टीभीएसको नयाँ बिक्री योजना सुरु, अब घरमै आइपुग्छ बाइक वा स्कुटर
काठमाडौं । टीभीएसले ‘सुरक्षित यात्राको सुरक्षित सहयात्री’ नामक बिक्री योजना सुरु गरेको छ । लकडाउको अवधिमा सार्वजनिक सवारी नचल्ने भन्दै टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले याे नयाँ बिक्री योजना सुरु गरेको हाे । यस योजनाअन्तर्गत ग्राहकले ‘शून्य प्रतिशत ब्याजदर’ वा ‘शून्य प्रतिशत डाउनपेमेन्ट’ वा ‘स्कुटरमा १० हजार र मोटरसाइकलमा १२ हजार रुपैयाँ नगद छुट’ वा ‘अहिले किन्नुहोस् र पछि सरल मासिक भुक्तानी’ मध्येकाे एक सुविधा उपयाेग गर्न पाउनेछन् । ग्राहकले अनलाइनमार्फत् पनि टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदको लागि अर्डर गर्न सक्ने र कम्पनिले होम डेलिभरीको सुविधासमेत प्रदान गर्नेछ ।
नारायणगढ मुग्लिन सडकखण्डमा पुनःपहिरो खसेर सडक अवरुद्ध
चितवन । नारायणगढ मुग्लिन सडकखण्डको चार किलोमा पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार आज साँझ पहिरो पन्छाएलगत्तै पुनःसोही ठाउँमा पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका वडा नं ६ मा बिहान ४ः१५ बजे पहिरो खसेको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा पहिराले ४५ मिटर सडक ढाकेको थियो । दुवैतर्फबाट लोडरले दिनभर लगाएर पहिरो पन्छाइएको भए पनि पुनःपहिरो खसेपछि सडक अवरुद्ध भएको हो । पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उनले जानकारी दिए । आज बिहानबाटै सो सडक अवरुद्ध भएपछि सवारी साधनको लामो लाइन लागेको छ ।
पिसिआर परीक्षण दायरा छिमेकी मुलुकभन्दा माथि: मन्त्री ढकाल
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ को पिसिआर परीक्षण गर्नेमा छिमेकी मुलुकमा नेपालको दायरा बढी नै रहेको बताएका छन् । आज राष्ट्रियसभाका सांसदले सोधेकाे प्रश्नको जवाफ दिँदै उनले प्रति १० लाखमा पाँच हजार १४६ जनामा परीक्षण गरिएको बताए । उनले भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र जापानजस्ता देशमा भन्दा नेपालमा परीक्षणको दायरा माथि रहेको बताए । उनका अनुसार १० लाखमा भारतले चार हजार ४११, पाकिस्तानमा चार हजार ३०८, श्रीलङ्का चार हजार २०४ र जापानमा दुई हजार ७२४ जनामा परीक्षण गरिएको छ । ख्मन्त्री ढकालले यही असार १५ गतेदेखि सातवटै प्रदेशमा ठूलो मेसिन ल्याएर दैनिक १० हजार परीक्षण गर्ने तयारीसमेत भइरहेको जानकारी दिए । नेपालमा हाल २२ प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको छ । अहिलेसम्म एक लाख ४९ हजार ७७२ परीक्षण गरिएको छ । आज मात्र छ हजार ३७ जनामा परीक्षण गरिएको उनले जानकारी दिए । मन्त्री ढकालले कोभिड–१९ का सङ्क्रमित सबैलाई परीक्षण गरिने भन्दै कुनै एक परिवारका सबैमा सङ्क्रमण भए सबैको परीक्षण गरिने बताए । उनले स्वास्थ्य सामग्री खरिदमा कुनै अनियमिता नभएकोसमेत बताए । उनले कोभिड–१९ का लागि किनिएका स्वास्थ्य सामग्रीमा अनियमिता भए संसद्मा रहेको समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने बताए । मन्त्री ढकालले हिमोफेलिया रोगको चार महिनाका लागि औषधि मौज्दात राखिएकोसमेत बताए । उनले लम्की चुहा नगरपालिका१ मा रहेको क्वारेन्टिनमा एक महिलामाथि भएको बलात्कारको घटनामा संलग्नलाई हदैसम्मको कारवाहीसमेत हुने बताए । उनले कोभिड–१९ महामारीका रुपमा फैलिए अन्य मन्त्रालयबाट बजेट कटौती गरेर महामारी रोकथाम र नियन्त्रणमा खर्चिने बताए। सरकारले आगामी आर्थिक वर्षमा केन्द्रमा ३०० र सातवटै प्रदेशमा ५० श्ययाका सरुवा रोग अस्पताल बनाउने योजना रहेको उनको भनाइ थियो ।
८ लाख ५० हजार घुससहित मालपोत अधिकृतसहित छ कर्मचारी नियन्त्रणमा
काठमाडाैं । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ । जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग रु आठ लाख ५० हजार घुस लिँदै गरेका अवस्थामा मालपोत अधिकृत रघुवंश कँडेल, नासु उद्धव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे र गोपाल खड्का तथा खरिदार दीपक खनाललाई नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आयोगको कार्यालय टङ्गालबाट खटिइएको टोलीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–९ सामाखुसी चोकस्थित स्काई पार्टी प्यालेस अगाडिबाट मङ्गलबार नियन्त्रणमा लिए पनि आज सार्वजनिक गरेको हो ।
१ सय ८५ नगरपालिकामा एकीकृत शहरी विकास योजना गर्दै छाैं- मन्त्री नेम्वाङ
काठमाडौं । शहरी विकासमन्त्री वसन्तकुमार नेम्वाङले १ सय ८५ नगरपालिकामा एकीकृत शहरी विकास योजना सञ्चालन गर्न लागिएको बताएका छन् । राष्ट्रियसभाका सांसदहरुले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटमा शहरी विकास मन्त्रालयअन्तर्गत विनियोजित रकमका सम्बन्धमा उठाएकाे प्रश्नको आज जवाफ दिनुहुँदै उनले बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामना गर्न राष्ट्रिय शहरी विकास रणनीति तयार पार्न लागिएको जानकारी दिए । एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै सुरक्षित र दिगो शहर निर्माण गर्न लागिएको छ । नवलपरासी पूर्व र रुकुमपूर्व जिल्ला सदरमुकामको पूर्वाधार निर्माण अघि बढाएको बताउँदै उहाँले मध्यपहाडी लोकमार्गले जोड्ने सुविधायुक्त नयाँ १० शहर निर्माण गर्न रु दुई अर्ब बजेट विनियोजन भएको छ र शहरी करिडोर आयोजनाअन्तर्गत हालसम्म शुरु गरिएका क्षेत्रको विस्तृत सम्भाव्यता अध्ययन गरी मेघासिटी निर्माण आरम्भ गरिने जानकारी दिए । नागरिकको सुरक्षित आवासको हक सुनिश्चित गर्न तीन वर्षभित्र सबै खर र फुसका छाना भएका घर प्रतिस्थापन गर्ने नीतिलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री नेम्वाङले आगामी वर्ष थप एक लाख सुरक्षित घर निर्माण गर्ने गरी रु तीन अर्ब ५० करोड बजेट विनियोजन भएको बताए । उनका अनुसार शहरी पूर्वाधारको एकीकृत विकास गर्न सञ्चालित सघन शहरी विकास कार्यक्रम गर्न आगामी आर्थिक वर्षका लागि रु नौ अर्ब ६० करोड बजेट विनियोजन भएको छ । सङ्घीय संसद् भवन निर्माणलाई निरन्तरता एवं सुदूरपश्चिम प्रदेशको शहरी पूर्वाधार