जटिल अवस्थामा अस्पताल भर्ना भएका युवक कोरोना जितेर घर फर्किए
बुटवल । बुटवलस्थित कोरोना विशेष अस्पतालको सघन उपचार कक्षको भेन्टिलेटरमा यही जेठ १४ गते जटिल अवस्थामा भर्ना भएका कोरोना सङ्क्रमित एक युवा निको भएर आज घर फर्किएका छन् । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको स्थानीय धागो कारखानामा स्थापना गरिएको कोरोना विशेष अस्पतालमा भर्ना भएका कपिलवस्तुस्थित कपिलवस्तु नगरपालिका–१२ बिठुवाका २२ वर्षे युवा बालगोपाल कोहारलाई आज डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिए । भारतको मुम्बईमा विगत पाँच वर्षदेखि पेन्टरको काम गर्दै आएका कोहार जेठको पहिलोसाता स्वदेश फर्किएका थिए । उनी विगत लामो समयदेखि मधुमेहको बिरामी हुनुहुन्छ । घर आएको केही दिनमै स्वास्थ्यमा समस्या देखिएपछि जिल्लास्थित तौलिहवा अस्पतालमा स्वास्थ्य जाचका लागि यही जेठ ७ गते पुगकामा अर्को दिन कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । जेठ १२ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि स्थानीय क्वारेन्टिनमै राख्दा स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई बुटवलस्थित कोरोना विशेष अस्पतालमा ल्याइएको हो । “अस्पतालमा ल्याउँदा त सुगरको मात्रा उच्च रहेको र अवस्था सारै जटित थियो, हाम्रो स्वास्थ्यकर्मीको टिमले ठूलै प्रयास गरेर भेन्टिलेटरमा राखेर बचाउन सफल भयौँ”, डा खनालले भने, “कोरोना सङ्क्रमितको यति जटिल अवस्थाको बिरामी निको भएको सायदै नेपालमा पहिलो हो ।” कोरोना विशेष अस्पतालका फोकल पर्सन वरिष्ठ फिजिसियन डा सुदर्शन थापाले उनमा मधुमेहको मात्रा उच्च रहेको अवस्थामा कोरोना पोजेटिभ हुँदा स्वासप्रस्वासमै जटिल समस्या देखिएपछि दुई दिनसम्म भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको बताए । स्वास्थ्यमा केही सुधार आएपछि मात्र आइसियूमा सारिएको थियो । अस्पतालमा १६ दिनसम्मको उपचारमा सुगरको मात्रा स्थिर भएपछि लगातार दुई पटकको पिसिआर परीक्षणमा कोरोना नेगेटिभ आएपछि आज डिस्चार्ज गरिएको मेसु खनालले बताए । अस्पतालबाट निको भएर बिदाइ हुँदा बिरामी कोहारले आफूले नयाँ जीवन पाएको भन्दै स्वास्थ्यकर्मीलाई आभार व्यक्त गरे । उनलाई अस्पतालका मेसु खनाल, फोकल पर्सन डा थापालगायत उपचारमा संलग्न स्वास्थ्यकर्मीले फूलका गुच्छा र खादा लगाएर बिदाइ गर्नुभएको थियो । त्यस अवसरमा स्वास्थ्यकर्मीले अझै पनि स्वास्थ्य अवस्थामा ख्याल राख्न सुझाव दिए । कोरोना नेगेटिभ भएपछि मधुमेहका बिरामीलाई अरुबाट पुनः सङ्क्रमणको खतरा हुनसक्ने भएकाले स्वास्थ्यमा ध्यान दिन सुझाव दिएका थिए । रासस
संविधान संशोधनमा एकताबद्ध हाैं, काेराेनाकाे खर्च छिट्टै सार्वजनिक गर्छाैं- उपप्रधानमन्त्री
काठमाडौं । उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गरेका छन् । आज विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी आन्दोलन गरेकाहरुलाई अहिलेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गर्दै उनले शनिबार संसद्बाट संविधान संशोधन हुन लागेकाले त्यसमा एकताबद्ध हुन आग्रह गरे । “लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्बित गर्ने गरी प्रतिनिधिसभाले भोलि गर्ने संविधान संशोधनसम्बन्धी निर्णय नेपालको इतिहासको एउटा महत्वपूर्ण क्षण हो”, विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको यस विशेष दिनलाई हार्दिकरुपमा स्वागत गर्न र सिङ्गो राष्ट्र यस विषयमा एक रहेको यथार्थलाई पुनःपुष्टि गर्न हामी सबै दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछौँ ।” उनले आफ्ना माग राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र सबै कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गरेका छन् । “लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र सङ्क्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो”, उनले विज्ञप्तिमा भनेका छन्, “थोरै पनि असावधानीले सङ्क्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन सम्बद्ध सबैमा आह्वान गर्दछौँ ।” कोभिड –१९ सङ्क्रमण तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलले विश्वका विभिन्न राष्ट्रजस्तै नेपालले पनि