प्रदेश नं २ मा संक्रमितको संख्या २ हजार १ सय ८२, गण्डकी प्रदेशमा थप २१ जनामा काेराेना
काठमाडाैं । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ३ सय ६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १ सय ८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ८२ थियो । सप्तरीमा ३, सिरहामा ३, धनुषामा २१, महोत्तरीमा ९, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा २ गरी १ सय ८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिए । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५ सय ६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा घिमिरेले बताए । प्रदेशमा अहिलेसम्म ३४ हजार ४ सय ४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने १ हजार २ सय २८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७ सय ३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७ सय ८२ मा पोजिटिभ देखिए भने १४ हजार ९ सय ५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४ सय ३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३ सय ३१, होम क्वारेन्टिनमा १४ हजार ५ सय ७९ र आइसोलेसनमा ९ सय ३९ जना बसेका छन् । गण्डकी प्रदेशमा २१ जना कोरोना सङ्क्रमित थपिए गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) र पर्वत जिल्लामा गरी बुधबार थप २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान ७ः५० बजे विज्ञप्ति जारी गरी नवलपरासीमा १८ र पर्वतमा तीन नयाँ सङ्क्रमित थपिएको जनाएको छ । नवलपरासीको हुप्सेकोट गाउँपालिकाका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१ र १८ वर्षका गरी १४ पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयका निर्देशक एवं प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण एवं व्यवस्थापन उच्चस्तरीय निर्देशक समितिका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । त्यसैगरी मध्यविन्दु नगरपालिकाका १६ र ३० वर्षका पुरुष, कावासोती नगरपालिकाका वर्ष ३७ वर्षका पुरुष तथा पालिका नखुलेको एक जना २७ वर्षका पुरुषमा समेत सङ्क्रमण फेला परेको बताइएको छ । पर्वतको फलेवास नगरपालिका १९ र २१ वर्षका दुई पुरुष र ४६ वर्षीया एक महिलामा समेत सङ्क्रम पुष्टि भएको छ । नयाँ सङ्क्रमण पुष्टि भएका सबै जना भारतबाट आएर सम्बन्धित जिल्लाको स्थानीय तहको क्वारेन्टिनमा रहेकाहरु भएको र अहिले जिल्लामा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म २ सय ४७ कोरोना सङ्क्रमित पुगेका छन् । प्रदेशका मनाङ र मुस्ताङबाहेकका अन्य सबै जिल्लामा कोरोना फैलिएको छ । अहिलेसम्म स्याङ्जामा ६४, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ६६, बागलुङमा ४१, पर्वतमा २९, गोरखामा २५, तनहुँमा ११, कास्कीमा सात, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् । कूल सङ्क्रमितमध्येमा १३ महिला छन् । सङ्क्रमितमध्ये २२ विभिन्न अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । एक सङ्क्रमितको भने मृत्यु भएको छ । प्रदेशमा हालसम्म ८ हजार ४ सय ४३ जनाको पिसीआर विधिबाट कोरोना परीक्षणका लागि नमूना सङ्कलन (स्वाब) लिइएकामा ५ हजार ८ सय ६२ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकाहरुमध्ये २ हजार ३ सय ५५ जनाको नतिजा आउन बाँकी रहेको बताइन्छ । रासस
