विकासन्युज

कटुवाल ग्रील उद्याेगले ल्यायाे खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण 

काठमाडाैं । न्यु कटुवाल ग्रील उद्याेगले खुट्टाले चलाएर स्यानिटाइज गर्ने उपकरण बजारमा ल्याएको छ । उद्याेगले कम मूल्यमा गुणस्तरीय एवम् लामो समयसम्म टिकाउ हुने फलामबाट निर्मित उक्त उपकरण बजारमा ल्याएको हाे । स्वदेशमै रोजगारी सृजना हुने राज्यलाइ राजस्व प्राप्त हुने र स्वदेशी उद्याेगबाट उत्पादित बस्तुको  प्रयोगकोलाई बढावा उक्त उपकरण ल्याएकाे ग्रील उद्याेगले जनाएकाे छ । एक हातले नछोइकन स्यानिटाइज गर्न मिल्ने उक्त उपकरणकाे मूल्य एक हजार ५ सय ५० रूपैयाँ(भ्याट बाहेक) रहेकाे छ  । साथै, साबुन पानीले हात धुन मिल्ने वाटर टेन्की सहितको सामाग्री १५ हजार रूपैयाँमा निर्माण गरि उपभोक्ताहरुलाई उपलब्ध गराउन थालेको छ । उक्त उद्याेगले कलकारखाना सपिङमल, होटल रेस्टुरेन्टमा पार्टिप्यालेस, सरकारी कार्यालय सार्वजनिक स्थल/लगायतका स्थानमा उपलब्ध गराउँदै आएको छ। उद्याेगका सञ्चालक मोहन कटुवालका अनुसार सधै लकडाउनमा बसेर सिङोमुलुकलाई आर्थिक सन्कटमा पार्नु भन्दा सबैले आफ्नो आफ्नो स्थानबाट कोरोनाको संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाएहरु अपनाएर सबै जनाले आफ्नो आफ्नो काममा लाग्नु पर्ने बताएका छन् । याे अवस्थामा यस सुरक्षाको उपकरणको प्रयोगले केही हदसम्म सुरक्षित रहन मद्दत पुग्ने भएकोले सबै वर्गले स्वीकार्न सक्ने उनकाे विश्वास छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका कटुवालले महाभुकम्प पिडीत ६०० घर परिवारलाई ३० हजारमा भुइघर उपलब्ध गराएका थिए।

पैसालाई काेराेना सङ्क्रमणरहित बनाउन ‘प्लाज्मा आयोन टेक्नोलोजी’

