गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना पुष्टि, पहिलो पटक मनाङमा नि देखियो
काठमाडौं । गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विहीबार विहान गोरखा, मनाङ, तनहुँ र नवलपरासी पूर्वमा थप ४२ जना कोरोना संक्रमित भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिए । जसमा अन्तर्गत मनाङमा १ जना, गोरखामा ११ जना, तनहुँमा १२ जना र नवलपरासीमा १८ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा संक्रमितको सङ्ख्या २ सय ८९ पुगेको छ। हिमाली जिल्ला मनाङको चामे गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् । अब गण्डकी प्रदेशमा मुस्ताङ बाहेक सबै जिल्लामा कोरोना संक्रमित देखिएको छ ।
कैलालीमा खैरो हिरोइनसहित दुई पक्राउ
कैलाली । कञ्चनपुरको बेलौरी क्षेत्रबाट सशस्त्र प्रहरीले दुई जनालाई खैरो हिरोइनसहित बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलौरी नगरपालिका–१० बस्ने २५ वर्षीय रामु खाँण ठकुरी र बेलडाँडी गाउँपालिका–३ का २३ वर्षीय आशिष उपाध्यायलाई ०।६१ ग्राम खैरो हिरोइनसहित पक्राउ गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए । उनका अनुसार दुवै जनालाई म २ प ९६१८ नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बेलौरी नगरपालिका–८ स्थित नेपाल भारत सीमास्तम्भ नम्बर ३८ नजिकबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुवै जनालाई बरामद गरिएको हिरोइन र मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ । पक्राउ परेका दुवैलाई हिरासतमा राखेर सोधपुछ र अनुसन्धानको कार्य भइरहेको इप्रकाका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । रासस
भक्तपुरमा प्रहरीसहित ३ जनामा कोरोना पुष्टि, प्रहरीको सञ्चार कक्ष सिलबन्दी
काठमाडाैं । भक्तपुरमा बुधबार एकैदिन एक प्रहरीसहित तीन जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका कार्यरत प्रहरी जवानमा कोरोना पुष्टि भएको हो । चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय प्रहरी जवानलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि सञ्चार कक्ष सिल गरी यहाँ रहेका १२ प्रहरीलाई क्वारेन्टिनमा राखिएको परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए । उनले भने, “सञ्चार कक्षलाई सिल गरेका छौं, सो कक्षमा काम गर्ने १२ जनालाई विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको क्वारेन्टाइनमा राखेका छौं, परिसरका अन्य प्रहरीलाई उच्च सावधानीमा राखेका छौं ।” क्वारेन्टिनमा राखेकाको आज स्वाब सङ्कलन गरी पिसिआरका लागि पठाइने र सङ्क्रमितको परिवारको पनि स्वाब सङ्कलन गरिने भएको छ । प्रहरीलाई खोकी लागेपछि गत जेठ ३१ गते स्वाब सङ्कलन गरी पिसिआर गरिएकोमा बुधबार आएको रिपोर्टमा कोरोना सङ्क्रमण देखिएको हो । त्यसैगरी भक्तपुर नगरपालिका–६ गोल्मढीका २२ वर्षीय पुरुषलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पिसिआरको नतिजामा ती पुरुषलाई सङ्क्रमण पुष्टि भएपछि पुरुषको सम्पर्कमा रहेकाको पहिचान गर्ने, उनी बस्ने घर र आसपासको क्षेत्र सिल गर्ने