भाइरसबाट बच्ने उपाय हुन भने लक्षण देखा परे स्वास्थकर्मीको सल्लाह अनुसार उपचार गर्नु पर्ने हुन्छ। कोरोना भाइरसको महामारी जस्तै बिश्वमा अन्य भाइरसले पनि विभिन्न समयमा बिश्व समुदाय माथि चुनौती नथपेको होइन । तर आजको आधुनिक बिश्व र बिज्ञानको युगमा देखापरेको यो महामारीले बिश्व समुदाय माथि थप चुनौती थुपारेको छ। यसले प्राकृतिक चुनौतीमाथि बिश्वको आज सम्मको प्रयासलाई निरर्थक र अपुग साबित गरिदिएको छ।आधुनिक बिश्व र चलायमान समाज अनि त्यो समाजको सार्वजनिक स्वास्थ प्रणाली निकम्मा जस्तै साबित हुनु कम चुनौतीपूर्ण पक्कै होइन । यसले भबिस्यमा आइपर्ने प्राकृतिक र जैविक महामारी ,बिश्व समुदायमा पर्ने त्यसको असर, बिश्वको सार्वजनिक स्वास्थ प्रणालि अनि बित्तीय र खाद्य चुनौतीको पर्खाल खडा गरिदिएको छ। बिश्वमा कुनै पनि बेला प्राकृतिक महामारीले ठूलो रुप ग्रहण गर्न सक्ने । त्यसका लागि हाल म्मको प्रयास अपुग रहेको  हुँदा बिश्वब्यापी रूपमा अझ प्रयास र तयारी गर्नु पर्ने देखिन्छ । र सार्वजनिक स्वास्थ र साबधानीका कमिकमजोरि औंल्याउदै त्यस प्रति सजग रहनु पर्ने सन्देश पनि कोरोना महामारीले बिश्व समुदायलाई दिएको छ। विकासशिल राष्टमा बस्ने ६ अर्ब जनताको अवस्था उकास्न २.५ ट्रिलियन डलरको आवश्यकता संयुक्त रास्ट्र संघले औंल्याएको छ। यो महामारीको प्रभाव लामो समयसम्म रहे बिश्व अर्थतन्त्र झन तहसनहस हुने पक्का छ। हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकको जग यो महामारीले कमजोर बनाउने निश्चित छ। चीन-अमेरिका ब्यापार युद्धबाट आंशिक त्रसित बिश्व अर्थतन्त्रलाई कोरोना भाइरसले गर्लम्म ढालेको छ। यो भाइरसले महामारीको रुप लिने संकेत गर्दै बिश्व स्वास्थ संगठनले फेब्रुअरी ११ मा बिश्व स्वास्थ संकट काल घोषणा गर्यो। भने अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टिलिना जर्जियावाले मार्च २७ मा बिश्वब्यापी आर्थिक मन्दीको घोषणा गरिन। द्रुत गतिमा फैलीरहेको यो भाइरसकै कारण बिश्वका अधिकांश मुलुक लकडाउनमा छ भने बिश्वका आर्थिक गतिविधि ठप्प प्रायः छन। उद्योग, पर्यटन, ब्यापार, सेवा, कृषि, बित्त, मनोरञ्जन, खेलकुद र हवाई सेवा लगाएत सम्पूर्ण व्वसाय लकडाउनले थलिएका छन् । गत वर्षको तुलनामा बिश्वको जिडिपि ३ प्रतिशतले खुम्चने र एशियाली अर्थतन्त्र ४० बर्ष यताकै कम हुन सक्ने कुरा आइएमएफले औंल्याएको छ। विकशीत राष्ट्र नै यो महामारीको चपेटामा परेको हुँदा आफ्नै अर्थ ब्यवस्था उकास्न ठूलो धनराशी खर्च गर्नुपर्ने हुँदा त्यसको अप्रत्यक्ष असर विकासशिल रास्ट्रमा पर्ने देखिन्छ । कोरोनाको महामारीले गर्दा बिश्वमा १९ कराेड ५० लाख ब्यक्तिले आफ्नो जागीर गुमाउने कुरा आइएलओका निर्देशक गाइ राइडरले उल्लेख गरेका छ्न । यसले विकासशिल राष्ट्रलाई नराम्ररी गाँँज्ने देखिन्छ । विकासशिल राष्टमा बस्ने ६ अर्ब जनताको अवस्था उकास्न २.