चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने
काठमाडौं । गोदावरी नगरपालिका—११ चापागाउँमा जिल्ला स्तरीय अस्पताल बन्ने भएको छ । प्रदेश सरकारको सहयोग र गोदावरी नगरपालिकाको सहकार्यमा चापागाउँमा जिल्ला अस्पताल बनाउने निर्णय भएको प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले जानकारी दिए । उनले भने, “जिल्ला अस्पतालको मापदण्ड अनुसार नै यो अस्पताल निर्माण हुने र त्यस्तै किसिमको भवनलगायत भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुनेछ ।” सो अस्पताल ललितपुर जिल्ला अस्पतालको रुपमा रहने पनि उनले बताए । ललितपुरका राजनीतिक दलका प्रतिनिधि र नागरिक समाजले लामो समयदेखि जिल्ला अस्पतालको माग गर्दै आएका थिए । यसैगरी चापागाउँदेखि वडा नं छ टिकाभैरव जोड्ने पुरानो राजकुलोको कामलाई निरन्तरता दिने निर्णयसमेत प्रदेश सरकारले प्रदेशसभा सदस्य सञ्जेल बताए । रासस
श्रमिक सूचना बैंक स्थापनाको तयारी
काठमाडौं । सरकारले बेरोजगार नागरिकलाई रोजगारीसँग जोड्ने लक्ष्यका साथ श्रमिक सूचना बैंक स्थपना गर्र्ने भएको छ । आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा समेत रहेको कार्यक्रमअनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रमिक बैंक स्थपना गरी कार्यान्वयन गर्न मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ । कृषिलगायत श्रम आर्जन गर्नसक्ने जनशक्ति के कति सङ्ख्यामा रहेका छन्, के कस्ता ज्ञान, सीप हासिल गरेका छन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थापना गर्न लागिएको श्रममन्त्री रामेश्वर राय यादवले जानकारी दिए । विकास र औद्योगिकीकरणले गति लिँदै गर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चितता गर्न र श्रमिक बैंकको स्थापनाले श्रमिकको सम्रग व्यवस्थापनमा मद्दत पु¥याउने भएकाले श्रमिक बैंकको आवश्यता रहेको उनको भनाइ छ । रासस
भूमि बैंक कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरेको ‘भूमि बैंक’ लाई कृषि उत्पादन अभिवृद्धि गरी आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि परिचालन गर्ने गरी तयारी गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभाको कृषि तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकले जमिन हुनेले नहुनेलाई कृषि उपज उत्पादन गर्न दिने गरी एउटा खाका तयार पारेर एक महिना भित्र जानकारी दिन भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिका सभापति पूर्णाकुमारी सुवेदीले स्पष्ट कार्यविधि तयार पारी किसानको हातमा जमिन र काम गर्ने वातावरण बनाउन सरकारलाई निर्देशन दिइएको जानकारी दिए । कृषि उत्पादन बढाउन, जग्गा बाँझो राख्न नदिन तथा आत्मनिर्भरतातर्फ लाग्ने ध्येयका साथ सरकारले नीति तथा कार्यक्रम र बजेटमा समेत भूमि बैंकको अवधारणा ल्याएको छ । सरकारले आगामी आवको बजेटमा भूमि बैंकका लागि रु ५० करोड बराबरको