यतिबेला कोरोना महामारीका विरुद्ध कठिन सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सरकारको योजना र नागरिकको साथ सहयोगबाट हालसम्म सरकारले कोरोना सङ्क्रमणलाई धेरै हदसम्म प्रभावकारी नियन्त्रण गरिरहे पनि केही समययता सङ्क्रमण बढ्दै गइरहेको र आगामी दिनमा यसमा थप वृद्धि हुने जोखिम देखिएको बताएका छन् । “जोखिमको यो विशेष स्थितिलाई ध्यानमा राख्दै विज्ञ, सार्वजनिक सञ्चारमाध्यम र आम नागरिकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राख्दै कोरोना महामारीविरुद्धको योजनालाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको छ”, विज्ञप्तिमा भनिएको छ । खर्च छिट्टै सार्वजनिक गरिने उनले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारका लागि भएको खर्च छिट्टै सार्वजनिक गरिने बताए । नेपाल सरकारका तर्फबाट विभिन्न शीर्षकमा निकासा भएको र प्रदेश सरकार र स्थानीय तहले पनि आफ्ना कोषबाट कोरोनाविरुद्ध खर्च गरेको उल्लेख गर्दै उनले सरकारबाट यसको समग्र फाँटबारी छिट्टै सार्वजनिक हुने जानकारी दिए । हाल नेपालले गरिरहेको पिसिआर टेष्ट दक्षिण एशियाका धेरै मुलुकको भन्दा अधिक भए पनि सरकारले पिसिआर टेष्टको दायरा थप बढाउने निर्णय गरिसकेको उल्लेख गर्दै उनले एक महिना यता विदेशबाट भित्रिने नेपालीको सङ्ख्या ह्वात्तै बढेर क्वारेन्टिनको व्यवस्थापनमा केही समस्या देखिए पनि तिनको निरन्तर सुधार गर्दै जान सरकार प्रतिबद्ध रहेको बताए ।
कोरोना र विश्व : हिजो, आज र भोलि
पहिले पनि यसरी विभिन्न रोग, प्राकृतिक प्रकोप एवं मानव निर्मित समस्याले दुःख दिइनै राखेको हो तर समाजले अहिले एउटा भिन्न खालको चुनौती झेली रहेको छ । पहिले झेलिरहेको समस्या त छँदैछ त्यसमाथि यस्तो आपत बिपतमा आफ्नै समाज, साथीभाइ अनि परिवार भित्रै पनि दुरी कायम गर्नु पर्ने अवस्था आएको छ । तर दुःखी भैहाल्नु पर्ने भने पक्कै होइन । यसले केवल केहि समयको लागि एक अर्काबीच भाैतिक दूरी मात्र सिर्जना गरेको हो, मनबीच होइन। कोरोनाको कारणले विश्वभरिअप्रिल १७, २०२० सम्ममा झण्डै २२ लाखभन्दा बढी संक्रमित छन् भने करिब डेढ लाख भन्दा बढीले ज्यान गुमाइसकेका छन् । अवस्था अझै नाजुक छ । औषधि उपचारको समाधान उपाय अहिलेसम्म फेला परिरहेका छैनन् । संसार कै धनी अनि शक्तिशाली मानिएका अमेरिका, रसिया, चीन, फ्रान्स, जर्मनी जस्ता देशहरुलाई समेत आत्थुआत्थु पारेको छ । नेपालमै पनि अहिलेसम्म महामारीको रुप नलिएको भए पनि हाम्रा साना साना हेलचक्राईले कुन बेला कुन बिपत ल्याउने हो टुंगो छैन । त्यसैले देश तथा विदेश सबै संचार माध्यमले बारम्बार सावधानी अपनाउन संदेश दिईरहेका छन्। संसार भरिनै यस महामारीले धेरै असर पारेको छ। सायद कमै मात्र त्यस्तो क्षेत्र होला जहाँ असर पारेको छैन । केवल नकारात्मक असर मात्र छैनन् । बारम्बार साबुन पानीले हात सफा गर्ने, हाच्छिउ गर्दा एवं खोक्दा सुरक्षित रुपमा मुख छोप्ने अनि सामाजिक दुरी कायम गर्ने कोरोनाबाट बच्ने सरल एवं उत्तम उपाय हो । यही बच्ने र बचाउने क्रियाकलाप बीचमै धेरै कुराहरु जन्मिएका छन्, केहि राम्रा अनि केहि नराम्रा । केहिले चुनौती दिएका छन् भने केहिले अवसर पनि। कोरोना र अर्थतन्त्रलाई नियाल्ने हो भने कोरोना पछिको आर्थिक स्थिति दोस्रो विश्वयुद्ध पछिकै सबैभन्दा भयावह स्थिति बन्ने पक्कापक्की छ। लकडाउनका कारणले सामान्य महामारी भन्दा अहिलेको यस कोरोना महामारीले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय अर्थतन्त्रमा बढी मार पारिरहेको छ। उद्याेग, कलकारखाना एवं अन्य व्यवसायहरु दिनानुदिन ठप्प लेखक भैरहेका छन् । अर्थतन्त्रमा मुख्य भूमिका खेल्ने वित्तीय बजार, बैंकिंङ कारोबार, उत्पादन व्यवसाय, पर्यटन क्षेत्र, होटल व्यवसायमा असर परेको छ । यति मात्र नभएर मनोरञ्जन क्षेत्र, चलचित्र व्यवसाय, प्रकाशन व्यवसायमा समेत निकै असर परेको देखिन्छ । व्यवसायिक हिसाबले चलचित्र व्यवसायलाई समेत महत्वपूर्ण मानिन्छ तर कोरोनाले गर्दा यो क्षेत्र ठप्प छ । ईरान, जोर्डन, मोरोक्को, वोमन, यमन जस्ता देशहरुले आफ्ना दैनिक प्रकाशित हुने पत्रपत्रिका बन्द गरेका छन् । व्यवसाय कमजोर हुनु वा खस्किदै जानुको अर्को प्रतक्ष्य असर पर्छ रोजगारीमा । नेपाली अधिकांश