भैरहवा–लुम्बिनी–तौलिहवा सडक निर्माण तीव्र
भैरहवा । शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनी आउने बौद्ध धर्मावलम्बीका लागि मुख्य मार्गका रुपमा रहेको भैरहवा–लुम्बिनी–तौलिहवा सडकखण्ड निर्माणले तीव्रता पाएको छ । तीन खण्डमा विभाजन गरेर निर्माण शुरु गरिएको सो सडक हालसम्म ६५.६६ प्रतिशत पूरा भएको सडक आयोजना कार्यालयले जनाएको छ । भैरहवाको बुद्धचोकदेखि विमानस्थलसम्मको ६ लेन सडक ३.६ किलोमिटर, विमानस्थलदेखि लुम्बिनीको पर्सा चोकसम्म चार लेन सडक १४.५ किलोमिटर र पर्सा चोकदेखि कपिलवस्तुको तौलिहवासम्म दुई लेन सडक २३ किलोमिटर गरी जम्मा ४१.१ किमी सडक निर्माणलाई निरन्तरता दिइएको सडक आयोजना कार्यालयको सूचना शाखाले जनाएको छ । भैरहवा–लुम्बिनी– तौलिहवासम्मको सडक निर्माणका लागि भारतीय निर्माण कम्पनी गवार कन्स्ट्रक्सन लिमिटेड गुणगाँवले सन् २०१७ जुन २२ मा सम्झौता गरेको हो । निर्माण शुरु गरिएको ३० महिना अर्थात् २०२० जनवरी १२ सम्म सक्ने सम्झौता भए पनि निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै २०२० अप्रिल ३० सम्म म्याद थपेको थियो । थपिएको म्यादसम्म पनि मजदूरको अभाव र नदीजन्य पदार्थको समस्याका कारण पूरा गर्न नसकिएको जनाउँदै सडकका आयोजना प्रमुख प्रदीपराज शाक्यले अबको तीन महिनामा निर्माण पूरा हुने जानकारी दिनुभयो । एशियाली विकास बैंकको आर्थिक सहयोगमा २ अर्ब १६ करोड ८५ लाख ७५ हजार ९ सय ११ रुपैयाँ लागतमा निर्माण भइरहेको सो सडकका बीच भागमा ग्रिन बेल्ट तथा दायाँबायाँ सर्भिस लेन र नाली रहने आयोजना प्रमुख शाक्यले जानकारी दिए । हालसम्म नाला, ग्याभिन (तारवाल), रुख कटान, बिजुलीका खम्बा तथा तार जडान र मुआब्जा वितरणको काम सकिएको बताउँदै सडकको प्राविधिक समन्वय, निगरानी र परीक्षण गर्ने इञ्जिनियरिङ कन्सलटेन्टका निमित्त टिम प्रमुख इ अयोध्या श्रेष्ठले अब भने कालोपत्रेको काम धमाधम भइरहेको जानकारी दिए । बन्दाबन्दी समयमा पनि नियमितरुपमा काम भइरहेको निर्माण कम्पनीका नेपाली प्रतिनिधि मधुसूदन आचार्यले भने, “निर्माणका क्रममा कुनै समस्या नपरे अबको तीन महिनामा सम्पूर्ण सडक निर्माणको कार्य पूरा गरिने छ ।” नेपालमा पैदलमार्गबाट धेरै पर्यटक भित्रिने मुख्य नाकाका रुपमा रहेको बेलहियासंँग बुद्धचोक हुँदै जोडिएको सो सडकको निर्माणपछि बुद्ध जन्मस्थल लुम्बिनीलगायत बुद्धस्थल अवलोकन भ्रमणमा यात्राका लागि सजिलो हुने देखिएको छ । निर्माणको अन्तिम अवस्थामा पुगेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल करीब दुई महिनापछि सञ्चालन भएसंँगै सो सडकले पर्यटन तथा औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण टेवा दिने उद्योग व्यापार सङ्गठन रुपन्देहीका अध्यक्ष नारायण भण्डारीले विश्वास व्यक्त गरे । रासस
स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द
कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट उपलब्ध हुँदै आएका सबै सेवा बन्द गरिएको हो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङका लागि स्वास्थ्यचौकीका सेवा बन्द गरिएको स्वास्थ्य कार्यालय कञ्चनपुरका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले बताए । कोराना भाइरसको परीक्षणका लागि स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीलगायतको स्वाब सङ्कलन भइरहेको छ । “सङ्कलित स्वाबको नमूना परीक्षणका लागि प्रयोगशालामा पठाउँछौं”, उनले भने, “नतिजा नआउँदासम्मका लागि स्वास्थ्यचौकीका सेवा बन्द हुन्छन् ।” सोमबार पुर्नवासकै