जाजरकाेटमा काेराेनाले राेकेन काम, बाटो बनाउँदै पैसा बुझ्दै स्थानिय
जाजरकोट । कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ । समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो । गाउँपालिकाको वडा नं १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी छनोट भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए । काम गरेवापत दैनिक गाउँपालिकाले प्रतिव्यक्ति ५ सय रूपैया दिने गरेको छ । गाउँपालिकाको वडा नं १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा २ लाख ४३ हजार रूपैयाँ विनियोजन भई ६८ जनाले काम गरिरहेका छन् । वडा नं १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि १ लाख ९६ हजार रूपैयाँमा ५५ जनाले रोजगारी पाएका छन् । बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि २ लाख १४ हजार ५ सय रूपैयाँ रकममा ६० युवाले रोजगारी पाएका छन् । वडा नं २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा २ लाख ७५ हजारमा ५८ जनाले काम गरिरहेका छन् । वडा नं २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन १ लाख ५० हजार रूपैयाँ विनियोजन भई ४२ युवायुवती काममा खटिएका छन् । वडा नं २ कै भैरव माविबाट फावरवयाँसम्मको १ लाख ४६ हजार ५ सयमा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन् । त्यस्तै वडा नं ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ । सो बाटोमा १ लाख ७२ हजारमा दिने गरी ४८ जनालाई परिचालन गरिएको छ । जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन १ लाख ५० हजार विनियोजन गरी ४२ जनाले काम गरिरहेका छन् । खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन् । सो बाटोका लागि १ लाख ५३ हजार विनियोजन गरिएको छ । जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन ५ लाख ६५ हजार विनियोजन भई १ सय ५८ जनाले रोगगारी पाएका छन् । वडा नं ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन ४ लाख १८ हजार विनियोजन भई १ सय १७ जनाले रोजगारी पाएका छन् । मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ । त्यसको लागि ३ लाख ७० हजार रकम विनियोजन भएको छ । वडा नं ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न २ लाख ७९ हजार रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ । वडा नं ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन २ लाख ३० हजारमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाका निमित्त अध्यक्ष शिवा आचार्य (बस्नेत) ले बताए । गाउँका बेरोजगारलाई रोजगारी दिन यो कार्य गरिएको उनले बताए । क्वारेन्टाइनमा बसेर घर फर्केका, विदेशबाट कामविहीन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको आचार्यले जानकारी दिए । रासस
किसान सक्रियः मल अभाव
काठमाडाैं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बीच किसानहरु सुरक्षित तरिकाले राजधानीको उत्तरपूर्वी भेगमा रोपाइँलगायत कृषि कर्ममा खट्न थालेका छन् । बन्दाबन्दी शुरु भएको ८० दिन बितिसक्दा पनि सङ्क्रमण बढ्दै जान थालेपछि किसान सुरक्षित तरिकाले खेतीमा लाग्न थालेका हुन् । गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा खेतीका लागि अझै खुला फाँट छ । फाँट प्रत्येक वर्ष घट्दै जाँदै छ । विगत वर्षमा कित्ताकाट भएका टुक्रा जग्गामा खेती नभई बाँझै रहने गरेकामा यस वर्ष भने खनजोत गरी केही न केही रोपिएको देखिन्छ । खेत रोप्न गरा बनाउँदै गरेका गोकर्णेश्वर, उत्तरबाहिनीका मङ्गलबहादुर तामाङ अन्यत्र हिँड्डुल गर्न नपाइए पनि कृषि कर्म गर्न समस्या नभएको बताए । साढे दुई महिनादेखि बन्दाबन्दी जारी रहँदा रोगभन्दा पहिले भोकले मरिने अवस्था आएकाले भएको जग्गामा केही न केही रोपिएको उनले सुनाए । घर बनाउन खण्डीकरण गरिएका जग्गामा पनि चपरी फाँडेर अनाज रोपिएको छ । कागेश्वरी मनोहरा–१ गागलफेदीका रामप्रसाद ढकाल वर्षौंदेखि बाँझो जग्गामा यस वर्ष बन्दाबन्दीका कारण फुर्सदले घर बसेका मानिसले खनजोत गरी खेती गरेको बताए । हाल यस क्षेत्रमा सिम र पानीको कुलो लाग्ने स्थानमा रोपाइँ शुरु भइसकेको छ । कति ठाउँमा मानिस धानको बीउ राख्दै छन् । कति स्थानमा भने मानिस मकै गोड्नेलगायत खेतीमा सक्रिय छन् । यहाँका स्थानीय सरकारले पनि सुरक्षित तवरले खेती गर्न सहयोग गरिरहेका छन् । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना सुरक्षित तरिकाले खेतीपाती गर्न सहयोग गरिएको बताए । कृषक भने स्थानीय सरकारले मुखले सहयोग गर्ने भने पनि बजारमा मल पाउन नसकिएको गुनासो गर्छन् । कृषिसम्बन्धी सल्लाह लिन जाँदा नगरपालिकाका कृषि शाखाका कर्मचारी पनि नभेटिने गरेको कागेश्वरी मनोहरा–५ का किसान रामप्रसाद सिंखडाले गुनासो गरे । मललगायत कृषि कर्मका लागि आवश्यक पर्ने सामग्रीको बजारभाउ बन्दाबन्दीकै बीच बढेको पनि उनले सुनाए । कृषि सामग्रीमा भइरहेको कृत्रिम अभाव, कालाबजारी एवं मूल्यवृद्धिविरुद्ध यस क्षेत्रका नगरपालिकाका अनुगमन समितिको ध्यान जान नसकेको किसानको भनाइ छ । कपिलवस्तु– बन्दाबन्दीको कारण धानको बीउमा राख्ने मल नपाएपछि यहाँका कृषक चिन्तित बनेका छन् । डिएपी र युरिया रासायनिक मल नपाएर चिन्तित बनेका किसान पूर्वपश्चिम राजमार्गको जीतपुर, गोरुसिङ्ग र चन्द्रौटा बजारमा मलको खोजीमा भाैंतारिरहेका छन् । राजमार्ग क्षेत्रमा मल नपाएपछि तौलिहवा महाराजगञ्ज र बहादुरगञ्ज पुग्दासमेत मल नपाएको बुद्धभूमि नगरपालिका हरिहरपुरका बालकृष्ण पोखरेलले बताए । उनले मलको जोहो गर्न सरकार र सम्बन्धित निकायसँग माग गरे। पटक पटक स्थानीय तह र कृषि सामग्री वितरण केन्द्रलाई मलका लागि भन्दा केही पहल नभएपछि मल खोज्दै बहादुरगञ्ज आएको उनको भनाइ थियो । किसानले बल्लबल्ल छरेको धानको बीउमा मल हाल्न नपाएपछि सुक्न थालेको अर्का किसान शिवपूजन यादवले बताए । पहिले बीउको अभाव भए पनि जेनतेन कहीँबाट व्यवस्था गरिए पनि अहिले मल नपाएर समस्या भएको यादवले दुखेसो पोखे । कोरोना भाइरसको समेत पर्वाह नगरी बिहानैदेखि मल किन्न आएका किसान मल नपाएपछि बहादुरगञ्जबाट रित्तो फर्किएका छन् । कपिलवस्तु कृषि ज्ञान केन्द्रले मल पर्याप्त मात्रमा नरहेकाले अहिले बिक्रीवितरण नगरिने जनाएको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले मल पर्याप्त नभएकाले अहिले वितरण गर्न नसकिने र रोपाइँका समयमा वितरण गरिने निर्णय भएको कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख रामगोविन्द अर्यालले जानकारी दिए । कपिलवस्तुमा अहिले ४६ टन डिएपी मल र १० टन युरिया मल मात्र छ । आउने हप्ता अर्को बैठक बसेर मलका विषयमा निर्णय गरिने उनले बताए । कपिलवस्तुमा ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ जसका लागि ५ हजार टन मल आवश्यक हुन्छ । रासस
वाग्मतीमा १ सय ८४, गण्डकीमा १ सय ९७ कोरोना पुष्टि
हेटाैंडा । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १ सय ८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालयका कोरोना विभागका प्रमुख डा पुरुषोत्तम सेढाइँले जानकारी दिए । उनका अनुसार प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत ९३.