र सम्पर्कमा रहेकाको पिसिआर परीक्षण गर्ने तयारी गरिएको उनले जानकारी दिए । त्यस्तै गत जेठ ३० गते कुबेत सरकारको आममाफीमा सहभागी भएर कुबेतबाट फर्किएर खरीपाटीस्थित क्वारेन्टिनमा राखिएकी नवलपरासी गैँडाकोटकी २२ वर्षीया युवतीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वदेश फर्किएर विमानस्थलमा ज्वरो देखिएपछि विमानमा रहेका सबैलाई खरीपाटीस्थित क्वारेन्टिनमा राखिएको र थप लक्षण देखिएपछि भक्तपुर अस्पतालको आइसोलेसनमा राखिएको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए । कोरोना सङ्क्रमण पुष्टि भएपछि तीन जनालाई नै बुधबार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको उनले बताए । रासस
पहिलो पटक बाली लगाउनु अघि मूल्य तोकियो, धान काट्नु अगाडी लागू हुने
काठमाडौं । पहिलो पटक धान बाली लगाउनु अगाडी नै मूल्य तोकिएको छ । मन्त्रीपरिषद्को बैंठकले पहिलो पटक बाली लगाउनु अघि नै मूल्य तोकेको हो । रोप्नु अगाडी नै मोटा धान न्युनतम सर्मथन मूल्य प्रतिक्यूटल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य प्रतिक्यूटल २ हजार ८ सय ८५ रुपैयाँ तोकेको छ । त्यस्तै आर्थिक वर्ष २०७६/७७ काे भन्दा प्रतिक्युटल २ सय रुपैयाँ बढी रहेको कृषिमन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले जानकारी दिए । यस अगाडी धानकाे समर्थन मूल्य प्रतिक्युटल २ हजार ५ सय ३१ रुपैयाँ र मध्यमको २ हजार ६ सय ७३ रुपैयाँ रहेकाे प्रवक्ता केसीले जानकारी दिए । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मन्त्रीपरिषद्मा प्रस्ताव गरेको थियो । ताेकिएकाे साे मूल्य धान काट्नु भन्दा अगाडीदेखि लागु हुने कृषिमन्त्रालयले जनाएकाे छ । उनले भने, ‘व्यवसायीले आफ्नै मनमानीले कृषि उत्पादन खरिद गर्दै आएका थिए अब भने तोकिएको मूल्यमा व्यवसायीले धान मूल्य दिन आनाकानी गरेमा किसानले सरकारी संस्थानलाई विक्री गर्न सक्ने छन् ।’
संसारभर कोरोना बाट मृत्यु हुनेको संख्या साढे ४ लाख नाघ्यो
काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८३ लाख ९२ हजार ४ सय ८१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ५० हजार ४ सय ५२ जनाको मृत्यु भइसकेको छ भने ४४ लाख ५ हजार १ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १९ हजार ९ सय ४१ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ३३ हजार ८ सय ५६ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ६७ हजार २ सय ६४ पुगेको छ भने अहिलेसम्म १२ हजार २ सय ६२ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ७ हजार १ सय ७७ जना संक्रमित भएका छन् भने २० जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ६७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)
अधिकांश लगानीकर्ताले यो वर्ष लाभांश पाउने, १२ घण्टा बैंक चलाउन असम्भव
