विकासन्युज

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

काठमाडाैं । नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । शुक्रबार बेलुका नेपालको पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुन भोलिबाट देशभर फैलिइ मौसमी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताए । मौसम पूर्वानुमान महाशाखाले मनसुनलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारीमा लाग्न सबैमा अनुरोध गरेको छ । साधारणतया अङ्ग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । मनसुन अवधिमा मुलुकभरको औषत वर्षाको मात्रा १ हजार ४ सय ९९ दशमलव  मिलीमिटर रहेको छ । यो भन्दा १० मिलीमिटर बढी वा कम वर्षा भए पनि औषत वर्षा नै मानिने बताइएको छ । यस्तै काठमाडाैं उपत्यकाको वार्षिक वर्षा १ हजार ४ सय ५४ दशमलव आठ मिलीमिटर रहेको छ । गत वर्ष १० दिन ढिलो गरी जुन २० अर्थात् असार ५ मा नेपालमा भित्रिएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ (असोज २५) मा मात्रै सकिएको थियो । मनसुनमा औषत वर्षा हुने मनसुन ढिलो भित्रिए पनि मुलुकभर मनसुनको समयमा औषत वर्षा हुने भएको छ । दक्षिण एशियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एशियाको मनसुन विश्लेषण गर्दा मनसुनमा मुलुकभर औषत वर्षा हुने प्रक्षेपण गरेको छ । अङ्ग्रजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा नेपालसहित दक्षिण एशियाका लागि मनसुन अवधि मानिन्छ । सो चार महिनाको अवधिमा नेपालमा वार्षिक वर्षाको ८० प्रतिशतका हाराहरीमा पानी पर्ने गर्दछ । मौसमविद्का अनुसार कम वर्ष हुने भन्दैमा बाढीपहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन केही घण्टाको मुसधारे वर्षाले पनि ठूलो प्राकतिक प्रकोप हुनसक्छ । मनसुनमा नेपालमा सबैभन्दा बढी वर्षा कास्कीको लुम्लेमा हुने गर्छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही प्रदेश नं १, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २१ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम ३० दशमलव नौ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव छ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३८ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।   रासस

कोरोनाका विरुद्धको लडाइँमा सरकार उल्टो दौडमा : राहुल गान्धी

काठमाडाैं । भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोरोना विरुद्धको लडाईँका लागि सही बाटोमा नहिडेको बताएका छन् । उनले सरकारले अहिले उल्टो दौडमा रहेकोले देशमा कोरोना विरुद्धको महामारी जित्न नसकिने बताए । भारतमा शुक्रबार सबैभन्दा बढी कोरोना संक्रमित भेटिएसँगै आफ्नो ट्वीटर अकाउन्टमा यस्तो प्रतिक्रिया दिए । भारतमा शुक्रबारदेखि शनिबार बिहानसम्मको २४ घन्टाको अवधिमा मात्र ११ हजार ४ सय ५८ जना संक्रमित भेटिएका छन् । यो नै भारतमा २४ घन्टाको अवधिमा सबैभन्दा बढी संक्रमित भेटिएको घटना हो । एक दिनमा भएका संक्रमितका यो संख्या सार्वजनिक भएसँगै काँग्रेसका नेता गान्धीले सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने बाटो नलिएको र यो उसको उल्टो दौड भएको बताए  । उनले यसअघि पनि सरकारको आलोचना गर्दै आउन्र सरकारले जारी राखेको लकडाउन असफल भएको टिप्पणी पनि गरे । भारत सरकारले लिएको यस लकडाउनको नीतिले भारतमा कोरोना भाइरसको संक्रमण रोक्न नसकेको आरोप उनीको थियो । उनले संक्रमितहरु दिनप्रति दिन बढ्दै गएका तर सरकारले लकडाउनको नीतिलाई राम्रोसँग पालना गराउन नसकेको आरोप सरकारमाथि लगाउने बताए । उनले पछिल्ला दिनहरुमा भारतमा हरेक दिन १० हजारभन्दा बढी नै संक्रमितहरु थपिने गरेकोले सरकार यो महामारी रोक्न सक्ने गरी काम नगरेको र सरकार असफल भएको बताए । उनले भारतमा पनि अमेरिका र बेलायतको जस्तो महामारीको अवस्था आउने कुरा पछिल्ला तथ्यांकहरुले देखाएको धारणा राखे । उनले यहाँको महामारी रोक्न नसकेपछि अब सरकारले अरु विकल्पहरु रोज्नुपर्ने पनि ट्वीटमार्फत सुझाएका छन् । भारतमा शनिबार बिहानसम्म ४ लाख ८ हजार ९ सय ९३ जना संक्रमित भएका छन् । यस महामारीबाट यहाँ ८ हजार ८ सय ८४ जनाको ज्यान गएको छ ।   रासस/एएनआई