विकासका लागि पनि कार्यक्रमको व्यवस्था गरिएको र सातै प्रदेशका २९ शहरमा शहरी पूर्वाधार विकास कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको केन्द्रमा नयाँ शहर विकास गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ । नगर विकास कोषलाई शहरी पूर्वाधार विकास निगमका रुपमा पुनःसंरचना गरी शहरी पूर्वाधार निर्माणका लागि आवश्यक पर्ने पुँजी परिचालन गर्ने संस्थाका रुपमा विकास गर्न लागिएको उनको भनाइ छ । सरकारी भवनको डिजाइन, क्षेत्रफल तथा लागतसम्बन्धी मापदण्ड तयार गरिने बताउँदै उहाँले ठूला र जटिल पूर्वाधार आयोजनाको प्राविधिक उपयुक्तता पुनरावलोकन गर्ने तथा भवन संहिता र भवन निर्माण मापदण्ड कार्यान्वयनको प्रभावकारी नियमन गर्ने व्यवस्था मिलाइएको पनि बताए । ट्रान्स हिमालय ट्रेल निर्माणका लागि हिमाली क्षेत्रका पाँच वटा शहरी क्षेत्र छनोट गरिएको बताउँदै मन्त्री नेम्वाङले हुलाकी मार्गमा पनि नयाँ १५ वटा शहर बनाउने र २९ वटा नगरपालिकामा शहरी शासकीय सुधार कार्यक्रम कार्यक्रम सञ्चालन गरिने कार्यक्रम रहेको जानकारी दिए । शहरी विकास ऐनको मस्यौदा अन्तिम चरणमा पुगेकाले सम्भव भएसम्म चालू अधिवेशनमै पेश गर्ने तयारी भइरहेको मन्त्री नेम्वाङले जानकारी दिए । मन्त्रालयको इन्धनका लागि चालू आर्थिक वर्षमा रु दुई लाख राखिएकामा नपुगेर थप गर्नुपरेकाले यस वर्ष रु छ लाख विनियोजन गरिएको उनले स्पष्ट पारे । इन्धनका सम्बन्धमा सांसद जीतेन्द्रनारायण देवले खर्च कटौतीको प्रस्ताव राखेका थिए । आगामी आर्थिक वर्ष शहरी पूर्वाधार एवं विकासका लागि सरकारले रु ३७ अर्ब ८० करोड विनियोजन गरेको छ । यसैगरी शहरी पूर्वाधार विकासका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको छ ।
त्रिवि आइओएमको डीनमा प्राडा दिव्या सिंह शाह नियुक्त
काठमाडाैं । आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी छन् । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानकाे रुपमा रहेकाे आईओएमको डीनमा प्राडा दिव्यासिंह शाह नियुक्त भएकी हुन् । त्रिवि कार्यकारी परिषदको आज बसेको सर्च कमिटी बैठकले प्रा.डा शाहलाई डीनमा नियुक्ति गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक साथसाथै त्रिवि शिक्षण अस्पतालको मिर्गौला विभाग प्रमुख हुन् प्राडा शाह ।
झापामा घरघरमा पाइपलाइनबाट ग्यास पु¥याउन सर्वे शुरु
झापा । झापाको कनकाई नगरपालिका–२ स्थित निर्माणाधीन कनकाई–बिर्ता–अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन लिमिटेडले घरघरमा पाइपलाइनबाट ग्यास पु¥याउन सर्वे शुरु गरेको छ । संस्थाबाट उत्पादित बायोग्यास वितरणका लागि अर्थ मन्त्रालयले रु दुई करोड उपलब्ध गराएपछि पाइपलाइन निर्माणका लागि सर्वे शुरु गरिएको संस्थाका प्रबन्ध निर्देशक दीपक चापागाईंले जानकारी दिए । “पहिलो चरणमा एक हजार घरमा पाइपबाट ग्यास पु¥याउने लक्ष्यका साथ काम अघि बढाइएको छ”, उनले भने, “अर्थ मन्त्रालयबाट दुई करोड अनुदान पाएपछि काम अघि बढाएका छौँ ।” हालसम्म