विकासन्युज

काठमाडाैंका दुई औषधि पसललाई कारवाही, प्रतिपसल दुई लाख रूपैयाँ जरिवाना

काठमाडाैं । बिलबिजक जारी नगर्ने दुई औषधि पसललाई मंगलबार कारवाही गरिएको छ । बजार अनुगमनका क्रममा नयाँ बानेश्वरस्थित साया फार्मेसी र वीर अस्पताल अगाडिको आरफ फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार अनुगमनका क्रममा बिलबिजक जारी नगरी फार्मेसी सञ्चालन गरेको भेटिएपछि प्रतिपसल दुई/दुई लाख रूपैयाँ जरिवाना गरिएको हो । उपभोक्ताको गुनासोलाई आधार बनाएर बन्दाबन्दी अवधिमा खाद्य, सर्जिकल सामग्रीलगायत सामग्रीमा बढी मूल्य लिने पसललाई दैनिक बजार अनुगमन गरी कारवाही गरिँदै आएको छ ।

इन्भेष्टमेन्ट बैंकले २ अर्ब १० करोडको मुद्दा जित्यो, अब नाफा बढ्ने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको एउटा अदालतमा २ अर्ब १० करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंककाे उक्त रकम फसेको थियो । ‘इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेको छ । ३/४ दिनमा नै २ अर्ब १० करोड रुपैयाँ फिर्ता आउने छ’ नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले विकासन्युजसँग भने–‘पहिला एक जना न्यायधिश रहने एकल इजलासले हाम्रो विपक्षमा फैसला गरेको थियो । हामीले उक्त फैसलामा पुनरावलाेकनको लागि अपिल गरेका थियौं । अहिले ३ जना न्यायधिशको पूर्ण इजलासले बैंकको पक्षमा फैसला गरेको छ । ८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ नेपाली र ८७ लाख ४९ हजार २३९ यूरो गरी कुल २ अर्ब १० करोड रुपैयाँको मुद्दा जितेसँगै बैंकको नाफामा वृद्धि देखिने भएको छ । यसघि मुद्दा हार्दा राष्ट बैंककाे निर्देशन अनुसार बैंकले उक्त रकम प्रोभिजन गर्नु परेको थियो । बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो । उक्त कम्पनीले बीचैमा काम छाेडेर हिँडेपछि लेनदेनकाे विवाद अदालतसम्म पुगेकाे थियाे ।