विद्युत महसुल दर घट्याे, डेडिकेटेड र ट्रंकलाइनको प्रावधान पनि खारेज
काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महशुल दर घटाएको छ । सोमबार बसेको आयोगको सञ्चालक समितिको ५७औं बैठकले २०७७ असार महिनादेखिको विद्युत खपतमा लागू हुने गरी विदुत महसुल घटाएको हो । आयोगले तोकेको नयाँ महसुल दर अनुसार अब उपभोक्ताले केही मात्रामा राहत पाउने भएका छन् । नेपाल विद्युत प्राधिकरणले गत मंसिरमा नयाँ विद्युत महशुल दर तोक्नका लागि आयोगमा प्रस्ताव पठाएको थियो। प्राधिकरणको सोही प्रस्तावका आधारमा आयोगले विस्तृत अध्ययन गरी नयाँ विद्युत महशुल दर तोकिएको आयोगका अध्यक्ष डिल्ली बहादुर सिँहले बताए । नयाँ विद्युत महशुल दर तोकिएसँगै आयोगले व्यवसायिक क्षेत्रका लागि यसअघि प्रयोगमा रहेको डेडिकेटेड र ट्रंकलाइनको प्रावधान पनि हटाएको सिँहले बताए । हालसम्म विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको माध्यमबाट जडान गरिएका औद्योगिक, व्यापारिक तथा गैरव्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा यसलाई पूर्णरुपले हटाइएको उनको भनाई छ । उनले सिंगलफेज मिटर जोड्ने ग्राहकले ११ देखि २० युनिटसम्म खपत गर्दा डिमान्ड शुल्क ३० रुपैयाँ तिर्नुपर्ने बताए । प्रतियुनिट शुल्क ३ रुपैयाँ कायम भएको उनकाे भनाई छ । २०६९ साल असार ९ गते नेपाल विद्युत प्राधिकरणले पहिलो पटक डेडिकेटेड लाइनबाट विद्युत सेवा पाउन सक्ने प्रावधानसहितको व्यवस्था सञ्चालक समितिबाट पारित गरेको थियो। तर केही उद्योगहरुले डेडिकेटेड र ट्रंकलाइनबाट आफूहरुले विद्युत प्रयोग नगरेको भन्दै त्यसको शुल्क पनि तिर्न नसकिने बताउँदै आएको छन भने अहिले लोडसेडिङ नभएको अवस्थामा पनि डेडिकेटेड र ट्रंकलाइनको प्रावधान राखिनु जायज नभएकाले यसलाई हटाउनुपर्ने व्यवसायीहरुको माग थियो। आयोगले महसुलको फैसला गर्दा सरकारले कोभिड–१९ को समयमा खपत कम हुने र यसमा प्रोत्साहन गर्ने उद्देश्यले १ सय ५० युनिटसम्म विद्युत् खपत गर्नेलाई २५ प्रतिशत तथा २ सय ५० युनिट खपत गर्नेलाई १५ प्रतिशत छुट दिने निर्णयलाई पनि आधार मानेको छ । यसैगरी, सरकारले प्रभावित उत्पादनमूलक उद्योगहरूको लकडाउनको समयमा डिमाण्ड शुल्क छुट दिने र माग कम हुने समयको महसुल दरमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । यस्तो छ नयाँ महसुल दरः –ग्राहस्थ वर्गको सिंगल फेज तल्लो भोल्टेज अर्थात २३० भोल्टको लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता अन्तर्गतका उप–समूहको न्यूनतम (डिमाण्ड) शुल्कमा ११.