बाजुरामा सङ्क्रमितसँगै रहेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै घर पठाइयो
बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१ धुरालसैन मावि क्वारेन्टिनमा बसेका ६२ जनालाई पिसीआर रिपोर्ट नआउँदै घर पठाइएपछि सर्वसाधारण त्रसित बनेका छन् । कोरोनाकै कारण ज्यान गुमाएकी बालिकासँगै क्वारेन्टिनमा बसेका ६२ जनाको पिसीआर रिपोर्ट नआउँदै बुधबार नगरपालिकाले घर पठाएपछि स्थानीयवासी आक्रोशित बनेका हुन् । धुरालसैन माविको क्वारेन्टिनमा बस्ने करिब १८७ जनाको पिसीआर जाँचका लागि धनगढी पठाइएको थियो । रिपोर्ट आउनमा ढिलाइ भएपछि ६२ जनाको रिपोर्ट नआउँदै उनीहरुलाई घर पठाइएको हो । रिपोर्ट नआएकाहरु धरै दिनसम्म बस्नुपरेको भन्दै आक्रोशित हुन थालेपछि नगरपालिकाले घर पठाइदिएको आरोप स्थानीयवासीको छ । त्यस्तै बुधबार नै सदरमुकाम मार्तडीको बाजुरा क्याम्पस र मालिका माविको क्वारेन्टिनमा रहेकालाई पनि २३ दिनसम्म पिसीआर रिपोर्ट नआएपछि घर पठाइएको छ ।
बन्दाबन्दीमा ६ अर्ब रूपैयाँको औषधि आयात
काठमाडाैं । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीको अवधिमा छ अर्ब रूपैयाँ बराबरको औषधि आयात भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा पाँच अर्ब ९० करोड ९६ लाख १० हजार रूपैयाँ बराबरको तयारी औषधि र कच्चा पदार्थको आयात भएको हो । सो अवधिमा चार अर्ब ५७ करोड २९ लाख ९३ हजार रूपैयाँ बराबरको तयारी औषधि र एक अर्ब ३३ करोड ६६ लाख १७ हजार रूपैयाँ बराबरको औषधिको कच्चा पदार्थ आयात भएको छ । मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार बन्दाबन्दीको अवधिमा तीन लाख १२ हजार ८८१ मेट्रिक टन खाद्यान्न, ७८ हजार २२७ मेट्रिक टन दलहन, ९९ हजार ३७३ मेट्रिक टन तरकारी, ३९ हजार ४४८ मेट्रिक टन फलफूल र १२ हजार ३११ मेट्रिक टन दुग्धजन्य पदार्थको आयात भएको छ । उनका अनुसार बन्दाबन्दी शुरु भएपछि खाद्य पदार्थको आयातमा वृद्धि भएको छ । पहिलो हप्तादेखि दशौं हप्तासम्मको औसत आयातको तुलनामा खाद्यान्नमा छ दशमलव नौ प्रतिशत र दाल तथा गेडागुडीको आयातमा १४ दशमलव सात प्रतिशतले वृद्धि भएको छ । यसैगरी तरकारीमा चार प्रतिशत, फलफूलको आयातमा ३८ प्रतिशत, दुग्धजन्य पदार्थको आयातमा दुई हजार ६५८ प्रतिशत, औषधिको कच्चा पदार्थमा ३० दशमलव एक र तयारी औषधिमा ४४ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । बन्दाबन्दीको अवधिमा केही वस्तुको आयातमा थपघट भएको जनाइएको छ । मन्त्रालयको तथ्याङ्कानुसार पाँचौँ हप्तादेखि घट्दो क्रममा रहेको खाद्यान्नको आयात दशौँ हप्ताको तुलनामा एघारौँ हप्तामा दोब्बर भएको छ । बन्दाबन्दीको छैटौँ हप्तामा दलहन तथा गेडागेडी, फलफूल तथा तयारी औषधि आयातमा वृद्धि भएको थियो भने औषधिको कच्चापदार्थ नवौँ हप्तामा