सम्भावना बोकेका जनशक्तिले देश भन्दा बाहिर पसिना बगाईरहेको अवस्था छ । रेमिटान्सले हाम्रो देशको बजेटमा राम्रै भूमिका निर्वाह गरेको छ। केवल कमजोर देश मात्र होइन, अर्थतन्त्र बलियै मानिएका देश समेत यति बेला यस संकटको मारमा परिरहेका छन् । संयुक्त राज्य अमेरिकामा समेत अहिले सम्मकै सबैभन्दा बढी बेरोजगारी बढेको तथ्यांक विशेषज्ञहरुले बताइरहेका छन् । नेपाली आर्थिक अवस्थालाई नियाल्ने हो भने पनि अवस्था नाजुक नै छ । यो वर्ष २०२० मा पर्यटन व्यवसायबाट आर्थिक रुपमा केहि राहत मिल्ने आशा राखिएको थियो तर त्यो सफल हुन सकेन । अङ्ग्रेजी नयाँ वर्षको शुरुवातसँगै कोरोनाको महामारीले पर्यटन र होटेल व्यवसाय ठप्प भयो । त्यसैगरि अत्यावश्यक बाहेक अन्य उद्धोग व्यवसाय पनि चल्ने अवस्था रहेन । कोरोनाले विश्वव्यापी रुपमा सामाजिक एवं राजनीतिक अवस्थालाई पनि प्रष्ट पारिदिएको छ । यस समयमा सरकार, विभिन्न निकाय अनि जनताको भूमिका के कस्तो हुने भन्ने विषय महत्वपुर्ण छ । सबै देशहरुलाई नियाल्दै जाने हो भने तिनै फरक तहको फरक फरक अवस्था देख्न सकिन्छ । चीनको वुहान सहर, जहाँबाट कोरोनाको सुरुवात भएको मानिन्छ । चीनले सुरुको अवस्थामा आफ्नो नियन्त्रण गुमाए पनि, बिस्तारै यसरी नियन्त्रण गर्यो कि चीन अहिले उदाहरणीय बनेको छ । त्यस्तै, केहि देश जस्तै हाम्रै नेपालमा भने नियन्त्रणको प्रयासमा अपरिपक्वता देखिएको छ । सरकारी तहबाटै निर्णय क्षण क्षणमा परिवर्तन भैरहेका छन्, एकतर्फ सरकारको निर्णयबाट खुशी हुनु पर्ने अवस्था छ भने अर्कोतर्फ जनताको मर्म बुझ्दै नबुझी निर्णय गरेकोमा गुनासो पनि । तर जे जस्तो भएपनि सरकारले जनताको मर्मलाई चोट नपुर्याउने आश्वसन दिइरहेको छ । केहि धैर्य र संयम जनता आफै पनि हुनु पर्ने जरुरी छ । अर्को आलोचना बनेको राजनीतिक विषय हो संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको, प्राय जस्तो सबै देशले महामारीको रोकथाम गर्न लकडाउन घोषणा गरिरहेका बेला चीनको लकडाउनको सुझाब ट्रम्पले स्वीकार नगर्ने निर्णय गरे । सायद आफु र आफ्नो राष्ट्रप्रतिको विश्वासले गर्दा होला तर त्यो विश्वास धेरै बेर अडिन सकेन । केहि समयपछि अमेरिकामा पनि कोरोनाको महामारी फैलियो, त्यसपछी भने नियन्त्रणका प्रयास सुरु भए । त्यती मात्र नभई विश्व स्वास्थ्य संगठनले महामारी फैलिएका देशलाई मनोबल बढाउन सहयोग गर्न अनुरोध गरिरहेका बेला ट्रम्पले भने चीन प्रति नकारात्मक टिप्पणी गरिरहे । जसका कारण उनीहरुको राजनीतिक सम्बन्ध अझ चिस्सिएको छ । यी बाहेक अन्य राष्ट्रमा समेत एक अर्का देशबीच सम्बन्ध बनाउने र बिगार्नेमा कोरोनाले छुट्टाछुट्टै भूमिका खेलेको देखिरहेको छ । गाउँघरमा छिमेकीलाई दुःख पर्दा एउटा सानो सहयोग गर्नाले पहिलेदेखि चिस्सीएको सम्बन्ध सुध्रिए जसरि यस समयमा एक अर्का देशबीच चिस्सिएको सम्बन्ध सुधार्ने अवसर पनि बनेको छ । केवल नकारात्मक टिप्पणी र समस्यामै अल्झी राख्नु कोरोना महामारीको समाधान पक्कै होईन । यही समस्याकैबीच पनि केहि राम्रा अवसरहरु देखिएका छन् । जसरी सबै क्षेत्रमा धेरै नराम्रा असर परिरहेका छन्, त्यसरी नै केहि सकारात्मक तथा भविष्यमा अवसर सिर्जना भैरहेका छन् । कोरोना पछिको वातावरण नियाल्ने हो भने यसले केहि सान्त्वना दिने निश्चित छ । विश्व वातावरण हेर्ने हो भने नासा अनि युरोपियन स्पेस एजेन्सीका स्याटेलाईटले देखाएको रिपोर्ट अनुसार विश्वकै वातावरण प्रदुषणमा सुधार आएको छ । चीनकै वायु प्रदुषणको अवस्था हेर्ने हो भने पनि भारी मात्रामा सुधार देखिएको छ। यातायातका साधनको प्रयोग, पावर प्लान्ट र अन्य औद्योगिक प्रक्रियाहरूबाट बन्ने नाइट्रोजन डाइऑक्साइड अहिले लकडाउन पछि निकै कम देखिएको छ । त्यसैगरी, कोरोना भाईरस पछि वातावरणमा अर्को नसोचेको परिवर्तन ईटालीको भेनिसमा देखिएको छ। भेनिसका नहरका पानी अहिलेसम्मकै याद रहेको मध्ये सबैभन्दा स्वच्छ देखिएको छ। विश्व वातावरण प्रदुषणमा सुधार आएको छ । यातायातका साधनको प्रयोग, पावर प्लान्ट र अन्य औद्योगिक प्रक्रियाहरूबाट बन्ने नाइट्रोजन डाइऑक्साइड अहिले लकडाउन पछि निकै कम देखिएको छ । त्यसैगरी, कोरोना भाईरस पछि वातावरणमा अर्को नसोचेको परिवर्तन ईटालीको भेनिसमा देखिएको छ। भेनिसका नहरका पानी