काठमाडौं ।  के तपाईलाई थाहा छ ? पैसाबाट कोरोना भाइरस सर्ने सम्भावना धेरै हुन्छ । पैसा नभए हाम्रो घर व्यवहार चल्दैन । जहाँ जानुस् पैसा छैन भने कुनै काम बन्दैन । तर हामीले ख्याल गर्नैपर्छ कि पैसाबाट पनि विभिन्न सङ्क्रमण फैलिने गर्छन् । दैनिकरुपमा प्रयोग गर्ने पैसा हामीले सोंचेभन्दा बढी फोहर हुन्छ । एउटा नोटमा सयौँ किसिमका ब्याक्टेरिया, फङ्गस तथा भाइरस हुन्छन । पैसा अन्यन्तै क्रियाशील हुने र जसको हातमा पनि पुग्ने भएकाले पैसा विभिन्न रोगको संवाहक हुनसक्छ । कागज तथा कटनको नोटमा भन्दा पोलिमर नोटमा जीवाणु कम समय रहन्छन् । नोटभन्दा ‘क्वाइन’मा भाइरस तथा ब्याक्टेरिया धेरै समय रहन्छ । नोटमा दुई दिनसम्म र क्वाइनमा लामो समयसम्म भाइरस रहन सक्छ । स्विस अध्ययनले पैसामा १२ दिनसम्म जीवाणु रहनसक्ने बताएको छ । क्यासको विकल्पका रुपमा कार्ड प्रयोग गरिने अभ्यास छ । कार्ड पनि सङ्क्रमित हुनसक्छ । पैसाका माध्यमबाट कोभिड–१९ सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैंकको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभर्सिटिले गरेको एक अध्ययनअनुसार पैसामा पनि ‘सुक्ष्म जीव’ बाँच्न र हुर्कन उपयुक्त वातावरण भएको प्रमाणित भइसकेको छ । चिकित्सकले पनि कुनै पनि भाइरसका जीवाणु पैसामा करिब दुई सातासम्म जीवित रहनसक्ने बताउँदै आइरहेका छन् । नेपालको पैसामा अनुसन्धान भएको पनि छैन । तर यसबारे हामी सजक रहनुपर्छ । पैसामा तीन हजारभन्दा बढी प्रकारका किटाणु जस्तै भाइरस, ब्याक्टेरिया, सामान्य किटाणु, ढुसी देखा परेका छन् । त्यस अध्ययनमा बैंकबाट निकालिएको पैसामा आठ प्रकारका ब्याक्टेरिया देखिएका थिए । अध्ययनअनुसार तरकारी बजार, मासु पसल, पान पराग पसल, पेट्रोलपम्प, जुत्ता सिलाउने पसल र माग्नेसँग भएको नोटमा शतप्रतिशत जीवाणु हुने पुष्टि भएको छ । विभिन्न किसिमका प्राणघातक सरुवा रोगको व्याक्टेरियाले पैसामा सङ्क्रमण भएको पुष्टि गरेको छ । संयुक्त राज्य अमेरिकाको पैसामा कोकेन भएको ‘फरेन्सिक साइन्स इन्टरनेशनल’ले प्रमाणित गरिसकेको छ । हेपाटाइटिस सीको स्रोतका रुपमा कोकेनलाई लिइन्छ । यसैगरी दक्षिण अफ्रिकाको पैसामा पनि ९० प्रतिशत विभिन्न किसिमका प्राणघातक ब्याक्टेरिया तथा ढुसीबाट दूषित भएको पाइएको छ । मास्टर कार्डका अनुसार शौचालय र जुत्ताको तलुवाभन्दा पैसा बढी फोहर भएको परीक्षणका क्रमममा पाइएको थियो । कोरोना भाइरसले विश्वव्यापीरुपमा प्रभाव जमाउँदै गएसँगै विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले समेत कारोना भाइरस पैसाबाट पनि सर्ने भएकाले यसबाट बच्ने उपायको प्रयोग गर्न आग्रह गरिसकेको छ । पैसामा ब्याक्टेरिया कसरी विकसित हुन्छन् ? विभिन्न कारणबाट पैसामा ब्याक्टेरियाका फैलावट हुने इञ्जिनीयर राम बाडेले बताउनुभयो । पैसाको प्रयोग गर्दा जथाभावी कच्याककुचुक गरी राख्ने गरेमा अझ बढी ब्याक्टेरिया भाइरस फैलने सम्भावना ज्यादा हुन्छ । “दैनिकरुपमा पैसा एक हातबाट अर्को हात हुँदै अत्यधिक आदानप्रदान हुनु भनेकै एक व्यक्तिको रोग अर्को व्यक्तिमा सार्ने जस्तै हो”, उनले भने, “जति बढी पैसाको प्रयोग आउँछ उति नै बढी प्रदूषण फैलने सम्भावना हुन्छ ।” दैनिकरुपमा प्रयोगमा आएका पैसामा मानिसहरुको थुक, दिशा पिसाब, खोकी तथा हाच्छ्युँ आदिबाट समेत दूषित हुन्छ । नेपाली पैसाको प्रदूषणस्तर जाँच गर्दा प्रष्टै देखिने उनको भनाइ छ । कसरी कीटाणुरहित बनाउने ? पैसामा भएको ब्याक्टेरिया तथा भाइरसलाई विभिन्न तरिकाबाट हटाउन सकिने उनको भनाइ छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ र ‘प्लाज्मा आयोन टेक्नोलोजी’ बाट सहजरुपमा किटाणुनाशक बनाउन सकिन्छ । ‘युभी रे टेक्नोलोजी’, ‘जेर्मिसाइड मेथोड’ बाट पैसालाई किटाणुनाशक बनाउँदा मानव शरीरप्रति नकारात्मक प्रभाव पार्ने भएकाले ‘प्लाज्मा आयोन टेक्नोलोजी’ अहिलेको अत्याधुनिक प्रविधि भएको उहाँले बताउनुभयो । यो प्रविधि मानव र वातावरणमैत्री भएको उनको दाबी छ । संयुक्त राज्य अमेरिका, कोरिया, सिङ्गापुर, चीन, भारत, जापान, अस्ट्रेलिया, थाइल्याण्ड, भियतनाम, कम्बोडिया, बेलायत, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) लगायत कतिपय मुलुकका बैंक तथा वित्तीय संस्थाले पैसामा हुने प्राणघातक ब्याक्टेरिया तथा भाइरसको किटाणुनाशक बनाउने उपकरण प्रयोगमा ल्याएका छन् । नेपालले पनि पैसालाई सङ्क्रमणरहित बनाउन प्लाज्मा आयोन टेक्नोलोजीलाई आत्मसात गर्नुपर्ने अहिले आवश्यकता रहेको इञ्जिनीयर राम बाडेको भनाइ छ । “पैसाबाट हुने कोरोना सङ्क्रमणबाट बच्नका लागि बैङ्कहरुले प्लाज्मा आयोन टेक्नोलोजीको प्रयोगमा जोड दिनुपर्छ”, उनले भने । पैसालाई सङ्क्रमणरहित बनाउनका लागि यस्ता उपकरणको प्रयोगमा नेपाल राष्ट्र बैङ्कले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने देखिएको छ । रासस

