कोरोना महामारीमा एनसीएचएलको २ करोड ९१ लाख रूपैयाँ सहयोग
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)ले हालको महामारीको स्थितिमा नेपाल सरकार, बैंकिङ्ग क्षेत्र र सर्वसाधारणलाई गरी कूल २ करोड ९१ लाख २० हजार रुपैयाँ भन्दा बढि सहयोग गरेको छ । एनसीएचएलले सम्पूर्ण भुक्तानी सेवाहरुमा लाग्ने कारोबार शुल्क मिनाहा गरेर, आफ्नो प्ल्याटफर्म मार्फत क्राउडफन्डिङ्ग गरी र कोरोना नियन्त्रण तथा उपचार कोषमा प्रत्यक्ष अनुदान गरी सहयोग पुर्याएको छ । कोभिड-१९ को वर्तमान अवस्थामा डिजिटल भुक्तानीलाई प्रोत्साहन दिने उद्देश्यका साथ एनसीएचएलले लकडाउन शुरु भएदेखि नै सबै भुक्तानीे सेवाहरुमा लाग्ने कारोबार शुल्कहरु मिनाहा गर्दै आईरहेको छ । यसरी कारोबार शुल्क मिनाहाबाट एनसीएचएलले २ करोड ३४ लाख ९ हजार रुपैयाँभन्दा बढिको प्रत्यक्ष योगदान गरेको छ । एनसीएचएलले एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस, कनेक्ट आईपीएस, एनपीआई र कनेक्ट आरटीजीएस सेवाहरु प्रवाह गर्दै आएको छ । कनेक्ट आईपीएस प्रणालीमा ‘डोनेट फर कज’ का रुपमा समावेश गरी सोबाटहालसम्म “नेपाल सरकारको कोरोना भाइरस नियन्त्रण र उपचार कोष”का लागि ४० लाख १९ हजार ४ सय ४८ रुपैयाँ संकलन गर्न सहयोग गरेको छ । यसका साथै एनसीएचएलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारको कारोना उपचार कोषमा १७ लाख रुपैयाँ सहयोग गरेको छ, जसमध्ये १० लाख केन्द्रिय सरकारको कोरोना उपचार कोषमा र सातै प्रदेशको कोषमा १-१लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु लागू र संचालन गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तिय संस्था र स्मार्ट च्वाइर्स टेक्नोलोजीद्वारा प्रवद्र्धित कम्पनी हो ।
साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्दै, के होला निर्णय ?
काठमाडाैं। आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएकाे छ । बैठकमा लकडाउनको मोडालिटी परिवर्तन र स्वास्थ्य संकटकाल घोषणा गर्ने लगायतका विषयमा निर्णय हुने स्राेतले बतायाे । अघिल्लो बैठकले उच्चस्तरीय समन्वय समितिलाई लकडाउन परिवर्तनको विस्तृत मोडालिटी तयार गर्न निर्देशन दिएको थियो । चैत ११ यता लगातारको लकडाउनले मानिसहरुको जनजीवन प्रभावित हुनुका साथै आर्थिक गतिविधिमा समेत असर गरेकाले यसको मोडालिटी परिवर्तन गर्न सर्वसाधारणको माग र विज्ञहरुको सुझाव रहँदै आएको छ ।
सिइओको तलबमा सीमा तोक्न गृहकार्य, राष्ट्र बैंकले लियाे सबै बैंकसँग कर्मचारीको तलब भत्ताको विवरण
काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंकसँग उनीहरुका कर्मचारीले पाउने तलब भत्ताको विवरण मागेको छ । केही दिनअघि मात्रै राष्ट्र बैंकले यस्तो विवरण मागेको हो । राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतदेखि सबै तहमा कार्यरत कर्मचारीले मासिक रुपमा पाउने तबल भत्ता तथा आर्थिक सुविधाको विवरण पठाउन परिपत्र जारी गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए । ‘बैंकका सबै तहमा कार्यरत कर्मचारीको तलब भत्ता तथा आर्थिक सुविधा सहित विवरण तत्काल पठाउन भनिएको छ, यो विवरण अधिकांश बैंकहरुले पठाइसकेका होलान् पनि, कारण भने थाहाँ भएन,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने । कोरोना भाइरस संक्रमण विस्तार रोक्नभन्दै सरकारले जारी गरेको देशव्यापी लकडाउनको कारण आर्थिक गतिविधि ठप्प छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर उद्यम व्यवसाय गर्नेहरुलाई विभिन्न प्रकारका छुट दिनु भन्ने राष्ट्र बैंकको निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको नाफा कम हुने अनुमान