सिइओको तलबमा सीमा तोक्न गृहकार्य, राष्ट्र बैंकले लियाे सबै बैंकसँग कर्मचारीको तलब भत्ताको विवरण

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंकसँग उनीहरुका कर्मचारीले पाउने तलब भत्ताको विवरण मागेको छ । केही दिनअघि मात्रै राष्ट्र बैंकले यस्तो विवरण मागेको हो । राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतदेखि सबै तहमा कार्यरत कर्मचारीले मासिक रुपमा पाउने तबल भत्ता तथा आर्थिक सुविधाको विवरण पठाउन परिपत्र जारी गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंकसँग उनीहरुका कर्मचारीले पाउने तलब भत्ताको विवरण मागेको छ । केही दिनअघि मात्रै राष्ट्र बैंकले यस्तो विवरण मागेको हो ।

राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृतदेखि सबै तहमा कार्यरत कर्मचारीले मासिक रुपमा पाउने तबल भत्ता तथा आर्थिक सुविधाको विवरण पठाउन परिपत्र जारी गरेको एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए ।

‘बैंकका सबै तहमा कार्यरत कर्मचारीको तलब भत्ता तथा आर्थिक सुविधा सहित विवरण तत्काल पठाउन भनिएको छ, यो विवरण अधिकांश बैंकहरुले पठाइसकेका होलान् पनि, कारण भने थाहाँ भएन,’ एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले विकासन्युजसँग भने ।

कोरोना भाइरस संक्रमण विस्तार रोक्नभन्दै सरकारले जारी गरेको देशव्यापी लकडाउनको कारण आर्थिक गतिविधि ठप्प छ । यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर उद्यम व्यवसाय गर्नेहरुलाई विभिन्न प्रकारका छुट दिनु भन्ने राष्ट्र बैंकको निर्देशनले बैंक तथा वित्तीय संस्थाहरुको नाफा कम हुने अनुमान सार्वजनिक भइरहेको छ । यही समयमा राष्ट्र बैंकले बैंकका कर्मचारीको तलब भत्ता तथा अन्य आर्थिक सुविधाको विवरण माग्नुले बैंकका उच्च तहका कर्मचारीको तलबमा सीमा लाग्ने हो कि भन्ने अनुमान गरिएको छ ।

‘नाफा घट्ने देखिएपछि हामीहरु करार र अस्थायी कर्मचारी कटौतिमा लागेका थियौं, राष्ट्र बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) देखि कार्यालय सहयोगीसम्मको तलब तथा आर्थिक सुविधाको विवरण मागेको छ, उच्च व्यवस्थापन तहमा रहेका व्यक्तिहरुको आर्थिक सुविधामा सीमा तोक्न लागिएको हो कि जस्तो संकेत मिलेको छ,’ अर्काे एक वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतले भने ।

संसद, नियामक र बैंक संचालन नै असन्तुष्ट

बैंकका प्रमुख कार्यकारी अधिकृतदेखि उच्च व्यवस्थापन तहका व्यक्तिहरुले बढी तलब भत्ता तथा आर्थिक सुविधा लिएको प्रसंग पहिलादेखि नै चल्दै आएको थियो । नेपाल राष्ट्र बैंकले पनि बेलाबेलामा सिइओको तलब बढी भएको भन्दै निश्चित सीमामा राख्न पहल गर्दै आएको थियो ।

तर, यसपाली भने सिइओको तलब बढी भयो भनेर असन्तुष्टी जनाउनेमा व्यवस्थापिका संसदको अर्थसमिति पनि थपिएको छ । समितिले आगामी आर्थिक वर्षको लागि अर्थमन्त्रालयलाई दिएको बजेट सुझावमा उद्योग तथा कम्पनीहरुको सिइओको तबल बढी भएकोले उत्पादित बस्तु तथा सेवाको लागत बढी भएको र यसलाई कम गर्न सिइओको तलब भत्ता घटाउनु पर्ने सुझाव दिएको छ ।

अर्थसमितिको बैठकमै यसबारेमा प्रश्न उठेको थियो । बजेट अघि भएको छलफलमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले नेपाली बैंकर्सको तलब बढी भएको हो कि होइन भनेर अध्ययन भएपछि एउटा निष्कर्षमा पुग्न सकिने बताएका थिए । यद्यपि समितिले तलब कम गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

बैंक संचालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघले पनि सिइओको तलब घटाउने व्यवस्था मिलाउन अनौपचारिक लबिङ नै गरेको छ । परिसंघले अर्थमन्त्री डा. युवराज खतिवडा तथा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सिइओको तलब घटाउने व्यवस्था मिलाउन अनुरोध गरेको थियो ।

‘व्याज घटाएर ऋणीलाई राहत दिऊँ भन्दा बैंकका सिइओहरु तयार भएनन्, ऋणीलाई राहत दिदा बैंकको नाफा कम हुन्छ, नाफा कम भएपछि सिइओ सहित उच्च व्यवस्थापन तहका कर्मचारीको बोनस घट्छ भनेर उनीहरु तयार नभएका हुन्, नाफा घट्न नदिने भनेको खर्च कटौति गरेर पनि हो, उच्च व्यवस्थापन तहका व्यक्तिहरुका आर्थिक सुविधा कम गर्ने हो भने ठूलो परिमाणमा खर्च कटौति हुने भएकोले हामीले अर्थमन्त्रीज्यू र गभर्नरज्यूहरुसँगको भेटमा अनौपचारिक रुपमा यो राखेका छौं,’ एक वाणिज्य बैंकको संचालक समितिका अध्यक्षले भने ।

कति कमाउँछन् सिइओ ?

स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालका सिइओले गत आर्थिक वर्षमा ३ करोड ९० लाख रुपैयाँभन्दा बढी रकम बुझेका छन् । उनले पाएको यो रकम तलब, भत्ता तथा बैंकको नाफाबाट पाएको बोनस समेत हो ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकका सिइओले ३ करोड ६ लाख, बैंक अफ काठमाडौंका सिइओले २ करोड ३२ लाख, प्रभु बैंकका सिइओले २ करोड २९ लाख, एनआइसी एसिया बैंकका सिइओले २ करोड १३ लाख रुपैयाँ तलब भत्ता तथा बोनस बुझेका थिए । निजी क्षेत्रका बाणिज्य बैंकमा सबैभन्दा कम रकम बुझ्ने प्राइम कमर्सियल बैंकका सिइओले नै एक वर्षमा १ करोड ९ लाख रुपैयाँ बुझेका थिए ।

बैंकका सीईओको तलबमा अब संसदीय समितिको पनि नजर, सभापति भन्छन्ः यो ठीक भएन

Share News