राष्ट्र बैंकका गभर्नर समक्ष चेम्बरले पेश गर्याे ४० बुँदे सुझाव 

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नेपाल राष्ट्र बैंकका समक्ष ४० बुँदे सुझाव पेश गरेको छ । चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले २०७७/७८को मौद्रिक नीतिले सम्वोधन गर्नु पर्ने बिषयहरु राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीे समक्ष पेश गरेका हुन् । उक्त अवसरमा चेम्बरका अध्यक्ष श्रेष्ठले कोभिड-१९को बिषम परिस्थितिमा बजेट मार्फत निजी क्षेत्रको समस्या र माग बारे अपेक्षा गरे बमोजिम सम्वोधन हुन नसकेको सन्दर्भमा समस्त व्यवसायी क्षेत्रले मौद्रिक नीतिबाट सम्वोधन हुने आशा राखेको बताए । अध्यक्ष श्रेष्ठले चेम्वरका सुझावहरु वुंदागत रुपमा प्रस्तुत गर्नु हुंदै नेपाल राष्ट्र बैंक नेपाल सरकारको सल्लाहकारको भूमिका समेत निर्वाह गर्ने भएकोले कोभिड-१९बाट प्रभाबित अर्थतन्त्रको पुनरुत्थान गर्न र बर्तमान अवस्थामा बन्द भएका आर्थिक गतिविधिहरु चलायमान बनाउन व्यवसायीक क्षेत्रका अन्य मागहरुलाई सम्वोधन गरी व्यवसायीक वातावरण बनाउन पहल गरी दिने बिश्वास चेम्बरले लिएको बताए । उक्त अवसरमा राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले चेम्बरबाट प्रस्तुत अधिकांश सुझावहरु बर्तमान परिस्थिति बमोजिमको यथार्थ माग अनुसारनै रहेको बताउँदै अहिले तरलता, रेमिट्रयान्स प्रवाह एवम् बिदेशी मुद्राको संचिति सन्तोषजनक अवस्थामा रहेकोले लगानीको लागि पुँजीको अभाव नरहेको बताए । यस परिस्थितिमा उद्यमी व्यवसायीहरुको खांचो रहेको उनले बताए । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७/७८को बजेटले निजी क्षेत्रले अपेक्षा गरे अनुसारको व्यवस्था गर्न सकेको छैन । निजी क्षेत्रलाई उत्साहित बनाउन तथा निजी क्षेत्रको मनोबल कायम राखी आर्थिक पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत अधिकतम प्रयास गर्न पर्ने चेम्बरकाे अपेक्षा रहेकाे छ । मौद्रिक नीति २०७७/७८ का लागि सुझाव १. पूर्ण रुपले विस्तारित प्रकृतिको मौद्रिक नीति आजको आवश्यकता हो । २. आगामी मौद्रिक नीति कोभिड १९ बाट प्रभावित अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित रहनु पर्दछ । ३. कोभिड १९ को प्रभावबाट शिथिल भएको अर्थतन्त्रलाई चलायमान (गतिशील) बनाउन आवश्यक व्यवस्थाहरु गरिनु पर्दछ । ४. मौद्रिक नीति तरलता व्यवस्थापनमा केन्द्रित हुनु पर्दछ । तरलता अभावको अन्त्यका लागि अल्पकालिन, मध्यकालिन तथा दीर्घकालिन रणनीति अख्तियार गरिनुपर्छ । ५. मौद्रिक नीतिले आर्थिक स्थायित्व प्रदान गर्न सक्नु पर्दछ । ६. आ.व. ०७७/७८ को बजेटले निर्देशित सात प्रतिशत वृद्घिदरको लक्ष्य हासिल गर्न वर्तमान अवस्थामा अत्यन्त चुनौतिपुर्ण देखिन्छ । विस्तारित मौद्रिक नीतिको साथै प्रतिस्पर्धी अर्थतन्त्रको विकासले मात्र आर्थिक गतिविधिहरु गतिशिल हुन सक्दछ । ७. सरकारले राखेको लक्ष्यलाई पूरा गर्न कोरोना प्रभावित अर्थतन्त्रको पुनरुत्थान एवम् शिथिल अर्थतन्त्रलाई गतिशील बनाउन निम्न अनुसारको पुनरकर्जाको व्यवस्था गर्नुपर्ने देखिन्छ । (क) कोभिड-१९ को प्रत्यक्ष प्रभाव परेका साना ठूलो सम्पूर्ण व्यावसायिक एवम् औद्योगिक क्षेत्रको पुनरुत्थानको लागि १०० अर्बको कोभिड-१९ प्रभावित पुनर्कर्जा नामले विशेष व्यवस्था गरिनुपर्ने । १ वर्षदेखि ३ वर्षसम्मको लागि ३ प्रतिशत ब्याजदरमा एकद्वार प्रणालीबाट कर्जा प्रवाह गरिनुपर्ने । ख) अर्थतन्त्रलाई गतिशील बनाउन बजेटमा उल्लेख भए अनुसारको १५० अर्बको कर्जा, घाटामा जाने उद्योग व्यवसाय, प्राथमिकता