विकासन्युज

चितवन मेडिकल कलेजले आइसोलेसनका लागि दियो १० थान श्यया

काठमाडाैं । चितवन मेडिकल कलेजले माडी नगरपालिकामा स्थापना गरिएको आइसोलेसनका लागि १० थान श्यया उपलब्ध गराएको छ । कलेजले रु सात लाखमा खरिद गरेर ती श्यया नगरपालिकालाई हस्तान्तरण गरेको हो । नगरपालिका प्रमुख ठाकुर ढकालका अनुसार कलेजले उपलब्ध गराएका श्यया आइसोलेसनमा राखिएको छ । कलेजले स्वास्थ्य उपचारमा आवश्यक सहयोगको आश्वासनसमेत दिएको ढकालले जानकारी दिनुभयो । हाल माडीको आइसोलेसनमा सात जना कोरोना सङ्क्रमित रहेका छन् । क्वारेन्टिनमा २५६ जना छन् । सङ्क्रमण देखिएपछि आफ्नै आइसोलेसनमा राखेर उपचार गर्ने माडी जिल्लाको एकमात्र नगरपालिका हो । आइसोलेसन बन्नु अघि र पछि समस्या देखिएपछि सात जनालाई भरतपुर अस्पताल पठाइएको थियो । ढकालले अब दुई श्ययाको भेन्टिलेटरसहित सघन उपचार कक्ष माडीमा नै स्थापना गरिने बताए । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले कोरोनाको सङ्क्रमण देखिएपछि विभिन्न ठाउँमा सहयोग गरिएको बताउनुभयो । भरतपुर कोरोना विशेष ९अस्थायी० अस्पतालमा २० श्यया पछि फिर्ता गर्ने गरी कलेजले दिएको छ । यसैगरी फिर्ता नगर्ने गरी माडीसँगै भरतपुर महानगरपालिका वडा नम्बर ५ मा १० श्यया उपलब्ध गराइएको उहाँले जानकारी दिए। भरतपुर कोभिड-१९ प्रयोगशाला स्थापना गर्दा सोही मेडिकल कलेजका पाँच जना चिकित्सक प्राविधिकले सहयोग गरेका थिए । न्यौपानेका अनुसार अहिले पनि दुई जना त्यही कार्यरत छन् । कलेजले निजी क्षेत्रबाट पिसिआर परीक्षणका लागि रु पाँच करोड खर्च गरेर प्रयोगशाला तयार गरेको छ । न्यौपानेले सरकारले चलाउन चाहेमा प्रयोगशाला दिने भन्दै स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेकोसमेत जानकारी दिए । स्वास्थ्य सामग्री सहयोग विराट नेपाल मेडिकल ट्रष्टले स्वास्थ्य कार्यालय चितवनलाई तीन लाख रूपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । ट्रष्टका क्षेत्रीय कार्यालय प्रमुख पुष्करराज पौडेलले कार्यालयका प्रमुख दीपक तिवारीलाई ती सामग्री बिहीबार हस्तान्तरण गरेका हुन्। सो अवसरमा कोरोनाको रोकथाम नियन्त्रण तथा उपचारको क्रममा अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी र संलग्न अन्य व्यक्तिका लागि उपयोगी हुने ७० व्यक्तिगत सुरक्षा सामग्री, केएन ९५ मास्क ७० थान, स्यानेटाइजर ६० थान, पञ्जा ६० थान, एप्रोन १५ थान र बुट १५ थान उपलब्ध गराइएको थियो । पौडेलले पहिलो चरणमा ती सामग्री उपलब्ध गराइएको बताउँदै दोस्रो चरणमा जिल्लाका सबै पालिकाका स्वास्थ्य संस्थाबाट उपचार सेवा लिइरहेका क्षयरोगबाट प्रत्यक्ष वा अप्रत्यक्षरुपमा प्रभावित ३०० परिवारलाई खाद्य राहत सामग्री वितरण गरिने बताए । स्वास्थ्य कार्यालय प्रमुख तिवारीले संस्थाको सहयोगले उच्च जोखिममा काम गरिरहेका स्वास्थ्यकर्मीलाई धेरथोर सहयोग पुग्ने बताए । ट्रष्टले नेपालमा क्षयरोग नियन्त्रण कार्यक्रममा सहयोग गर्दै आइरहेको छ । संस्थाले हाल जिल्लामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, प्रादेशिक स्वास्थ्य निर्देशनालय, स्वास्थ्य कार्यालय तथा स्थानीय तहसँग समन्वय गरी निक साइमन्स फाउण्डेशनको आर्थिक सहयोगमा इप्याक्ट टिभी परियोजना सञ्चालन गर्दै आइरहेको छ । रासस