अफगान शान्ति वार्ताको तयारी शुरु

काबुल । अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा पनि गरिएको उक्त समाचारमा जनाइएको छ । सो तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् । अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले चार महिनाअघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्तिका लागि अमेरिकासँग वार्ता गर्नेसम्बन्धी सम्झौता गरेको थियो । सो सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने भएका हुन् । सोही बमोजिम आगामी केही समयमा दोहामा शान्ति वार्ताको तयारी भएको हो । अफगान राष्ट्रपति असरफ घानी पनि कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार रहेकाे समाचार आएको छ । उक्त वार्ताको सर्तका रुपमा अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको पनि जनाइएको छ । तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्नुपर्ने सर्त राखेका थिए । तालिबान संगठनको यो पहिलो सर्तका लागि सरकार पनि तयार भएको छ । सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ ।  अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएसँगै अव उक्त शान्ति वार्ताको तयारी सुरु भएको बुझिएको छ । अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो । त्यसै सम्झौताबमोजिम नै अमेरिका र नेटोका साझेदारहरूले पनि १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताएका छन् । त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ । गत फेब्रुअरीमा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार, अमेरिका र तालिबानबीच सो सम्झौता भएको हो । सोही अनुसार नै तालिबानहरु शान्ति वार्तामा आउने भएका हुन् ।    रासस/एएनआई

‘कुवाँकै पानी पिएर जुनी बित्ने भो’

गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँकी ६८ वर्षीया इन्द्रकला विकको जीवन कुवाकै पानीमा निर्भर छ । बर्खामा खोल्साखोलीमा फुटेको मूल र हिउँदमा उत्तरगङ्गाको पानी पिउँदै आएका नवीगाउँका स्थानीयवासीको घरमा धारो ल्याउने सपना अझै पूरा हुनसकेको छैन । “कुवाकै पानी लिन जाँदाजाँदै वर्षौं बितिसक्यो”, इन्द्रकलाले भने, “खानेपानीको धारो घरमै ल्याउने सपना यो चोलामा पूरा नहोलाजस्तो छ ।” कुवाकै पानी ल्याउँदा–ल्याउँदै हैरानी खेपेका त्यहाँका जनताले घरमै धारोको पानी थाप्ने झिनो आशा भने बाँकी नै छ । उमेरले बुढेसकाल लागिसकेका सोही गाउँका हुमबहादुर विकले आठ–दश वर्षदेखि खानेपानीका लागि नापजाँच गरे पनि हालसम्म कुवाकै पानीमा निर्भर हुनुपरेको गुनासो गरे । “गाउँमा धेरैपटक खानेपानी ल्याउन प्रयास भए पनि दुर्गम गाउँमा खर्च धेरै लाग्ने भएका कारण कुवाकै पानी खाँदैछौं”, हुमबहादुरले भने, “बर्खामास त घर नजिकै मूल फुट्छ र खान्छौं, हिउँदमा त उत्तरगङ्गाकै पानीको भर पर्नुपर्ने हुन्छ ।” पुस, माघमा अत्यधिक हिउँ पर्ने कारण घुम्ती बसाइँसराइ गरी ढोरपाटन नगरपालिका–८ तल्लो बोबाङमा समेत बस्दै आएका नवीगाउँवासीको अधिकांश बसाइ भने गाउँमै हुन्छ । दलित बस्तीको नवी गाउँका ६ सय घरमा एउटै खानेपानीको धारो नभएको ढोरपाटन जनवादी आधारभूत विद्यालयका प्रधानध्यापक देवबहादुर सुनारले जानकारी दिए । सुनारका अनुसार, केही व्यक्तिले क्षमताले भ्याएमा मुलबाट पाइपमा घरमा धारो ल्याए पनि अन्यले कुवाकै पानी प्रयोग गर्दै आएका हुन् । विद्यालयमा समेत खानेपानी पु¥याउन नसकिएको प्रधानध्यापक सुनारको भनाई छ । जिल्लाको अधिकांश क्षेत्रमा खानेपानीको पहुँच पुगे पनि बागलुङको पश्चिमक्षेत्रका विकट गाउँमा खानेपानी पुग्न सकेको छैन । हिमपातका कारण बसाइँसराइ गरी तल्लो बोबाङ झर्दा छिटफुट खानेपानीको धारो प्रयोग गर्ने भए पनि नवीमा बस्दा कुवामै पानी ल्याउन जानुपर्ने बाध्यता रहेको नवीवासीको गुनासो छ । पशु तथा सरसफाइका लागि खोलानालाको पानी ठिकै भए पनि पिउनका लागि भने समस्या हुने गरेको घरमाथिको कुवामा लुगा धुन आउनुभएकी दिलकुमारी विकले दुखेसो गरे । “कहिले कुवा धमिलो भएको हुन्छ”, दिलकुमारीले भने, “जन्मेदेखि यस्तै पानी पिउँदै आएका छौं, घरमै धारो आए कति सहज हुन्थ्यो होला ।” नवीगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालनको तयारीमा रहेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले जानकारी दिए । “नवीगाउँमा खानेपानीको निकै समस्या भएको हामीले महसुस गर्दै आएका छौं”, नगरप्रमुख नेपालीले भने । गण्डकी प्रदेश सरकारले प्रदेशका सबै घरमा ‘एक घर, एक धारा’को अभियान सञ्चालन गर्दै आएका कारण धेरै विकट बस्ती यसै कार्यक्रममा समावेश हुनेछन् । नवीगाउँमा खानेपानी पुर्याउन नेवाःसँग सम्झौता भइसकेको छ । एक–दुई वर्षमा नवीगाउँमा एक घर एक धारा जडान भइसक्ने नगरपालिकाले जनाएको छ । रासस