रहेको क्षेत्रहरु पर्यटन, निर्यात तथा यातायात क्षेत्र लगायतलाई ३ प्रतिशत ब्याजदरमा प्रवाहित गरिनु पर्ने । ग) उद्योग व्यवसायीले तिर्नुपर्ने चैत महिना र असार महिनासम्मको किस्ता र व्याज आवश्यकता अनुसार पुँजीकरण गरिनु पर्ने । घ) पुनर्कर्जाको वितरण कार्यविधि सरल र सहज हुनुपर्ने । ङ) हाल स्वीकृत ऋणको २५ प्रतिशत थप ऋणसम्म बिना धितो कर्जा उपलब्ध गराइनु पर्ने । च) विगतमा २० प्रतिशतभन्दा बढी नाफा भएका उद्योग व्यवसायहरु समेत हाल धराशायी हुने भएकाले कोभिड–१९ प्रभावित पुनर्कर्जाको लागि योग्य मानिनु पर्ने । छ) घरेलु, साना तथा मझौला उद्योग व्यवसायलाई झन्झटरहित ढंगले पुनरकर्जा सुविधा उपलब्ध हुनुपर्ने ज) कोरोना अवधिको पारिश्रमिक भुक्तानीका लागि ५० अर्बको कोष स्थापना गर्ने र पांच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराउने भनिए पनि हालको नगद अभावको अवस्था दृष्टिगत गरी कोष स्थापना भएर कार्यान्वयन नहुञ्जेल बैंक तथा वित्तीय संस्थाबाटै पछि कोषको रकमबाट मिलान हुनेगरी अल्पकालीन व्यवस्थापन हुनुपर्ने । ८. आव ०७७/७८ को बजेटमा निर्देशित सात प्रतिशत मुनिको मुद्रास्फीति कायम राख्न आपूर्ति प्रणाली सरल, सहज र सुलभ हुने खालको मौद्रिक नीति हुनुपर्दछ । ९. आर्थिक गतिविधि विस्तार एवं अर्थतन्त्र प्रतिस्पर्धी राख्नसक्ने औसत ब्याजदर (७ प्रतिशतदेखि ९ प्रतिशत) भित्र व्यवस्थापन गर्न आगामी मौद्रिक नीति केन्द्रित रहनु पर्दछ । १०. आत्मनिर्भर अर्थतन्त्रको विकास र विदेशबाट वर्तमान विषम परिस्थितिमा फिर्ता हुनसक्ने पन्ध्र लाख श्रमिकहरुको व्यवस्थापनका लागि आवश्यक लगानीयोग्य रकमको अभाव, आर्थिक गतिविधि विस्तारका लागि ठूलो अवरोध देखापर्ने सम्भावना देखिएको छ । यो चुनौतीको सम्बोधन गर्ने खालको मौद्रिक नीति आजको आवश्यकता देखिएको छ । ११. बजेट घाटा पूर्ति गर्न सरकारले उठाउने २२५ अर्बको आन्तरिक ऋणले गर्दा लगानी योग्य रकमको अभाव झन बढ्ने भएकाले यसको प्रभाव न्यूनीकरण गर्ने किसिमको मौद्रिक नीति ल्याइनु पर्दछ । १२. बैकिङ क्षेत्रमा हाल कायम ४.७५ प्रतिशतको स्प्रेडदरलाई ३.२५ प्रतिशतमा कायम गरिनु पर्दछ । १३. आगामी मौद्रिक नीतिमा भारतबाट आयात हुने मालसामानका लागि परिवत्र्य विदेशी मुद्रामा आयात हुने सामानको दायरा बढाउनु पर्दछ । १४. बैंक तथा वित्तीय संस्थाको बेसरेटमा अधिकतम २ प्रतिशतसम्म प्रिमियम थप गरी ब्याज लिन पाउने व्यवस्था गरिनुपर्ने । साथै कर्जा अवधिभर प्रिमियमको दर परिवर्तन गर्न नपाउने व्यवस्था गरिनु पर्ने । १५. ब्याजदर घटाउनको लागि बेस रेट गणनामा प्रयोग हुने सूचकहरुमा समयसापेक्ष परिमार्जन गरिनु पर्ने । १६. ब्याजदरमा थप तरलता प्रवाह गर्न एक्स्टरनल कमर्शियल बरोइङ्(ईसीबी) नेपाल राष्ट्र बैंकबाट खुला गरिएको वर्तमान अवस्थामा यसका प्रक्रियाहरु थप प्रभावकारी एवं सरलीकृत हुनु पर्दछ । १७. नेपालबाट तेस्रो मुलुकको लागि एलसी खोली खरिद गरिएको सामान तेस्रो मुलुकबाट बिक्री गर्नपाउने व्यवस्था हुनुपर्ने । यस्तो व्यापार गर्दा भुक्तानी गरिएको विदेशी मुद्राभन्दा बढी मुद्रा स्वदेशमा आउने सुनिश्चिततासहित थर्ड कन्ट्रि कन्ट्री मर्चेन्ट ट्रेडको व्यवस्था गरिनुपर्ने । १८.