मेरो माइक्रोफाइनान्सले कोरोना पीडितलाई दियो साढे ३५ लाख रूपैयाँ

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कोरोना पीडितलाई राहत र उपचारमा ३५ लाख रूपैयाँ सहयाेग प्रदान गरेकाे छ । संस्थाले कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र राहतमा गरी उक्त सहयोग गरेको हाे । माइक्रोफाइनान्सले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट उक्त रकम संघीय सरकारलाई हस्तान्तरण गरेको हो । कम्पनीले २५ लाख ६० हजार ७ सय १९ रुपैयाको चेक राष्ट्रिय वाणिज्य बैंकमा रहेको उपचार कोषको खातामा बिहीबार नै जम्मा गरेको जनाएको छ । उक्त रकममा कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वसँगै कार्यरत कर्मचारीको ३ दिनको पारिश्रमिकसमेत समावेश गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले जानकारी दिए । यससँगै कोरोना पीडित एवम् विपन्न वर्गलाई राहत पुर्याउन विभिन्न स्थानीय तहमार्फत् १० लाख रुपैयाँ बराबरको खाद्यान्न सहयोग उपलब्ध गराइसकेको दाहालले जानकारी दिए । समग्र बिश्वलाई नै प्रभावित पारिरहेको मानवीय बिपत्तिको घडिमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले चालेको पहलमा सहयोग पुर्याउन पाउँदा आफूहरुका लागि गर्वको कुरा भएको सीईओ दाहालले बताए । उनले आफूहरु कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै नागरिक तथा नेपाल सरकारसंग एकजुट भएर काम गर्न प्रतिबद्ध रहेको बताए । असार लागेपछि लकडाउन खुकुलो पारिँदा व्यापार व्यवसाय पुनः सूचारु भए पनि अर्थतन्त्र ओरालो लागेको अवस्था भन्दै सीईओ दाहालले यस किसिमको सहयोग निरन्तर जारी राख्ने बताए । नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको मेरो माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले देशका ५९ जिल्लमा १२० शाखामार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।

यामाहाका जुनसुकै मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत डाउन पेमेन्टमा किन्न पाइने

काठमाडौं । नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा. लि.ले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर खरिदमा शुन्य प्रतिशत फाइनान्स स्किम सुरु गरेको छ । यामाहाले सामाजिक दुरी र सुरक्षित यात्राको महत्वलाई मध्यनजर गर्दै उक्त स्किम ल्याएको हो । ‘असहज परिस्थिति, सहज समाधान’ नाम दिइएको यो स्किमले नयाँ यामाहा खरिद गर्दा ग्राहकमाथि आर्थिक भारलाई समेत कम गर्ने अपेक्षा गरिएको छ । यो स्किम अन्तर्गत ग्राहकले तीन वर्षअवधिका लागि शुन्य प्रतिशत डाउन पेमेन्टमा यामाहाका जुनसुकै मोटरसाइकल र स्कुटर खरिद गर्न सक्नेछन् । साथै, ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा यामाहाका दुईपांग्रे खरिद गर्न सक्नेछन् । यसका अलावा यामाहाले आफ्नो सबै उत्पादनहरुमा १० हजार रुपैयाँ नगद छुट पनि व्यवस्था गरेको छ । ‘यो दुर्भाग्यको कुरा हो कि कोभिड-१९ ले देशको अर्थतन्त्र आक्रान्त छ । आफ्नो दैनिकी सहज र सुरक्षित बनाउँदा नागरिकमाथि समेत अतिरिक्त आर्थिक भार परिरहेको छ । अहिले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सबैभन्दा बढी प्राथमिकतामा परेको छ । यो आवश्यकतालाई ध्यानमा राखेर हामीले यो नयाँ स्किम ल्याएका हौं,’ यामाहा नेपालका मार्केटिङ हेड विक्रम पौडेलले भने । साथै, यामाहाले डिजिटल प्ल्याटफर्मको माध्यमबाट मोटरसाइकल तथा स्कुटर बुकिङको सुरुवात समेत गरेको छ । यसबारे विस्तृत विवरण www.yamaha.com.np र यामाहाको सामाजिक सञ्जाल पेजमा उपलब्ध छ ।