अहिलेको सीमा विवादमा सेना परिचालन आवश्यक छैन: उपप्रम पोखरेल

काठमाडाैं । उप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेलले अहिले देखिएको सीमासम्बन्धी विवाद दुई पक्षबीच संवादका माध्यमबाट समाधान गरिने दृढता व्यक्त गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटमा रक्षा मन्त्रालय र मातहतका निकायमा विनियोजित बजेट र कार्यक्रमबारे प्रतिनिधिसभामा उठाइएका प्रश्नको जवाफ दिँदै उनले अहिलेको विवादमा सेना परिचालन गर्ने उद्देश्य राखेर निर्णय गर्न आवश्यक नरहेको बताए । रक्षामन्त्री पोखरेलले भने, ‘सीमासम्बन्धी अहिले देखिएका विवादित विषय दुई पक्षबीच संवाद गरेर समाधान गर्छौं, यो हाम्रो दृढता हो, यसमा सेना परिचालन गर्ने उद्देश्य राखेर अन्य निर्णय गर्न आवश्यक छैन ।’ नेपाली सेनाको प्राथमिक दायित्व मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा एवं प्रतिरक्षा र अन्तरराष्ट्रिय सीमाको सुरक्षा हो भन्नेमा सरकार सचेत रहेको उनले स्पष्ट गरे । अन्तरराष्ट्रिय सिमानामा अर्धसैनिक अन्तरराष्ट्रिय सिमानामा अर्धसैनिक फौज राखिने प्रचलनअनुसार नेपालमा पनि उक्त कार्य नेपाली सेनाको समेत समन्वयमा सशस्त्र प्रहरी बल नेपालबाट गरिँदै आएको जानकारी दिँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘सेनाले अन्तरराष्ट्रिय सिमानाको निश्चित दूरीभित्र रहेर निरन्तर सिमानाको सुरक्षा र निगरानीको कार्य गरिरहेको छ ।’ मुलुकको स्वाधीनता र स्वतन्त्रताको विरुद्धलगायत कुनै राष्ट्रिय महत्वका विषय स्वाधीनता, नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा कुनै भागको सुरक्षामा युद्ध, बाह्य आक्रमण, सशस्त्र विद्रोह वा चरम आर्थिक विशृङ्खलताको कारणले गम्भीर सङ्कट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुरुप राष्ट्रपतिबाट नेपाली सेना परिचालनको घोषणा हुने संवैधानिक व्यवस्था छ । उनले भने, ‘नेपालको अविच्छिन्न सार्वभौम भूभागमा सरकारको निर्णयानुसार नेपाली सेनालाई जुनसुकै समय र अवस्थामा आवश्यकताअनुसार जहिले पनि सीमा रक्षाका लागि तैनाथ गर्न सकिनेछ ।’ मुलुकको बाह्य सुरक्षा, आन्तरिक सुरक्षा, विपद् व्यवस्थापन, विकासनिर्माण, राष्ट्रिय निकुञ्ज तथा प्रकृति संरक्षण, महत्वपूर्ण संरचना तथा अतिविशिष्ट व्यक्तिको सुरक्षा र विश्व शान्ति स्थापनामा अहिले नेपाली सेना संलग्न रहिआएको छ । भरपर्दो र पूर्ण व्यावसायिक राज्यको भरपर्दो भई पूर्ण व्यावसायिकताका साथ बफादारी, अनुशासन, इमान्दारी कायमा राखी देश, जनता र संवैधानिक मूल्यमान्यताप्रति सेना प्रतिबद्धत हुनु हामी सबैका लागि गौरवको विषय रहेको उपप्रधानमन्त्री पोखरेलले बताए । उनले जननिर्वाचित सरकारको नेतृत्वमा रही सरकारको आदेश र निर्देशनलाई उपलब्ध साधनस्रोतको सीमा र आफ्नो उच्च व्यावसायिक क्षमताका आधारमा कार्यान्वयन गर्दै आएको सेनाले सरकारको नीति र नियमानुसार सैनिक-नागरिक सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताए । रक्षामन्त्री पोखरेलले भने, ‘सेनाको सङ्गठनलाई समावेशी तुल्याउनका लागि कानूनी प्रबन्ध गर्न तथाक्षमता विकासलाई समयानुकूल दक्ष, चुस्त र व्यावसायिक बनाउन सरकार प्रतिबद्ध र प्रयत्नशील छ ।’ नेपाली सेनाको आधुनिकीकरण, सबलीकरण र पेशागत क्षमता अभिवृद्धि गर्दै जाने कुरालाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको उनले जनाए । उनले संविधानले सेनालाई दिएको भूमिका, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सुरक्षा चुनौती, भूपरिवेश, विपद् तथा प्राकृतिक प्रकोपको जोखिमको स्थिति, मानवीय एवं भौतिक संरचनाको सुरक्षा जोखिम, शान्ति सेनामा खटाउने दायित्व एवं मुलुकको सुरक्षा र प्रतिरक्षासित सम्बन्धित संवेदनशीलताका आधारमा सेनाको जनशक्ति तय हुने जानकारी दिए । रणनीतिक पूर्वाधारमा मात्र सेना ठूला एवं रणनीतिक महत्वका पूर्वाधार तथा निजी क्षेत्रले गर्न नसक्ने वा निजी क्षेत्र सहजै आकर्षित नहुने र राष्ट्रिय दृष्टिकोणले महत्वपूर्ण ठानिएका विकानिर्माणमा मात्र निश्चित समयका लागि सेनालाई संलग्न गराउने सरकारको नीति रहेको रक्षामन्त्री पोखरेलले स्पष्ट गरे । सेनाले हालसम्म एक हजार १८२ किमी सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल सर्वाधिक महत्वको काठमाडौं-तराई र मधेश द्रुतमार्गको निर्माणको जिम्मा सेनाको व्यवस्थापनमा भइरहेको छ । ब्यारेकहरुभित्र सैनिक बसोबासयोग्य भवन क्रमिक रूपमा निर्माण भइरहेका कारण अबका केही वर्षभित्र बङ्करदेखि ब्यारेक कार्यक्रम पूरा हुनेछ । नयाँ राष्ट्रिय सुरक्षा नीति रक्षामन्त्री पोखरेलले मुलुकको राष्ट्रिय हित, राष्ट्रिय मूल्यमान्यता, प्रमुख सुरक्षा चुनौती र खतरालाई पहिचान तथा सम्बोधन गर्न आवश्यक नीतिगत तथा संस्थागत प्रबन्धको व्यवस्थालाई समेटिएको नयाँ राष्ट्रिय सुरक्षा नीतिलाई आवश्यकता र औचित्यका आधारमा सार्वजनिक गरिने बताए । भ्रष्टाचार नियन्त्रण र कोभिड-१९ जिम्मेवारी सेनाको कामकारवाहीलाई पारदर्शी र सूचना प्रविधिमा आधारित बनाउँदै सङ्गठनभित्र भ्रष्टाचार हुन नदिन शून्य सहनशीलताको नीतिलाई कडाइका साथ अवलम्बन गरिएको उनले स्पष्ट गरे । उनका अनुसार कोभिड-१९ को सङ्क्रमण थप विस्तार हुन नदिन सेनाको भूमिकालाई उच्च मूल्याङ्कन गरी दिइएको जिम्मेवारीलाई कुशलतासाथ सम्पादन भइरहेको छ । बैठकमा सांसदत्रय प्रेम सुवाल, उमाशङ्कर अरगरिया र भीमसेनदास प्रधानले पूरक प्रश्न राखेका थिए ।