सार्वजनिक भइरहेको छ । यही समयमा राष्ट्र बैंकले बैंकका कर्मचारीको तलब भत्ता तथा अन्य आर्थिक सुविधाको विवरण माग्नुले बैंकका उच्च तहका कर्मचारीको तलबमा सीमा लाग्ने हो कि भन्ने अनुमान गरिएको छ । ‘नाफा घट्ने देखिएपछि हामीहरु करार र अस्थायी कर्मचारी कटौतिमा लागेका थियौं, राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) देखि कार्यालय सहयोगीसम्मको तलब तथा आर्थिक सुविधाको विवरण मागेको छ, उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिहरुको आर्थिक सुविधामा सीमा तोक्न लागिएको हो कि जस्तो संकेत मिलेको छ,’ अर्काे एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने । संसद, नियामक र बैंक संचालन नै असन्तुष्ट बैंकका प्रमुख कार्यकारी अधिकृतदेखि उच्च व्यवस्थापन तहका व्यक्तिहरुले बढी तलब भत्ता तथा आर्थिक सुविधा लिएको प्रसंग पहिलादेखि नै चल्दै आएको थियो । नेपाल राष्ट्र बैंकले पनि बेलाबेलामा सिइओको तलब बढी भएको भन्दै निश्चित सीमामा राख्न पहल गर्दै आएको थियो । तर, यसपाली भने सिइओको तलब बढी भयो भनेर असन्तुष्टी जनाउनेमा व्यवस्थापिका संसदको अर्थसमिति पनि थपिएको छ । समितिले आगामी आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई दिएको बजेट सुझावमा उद्योग तथा कम्पनीहरुको सिइओको तबल बढी भएकोले उत्पादित बस्तु तथा सेवाको लागत बढी भएको र यसलाई कम गर्न सिइओको तलब भत्ता घटाउनु पर्ने सुझाव दिएको छ । अर्थसमितिको बैठकमै यसबारेमा प्रश्न उठेको थियो । बजेट अघि भएको छलफलमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाली बैंकर्सको तलब बढी भएको हो कि होइन भनेर अध्ययन भएपछि एउटा निष्कर्षमा पुग्न सकिने बताएका थिए । यद्यपि समितिले तलब कम गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ । बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले पनि सिइओको तलब घटाउने व्यवस्था मिलाउन अनौपचारिक लबिङ नै गरेको छ । परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडा तथा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सिइओको तलब घटाउने व्यवस्था मिलाउन अनुरोध गरेको थियो । ‘व्याज घटाएर ऋणीलाई राहत दिऊँ भन्दा बैंकका सिइओहरु तयार भएनन्, ऋणीलाई राहत दिदा बैंकको नाफा कम हुन्छ, नाफा कम भएपछि सिइओ सहित उच्च व्यवस्थापन तहका कर्मचारीको बोनस घट्छ भनेर उनीहरु तयार नभएका हुन्, नाफा घट्न नदिने भनेको खर्च कटौति गरेर पनि हो, उच्च व्यवस्थापन तहका व्यक्तिहरुका आर्थिक सुविधा कम गर्ने हो भने ठूलो परिमाणमा खर्च कटौति हुने भएकोले हामीले अर्थमन्त्रीज्यू र गभर्नरज्यूहरुसँगको भेटमा अनौपचारिक रुपमा यो राखेका छौं,’ एक वाणिज्य बैंकको संचालक समितिका अध्यक्षले भने । कति कमाउँछन् सिइओ ? स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सिइओले गत आर्थिक वर्षमा ३ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम बुझेका छन् । उनले पाएको यो रकम तलब, भत्ता तथा बैंकको नाफाबाट पाएको बोनस समेत हो । यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओले ३ करोड ६ लाख, बैंक अफ काठमाडौंका सिइओले २ करोड ३२ लाख, प्रभु बैंकका सिइओले २ करोड २९ लाख, एनआइसी एसिया बैंकका सिइओले २ करोड १३ लाख रुपैयाँ तलब भत्ता तथा बोनस बुझेका थिए । निजी क्षेत्रका बाणिज्य बैंकमा सबैभन्दा कम रकम बुझ्ने प्राइम कमर्सियल बैंकका सिइओले नै एक वर्षमा १ करोड ९ लाख रुपैयाँ बुझेका थिए । बैंकका सीईओको तलबमा अब संसदीय समितिको पनि नजर, सभापति भन्छन्ः यो ठीक भएन
नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार नाघ्याे, ईलाममा पनि देखियाे संक्रमण