आयातमा वृद्धि भएको थियो । रसुवागढी नाकाबाहेक सबै सीमानाकाबाट निरन्तररूपमा सामान आयात भइरहेको मन्त्रालयले जनाएको छ । गत जेठ १ गतेदेखि ३१ गतेसम्म खाद्यान्न, औषधिलगायतका पदार्थ लिएर काठमाडौं उपत्यकामा तीन हजार ८९० ट्रकहरु प्रवेश गरेको जनाइएको छ । ती मध्येमा धान बोकेका ७०, मकै बोकेका ३९२, चामलका ६६४, गहुँका १४७, मैदाका १५१, चिनीका १०१, नुनका ३१, दालका १०५, अण्डाका १३५, कुखुराका १६७, फलफूलका ४२०, दूधका २७६, औषधिका २०९, घ्यूतेलका १९२, अक्सिजनका नौ र तरकारीका ८२१ ट्रक उपत्यका प्रवेश गरेका थिए । रासस
महिलाका लागि छुट्टै क्वारेन्टिन व्यवस्था गर्न माग
काठमाडाैं । कोभिड-१९ महामारी नियन्त्रणका लागि सरकारले देशका विभिन्न स्थानमा व्यवस्था गरेको क्वारेन्टिन असुरक्षित बनेको भन्दै सांसदले क्वारेन्टिनलाई व्यवस्थित र सुरक्षित गर्न तथा महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद थममाया थापाले क्वारेन्टिनमा महिला बलात्कृत हुनु अत्यन्त गम्भीर भएको उल्लेख गर्दै महिलाका लागि छुट्टै क्वारन्टिनको व्यवस्था र सुरक्षाका लागि महिला प्रहरी राख्न माग गरे । सांसद निरुदेवी पालले क्वारेन्टिनमा महिलामाथि विभिन्न हिंसाका घटना बढेको भन्दै महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गर्न माग गरे । सांसद पवित्रा खरेल निरौलाले कैलालीको लम्कीमा महिलामाथि भएको घटनाका दोषीलाई कडा कारबाही गरिनुपर्ने माग गरे । सांसद नरमाया ढकालले क्वारेन्टिन यातना गृह जस्तो भएकाले तत्काल क्वारेन्टिनको अवस्था सुधार गर्न माग गरे । सांसद पार्वता डीसी चौधरीले कैलाली घटनाबारे आपत्ति जनाउँदै क्वारेन्टिनमै असुरक्षित महिला कहाँ सुरक्षित होलान भनी प्रश्न गर्दै घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद पूर्णकुमारी सुवेदीले कैलालीको क्वारेन्टिनमा बिरामी महिलामाथि भएको घटनाको भत्सर्ना गर्दै दोषीलाई कडा कानुनी कारबाही गर्न माग गरे । सांसद टेकबहादुर बस्नेतले क्वारेन्टिनलाई व्यवस्थित बनाउँदै स्वास्थ्य सामग्री सिधै जिल्ला र स्थानीय तहलाई हस्तान्तरण गर्न आग्रह गरे । सांसद डा दीपकप्रकाश भट्टले देशव्यापी रुपमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले कोरोना परीक्षणको दायरा बढाउन माग गरे । सांसद नारदमुनी रानाले सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको दायरा फराकिलो बनाउन सरकारको ध्यानाकर्षण गराए । सांसद डिला सङ्ग्रौलाले स्वास्थ्य सामग्री खरिदमा अनियमिता भएको घटना सेलाउन नपाउँदै खरिपाटी क्वारेन्टिनमा भएको घोटालाका बारेमा जानकारी दिन माग गरे । सांसद प्रमिला राईले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा भएको अनियमितता छानबिन गर्न माग गरे । सांसद प्रभु साहले नागरिकता