३० हजारलाई लक्ष्य गरेर स्वास्थ्य सामग्री व्यवस्थापन गर्दै सरकार

काठमाडाैं । सरकार ३० हजार कोराना भाइरस सङ्क्रमितलाई लक्ष्य गरेर स्वास्थ्य सामग्री व्यवस्थापनमा लागेको छ । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक रुपमा सोचेभन्दा बढ्न थालेपछि स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाले मुलुकमा १५ हजारदेखि ३० हजारसम्म सङ्क्रमित हुन सक्ने अनुमान गरी स्वास्थ्य सामग्रीको व्यवस्थापनमा लागिएको महाशाखाका आपूर्ति व्यवस्था शाखाप्रमुख चुडामणि भण्डारीले जानकारी दिए । ‘दैनिक रुपमा सङ्क्रमित बढ्न थालेपछि हामीले सोचेभन्दा बढी नै सङ्क्रमित हुने अनुमान गरेका छौँ’, उनले भने, ‘त्यही भएर सङ्क्रमित बढ्ने अनुमानले स्वास्थ्य सामग्री खरिदको प्रक्रिया पनि अगाडि बढाएका छाैं ।’ पहिले एक हजार ५०० सङ्क्रमित हुने अनुमान गरिएको थियो भने पछिल्लोपटक भारतबाट सङ्क्रमित आउन थालेपछि यो सङ्ख्या पाँच हजार पुग्ने अनुमान सरकारको छ । केही दिनअघि पाँच हजार सङ्क्रमित हुने अनुमान गरेको भएपनि अहिलेको अवस्था हेर्दा त्योभन्दा बढी हुने अनुमान गरेर सामग्री व्यवस्थापनतिर लागेको हो । अहिले नै सङ्क्रमितको सङ्ख्या तीन हजार ७६२ पुगिसकेका छन् । दैनिक दुई-तीन सयको सङ्ख्यामा सङ्क्रमित बढिरहेका छन् । सङ्क्रमणबाट अहिलेसम्म १४ को मृत्यु भइसकेको छ । यस्तै अहिलेसम्म ४८८ जना निको भएर घर फर्किसकेका छन् । नेपालमा पहिलोपटक माघ ९ गते चीनको वुहानबाट आएका आएका एक विद्यार्थीमा सङ्क्रमण देखिएको थियो । पछिल्लोपटक भारतबाट स्वदेश फर्किरहेका मानिसमा परीक्षण गर्दा सङ्क्रमण देखिएको छ । उनका अनुसार व्यवस्थापन महाशाखामार्फत अहिलेसम्म करिब ९४ करोड रूपैयाँको स्वास्थ्य सामग्री खरिद गरिसकेको छ । तीमध्ये ४० करोड रूपैयाँ भुक्तानी भइसकेको र अरु भुक्तानीको प्रक्रियामा रहेको छ । उनले प्रदेश र जिल्लालाई जेठको पहिलो हप्ता पर्याप्त मात्रामा सामग्री पठाएकाले अहिले कहीँ पनि अपुग नरहेको जानकारी दिए । महाशाखाले पहिले उदयपुर, रौतहट, पर्सा र बाँकेमा केन्द्रबाट नै सिधै सामग्री पठाउने व्यवस्था गरेको थियो । तर अहिले सातवटै प्रदेश र कोभिड-१९ अस्पतालमा आवश्यक सामग्री पठाउने व्यवस्था गरिएको उनले बताए । उनका अनुसार व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट पाँच हजार ८३५, पिपिइ गाउन ६७ हजार, सर्जिकल मास्क १९ लाख ८९ हजार, एन-९५ मास्क ६९ लाख वितरण गरिएको छ । यस्तै पिपिइ सेट पाँच हजार, पिपिइ गाउन एक लाख ७२ हजार, मास्क १४ लाख ७४ हजार र एन–९५ एक लाख ८१ मौज्दात रहेको छ । ती सामग्रीलाई आवश्यकअनुसार प्रदेश र कोभिड-१९ अस्पताललाई पठाइने छ । उनले मापदण्ड वितरित सामग्री प्रयोग गर्नाले चाँडै सकिएको समेत बताए । अहिलेसम्म पिसीआरबाट एक लाख ९७१ र आरडिटीबाट एक लाख ५६ हजार ९९१ जनाको परीक्षण गरिएको छ । अहिलेसम्म एक लाख ६६ हजार ६६८ जना क्यारेन्टिनमा रहेका छन् । रासस

भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा, परराष्ट्रमन्त्री भन्छन्- निरन्तर ताकेता भइरहेको छ