११ प्रतिशत देखि ३३ दशमलव ३३ प्रतिशत सम्मको घटौती गरिएको छ। –इनर्जी शुल्कको हकमा गरेको ५ एम्पियरको लाइनबाट मासिक १० किलोवाट घण्टा सम्म विद्युत खपत गर्ने गरिब तथा न्युन आय भएका उपभोक्ताका लागि इनर्जी शुल्क नलाग्ने गरी निर्णय गरिएको छ। साथै सबै एम्पियरको लाइन मार्फत मासिक २१ भन्दा बढी किलोवाट घण्टासम्म खपत गर्ने बाँकी उपसमूहको इनर्जी शुल्कमा ५ प्रतिशत देखि ९ दशमलव ९ प्रतिशत सम्मको घटौती गरिएको छ। –ग्राहस्थ वर्गको थ्री फेज तल्लो भोल्टेज ९४०० भोल्ट० को लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूहको न्यूनतम शुल्कमा कुनै परिवर्तन गरिएको छैन भने मासिक ४०० किलोवाट घण्टासम्म विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ८४ र ४०० कि।वा। घण्टाभन्दा माथि विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्कमा ११.११४ घटौती गरिएको छ। – ग्राहस्थ वर्गको श्री फेज मझयौला भोल्टेज ९३३र११ के। भी।० को लाइनबाट विद्युत खपत गर्ने उपभोक्ता समूह अन्तर्गत मासिक २००१ किलोवाट घण्टाभन्दा धेरै विद्युत खपत गर्ने उपभोक्ताको इनर्जी शुल्क ७ दशमलव ६९ प्रतिशत ले घटाइएको छ भने बाँकी महसुल यथावत राखिएको छ। –अन्य उपभोक्ता अन्तर्गतका सामुदायिक खानेपानी वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २३ दशमलव ३३ प्रतिशत सम्मको घटौती गरिएको छ। –हालसम्म विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको माध्यमबाट जडान गरिएका औद्योगिक, व्यापारिक तथा गैहव्यापारिक उपभोक्तालाई ६५ प्रतिशतसम्म अतिरिक्त शुल्क लिइरहेकोमा यसलाई पूर्णरुपले हटाईएको छ। –अन्य खानेपानी वर्गको डिमाण्ड शुल्कमा ३१ दशमलव ८२ प्रतिशत सम्मको कटौती गरिएको छ। –सिंचाई वर्गको लागि आवश्यक कृषि मिटरको प्रयोगमा डिमाण्ड शुल्क हटाइएको छ भने यातायात तथा १३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ। बाँकी उपभोक्ताको महसुल भने यथावत राखिएको छ। –टाइम अफ डे (टिओडी) मिटर जडान गरेका उपभोक्ताहरुको हकमा यातायात तथा १३२ केभी लाइनको प्रयोग गर्ने औद्योगिक उपभोक्ताहरुका लागि नयाँ महसुल दर कायम गरिएको छ। –सामुदायिक खानेपानी वर्गकोको डिमाण्ड शुल्क हटाइएको छ भने इनर्जी शुल्कमा २२ दशमलव ९५ प्रतिशत सम्मको घटौती गरिएको छ र अन्य खानेपानी वर्गको डिमाण्ड शुल्क ३१ दशमलव ८२ प्रतिशत ले घटाइएको छ। त्यसैगरी सिंचाई वर्गको डिमाण्ड शुल्क हटाइएको छ भने बाँकी महसुल दर यथावत राखिएको छ। – ६६ केभी लाइन मार्फत विद्युत खपत गर्ने औद्योगिक उपभोक्ताको इनर्जी शुल्कमा पिक, अफ पिक तथा अन्य समयमा क्रमशः ८ दशमलव ६० प्रतिशत, १४ दशमलव ४६ प्रतिशत तथा १० दशमलव ६७ प्रतिशत ले बृद्धि गरिएको छ। जसले गर्दा यस वर्गका उपभोक्ताले प्राधिकरणलाई तिर्नुपर्ने अतिरिक्त शुल्कमा क्रमशः ५६ दशमलव ४० प्रतिशत, ५० दशमलव ४० प्रतिशत तथा ५४ दशमलव ३३ प्रतिशत ले कमी आउन जान्छ। –देशमा उत्पादित बिद्युतको बहुआयामिक उपयोग गर्न तथा आयातित पेट्रोलियम पदार्थ उपरको परनिर्भरता कम गर्न यातायातको लागि डिमाण्ड शुल्क नलाग्ने गरी नयाँ टाइम अफ डे (टिओडी) विद्युत महसुल दर कायम गरिएको छ। यसमा बर्षादको मौसममा अफ पिक समयमा पिक समय भन्दा करिब ४७ प्रतिशत सम्मले कम दर कायम गरिएको छ । –त्यसैगरी अन्य यातायातको हकमा बर्षादको मौसममा अफ पिक समयमा पिक समयको भन्दा करिब ६० प्रतिशत सम्मले कम दर कायम गरिएको छ। पूर्ण विवरण हेर्नुस्: [pdf id=222566]