विधेयक दुई वर्षदेखि संसदीय समितिमा थन्किनु पर्ने कारण के हो भनी प्रश्न गरे । सांसद दलबहादुर रानाले यात्रा अनुमतिका लागि पास वितरण गर्दा अनियमिता भइरहेको गुनासो गरे । सांसद दामोदर भण्डारीले परीक्षण किटको अभावले प्रदेश नं २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षण प्रभावित भएकाले तत्काल किटलगायत आवश्यक सामग्री उपलब्ध गराउन माग गरे । सांसद दीलेन्द्रप्रसाद बडुले मुलुकमा कानुनी शासनको प्रत्याभूति हुन नसकेको भन्दै सत्तारुढ दलका नेताको दबाबमा काँग्रेस कार्यकर्तामाथि धरपकड भइरहेकामा सरकारको ध्यानाकर्षण गराए । सांसद देवप्रसाद गुरुङले राष्ट्रियताको सन्दर्भमा दलहरुबीच अभूतपूर्व एकता पैदा भएकामा चीन र भारतबीचको विवाद अन्त्य गर्न कूटनीतिक पहल थाल्न आग्रह गर्न आग्रह गरे । सांसद दुर्गाबहादुर राउतले बेपत्ता व्यक्तिको छानबिन तथा सत्य निरुपणको काम अलपत्र परेको भन्दै शान्तिप्रक्रियाका बाँकी काम टुङ्गो लगाउन माग गरे । सांसद प्रेम सुवालले क्वारेन्टिनमा राखिनेको पीसीआर परीक्षण नभएको र विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुरुप आवश्यक स्वास्थ्य मापदण्ड नअपनाइको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद बालकृष्ण खाँडले कोभिडका कारण अन्य क्षेत्रजस्तै हवाई उद्योगलगायत क्षेत्रमा राहतको कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराए । रासस
बेष्ट फाइनान्सले शुरु गर्यो कनेक्ट आईपीएस सेवा
काठमाडौं । बेष्ट फाइनान्स कम्पनीले कनेक्ट आईपिएस सेवा सुरुवात गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को संक्रमणबाट हुन सक्ने जोखिमलाई मध्यनजर गरी डिजिटल कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ यो सेवा सुुरु गरिएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए । ग्राहकहरुलाई सुरक्षित भई आफ्नो घर/अफिस बाटै ईन्टरनेट तथा मोवाईल लगायतका बिद्युतिय माध्यमबाट बैकिङ कारोेवार तथा बिभिन्न भुक्तानी गर्न सहज होस् भनी फाइनान्सले यो सेवा सुरुवात गरेको बताइएको छ । ग्राहकहरुले यो सेवा लिन नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको वेबसाइटमा तोकिए बमोजिमको फारम भरी, दर्ता गरेर सो को प्रति सहित फाइनान्सको पायक गर्ने शाखामा सम्पर्क गरी सुविधा उपयोग गर्न सक्नेछन् । यो सेवा मार्फत सरकारी महसुल एक बैकबाट अर्को बैकमा रकम स्थानान्तरण, क्रेडिट कार्ड विल भुक्तानी, मोवाईल रिचार्ज, शेयर कारोवारको भुक्तानी लगायत अन्य बिभिन्न सुविधा उपभोग गर्न सकिने फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताए ।
प्रभु इन्स्योरेन्सको सञ्चालकमा बिजय कुमार श्रेष्ठ नियुक्त
काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चालकमा बिजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी कर्मचारी सञ्चय कोषको तर्फबाट श्रेष्ठलाई सञ्चालक पदमा चयन गरेको हो । कम्पनीको असार २ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई उक्त पदमा नियुक्त गरेको हो । यसअघि कोषको तर्फबाट ओमकृष्ण श्रेष्ठले प्रतिनिधित्व गर्दै आएका थिए ।
काठमाडाैंमा ६ जना काेराेना संक्रमित थपिए
काठमाडाैं । पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम पछिल्लाे २४ घण्टामा ६ जना काेराेना संक्रमित थपिएका बताएका हुन् । गौतमले काठमाडौंमा थप २ जनामा,भक्तपुरमा १ जनामा र ललितपुरमा ३ जनामा संक्रमण भेटिएको बताएका हुन् । काठमाडौंमा भेटिएका संक्रमित एक जना महिला र एक जना पुरूष हुन्, भक्तपुरमा भेटिएका १ महिला र २ पुरूष हुन् भने ललितपुरमा १ जना पुरूषमा संंक्रमण भेटिएको हो।
सरकारलाई बैंकर्स संघको साथ, चैतसम्मको कर तिर्न सम्पूर्ण बैंकलाई पत्राचार
काठमाडौ । नेपाल बैंकर्स संघले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई चैत मसान्तसम्मको कर तिर्न पत्राचार गरेको छ । बुधबार बसेको संघको बैठकले सम्पूर्ण बैंकलाई चैत मसान्तसम्म तिर्नु पर्ने कर तिर्न आग्रह गरेको हो । संघले आफ्ना सदस्य रहेको बैंकहरुलाई कर तिर्न पत्राचार गरिसकेको संघले बताएको छ । ‘अहिले कुनै पनि क्षेत्रले कर तिर्न सकेको अवस्था छैन, यसले पनि सरकालाई समस्या भएको छ, त्यसलै पनि हामीले चैतसम्मको कर भएपनि तिर्न सकिन्छ भन्ने उद्धेश्यले यो निर्णय गरेका हौं,’ संघका एकजना सदस्यले भने । उनका अनुसार चैत मसान्तसम्मको कर तिर्न बैंकहरु सकारात्मक हरेका छन् । सरकारले समयमा विभिन्न व्यवसायी उद्योगीहरुलाई कर तिर्न भनिरहेको छ । कोरोनाभाइरस (कोभिड–१९)का कारण भएको लकडाउन कारण व्यवसया ठप्प रहेको भन्दै विभिन्न उद्योगी व्यवसायीहरुले करको समयावधि थप गर्न विभिन्न समयमा आग्रह गरिहरेका छन् । सरकारले पनि विभिन्न समयमा कर तिर्न आग्रह गरिरहेको छ ।
सपिङ मलहरु खोल्न दिएर जोखिममा परेको अर्बौं लगानी र हजारौं रोजगारी बचाउनुपर्छ- उज्वल के.सी.
उज्वल के.सी., मल व्यवस्थापक काठमाडाैं । कोभिड-१९ को संक्रमण रोकथामको उद्देश्यले चैत ११ गतेदेखि सरकारले लागू गरेको लकडाउनको म्याद जेठ ३२ गते सकिएको छ । लकडाउनले गर्दा सर्वसाधारणको रोजीरोटी खोसिनेदेखि सरकारलाई कर्मचारीको तलब खुवाउने पैसाकै अभाव भएपछि सरकारले व्यवसाय र सर्वसाधारणको आवगमनमा लगाइएको प्रतिबन्ध केही खुकुलो बनाएको हो । सरकारको उक्त कदमसँगै सर्वसाधारणले थोरै भए पनि राहतको सास फेर्न पाएका छन् । सरकारको उक्त कदमले दिनभरी कमाएर बिहान-बेलुकाको छाक टार्नुपर्ने मजदुर लगायत भाडाको घरमा व्यवसाय सञ्चालन गरिरहेका उद्यमी, व्यवसायीलाई राहत हुने निश्चित छ । सरकारले झण्डै