काठमाडौं । सरकारले सिमानालगायत भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न चाहेको दोहोर्याउँदै त्यसका लागि व्यग्र प्रतीक्षा गरिरहेको स्पष्ट गरेको छ । नयाँदिल्लीसँग वार्ताका निम्ति निरन्तर प्रयास र ताकेता गरिरहेको र उसको प्रत्युत्तरको प्रतीक्षा भइरहेको पनि सरकारले बताएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०७७ माथिको छलफलका क्रममा परराष्ट्र मन्त्रालयसँग सम्बन्धित विषयहरूमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले वार्ताको विकल्प नसोचेको बताए । कूटनीतिक माध्यमबाट धेरै जटिल समस्या समाधान भएका तर्क गर्दै उहाँले भारतसँगका मुद्दा पनि वार्ताकै माध्यमबाट हल हुनेमा आफू आशावादी रहेको बताए । कोभिड-१९ को महामारीका बेला पनि चीन र भारतबीच गत शनिबार वार्ता भएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालसँग वार्ता गर्न भारतले नमान्नुपर्ने कारण आफूले नदेखेको बताए । नेपाल-भारत सीमासम्बन्धी नसुल्झिएका विषयलाई सुल्झाउन कूटनीतिकस्तरमा वार्ता गर्न नेपालको तर्फबाट निरन्तर प्रयास हुँदै आएको र नेपाल-भारत सम्बन्धलाई अझ मजबुत र सुदृढ बनाउँदै लैजान इतिहासदेखि थाती रहेका विषयहरुलाई सम्बोधन गर्न जरुरी भएको उनले बताए । नेपालले सार्वभौमिक समानता, पारस्परिक सम्मान र लाभका आधारमा छिमेक लगायत सबै मित्रराष्ट्रहरुसँगको सम्बन्धलाई सुदृढ बनाउँदै लैजाने नीति सरकारको रहेको उनको कथन थियो । सरकारबाट सक्रिय र सार्थक कूटनीतिक प्रयास जारी रहेको तथा कूटनीतिक वार्ता मार्फत नेपालको सीमाभित्र पर्ने भूमिमाथि हाम्रो नियन्त्रण कायम गर्नेलगायत नेपाल-भारत सीमा समस्याका अन्य विषयहरुको निकास निकाल्न सरकारले हरसंभव पहल गर्नेमा आफू विश्वस्त रहेको उनले बताए । परराष्ट्र मन्त्रालयले नेपालको संविधानले गरेको मार्गनिर्देशन र नीतिअनुरुप परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालन गर्दै आएको बताउँदै मन्त्री ज्ञवालीले भने-‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित तथा विदेशमा रहेका नेपाली नागरिकको हित रक्षाका खातिर सरकारले पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको छ ।’ ‘संविधानले गरेको मार्गनिर्देश अनुरुप राष्ट्रिय हित प्राप्तिमा संयुक्त राष्ट्रसङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, अन्तर्राष्ट्रिय कानून र विश्वशान्तिको मान्यताका आधारमा राष्ट्रको सर्वोपरि हित, सार्वभौमिक समानता, पारस्परिक सम्मान, सिमानाको सुरक्षा र आर्थिक समुन्नतिलाई नेपालको राष्ट्रिय हितका र पारस्परिक लाभको आधारमा नेपालले स्वतन्त्र, सन्तुलित र असंलग्न परराष्ट्र नीति सञ्चालन गरिआएको छ र यस नीतिलाई अझ प्रभावकारी रुपमा सञ्चालन गरिनेछ,’ उनले भने । नेपालको परराष्ट्र नीतिको एउटा प्रमुख लक्ष्य विश्वभरका विभिन्न मुलुकहरु र अन्तर्राष्ट्रिय संस्थाहरुसँग सुमधुर र फलदायी सम्बन्ध विकास गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को आकांक्षाअनुरुप देश विकास र जनताको जीवनस्तर सुधार गर्न आवश्यक अनुकूल वाह्य वातावरण तयार गर्नमा नै सरकार लागेको बताउँदै परराष्ट्रमन्त्रीले परम्परागत रुपमा विदेशी सहायतामा रहिआएको मुलुकको निर्भरतालाई क्रमशः कम गर्दै लैजाने सरकारको नीति रहेको स्पष्ट पारे । अन्तर्राष्ट्रिय, क्षेत्रीय र भू-राजनीतिक परिस्थितिमा तीव्र परिवर्तनहरू आइरहेका, विश्वको