काठमाडौं । नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ । मंगलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ हजार नाघेकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । यस्तै ईलाममा पहिलाेपल्ट एकजना पुरुषमा संक्रमण देखिएकाे छ । याेसँगै संक्रमित जिल्लाकाे संख्या ७२ पुगेकाे छ । याेसँगै नेपालमा कोरोना संक्रमितकाे संख्या ४ हजार ८५ पुगेकाे छ जसमा ५ सय ८४ जना निकाे भएर घर गएका छन् भने १४ जनाले ज्यान गुमाईसकेका छन् ।
सिटिजन्स बैंकलाई सहयोगी विकास बैंक प्राप्ति गर्न बाटो खुल्यो, साउनअघि नै एकीकृत कारोबार गर्ने
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनललाई सहयोगी विकास बैंक प्राप्ति(एक्विजिसन) गर्न बाटो खुलेको छ । दुबै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै उक्त कार्यको लागि बाटो खुलेको हो । सिटिजन्स बैंकको मंगलबार(जेठ २७ गते) बसेको विशेष साधारण सभाले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंकको जेठ २४ गते सम्पन्न विशेष साधारण सभाले पनि उक्त एक्विजिसनको लागि स्वीकृति प्रदान गरिसकेको थियो । सिटिजन्स बैंकको विशेष साधारण सभाले सहयोगी विकास बैंक र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर (१ः०.९१७५) दिने गरी सेयर मूल्य अनुपात(स्वाप रेसियो) कायम गरिएको छ । प्राप्तीको लागि बोटो खुलेसँगै यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए । २०७७ जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ । धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिंङ सेवाहरू प्रदान गर्दै आएको थियो । यी पाँच जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् । जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने बैंकको विश्वास रहेको छ । सिटिजन्स बैंकको विशेष साधारणसभा सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाडौंमा सम्पन्न भएको छ । कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले पाचाैं विशेष साधारण सभा संचालन गरेको हो ।
डोटीका १० वडा स्वास्थ्य संस्थाविहीन
डोटी । यहाँका गाउँपालिका तथा नगरपालिकाका वडामा स्वास्थ्य संस्थाविहीन हुँदा स्थानीयवासीले उपचार पाउन सकिरहेका छैनन् । बडिकेदारको वडा नं २, आदर्शको वडा नं ३,सायल गाउँपालिकाको वडा नं २, दिपायल सिलगढीको वडा नं ३, ४ र ७, ५ र ६ र शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । कोरोना भाइरसको जोखिम भइरहेका बेला यहाँका कतिपय वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन हुँदासमेत जनप्रतिनिधि र कर्मचारीले स्थानपनाका लागि कुनै पहल नचालेको स्थानीयवासीको आरोप छ । सरकारले स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको स्तरोन्नति गरी १५ श्ययाका अस्पताल बनाउने प्रावधान अघि सारे पनि यहाँका कतिपय वडा कार्यालयमा सामान्य औषधि उपचार गर्ने स्वास्थ्य संस्था पनि स्थापना हुन सकेका छैनन् । स्थानीय नागरिकले सामान्य उपचारका लागि जिल्ला सदरमुकाम सिलगढी, गाउँपालिकामा रहेका स्वास्थ्य संस्था तथा जिल्ला बाहिर जानुपर्ने वर्षौंदेखिको बाध्यता कायमै रहेको छ । सरकारले तोकेका मापदण्ड ती वडा कार्यालयले पूरा गर्न नसक्दा स्थानीयवासीले दुःख पाउँदै आएको जोरायल गाउँपालिका वडा नं ५ गड्सेराका स्थानीयवासी डम्बरबहादुर विष्टले बता्ए । उनले भने, “वडा प्रतिनिधि र कर्मचारीले मापदण्ड नपु¥याउँदा स्वास्थ्य संस्था स्थापना भएनन्, दुःखजति जनतालाई भयो ।” यहाँका विभिन्न गाउँपालिकाअन्तर्गतका दशवटा वडा कार्यालय वर्षौंदेखि स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले दिनुभएको