५ ट्रिलियन डलरको आवश्यकता संयुक्त रास्ट्र संघले औंल्याएको छ। यो महामारीको प्रभाव लामो समयसम्म रहे बिश्व अर्थतन्त्र झन तहसनहस हुने पक्का छ। हाम्रो जस्तो परनिर्भर अर्थतन्त्र भएको मुलुकको जग यो महामारीले कमजोर बनाउने निश्चित छ। भूकम्प र त्यसपछिको अघोषित भारतीय नाकाबन्दीले थलिएको नेपाली अर्थतन्त्रलाई कोरोना महामारी तगारो बनेर तेर्सीएको छ। कोरोनाका कारण कुल जिडिपिको ३२ प्रतिशत अथार्त ११ खर्ब १४ अर्ब ८१ करोड ॠणमा डुबेको हाम्रो मुलुक झन ॠणमा डुब्दै जानेछ। वैदेशिक रोजगारीको ठूलो हिस्सा गुमेसँगै रेमिटेन्समा संकुचन आउने छ। वार्षिक ८ खर्ब ७९ अर्ब रेमिटेन्स भित्र्याउने मुलुकको आर्थिक मन्दीसँगै वार्षिक १ खर्ब भन्दा बढी रेमिटेन्स घटने देखिन्छ । बिश्व  बजारमा तेलको मुल्य घटने क्रम जारी रहने र कोरोना संक्रमण लामो समयसम्म रहिरहने हो भने तेल उत्पादक राष्ट्रहरुसँग जोडिएको हाम्रो रेमिटेन्सको सम्बन्धमा झन दरार देखापर्न जान्छ। वैदेशिक रोजगारीमा रहेका ४५ लाख नेपाली मध्य अधिकांश नेपालीको भबिस्य तिनै रास्ट्र संग जोडिएको छ।जसको कारण बैंकहरुमा तरलता देखापर्छ भने सामाजिक समस्या पनि पैदा हुने गर्छ। आर्थिक वृद्धि दर खुम्चिदा यसले हाल निरपेक्ष रूपमा रहेको १८.७ प्रतिशत  र बहुआयामिक रूपमा रहेको २८.६ प्रतिशत, गरिबी १० प्रतिशतमा झार्ने सरकारी लक्ष्यमा नराम्रो प्रभाव पार्ने देखिन्छ । हाम्रो देशको ८० आर्थिक क्रियाकलाप छिमेकी देश भारत र चीनसँग हुने हुँदा ती देशहरुमा समेत कोरोनाको असर बढी देखिँदा त्यसको सिधा असर हाम्रो अर्थतन्त्रमा पर्न जान्छ। रेमिटेन्स र ॠणमा अडिएको अर्थतन्त्र, पुरातन कृषि प्रणाली, ठूलो अन्तरको ब्यापार घाटा, सीमित वैदेशिक लगानी, रुग्ण उद्योग ,कमजोर प्रशासनिक संयन्त्र र बढ्दो भ्रष्टाचार रहेको हाम्रो देशको अर्थतन्त्रमा कोरोनाको प्रभाव लामो समय सम्म नरहला भन्न  सकिन्न  । यसरी बिश्वब्यापी आर्थिक मन्दीले बिश्वको आर्थिक संरचनामा नै हलचल पैदा गर्ने निश्चित छ।यसले आयातित संकारमा आश्रित बिश्व समुदायमा खाद्य सुरक्षाको संकट देखा पर्न सक्ने चेतावनी पनि बिश्व खाद्य संगठनले दिएको छ। कोरोना संक्रमणले आउँदो दुई बर्षमा बिश्वको कुल ग्राहस्थको नौ खर्ब डलर नस्ट गर्ने र २०२२  अघि बिकशित देशहरू पहिलेकै अवस्थामा पुग्नसक्ने पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले औंल्याएको छ। तसर्थ विश्व अर्थतन्त्रमा कोरोनाको महामारीले ठूलो असर पार्ने देखिन्छ । विश्वब्यापी रूपमा स्वास्थ सेवामा खर्च हुने ३.५५ ट्रिलियन डलरमा ५ बिलियन डलर ठगी र भ्रष्टाचार हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ। यो रोक्नु अर्को चुनौती हो। जसले स्वास्थ क्षेत्रको गुणस्तरलाई कमजोर बनाउन मद्दत गर्छ। कोरोना महामारीले गर्दा अर्थतन्त्रमा मात्र होइन मानव सभ्यता र संस्कृतिमा पनि ठुलो प्रभाव पारेको छ। बिश्वमा मानव जातीको  सभ्यता र संकृतीको इतिहास लामो छ। विभिन्न जाती र धर्मसँग मात्र होइन भोगोलको आधार पनि मानव सभ्यता र संकृतिको प्रगाढ सम्बन्ध छ। महामारीले गर्दा ती क्रियाकलापहरु ठप्प प्रायः छन् । नेपालको परिप्रेक्षमा पनि हाम्रो समाजमा विद्यमान थुप्रै चाडपर्ब र धार्मिक क्रियाकलापमा यसले असर पारेको छ। साथै मानव जातीको भविष्य कति सुरक्षित छ त ? भन्ने प्रश्न पनि यो कोरोना महामारीले खडा गरिदिएको छ। भविष्यमा कतै मानव जाती नै पृथ्वीबाट  लोप हुने अवस्था त आउने होइन भन्ने आशंका पनि यो महामारीले पैदा गरिदिएको छ। तसर्थ भविष्य देखा पर्न सक्ने प्राकृतिक विपत्तिको चुनौतीलाई पनि यो महामारीले छर्लङ्गग्याएको छ। साथै कोरोना र यी जस्ता अन्य प्रकोपका कारण जातीय, क्षेत्रीय र धार्मिक हिंंसा भड्कन सक्नेतर्फ पनि केही घटनाले सचेत गराएको छ । उदाहरणको लागि अमेरिका र बेलायतमा एशियाली मुलका ब्यक्ति र तिनको सम्पत्ति माथिको हमलालाई लिन सकिन्छ । सबैभन्दा महत्त्वपूर्ण चुनौती चाहिँ मानव स्वास्थ माथि देखा परेको छ। त्यसमा पनि सामुदायिक स्वास्थ प्रणालीको आवश्यकतालाई यो महामारीले इंगित गरेको छ। विश्वब्यापी रूपमा स्वास्थ सेवामा खर्च हुने ३.५५ ट्रिलियन डलरमा ५ बिलियन डलर ठगी र भ्रष्टाचार हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ। यो रोक्नु अर्को चुनौती हो। जसले स्वास्थ क्षेत्रको गुणस्तरलाई कमजोर बनाउन मद्दत गर्छ। नेपालको सन्दर्भमा अहिलेको संकटबाट पार पाउन नेतृत्वको दृढ इच्छा शक्ति, प्रशासनिक चुस्तता, प्रभावकारी कार्ययोजना र त्यसको कार्यन्यन महत्त्वपूर्ण पाटो हो । त्यसमा पनि सामुदायिक स्वास्थ र कृषि कार्ययोजनालाई विशेष  महत्त्व दिनु पर्ने देखिन्छ । कृषिप्रधान देश भयता पनि नेपालले वार्षिक १ खर्ब  ९५ अर्ब जतिको कृषिजन्य बस्तु आयात गर्ने गर्छ। कृषिलाई प्राथमिकतामा राखेर विभिन्न कार्ययोजनाहरु ल्याउन सकिन्छ । जसमा राज्यको लगानी , यान्त्रिकिकरण , तालिम ,ऋण , बजारीकरण र नाफाको सुनिश्चितता प्रमुख हुन् ।यसबाट ब्यापार घाटा त कम गर्न सकिन्छ नै  ठूलो बेरोजगारी समस्यालाइ पनि संबोधन गर्न सकिन्छ । र अर्को महत्त्वपूर्ण कुरा विभिन्न समयमा देखिने खाद्य संकट लगाएत महामारीमा पनि कृषि उपजले ठुलो टेवा दिन्छ। उदाहरणको लागि ९० को दशकमा सोभियत संघमा देखापरेको राजनीतिक परिवर्तन संगै त्यहाँँ आर्थिक मन्दी देखा परेको थियो ।  समाजवादी अर्थ ब्यवस्थाबाट  पुजीवादी अर्थ ब्यवस्थामा प्रवेश गर्दा देखिएको डामाडोल अवस्थालाई मजबुत कृषि प्रणालीकै कारण रुसले बेलैमा  नियन्त्रणमा लिन सक्यो। त्यसैले त औद्योगिक रास्ट्र भएर पनि चीन र अमेरिका कृषिमा पनि मजबुत छन् भने इजरायल जस्तो देशले पनि कृषिलाई विशेष महत्त्व दिएको छ। त्यसैले यी र यस्ता विभिन्न समस्या र चुनौतीहरुबाट पाठ सिक्दै भबिस्यको सुनौलो रेखा कोर्न द्रुढ संकल्पका साथ हालेमालो गर्नु नै आजको टट्कारो आवश्यकता हो। बिदुर ८,नुवाकोट [email protected]

बाँदर धपाएरै जान्छ किसानको दिनचर्या