शक्ति सन्तुलनमा नयाँ समीकरण देखापरेको, विश्वको आर्थिक र राजनीतिक केन्द्रहरूको अवस्थिति बदलिँदै गएको र हामीले अभ्यास गर्दै आएको विद्यमान बहुपक्षीय विश्व प्रणाली र संस्थाहरूमाथि गम्भीर चुनौतीहरू देखा पर्न थालेको चर्चा गर्दै उहाँले शक्ति राष्ट्रहरूबीच आर्थिक स्वार्थको बढ्दो टकराव, प्रविधिको अनियन्त्रित प्रयोगका कारण उत्पन्न अनपेक्षित चुनौती, आर्थिक असमानता एवं स्रोत साधनको असमान वितरण, जलवायु परिवर्तन, बढ्दो अतिवाद एवं आतङ्कवाद, द्वन्द्व र हिंसा, शस्त्रास्त्रको होडबाजी र महामारीले दिगो विकासको लक्ष्य र शान्ति हासिल गर्ने उद्देश्यमा व्यवधान खडा हुने यथार्थ प्रस्तुत गरे । परराष्ट्र नीतिजस्तो संवेदनशील र जटिल विषयको कार्यान्वयनमा सहयोग नपुग्ने र अव्यावहारिक धारणा सार्वजनिक गर्न नहुनेमा जोड दिँदै उनले आन्तरिक नीति र वाह्य परिस्थितिबीच तालमेल मिलाउँदै परराष्ट्र नीति सञ्चालन गर्नुपर्ने वास्तविकता औँल्याए । परराष्ट्र नीति सञ्चालन र सम्बन्ध विस्तारमा आवश्यक सावधानी नअपनाउँदा देखा पर्ने विचलन र त्रुटिले गम्भीर सङ्कट निम्त्याउन सक्ने भएकाले राष्ट्रको एकल आवाज र ऐक्यवद्धतालाई प्रतिविम्बित गर्न राज्यले स्थापित संयन्त्रमार्फत राजनीतिक, प्रशासनिक र अन्य तह तथा माध्यमहरुबाट मात्र परराष्ट्र सम्बन्ध सञ्चालन गर्नुपर्ने यथार्थ बिर्सन नहुने मन्त्री ज्ञवालीको अभिमत थियो । पछिल्लो समय विश्व मानचित्रमा कोरोना महामारीबाट सिर्जित अति नै चुनौतीपूर्ण परिस्थितिले परराष्ट्र नीति तथा अन्तर्राष्ट्रिय सम्बन्धका प्राथमिकतामा केही समयका लागि विषयान्तर हुने भए पनि बदलिएको परिस्थिति र थपिएको जटिलताबीच पनि अन्तर्राष्ट्रिय सम्बन्धका आधारभूत स्तम्भहरुलाई केन्द्रमा राखेर आफ्ना क्रियाकलापहरु पुनःपरिभाषित गर्दै नवीन प्रविधिका माध्यमबाट परराष्ट्र नीति सञ्चालन गर्ने र राष्ट्रिय हित प्राप्तिमा प्रतिबद्ध रहने उनले बताए । विकास साझेदारी वा अन्य कुनै पनि प्रसङ्गमा नेपाल कुनै पनि प्रकारका सैन्य वा रणनीतिक गठबन्धनमा संलग्न नहुने, दातृराष्ट्र तथा विकास साझेदारहरुबाट कुनै प्रकारको सहयोग राष्ट्रिय हित प्रतिकूल हुने गरी नलिइएको र भविष्यमा पनि त्यसरी नलिइने स्पष्ट नीतिप्रति सरकार प्रतिबद्ध रहेको मन्त्री ज्ञवालीले स्पष्ट गरे । ‘अमेरिकी तथा अन्य विकास साझेदारको सहयोग परिचालन गर्दा नेपाल सरकारले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राख्दै भौगोलिक अखण्डता, सार्वभौमसत्ता र राष्ट्रिय स्वतन्त्रताको प्रतिकूल नहुने कुराको सुनिश्चतता गर्दै आएको छ,’ मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)सहित अन्य वैदेशिक सहायताबारे प्रष्ट पार्दै उनले भने । बेलायती रक्षा राज्यमन्त्रीलाई सम्बोधन गरी ब्रिटिश गोर्खाहरुले उठाएका जायज मागहरु र सन् १९४७ को त्रिपक्षीय सन्धिमाथि विस्तृत छलफल गर्ने विषयमा आफूले पत्र पठाएको, पूर्व गोर्खाका माग सम्बोधनका लागि ल्याइने ‘प्याकेज’हरु सम्बन्धित पक्षहरुसँग छलफल गरी सर्वस्वीकार्य हुने गरी तयार गरिनु पर्नेमा आफूले जोड दिँदै आएको मन्त्री ज्ञवालीले बताए । कुनै पनि सम्झौता सार्वभौम समानताका आधारमा हुनुपर्नेमा अडिग रहँदै नेपाल र बेलायतबीच पनि पारस्परिक सम्मान, समानता र पारस्पारिक हितका आधारमा द्विपक्षीय सन्धि गर्ने सरकारको प्रयासलाई निरन्तरता दिइने वचनबद्धतालाई उनले दोहोर्याए । रासस