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष तथा एनएमबी बैंकमा अध्यक्ष पवन गोल्यानले चालु आर्थिक वर्षको कमाईबाट बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई लाभांश खुवाउन सक्ने तर अर्को वर्ष लाभांश वितरण गर्ने सम्भावना नरहेको बताएका छन् । विकासन्युजको यूट्युव च्यानल विकास वहसमा कुरा गर्दै अध्यक्ष गोल्यान करिव साढे ९ महिना बैंक तथा वित्तीय संस्थाले राम्रो व्यवसाय गरेकोले चालु आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्था नाफा कमाउने तर अर्को आर्थिक वर्षदेखि बैंकहरुलाई निकै कठिन हुने उनले बताए । अागामी वर्ष नाफा घटेपनि बैंक तथा वित्तीय संस्था नोक्सानमा भने नजाने उनको विश्लेषण छ । उद्योग वाणिज्य महासंघ लगायत संस्थाका नेतृत्वले बैंकले धेरै नाफा कमाए, बैंकको सीईओले तवल धेरै खाए भनेर बारम्बार बोल्ने, मिडियाले समाचार प्रकाशन गर्ने जस्ता कार्यले राष्ट्र बैंकमाथि नाफा नियन्त्रण गर्न ठूलो दवाव परेको बताउँदै गोल्यानले भने–‘वास्तवमा बैंकहरुको नाफा धेरै छैन । गत वर्षको आरओई १२ प्रतिशतमा झरेको छ । मर्जपछि बैंकहरुको पुँजी धेरै बढेको छ र प्रतिफल धेरै घटेको छ । यो तथ्यलाई सबैले बुझ्नुपर्छ ।’ बैंक तथा वित्तीय संस्थाको नाफा घट्दा १६ लाख साना लगानीकर्ता आर्थिक संकटमा पर्ने पनि उनले बताए । राष्ट्र बैंकले लगानीकर्तालाई प्राथमिकता नदिएको, सञ्चालक समितिको अधिकारलाई कटौति गर्दै गएको विषयमा बैंक तथा वित्तीय परिसंघ किन बोल्न सकेन ? भन्ने विकासन्युजको प्रश्नमा उनले भने–‘बैंकको व्यवस्थापन पक्षलाई बलियो बनाउनै पर्छ । व्यवस्थापनलाई अधिकार सम्पन्न बनाउने अभ्यास अन्तराष्ट्रिय जगतमा पनि भईरहेको छ । एनएमबी बैंककै कुरा गर्नुहुन्छ भने सीईओलाई १ अर्ब १० करोड रुपैयाँसम्म कर्जा लगानी गर्ने अधिकार दिएको छ ।’ बैंकले सबैभन्दा बढी प्राथमिकता कर्मचारीलाई दिनुपर्ने, दोस्रो प्राथमिकता लगानीकर्तामा दिनु पर्ने, तेस्रो प्राथमिकता निक्षेपकर्तालाई दिनुपर्ने र चौथो प्राथमिकता ऋणीलाई दिनुपर्ने उनको भनाई छ । पछिल्लो समय राष्ट्र बैंकले ऋणीलाई दिएको व्याज सहुलियतले ठूला व्यवसायीलाई भन्दा साना व्यवसायीलाई बढी लाभ हुने उनले बताए । बैंक तथा वित्तीय संस्थालाई दिएको व्याज छुट बराबर रकम सरकारले अनुदान दिनुपर्छ भनेर आफूले धेरै पटक बोलेको र मौद्रिक नीति मार्फत अहिलेको समस्या राष्ट्र बैंकले सम्बोधन गर्नेमा आफू आशावादी रहेको उनले बताए । बैंक तथा वित्तीय संस्थाले दुई सिफ्टमा सेवा सञ्चालन गर्नु पर्ने भनी सरकारले गरेको निर्णय कार्यान्वयन गर्न नसकिने उनले प्रष्ट पारे । उक्त निर्णय कार्यान्वय गर्न नसकिने जानकारी दिदै नेपाल बैंक तथा वित्तीय संस्था परिसंघले राष्ट्र बैंकलाई पत्राचार गर्न लागेको पनि उनले बताएका छन् । ‘विहान ८ बजेबाट सेवा सञ्चालन गर्न ७ बजेदेखि नैं बैंकमा जानु पर्ने हुन्छ । साँझ ६ बजेसम्म सेवा दिदाँ ७ बजेसम्म व्यवस्थापकीय काम गर्नुपर्ने हुन्छ’ उनले भने–‘एउटै व्यक्तिलाई १२ घण्टा काम लगाउन पनि सकिदैन । दुई सिफ्टमा सञ्चालन गर्न बैंक तथा वित्तीय संस्थासँग प्रयाप्त कर्मचारी पनि छैनन् ।’ पूरा अन्तरवार्ताको लागि क्लिक गर्नुहोस्
धनगढीमा थप एक कोरोना संक्रमितको मृत्यु