रुकुम घटनामा आधारित दोहोरी गीत ‘मेरो आत्मा’ सार्वजनिक

काठमाडौं । रुकुम घटनामा आधारित लोक दोहोरी गीत शुक्रबार सार्वजनिक भएको छ । बिष्णु बरालको शब्दमा रहेको लाेक दाेहाेरी गीत रुकुममा घटेको घटनालाई आधारित गरेर निर्माण गरिएको छ। गीतमा स्वयम् बिष्णु बराल र अनुशा क्षेत्रीले स्वरमा साथ दिएका छन् । लाेक दाेहाेरी गीतमा रामसिँह धामी, रेखा रिजाल, सुरेन्द्र रावल,भोजराज उपाध्याय र बागमती क्षेत्रीलगायतको अभिनय रहेको छ । ईश्वर जंग खड्काको निर्देशनमा बनेको गीतमा समाजका र विकृति र विसंगतीको चिरफार गर्न खोजिएको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुस्

पुँजीगत लाभकरलाई अन्तिम मानेपछि सेयर बजारमा कस्तो असर पर्ला ?

काठमाडौं । हाल धितोपत्र बजारको पुँजीगत लाभकर ५ प्रतिशत रहेको छ । तर यो नै अन्तिम हो कि होइन भन्ने यकिन नहुँदा आम लगानीकर्तामा संसय उत्पन्न भएको छ । करकै कारण लगानीकर्ता अन्यौलमा छन् । केहीले यो नै अन्तिम कर हो भनिरहेका छन् भने केहीले होइन भनिरहेका छन् । यसलाई स्पष्ट पारिदिन लगानीकर्ताले वर्षौंदेखि माग गरिरहेका थिए र अझै पनि गरिरहेका नै छन् । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले पनि लामो समयदेखि बजारमा देखिएको यस्तो दुविधालाई स्पष्ट बनाइदिन अर्थमन्त्रालयलाई आग्रह गरेको छ । बोर्डले केही दिनअघि मात्र यसलाई नै अन्तिम कर मानी गणना गर्ने व्यवस्था मिलाउन अर्थमन्त्रालय समक्ष आग्रह गरेको हो । अब अर्थबाट के निर्णय हुन्छ ? त्यो आउन त बाँकी छ । सम्भवतः लामो सयमदेखि उठाइरहेको विषय भएकाले अन्तिम नै मानी गणना गर्ने व्यवस्थामा स्पष्टता हुन्छ कि भन्नेमा सबै आशावादी देखिन्छन् । यदि यो नै अन्तिम कर हो यसलाई नै अन्तिम मानी गणना गर्ने व्यवस्था भयो भने के हुन्छ त ? बजारमा यसको के प्रभाव पर्ला ? लगानीकर्ताले विगत ३/४ वर्षदेखि पुँजीगत लाभकर अन्तिम नै हो भनेर स्पष्ट पारिदिन माग गरिरहेको नेपाल इन्भेष्टर्स फोरमका पूर्व अध्यक्ष अम्बिका प्रसाद पौडेल बताउँछन् । तर यति सहज तथा सरल कुरालाई मात्र स्पष्ट बनाउन पनि वर्षौं लागेकोमा दुःख लागेको उनले बताए । ‘लगानीकर्ताले धेरै पहिले उठाएका कुरालाई धितोपत्र बोर्डले अहिले पनि जारी राख्नु राम्रो कुरा हो । तर यो अर्थमन्त्रालयले बोलिदिनु पर्यो । सम्बन्धित कर कार्यालयले कार्यान्वयनमा ल्याउनु पर्यो । अनि मात्र त्यसको प्रभाव बजारमा देखिन्छ,’ पौडेलले भने । केहिले अन्तिम कर नै हो भनि रहेका छन् भने केहिले होइन भनिरहेका छन् । यहि दुविधालाई चिर्दै अर्थमन्त्रालयले स्पष्ट पारिदियो भने बजारमा सकारात्मक प्रभाव पर्ने उनी बताउँछन् । ‘पहिलो कुरा त कर कार्यालय र लगानीकर्तामा रहेको अन्योल हट्छ । दोश्रो, लगानीकर्तामा अन्योल हटेसँगै उनीहरुमा आत्मविश्वास बढ्छ । कर चुक्ता दिनको लागि सबैभन्दा सजिलो र सस्तो क्षेत्र तथा आम्दानीको श्रोतको लागि पनि राम्रो क्षेत्र पुँजी बजार हुन्छ । यससँगै, लगानीकर्ताको आत्मविश्वास बढ्छ । यसले ठ्याक्कै प्रडक्टीभिटी तथा निक्षेप कम्पनीलाई त असर गर्दैन, तर लगानीकर्ताको मनोबलमा आधारित हुने बजारलाई राम्रो प्रभाव पार्छ,’ उनले थपे । पुँजीगत लाभकरको विषयमा बजारले प्रष्टता खोजिरहेको बताउँदै ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले यो विषय प्रष्ट भयो भने आगामी दिनको बजारमा राम्रो प्रभाव पार्ने बताउँछन् । ‘लगानीकर्ताहरुले कर तिरिरहेका हुन्थे । ५ प्रतिशत भनेको सिष्टमले नै काटिरहेको थियो । उनीहरुले आफूले एक वर्षभरी कति तिरेको थियो, त्यसको क्लियरेन्स लिन जाने बेलामा कतिले ५ प्रतिशतमात्रै तिरेको देखिन्थ्यो र कर कार्यालयले यो कसरी ५ प्रतिशत हुन्छ ? २५ प्रतिशत तिर्नुपर्छ भन्ने जस्तो कुरा गर्थे, अब त्यसमा प्रष्टता जरुरी थियो,’ अध्यक्ष रानाभाटले भने । अहिले लाग्दै आएको ५ प्रतिशत पुँजीगत कर अन्तिम भएपनि स्पष्ट नभएकोले समस्या सिर्जना भएको पनि उनको भनाइ छ । ‘कतिपय लगानीकर्ता आफैलाई पनि यो अन्तिम कर हो कि होइन, अथवा कर तिर्न पाइन्छ कि पाइदैन भन्ने स्पष्टता थिएन । त्यसैले यो स्पष्टता खोजेको थियो बजारले । वास्तवमा अन्तिम कर नै थियो । अब अर्थमन्त्रालयले अन्तिम नै हो भनिदियो भने लगानीकर्ता तथा कर कार्यालयलाई बुझाई राख्नु परेन, काम गर्न सहज हुनेभयो,’ उनले थपे । यसले बजारलाई प्रत्यक्ष प्रभाव नपारे पनि अप्रत्यक्ष रुपमा एकदमै ठूलो प्रभाव पार्ने रानाभाटको भनाइ छ । ‘नेपालमा कर पनि तिरिरहेको छ । केही सम्पत्ति किन्नको लागि सम्पत्तिको स्रोत देखाउनु पर्छ, कर चुक्ता नपाउने वित्तिकै सम्पत्तिको स्रोत देखाउन समस्या हुनेभयो, अब ५ प्रतिशत पुँजीगत लाभकरलाई नै अन्तिम कर मानेर सोही अनुसारको कर चुक्ता दिने गरिएपछि यस्ता विषयमा पनि सहजता प्राप्त हुन्छ,’ उनले थप स्पष्ट पार्दै भने ।

बैंकका सिइओ र कर्मचारीको तलब धेरै भएकै हो ?