बजेट विनियोजन गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्मा प्रस्तुत गरेकाे नीति तथा कार्यक्रमको बुँदा नं ११९ मा भूमि बैंकको विषय समावेश गरिएको छ । यस्तै अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेटको बुँदा नं १०५ मा समेत सो विषयलाई समावेश गरिएको छ । आगामी आवमा कूल ७५३ स्थानीय तहमध्ये ३०० स्थानीय तहमा भूमि बैंक अवधारणा लागू गर्ने लक्ष्य राखेको छ । सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा भूमि बैंक स्थापना गरी जग्गा हुनेबाट जग्गा लिएर जग्गा नहुनेलाई प्रयोग गर्न दिने अवधारणा सरकारको रहेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले सो सम्बन्धमा प्रारम्भिक तयारीसमेत थालेको छ । समितिको बैठकमा सांसदहरुले भूमि बैंकलाई कम्पनी ढाँचामा लैजान नहुने र त्यसको मूल मर्मलाई आत्मसात् गर्नसमेत सरकारको ध्यानकर्षण गराए । उनीहरुले जमिन बाँझो राख्ने प्रचलन बढेको, ग्रामीण क्षेत्रका अधिकांश युवा शहरी क्षेत्र वा वैदेशिक रोजगारीमा गएका कारण समस्या बढेको भन्दै काम गरी खान्छु, उत्पादन बढाउँछु भन्नेलाई निश्चित रकम तिरेर जग्गा लिने व्यवस्था गर्न सरकारलाई सुझाव दिए । सरकारले भने कम्पनी ढाँचामा भूमि बैंक स्थापना गर्ने प्रारम्भिक तयारी थालेको भन्दै सांसदहरुले त्यसो नगर्नसमेत सरकारलाई सचेत गराए । सांसदहरु दलबहादुर राना, शान्ता चौधरी, सत्यनाराण शर्मा खनाल, छविलाल विक, राधा ज्ञवाली, भूपेन्द्रबहादुर थापालगायतले आत्मनिर्भरतातर्फको यात्रामा नेपालको मौलिक प्रणालीको रुपमा ल्याउन लागिएको भूमि बैंकलाई ‘भूमाफिया’ को आँखा नलाग्ने बनाउन सरकारलाई सुझाव दिए । समितिको बैठकमा भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव जनकराज जोशीले कोरोनाका कारण बेरोजगारी बढ्ने भएकाले बाँझो जमिनलाई समेत उपभयोग गर्ने लक्ष्यका साथ भूमि बैंकको अवधारणा ल्याइएको जानकारी दिए। सरोकार भएका सबै पक्षको राय सुझाव लिएर मन्त्रालयले आवश्यक अवधारणा तयार पार्ने उनले जानकारी दिए । सोही मन्त्रालयका सचिव केदार न्यौपानेले भूमि बैंक भन्ने बित्तिकै अन्य बैंक तथा वित्तीय संस्था जस्तै होइन भन्ने मान्यतालाई बदलेर यो जमिन भएकाले दिने र जमिन भएकाले लिने भन्ने अवधारणा हो भन्ने तथ्य स्थापित गराउनु नै पहिलो कर्तव्य भएको बताए । सङ्घ, प्रदेश र स्थानीय सरकारको साझेदारीमा भूमि बैंक अगाडि बढ्ने भएकाले जमिनको उपयोगलाई बढावा दिने नै सरकारको सोच रहेको बताए ।
पूर्ण अनलाईनमा जाँदै नेप्से, लगानीकर्तालाई दियाे यस्ताे निर्देशन