बायोग्यास प्लान्ट निर्माणको ७० प्रतिशत काम पूरा भइसकेको छ । डाइजेष्ट निर्माण सम्पन्न भइसकेको छ भने कन्ट्रोल प्यानल र सहायक पूर्वाधारको काम धमाधम भइरहेको छ । आगामी मङ्सिरसम्म बायोग्यास उत्पादन गरेर घरघरमा पु¥याउने लक्ष्यका साथ द्रुत गतिमा काम अघि बढिरहेको प्रबन्ध निर्देशक चापागाईंले बताए । चार हजार घनमिटरको बायोग्यास प्लान्ट पूर्णक्षमतामा सञ्चालनमा आएपछि दुई हजार घरमा पाइपलाइनबाट ग्यास पु¥याउन सकिने संस्थाका अध्यक्ष मिनाल तिम्सिनाले बताए । “पहिलो चरणमा कनकाई–२ र ३ का एक हजार घरमा ग्यास पु¥याउँछौँ”, उनले भने, “त्यसपछि थप विस्तार गर्दै लगिनेछ ।” ग्यासका साथै दैनिक दश टन अग्र्यानिक मल उत्पादन हुने संस्थाका प्राविधिक जीवन श्रेष्ठले बताए । प्लान्ट निर्माणका लागि बन्दाबन्दीका समयमा पनि ३०/३५ जनाले दैनिक १२ घण्टासम्म काम गरिरहेको उनले बताए । लकडाउनका बेला पनि एक दिन काम रोकिएको छैन”, उनले भने, “निर्माण कार्य द्रुत गतिमा अघि बढिरहेको छ ।” रु १६ करोड ३६ लाख ६७ हजारको लागतमा निर्माणाधीन प्लान्टका लागि विश्व बैंकले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत रु पाँच करोड ४८ लाख अनुदान दिएको छ । संस्थामा आबद्ध आठ सय शेयर सदस्यहरुले रु एक करोड ५० लाख लगानी गरेका छन् भने पाइपलाइन विस्तारका लागि अर्थ मन्त्रालयले रु दुई करोड अनुदान दिएको छ । संस्थामा कनकाई नगरपालिका, बिर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकाले समेत लागत साझेदारी गरेका छन् । यी तीन स्थानीय तहबाट फोहर सङ्कलन गरिने प्रबन्ध निर्देशक चापागाईंले बताए । स्थानीय तहबाट सङ्कलन गरिएको फोहर वर्गीकरण गरेर कुहिने फोहरबाट बायोग्यास, नकुहिने प्लाष्टिकजन्य फोहरबाट पुनः प्रयोग गर्न मिल्नेलाई नवीकरणीय गर्ने र प्रयोग गर्न नमिल्ने प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकालिने योजना रहेको चापागाईले बताए । फोहर सङ्कलनका लागि शिवसताक्षी नगरपालिका र झापा गाउँपालिकासँग पनि छलफल अघि बढाइएको उनले बताए । बायोग्यास प्लान्टको गत वैशाखमा अर्थमन्त्री डा युवराज खतिवडाले शिलान्यास गरेका थिए भने २०७५ साल जेठ १७ गते कम्पनी दर्ता गरेर संस्थाले काम अघि बढाएको थियो ।
कालीकोटमा थप १४ जनामा कोरोना संक्रमित
कालीकोट । कालीकोटमा थप कोरोनाका १४ संक्रमित फेला परेका छन् । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा १४ जनामा कोरोना संक्रमण फेला परेको हो । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका वडा नंं २ का १९, २१, २१, २४, ३८ र ६० वर्षीय पुरुष तथा वडा नं ३ का २३, ४२ र ५० वर्षीय पुरुष र १८, २२, ५१ वर्षीया महिलामा कोरोना संक्रमण फेला परेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी कटकबहादुर महतले बताए । कोराना संक्रमित आइसोलेशनमा छन् । ‘संक्रमितको संख्या ४३ छ जसमध्ये १ जना बाजुराका छन् ’, उनले भने, ‘२५ जना निको भएर घर गइसक्नुभएको छ । हाल आइसोलेशनमा १८ भर्ना हुनुभएको छ ।’ रासस