नेपाल आयात हुने सामानको लागि विदेशी उत्पादनकर्ताले उपलब्ध गराउने ऋणमा यूस्यन्स एल÷सी, डिफर्ड क्रेडिटको अवधि २४० दिनसम्म कायम गरिनु पर्ने । १९. हालको असहज अवस्था विद्यमान रहेसम्म क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थालाई स्वेच्छिक गरिनु पर्ने । २०. अर्थतन्त्रमा लगानीयोग्य रकम अभाव न्यून गर्न सीडी रेसियोलाई ८५ प्रतिशतसम्म गरी अन्य लिक्विडिटी रेसियोको माध्यमबाट रिक्स म्यानेजमेन्ट गरिनुपर्ने । २१. प्रडक्टिभ सेक्टर÷नन प्रडक्टिभ सेक्टरलाई नयाँ आवश्यकता अनुसार परिभाषित गरिनुपर्ने । २२. आफ्नो सम्पत्ति धितो राखेर लगानीको लागि लिने व्यक्तिगत कर्जाको सीमा १ करोड पुर्याउनु पर्दछ । २३. अनौपचारिक अर्थतन्त्रमा रहेको पुँजीलाई बैकिङ प्रणालीमा ल्याउन विशेष नीति अवलम्बन गरिनु पर्दछ । २४. नगद ओसारपसारको स्पष्ट कानूनी व्यवस्थाको अभावले प्रहरी प्रशासनबाट अनावश्यक ह्यारेसमेन्ट गर्ने कार्यको अन्त्य गर्न स्पष्ट कानूनी व्यवस्था गरिनु पर्दछ । २५. बैकिङ कारोबार प्रवद्र्धनको लागि चेक बाउन्सको लागि कडा कानुनी व्यवस्था गरिनु पर्दछ । कुनै फर्म, कम्पनीे, संस्था तथा व्यक्तिहरुबाट जारी भएको चेक पटकपटक बाउन्स भएमा त्यस्ता फर्म कम्पनी संस्था तथा व्यक्तिहरुलाई कालोसूचीमा राख्ने लगायत अन्य कडा कानूनी कारवाहीको लागि व्यवस्था गरिनुपर्ने । २६. अस्वस्थ प्रतिस्पर्धाले भइराखेको बैंकहरुको अनियन्त्रित खर्चलाई प्रभावकारी अनुगमन एवम् नीतिबाट नियन्त्रण गरी बैंकहरुको लागत ब्याजदर कम गरिने प्रयास गरिनु पर्ने । २७. १५ प्रतिशत टीडीएसको कारणले ईसीबीको ब्याजदर महँगो हुने भएकोले यसलाई कम गर्न अर्थ मन्त्रालयसँग समन्वय गरिनुपर्ने । २८. विदेशी मुद्राको घटबढ जोखिम हेइजिङ् गर्न दायरा विस्तारका साथै थप मौद्रिक उपकरणहरु जारी गरिनुपर्ने । २९. औपचारिक अर्थतन्त्रलाई बढावा दिन ई–कमर्सलाई प्रोत्साहन गरिनुपर्ने र सम्पूर्ण आयात निर्यात तथा भुक्तानी प्रक्रियामा ई–कमर्स लागू गर्न प्राथमिकता प्रदान गरिनुपर्ने । ३०. कम्पनी कानुनअनुसार सीमित दायित्वको व्यवस्था भए पनि बैंकहरुले व्यक्तिगत जमानी नभइ ऋण नदिने भएकोले असीमित दायित्व खडा हुने गरेको छ । सीमित दायित्वको व्यवस्था कार्यान्वयन हुने परिपाटी लागू गरिनु पर्ने । ३१. विगतमा वैधानिक आयआर्जन गरेर बसेका र स्रोत खुलाउने प्रामाणिक कागजातको अभावमा १० लाखभन्दा बढीको बैकिङ क्षेत्रसँग कारोबार गर्दा स्रोत खुलाउनुपर्ने व्यवस्थाले थप पुँजी बैकिङ क्षेत्रमा आउन सकिरहेको छैन । सबैको सम्पत्तिको अभिलेखीकरण गरिनु पर्ने । यसबाट तरलता अभाव समस्यालाइ सम्वोधन गर्नेछ । ३२. शेयर बजारलाई स्थिर राख्न मार्जिन लेन्डिङको सीमा ७५ प्रतिशतसम्म बढाउनु पर्ने । ३३. स्थानीय तहले बैंकमा जम्मा गरेको रकमलाई हाल निक्षेपको रुपमा ५० प्रतिशतमात्र गणना गर्न पाइने व्यवस्थालाई शतप्रतिशत गणना गर्न दिन उपयुक्त हुने । ३४. कर्जाको लागि जोखिमको व्यवस्थाको लागि वाचलिष्ट को हाल कायम व्यवस्थालाई आगामी दुई आवका लागि स्थगित गर्न उपयुक्त हुने । ३५. भारतमा एलसी एट साइटबाट आयात गर्दा बिल अफ एक्पोर्ट लिन समय लाग्ने हुँदा भारतीय निर्यातकर्ताले समयमा भुक्तानी प्राप्त गर्न सक्दैनन् । ३६. फिक्स्ड र फ्लोटिङ इन्ट्रेस्टको सैद्धान्तिक व्यवस्था गरिँदा पनि बैंकहरु बढी नाफा आर्जन गर्नेे नियत राख्नाले लगानीकर्ता त्यसबाट लाभान्वित हुन सकेको छैन । ३७. १ अर्बभन्दा बढीको कर्जामा सहवित्तीयकरण गरिनुपर्ने व्यवस्था परिमार्जन गरी उक्त सीमालाई २ अर्ब गरिनुपर्र्ने । ३८. ग्राहकको गुनासो सुनुवाईसम्बन्धी व्यवस्था सरल, सहज प्रभावकारी ढंगले व्यवस्थित हुनुपर्ने । ३९. लकडाउन अवधिको ब्याज राहत दिने कुरामा अझै केही बैंकहरुले पूरा ब्याजसहित पेनार इन्ट्रेस्टसम्म ग्राहकको खातामा डेबिट गरिरहेका छन् । राष्ट्र बैंकद्वारा अनुगमन कडाइ हुनु पर्ने देखिन्छ । ४०. नगद कारोबारलाई कम गर्न भुक्तानी सेवालाई सरल, सहज र सहुलियतपूर्ण बनाइनुपर्ने ।