काठमाडौं । नेप्सेले पूर्ण अनलाईन कारोबारबाट बजार सञ्चालन गर्ने तयारी गरेको छ। नेप्सेले हालसम्म नेप्से अनलाईन ट्रेडिङ्ग सिस्टम (नट्स) मा आबद्ध नभएका लगानीकर्ताहरुलाई मंगलबार एक सूचना जारी गर्दै धितोपत्र दलालसँग सम्पर्क गरि शेयर बजार खुल्नु अगावै युजर नेम र पासवर्ड लिन आग्रह गरेको छ। धितोपत्र हस्तान्तरणको सुविधा लिनका लागि लगानीकर्ताहरुले नेपाल क्लियरिङ्ग हाउसको ‘कनेक्ट आईपिएस, तोकिएको क्लियरिङ्ग बैंक तथा नेपाल राष्ट्र बैंकबाट विद्युतीय रुपमा रकम हस्तान्तरण सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेका सेवा प्रदायकको ‘आईपीएस’ मार्फत सहभागिता जनाउन सक्ने नेप्सेले जनाएको छ। [pdf id=222514]
१ सय १७ जना काेराेना सङ्क्रमित डिस्चार्ज
काठमाडौं । कोभिड १९ को सङ्क्रमणबाट ११७ जना निको भई घर फर्किएका छन् । डिस्चार्ज हुनेमा पुरुष १०९ र महिला ८ जना रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिए । उहाँका अनुसार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एक महिला र ६ पुरुष, वाँकेका विभिन्न अस्पताल र आइसोलेशन सेन्टरबाट २२ जना पुरुष, नारायणी अस्पताल वीरगञ्जबाट ३ पुरुष, भीम अस्पताल भैरहवाबाट ५ जना महिला र २१ जना पुरुष, कोभिड क्लिनिकल अस्पताल दैलेखबाट २५ जना पुरुष रहेका छन् । यस्तै आइसोलेशन सेन्टर मान्मा कालिकोटबाट २४ जना पुरुष, दैलेखका दुल्लस्थित आइसोलेशनबाट दुई जना महिला र पाँच जना पुरुष, दैलेख अस्पतालबाट एक जना पुरुष र सुर्खेतस्थित प्रादेशिक अस्पतालबाट दुई जना पुरुष डिस्चार्ज भएका छन् । देशभर हालसम्म एक लाख ४३ हजार ७३८ पीसीआर र दुई लाख २३ हजार ५१९ जनाको आरडीटी परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा एक लाख ३३ हजार ९ र आइसोलेशनमा ५ हजार ५३१ जना रहेका छन् ।
लकडाउन खुकुलो हुँदा पनि पुँजी बजार अन्योलमै, नियामकले पनि देखाउन सकेन सक्रियता
काठमाडौं । विश्वव्यापी कारोना भाइरस (कोभिड-१९) को महामारीका कारणले २०७६ चैत १० गतेदेखि धितोपत्र बजार बन्द भयो । लकडाउनको अवधि लम्बिँदै गयो । महिना दिन बित्यो । लकडाउन थपिँदै गएपछि नेपाल सरकारले धितोपत्र बजार खुलाउने निर्णय गर्यो । यससँगै धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि बजारका सबै सरोकारवालाहरुसँग छलफल गरी सेयर बजार खुलाउने निर्णय गरेको थियो । र, बन्द रहेको बजार लकडाउनकै बीच अर्थात ५०औं दिनपछि खुल्यो पनि । तर मात्र दुई दिन । विभिन्न व्यवस्था गरेर खुलाइएको दुबै दिनको बजारमा नेगेटिभ सर्किट लाग्यो । बजार दिनमा २ घण्टा खुलाउने र २ प्रतिशत भन्दा तलमाथि भएमा सो दिनको लागि कारोबार बन्द गरिने बोर्डको नयाँ व्यवस्था रहेको थियो । उक्त व्यवस्था अनुसार कारोबारको अवधि नसकिँदै दुबै दिनको बजार २ प्रतिशतभन्दा बढी प्रतिशतले ओरालो लाग्यो । पहिलो दिन अर्थात वैशाख ३० गतेको बजार २.०२ प्रतिशत (अर्थात २५ अंक) ले र दोश्रो दिनको बजार २ प्रतिशत (अर्थात २४.५८ अंक)ले घट्यो । दुई दिनमा ४९.