दैलेखमा कोरोना निको हुने र थपिने क्रम जारी
दैलेख । कर्णाली प्रदेशमा पहिलो कोरोना सङ्क्रमित पुष्टि भएको दैलेखमा कोरोना निको भएर घर जाने र सङ्क्रमित भइ भर्ना हुने अहिले दैनिकी जस्तै हुन थालेको छ । पछिल्लो सयम यहाँ सङ्क्रमित सङ्ख्या बढी देखिएको छ । गत मङ्गलबार मात्रै १८४ ले कोरोना जितेर खुशी हुँदै आफ्ना घर फर्किएका छन् भने ९४ जना कोरोना पुष्टि भई उपचारका लागि भर्ना भएका थिए । “निको भएर घर जाने र सङ्क्रमित भएर उपचारका लागि भर्ना हुनेको सङ्ख्या उस्तै दरमा देखिएको छ”, जिल्ला अस्पतालका कोरोना फोकल पर्सन थीरप्रसाद रेग्मीले भन्छन्’ “जिल्लामा ६३३ कोरोना पुष्टि भएका उपचारका लागि भर्ना छन्, दैनिक थपिने र निको भएर जाने क्रम जारी छ ।” गत सोमबारमात्रै ९१ मा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित थपिए पनि निको हुने दर उत्तिकै देख्दा निकै खुशी तुल्याएको र विषेशगरी आयुर्वेदिक उपचार विधिद्वारा उपचार गर्दा बिरामीको स्वास्थ्यमा सुधार आएको उनी जानकारी दिन्छन् । जिल्ला अस्पतालका अनुसार जिल्लामा गत मङ्गलबारसम्म १८४ जनाले कोरोना जितेर घरमा फर्किसकेका छन् । सबैभन्दा धेरै घर फर्किनेहरुमा नारायण नगरपालिकाका १४५ र दुल्लु नगरपालिकाका ३४ रहेका छन् । त्यस्तै डुङ्गेश्वर गाउँपालिकाका तीन र गुराँस गाउँपालिकाका दुई जनाले कोरोना जितेर घर फर्किँदा जिल्लामा कोरोना जितेर घरमा फर्किनेको सङ्ख्या १८४ पुगेको छ । जिल्लाभरि ६३३ कोरोना सङ्क्रमितमध्य १८४ कोरोना जितेर घरमा फर्किसकेका छन् भने बाँकी ४४९ को उपचार भइरहेको जनाइएको छ । सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दै गएकाले निषेधाज्ञा जारी राखिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए । एघार स्थानीय तह रहेको जिल्ला हालसम्म ६३३ कोरोना पुष्टि भएका छन् भने सयौँको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत र जुम्लामा पठाइएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले इटालीबाट फिर्ता पायो पुरै पैसा
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक (एनआईबीएल) ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानत बापतको पुरै पैसा फिर्ता पाएको छ । इन्भेष्टमेन्ट बैंकले ८५ करोड रुपैयाँ नेपाली र ८७ लाख ५० युरो गरी कूल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको हाे । यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाईमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो । यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानतजस्ता बैंकिङ्ग उपकरणहरूमा विश्वास सुदृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको छ । अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममा पहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिईएपछि बैंक जमानत बापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो । तनहुँ हाइड्रोपावर निर्माणको ठेक्का पाएको इटालियन कम्पनी सीएमसीलाई दिइएको काउन्टर बैंक ग्यारेन्टी विवादमा इन्भेष्टमेन्ट बैंकको उक्त रकम फसेको थियो । बैंकले तनहुँ जलविद्युत परियोजनाका ठेकेदार कोपरेटिभ मुराटोरी एण्ड केमेन्टिस्टी (सीएमसी) ले कार्यसम्पादनका लागि ग्यारेन्टी दिएको थियो । उक्त कम्पनीले बीचैमा काम छोडेर हिँडेपछि लेनदेनको विवाद अदालतसम्म पुगेको थियो । इटालीको अदालतले बैंकको पक्षमा फैसला गरेपछि बैंकले सबै रकम फिर्ता पाएकाे हाे ।
सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी
न्यूयोर्क । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अस्थायी सदस्यमा भारत, आयरल्यान्ड, मेक्सिको र नर्वे विजयी भएका छन् । सन् २०२१–२२ को कार्यकालका लागि राष्ट्रसंघ महासभाले तीन राष्ट्रलाई छनौट गरेको हो । १ सय ९३ सदस्यीय महासभामा १ सय ८४ राष्ट्रले मतदान गरेका थिए । राष्ट्रसंघ सुरक्षा परिषदमा स्थायी र अस्थायी गरी कूल १५ राष्ट्र सदस्य हुन्छन् । राष्ट्रसंघमा पाँच मुलुकहरु संयुक्तराज्य अमेरिका, बेलायत, फ्रान्स, चीन र रुस सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्र रहेका छन् भने बाँकी १० अस्थायी सदस्यहरु निर्वाचनबाट छनौट हुने व्यवस्था छ । राष्ट्रसंघ सुरक्षा परिषदमा विजयी भएपछि प्रतिक्रिया दिँदै राष्ट्रसंघमा भारतीय स्थायी प्रतिनिधि टि एस तिरुमुर्तीले राष्ट्रसंघको सुरक्षा परिषदमा भारत निर्वाचित भएकामा गौरवको अनुभूति भएको बताए । कोरोना भाइरस महामारीलाई ध्यान दिएर राष्ट्रसंघको मुख्यालयमा भएको मतदानमा आयरल्यान्डले १ सय २८ मत पाएको थियो भने केन्याले १ सय १३ मत पाएको थियो । नर्वे पनि युरोपेली समूहबाट निर्वाचित भएको छ । तर, राष्ट्रसंघ सुरक्षा परिषदको अस्थायी सदस्यमा चुनाव लडेको क्यानाडा भने पराजित भएको छ । क्यानाडाले आवश्यक दुई तिहाई मत प्राप्त गर्न असफल भएको थियो । क्यानाडेली संचार माध्यमहरुका अनुसार उत्तर अमेरिकी मुलुक क्यानाडाले १ सय ८ मत मात्र प्राप्त गरेको थियो । यो सहित क्यानाडा लगातार दोस्रो पटक पराजित भएको छ । रासस–एएनआई
राष्ट्रपतिमा पुनः जिताउन ट्रम्पले चीनको सहयोग मागेको बोल्टनको दाबी
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा आफूलाई सघाउन चिनियाँ राष्ट्रपति सी जिनपिङको सहयोग मागेको ट्रम्पका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले आरोप लगाएका छन् । बोल्टनले आफूले प्रकाशन गर्न लागेको संस्मरणात्मक पुस्तकमा ह्वाउट हाउसमा राष्ट्रपति ट्रम्पसँग भएका अन्तरंग कुराकानी र विमती समेतका विविध गतिविधिका बारेमा लेखिएको छ । उक्त पुस्तकको केही अंश अमेरिकी अखबारहरुमा प्रकाशन भएका छन् । पुस्तकमा राष्ट्रपति ट्रम्पले अमेरिकी विदेश नीतिलाई सन् २०२० को राष्ट्रपतीय चुनावमा आफू विजयी हुनेतर्फ लक्षित गर्नु भएको जिकिर गरिएको छ । अमेरिकी अखबार दी वासिङ्टन पोस्ट, न्यूयोर्क टाइम्स र वालस्ट्रिट जर्नलमा प्रकाशित पुस्तकको अंशमा बोल्टनले चिनियाँ मानव अधिकार दुव्र्यवहारका घटनालाई ट्रम्पले पटकपटक बेवास्ता गरेकाे आरोप लगाएका बोल्टनले भने, “ह्वाइट हाउसको कार्यकालको अवधिमा ट्रम्पका निर्णय प्रक्रियाहरु सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा बढी केन्द्रित हुने गरेका थिए, र त्यसका लागि ममाथि दबाब थियो ।” गत डिसेम्बरमा राष्ट्रपति ट्रम्पमाथि डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार जो बाइडेनमाथि युक्रेनको सहयोग लिएर हिलो छ्याप्न खोजेको भन्दै अमेरिकी संसदमा महाभियोग समेत दर्ता भएको थियो । गत जुनमा चिनियाँ राष्ट्रपति सीसँगको एउटा महत्वपूर्ण बैठकमा ट्रम्पले चीन–अमेरिका आर्थिक साझेदारीको विषयमा आफ्नो निर्वाचनले धेरै फरक पार्ने भन्दै चुनावमा सीको समर्थन लिन खोजेको बोल्टनले दाबी गरेका छन् । बोल्टनले राष्ट्रपति ट्रम्पले अमेरिकी किसानको