सिटिजन्स बैंकलाई सहयोगी विकास बैंक प्राप्ति गर्न बाटो खुल्यो, साउनअघि नै एकीकृत कारोबार गर्ने

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनललाई सहयोगी विकास बैंक प्राप्ति(एक्विजिसन) गर्न बाटो खुलेको छ । दुबै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै उक्त कार्यको लागि बाटो खुलेको हो । सिटिजन्स बैंकको मंगलबार(जेठ २७ गते) बसेको विशेष साधारण सभाले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंकको [&hellip;]</p>


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनललाई सहयोगी विकास बैंक प्राप्ति(एक्विजिसन) गर्न बाटो खुलेको छ । दुबै बैंकको विशेष/वार्षिक साधारण सभाले स्वीकृति दिएसँगै उक्त कार्यको लागि बाटो खुलेको हो ।

सिटिजन्स बैंकको मंगलबार(जेठ २७ गते) बसेको विशेष साधारण सभाले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने प्रस्ताव पारित गरेको हो । त्यस्तै, जनकपुरमा केन्द्रिय कार्यालय रहेको सहयोगी विकास बैंकको जेठ २४ गते सम्पन्न विशेष साधारण सभाले पनि उक्त एक्विजिसनको लागि स्वीकृति प्रदान गरिसकेको थियो ।

सिटिजन्स बैंकको विशेष साधारण सभाले सहयोगी विकास बैंक र सिटिजन्स बैंकबीच भएका प्रारम्भिक सहमति तथा अन्तिम सम्झौतापत्रहरुको अनुमोदन गरेको छ । सहयोगी विकास बैंकको १०० कित्ता सेयरलाई सिटिजन्स बैंकको ९१.७५ कित्ता सेयर (१ः०.९१७५) दिने गरी सेयर मूल्य अनुपात(स्वाप रेसियो) कायम गरिएको छ ।

प्राप्तीको लागि बोटो खुलेसँगै यसै आर्थिक वर्ष भित्रमा सहयोगी विकास बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले जानकारी दिए ।

२०७७ जेठ २६ गते सम्मको तथ्यांकको आधारमा सिटिजन्स बैंकले सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ८७ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ भने सर्वसाधारणलाई दिएको ऋण लगानी ७९ अर्ब ६२ करोड रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल शाखा १०८ हुनेछ ।

हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ८ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पुँजी ९ अर्ब ८ करोड रुपैयाँ हुनेछ ।

धनुषा, महोत्तरी, सिराहा, सर्लाही र सिन्धुली जिल्ला कार्यक्षेत्र भएको यस सहयोगी विकास बैंकले १४ वटा शाखाहरूबाट बैंकिंङ सेवाहरू प्रदान गर्दै आएको थियो । यी पाँच जिल्लामा हाल सिटिजन्स बैंकको ९ वटा शाखाहरू संचालनमा रहेकोमा यस बैंकको प्राप्ति संगै २३ वटा शाखाहरू संचालनमा आउने छन् । जसबाट यस क्षेत्रका ग्राहकहरू लाभान्वित हुने बैंकको विश्वास रहेको छ ।

सिटिजन्स बैंकको विशेष साधारणसभा सञ्चालक समितिका अध्यक्ष राजन सिंह भण्डारीको अध्यक्षतामा बैंकको केन्द्रिय कार्यालय भवन, नारायणहिटी पथ, दरवारमार्ग, काठमाडौंमा सम्पन्न भएको छ ।

कोभिड-१९ का कारण पर्न सक्ने सम्भावित असर एवं लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म जुम मार्फत बैंकले पाचाैं विशेष साधारण सभा संचालन गरेको हो ।

Share News