धुलिखेलद्वारा लकडाउन अवधिको कर छुट
काठमाडाैं । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ । नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो । पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट गरिएको नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनले भने, “लकडाउनमा व्यवसायी ठप्प भएकाले व्यवसायीलाई केही राहत पुगोस् भन्ने उद्देश्यले यस अवधिको कर छुट दिने निर्णय गर्यौं ।” उनका अनुसार लकडाउन अघिसम्मको कर असार मसान्तसम्म तिर्न व्यवसायीलाई आग्रह गरिएको छ । “लकडाउनअघिको कर असार मसान्तसम्ममा तिर्न आग्रह गरेका छौं, यस करमा पनि जरिवानासमेत मिनाहा गर्ने निर्णय भएको छ”, ब्याञ्जूले भने । यसैबीच नगरले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक तथा ६० वर्षमाथिका सबै दलित परिवारका सदस्यको ५० हजार रूपैयाँसम्मको एकवर्षे निर्जिवन ‘कोरोना बीमा’ गर्ने निर्णय गरेको छ । नगरभित्र करिब १ हजार ५ सय वृद्धवृद्धा रहेको नगरले जनाएको छ । ब्याञ्जूले भने, “वृद्धवृद्धा र दलित समुदायका तोकिएको उमेर समूहका लागि निर्जिवन बीमाका लागि छुट्टै कोष बनाइनेछ ।” नगरको उक्त निर्णयले ठूलो राहत मिलेको होटल व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घले गत जेठ दोस्रो साता कोरोना भाइरसका कारण पर्यटन क्षेत्रमा परेको असरबारे जानकारीसहित कर छुटलगातको माग राख्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । “स्थानीय सरकारले लकडाउन अवधिको कर छुट गरेकामा खुशी छौं, धुलिखेल नगरलाई विशेष धन्यवाद दिन चाहन्छौं”, सङ्घका अध्यक्ष प्रेमकण्ठ माकजूले भने । लकडाउनका कारण धुलिखेलको पर्यटन व्यवसायी निकै धरासायी बन्दै गएकाले बैंक ऋणको भाका तथा ब्याज मिनाहा र विद्युत् महसुल छुटका लागि आग्रह गर्दै आएको माकजूले बताउनुभयो । उहाँका अनुसार सङ्घले पर्यटन, संस्कृति तथा नागरिक उड्यन मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग तथा वाणिज्य मन्त्रालयसमेतलाई राष्ट्र बैंकबाट सहुलियतमा ऋण उपलब्ध गराउन तथा लकडाउन अवधिको ब्याज मिनाहा, कर छुटलगायतको ज्ञापनपत्र बुझाए ।
प्रधानसेनापति थापा र सशस्त्रका आईजीपी खनाल दार्चुलातर्फ प्रस्तान
काठमाडाैं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सीमा सुरक्षाको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन् । प्रधानसेनापतिसहितको टोली सेनाले निर्माण गरिरहेको घोरेटो बाटो, सेनाको अस्थायी बेस क्याम्प, सशस्त्र प्रहरीले स्थापना गरेको बीओपीलगायतको औपचारिक निरीक्षण गर्न दार्चुलातर्फ प्रस्थान गरेको गृह मन्त्रालयले जानकारी दिए । भारतले अतिक्रमण गरेको नेपाली भूमि कालापानीनजिकै स्थापना गरिएको सशस्त्रको बोर्डर आउट पोस्ट (बीओपी) र सेनाको अस्थायी बेस क्याम्प निरीक्षणमा उनीहरू गएका हुन् । दार्चुलाको कालापानी नजिकैको छागंरुमा सशस्त्र प्रहरीले स्थापना गरेको बीओपी र सेनाको अस्थायी बेस क्याम्पको निरीक्षणमा बिहानै दुवै सुरक्षा निकायका प्रमुखहरू त्यसतर्फ प्रस्थान गरेका छन् ।