औचित्य र महत्वमाथि जोड दिँदै चीनबाट सोयाबिन र गहुँको खरिदले अमेरिकी मतदातामा सकारात्मक असर पार्ने सोच्नु भएको बताए । बोल्टनले भने, “म ट्रम्पका हरेक शब्द छाप्न सक्थें तर सरकारको पूर्व प्रकाशन पुनरावलोकन प्रक्रियाले मलाई सम्पूर्ण कुरा बाहिर ल्याउन कठिन बनाएको छ ।” ट्रम्प प्रशासनका तर्फबाट अमेरिकी न्याय विभागले बोल्टनको पुस्तकको तत्काल प्रकाशन रोक्ने उद्देश्यले अदालतमा मुद्दा दायर गरेको छ । विभागले बोल्टनको पुस्तक अमेरिकी सुरक्षामा खतरा उत्पन्न गर्न सक्ने दाबी गरेको छ । रासस–एएफपी
नदीजन्य पदार्थ उत्खनन रोक्न सुरक्षाकर्मी परिचालन
काठमाडाैं । जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए । उनका अनुसार राप्ती नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी आउँदै गरेका छ ट्र्याक्टरसहित नौ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । विगतमा जरिवान तिराएर छाड्ने गरिएकामा पुनः उत्खनन कार्यमा प्रयोग भएको पाइएकाले अब मुद्दा चलाएर कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ । सो कार्यमा संलग्नलाई निरुत्साहन गर्न मुद्दा चलाउन थालिएको उनले बताए । ती दुई गाउँपालिका अन्तर्गत रहेको राप्ती नदीलगायत दर्जनाैं स्थानबाट डोजर प्रयोग गरी ती पदार्थको दैनिकरूपमा उत्खनन हुँदै आएको छ । बन्दाबन्दीमा समेत उत्खननसम्बन्धी व्यापक गुनासो आएपछि नियन्त्रण गर्न प्रशासनले चासो देखाएको हो । बन्दाबन्दीका समयमा समेत दिनरात नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गरेको पाइएपछि नियन्त्रणका लागि प्रशासनमा खबर गरिएको डुडुवा –५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताए । सो गाउँपालिकासँगै जोडिएको छिमेकी राप्तीसोनारी – ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर, वडा नं ५ को आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैधरूपमा निकासी हुने गरेको छ । रासस
गण्डकी प्रदेशमा थप ७७ जनामा कोरोना पुष्टि, संक्रमितकाे संख्या ३ सय २४
काठमाडौं । विहीबार गण्डकी प्रदेशमा हालसम्म कै सबैभन्दा धेरै कोरोना ७७ जना संक्रमित भेटिएका छन् । गण्डकी स्वास्थ्य निर्देशनालयले बिहान ५:४५ बजे, ८ बजे र ९ बजे गरी तीन पटक जारी गरेको प्रेस विज्ञप्तीमा ७७ जना नयाँ संक्रमित भेटिएका जनाएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा ९ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । संक्रमित पुष्टि हुनेमा आँधिखोला गाउँपालिकामा ७२ र ३४ वर्षीया २ जना महिला तथा १३ र १९ वर्षका २ पुरुष छन् । यसैगरी कालिगण्डकी गाउँपालिकाका १८, २१, २६, ३० र ३३ वर्षीय ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ । त्यस्तै पर्वतमा ४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । कुश्मा नगरपालिका २० वर्षीय पुरुष, फलेबास नगरपालिकाका १९ र २२ वर्षीय २ पुरुष, जलजला गाउँपालिकाका १६ वर्षीय पुरुष रहेका छन् । बागलुङ गल्कोट नगरपालिकाका ३३ वर्षीय एक पुरुषम पनि कोरोना पुष्टि भएको हो । तनहुँको ब्यास नगरपालिकाका ३ जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । उनीहरु २९, २५ र ४५ वर्षीय पुरुष हुन् । पूर्वी नवलपरासीका १३ जनामा कोरोना पुष्टि भएको छ । १९ देखि ३९ वर्ष समूहका उनीहरु हुप्सेकोट गाउँपालिका र विनयत्रिवेणी गाउँपालिकाका हुन् । संक्रमित सबै भारतबाट आएर सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको निर्देशनालय निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । संक्रमित सबै क्वरेन्टाइनमा नै रहेको र सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ जनाएकाे छ । विहीबार विहान नै गोरखामा ११ जना, तनहुँमा १२ जना, नवलपरासीमा १८ जना र मनाङमा १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना देखिएको हो । गण्डकी प्रदेशमा योसँगै कोरोना संक्रमितको संख्या ३ सय २४ पुगेको छ । जसमध्ये २२ जना निको भइ घर फर्किसकेका छन् भने १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
सरकारी कर्मचारीलाई नै कार्यालयमा जान समस्या
काठमाडौं । मन्त्रिपरिषद्ले सबै सरकारी कार्यालय असार १ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । तर सरकारी कर्मचारीहरुलाई नै कार्यालयल जान सबैभन्दा धेरै गाह्राे भएको कार्यालयका प्रमुखहरु बताउछन् । सरकारले लागू गरेको निजी सवारीमा जोर बिजोरसहित ३ जना र दुई पाँगे सवारीमा चालक मात्रैको हिड्न पाउने व्यवस्थाले सरकारीदेखि निजी कार्यालयहरु सञ्चालन गर्न अपठ्यारो परेको छ । सरकारले कोराना फैनिन नदिन भनेर सवारीमा चलक सहित ३ जना र बाईक तथा स्कुटरमा १ जना मात्रै यात्रा गर्ने नियम लागू गरेको थियो । तर, यो नियमको सबैतिरबाट बिरोध भैरहेकेको छ । सरकारी कार्यालयका कर्मचारीहरु नै सरकारले गरेको निर्णयले कार्यालय सञ्चालनमा समस्या परेको बताउछन् । घरमा दुई पाँगे सवारी साधन भए पनि चलाउन नजानेका सरकारी कर्मचारीहरु हिडेरै कार्यालय आउन बाध्य छन् । परिवारका कुनै सदस्यले कार्यालय पुर्यादिन खोजे पनि प्रहरीले बाटैमा रोकेर एक जनालाई सवारीबाट झारिदिने गरेको छ । सरकारी कार्यालयका सबै कर्मचारीलाई उपस्थित हुने मन्त्रालय र विभागले निर्देशन दिएको छ । तर काठमाडौं उपत्यकामा भएका कर्मचारीहरु कार्यालय आउन नै समस्या भएको छ । उपत्यका बाहिर भएका कर्मचारीहरु काठमाडौं आउन नै समस्या परेको विभागका प्रमुखहरु नै बताउछन् । गत साता बसेको मन्त्रिपरिषद्को बैठकले असार १ गते देखि सबै सरकारी कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको थियो । सार्वजनिक सवारी साधान नचल्ने, निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू भएको र दुई पाङ्ग्रे सवारीमा १ जना मात्रै यात्रा गर्न पाउने व्यवस्थाले पनि कर्मचारीहरूलाई कार्यालय पुग्ने र घर फर्कन कठिन भएको अधिकारीहरूको भनाइ छ । सरकारी कर्मचारीहरुलाई नै सेवा दिन आउन समस्या भए पछि सेवा लिन आउने सेवा ग्राहीको अवस्था कस्तो होला । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक शेषनाराण पौडेलले जोरविजोर र दुई पाँगे सवारीमा १ जना मात्रै यात्रा गर्ने सरकारको निर्णयले कार्यालय सञ्चालनमा समस्या परेको बताए । ‘कार्यालय सञ्चालका लागि सबैभन्दा ठूलो समस्या भनेको कर्मचारी कार्यालय आउन नै हो, यो विषयमा प्रत्येक दिन मैले सचिवसँग पनि कुरा गरेको छु, सबै कर्मचारीलाई दुई पाँगे सवारी चलाउन आउदैन, सरकारी कर्मचारी हो भन्दा पनि माथिको आदेश भन्दै ट्राफिकले बीच बाटोमा नै झारिदियो, अब कसरी कार्यालय आउने सर भन्ने गरेका छन्, कति कर्मचारीहरु त २/३ घन्टा हिडेर आउने गरेका छन्, आवत जावतमा नै सबैभन्दा धेरै समस्या छ,’ पौडेलले भने । सेवाग्राहीको भीड लाग्ने कम्पनी रजिष्ट्रार कार्यालयको पनि समस्या कर्मचारी कार्यालय आउने कसरी भन्ने नै