स्वास्थ्यकर्मीसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार भीमदत्त नगरपालिकाका तीन पुरुष र दुई महिला, शुक्लाफाँटाका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कञ्चनपुरमा सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । तीन प्रहरीमा कारोना सङ्क्रमण कञ्चनपुरमा तीन प्रहरीमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । भीमदत्त नगरपालिकाको बैजनाथ माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिन सुरक्षार्थ तैनाथ प्रहरी सहायक निरीक्षक र प्रहरी हवल्दार गरी दुई र पुर्नवास नगरपालिकाको खड्डाकङ्कड प्रहरी चौकीमा कार्यरत एक गरी तीन प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमण देखिएका दुई जनाको महाकाली अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको र एक जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले बताए । उनका अनुसार सङ्क्रमित तीनै जना प्रहरीको स्वास्थ्य अवस्था भने सामान्य छ । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक प्रहरीमा कारोना सङ्क्रमण देखिएको हो । प्रहरीमा कारोनाको पुष्टि भएपछि बैजनाथ माविमा रहेको क्वारेन्टिन सिल गरिएको छ । क्वारेन्टिनमा बस्दै आएका सङ्क्रमित प्रहरीको सम्पर्कमा रहेका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ र स्वाब सङ्कलन भइरहेको छ । रासस
बुधबार कुवेतमा रहेका ३ सय नेपालीलाई स्वदेश ल्याइँदै
काठमाडौं । बुधबार कुवेतमा रहेका ३ सय जना नेपाली स्वदेश ल्याइने भएको छ । गैरकानुनी रुपमा तथा विभिन्न अपराधिक कार्यमा संलग्न भइ जेलमा बस्दै आएका २ हजार ९ सय नेपालीलाई कुवेत सरकारले आममाफी घोषणा गरेसँगै २ महिनादेखि स्वदेश फर्कने प्रतिक्षामा रहेका नेपालीमध्य ३ सय जना नेपाली फर्किने भएका छन् । कुवेत सरकारले नै त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलसम्मको खर्च व्यवहोर्ने छ । विशेष गरि आममाफी पाएका, श्रम अवधि सकिएका, महिला, अशक्त व्यक्ति, कोरोना रोगबाहेक अन्य रोगबाट ग्रस्त भएका एवंम तथा रोजगार गुमाएका ५ हजारभन्दा बढी नेपालीले घर फर्किनका लागि आवेद पेश गरिसकेको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिए । पहिलो प्राथमिकता आममाफी पाएकालाई नेपाल लैजाने र त्यसपछि क्रमश रोजगार गुमाएका, श्रमअवधि सकिएका अशक्त महिलाहरुलाई ल्याउने राजुदूत भण्डारीले बताए । कुवेतबाट ८ हजार नेपालीहरु जसले आममाफी पाएका छन् र श्रम अवधि सकिएर बसेका एवं रोजगार गुमाएहरुलाई तत्कालका नेपाल फर्काउने तयारीमा लागिरहेको दुतावासले जानकारी दियो । आज कुवेतबाट दुईवटा जहाजमा १ सय ५० को दरले ३ सय जनालाई ल्याइने छ । जसअन्तर्गत पहिलो जहाजमा प्रदेश १ का ६१ जना, प्रदेश नं २ का ९ जना, बागमती प्रदेशका ८० जना र दास्रो जहाजमा प्रदेश नं १ मा ५७, प्रदेश नं. २ का १ जना , बागमती प्रदेशका २६ जना, गण्डकी प्रदेशका ९ जना, प्रदेश नं. ५ का ४५ , कर्णाली प्रदेशमा १० जना, सुदुरपश्चिम प्रदेशका २ जना ल्याएने सीसीएमसी स्रोतले जनाएको छ । त्यस्तै बिहीबार युएईमा रहेका नेपाली ल्याइने तयारीमा सरकार रहेको तर कति जनालाई ल्याउने भन्ने कुरामा छलफल हुन बाँकी रहेको सो स्रोतले जनाएको छ । यस अगाडी युएईबाट जेठ २३ गते १ सय ६९ जना नेपाली फर्किएका थिए । त्यस्तै गए राती अष्ट्रेलियाबाट ११ जना नेपाली ल्याइएको छ । १ हजार ३ सय जना तत्काल नेपाल फर्कन चाहे पनि सरकारले ११ जनालाई मात्र ल्याएको हो ।
गौरवका आयोजनामा सञ्चालित उपकरण सुरक्षाको माग