गाउँघरमा घुम्दै कोरोना सङ्क्रमित
जिल्लाको शिखर नगरपालिका–३ आलीअतुराली गाउँमा कोरोना सङ्क्रमणको पुष्टि भएकाहरु खेलेआमरूपमा गाउँमा घुम्न थालेका छन् । गाउँमा उनीहरुलाई घुम्नबाट रोक्ने कोही सरकारी कर्मचारी तथा सुरक्षाकर्मी नभएका कारण उनीहरु घरको कामदेखि धान रोपाइँको काममा व्यस्त हुने गरेको पाइएको छ । भारतबाट रोजगारी गरी दुई हप्ता पहिले घर आएका उक्त वडाका १४ जनामा कोरोना सङ्क्रमण देखापरेको छ । गत जेठ २० गते आलीअतुराली क्वारेन्टिनमा राखिएका २८ जनाको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरी धनगढी प्रयोगशालमा पठाएको थियो । मङ्गलबार जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरको संयोजगत्वमा उक्त वडामा पत्रकारसहित गएको अनुगमनका क्रममा कोरोना सङ्क्रमित खुलेआम गाउँघरमा घुमिरहेको पाइएको थियो । कोरोना परीक्षणका लागि स्वाब पठाइएकामध्ये १४ जनामा असार १ गते कोरोना सङ्क्रमणको पुष्टि भएको रिपोर्ट आएको शिखर नगरपालिकाका स्वास्थ्य संयोजक हरिषबहादुर शाहले बताए । उनले भने, “आलीअतुराली क्वारेन्टिनमा बसेका २८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि धनगढी प्रयोगशालमा पठायौं, जसमा १४ जनाको नतिजा पोजेटिभ आएको छ, सबै आफ्नो घर गएपछि नतिजा आयो, अहिले समस्या भयो ।” पिसीआरको नतिजा नआउँदै आफूहरुलाई होम क्वारेन्टिनमा रहने गरी घर पठाएका एक कोरोना सङ्क्रमितले बताए । उनले भने, “कोरोना परीक्षणको रिपोर्ट आएको थिएन, हामीलाई होम क्वारेन्टिनमा बस्नु भनेर घर पठायो, अहिले कोरोना पोजेटिभ आयो, हामी पनि चिन्तित छौं ।” घरमा आएको चार दिनपछि कोरोना सङ्क्रमण भएको रिपोर्ट आएपछि अहिले गाउँमा कोरोना फैलिने भन्दै स्थानीयवासीमा त्रास फैलिएको स्थानीय बलबहादुर बोगटीले बताउनुभयो । उनले भने, “कोरोना रिपोर्ट नआउँदै क्वारेन्टिन बसेकालाई घर पठाइदियो, अहिले १४ जना सङ्क्रमण भएको रिपोर्ट आयो, कसरी गाउँमा जोगिने भन्ने चिन्ता बढेको छ ।” कोरोना सङ्क्रमण भएकाहरु खुलेआम गाउँघरमा घुमिरहेका कारण अन्यमा पनि कोरोना सर्ने भन्दै स्थानीयवासीमा त्रास उत्पन्न भएको उनको भनाइ छ । गएको जेठ १९ गते पहिलोपटक सो वडाका २५ वर्षीय एक युवामा कोरोना पुष्टि भएको थियो । उनी डोटीको पहिलो कोरोना सङ्क्रमित थिए । त्यसअघि ११ गते गौरिफन्टा नाकाबाट श्रीमती र छोरासहित नेपाल भित्रिएका उनी १२ गतेदेखि शिखर नगरपालिकाले बनाएको क्वारेन्टिनमा थिए । १६ गते साँझ उनको छोरामा स्वास्थ्य समस्या देखिएपछि छोरा र श्रीमतीसहित तीन जनालाई जिल्ला अस्पतालको आइसोलेसनमा भर्ना गरी स्वाब परीक्षण गर्दा उनमा