गलकाेट । बागलुङ नगरपालिका–४ दारेगौडाका ६४ वर्षका किसान विष्णुप्रसाद आचार्य बिहानै उठेपछि घरमुनिको बारीमा बाँदर धपाउन जान्छन् । उनी जान्ने सुन्ने भएपछिको दिनचर्या ६४ वर्षको उमेरसम्म पुग्दा बदलिएको छैन । विशेषगरी मकै पाक्ने याममा उनको दिनचर्या बाँदर धपाउँदैमा जान्छ । उनको घरमुनिको बारी र खेतमा गरेर सात रोपनी जग्गामा मकैखेती छ । आखाँ झिमिक्क गर्दा साथ सारा मकै नष्ट गर्ने बाँदरको हुल हेर्दाहेर्दै बुढ्यौली लागेका आचार्य मात्र हाेइनन् । यस क्षत्रेमा फैलिएको ३ सय रोपनी जग्गामा मकैखेती गर्ने अन्य किसानको दैनिकीसमेत यसरी नै बित्ने गरेको छ । “एकछिन बारीमा नजाने हो भने मकैबाली बाँदरले सखापै पार्छ”, किसान आचार्यले भने, “खेतीपाती गर्ने काम सामान्यजस्तै भयो तर बाँदरबाट खेतीपाती जोगाउनै सकस छ ।” बाँदर धपाउने क्रममा कतिले भिरबाट लडेर ज्यानै गुमाउनुपर्ने विवशतासमेत स्थानीयवासीको छ । बिहान ५ देखि बेलुका ७ बजेसम्म बागलुङ नगरपालिका–४ कुँडुले, छापा, फेदी तथा दारेगौडाका किसान बाँदर हेर्नुपर्ने बाध्याता छ । समय कहाँबाट कहाँ पुगेपनि हामी किसान भने बाँदर धपाएर दिन फाल्नुपर्ने बाध्यताको अन्त्य आवश्यक रहेको बाँदर धपाउन खेतमा आएका अर्का किसान दिनेश सापकोटा बताउछन् । सापकोटाले किसानलाई अनुदान होइन, बाँदर धपाउने उपाय दिन सरोकारवाला निकायसँग आग्रह गरे । “हामीले पटक–पटक नगरपालिकामा बाँदर नियन्त्रणको माग राख्दै आएका छौं”, सापकोटाले भने, “बाँदर धपाएर जिन्दगी बिताउने किसानको प्रगति कहिले हुन्छ ?” बाँदरले खेतबारीमा फल्दै गरेको मकै मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात नास गर्ने गरेको किसानले गुनासो गर्दै आएका छन् । धान र गहुँको समयमा खासै दुःख नदिने बाँदरले मकै पाक्ने याममा बढी समस्यामा पारेको किसान रमेश आचार्यको गुनासो छ । खेतीपातीका लागि कुँडुले क्षेत्रको जग्गा निकै उर्वर मानिने भए पनि कालीगण्डकीको छेउ भएकाले बाँदरले सताउने गरेका छन् । बन्दाबन्दीका कारण छोरा नाति फुर्सदिला हुँदा बाँदर धपाउन केही सहज भए पनि अघिपछि खाना खाने पालो पाउनसमेत मुस्किल रहेको कृषक आचार्यले बताए । २० मिनेट मात्रै बाँदर पसेमा सारा खेतीपाटी नष्ट गर्ने भएकाले बाँदर नियन्त्रणको केही उपाय आवश्यक रहेको उनीहरुको भनाइ छ । बाँदर नियन्त्रणका लागि नेपालका केही स्थानीय तहले प्रयास गरे पनि खासै प्रभावकारी बन्न सकेको छैन । कुँडुले क्षेत्रमा कलगाडा, राते, बाह्रबिसे र सेते प्रजातिका झण्डै ३०० को हाराहारीमा आउने बाँदरले सताउने गरेको छ । वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्ने भएपछि किसान अरु कामधन्दा छाडेर बाँदर धपाउने गरेका छन् । “सबैभन्दा बढी बाँदरले रुचाउने मकै रहेछ”, किसान सापकोटाले भने, “गहुँमा सामान्य क्षति गर्छ भने धान पाक्ने बेलामा बाँदर नलाग्ने गरेको छ ।” बाँदर धपाउनका लागि खेतबारीको डिलमा किसानले छाप्रो नै बनाएर बस्ने गरेका छन् । कुँडुले क्षेत्रमा मात्र नभई सम्पूर्ण वडाभर नै बाँदरले आक्रान्त पारेको गुनासो भए पनि हालसम्म केही गर्न नसकेको बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीले जानकारी दिए । आगामी वर्ष बाँदर छोपेर अन्यत्र लैजाने कार्यक्रम ल्याउन नगरपालिकामा अनुरोध गर्ने उनको भनाइ छ ।  रासस