टेकुको जनस्वास्थ्य प्रयोगशालाले पायाे अन्तर्राष्ट्रिय मापदण्डको मान्यता

काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ । अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका आधारमा ‘आइएसओ १५१८९ः २०१२’ को प्रमाणपत्र प्रदान गरेको हो । नेपालस्थित सङ्गठनका प्रतिनिधि डा. सीताराम जोशीले प्रयोगशालाका निर्देशक डा रुना झालाई मंगलबार यहाँ आयोजित कार्यक्रममा उक्त प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । प्रयोगशालाबाट एकपटक परीक्षण भएपछि त्यसले अन्तर्राष्ट्रियस्तर मान्यता पाउने गर्छ । यसअघि अन्तर्राष्ट्रिय मापदण्डको मान्यता पाउने चारवटा निजी क्षेत्रका प्रयोगशाला रहेका छन् । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९)को लडाइँ लडिरहेका बेला सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाउनु खुशीको कुरा भएको बताए । उनले पहिले दैनिक सयमात्र गरिने कोभिड-१९ को परीक्षणलाई हजारको सङ्ख्यामा प्रयोगशालाले पुर्याएको समेत बताए । मन्त्री ढकालले कोभिड-१९ बाट मुलुक आक्रान्त नभएको भए यतिबेला स्वास्थ्य सेवामा सुधार आएको अनुभूति नागरिकलाई दिलाउने सकिने बताए । उनले अहिले मन्त्रालय विशिष्ट श्रेणीका कर्मचारीका सरुवा सहमतिकै आधारमा गरिएकाले अनावश्यक टीकाटिप्पणी नगर्न आग्रह गरे । प्रमाणपत्र बुझ्दै प्रयोगशालाकी निर्देशक डा झाले प्रयोगशालाका कर्मचारीको अथक प्रयासले अन्तर्राष्ट्रियस्तरको मान्यता पाएको बताए । उनले पाँच वर्षदेखि नै प्रयोगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कोशिस गरे तापनि औपचारिकरुपमा एक वर्षअघिदेखि काम गरिएको उल्लेख गरे । ‘अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अब हाम्रो सेवा पनि गुणस्तरीय, विश्वसनीय रहेको छ’, उनले भने, ‘अब हामीले कुनै पनि नमूना परीक्षण गर्नका लागि बाहिर पठाउनु पर्दैन ।’ उनका अनुसार प्रयोगशालाले उक्त मान्यता पाउनका लागि सयभन्दा बढी प्रमाण आइएसओलाई बुझाउनुपरेको समेत बताए । प्रमाणपत्र दिनुभन्दा अगाडि भारत, दुवई र न्यूजिल्याण्डबाट आएका विज्ञहरुको टोलीले प्रयोगशालामा भएका विविध कुराको अध्ययन अनुसन्धान गरेका थिए । गुणस्तर तथा तालिम शाखा प्रमुख लिली श्रेष्ठले गत साउनदेखि मान्यता पाउनका लागि आफूहरुले प्रक्रिया शुरु गरेको बताए । ‘हामीले साउनदेखि प्रक्रिया शुरु गर्दा आइएसओका विज्ञ टोली आएर हाम्रो प्रयोगशालाका बारेमा अध्ययन गर्नुभयो’, उनले भने, ‘त्यही विज्ञ टोलीको सिफारिसमा हामीले मान्यता पाएका हौँ ।’ उनका अनुसार नेपालले ६४ वटा परीक्षणमा मान्यता पाएको हो । अहिले प्रयोगशालाले १०० भन्दा बढी परीक्षण गर्दै आइरहेको छ । यसअघि कोभिड-१९ का पहिलो सङ्क्रमित युवाको स्बावको नमूना परीक्षण गर्नका लागि हङ्कङ पठाइएको थियो । प्रयोगशालाका निर्देशक डा झाले प्रयोगशालाले अन्तर्राष्ट्रिय मान्यता पाए पनि भौतिक पूर्वाधारमा कमजोर रहेकाले नयाँ भवन बनाएर व्यवस्थित बनाइने बताए । कार्यक्रममा आइएसओका प्रतिनिधि डा जोशीले विभिन्न अध्ययन अनुसन्धान गरेर नै प्रयोगशालाको अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता दिएको बताए । उनले अब यही प्रयोगशालाले परीक्षणको रिपोर्ट दिएपछि अन्तर्राष्ट्रियस्तरमा मान्यता पाउने बताए । मन्त्रालयको प्रमुख जनस्वास्थ्य विशेषज्ञ डा रोशन पोखरेलले सरकारी प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मान्यता पाउने खुशीको कुरा भएको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले कोभिड-१९ रोकथाम र नियन्त्रणमा सफलता प्राप्त गरिने बताए । प्रयोगशालामा वर्षेनी करिब एक लाखभन्दा बढी परीक्षण गरिँदै आइरहेको छ । रासस