५८ अंकले बजार घट्यो । सो अवधी (दुई दिन) मा कूल १० करोड ७९ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । पहिलो दिन ८७ कम्पनी र दोश्रो दिन ७४ कम्पनीको गरी एक लाख १६ हजार ८ सय ३८ कित्ता सेयर किनबेच भयो । जसमध्येअधिकांश कारोबार अनलाइन प्रणालीबाट नै भएका थिए । केही क्षेत्रको लागि लकडाउन असरको रुपमा मात्र नभई अवसरको रुपमा पनि प्रस्तुत हुँदै थियो । सेयर बजारको लागि राम्रो अवसर थियो । अनलाइनमा आवद्ध नभएकाहरुलाई उक्त प्रणालीमा आवद्ध हुने मौका मिल्यो । यससँगै, अनलाइन कारोबारको लागि युजरनेम र पासर्वड लिनको संख्या वृद्धि भएको नेप्सेले आधिकारिक जानकारी दियो । जसका अनुसार बैशाख मसान्तसम्ममा २७ हजार एक सय एक लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका थिए । तर, बजारले यो अवसरलाई राम्रोसँग समात्न सकेन । मतलब जति लिनसक्थ्यो त्यति लिन पाएन । कारण बजार बन्द हुनु । बैशाख महिना बित्दै गर्दा कारोनाको संक्रमण पनि बढ्दै गयो । काठमाडौंमा पनि कोरोना संक्रमित भेटियो । यससँगै, सरकारले लकडाउनलाई थप कडाई गर्ने निर्णय गर्यो । धितापत्र बोर्डले पनि कोरोनाको संक्रमित बढ्दै गएको र लकडाउन पनि थप कडा भएकोले बजार बन्द गराउन नेप्सेलाई निर्देशन दियो । त्यसपछि बिहीबार अर्थात जेठ १ गतेबाट बजार पुनः बन्द भयो । दुई दिन खुलेको बजारमा नियमित सर्किट ब्रेक लागेसँगै केही लगानीकर्ताहरुले बजार बन्द गराउनु पर्छ भनेर चर्को विरोध गरेको थिए । त्यसैले पनि बजार बन्द गराइएको करिब स्पष्ट थियो । संक्रमितको संख्या बढ्दै गयो । सरकारले पनि लकडाउन अवधि जेठ ३२ गतेसम्म लम्बायो । बोर्डले पनि लकडाउन अवधिभर बजार बन्द गर्ने नै निर्णय लियो । अन्ततः बजार पनि जेठ ३२ गतेसम्म बन्द भयो । लकडाउनको अवधि सकिने समय आउँदै गर्दा सरकारले आर्थिक गतिविधि चलायमान गर्न सरकारी तथा निजी कार्यालयहरु खुलाउने निर्णय गर्यो । रोगले भन्दा भोकले मरिने चिन्ता बढ्दै गएपछि सरकारले असार १ गतेदेखि अधिकांश कार्यालयहरु दुई सिफ्टमा सञ्चालन गराउने निर्णय गर्यो । सोही निर्णय बमोजिम बैंक, बीमा तथा वित्तीय संस्थाहरुलेबिहान ८ बजेदेखि साँझ ६ बजेसम्म खुलाउने व्यवस्था मिलाए । र, खुलाए पनि । यता सेयर बजार पनि खुल्छ भन्ने प्रायः सबै लगानीकर्तामा परिसकेको थियो । लकडाउनको शुरु शुरुमा बजार बन्द गर्नुपर्छ भन्ने तर्क दिनेहरु पनि अब त लकडाउन बढेपनि बजार खुलाउनु पर्छ भन्नेमा पुगेका थिए । त्यहि माथि लकडाउन खुकुलो भए पछि त बजार खुल्छ भन्ने सोच्नु कुनै आश्चर्यको कुरा थिएन । तर, आश्चर्य के भयो भने सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने सेयर बजार भने बन्द नै हुने भयो । नेप्सेले जेठ ३२ गते साँझ एक सूचना मार्फत सेयर बजार थप चार दिन अर्थात असार ४ गतेसम्म बन्द गराउने जानकारी गरायो । यससँगै, असारको पहिलो साताभर धितोपत्र बजार पूर्णरुपमा नखुल्ने भयो । बैंक तथा वित्तीय संस्था जस्तै, लकडाउनमा पनि खुलाउनु पर्ने बजार लकडाउन खुकुलो हुँदा पनि नखुलाउनु कत्तिको जायज हो ? के भन्छन् त बजारका सरोकारवालाहरु ? अन्य क्षेत्रभन्दा सेयर बजार बढी सम्बेदनशील रहेछ त्यहि भएर नखुलाउने भएको होला भनेर एक