नेपाललाई कागजमा आत्मनिर्भर बनाउन भन्दै चीन सरकारको अनुदानमा २०३९ सालमा निर्माण भएको भृकुटी कागज कारखाना २०६७ सालसम्ममा आइपुग्दा पुर्णरुपमा बन्द भयो । त्यस्तै २०१९ पौष २९ गतेदेखि सन्चालनमा आएको जनकपुर चुरोट कारखाना २०७० सालसम्म आइपुग्दा पुर्णरुपमा बन्द भई हाल प्रदेश २ सरकारको मन्त्रालयको कार्यालयमा परिणत भएको छ । विराटनगर जुट मिल, बीरगञ्ज चिनी खारखानालगायत नेपाल सरकारको मातहतमा रहेको ३० वटाभन्दा बढि सार्वजनिक संस्थानहरु बन्द हुँदा धेरै जनाले रोजगारी मात्र गुमाए । यसमा आश्रित परिवारको अवस्था कमजोर भयो । सरकारको राजस्व गुम्यो । देशको आत्मनिर्भरतामा पनि कमी गराई देशको आयात बढ्न गई व्यापार घाटा पनि अनियन्त्रित रुपमा बढेको छ । यी उधोगहरु आजका दिनसम्म सुचारु भइदिएको भए आज देशको अर्थतन्त्रको ग्राफ सायद अर्कै हुन्थ्यो होला । सरकारको दुरदर्शितामा कमी, कुशल व्यवस्थापकको अभाव, न्युन ज्याला जस्ता विविध कारणले एउटा संस्था भविश्यमा घाटा भई बन्द हुन पुग्छन् भने एउटा असल व्यवस्थपकको नेतूत्वले त्यही संस्था माथि पनि जान सक्छन् । यसको ज्वलन्त उदाहरण पाँच वर्ष अघिसम्म घाटामा रहेको र हाल नाफातिर लम्कीरहेको नेपाल विधुत प्राधिकरण हो । एउटा कुशल व्यवस्थापकले संस्थालाई मात्र नाफामा मात्रै लादैन, उसले त्यसमा रोजगारीमा रहेका कर्मचारीको आर्थिक भविश्यको सुनिश्चितता, सेयर होल्डरहरुको वोनस, सरकारको राजस्व, देशको आत्मनिर्भरता लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा धेरै कुरा जोडिएको हुन्छन् । अहिले बैकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को नेतूत्वमा नेपालको बैंकहरुमा करिब एकलाख जनाले रोजगारी पाइरहेका छन् । यी कर्मचारीको नेतृत्व एउटा सिइओले गरेको हुन्छ । बैकले देशको अर्थतन्त्रसँग प्रत्यक्ष सरोकार राख्द छ । बैंकमा सामान्य मानिसले राखेको निक्षेपमा व्याज कसरी प्रदान गर्ने, प्रवाह भएको ऋणको व्याज कसरी उठाउनु, सेयरधनीदेखि सबै सरोकारवालाको चित्त कसरी बुझाउने भन्ने जस्ता धेरै विषयमा कार्यालय सहयोगीदेखि बैंकका सिइओसम्म लागिपरेका हुन्छन् । र, यसको परिचालन बैंकको सिइओले नै गरेको हुन्छ । त्यति मात्र होइन, कोशीमा बाढी आउँदा होस वा भूकम्प वा कोरोनाको कहरको समयमा होस, यस्ता धेरै संकटको बीचमा हरेका प्रकारको सहयोगको लागि बैंक नै अगाडि देखिए । बैंकहरुले समाजिक उत्तरदायित्व साथै वित्तीय साक्षरता गराई जनतामा आर्थिक चेतना वढाउनु एउटा पाटो त छदैछ । दैनिक १८/१९ घन्टा संस्था र संस्था भित्रकै हितमा सोचे सिइओ र तमम कर्मचारीले अहोरात्र खटिएर नेपालको परिपेक्ष्यमा सुहाउदो तलाव खाएका हुन्छन् । त्यसमा पनि हरेक कर्मचारीले तलवको कर तिरेर राज्यलाई योगदान पनि गरिरहेका हुन्छन् । चाहे त्यो वोनस सुविधामा होस वा सवारी साधन, जे जस्तो सुविधामा पनि आखिर कर बुझाएकै हुन्छन् । सरकारले तोकेको न्यनतम ज्याला कुनै पनि संस्थाले आफ्ना कर्मचारीलाई दियो दियो दिएन भनेर हेर्नु राज्यको दायित्व हो । तर संस्थाले राम्रो गरी नाफा वढाई नाफा अनुसार तलाव खानु, वोनस वाढ्नु वा सुविधा लिनु त्यो सस्थाको आन्तरिक र नितान्त कुरा हो । कुनै पनि संस्थामा समय सापेक्ष तलव सुविधा भएन भने कर्मचारीमा कामप्रतिको मनोवल मात्र घटदैन, त्यहाँ व्यक्तिगत आर्थिक चलखेलको सम्भावना पनि उतिकै रहन्छ । यसका उदाहरण विगतका वन्द भइसकेका सरकारी संस्थानहरुले देखाइसकेका छन् । त्यस अर्थमा नेपाल राष्ट्र बैकले प्रमुख कार्यकारी अधिकृतदेखि कार्यालय सहयोगीसम्म र व्यवस्थापिका संसदको अर्थसमितिले अर्थ मन्त्रालयलाई तलव सुविधामा अकुश लगाउने नियतको सुझाव दिनु र सिइओ र कर्मचारीको तलव सुविध वढि भएकै हो त भन्नु भन्दा नेपालको हरेक क्षेत्र हरेक सस्था, कार्यालय कर्मचारीहरुमा बरु बैकको जस्तै असल व्यवस्थापक र कर्मचारी कसरी वनाउन सकिन्छ र तिनीहरुको पनि तलव सुविधा कसरी वढाउन सकिन्छ भनेर लाग्नु राम्रो हुन्छ । नभए भोलिका दिनमा अनावश्यक अंकुशले नेपालको बैंकिङ्ग क्षेत्र पनि अस्तव्यस्त भई भृकुटी कागज कारखाना र जनकपुर चुरोट कारखाना जस्तै हुन धेरै समय नलाग्न सक्छ । [email protected]