कोभिड–१९ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । छोरा र श्रीमतीमा भने दुईपटकसम्म जाँच गर्दा पनि कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएको छ । ती युवकमा सङ्क्रमण पुष्टि भएसँगै एउटै क्वारेन्टिनमा बसेका ३१ जना अन्यको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा जेठ २० गते ‘थ्रोट स्वाब’ सङ्कलन भएको थियो । उनीहरुमध्ये १४ जनामा कोरोना पुष्टि भएको रिपोर्ट आएको हो । ढिलोगरी परीक्षणको नतिजा आउदा सङ्क्रमित पाईएकाहरु सबै घर–घर पुगिसकेका छन् । पहिलो सङ्क्रमितलाई कुनैपनि लक्षण नदेखिएकोले १४ दिन आइसोलेसनमा राखेपछि जिल्ला अस्पतालले जेठ २९ गते नै डिस्चार्ज गरेको थियो । सरकारको ‘आइसोलेसन व्यवस्थापनसम्बन्धी राष्ट्रिय निर्देशिका’ अनुसार डिस्चार्ज गरेको जनाएको थियो । सोहीअनुसार उनको ‘कन्टयाक्ट ट्रेसिङ’ का आधारमा स्वाब सङ्कलन गरी पठाइएकाहरुको नतिजा आउनुअगावै सबै जनालाई घर पठाइएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । “समयमा नतिजा आएको भए पनि उनीहरुको डिस्चार्ज हुने समय भोलि हुने थियो”, स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले भने, “ढिलो रिपोर्ट आयो, अहिले समस्या भयो पोजेटिभलाई अझै केही दिन ‘होम’ आइसोलेसनमा राखिने छ ।” पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ३७ पुगेको छ । तीमध्ये तीन जनालाई सरकारको मापदण्डअनुसार १४ दिन आइसोलेसनमा राखेर कुनै लक्षण नभेटिएपछि डिस्चार्ज गरिएको छ भने अन्यलाई घरकै होम आइसोलेलसनमा रहने गरी घर पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस
कृषि केन्द्रित कार्यक्रम तयार गर्दै स्थानीय तह
लम्की । कैलालीका स्थानीय तह आगामी वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेका छन् । स्थानीय तह ८० दिन लामो बन्दाबन्दीले कृषि क्षेत्रमा असर परेकाले कृषि विकासमा जोड दिने खालका नीति तथा कार्यक्रम ल्याउने तयारीमा जुटेका छन् । बन्दाबन्दीले किसान बढी मर्कामा परेका छन् । स्थानीय तरकारी उत्पादक बढी मारमा परेकाले किसानलाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउने स्थानीय तहका कृषि शाखाको तयारी छ । तरकारी तथा नगदेबालीलाई प्रोत्साहन हुने किसिमका कार्यक्रम ल्याउने तयारी गरिरहेको जानकी गाउँपालिका कृषि शाखा प्रमुख लालवीर चौधरीले बताए । “भारत तथा विदेशमा रोजगारी गर्नेहरु घर फर्किएका छन्, उनीहरुलाई कृषिमा जोड्न कृषिलाई प्राथमिकतामा राखेका छौँ”, कृषि शाखा प्रमुख चौधरी भने, “अघिल्ला वर्षभन्दा आउँदो वर्षको बजेटमा कृषिमा दोब्बर बजेट आउँछ ।” उत्पादनमा जोड दिने र बजारीकरणलाई प्राथमिकता दिनेमा स्थानीय सरकार सचेत भएको उनको भनाइ छ । कैलालीकै जोशीपुर गाउँपालिकाले पनि आउँदो वर्ष बेमौसमी तरकारी खेतीलाई पहिलो प्राथमिकतामा राखेर बजेट ल्याउन थालेको जनाएको छ । गाउँपालिकाले बन्दाबन्दीका कारण कृषिमा भएको क्षतिको विवरण सङ्कलन गरी उनीहरुलाई राहत पुग्ने खालका कार्यक्रम ल्याउने गाउँपालिकाका