निष्कृय कर्जा असुल गर्न कृषि विकास बैंकले ८० प्रतिशतसम्मको छुट दिने, ५ हजार ऋणी लाभान्वित हुने

काठमाडौं । कृषि विकास बैंकले बैंकका ऋणीहरुका लागि व्याजमा ८० प्रतिशतसम्म छुट याेजना ल्याएको छ । लामो सयमदेखि विभिन्न कारणले बैंकको सावाँ व्याज तिर्न नसकेका आफ्ना ग्राहकहरुका लागि बैंकले ‘समस्या ग्रस्त कर्जा असुली तथा गैर बैकिङ सम्पत्ति राफसाफ गर्ने निर्देशिका २०७७’ जारी गरेर आकर्षकको स्कीम ल्याएको हो । बैंकबाट कर्जा लिएको लामो समय भएर पनि व्यवसाय असफल भई सावाँ व्याज तिर्न नसकेका ग्राहकहरुका लागि एक महिनाका लागि छुटको व्यवस्था गरेको बैंकले जनाएकाे छ । कृषि विकास बैंकका डेपुटी जर्नल म्यानेजर ध्रुवचन्द्र गौतमले लामो समयदेखि साँवा व्याज तिर्न नसकेका र अहिले कोरोना भाइरसको कारणले व्यवसाय तथा ग्राहकलाई परेको असरलाई न्युनिकरण गर्ने उद्देश्यले छुट तथा सहुलियतको व्यवस्था गरेको बताएका छन् । ‘कर्जाको सम्पत्तिको गुणस्तर कायम गर्न र संस्थाको वित्तीय क्षमतालाई पनि सुदृढ बनाउन, विभिन्न कारणले खराव कर्जामा परेका  लामो समयदेखि सावाँ व्याज तिर्न नसकेका, कारबाहीबाट पनि अुसल हुन नसकेका, लिलामी प्रक्रियामा पनि गइसकेको कालोसूचीमा परेका ग्राहकको लागि यो व्यवस्था गरेको हौं, यसले बैंक र ग्राहकलाई राहत हुनेछ,’ उनले भने । बैंकले विपन्न, युवा स्वरोजगार, वैदेशिक रोजगारमा गएर कर्जा लिएर तिर्न नसकेका र विशेष गरेर साना ऋणीहरुर्लाइ फोकस गरेर यो व्यवस्था गरेको हो । धितो नभएका, विभिन्न कारणले व्यवसाय सफल नभएका, कृषिका लागि कर्जा लिएका तर पनि तिर्न नसकेका ऋणीहरुका लागि छुटको व्यवस्था गरेको उनको भनाई छ । यसबाट न्युनतम ५ हजार ऋणी लाभान्वित हुने बैंकको विश्वास छ । साना तथा लघु वित्तअन्तर्गत कर्जा नै २४ करोड ७३ लाख रुपैयाँ असुल गर्न बाँकी छ भने १२ सयभन्दा बढी युवा स्वरोजगार कार्यक्रम मार्फत गएको साढे ९ करोड रुपैयाँको सावाँ व्याज पनि असुल गर्न नै बाँकी नै रहेको उनले बताए । बैंक मार्फत युवा स्वरोजगार कर्जा १९ जिल्लामा प्रदान भएको उनले बताए । ‘धितो राम्रो भएकालाई कम छुट दिन्छौं, जसको धितो मध्यम खालको छ, परियोजना छैन, जसलाई विपत्तिकाे कारणले असर भएको छ, उनीहरुको राफसाफ गर्ने उद्देश्यले बढी छुट दिन्छौं,’ उनले भने । उनले न्यनतम १० प्रतिशतदेखि अधिकतम ८० प्रतिशतसम्म छुट दिन सकिने बताए । ‘४० लाखसम्मकाे कर्जाको हकमा प्रदेश कार्यालयले छुट मिनाहा दिन सक्नेछ, त्योभन्दा माथिको रकमका लागि केन्द्रिय बैंकले नै दिन सक्नेछ,’ उनले भने । अहिले कृषि बैंकमा साढे २ प्रतिशत निष्कृय कर्जा रहेको उनले बताए । बैंकको आधारदर नघट्ने तथा बैंकको लागत कम नहुने गरी छुट प्रदान हुने उनको भनाई छ । ‘अगाडि नै कानुनी कारबाहीमा र लिलामी परिसकेका ऋणीहरुका लागि यो छुटको व्यवस्था गरेका हौं, बैंकलाई आर्थिक व्ययभार परेपनि आधार दर नघट्ने गरी छुट दिन्छौं, त्यति हुँदा पनि कुल व्याजको ५ देखि १० प्रतिशतसम्म असर पर्छ,’ उनले भने । यो छुट असार मसान्तसम्म रहनेछ तर, ग्राहकले फेरि समय माग गरेमा यसलाई लम्ब्याउन सक्ने उनको भनाई छ ।

नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु, मृतककाे संख्या २० पुग्याे

काठमाडाैं । नेपालमा काेराेनाकाे कारण थप एकजनाकाे मृत्यु भएकाे छ । बाँके जिल्ला, बैद्यनाथ गाउँपालिका वडा नं ६ कि ४६ वर्षिय महिलाकाे काेराेनाकाे कारण मृत्यु भएकाे पुष्टि भएकाे हाे । उनी नेपालगंज स्थित शिक्षण अस्पताल काेहलपुरमा जेठ ३० गते मृगौला सम्बन्धि समस्याकाे कारण भर्ना भएकी थिईन् । असार १ गते उनकाे स्वाब संकलन गरी परीक्षणकाे लागि भेरी अस्पतालमा  पठाईएकाे र नतिजा नआउँदै उनकाे असार १ गते साँझ ६ बजे मृत्यु भएकाे स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । उनकाे परीक्षणकाे नतिजा असार २ गते आउँदा पाेजेटिभ आएकाे उनले बताए । याेसँगै नेपालमा काेराेनाकाे कारण मृत्यु हुने व्यक्तीकाे संख्या २० पुगेकाे छ ।

थप ५ सय ८६ जनामा देखियो कोरोना, संक्रमितकाे संख्या ७१ सय नाघ्याे

काठमाडाैं । नेपालमा थप ५ सय ८६ जनामा देखियो कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा नेपालमा ५  सय ८६ जनामा कोराेना भाइरस देखिएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशको विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमण देखिएकाहरुको संख्या ७ हजार १ सय ७७ पुगेकाे छ भने निकाे भएर घर फर्किनेकाे संख्या ११ सय ६७ रहेकाे छ । हालसम्म नेपालमा काेराेनाकाे कारण २० जनाको मृत्यु भइसकेकाे छ । कतिकाे परीक्षण ? हालसम्म १ लाख ४९ हजार ७ सय ७२ काे पिसिआर विधि र २ लाख ३३ हजारकाे ५ सय ४३ जाकाे आरडिटीबाट परीक्षण भएकाे छ । सरकाराले पिसिआरलाई मात्र मान्यता दिनुपर्नेमा आरडिटीबाटकाे परीक्षण भने राेकेकाे छैन क्वारेन्टिनमा र आईसाेलेसनमा कति छन् ?  हाल देशभर १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टिनमा रहेका छन् भने ५ हजार ९ सय ९० जना आईसाेलेसनमा रहेका छन् ।