यस्तो काम पनि हुन थाल्यो प्रधानमन्त्री रोजगार कार्यक्रममा

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दोलखाको तामाकोशी गाँउपालिकामा सडकमा ढुंगा सोलिङ गर्ने र ढल निर्माण गर्ने काम भइरहेको छ । जेठ ११ गतेदेखि शुरुभएको उक्त काम दैनिक १ सय ९२ जनाले गर्दै आएको प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक दिप्रेन्द्र कार्कीले बताए । ‘७ वटा वडा रहेको उक्त गाँउपालिकामा प्रधानमन्त्री कार्यक्रमका लागि ६७ लाख ३३ हजार रुपैयाँ मन्त्रालयले छुट्याएको छ, सो रकम हामीले प्रत्येक वडामा बराबर विनियोजन गरेका छौं’ उनले भने । संयोजक कार्कीले यस वर्ष कोरोनाको प्रभावले गर्दा ४० दिनमात्र रोजगारी दिने जानकारी दिए । दैनिक ७ सय ५० रुपैयाँको दरले प्रत्येक वडामा २६, २७, २८ जना श्रमिकले विहान १० बजेदेखि बेलुकी ६ बजेसम्म काम गरिरहेको संयोजक कार्कीले बताए । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कहरमा पनि सकेसम्म सामाजिक दुरी कायम गरेर काम भइरहेको जनाएका छन् ।  प्रधानमन्त्री रोजगार कार्यक्रमको अघिल्लो वर्ष ब्यापक आलोचना भएको थियो । श्रमदानले हुने कार्यक्रमका लागि सरकारले कराेडाैं रूपैयाँ खर्च गर्याे भन्ने टिकाटिप्पणी  भइरहेकाे याे कार्यले एक नमुनाकाे रूपमा स्थापित भएकाे छ ।

धनुषामा गोली हानेर एक युवकको हत्या

काठमाडौं ।  धनुषामा गएराती एक युवकको गोली हानी हत्या गरिएको छ। धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ नवटोलि घर भएका युवकलाई गोली हानेर हत्या गरिएको अवस्थामा विहान शव फेलापरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । घरबाहिर बोलाएर २५ वर्षीय छोरा अरुण कुमार मण्डललाई गोली हानी हत्या गरिएको प्रहरीले बताएको छ । घरदेखि करिब २ सय मिटरको दुरीमा रहेको पोखरी नजिक स्थानीयले बिहान मण्डल मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले शवको हेरेपछि गोली हानेर हत्या गरिएको देखिएको छ भने आधिकारिक पुष्टि हुन बाँकी रहेको छ । हत्याको कसले गर्याे भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जनाएको छ ।

बुधबार संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दै

काठमाडौं । बुधबार संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे बस्ने बैंठकमा प्रधानमन्त्रीले सम्बोधन कार्यसूची रहेको छ । प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालयका बिभिन्न शिर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । त्यस्तै आगामी आर्थिक वर्षको लागि विनियोजन विधेयक अन्तर्गत विविध मन्त्रालयको खर्च कटौतीका विषय आएको प्रस्तावको निर्णयार्थ प्रस्तुत पनि रहेको कार्य सूचीमा उल्लेख छ ।