धनगढी । धनगढीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका–४ का ४६ बर्षीय पुरूषको बुधबार साँझ सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । चिकित्सकका अनुसार उनलाई कोरोनाको लक्षण देखिएको १२ दिनभन्दा बढी भइसकेको थियो । उनी बस मालिक हुन् । भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर विभिन्न स्थानमा पु¥याउने क्रममा उनी संक्रमित भएका थिए । उनी कहिले आफैं बस चलाउथे । कहिले बसको क्याविनमा चालकसंगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताइएको छ । उनलाई उपचारका लागि काठमाण्डौं लैजाने तयारी भइरहेको थियो । खराव मौसमका कारण आज नेपाल वायु सेवा निगमको सानो जहाज काठमाडौंबाट धनगढी आउन सकेन । बिहीबार उनको उद्धारका लागि निगमको सानो जहाज धनगढी आउँदै थियो । तर, अरुको उद्दार गर्दा गर्दै संक्रमित भएका उनको भने उद्धार हुन नपाउँदै मृत्यु भयो । योसंगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ । यसअघि कैलालीकी दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भइसकेको छ ।
सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्रीमा अनियमितता भएको छैन– उपप्रधानमन्त्री पोखरेल
काठमाडाैं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीमै नेपाली सेनाको सङ्गठनलाई समावेशी बनाउने कानूनी प्रबन्ध गरिएको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत रक्षा मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले नियमावलीले विभिन्न जाति समुदायको आरक्षणसम्बन्धी कोटा निर्धारण गरेको स्पष्ट गरे । मन्त्री पोखरेलले भने, “एउटा कुरामा हामी प्रष्ट हुनुपर्छ, समूहगत बटालियन नेपाली सेनामा बन्दैन, जातिगत समूहको आधारमा क्लष्ट–क्लष्टर बन्दैन, तय गरेको योग्यतालाई मिट गर्ने र भर्ना हुन चाहने भर्ती हुन सक्छन् ।” कोभिड– १९ को जोखिम रोकथाम, नियन्त्रण र प्रतिकार्यका लागि सेनाको व्यवस्थापनमा चीनबाट ल्याइनुपर्ने सबै स्वास्थ्य सामग्री र उपकरण स्वदेश आइसकेको जानकारी दिँदै उनले भारतबाट पनि आवश्यक प्रक्रिया पु¥याएर सामग्री ल्याउने प्रयास र तयारी भइरहेको बताए । मन्त्री पोखरेलले वर्तमान अवस्था र गाम्भिर्यतालाई मनन गरी संसारका अन्य राष्ट्रले पनि कोभिडविरुद्धको प्रतिकार्यमा खरिद गर्न चाहेको परिमाणमा सामग्री आपूर्ति नभइरहेका अवस्थामा सेनासँग भएको जनशक्ति र औपचारिक जनसम्पर्क तथा कूटनीतिक माध्यमलाई प्रयोग गर्दै पारदर्शीता, प्रभावकारिता र छरितो ढङ्गबाट आपूर्ति गरी आम जनताको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरेर सरकारसरकारबीच सेनामार्फत सामग्री खरिद गरिएको र यसमा कुनै अनियमितता नभएको स्पष्ट गरे । सांसदको एक प्रश्नको जवाफमा उहाँले कोभिडलगायत महामारी नियन्त्रणका लागि पृथक ऐनको आवश्यकता महसुस भए पनि अहिले पुरानै महामारीसम्बन्धी ऐनलाई टेकेर काम गरिएको बताए । राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोग सचिवालयका विभिन्न शीर्षकमा विनियोजित बजेटका सम्बन्धमा उठेको प्रश्नको सम्बन्धित मन्त्रीले भोलिको बैठकमा जवाफ दिने अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । राष्ट्रियसभाको अर्काे बैठक भोलि बिहीबार बिहान ११ बजे बस्नेछ । रासस