कृषि शाखा प्रमुख हर्क बमले बताए । “यसपटक किसानसँग छलफलमा जुटेका छौँ, किसानलाई राहत, अनुदानमात्र नभई उत्पादनमुखी बजेट ल्याउने तयारी छ”, शाखा प्रमुख बमले भने, “कोरोना भाइरस सङ्क्रमणका कारण आम्दानीमूलक कार्य घटेका छन् । यस्तो बेला खाद्य सङ्कट हुनसक्छ भनेर पनि कृषिलाई प्राथमिकतामा राखेका छौं ।” स्थानीय तहले कृषिका माध्यमले नागरिक बलियो बनाउन सकिने आधारको खोजी गर्ने बताउन थालेका छन् । भजनी नगरपालिकाले पनि युवालाई कृषिमै स्वरोजगार बनाउने किसिमका कार्यक्रम ल्याउने विषयमा छलफल शुरु गरेको छ । व्यावसायिक कृषि कार्यक्रम ल्याउने तयारी गरिरहेको नगरपालिकाका कृषि शाखा प्रमुख कमल चौधरी बताए, “घर फर्किएका युवासँगको सीप कृषिमा सदुपयोग गर्ने योजनामा छौँ । कृषिमा लाग्ने युवालाई प्रोत्साहन गर्ने कार्यक्रम छनोट गर्दैछौं ।” टीकापुर नगरपालिकाले भने यस वर्ष कृषिका कार्यक्रम छनोट गर्ने जिम्मा वडा तहलाई दिएको छ । वडावडामा किसानसँग छलफल गरी कृषि कार्यक्रम छनोट गर्न थालिएको छ । वडा तहलाई तरकारी बाली, नगदेबाली र उत्पादनमा आधारित कार्यक्रम समेट्न सुझाव दिइरहेको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख तुलसीराम सुवेदी बताए, “गत वर्षभन्दा दोब्बर योजना छनोट गर्ने तयारी छ ।” बन्दाबन्दीका कारण अन्य क्षेत्रजस्तै कृषि क्षेत्रमा असर परेको देखिन्छ । किसान भने उत्पादनभन्दा बजारीकरणको जिम्मा स्थानीय सरकारले लगिदिनुपर्ने माग गर्छन् । युवा किसान टेकेन्द्र धामी किसानको उत्पादन स्थानीय सरकारले किनिदिने वा बजारीकरणमा सघाउने गरेमा कृषिमा युवाको सहभागिता बढ्ने बताए, “उत्पादनले बजार नपाउँदा किसान मर्कामा छन् । सहज बजार र उचित मूल्य पाएमा किसान कृषिमा उत्साहित हुनेछन् ।” रासस
व्यापारिक मार्गको ६५ प्रतिशत काम सम्पन्न
बीरगञ्ज । बारा जिल्लाको पथलैया, परवानीपुर, गण्डक, बहुअरीचोक, ड्राइपोर्ट हुदै आइसिपीसम्म निर्माण भइरहेको व्यापारिक मार्गको हालसम्म ६५ प्रतिशत मात्र काम सम्पन्न हुनसकेको छ । सङ्घीय सरकारको ५ अर्ब ५० करोड रूपैयाँको लागतमा विस्तार भइरहेको छ लेनको सो व्यापारिक मार्गको लम्बाइ ३२ किलोमिटर छ । व्यापारिक मार्ग विस्तारअन्तर्गत जितपुर क्षेत्रमा काम गर्न ठेक्का लिएको शर्मा युनाइटेड कम्पनीले सो क्षेत्रको काममा ढिलासुस्ती तथा आलटाल गर्ने गरेकाले काम अगाडि बढ्न नसकेको व्यापारिक मार्ग विस्तार योजना वीरगञ्ज पथलैयाका योजना प्रमुख सञ्जयकुमार मिश्रले राससलाई बताए । योजना प्रमुख मिश्रले काम गर्ने ठेक्का लिएको ठेकेदार कम्पनीको लापरवाही, लामो समयदेखि लकडाउन लागू हुनु, सडक निर्माणमा काम गर्ने कामदार भारतीय भएकाले कोरोना सङ्क्रमणका कारण ती कामदार आ–आफनो घर भारततर्फ जानुजस्ता कारणले सो सडक विस्तारको काम प्रभावित भएको बताएका छन् । आगामी २०७७ पुस मसान्तसम्म काम पूरा गरिसक्नुपर्ने भनेर सम्झौता गरिए पनि ठेकेदार कम्पनीको कामप्रतिको उदासीनताका कारण तोकिएको समयमा काम पूरा हुन नसक्ने देखिन्छ । सङ्घीय