काठमाडाैं । काेभिड–१९ को त्रासबीच राष्ट्रिय गौरवका आयोजनालाई गति दिने सरकारको नीतिअनुसार पूर्वाधार निर्माणमा सक्रिय व्यवसायीलाई अज्ञात समूहबाट पटक–पटक हतोत्साहित गर्ने गरी भइरहेका घटनाका दोषीलाई कारवाही गर्न नेपाल निर्माण व्यवसायी महासङ्घले माग गरेको छ । दाङ जिल्ला गढवा गाउँपालिका–१ जेठानगाउँस्थित कल्याणकोट–कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणका लागि राप्ती नदी किनारमा पार्किङ गरी राखिएका पाँच वटा स्काभेटरमा सोमबार राति अज्ञात समूहबाट आगजनी गरिएको घटनाप्रति कडा आपत्ति जनाउँदै महासङ्घले सुरक्षा माग गरेको हो । आगजनीका कारण चार स्काभेटर जलेर नष्ट भएको छ । एउटामा आंशिक क्षति पुगेको महासङ्घका महासचिव रोशन दाहालले मङ्गलबार जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । बा२क ४४८२, बा१क २२७१, बा२क ३१४८, रा१ख ७१३ र एउटा परीक्षणका क्रममा रहेको (अनटेस्ट) स्काभेटरमा आगजनी गरिँदा करोडौँको क्षति भएको उनले बताए। उक्त सडकखण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जेभीले गरिरहेको छ । दुवै कम्पनी महासङ्घका सदस्य छन् । “निर्माण व्यवसायी र उपकरणको सुरक्षालाई लिएर महासङ्घले पटक–पटक प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका प्रमुखसहित सरोकार भएका सबैको ध्यानाकर्षण गराइरहँदासमेत अज्ञात समूहको गतिविधिमा कुनै कमी नआउनु चिन्ताको विषय हो”, महासचिव दाहालले भने । रासस
गएराती कारको ठक्करबाट दुईको मृत्यु
घाेडाघाेडी । कैलालीमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मङ्गलबार राति कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा पूर्वबाट पश्चिम गइरहेको बा४च २१०० नंको कारले ठक्कर दिँदा पैदलयात्री घोडाघोडी नगरपालिका–१ जनकपुर बस्ने २६ वर्षीया सोनिया चौधरी र उनका छोरा पाँच वर्षीया कृष्टन चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । कारको ठक्करबाट अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा घोडाघोडी नगरपालिका–९ बस्ने ४५ वर्षीय डबल शाह र लम्कीचुहा नगरपालिका–१० बस्ने ४० वर्षीय जयचन्द्र सुनार रहेको प्रहरीले जानकारी दिएको छ । घाइते दुवैको घोडाघोडी अस्पताल सुखडमा सामान्य उपचारपछि कोहलपुर सिफारिस गरिएको र त्यहाँ पनि उपचार हुन नसकेपछि उनीहरुलाई काठमाडौँको बिएनबी अस्पताल पठाइएको छ । ठक्कर दिएर फरार कार चालक बर्दगोरिया गाउँपालिका–१ का राजेन्द्र मल्ललाई इलाका प्रहरी कार्यालय मसुरियाले नियन्त्रणमा लिएको छ । रासस
जोर्ज फ्लोइड: अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग
काठमाडाैं । प्रहरी हिरासतका क्रममा मारिएका अफ्रिकी/अमेरिकी पुरुष जोर्ड फ्लोइडको अन्तिम संस्कारका क्रममा जातीय न्यायको माग गरिएको छ । टेक्ससको ह्युस्टनस्थित एक गिर्जाघरमा उनीप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न मानिसहरू लामबद्ध भएका थिए । गत महिना मिनिअपलिसमा एक श्वेत प्रहरी अधिकारीले फ्लोइडलाई नियन्त्रणमा लिई उनको गर्दनमाथि करिब नौ मिनेटसम्म घुँडाले टेकिरहेका थिए जुन क्षण मोबाइलमा कैद गरिएको थियो । घटनामा संलग्न चारजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ र उनीहरूमाथि हत्यासम्बन्धी आरोप लगाइएको छ । ह्युस्टन मेमोरिअल गार्डेनमा फ्लोइडलाई उनकी आमाको चिहानसँगै गाडिनेछ । फ्लोइडकी एक भतिजी ब्रूक विलियम्सले अश्वेत मानिसहरूलाई नोक्सान गराउने कानुनहरूमा परिवर्तनका लागि आह्वान गरिन् । उनले प्रश्न गरिन्, ‘किन यो प्रणाली भ्रष्ट र अक्षम हुनुपर्छ ?’ ‘अफ्रिकी/अमेरिकीलाई विफल पार्नका निम्ति कानुनहरू व्यवहारमा छन् र त्यस्ता कानुनहरू परिवर्तन हुनैपर्छ । कृपया घृणामा आधारित थप अपराध नहोस् ।’ उनले थपिन्, ‘कोही कोहीले, ‘अमेरिकालाई फेरि महान् बनाऔं’ भनेका छन्, तर के अमेरिका कहिल्यै महान् थियो ? ‘ राष्ट्रपति पदका डेमोक्र्याटिक उम्मेदवार जो बाइडनले भिडिओ सन्देशमार्फत् अन्तिम संस्कारमा सम्बोधन गरेका थिए । उनले भने, ‘जोर्ज फ्लोइडका लागि न्याय भएमा हामी अमेरिकामा साँच्चिकै जातीय न्यायको बाटोमा हुनेछौं ।’ फाउन्टेन अफ प्रेज नामक गिर्जाघरमा आयोजित अन्तिम श्रद्धाञ्जलि कार्यक्रममा राजनीतिज्ञ र सेलिब्रेटीसहित करिब पाँच सय सहभागी थिए । कार्यक्रममा उपस्थित चर्चित नागरिक अधिकारकर्मी रेभेरेन्ड अल शार्पटनले भने, ‘दास राख्ने मालिकका नातिनातिनाले अहिले विश्वभरि मालिकहरूका शालिक हटाइरहेको म देखिरहेको छु ।’ डेमोक्र्याटिक पार्टीका स्थानीय सांसद अल ग्रीनले भने, ‘जोर्ज फ्लोइड मिल्काउन हुने कुनै वस्तु थिएनन् । यसकारण हामी यहाँ आएका छौं । उनी अश्वेत हुनु उनको अपराध थियो ।’ फ्लोइडप्रति अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न सोमवार छ घण्टा उनको शव गिर्जाघरमा राखिएको थियो । मिनिअपलिस र उनी जन्मिएको नर्थ क्यारोलाइनामा पनि स्मृति कार्यक्रमको आयोजना गरिएको थियो । फ्लोइडको मृत्युपछि जातीय विभेदविरुद्ध अमेरिकामा जारी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ । वाशिङ्गटन डीसी, न्यूयोर्क, शिकागो, लस एन्जलस र सान फ्रान्सिस्को लगायतका थुप्रै शहरमा ठूल्ठूला र्यालीहरूको आयोजना गरिएको छ ।यसअघि फ्लोइडको हत्याका आरोपित मिनिअपलिसका पूर्वप्रहरी अधिकारी सोमवार पहिलो पटक अदालतमा उपस्थित भएका थिए ।अदालतले आरोपित डेरेक शोभिनसँग साढे १२ लाख डलर धरौटी माग गरेको थियो । (बीबीसी नेपालीबाट)
सिरहाका २० सङ्क्रमित काेराेनामुक्त
लहान । सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिए । विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचारपश्चात निको भएर घर फर्किएको उनले जानकारी दिए । निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाए । बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था समान्य रहेको र उहाँहरु पनि केही दिनभित्रै उपचारपश्चात घर फर्किने मेसु डा मण्डलको भनाइ छ । यस्तै एकै दिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न गाउँपालिकामा मङ्गलबार थपिएका सबै सङ्क्रमितलाई सो अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईँले जानकारी दिए । सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रजिअ गुरागाईँले बताए । योसँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ । रासस
लकडाउनमा दाना खुवाउन कोही नआएकाले एक हजार भन्दा बढि परेवा मरे
काठमाडौं । अफगानिस्तान स्थित मशहूर मजार ए शरीफ मस्जिदमा एक हजारभन्दा बढि परेवाहरु मरेका छन् । हाल जारी लकडाउनका कारण लामो समयदेखि मस्जिद बन्द रहेको छ र सोही कारण त्यहाँ पालिएका सेता परेवालाई दाना खुवाउन कोहीपनि पुगेका छैनन् । लामो समयदेखि खान नपाएका ती सेता परेवाहरुले भोकै प्राण त्यागेका छन् । सो मस्जिदका कर्मचारीले दैनिक जसो ३० ओटा जति सेता परेवा मरिरहेको र हालसम्म १ हजार भन्दा बढि परेवा मरिसकेको बताएका छन् । अफगानिस्तानमा लकडाउनका कारण सम्पूर्ण धार्मिक स्थलहरु बन्द रहेका छन् । हालसम्म त्यहाँ कोरोना संक्रमित मानिसहरुको संख्या २१ हजार पुगेको बताइए पनि ठिक आँकडा चाहिँ त्यो भन्दा धेरै हुनसक्ने मानिँदै आएको छ ।