
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीको एउटा अदालतमा २ अर्ब १० करोड रुपैयाँ बराबरको मुद्दा जितेको छ । तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंककाे उक्त रकम फसेको थियो ।
‘इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेको छ । ३/४ दिनमा नै २ अर्ब १० करोड रुपैयाँ फिर्ता आउने छ’ नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले विकासन्युजसँग भने–‘पहिला एक जना न्यायधिश रहने एकल इजलासले हाम्रो विपक्षमा फैसला गरेको थियो । हामीले उक्त फैसलामा पुनरावलाेकनको लागि अपिल गरेका थियौं । अहिले ३ जना न्यायधिशको पूर्ण इजलासले बैंकको पक्षमा फैसला गरेको छ ।
८५ करोड १४ लाख १६ हजार १२७ रुपैयाँ नेपाली र ८७ लाख ४९ हजार २३९ यूरो गरी कुल २ अर्ब १० करोड रुपैयाँको मुद्दा जितेसँगै बैंकको नाफामा वृद्धि देखिने भएको छ । यसघि मुद्दा हार्दा राष्ट बैंककाे निर्देशन अनुसार बैंकले उक्त रकम प्रोभिजन गर्नु परेको थियो ।
बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो । उक्त कम्पनीले बीचैमा काम छाेडेर हिँडेपछि लेनदेनकाे विवाद अदालतसम्म पुगेकाे थियाे ।