लगानीकर्ताले व्यङ्ग गरे । ‘सबै सरकारी कार्यालयहरु खुले । नियमन निकायहरु खुले । वित्तीय व्यवस्था सञ्चालन गराउने व्यवस्था पनि सरकारले गर्यो । तर नेपालको सेयर बजार असाध्यै संक्रमित रहेछ । बढी मान्छे जम्मा हुने ठाउँ रहेछ । त्यसैले कारोनाले सबैभन्दा बढी संक्रमित क्षेत्र भनेको सेयर बजार रहेछ भन्ने बुझ्नु पर्यो । र, हामीले त्यसैगरी बुझेका छौं,’ नाम नखुलाउने शर्तमा विकासन्युजसँग भने । ‘पहिलो कुरा त बन्द गर्नै नहुने बजार बन्द गराइएको थियो । तर, अब लकडाउन खुलिसकेपछि पनि बजार बन्द गराउनुले लकडाउन त एउटा बहाना मात्रै रहेछ भन्ने प्रष्ट भएको छ,’ सेयर विश्लेषक एवं लगानीकर्ता प्रकाश तिवारीले भने । ‘मार्केट बन्द गराउनुको केही कारण नै छैन । मार्केट खोल्ने बेलामा हेरेर खोल्नुपर्छ भन्ने सोच्नेले बन्द गर्ने बेलामा किन केही सोचेनन् ? त्यसबेलामा मार्केट भनेको लिक्विडिटिको लागि हो यत्तिकै बन्द गर्नुहुँदैन, केही दिनमा बन्द हुन सक्छ । त्यसैले पैसाको आवश्यक परेको वा बेच्न इच्छा हुनेले बेच्नु भनेर किन भनेन्,’ उनले भने । ‘बजार सिद्धान्तमा चलेको छैन । पुँजीबजार कसरी चलाउने र कसरी विकास गर्ने भन्ने उद्देश्य नभएपछि बजार बन्द गरे पनि खोले पनि केही फरक पार्दैन । यस्तै हो भने बजार घट्न नमिल्ने जहिल्यै बढ्ने मात्रै सिष्टम बनाएर छोड्दा पनि हुन्छ । कमसेकम नेपालको नयाँ रेकर्ड त बन्छ,’ तिवारीले थपे । सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बजारको विषयमा के कस्तो छ ? के गर्दा उपयुक्त हो भन्ने विषयमा बोर्डसँग छलफल भएको बताउँछन् । जसमा बजार बन्द रहेको अवधिमा के के सुधारका कामहरु भए भन्ने लगानीकर्ताले प्रश्न राखेको र बोर्डले लगानीकर्तालाई अनलाइनमा जाने तयारीको लागि २/३ दिन समय दिने जस्तो कुरा भएको उनले बताए । तर, यो दिनदेखि खुल्छ भन्ने आफूहरुलाई जानकारी नभएको उनको भनाइ छ । ‘पूर्ण रुपमा खुला नभई सकेको र उपत्यका बाहिर रहेका स्टाफलाई आउनदेखि अनलाईनमा जाने तयारीका लागि दुई तीन दिन समय दिने भन्ने कुरा भएको छ । त्यसपछि खुलेन भने हामी नै प्रेसर गर्ने छौं,’ अध्यक्ष अर्यालले भने । ‘बजारमा लगानीकर्ताले कारोबार गर्न पाउने नैसर्गिक अधिकारलाई धेरै दिन बन्धक बनाएर राख्नु हुन्न, बजारलाई छिटो भन्दा छिटो लगानीकर्ताको पहुँच पुग्ने हिसावमा खोल्नु पर्छ,’ उनले थपे । बजार के कसरी खोल्ने ? कहिलेदेखि खोल्ने भन्ने विषयमा बोर्डसँग छलफल हुँदा लकडाउन पूर्ण रुपमा खुलिनसकेको अवस्थामा केही समस्या आउन सक्ने भन्ने धारणा आफूले राखेको नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् । ‘यो सँगसँगै जुन अवस्थामा बजार बन्द भएको थियो त्यहि स्थितिमा बजार खुलाउने अवस्था छैन । देश नै संक्रमण कालमा छ । आर्थिक स्थिति डामाडोल छ । यो अवस्थामा लगानीकर्ता प्रवेश गर्दा उनीहरुलाई यस्तो प्याकेज होस् कि उनीहरुलाई सुरक्षित छौं भन्ने होस् । त्यसैले त्यो