अहिलेसम्मकै याद रहेको मध्ये सबैभन्दा स्वच्छ देखिएको छ। विश्वका धेरै व्यक्तिहरू स्वैच्छिक वा आधिकारिक आदेशद्वारा सेल्फ आईशोलेशनमा भएका बेला, चीन बाहिरका केही प्रमुख शहरहरूमा पनि हावाको गुणस्तर सुधार भएको देखिन्छ, जसमध्ये एक उदाहरण हो, न्युयोर्क । वातावरणमा भएको अर्को रोचक र महत्वपूर्ण प्रभाव भनेको हवाई यात्राको कमीका कारण देखिएको छ । युरोप जस्ता ठाउँहरूमा हवाई यातायातले कामकाजमा गम्भीर असर गरेपनि वातावरणमा भने सुधार भएको छ । केही विज्ञहरूले दावी गरिरहेका छन् कि कोरोना महामारीको कारणले पेरिसको जलवायु सम्झौताको लक्ष्यहरू प्राप्त गर्न सक्षम हुनेछन् । हाम्रै देशको कुरा गर्ने हो भने पनि उद्याेग, कलकारखाना एवं यातायातको कम खपतका कारण काठमाडौं लगायत अन्य मुख्य सहरको वातावरण स्वच्छ तथा सुन्दर बन्दै गएको छ । तसर्थ सबै आंकलन हेर्दा वातावरणमा आएका परिवर्तनले मानिस एवं सम्पूर्ण जीवजनावरको दैनिक जीवनशैलीमा समेत सुधार भएको छ। अहिलेको समयको शिक्षालाई नियाल्ने हो भने पनि राम्रा र नराम्रा दुवै पक्ष छन् । सबै स्कुल कलेजहरु ठप्प भएका छन्, भोलि एसइइ (कक्षा १०) को परीक्षा दिने भनेर तम्तयार भएर बसेका विद्यार्थीदेखि नजिकिँदै गरेको परिक्षाको लागि तयार भएर बसेका विद्यार्थी समेत अनिश्चित बन्दका कारण अन्योलमा छन् । यही अवस्था हो भने लगभग सबै विद्यार्थीहरुको भविष्य दोधारमा पर्ने छ, तर प्रविधिको प्रयोगले केहि राहत दिएको छ । केहि शैक्षिक संघसंस्थाले प्रबिधिको सहयोगले आफ्नो दैनिक कक्षा सञ्चालनको सुरुवात गरेका छन्, सुरुवाती चरण भएका कारण कक्षा एवं बैठक संचालनमा विभिन्न समस्या त छँदैछन् तर सुरुवात र प्रयास गर्नु नै भविष्यको लागि राम्रो नतिजा देखिन सक्छ । शिक्षा र दैनिक जीवनको विकाशमा विकशित राष्ट्रले प्रविधिको प्रयोग बढाईरहेका नै थिए । हाम्रो जस्तो विकाशील राष्ट्रको लागि यसको प्रयोग र महत्व बुझ्न अझ केहि समय लाग्ने देखिन्थ्यो तर अहिलेको परिस्थितिले यसको महत्व र प्रयोगलाई नजिक ल्याईदिएको छ । प्रविधिको प्रयोग जस्तै भिडियो/अडियो कल एवं सामुहिक कल, इमेल, सूचना आदानप्रदान र विभिन्न संचारमाध्यमको सहयोगले यस समयमा निकै सहयोग पुर्याइरहेको छ । यहि माध्यमका कारण सरकारका आन्तरिक साथै वैदेशिक कार्यहरु पनि संचालन भैरहेका छन् । जसबाट पनि यसको राम्रो प्रभाव परेको भन्न सकिन्छ । वर्तमान समस्याको समाधान संगसंगै अब निकट भविष्यमा हामीलाई पर्न सक्ने असरबारे सजग र तयार हुन जरुरी छ । यस लकडाउनमा मात्र नभई अरुबेला पनि यस्तो समयको सहि सदुपयोग गर्नु चुनौती र अवसर दुवै हो । यसमा कुनै शंका छैन कि घरमा बसिरहन गाह्रो छ, यसो गरिरहँदा धेरै व्यक्तिहरु अल्छी र लक्ष्यहीन भएको गुनासो गर्दछन् । कसैलाई त लाग्न सक्छ कि लकडाउन उनीहरूको व्यक्तिगत अधिकारको उल्लंघन गर्नको लागि बनाइएको हो । तर यस्तो बेला कुनैपनि व्यक्तिले आफ्नो केहि स्वतन्त्रताको अधिकार त्याग गर्न तयार हुनुपर्दछ । व्यक्तिगत अधिकार र सार्वजनिक सुरक्षाबीच सन्तुलन एक परिवर्तनशील चीज हो । तसर्थ आज यसको जरुरि परेको छ, सधै हुन्छ भन्ने छैन। सामान्य सरसफाइ सधैं महत्त्वपूर्ण हुन्छ, केवल भाइरस भएको बेला मात्र होईन । तसर्थ यस समयमा साबुनपानीले बारम्बार २० सेकेन्डको लागि मिचीमिची हात सफा गर्नु, समय समयमा मुख कुल्ला गर्नु, सफा र सुख्खा तौलियाको प्रयोग गर्नु, अनावश्यक भिडभाड र अरुसँगको दुरी कम्तिमा ३ फिट कायम गर्नु जस्ता उपाय आफु तथा अरुलाई सुरक्षित राख्नको लागि उत्तम तरिका हो । यस समयमा धेरै व्यक्तिहरूले थाहा पाए कि उनीहरूको काम घरबाट सम्भव छ । अब एक पटक भाइरसको महामारी समाप्त भएपछि पनि आवश्यक पर्दा घरबाटै काम गर्ने बारेमा सबैले आफ्नो मालिक अथवा कम्पनीसँग कुराकानी गर्न तयार हुनेछन् किनकि धेरै जसो रोजगारको निश्चित मात्रामा काम हुन्छ जुन टाढा टाढा बसेर पनि गर्न सकिन्छ । त्यसैगरी, यदि तपाईं बिरामी महसुस गर्दै हुनुहुन्छ भने, घरमै बसेर पनि काम गर्न सक्नु हुनेछ । हुन त धेरै व्यक्तिलाई उनीहरूको अफिसको वातावरणले बिरामी बिदा लिन प्रोत्साहित गर्दैन जस्तो लाग्छ । अनि केहि व्यक्तिहरू आफ्ना बोसहरूलाई झुटो भ्रम देखा पार्न चाहन्छन् कि “हेर, म बिरामी छु, तैपनि म काममा आएँ। हेर म कडा