६५० सङ्क्रमण छ । प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाए । हालसम्म स्वास्थ्य मन्त्रालयकाे तथ्यांक अनुसार नेपालमा ५ हजार ६२ जनामा कोरोना सङ्क्रमित रहेका छन् भने १६ जनाकाे मृत्यु भइसकेकाे छ । त्यसैगरी गण्डकी प्रदेशका पर्वत र नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा गरी आज थप ५ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ६ बजे विज्ञप्ति जारी गरी पर्वतमा ४ र नवलपरासीमा १ नयाँ सङ्क्रमित थपिएको जनाएको छ । प्रदेशमा हालसम्म सङ्क्रमितको सङ्ख्या १ सय ९७ पुगेको जनाएको छ । पर्वतको कुश्मा नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका एक जना ६ वर्षीय बालक र वर्ष १७ की एक महिलामा सङ्क्रमण पुष्टि भएको छ । पर्वतकै जलजला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १७ का एक पुरुष र महाशिला गाउँपालिका स्थायी ठेगाना भई कुश्मा नगरपालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १६ का अर्का एक पुरुषमा सङ्क्रमण देखिएपछि जिल्ला अस्पतालको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार नवलपरासीको मध्यविन्दु नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष ४५ का एक पुरुषमा समेत सङ्क्रमण पुष्टि भएपछि रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनकक्षमा लैजाने तयारी भइरहेको छ । हालसम्म गण्डकी प्रदेशका हिमालपारिका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४३, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्ये नौ महिला छन् । गण्डकी प्रदेशका गत चैत १५ गते बाग्लुङका एक १९ वर्षीया किशोरीमा पहिलोपटक सङ्क्रमण फेला परेको थियो । हालसम्म सङ्क्रमितमध्ये ११ उपचारपछि घर फर्किएका छन् भने बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमितमध्ये स्याङ्जाका एक जनाको मृत्यु भएको छ । हालसम्म प्रदेशमा ६ हजार ८ सय ५२ को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा ५ हजार ३४ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये अझै १ हजार ६ सय २६ को नतिजा आउन बाँकी रहेको निर्देशनालयअन्तर्गतको प्रादेशिक आपत्कालनी कार्य सञ्चालन केन्द्रका प्रमुख नवराज शर्माले जानकारी दिए । प्रयोगशालाबाट नजिता आउन ढिलाइ भएपछि प्रदेश सरकारले प्रयोगशालाको क्षमता वृद्धि गर्न थप पिसीआर मेसिन खरिदको प्रक्रिया अघि बढाएको छ । रासस
क्वारेन्टाइनमै जन्मियो शिशु
झिमरुक । प्युठानको एक क्वारेन्टाइनमा बस्दै आएकी गर्भवतीले शिशुलाई जन्म दिएकी छिन् । नौवहिनी गाउँपालिका – ७ स्थित नेरा आधारभूत विद्यालयको क्वारेन्टाइनमा बस्दै आएकी १८ वर्षीया सरस्वती पुनले गए राति शिशुलाई जन्म दिएकी हुन् । श्रीमान् प्रेम पुनका साथमा यही जेठ १७ गते भारतबाट आई उक्त क्वारेन्टाइनमा बस्दै आएकी सरस्वतीले गए राति क्वारेन्टाइनमै छोरा जन्माएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद पौडेलले जानकारी दिए । उनी अहिले स्वास्थ्यकर्मीकै निगरानीमा रहेको र आज आरडिटी परीक्षण गरिने जनाइएको छ । रासस
फेरी देखिँदैछन् कोरोना संक्रमणको मामला, बढ्दै छ चिन्ता
काठमाडौं । कोरोना भाइरसका कारण लगाइएको लकडाउनले अर्थ व्यवस्थामा पारेको गम्भिर असरको चिन्ता हुँदाहुँदै पनि अहिले धेरै राष्ट्रहरु कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्तित भइरहेका छन् । विश्व स्वास्थ्य संगठनका कार्यकारी निर्देशक डा. माइकल रायनले भनेका छन् कि “यूरोप, दक्षिण पूर्व एशिया, उत्तर अमेरिका लगायतका देश हाल यस महामारीको दोस्रो लहरसँग जुझिरहेका छन् भने केही देशहरुमा संक्रमणको दोस्रो लहर देखिन थालेको छ ।” लकडाउन खुकुलो बनाएको तथा सामाजिक दूरीको नियमलाई कडाइका साथ पालना नगरेकोले विभिन्न देशहरुमा कोरोनाको दोस्रो लहर देखिन थालेको उनको तर्क छ । महानिर्देशक टेड्रोस एडहोनम गेब्रिएससका अनुसार मानवको कोरोनासँगको लडाईं सकिएको छैन । बरु यो भाइरसले फेरी पनि हमला गर्ने ठूलो सम्भावना छ । चीनको बेइजिंगमा लगातार दोस्रो दिन पनि कोरोना संक्रमणको मामला देखिएपछि स्थानीय प्रशासनले ६ ओटा तरकारीका होलसेलहरुलाई बन्द गरेको छ । दुईजना कोरोना संक्रमित सो होलसेलहरुमा पुगेको आधारमा ती होलसेलहरुलाई बन्द गरिएको हो । त्यसैगरी दक्षिण कोरियाको राजधानी सोलका केहि स्थानमा संक्रमणका नयाँ मामलाहरु देखा परेसँगै त्यहाँको सरकारले इन्टेन्सिव प्रिवेन्शन तथा स्यानिटेशनको कामलाई बढाएको छ । सरकारको भनाइ छ कि जबसम्म कोरोनाको मामला एक दिनमा १० भन्दा कम हुँदैन तबसम्म यो कार्यक्रम जारी रहनेछ । अमेरिकाका विभिन्न राज्यमा संक्रमणको मामला तीव्र गतिमा बढिरहेको छ भने अस्पतालका बेडहरु पनि भरिँदै गएका छन् । टेक्सस तथा एरिजोनाका अस्पतालहरु तीव्र गतिमा भरिँदै गएका छन् भने अलावामा, फ्लोरिडा, नर्थ क्यारोलाइना, साउथ क्यारोलाइना, ओरेगन तथा नेब्रास्कामा गत बिहीवार कोरोना संक्रमणका मामलाहरुले रेकर्ड राखेका थिए । यता छिमेकी मुलुक भारतले केही दिन अघि लकडाउनलाई खुकुलो बनाएसँगै त्यहाँ संक्रमणको मामलाहरु बढ्न थालेका छन् भने भारत अहिले कोरोनाबाट सवैभन्दा बढि प्रभावित मुलुकको चौथो स्थानमा पुगिसकेको छ । विज्ञहरुका अनुसार भारतमा हालसम्म कोरोनाको पिक आइसकेको छैन । कोरोनाका कारण लगाइएको लकडाउनले दुनियाँभरका देशहरुको अर्थव्यवस्थामा नराम्रो असर परेको छ । युरोपिय संघकी स्वास्थ्यमन्त्री स्टेला किर्याकिड्सले संघका सवै २७ सदस्यहरुसँग निवेदन गरेकी छिन् कि उनीहरुले स्कूल तथा कारोवारलाई फेरी खोल्ने योजनामा ब्यापक टेस्टिङलाई सामेल गरुन् । “उनको भनाइ छ कि, आवश्यकता पर्यो भने लकडाउनलाई फेरी पनि कडा पार्नका लागि हामीले तयार रहनु पर्छ ।” श्रोतः बीबीसी
युक्रेनः राष्ट्रपतिकी पत्नीमा कोरोना पोजिटिभ
काठमाडौं । युक्रेनका राष्ट्रपति वोलोदिमीर जेलिनस्कीकी पत्नी ओलेना जेलिन्स्कालाई कोरोना पोजिटिभ पुष्टि भएको छ । परिवारकै परिक्षण गरिएकोमा हिजो शुक्रवार ओलेनालाई कोरोना पोजिटिभ पुष्टि भएको हो भने उनका पति तथा दुवै बच्चाहरुको रिपोर्ट चाहिँ नेगेटिभ आएको छ । पत्नीलाई कोरोना पुष्टि भएसँगै राष्ट्रपतिले आफ्ना सवै बैठकहरु तत्कालका लागि रद्द गरेका छन् । ओलेनाले बताए अनुसार उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेकोले तत्काल अस्पताल भर्ना हुने छैनन् भने परिवारबाट चाहिँ अलग्गै बस्नेछिन् ।
कोरोना संक्रमणः यस्तो छ अहिले विहानसम्मको ताजा अवस्था
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ७७ लाख २४ हजार ८ सय ३२ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख २७ हजार ६ सय ८० जनाको मृत्यु भइसकेको छ भने ३९ लाख १६ हजार ५ सय ३० जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १६ हजार ८ सय १९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २१ लाख १६ हजार ४ सय २८ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ९ हजार ६ सय ३ पुगेको छ भने अहिलेसम्म ८ हजार ८ सय ९० जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ५ हजार ६२ जना संक्रमित भएका छन् भने १६ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ८ सय ७७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभार : वल्डोमिटर)
‘कर्णाली प्रदेश लोकसेवा आयोग ऐन’ विधेयक पारित
सुर्खेत । कर्णाली प्रदेशसभाबाट ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशनको आज बसेको ११औँ बैठकमा सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रस्ताव राखेका थिए । उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य हिमबहादुर शाहीले कुनै चरण नै पार नगरी पहिलो संशोधन विधेयक ल्याउनु सरकारको अपरिपक्वता भएको आरोप लगाए । प्रदेशसभा सदस्य धर्मराज रेग्मीले प्राविधिक त्रुटि हटाउन पनि विधेयकमा संशोधन आउन जरुरी थियो भने । त्यसैगरी आजको प्रदेशसभा बैठकमा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले ‘प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ र ‘कर्णाली प्रदेश व्यापार व्यवसायको दर्ता तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७’ टेबुल गरेका थिए । रासस