तरिकाबाट बजार खुलाउनु पर्छ भन्ने हाम्रो माग रहेको थियो,’ उनले भनिन् । ‘यतिका समय त बजार बन्द भइसक्यो । फेरि यथास्थितिमा नै बजार खोल्ने हो भने त बजार किन बन्द गर्नुपर्थो र । त्यसैले अब खुलिसकेपछि चलिनै रहनु पर्छ । पुनः बन्द गर्नुपर्ने अवस्था नआवोस् । यतिका दिनमा केहि नभएको कामहरु अब २/४ दिन मै हुन्छ भन्ने विश्वास त छैन । तर पनि पुँजीगत लाभकर अन्तिम हो कि होइन भन्ने विषयलाई फलो गरेर स्पष्ट लगानीकर्तालाई बनाउन सकिन्छ । कम्तिमा बजार खुल्दै गर्दा यो यो काम गर्यौ, यो यो काम हुँदै छ । ढुक्कले बजारमा प्रवेश गर्नुहोला भनिदिए अहिलेको समयमा लगानीकर्ताको मनोबल उच्च हुने थियो । उनीहरु बजारबाट आत्तिने अवस्था आउने थिएन ।’- भन्ने धारणा रहेको उनले जनाइन् । ‘छलफलमा यो यो काम हुन्छ, त्यसपछि खोल्छौ त भन्नु भएको थिएन । तपाईंहरुको सुझाव लिउँ अनि छलफल गर्छौ भन्नु भएको थियो । साँझ अब असार ४ गतेसम्म बन्द गर्ने समाचार आयो । सायद, यो बीचमा केहि कामहरु हुँदै छन् कि,’ उनले भनिन् । अनलाइन सिष्टमको अवस्था के रहेछ भनेर वाईकोसँग बुझ्दा पहिले भन्दा धेरै सुधार आईसकेको रहेछ । तर अनलाइन सिष्टम पूर्णरुपमा हुनको लागि बैंक इन्टिग्रेसन भइसकेको छैन । यससँगै हामीले माबोइलमा पनि चल्ने सिष्टम थप्नु र रियल टाइम सेटलमेन्ट हुनु पर्यो भन्ने जस्ता सुझाव दिएको उनले बताइन् । के भन्छ त नेप्से ? धितोपत्र बोर्डबाट बन्द गराउन निर्देशन प्राप्त भएकाले बन्द गरिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले बताए । त्यसमा पनि केही कारण होला खुलाई दिनुस् न भन्ने विकासन्युजको प्रश्नमा उनले भने- ‘त्यसमा कारण त केही छैन । एक हप्ता तयारीको लागि हो, लगानीकर्ता कनेक्ट आईपीएसमा जानुपर्यो । ब्रोकरका कर्मचारीहरु पनि बाहिर हुनुहुन्छ । उहाँहरुलाई पनि आउने समय दिनु पर्यो । त्यसैले सबैलाई तयारी अवस्थामा रहनको लागि तथा लगानीकर्ताको सुविधाको लागि ध्यानमा राखेर ४ दिनको लागि बजार बन्द गरिएको हो । सम्भवतः आइतबारदेखि बजार खुल्छ ।’ यसाे भन्छ धिताेपत्र बाेर्ड धितोपत्र बोर्डका भीष्मराज ढुंगानाले बजार खुलाउनको लागि गर्नुपर्ने केही नीतिगत र प्राविधिक तयारी नपुगेकोले यो साता बजार बन्द भएको बताए । लगानीकर्तालाई सहज हुने केही काम गरी सकेर अर्काे सातादेखि बजार खुल्ने उनको भनाइ छ । ‘अनलानइन कारोबारका केही काम बाँकी छन्, ती काम यो साताभित्रमा सकिन्छ, यस्तै नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयसँग सम्बन्धित केही विषय पनि बाँकी छन्, लगानीकर्ताले उठाएका ती विषय पनि सम्बोधन गरेर बजार खोल्न लाग्दा केही ढिलाइ भएको हो,’ अध्यक्ष ढुंगानाले भने ।
अर्थतन्त्रमा विप्रेषणको काँध, लकडाउन नखुल्दै कारोबारमा वृद्धि