परिश्रम गर्ने मान्छे हुँ ।” यो मानसिकता रोक्न आवश्यक छ । यदि तपाई बिरामी हुनुहुन्छ भने, घरमै बस्नुहोस्। त्यसैगरि यस समयमा इन्टरनेट पहुँच सबैको अधिकार, वातावारण प्रदुषण रोकथाममा मानिसको भूमिका, शिक्षा तथा सूचना आदानप्रदानमा प्रविधिको प्रयोग, स्वास्थ्य क्षेत्रको पर्याप्त मात्रामा लगानी र विकासको महत्व प्रष्ट पारिदिएको छ । पहिले स्वास्थ्य क्षेत्र महत्वपूर्ण छ भन्ने थाहा हुँदाहुँदै पनि यसको व्यवस्थापनमा खासै ध्यान दिईएको थिएन तर अब जरुरि छ । राजनीतिक हिसाबमा पनि देश र जनताबीचको सम्बन्ध सुमधुर राख्नुपर्ने जरुरी देखिएको छ। केवल आफ्ना देशमा मात्र नभई आपत बिपतका बेला एक अर्का देशलाई समेत सहयोगको भावना राख्नुपर्ने देखिन्छ। तसर्थ यस कठिन समयमा सचेत भै समाधानका उपाय अपनाई आफू पनि बचौं, अरुलाई पनि बच्न सहयोग गरौं । घरमै बसौं, सुरक्षित रहौं ।
शिक्षक सक्रिय भए वैकल्पिक सिकाइ प्रभावकारी हुने
काठमाडौं । शिक्षक सक्रिय भएका विद्यालय खुल्न नसकेको अवस्थामा पनि अनलाइन र दूरशिक्षाका माध्यमबाट प्रभावकारीरुपमा सिकाइ निरन्तरता हुने औँल्याइएको छ । लू निभाः बाल सरोकार समूहको आयोजनामा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरणका लागि शिक्षक परामर्श’ विषयक आज आयोजित अनलाइन छलफलमा विज्ञ तथा शिक्षाकर्मीले कोभिड–१९ को विषमस्थितिमा शिक्षकको भूमिका महत्वपूर्ण बताएका हुन् । छलफलमा शिक्षाविद् डा विद्यानाथ कोइरालाले महामारीले चुनौती र अवसर सिर्जजा गरेको जनाउँदै शिक्षकले सरकार वा माथिको आदेश पर्खनुभन्दा स्थानीय सूचना प्रविधि र स्रोत सामग्रीको उपयोग गरी वैकल्पिक शिक्षण गर्नसक्ने बताए । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी दिव्या दवाडीले सरकारले हालै ल्याएको वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका २०७७ ले सूचना प्रविधिमा पहुँच भएका र नभएका विद्यार्थीको समूह वर्गीकरण गरी उनीहरुको अनुकूलताअनुसार सिकाइ निरन्तरता दिन शिक्षकले काम गर्नुपर्ने बताए । संवादमा ललितपुरको महानगरपालिका र गोदावरी नगरपालिका, डडेल्धुराको अजगमेरु र गनन्याधुरा गाउँपालिका तथा दक्षिण ललितपुरका महाँकाल र वाग्मती गाउँपालिकाका प्रधानाध्यापक, शिक्षकलगायतको सहभागिता थियो । लू निभाः का कार्यकारी निर्देशक नरेन्द्र डङ्गोलले वैकल्पिक सिकाइको निरन्तरताका लागि सहजीकरण गरिएको जनाए । रासस
एसईईका सबै विद्यार्थीलाई ‘ए प्लस’ दिन दवाव !
काठमाडौं । सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने निर्णय गरेसँगै निजी विद्यालयले कसरी विद्यार्थीहरुर्लाइ नम्बर दिने भन्ने पनि दबाव परेको छ । सरकारले आन्तरिक मुल्याकंनका आधारमा एसइईको ग्रेडसिट दिन भनेर निर्देशन दिए पनि निजी विद्यालयमा भने अर्कै प्रकारको चलखेल सुरु भएको छ। अहिले निजी विद्यालयका अभिभावकहरुले निजी विद्यालयहरुलाई सबैलाई ए प्ल दिन भनेर दवाव दिने कुरा बाहिरिएकाे छ । सरकारले आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेडसिट दिने निर्णय गरेपनि अभिभावकले भने सबैलाई ए प्लस दिन भनेर दबाब सुरु गरेका हुन् । परीक्षाको मानसिक तनावमा रहेका विद्यार्थीलाई आन्तरिक मूल्यांकनबाट ग्रेडसिट दिने निर्णयले राहत भएको छ । तर, विद्यार्थीको क्षमताअनुसार आन्तरिक मूल्यांकन सही नभएमा राम्रा विद्यार्थीलाई भने असर पक्कै पर्नेछ। यसरी सही मूल्यांकन नभए पौने पाँच लाख विद्यार्थीको उच्च शिक्षा र विषय छनोटमा प्रभाव पर्ने पनि देखिन्छ । सरकारको निर्णय सञ्चारमाध्यममार्फत जानकारी पाएपछि निजी विद्यालयका अभिभावकले विद्यालय सञ्चालक र शिक्षकलाई दबाब दिन थालेको खुलेको हो । स्रोतका अनुसार सरकारले यो निर्णय गरेसँगै विद्यार्थीलाई ए प्लस दिनुपर्छ भन्ने दवाव आइरहेको छ । नम्बर कसरी दिने भन्ने समस्या नियमित विद्यार्थी भन्दा पनि आशिंक विद्यार्थीहरुको लागि झन बढी छ। नियमित विद्यालयमा नआउने उनीहरुको मुल्याकंन कुन आधारमा हुन्छ भन्ने विषय पनि अनिश्चित नै छ । नियमिततर्फका विद्यार्थीको शैक्षिक संस्थाले आन्तरिक परीक्षा लिएको र उनीहरूको रेकर्ड हुने सम्भावना भए पनि आशिंक विद्यार्थीको भने त्यो कुनै रेकर्ड हुँदैन । यसले पनि चलखेल बढ्न सक्ने सम्भावना छ ।
लकडाउनमा पनि नियमित सेवामा नेपाल सिपिङ्ग