सरकार भन्छ- पसल खोल्न दिदैनाै‌ं, व्यापारी भन्छन्- पसल खोल्छौं

काठमाडौं । दुई महिना १० दिन पसल बन्द गरेको दबारमार्ग, महाबौद्ध, असन, न्यूरोड, भोटाहिटी र ठमेलका व्यापारी लकडाउनले खानकै लागि समस्या परेको भन्दै २१ जेठ बिहीबारदेखि पसल खोल्ने निर्णय गरेका थिए । लकडाउनकै बीचमा व्यापारीले बिहान ११ बजेसम्म पसल र व्यवसाय खुला गर्ने एकतर्फी निर्णय गरेका थिए । तर, निर्णय गरेर पसल खोलेको ६ दिन पछि मंगलबार न्यूरोडमा नेपाल प्रहरीले पसल बन्द गरायो । सरकारले लकडाउन कै बीचमा कर बुझाउने मिति तोकेपछि आक्रोसित हुँदै व्यापारीले पसल खोल्ने निर्णय गरेका थिए । व्यापारीले घरभाडा, खानाको लागि समस्या र कर्मचारीको तलब दिन समस्या भएको भन्दै पसल खोलेका बताउँछन् । नेपाल राष्ट्र व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना उद्योग र व्यापारीको कुरा नै नसुनेको र व्यापारीलाई समस्या पर्दै गएको कारणले पसल खोलेको बताए । ‘प्रहरीले अवरोध गरे पनि निरन्तर पसल खुल्ने छन्,’ उनी भन्छन् । व्यापारीलाई घरधनीले भाडा माग्ने, सरकार लकडाउनको बीचैमा कर तिर भन्ने, मजदुर तलब माग्ने अनि सबै कुरा व्यवस्थापनका लागि पसल खोल्नुको विकल्प नभएकाे र व्यापारिक केन्द्रहरुको प्रतिनिधिहरुलाई पनि राखेर एउटा समिति गठन गरेर सबैबीच छलफल गर्नु पर्ने कटुवाल बताउँछन् । ‘प्रहरीले आज हाम्रा व्यापारीलाई लाठी प्रहार गर्यो, तर हामी लाठी हान्दैमा डराउदैनाैं, हामीले कोरोनाबाट सुरक्षित रही पसल खोलेका थियौं, तर आज बिहान आएर न्यूरोडको पसल प्रहरीले एक्कासी बन्द गरिदियो, स्वतन्त्र तरिकाले व्यापार गरेर खान पाउने हाम्रो पनि अधिकार छ, सरकारले लकडाउन मात्रै गरेर समस्याकाे समाधान हुँदैन, समस्यामा परेका व्यापारीको पनि कुरा सुन्नु पर्छ, तर हाम्रो कुराको कतै पनि सुनुवाइ नै भएन,’ कटुवालले भने । व्यापारीहरु समस्यामा परेका बताइरहेका छन् । बैंक कर्जा तिर्नु परेकाे छ । घरभाडाका लागि घरधनीको फोन आइरहेको छ । चीनबाट सामान बोकेको १५ सय कन्टेनर बाटामा नै रोकिएर छन् । काठमाडौं सटर भाडामा लगाएका घरधनीहरुले मसिक १५ देखि २० लाख भाडा उठाउने गरेका छन् । लकडाउनको भाडा छुट दिनु पर्यो भनेर सम्बन्धित निकायमा माग गरिरहे पनि नियामक निकायले नसुनेको कटुवालले बताए । के हुन व्यापरीको माग ? लकडाउभरिको सटर भाडा छुट हुन पर्ने, १ वर्षसम्म कर तिर्ने समय थपिनु पर्ने, लकडाउनको समयमा बैंकमा भएको ऋिणको व्याज मिनाहा र निजी क्षेत्रको समन्वय समति गठन हुनुपर्ने व्यापारीहरुको माग रहेका कटुवालले बताए । खिचापोखरी न्युरोड व्यापार संघका अध्यक्ष गणेशकुमार न्यौपानेले पनि व्यापारी समस्यामा परेको कारणले नै पसल खोलेको बताए । न्यूरोडमा बिहान प्रहरीले पसल बन्द गराए पनि संघको तर्फबाट पसल खोल्ने नै निर्णय भएको उनले बताए । तर, पसल खोले पनि सावर्जनिक सवारी साधन सञ्चालन व्यापार नभएको न्यौपानेले बताए । नेपाल प्रहरीका प्रवक्ता निरजबहादु शाहीले गृहमन्त्रालयको निर्देन अनुसार नै पसल बन्द गराएको बताए । गृहमन्त्रालयले पसल खोल्ने त्यस्तो कुनै निर्देशन दिएको छैन । आज मात्रै देशभरि गरेर करिब २ हजारलाई नियन्त्रमा लिई सम्झाइबुझाई गरी छोडेको शाहीले बताए । सरकारको निर्णयअनुसार अति आश्यक बस्तु उत्पादन, बिक्री वितरण गर्ने र ४४ प्रकारका उद्योग बाहेक अन्य उद्योग तथा व्यापार बन्द नै गर्ने निर्णय गरेको थियो । सरकारले लकडाउन गरेर मात्रै गरेरको र सर्वधारण भोकभोकै मर्ने अवस्था आएको भनेर सबैतिर बिरोध पनि भहिरहेको छ । सकारले मन्त्रीपरिषद्को बैंठकबाट लकडाउन खुकुलो बनाउदै लैजाने भने पनि प्रहरीले पसल बन्द गराउन आजबाट सुरु गरेका छन् । सम्बन्धित सामग्री अढाइ महिनादेखि पसल बन्द गरेका व्यापारी भन्छन्ः सटर खोल्ने वित्तिकै ग्राहक होइन, भाडा माग्न घरभेटी आए भाडा तिर्न नसक्दा काठमाडौंको व्यापारिक केन्द्रका व्यवसायी त्रासमा, भन्छन्ः घरधनीकाे फाेन आयाे कि साताे जान्छ तनावमा साना व्यवसायीः न रातमा निद्रा लाग्छ नत दिनमा भोक ! (फ्रिडम फाेरमकाे सहयाेगमा)