कोरोना अस्पतालका सङ्क्रमित भरतपुर अस्पताल सारिने

चितवन । भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालको मर्मतसम्भार गर्नुपर्ने भएपछि त्यहाँका सङ्क्रमितलाई भरतपुर अस्पताल सारिने भएको छ । भरतपुर महानगरपालिकाले स्थापना गरको कोरोना अस्पतालको व्यवस्थापन वैशाख १ गतेबाट भरतपुर अस्पतालले हेर्दै आएको छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार त्यहाँ रहेका सङ्क्रमितलाई आजै भरतपुर अस्पताल सारिने छ । कोरोना अस्पतालको शौचालयमा समस्या देखिएको छ भने पङ्खालगायतको मर्मतसम्भार गर्नुपर्ने भएको छ । सङ्क्रमित भएको ठाउँमा मर्मतसम्भारको काम गर्न नमिल्ने भएकाले सङ्क्रमित सार्न लागिएको हो । सो ठाउँलाई निर्मलीकरण गरेर मर्मतसम्भारपछि सङ्क्रमित राखिने छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीका अनुसार भरतपुर अस्पतालको हाडजोर्नी र सर्जरी विभागका सङ्क्रमितलाई स्थानान्तरण गरिँदैछ । हाडजोर्नीकालाई स्पाइनल र सर्जिकललाई मेडिकल वार्डमा सारेर ठाउँ खाली गरिएको छ । ती दुई वार्ड र क्याविनमा ६५ सङ्क्रमित राख्न सकिने तिवारीले जानकारी दिए । अस्पतालले कोभिड–१९ का लागि १० श्ययाको सघन उपचारकक्ष तयारी अवस्थामा राखेको छ । सङ्क्रमित अरु थप भएमा विभाग खाली गर्दै लगिने उनले भने । हाल भरतपुर अस्पतालमा रहेका नौमध्ये आज दुई घर फर्किँदैछन् । यस्तै कोरोना अस्पतालका २२ मध्ये चार डिस्चार्ज भई १८ जना भरतपुर अस्पतालमा सारिने बताए । माडीमा शुक्रबार सङ्क्रमण पुष्टि भएकामध्ये ज्वरो आएका एक जनालाई भरतपुर अस्पताल ल्याइएको छ भने अन्यलाई माडीकै बघौडा अस्पतालको आइसोलेसनमा राखिएको छ । पिसीआर नगरी छ सङ्क्रमितलाई घर पठाइँदै कोरोनाको सङ्क्रमण देखिएपछि भरतपुर अस्पताल र भरतपुर कोरोना विशेष अस्पतालमा राखिएका पाँच जनालाई अस्पतालले डिस्चार्ज गरेको छ । उनीहरुको डिस्चार्ज शुक्रबार भएको भए पनि आज घर जाँदैछन् । डिस्चार्ज हुनेमा नवलपुर देवचुली वडा नं १ र १२ का दुई, विनयत्रिवेणी–६ नवलपुरका एक र भरतपुर महानगरपालिका–६ का तीन छन् । भारतमा क्यान्सरको उपचार गराएर फर्किएका भरतपुर–६ केशरवागका एक वृद्ध, उनकी श्रीमती र छोरासमेतलाई डिस्चार्ज गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । उनी भरतपुर अस्पतालमा २१ दिनदेखि बसिरहेका छन् । यस्तै देवचुली–१२ का ४९ वर्षीय सङ्क्रमित ३१ दिन र देवचुली नगरपालिका–१ का सङ्क्रमित १५ दिन र विनयत्रिवेणी नगरपालिका– ६ का सङ्क्रमित २० दिनदेखि अस्पतालमा बसिरहेका छन् । सरकारले गत जेठ २० गते जारी गरेको राष्ट्रिय जाँच परीक्षण निर्देशिकाअनुसार कोरोना सङ्क्रमित व्यक्तिमा सङ्क्रमण लक्षणमुक्त भएको तीन दिन र जम्मा भर्ना भएको १४ दिनपछि परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएसँगै उनीहरुलाई डिस्चार्ज गरिएको तिवारीले बताए । यस्ता बिरामीबाट कोरोना सङ्क्रमण अरुमा सर्ने सम्भावना न्यून भएको हुँदा परीक्षण नगरी घर पठाइने उनले भने । तिवारीले कुनै पनि सङ्क्रमण पुष्टि भएका बिरामीलाई दोहोर्याएर परीक्षण नगरिने बताएका छन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले डिस्चार्ज भएका सबै जनालाई घरमा गएर थप १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, सबै नियमको पालना गर्न सुझाव दिइएको बताए । सङ्क्रमितलाई एक मिटरको दूरी कायम गरेर बस्न, साबुनपानीले पटकपटक हात धुन, पौष्टिक र सन्तुलित खानपान गर्न भनिएको छ ।   रासस

व्यापक दवावपछि कोरोना नियन्त्रण खर्च विवरण सार्वजनिक, कुन शिर्षकमा कति ? (सूचीसहित)