काठमाडौं । नेपालको एक मात्र सामुन्द्रिक कार्गो ढुवानी गर्ने कम्पनी नेपाल सिपिङ्ग लाइन्सले कोरोना महामारी र लकडाउनको बीचमा पनि सेवा प्रवाह गरिरहेको जनाएको छ । नेपालको राष्ट्रिय झण्डा अंकित आप्mनै नेपाली कन्टेनरमा समुद्रपारबाट सामान आयात गर्न सक्रिय यस कम्पनीले विभिन्न मुलुकका बन्दरगाहहरुमा नेपाल सिपिङ लाइन्सका हजारौं कन्टेनरहरु अहिले ढुवानी सेवा दिइरहेको कम्पनीको सूचना अधिकारी भावना बलायरले बताइन् । उनको अनुसार कम्पनीले ८०० वटा आफ्नै कन्टेरबाट र १२०० भन्दा बढी कन्टेर आउटसोर्सिङ गरी सेवा प्रदान गर्दै आएको छ । निर्यात कार्गोका लागि विरगंजमा सयौं कन्टेनरहरु स्टकमा राखिएको छ । भारत र अन्य तेस्रो मुलुकबाट सामान आयात गर्न अहिलेको लकडाउनका बेला कठिनाइ उत्पन्न हुनसक्ने सम्भावनालाई ध्यानमा राखी छिटो छरितो रुपमा सामग्री आयत गर्न नेपाल सिपिङ लाइन्सले आप्mनो सेवालाई अझ प्रभावकारी बनाउने काम गरिरहेको उनले बताइन । कोरोना महामारीस“ग जुध्नका लागि आवश्यक पर्ने खाद्यान्न, औषधि र स्वास्थ्य सुरक्षाजन्य सामग्रीको आयात छिटो छरितो गर्न जरुरी छ । त्यसो हुन नसकेकमा मुलुकमा भयावह स्थिति सिर्जना नहोला भन्न सकिन्न । त्यसैले नेपालको पहिलो र एक मात्र सिपिङ कम्पनीको नाताले जिम्मेवारी पूर्वक सिपिङ लाइन्सले छिटो, छरितो र विश्वसनीय रुपमा सामान आयातका लागि सेवा सुचारु राखेको उनले बताइन् । ‘हामीले लकडाउन भएपछि पनि सेवा बन्द गरेका थिएनौं । अहिलेको विषम अवस्थामा थप प्रभावकारी सेवा दिइरहेको छौं’ उनले विकासन्युजस“ग भनिन् । त्यस्तै निर्यात गर्दा जुनसुकै समयमा पनि कन्टेनरहरु उपलब्ध हुनेभएकाले नेपालका निर्यातकर्ताहरुको समयको बचतका साथै कम ढुवानीदरमा झन्झटरहित निर्यात सम्भव भएको उनले बताए । ‘हाम्रो सेवाले निर्यात प्रबद्र्धनमा सहयोग पुगेको छ । विदेशी मुद्रा पलायनमा पनि कमी आएको छ’ उनले भनिन् । नेपाल सिपिङ्ग लाईन्सको सेवा लिंदा अग्रिम भुक्तानी गर्नुपर्ने झन्झटबाट पनि नेपाली आयातकर्ताहरु मुक्त हुनेछन् । साथै विदेशी मुद्रामा भुक्तानी गर्नु पर्ने झन्झट समेत रहने छैन । नेपाल सिपिङ लाइन्सको लक्ष्य गुणस्तरीय सेवा, प्रतिस्पर्धी ढुवानी दर रेट र कमभन्दा कम ट्रान्जिट समयमा सामान ढुवानी गर्नु हो । जसले गर्दा आयतकर्ताहरुको डिटेन्सन तथा अन्य सम्भावित खर्चमा समेत कमी आउनेछ । त्यसमाथि, आयातकर्ताहरुलाई डेलिभरी अर्डर पनि नेपालमै दिने व्यवस्था गरिएको उनको भनाई छ । डेढ वर्षअघि सञ्चालनमा आएको यो कम्पनीको प्रवद्र्धक प्रभु समूह हो । नेपाल सरकारको सुखी नेपाली र समृद्ध नेपालको चाहाना पूरा गर्न आवश्यकता अनुसार कन्टेनरहरुबाट ढुवानी सेवा संचालन भएको र संकटको बेलामा पनि नियमित सेवा दिन सकेको कम्पनीको अध्यक्ष देवीप्रकाश भट्टचनले बताए । ‘यसरी नेपाल सिपिङ्ग लाईन्सले अर्थतन्त्रमा ठूलो योगदान पुर्याउनेछ । निकट भविष्यमा नै नेपालको आफ्नै जलमार्ग कोशी तथा गण्डक क्षेत्रमा नेपाली पानीजहाजबाट सेवा विस्तार गर्न सोचमा छौं’ भट्टचनले भने । कुल गृहस्थ उत्पादनको ५५ प्रतिशत विदेशसँग सम्बन्धित आयत–निर्यातमा निर्भर रहेकोमा ९९ प्रतिशत आयात तथा निर्यात विदेशी सिपिङ्ग तथा ढुवानी कम्पनीहरुमा निर्भर रहेको हुँदा नेपाली कम्पनीहरुलाई पनि यस्ता व्यवसायहरुमा संलग्न गराउनका साथै नेपाललाई पनि समुद्रसँग पहुँच भएको राष्ट्रको रुपमा विकास गर्ने सरकारको भिजनमा सहयोग गर्ने कम्पनी भनाई छ । कलकत्ता र विषखापटममा कन्टेनर सेवा दिईरहेको यो कम्पनीले युरोप, अष्ट्रलिया, अमेरिकासम्म सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
२ सिफ्टमा बैंक खोल्ने सरकारी निर्णयकाे विपक्षमा बैंकर्स, राष्ट्र बैंकमा पुग्याे लविङ