उपत्यकामा सवारी साधनको चाप, तेल खपतमा वृद्धि

फाइल फाेटाे काठमाडाैं । जारी बन्दाबन्दीकै बीच काठमाडौं उपत्यकाका मुख्य सडकमा विगत तीन दिनदेखि सवारी साधनको चाप बढेको छ । लामो समय लकडाउन हुँदा जनजीवन सँगसँगै आर्थिक जीवन समेत प्रभावित हुन थालेपछि मानिसहरु काममा निस्कन थालेका कारण सडकमा सवारी साधनको चाप बढेको हो । प्रहरीले सवारी साधनको जाँचलाई केही खुकुलो बनाएको देखिन्छ । अत्यावश्यक सेवा, ढुवानी सेवा, पासवाहक सवारी साधन बाहेक पनि सरकारी कर्मचारी, बैंक तथा उद्योग प्रतिष्ठानका कर्मचारीलाई परिचय पत्र हेरी सवारी सञ्चालन गर्न दिइएको छ । कुनैपनि संस्थाको परिचयपत्र बिना सवारी चलाउनेलाई भने प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । सवारी साधनको चाप बढेसँगै पेट्रोल र डिजेलको खपतमा समेत वृद्धि भएको छ । नेपाल आयल निगम थानकोट डिपोका प्रमुख प्रदीप यादवका अनुसार अन्य दिनको तुलनामा पेट्रोल र डिजेलको खपतमा १०० किलोलिटरसम्म वृद्धि भएको छ । गत शुक्रबारसम्म दैनिक २०० किलोलिटर पेट्रोल र ४०० किलोलिटर डिजेलको खपत हुँदै आएकामा आइतबार २२६ किलोलिटर पेट्रोल र ५२९ किलोलिटर डिजेल खपत भएको छ । सोमबार २८८ किलोलिटर पेट्रोल र ४३७ किलोलिटर डिजेल खपत भएको सो डिपोले जनाएको छ । प्रमुख यादवका अुनसार थानकोट गृहको भण्डारण क्षमतामध्ये पेट्रोल ८५ प्रतिशत र डिजेल ७५ प्रतिशत मौज्दात रहेको छ । क्षमता हुँदाहुँदै पनि भारी मात्रामा तेल राख्न नमिल्ने कारण ट्याङ्करमा नै तेल राखिएको उनले जानकारी दिए । उनका अुनसार ८० ट्याङ्कर पेट्रोल र १२० ट्याङ्कर डिजेल डिपोमा राखिएको छ । लकडाउनभन्दा अघिसम्म उपत्यकामा मात्र दैनिक ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको खपत हुँदै आएको थियो । डिजेल खपतमा कमी एशोसिएसन आइतबारदेखि निजी सवारी साधन सञ्चालन हुँदा पेट्रोलको खपतमा वृद्धि भएता पनि डिजेलको खपतमा कमी आएको पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले जनाएको छ । पहिलाका तुलनामा पेट्रोलियम पदार्थको खपत केही मात्रामा वृद्धि भएता पनि डिजेल खपतमा कमी आएको एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए । उनले भने, ‘दुई पाङ्ग्रे निजी सवारी साधन सञ्चालनमा आउँदा पेट्रोलको खपतमा वृद्धि भएको हो । सार्वजनिक यातायात र उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा डिजेल खपतमा कमी आएको छ ।’ एशोसिएसनका अुनसार आइतबारदेखि काठमाडौं उपत्यकामा पेट्रोलको खपतमा ३० प्रतिशतले वृद्धि भएको छ भने देशैभरमा पेट्रोलियम पदार्थको खपतमा ३३ प्रतिशतले वृद्धि भएको छ । नयाँ रिफ्युलर थप नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन भर्न २७ हजार लिटर क्षमताका चार नयाँ रिफ्युलर (हवाईजहाजमा इन्धन भर्ने ट्याङ्कर) थप गरेको छ । नयाँ ल्याइएको दुई रिफ्युलर सोमबार भैरहवा भन्सार कार्यालयमा जाँचपास भएको निगमले जनाएको छ । नयाँ खरिद गरिएको चार रिफ्युलरमध्येमा दुई रिफ्युलर बन्दाबन्दीअघि नै ल्याइएको थियो । रासस