तीन महिनादेखि ठप्प रहेको व्यवसाय सञ्चालन गर्ने अनुमति दिए पनि सपिङ मलहरुमाथि भने प्रतिबन्ध कायमै राखेको छ । सुरक्षा, सरसफाइ एवं अन्य सुविधाका हिसाबले परम्परागत पसल र किनमेल केन्द्रको तुलनामा निकै व्यवस्थित सपिङ मलमाथिको प्रतिबन्धले सर्वसाधारण र व्यवसायी अचम्मित भएका छन् । स्वास्थ्य सुरक्षाका कुनै पनि मापदण्ड अवलम्बन नगर्ने परम्परागत पसल र सपिङ सेन्टरहरु खोल्न पाउने तर आधुनिक सुविधासम्पन्न मल खोल्न नपाउने सरकारको निर्णयबाट सम्बद्ध व्यवसायीले विभेदको अनुभूति गरेका छन् एकातिर भने उनीहरुको करोडौं लगानी डुब्ने तथा हजारौंको रोजगारी खोसिने खतरा झन्झन् बढेको छ । सामान्यतया कुनै रोग र महामारीको जोखिम नभएको अवस्थामा पनि सपिङ मलहरुले सरसफाइमा निःसंक्रमित रसायनहरु प्रयोग गर्दै आएका हुन्छन् । व्यवस्थित र सफा शौचालय फराकिलो ठाउँ तथा उपयुक्त पूर्वाधारका कारण आधुनिक सपिङ मलहरुमा सामान्य अवस्थामै पनि कोभिड १९ को संक्रणण रोक्न अपनाउनुपर्ने दुई मिटरको सामाजिक दुरी कायम भइरहेको हुन्छ । त्यसमाथि कोरोना भाइरस संक्रमणको जोखिम रहेको अहिलेको अवस्थामा परम्परागत किनमेल केन्द्रहरुमा भन्दा सपिङ मलमा विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसारको स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न/गराउन सजिलो छ । सपिङ मल सञ्चालक एवं त्यहाँ व्यवसाय गरेर बसेका व्यवसायीहरु अहिलेको परिप्रेक्ष्यमा स्वास्थ्य सुरक्षा र सरसफाइप्रति अझ बढी सजग छन् । पर्याप्त सुरक्षाकर्मी, सिसी क्यामेरा तथा पर्याप्त स्थानले गर्दा सपिङ मलमा आउने ग्राहकले सुरक्षा सावधान अपनाए/नपअनाएको, स्यानिटाइजर प्रयोग गरे÷नगरेको जस्ता कुराको अनुगमन गर्न सपिङ मलमा सजिलो हुन्छ । परम्परागत किनमेल केन्द्रमा भन्दा फरक आधुनिक सपिङ मलहरुमा नगदको प्रयोग नगरिकन र बिक्रीका लागि राखिएका सामानहरु धेरै नचलाइकनै किनमेल गर्न सकिने सुविधा उपलब्ध छ । यस मानेमा आधुनिक सपिङ मलहरु परम्परागत किनमेल केन्द्रको तुलनामा धेरै बढी सुरक्षित छन् । सपिङ मलका एउटा आउटलेटमा एकै किसिमको सामान मात्र किनबेच हुने भएकाले पनि त्यहाँ अनावश्यक व्यक्तिहरुको भीडभाड र जमघटको सम्भावना रहँदैन । उदाहरणका लागि जुत्ता बिक्री गर्ने पसलमा अन्य सामान खोज्ने ग्राहक जाँदैन र अन्य सामानको पसलमा जुत्ता खोज्ने ग्राहक पुग्दैन । यसरी हेर्दा सरकारले आधुनिक सपिङ मलहरु खोल्नमा लगाएको प्रतिबन्ध अत्यन्तै अवैज्ञानिक ठहर्छ । तसर्थ विश्व स्वास्थ्य संगठनले तोकेका प्रोटोकल पालना गर्ने गरी सपिङ मलहरु खोल्न दिएर जोखिममा परेको अर्बौं लगानी र हजारौं रोजगारी बचाउनुपर्छ । बेलैमा यसतर्फ कदम चाल्न नसके बेरोजगारी र चर्को ऋणभारले निम्त्याउने सामाजिक तनावको सिकार हामी नै हुनुपर्ने पक्का छ ।