काठमाडौं । सरकारले सरकारी तथा निजी क्षेत्रका सबै कार्यालय विहान ८ बजेदेखि साँझ ६ बजेसम्म गरी दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको छ । विहान ८ बजेदेखि दिउँसो १ बजेसम्म एउटा र १ बजेदेखि साँझ ६ बजेसम्म अर्को सिफ्ट खोलिने सरकराको निर्णयमा बैंक तथा वित्तीय संस्थाहरुले भने आवश्यक देखेका छैनन् । सरकारले बैंक तथा वित्तीय संस्था, बीमा र सहकारी सेवालाई पूर्ण रुपमा खुला गर्नको लागि २ सिफ्टमा सञ्चालन गर्ने निर्देशन पनि दिएको छ। तर, बैंक तथा वित्तीय संस्थाहरुले सरकारकाे उक्त निर्णय अव्यवहारिक भएकाे प्रतिकृया दिएका छन् । लकडाउनको समयमा बैंक तथा वित्तीय संस्थाहरुमा ग्राहकको चाप धेरै नभएको भन्दै बैंकर्सहरूले २ सिफ्ट प्रणालीकाे विपक्षमा राष्ट्र बैंकसमक्ष लविङ पनि शुरू गरेका छन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्था दुई सिफ्टमा सञ्चालन गर्न आवश्यक नभएको बताए । ‘बैंक तथा वित्तीय संस्थालाई दुई सिफ्ट सञ्चालन गर्दा अनावश्यक लागत खर्च पनि पहिलेको भन्दा बढ्छ, ४/५ जना कर्मचारी भएको शाखाहरुका लागि यो व्यवहारिक पनि हुँदैन, अहिले यो व्यवस्था बैंकहरु र ग्राहकलाई पनि आवश्यक छैन,’ उनले विकासन्युजसँग भने । यसका लागि अनौपचारिक रुपमा राष्ट्र बैंकका अधिकारीहरुसँग कुरा भइरहेको उनको भनाई छ । ग्राहकलाई अफ्ठेरो नहुने र बैंकलाई पनि अफ्ठ्यारो नहुने गरी व्यवस्था गर्न आफूहरुले राष्ट्र बैंकलाई भनिसकेको उनले स्पष्ट पारे । ‘आवश्यक भयो भने हामी २ सिफ्टमा पनि जान्छौं, तर अहिलेको ग्राहकको अवस्था हेर्दा आवश्यक छैन । आवश्यक नभए किन अनावश्यक समय खर्च गर्ने ?’ उनले प्रश्न गरे । ग्राहकलाई आवश्यक भएको खण्डमा दुई सिफ्ट मात्र हाेइन जतिखेर पनि बैंकिङ सेवा दिन आफूहरु तयार भएको उनको भनाई छ । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीले यसको बारेमा राष्ट्र बैंकले छलफल गर्न बाँकी रहेकोले अहिले नै कुनै पनि धारणा बनाई नसकेको बताए । ‘हामीसँग समय अझै बाँकी छ, हामी आइतबारसम्म निर्णय गर्छौ, उहाँहरुले आवश्यक छ/छैन भन्दा पनि सरकारको निर्णय के हो ? हामीले गर्न सक्ने के हो ? त्यसमा छलफल गर्छौं, त्यसपछि मात्र निर्णय गर्छौं, उनले भने ।
भीड बढ्दा जोखिमको थप खतरा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एकै दिन मुलुकभर ४४८ व्यक्तिमा कोभिड–१९ सङ्क्रम देखियो । अहिलेसम्म मुलुकभर पाँच हजार बढी मानिस सङ्क्रमित भइसकेका छन् । माघमा एक जना देखिएको थियो चैतमा फाट्टफुट्ट देखिएकामा वैशाख अन्तिम साताबाट भने सङ्क्रमणको दर क्रमशः बढ्दै छ । सरकारले परीक्षणको दायरासमेत बढाउँदै गएको छ । जोखिम कायमै रहँदा सर्वसाधारणको माग र आवश्यकतालाई ध्यानमा राखेर यही जेठ २८ गतेको निर्णयअनुसार सरकारले सर्वसाधारणको आवागमनलाई सहजीकरण गर्दै आर्थिक क्रियाकलापलाई चलायमान बनाएको छ । मानिसको चहलपहल थप वृद्धि हुने हुँदा सङ्क्रमणबाट जोगिन थप चनाखो हुनुपर्ने र भौतिक दूरी कायम गर्नुपर्ने वर्तमान अवस्थामा ठाउँठाउँमा देखिएको प्रदर्शनले निम्त्याउनसक्ने जोखिम स्वयं व्यक्तिका लागि मात्रै नभई आम समाज कै लागि चुनौती बन्दै छ । नेपाल चिकित्सक सङ्घका उपाध्यक्ष डा अनिल कार्की भीडभाड र सामूहिक जमभटले कोभिड–१९ को सङ्क्रमण फैलाउन मद्दत पु¥याउने बताउँछन् । राजधानी काठमाडौँलगायत जिल्ल्लामा केही दिनदेखि विभिन्न माग राखेर सडकमा प्रदर्शन हुँदै आएको छ । कतिपय युवाले भौतिक दूरी कायम गर्ने प्रयास गरी प्रदर्शनमा उत्रिएको देखिए पनि भीडमा कहीँ न कहीँ चुक्ने चिकित्सक ठम्याई छ । चिकित्सकले रोगबाट जोगिन कम्तीमा दुई मिटरको दूरी कायम हुनुपर्ने बताउँदै आएका छन् । दुई दिनअघि सडक नै अवरोध हुने गरी प्रदर्शन भएपछि काठमाडौँमा प्रहरीले पानीको फोहरा प्रयोग गरेर हटाउनु परेको थियो । भीडभाडमा जतिसुकै भौतिक दूरी कायम गर्न खोजिए पनि सम्भव हुँदैन । त्यसदिन काठमाडौँमा निस्किएको एउटा समूहको प्रदर्शन भौतिक दूरी कायम गर्ने खालको थिएन । वर्तमान विषम परिस्थितिमा कसैले पनि स्वास्थ्यमा खेलबाड गर्न नहुनेमा जोड दिँदै डा कार्की थप्छन्, “कोभिड–१९ बाट बच्ने सबैभन्दा महत्वपूर्ण उपाए भनेको ‘सोसल डिस्ट्यान्स’ कायम गर्नु हो, अहिलेको प्रदर्शनले त्यो कायम भएको देखिँदैन, आफ्ना माग भए सामाजिक सञ्जाल वा यस्तै अन्य उपाए अपनाउनुपर्छ, भीडभाड गर्दा आफू मात्रै जोखिममा पर्दैन समाज नै प्रभावित हुन्छ भन्ने कुरा बिर्सनुहुन्न ।” सामाजिक सञ्जालमा पनि धेरैले यसरी प्रदर्शन गर्दा जोखिम बढ्ने भन्दै वैकल्पिक विधि अपनाएर माग राख्न प्रसस्त सुझाव आएको छ । एकजना फेसबुक प्रयोगकर्ता एकनारायण पौडेल आफ्नो स्टेटसमा लेख्छन्, “सामूहिक र सङ्गठित आन्दोलन चाहे शालिन वा शान्तिपूर्ण नै किन नहोस् यो कोरोनाको कहरमा