कोरोनाबाट हालसम्म ४ लाख ५५ हजारभन्दा बढिको मृत्यु, संक्रमितको संख्या भने ८५ लाख नाघ्यो

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८५ लाख ६७ हजार ७ सय ६१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५५ हजार ५ सय ५३ जनाको मृत्यु भइसकेको छ भने ४५ लाख ८ हजार ३ सय ४ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख २० हजार ६ सय ८२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ६३ हजार ८३ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ८१ हजार ९१ पुगेको छ भने अहिलेसम्म १२ हजार ६ सय ४ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७ हजार ८ सय ४८ जना संक्रमित भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ८६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)

२ अर्ब रुपैयाँ फिर्तासँगै इन्भेष्टमेन्ट बैंकको नाफा र सेयर मूल्यमा कस्तो असर पर्ला ?

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको करिब २ अर्ब रुपैयाँ प्राप्त गरेको छ । तनहुँ हाइड्रोपावरको निर्माण ठेक्का पाएको इटालियन कम्पनीले इटालीको अदालतमा मुद्दा हालेपछि र सो मुद्दामा बैंकले एक पटक हार खाएपछि बैंकको २ अर्ब रुपैयाँ डुब्ने आशंका बढेको थियो । आंशकाकै बीच बैंकको सेयरमा लगानी गर्नेहरु डराएका थिए । डरको प्रतिबिम्ब सेयर बजारमा परेको थियो । बैंकको सेयर मूल्य प्रतिकित्ता ३५२ रुपैयाँमा झरेको थियो । नविल बैंककाे सेयर मूल्य  ६६०, एभरेष्ट बैंककाे ५७७, स्ट्याण्डर्ड चार्टर्ड बैंककाे ५५६, एनआईसी एशियाकाे ४६८, हिमालयन बैंककाे ४११, एसविआई बैंककाे ४०४, एनएमबी बैंकको ३५६ रुपैयाँ छ । यी बैंकहरुको सेयर मूल्य भन्दा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य तल झर्नुको मुख्य कारण बैंक ग्यारेन्टीमा भोग्नुपरेको विवाद नै थियो । नविल बैंकको प्रति सेयर आम्दानी ४६ रुपैयाँ छ । एभरेष्ट बैंकको ३७ रुपैयाँ छ । एनआईसी एशिया बैंकको ३७ रुपैयाँ छ । हिमालयन बैंकको पौने २५ रुपैयाँ छ । यी बैंकको प्रति सेयर आम्दानी इन्भेष्टमेन्टको भन्दा बढी हुनु र उनीहरुको सेयर मूल्य पनि माथि नै हुनुलाई तार्किक मान्न सकिन्छ । तर स्ट्याण्डर्ड चार्टर्ड बैंकको साढे २२ रुपैयाँ, नेपाल एसविआई बैंकको साढे २१ रुपैयाँ र एनएमबी बैंकको पौने १५ रुपैयाँ छ । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रतिसेयर आम्दानी साढे २३ रूपैयाँ छ । प्रतिसेयर आम्दानी कम भएका अन्य बैंकहरुको भन्दा इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य कम हुनु भनेको उक्त विवादमा बैंक जोखिममा देखेर नै लगानीकर्ता हच्किएको हुन सक्छन् । तर खुशीको कुरा इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको गत जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट भएको थियो । त्यस आदेशको एक सातामै इन्भेष्टमेन्ट बैंकको खातामा पैसा जम्मा भएको छ । नाफा र सेयर मूल्यमा पर्ने असर केही मानिसहरुले के अनुमान गरेका छन् भने इटालीयन ठेकदारका लागि दिएको बैंक ग्यारेन्टीमा फसेको २ अर्ब रुपैयाँ प्रोभिजन गरिएको थियो । त्यो प्रोभिजनल रकम फिर्ता हुँदा असारमा बैंकको नाफा निकै बढ्न सक्छ । तर वास्तवमा त्यस्तो भने होइन । बैंकका प्रमुख सञ्चालन अधिकृत विजेन्द्र सुवालको अनुसार अदालतमा मुद्दा परेकोले उक्त बैंक ग्यारेन्टी रकममा बैंकले जोखिम प्रोभिजन गरेको थिएन । ‘असारसम्म हामीलाई समय थियो । आगामी असारसम्ममा पनि उक्त पैसा नआएको भए प्रोभिजनमा जानु पर्ने अवस्था आउँथ्यो । अब प्रोभिजन गर्नुपरेन’ उनले भने- ‘हामीले ठेकदारलाई दिने भुक्तानी दिईसकेको छौं । उताबाट आउनुपर्ने पैसा पनि आयो । अब हिसाब बराबर भयो । इटालीबाट प्राप्त २ अर्ब रुपैयाँ नाफामा जादैन ।’ तर बैंक एउटा जोखिमबाट बाहिर निस्केको छ । साथै नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि एउटा सकारात्मक नजिर बसेको छ । जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुढृढ पार्दछ, त्यसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो । लाभांश गत वर्षकै हाराहारीमा ? चैत मसान्तमा नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई वितरण गर्न सक्ने नाफा २ अर्ब ५८ करोड रुपैयाँ छ । १४ अर्ब २४ करोड चुक्ता पुँजी र कुल पुँजी २७ अर्ब ३३ करोड रुपैयाँ भएको बैंकले ९ महिनामा साढे २ अर्ब नाफा गर्नु उल्लेखनीय होइन । यहि अनुपातमा असारसम्म उसको नाफा रह्यो भने बैंकले सेयरधनीलाई बढीमा गत वर्षको हाराहारीमा लाभांश दिने सामर्थ्य राख्नेछ । गत वर्ष बैंकले १९ प्रतिशत लाभांश दिएको थियो । बैंकको व्यवसायिक ग्रोथ पनि राम्रो छ । चैत मसान्तसम्ममा १३८ अर्ब कर्जा सापटी दिएको छ भने सवा १९ अर्ब रुपैयाँ सेयरमा लगानी गरेको छ । एक वर्षमा बैंकले कर्जा सापटीमा १६ अर्ब वृद्धि गरेको छ । निक्षेपमा सामान्य वृद्धि भई १५६ अर्ब रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । तसर्थ बजार खुलेपछि इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य स्क्रीनमा हरियो अक्षरमा देख्न सकिने लगानीकर्ताहरुको अनुमान छ ।