सरकारले बन्दाबन्दीमा पनि विकास निर्माणका कार्यलाई अगाडि बढाउनुपर्ने नीति अघि सारेपछि रोकिएको वीरगञ्ज–पथलैया व्यापारिक मार्गको काम शुरु गरिएको छ । त्रिभुवन राजपथअन्तर्गत पर्ने सिमरादेखि पथलैयासम्मको सडक खण्डमा कालोपत्र गरिएको छ । वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाहदेखि परवानीपुर हुँदै पथलैयासम्मको सडक विस्तारको ठेक्का विसं २०७३ असारमा लगाइएको थियो । सम्झौताअनुसार २०७५ असारमा काम सकिनुुपर्नेमा पछिल्लोपटक म्याद थपेर आउँदो पुससम्म लम्ब्याइएको भए पनि बन्दाबन्दीका कारण सो काम पूरा नहुने विश्वास व्यक्त गरिएको छ । सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर ठेक्काको म्याद थपिँदा ६५ प्रतिशतसम्म प्रगति देखिएको भए पनि सो काम समयभित्र सम्पन्न हुनेमा शङ्का रहेको प्रमुख मिश्रले बताए । सो सडक निर्माण गर्दा शुरुमा दुई वर्ष स्थानीय अवरोध र पेट्रोलियम पाइपलाइन विस्तारका कारण मुख्य सडकखण्डको विस्तार नहुँदा अवरुद्ध भएको आयोजनाले जनाएको छ । जितपुर, सिमरा र परवानीपुरका स्थानीय बासिन्दाले अवरोध गरेकाले ती वर्षमा २० प्रतिशत मात्र काम भएको मिश्रको भनाइ छ । त्यसपछिको एक वर्षमा ३० प्रतिशत प्रगति गरेको आयोजनाले चालू आर्थिक वर्षमा ३० प्रतिशत र बाँकी रहेको काम आउँदो पुस मसान्तभित्र पूरा गर्ने लक्ष्य रहेको छ । वीरगञ्जको आइसिपीदेखि बाराको पथलैयासम्मको ३२ किलोमिटर लामो सडकलाई छ खण्डमा बाँडेर बेग्लाबेग्लै ठेक्का निर्माण कम्पनीलाई दिइएको छ । छ ठेक्का कम्पनीमध्ये पप्पु कन्स्ट्रक्शन र शर्मा युनाइटेड बिल्डर्सको ठेक्का सबैभन्दा कमजोर देखिएको आयोजना कार्यालयले बताएको छ । पप्पुले जिम्मा लिएको पर्साको हरपतगञ्जदेखि सुक्खा बन्दरगाहसम्मको सडकको प्रगति ४५ प्रतिशत रहेको मिश्रले जानकारी दिनुभयो । जबकि आयोजनाको औसत भौतिक प्रगति ६५ प्रतिशत पुगिसकेको छ । तेस्रो मुलुकबाट आउने सामान कोलकाता तथा विशाखापटनम बन्दरगाह हुँदै रेलमार्गबाट आइसिपीमा आउने र त्यहाँबाट कन्टेनरमार्फत मुलुकका विभिन्न ठाउँमा जाने गरेकाले सो सडकलाई महत्वपूर्ण मानिएको छ । रासस
काेराेनाबाट थप १ जनाकाे मृत्यु, मृतककाे संख्या २० पुग्याे
काठमाडाैं । नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा एक काेराेना संक्रमित महिलाकाे मृत्यु भएकाे छ । बैजनाथ गाउँपालिका ६ की ४६ वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरको आईसीयुमा सोमबार साँझ साढे ६ बजेतिर मृत्यु भएको हो । ती महिलाको मंगलबार साँझ कोरोना रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए । उनी निमोनियाले पीडित थिइन् । स्वास्थ्य गम्भीर हुँदै गएपछि जेठ ३० गते उनलाई अस्पताल भर्ना गरिएको थियो । बाँकेमा कोरोना भाइरसबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । यसअघि ४ जेठमा बाँकेको नरैनापुर गाउँपालिका–५ का २५ वर्षीय युवकको कोरोनाबाटै मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोनाबाट २० जनाको मृत्यु भइसकेको छ ।