जानकारीअनुसार सरकारबाट स्वीकृत मापदण्डअनुसार जिल्लाका नौवटा स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेको र पाँच स्थानीय तहका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य इकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए तापनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वटै वडा स्वास्थ्य संस्थाविहीन भएका हुन् । वडा कार्यालयका पदाधिकारीको गैरजिम्मेवारीका कारण यहाँका १० वटा वडा कार्यालय स्वास्थ्य संस्थाविहीन भएको जिल्ला अस्पताल डोटीका अध्यक्ष यज्ञराज जोशीले बताए । उनले भने, “जब वडा कार्यालयले नै गैरजिम्मेवार हुने र नागरिकको स्वाथ्यमा ध्यान दिने काम गर्दैनन् भने कसरी वडामा स्वास्थ्य संस्था स्थापित हुन्छन् त ?” वडा स्वास्थ्य संस्थाविहीन भएका कारण संविधानतः मौलिक हकका रुपमा रहेको आधारभूत स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ रहेको उनको भनाइ छ । ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्नका लागि स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिस माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिस आइनसकेको र सिफारिस आएमा मन्त्रालयमा विवरण पेश यो वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । यसैबीच डोटीका विभिन्न स्थानीय तहले ३१ वटा स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयले दिएको जानकारीअनुसार सात वटा स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रुपमा ३१ वटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले ६, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले ६ र बोगटान फुड्सिल गाउँपालिकाले पाँचवटा स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहले आफ्नै लगानीमा व्यवस्थापन तथा खर्च व्यहोर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ । रासस
असार १ देखि सिकाइमा निरन्तरता दिइन्छ: शिक्षामन्त्री (भिडियाे)
काठामाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा ‘विनियोजन विधेयक २०७७’ अन्तर्गतको छलफलमा जवाफ दिँदै मन्त्री पोखरेलले मन्त्रालयले गठन गरेको उच्चस्तरीय समितिको सुझावका आधारमा कोरोनाको प्रभावपछि शिक्षामा चालिनुपर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका लागि सुझाव लिई कार्यान्वयन शुरु गरिएको जानकारी दिए । उनले प्राप्त सुझावबमोजिम सिकाइ सहजीकरणसम्बन्धी निर्देशिका जारी गरी असारदेखि अनलाइन, दूरशिक्षा, रेडियो, टेलिभिजन वा अन्य विकल्पबाट पठनपाठन सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तहका सरकारबीच समन्वय भएको स्पष्ट गरे । उनले औपचारिक शिक्षाको विकास हुँदै आएकामा अहिलेको महामारीले स्वाध्ययन र प्रविधिमैत्रीतर्फ रुपान्तरण भएको उल्लेख गर्दै शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि परिवेशअनुसार हुने गरी सिकाइअनुकूल गराउन कम सुविधा र फरक क्षमता भएका वर्गलाई समेत सम्बोधन हुने गरी निर्देशिका ल्याइएको जनाए । मन्त्री पोखरेलले भने, “सुलभ हुने कुनै पनि विधिबाट विद्यार्थीलाई सिकाइमा जोड्न म सबै सांसद्हरुलाई आग्रह गर्दछु । स्थगित एसइई परीक्षालगायत परीक्षाबारे आएका विकल्पमाथि परिस्थितिअनुसार गृहकार्य गरी यसै महिनाभित्र निर्णय गरिनेछ ।” हरेक वैशाख पहिलो साता विद्यालय तहमा नयाँ शैक्षित्रसत्र आरम्भ हुन्छ । कर्णाली र हिमाली जिल्लामा फागुनमा नयाँ शैक्षिकसत्र आरम्भ हुँदै आएको छ । कोरोना रोकथामका लागि गत चैत ११ देखि बन्दाबन्दी लागू भएपछि सबै शिक्षण संस्था र परीक्षा रोकिएका छन् । उनले संविधानमा शिक्षा मौलिक हकमा समावेश गरिएकाले