जायज मान्न सकिँदैन, सरकारका काम र परिणामलाई समर्थन, खबरदारी, विरोध, आलोचना र दबाब दिन अन्य माध्यमको खोजी हुनुपर्छ ।” कोभिड–१९ सङ्क्रण रोक्न विश्वव्यापी प्रयोग भएको उत्तम विकल्प बन्दाबन्दीलाई नेपाल सरकारले पनि गत चैत ११ गतेबाट प्रयोग गरेको थियो । बन्दाबन्दी नभएको भए अहिले मुलुकले थेग्न नसक्ने गरी रोग फैलने अवस्था हुने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निष्कर्ष छ । उपयुक्त समयमा उपयुक्त निर्णय गर्दा रोगको सङ्क्रमण रोक्न सफल भएको सरकारले यसअघि नै सार्वजनिक गरिसेको छ । नेपालको प्रयासलाई विश्वका विकसमित मुलुकले समेत प्रशंसा गरेका छन् । यद्यपि अझै पिसिआर विधिको परीक्षणको दायरा बढाउनुपर्ने, आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन चुस्त पार्नुपर्ने, भारतबाट आउने नागरिकलाई व्यवस्थितरुपमा प्रवेश गराउनुपर्नेलगायत विषयमा अझै केही कमी देखिन्छ । त्यसलाई सम्बोधन गर्न कै लागि राज्यले परीक्षणको दायरा बढाउने र क्वारेन्टिनलाई व्यवस्थित गर्ने विषयमा सरकार गम्भीर रहेको र क्रमिकरुपमा दायरा फराकिलो हुँदै गएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले बिहीबार सरकारको आधिकारिक पत्रकार सम्मेलनमा जानकारी दिइसकेका छन् । सरकारले यही जेठ २८ कोभिड–१९ को महामारीजन्य विशेष परिस्थितिमा स्वास्थ्य मेशिनरी, औषधि र स्वास्थ्य सामग्री जतिसक्दो चाँडो खरिद गर्ने, रोकथामका लागि आवश्यक पर्ने आधुनिक पिसिआर मेशिन, उपकरण सामग्री शीघ्र आपूर्ती गर्ने र परीक्षणलाई व्यापक गराउने निर्णय पनि गरिसकेको छ । यस्तै विभिन्न स्थानमा रहेको क्वारेन्टिन र आइसोलेसनलाई थप व्यवस्थित गर्ने र त्यहाँ रहेका सामग्रीलाई सुधार गरी सञ्चालन गर्ने निर्णय पनि सरकारले गरेको छ । यस्तो अवस्थामा प्रदर्शनको बाटो उपयुक्त नहुन सक्छ । गृहमन्त्रालयले कोरोनाको कहरमा आम समुदाय र राज्य संयन्त्र नै एकबद्ध भएर अघि बढिरहेको सन्दर्भमा आदेश उल्लङ्घन गरेर भएका प्रदर्शन र भीडभाड गर्ने प्रवृत्ति नरोकिए सरकार कारवाही गर्न बाध्य हुने जनाइसकेको छ । एक जना मनोविद् डा नरेन्द्रसिंह ठगुन्ना कतिपय अवस्थामा भीडको मनोविज्ञान तथ्यमा आधारित नहुन सक्ने बताउँछन् । त्यसो भन्दैमा सडकमा उठेका आवाज दबाउने काम राज्यले गर्न नहुने उनकाे तर्क छ । डा ठगुन्नाका अनुसार मानिस सडकमा निस्किनुमा धेरै कारण हुन्छन् । अहिलेको अवस्थामा लामो समयको बन्दाबन्दीले आयस्रोत नै गुम्ने खतरा हुँदा मानिसमा आर्थिक र मानसिक तनाव उत्पन्न हुन्छ । त्यसले बाध्याताबस सडकमा पुग्न सक्छन् र उक्त भीडलाई दुरुपयोग गर्ने समूह पनि निस्कने खतरा हुन्छ । “एक त सरकारले उनीहरुमा परेको आर्थिक तनावलाई सम्बोधन गर्ने प्रयास गर्नुपर्छ, अर्काे यो समस्या विश्वव्यापी हो भन्ने कुरा बुझाउनुपर्छ, सामाजिक सचेतनामूलक सन्देश निरन्तर प्रवाह गराउनुपर्छ, तब भीड रोकिनसक्छ”, मनोविद् डा ठगुन्ना भन्छन् । अहिलेको समय भनेको भौतिक दूरी कम गर्ने, सकेसम्म अरुसँगको सम्पर्कमा नजानु नै उत्तम हुन्छ । सरसफाइमा ध्यान दिने मास्क लगाउने, साबुनपानीले राम्ररी हात धुने, स्यानिटाइजर बोकेर हिँड्नलगायत आवश्यक तोकिएको स्वास्थ्य मापदण्ड अपनाउने बेला हो । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ मा कसैले पनि हेल्चेक्रयाइँ गर्न नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतम बताउँछन् । विश्वमा पहिलोपटक गत डिसेम्बर ३१ मा चीनको उहानमा कोभिड–१९ पुष्टि भएको थियो । त्यहीँबाट आएका नेपालीमा गएको माघ ९ गते सङ्क्रमण देखिएको थियो । अहिले विश्वका ११५ भन्दा बढी मुलुक कोरोनाबाट प्रत्यक्ष प्रभावित छन् । युरोप, अमेरिकासहित हाम्रै छिमेकी मुलुक भारतमा पनि जनधनको ठूलो क्षति भएको ज्वलन्त अवस्थामा त्यसबाट नेपालीले पाठ सिक्नुपर्ने स्वास्थ्य विज्ञको सुझाव छ । कोभिड–१९ को असर विश्वव्यापीरुपमा आर्थिक र मानवीय क्रियाकपालमा प्रत्यक्ष देखिएको छ । विश्वव्यापी समस्यालाई कुनै एक देशको मात्रै समस्या हो, एउटा सरकारले मात्रै निम्त्याएको समस्या हो भन्ने तर्कको सट्टा कसरी समस्यासँग जुध्ने, कसरी रोगको निदानमा सरकारलाई घच्घच्याउने र मासिनलाई रोगको सङ्क्रमणबाट बचाउने भन्नेतर्फ सबैको ध्यान जानुपर्ने आवश्यकता छ ।