काठमाडाैं । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण कार्यमा ८ अर्ब ३९ करोड रुपैयाँ खर्चको विवरण सार्वजनिक गरेको छ  । कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारेन्टाइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा सो खर्च भएको जनाइएको छ । गुणस्तरीय र व्यवस्थित प्रयोगशालाको अभाव रहेको अवस्थाबाट तीन महिनाको अवधिमा देशमा २० भन्दा बढी प्रयोगशाला सरकारले स्थापना गरिसकेको छ । भारतलगायत विभिन्न देशबाट आएका १ लाख ५८ हजार ५० जना नेपाली अहिले क्वारेन्टाइनमा रहेका छन् । अर्थ मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा मात्र ९८ करोड ५० हजार रुपैयाँ खर्च भएको छ । यस्तै, औषधि र स्वास्थ्य सामग्री खरिदमा १ अर्ब ४९ करोड ७५ लाख ५० हजार, क्वारेन्टाइन व्यवस्थापनमा ४ करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड ४ लाख ३१ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा २ अर्ब ७१ करोड २९ लाख ४७ हजार रुपियाँ निकासा भएकोमा अहिलेसम्म १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । त्यस्तै, रक्षा मन्त्रालयमा २ अर्ब ३८ करोड ५९ लाख २७ हजार निकासा भएकोमा २ अर्ब ४० करोड २४ लाख ५७ हजार रुपैयाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । जसमध्ये २ अर्ब ३६ करोड ९५ लाख २७ हजार रुपियाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा खर्च भएको जनाइएको छ । त्यस्तै, क्वारेन्टाइन निर्माणमा १ करोड २९ लाख रुपियाँ र विविध अन्य ३५ लाख रुपैयाँ खर्च भएको छ । मन्त्रालयका अनुसार गृह मन्त्रालयमार्फत २ करोड ४५ लाख ८८ हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छ करोड निकासा भएकोमा ५ करोड २० लाख रुपियाँ खर्च भएको छ । त्यस्तै, सहरी विकास मन्त्रालयमा १ करोड ४२ लाख, प्रदेशका सामाजिक विकास मन्त्रालयहरू (सातै प्रदेश) मार्फत १५ करोड ७५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । जसमध्ये सहरी विकास मन्त्रालयको बजेट क्वारेन्टाइन निर्माणमा खर्च भएको जनाइएको छ । त्यस्तै, प्रदेश सामाजिक विकास मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा १४ करोड र औषधि तथा स्वास्थ्य सामग्री खरिदमा १ करोड ७५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । यसैगरी, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमार्फत प्रविधि विकास र वैकल्पिक सिकाइका लागि २६ करोड ७५ लाख ७८ हजार निकासा भएकोमा २ करोड ६९ लाख ७८ हजार रुपियाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ ।  कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाममा संलग्न आठ मन्त्रालयमा जम्मा ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार निकासा भएकोमा ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैयाँ खर्च भएको मन्त्रालय स्रोतले जनाएको छ । यसैगरी, प्रदेश सरकारमार्फत १ अर्ब ३० करोड ४ लाख ९९ हजार रुपैयाँ खर्च भएको जनाइएको छ । जसअनुसार प्रदेश १ ले १९ करोड ३५ लाख ६० हजार, प्रदेश २ मा १३ करोड ३९ लाख ४६ हजार, बाग्मती प्रदेशले १३ करोड ६७ लाख, गण्डकीले १५ करोड ४२ लाख १० हजार, प्रदेश ५ ले ७ करोड ७९ लाख ३० हजार, कर्णालीले २३ करोड ९२ लाख ८३ हजार र सुदूरपश्चिम प्रदेशले ३६ करोड ४८ लाख ७० हजार रुपैयाँ खर्च गरेको छ । त्यस्तै, स्थानीय तहबाट २ अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपैयाँ खर्च भएको स्रोतले जनाएको छ ।