मुलुकभर फोरजीको सेवा पुग्ने गरी काम भइरहेको छ- अर्थमन्त्री खतिवडा

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षभित्रै मुलुकभर नै दूरसञ्चारको फोरजीको सेवा पुग्ने गरी काम गरिरहेको जानकारी दिएका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत सञ्चार तथा सूचना प्रविधिमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका जिल्लामा फोरजीसेवा विस्तारका लागि सर्वेक्षणको काम भइरहेको बताए । मन्त्री खतिवडाले भने, ‘लकडाउनका कारणले टावर निर्माण र मर्मत केही ढिलाइ भए पनि फोरजी सेवा मुलुकभर चल्ने छ । मुलुकका सबै क्षेत्रमा दुई वर्षभित्र ईन्टरनेट सेवा पुग्ने गरी सरकारले फोरजीको काम अघि बढाइरहेको छ । सेटेलाइट विस्तारका लागि पाएको अधिकार प्रयोग गर्ने सन्दर्भमा कुन विधिबाट ल्याउने भन्नेमा बहस गर्न सकिने भए पनि नेपालको आफ्नै सेटेलाइट हुनुपर्छ भन्नेमा कुनै विवाद नरहेको बताउँदै उनले भने, ‘सेटेलाइट सम्बन्धी सबै कुरा पारदर्शी र प्रतिस्र्धाका आधारमा हुनेछ । यसको प्रारम्भिक काम मात्रै आगामी आर्थिक वर्षमा प्रारम्भ गरिन लागिएको हो ।’ विज्ञापन अब छापाको माध्यमबाट मात्र होइन, अन्य माध्यमबाट पनि दिन सकिन्छ भन्ने व्यवस्था गरिएको बताउँदै अर्थमन्त्री खतिवडाले विज्ञापन बोर्ड गठन भइसकेपछि विधिसम्मत् ढङ्गले लोककल्याणकारी विज्ञापन उपलब्ध हुनेछ भने । उनले भने ‘बोर्ड गठनपछि कुनै व्यक्ति विशेषलाई विज्ञापन दिने स्थिति हुँदैन, विज्ञापन बोर्ड अब छिट्टै गठन हुनेछ । कसलाई दिने, कसलाई नदिने, कुन विधिबाट दिने, निश्चित मापदण्ड र वस्तुवादी ढङ्गबाट पारदर्शी ढङ्गले बोर्डले काम गर्नेछ ।’ विगतका तुलनामा सञ्चार माध्यमलाई यस पटकको बजेटले धेरै सम्बोधन गरेको बताउँदै मन्त्री खतिवडाले भने ‘सञ्चार गृहका लागि कारोवारका आधारमा लाग्ने शुल्कमा ५० प्रतिशतले घटाइएको छ, दर्ता नवीकरण गर्ने समय बढाइएको छ, सबै किसिमका बैङ्किङ प्रणाली ऋण लिएर सञ्चार गृह सञ्चालन गरिएको छ भने ब्याज र ऋणको ब्याज बुझाउने समयसीमा धकेल्ने स्किम सञ्चार क्षेत्रलाई पनि छ ।’ रेडियो नेपाल र टेलिभिजनलाई स्वायत्त र सक्षम सार्वजनिक सञ्चारमाध्यमको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रसारण अन्तर्गत सञ्चालनका लागि आवश्यक कानूनी व्यवस्था अघि बढाइ सकिएको उनले जानकारी दिए । कोरोनाको बीमा र पत्रकार दुर्घटना बीमालगायत धेरै कुरामा बजेटले सञ्चार क्षेत्रलाई समेटिएको बताउँदै अर्थमन्त्रीले भने, ‘पहिलेको तुलनामा सञ्चार माध्यमलाई थप सुविधा दिइएको छ, यो राहतकै पाटो हो ।’ यसअघि विनियोजन विधेयक, २०७७ अन्तर्गत अर्थमन्त्रालयका विभिन्न शीर्षकमाथि राष्ट्रियसभाको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत रकम वितरण भन्दा पनि विकासमा सङ्घीय सांसदको सहभागिता रहोस् भनेर बजेट विनियोजन गरिएको स्पष्ट पारे । उनले अहिले सरकार इ-कमर्श र इ-व्यापारका लागि डिजिटल इकोनोमितर्फ काम गरिरहेको जानकारी दिए । अर्थमन्त्रीसँग सांसदहरु अनिता देवकोटा, जीतेन्द्रनारायण देव, रमेशजङ्ग रायमाझी र प्रकाश पन्थले पुरक प्रश्न सोधेका थिए । रासस

बैंक अफ काठमाण्डूद्वारा ७ लाखको बीमा दाबी भुक्तानी

काठमाडौं । बैंक अफ काठमाण्डूले ७ लाख रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । बैंकको विराटनगर शाखाले बिओके प्रिमियम तलब खाता अन्र्तगतको विभिन्न सुबिधाहरु मध्ये दुर्घटनाजन्य मृत्यु तथा पूर्ण अशक्तताको सो बराबरको बीमा दाबी रकम हालै खाताबाहकको परिवारलाई हस्तान्तरण गरेकोे छ । उक्त शाखाका खातावाहक अमिर चौधरीको दुर्घटनामा परी असामयिक निधन भएकोले बैंकले बीमा सेवा प्रदायक कम्पनी सिद्धार्थ इन्सुरेन्स कम्पनीसँग समन्वयमा बैंक प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख दिपेन्द्र बुढाथोकीबाट उक्त बीमा दाबी रकम स्व. चौधरीका श्रीमती मनिषा चौधरीलाई हस्तान्तरण गरेका हुन् । बैंकले हाल ८९ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।