शिक्षाको दायित्व राज्यको भएको तथा पहिलो पटक समाजवादोन्मुख शिक्षा नीति जारी भएकाले सार्वजनिक विद्यालयको रुपान्तरणका लागि बजेट केही वृद्धि भएको र वैकल्पिक, प्राविधिक, विशिष्टीकृत तथा खुला शिक्षाको विकास भइरहेको स्पष्ट गरे । उनले विद्यालय शिक्षामा बालबालिकालाई ल्याउने, टिकाउने र सिकाउने अभियानअन्तर्गत शिक्षा, श्रम, उत्पादन, जीवन र समृद्धिसँग जोड्दै कक्षा ५ सम्म दिवा खाजा र कक्षा ६ देखि १० सम्मका छात्राका लागि स्यानेनेटरी प्याडका लागि पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिए । शिक्षक दरबन्दी अभाव पूर्तिका लागि तत्कालका लागि शिक्षक शिक्षण अनुदान र स्वयंसेवक शिक्षक खटाइने व्यवस्था गरिएको उल्लेख गर्दै उनले ‘माटो चिनौँ’ भन्ने उद्घोषणसहित स्वयंसेवक शिक्षक खटाउने विधि तय गरिसकिएले यसमा पार्टीका कार्यकर्ता भर्ती गर्ने भन्ने प्रश्न नआउने बताए । उनले ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ र ‘सार्वजनिक विद्यालय सबलीकरण दशक कार्यक्रम’लाई व्यवस्थितरुपमा परिचालन गर्न स्थानीय तहबाट सिफारिस भएका विद्यालयको भौतिक पूर्वाधार विकास र गुणस्तर अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने पनि जानकारी दिए। ‘संविधानविपरीत निजीलाई जिम्मेवारी दिइन्न’ निजी विद्यालयलाई सामुदायिक विद्यालयको गुणस्तर सुधारको जिम्मेवारी किन दिएको भन्ने प्रश्नमा मन्त्री पोखरेलले निजीलाई त्यस प्रकारले जिम्मेवारी नदिइने आशय अर्थमन्त्रीबाट पनि आइसकेको स्मरण गराउँदै भने, “संविधान र शिक्षा नीतिविपरीत सार्वजनिक विद्यालय सुधारका लागि निजी विद्यालयलाई जिम्मेवारी दिइने छैन । निजी विद्यालयबाट रकम लिएर कोष स्थापना गरी विधि बनाएर सामुदायिक विद्यालयको सुधारमा खर्च गरिनेछ । यसका लागि अन्य उपयुक्त विकल्पमा पनि छलफल गर्न सकिन्छ ।” मन्त्री पोखरेललाई सांसद् गगनकुमार थापा, प्रेम सुवाललगायतले पूरक प्रश्न गरेका थिए । प्रतिनिधि सभा बैठकका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री प्रतिनिधि सभा बैठकका क्रममा सोधिएका प्रश्नहरुको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले जवाफ दिनुहुँदै Gepostet von Bikashnews.com am Dienstag, 9. Juni 2020
कोभिड–१९ नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप
काठामाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली काँग्रेससहित विपक्षी दलका सदस्यले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीर नभएको आरोप लगाउँदै सरकारसँग जवाफ माग गरेका छन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि काँग्रेसका गगनकुमार थापाले कोरोना नियन्त्रणका लागि बनाइएको क्वारेन्टिन व्यवस्थित नभएको र त्यहाँ मानिसको मृत्यु हुन थालेकाले यसको जिम्मा कसले लिने भनी प्रश्न गरे । पूर्व स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री थापाले अहिलेसम्म कोरोना नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गर्नसमेत माग गरे । निर्दाेष कर्मचारीलाई सरुवा गरेर दोषबाट उम्कन नपाइने बताउँदै थापाले प्रश्न गरे, “मृत्यु भइसकेका व्यक्तिको स्वाब परीक्षण नगर्ने भनेर कसले भन्यो ?” उनले विदशेमा रहेका नेपालीलाई तत्काल स्वदेश ल्याउन पनि सरकारको ध्यानाकर्षण गरे । विदेशमा बसेका नेपालीलाई ल्याइने निर्णय भएको तर कुन विमानबाट ल्याउने भन्ने विवाद भएको जिकिर गर्दै उनले त्यस विषयमा सरकारले सदनलाई जवाफ नदिए आगामी बैठक सञ्चालनमा सहज नहुने चेतावनी दिए । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समतिका संयोजक ईश्वर पोखरेलसँग यसबारे सदनमा जवाफ दिनुपर्ने मागसमेत उनले गरे ।