शनिबार संविधान संशोधन विधेयक पारित हुँदै

काठमाडौं । नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित हुने भएको छ । प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने बैंठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक,०७७ पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूचि तय भएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङफेले दोस्रो संशोधन विधेयक २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र छलफलपछि कानुनमन्त्रीले सो विधेयकलाई पारित गर्ने प्रस्ताव गर्नेछिन् । सरकारले जारी गरेको नयाँ नक्सा अनुसार संविधानको निशान छाप परिवर्तन गर्न नहुने भन्दै संशोधन प्रस्ताव समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेकी छन् ।  लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको भूभाग समाभेष गरि सार्वजनिक गरेको नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सालाई संवैधानिक मान्यता दिने गरी सरकारले संविधान संशोधन विधेयक ल्याएको हो । यही जेठ २७ गते प्रतिनिधि सभामा भएको सैद्धान्तिक छलफलमा सबै दलहरुले यस विधेयकको पक्षमा मतदान गर्ने प्रतिवद्धतासहित मिचिएको भूमि फिर्ता गर्न भारत सरकारलाई आग्रह गरेका थिए । पार्टीको नीति विपरीत गिरीले संशोधन प्रस्ताव दर्ता गरिन् । गिरीले संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरेको केही घण्टामै समाजवादी पार्टीले सांसद गिरीलाई आफ्नो संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको थियो । नमाने कारबाही गर्ने चेतावनी पनि दियो । तर, गिरीले आफ्नो संशोधन फिर्ता नलिने जानकारी दिँदै आएकी छिन् ।  

लकडाउनले पशुपति क्षेत्र विकास काेषको आयमा १० करोड कमी

काठमाडाैं । बन्दाबन्दीका समयमा पशुपति क्षेत्रमा हुने विशेष पूजा, भेटी, चन्दालगायत आयमा १० करोड रूपैयाँ घाटा लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले चालू आर्थिक वर्षमा अनुमान गरेको आयमा भेटी आम्दानीबाट १ करोड ५७ लाख ८ हजार ७ सय ३० रूपैयाँ , विशेष पूजाबाट २ करोड २५ लाख ७९ हजार ५ सय रूपैयाँ बन्दाबन्दीकै कारण दाखिल हुन नसकेको कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए । चन्दाबाट २ लाख ७२ हजार ९ सय १७ रूपैयाँ, पार्किङबाट २ लाख ९९ हजार ९ सय ३५ रूपैयाँ, गुठी जग्गाबाट हुने आम्दानीमा १ करोड ३२ लाख ९५ हजार ८ सय ६८ रूपैयाँ, पर्यटक प्रवेश शुल्कबाट १ करोड २ लाख ८२ हजार रूपैयाँ, क्रियापुत्री सेवाबाट  १२ लाख ७५ हजार ४ सय ६१ रूपैयाँ, तिलगङ्गा धर्मशालाबाट ४ लाख ३९ हजार २ सय ३४ रूपैयाँ, विद्युतीय शवदाहगृह सञ्चालनबाट १० लाख ८६ हजार ७ सय ५० रूपैयाँ कोषलाई घाटा लागेको उनले बताए । अन्य शीर्षकमा समेत गरी अनुमानित १० करोड ६ लाख ७२ हजार ६ सय ३९ रूपैयाँ घाटा भएको कोषले जनाएको छ । चैत लागेदेखि नै पशुपति क्षेत्रमा सीमित भक्तजनलाई मात्र प्रवेश गराइएको थियो । चैत ११ देखि जारी बन्दाबन्दीका क्रममा मूल मन्दिरलगायत पशुपति क्षेत्रमा भक्तजन आवतजावत पूर्णरूपमा बन्द गरिएको छ । घाट, क्रियापुत्री, विद्युतीय शवदाह गृहलगायत अत्यावश्यक सेवा भने दूरी कायम गरेर सञ्चालनमा छ । मूल मन्दिरलगायत अन्य मन्दिरमा हुने नित्यपूजा भने जारी छ । कारोनाको सङ्क्रमणबाट उपत्यकामा निधन भएकाको शवदाह विद्युतीय गृहमा गर्दा कम्तीमा ३६ घण्टासम्म निर्मलीकरणका लागि बन्द हुने गरेको छ ।  रासस