समस्या छ । कार्यालयमा दरबन्दी मध्ये ५० प्रतिशत मात्रै कर्मचारी भएको र ती ५० प्रतिशत कर्मचारीमध्ये पनि केही गाउँबाट काठमाडौं आउने प्रक्रियामा रहेको र उपत्यकामा नै भएका कर्मचारीलाई पनि कार्यालयमा आउन समस्या रहेको कम्पनी रजिष्ट्रार कार्यलयका सूचना अधिकारी सन्तोष दाहालले बताए । ‘सबै कर्मचारीसँग सवारीसाधन नभएको र कति कर्मचारीले साधन चलाउन नजानेको कारणले परिवारका सदस्यले ल्याएर कार्यालय ल्याएर छोड्नु पर्ने अवस्था छ, तर सरकारले नै दुई पाँगे सवारीमा एक जनामात्रै यात्रा गर्ने भनेर गरेको निर्णयले समस्या परेको छ, कर्मचारीले कसरी कार्यालय आउने भनेर समस्या नै परिसकेको छ,’ दाहालले भने । सरकारको निर्णय अनुसर २ सिफ्टमा कम्पनी रजिष्ट्रार कार्यालय सञ्चाल हुन सकेको पनि छैन । पहिलेदेखि नै यस कार्यालयमा कर्मचारी कम छन् । भएकामध्ये पनि केही गाउँ तिर गएको कारणले पनि १ सिफ्टमा मात्रै कार्यालय सञ्चालन भएको हो । कम्पनी रजिष्ट्रार कार्यालयमा नयाँ कम्पनी दर्ता, नविकरण र अध्यावधिक गराउने सेवाग्राहीको कारणले भिडाभाड हुने गरेको छ । उद्योग विभाग बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन भैरहेको सूचना अधिकारी विनेद खड्काले बताए । तर कर्मचारी कार्यालय आउन भने समस्या रहेको उनले बताए । ‘हामीसगँ गाडी पनि कम छ, भएका गाडीमा पनि चालकसहित ३ जना भन्दा धेरै हिड्न मिल्दैन, दुई पाँगे सवारीमा पनि १ जना मात्रै यात्रा गर्न नपाउने नियम छ, यसले कर्मचारी कार्यालय आउन समस्या भहिरहेको छ,’ खड्काले भने । सरकारले बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर उपत्यका भित्र नै भएका कर्मचारीहरुलाई पनि जोरबिजोर प्रणाली, चार पाँग्रे सवारीमा चलक सहित ३ जना र दुई पाँगे सवारीमा एकजना मात्रै सवार हुने नियमले समस्या परेको खड्का बताउछन् । सरकारी कर्मचारीलाई नै कार्यालयमा आएर सेवा दिन समस्या छ । यस्तो समयमा सर्वासाधारणले कसरी सेवा लीन सक्छन् ।
चीनबाट ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण
काठमाडाैं । टोखा नगरपालिकाले चीनको नाग्छु नगरपालिकाबाट ल्याएको स्वास्थ्य सामग्री सबै वडामा वितरण गरेको छ । विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनको नाग्छु नगरपालिकाले जेठ १५ गते टोखालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो । टोखाका नगरप्रमुख प्रकाश अधिकारीले चीनबाट सहयोगस्वरुप ल्याएको स्वास्थ्य सामग्री टोखाका ११ वटै वडामा वितरण गरिसकिएको जानकारी दिए । चीनको नाग्छु नगरपालिकाले टोखा नगरपालिकालार्ई विभिन्न किसिमका माक्स ३० हजार थान, थर्मल गन ३ सय थान, व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) ३ हजार थान, मेडिकल आइसोलेसन चश्मा ३ हजार थान, पञ्जा ५ हजार थान, मेडिकल जुत्ता ३ हजार थान र स्यानेटाइजर सहयोग गरेको छ । उक्त सामग्रीको मूल्य १ करोड ८६ लाख रकम बराबर रहेको छ । टोखा नगरपालिकाले कोरोना रोग फैलन नदिन चेकजाँचलाई समेत बढाएको छ । टोखाले आगामी आर्थिक वर्ष २०७७/७८ मा प्राथमिक स्वास्थ्य केन्द्र टोखामा दुई श्ययाको सुविधासम्पन्न आइसोलेसन निर्माण गर्नसमेत लागेको छ । उक्त सुविधासम्पन्न आइसोलेसन निर्माणका लागि आगामी आवको नीति तथा कार्यक्रममा बजेट विनियोजन गर्ने नगरप्रमुख अधिकारीको भनाइ छ । आइसोलेसन स्थापनासँगै कोरोना रोगको उपचारमा थप सहयोग पुग्ने विश्वास टोखा नगरपालिकाले लिएको छ । रासस