काठमाडौं । संकटको बेलामा पनि नेपालको अर्थतन्त्रमा विप्रेषणले काँध थापेको छ । विश्व व्यापी कोरोना महामारी चलिरहेदा पनि नेपालले पाएको रेमिट्यान्स आम्दानीमा सामान्य गिरावट आएको छ । गत पुसको पहिलो साता चीनमा कोरोना देखिएको थियो । छोटो समयमा नै यो रोगले विश्वव्यापी रुप लियो । चैत ११ देखि नेपालमा बन्दाबन्दी भएको थियो । चीनमा कोरोना देखिएका ६ महिनापछि र नेपालमा बन्दाबन्दी दुई महिनापछि पनि नेपालले आर्जन गरेको विप्रेषण्मा धेरै गिरावट छैन । नेपाल राष्ट्रद बैंकका अनुसार चालु आर्थिक वर्षको प्रथम १० महिना अर्थात बैशाखसम्म रु.६८० अर्ब ८४ करोड विप्रेषण आम्दानी भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६.१ प्रतिशतले कमी हो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.४ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३६.८ प्रतिशतले घटेको थियो । बस्तु व्यापारमा नेपालले रु ९ खर्ब ४३ अर्ब ७ करोड र सेवा व्यापारमा रु. ३ अर्ब १३ करोड गरी अन्तराष्ट्रिय व्यापारमा १२ खर्ब ५६ अर्ब नोक्सानी वेहोरोको छ । गाेविन्द गुरूङ तर विदेशी शोधनान्तर स्थिति रु.१२० अर्ब ९० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६८ अर्ब २० करोडले घाटामा रहेको थियो । विप्रेषण आयले काँध थापेकै कारण सरकारको वित्तीय सन्तुलन कामय नै रहेको जानकारहरु बताउँछन् । ‘रेमिट्यान्स आयमा थोरै कमि आएको छ । यो हाम्रो अर्थतन्त्रको लागि राम्रो संकेत हो’ सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ भन्छन्–‘चैतमा रेमिट्यान्स आय कम भएको थियो । बैशाख र जेठमा फेरी रेमिट्यान्स कारोबारमा सुधार देखिएको छ ।’ रेमिट्यान्स आप्रवाहमा सुधार भएसँगै बैंकमा लगानी योग्य पुँजी वृद्धि भएको छ । लकलाडउन पूर्वा कर्जा निक्षेप अनुपात ७८ प्रतिशतको हाराहारीमा रहेकोमा अहिले यस्तो अुनपात ७३ प्रतिशतमा झरेको छ । कर्जा–निक्षेप अनुपात बढी हुनु भनेको वित्त बजारमा लगानीयोग्य पुँजीको कमी हुनु हो भने यस्तो अनुपात तल जाँदा लगानी योग्य पुँजी वित्तीय संस्थामा थुप्रनु हो । तरलता वृद्धिसँगै बैंकहरुले निक्षेपको व्याज पनि घटाएका छन् । लकडाउनु पूर्व १० प्रतिशत नजिक रहेको मुद्दतिको व्याजदर अहिले ७ देखि ८ प्रतिशतको बीचमा रहेको बैंकहरुले सार्वजनिक गरेको व्याजदर सूचनामा उल्लेख गरिएको छ ।
म्याच फिक्सिङको अभियोग लागेका सागर थापासहित सबै खेलाडीलाई सफाइ
काठमाडौं । सर्वोच्च अदालतले म्याच फिक्सिङको अभियोग लागेका राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापासहित छ खेलाडीलाई सफाइ दिएको छ । न्यायाधीश डा आनन्दमोहन भट्टराई र बमकुमार श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतको फैसला सदर गर्दै खेलाडीलाई सफाइ दिने फैसला गरेको हो । सफाइ पाउनेहरुमा राष्ट्रिय फुटबल टिमका तत्कालीन कप्तान थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, विकाससिंह क्षेत्री, खेलाडीहरु अञ्जन केसी र डेबिड थापा रहेका छन् । विभिन्न देशसँगको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा तत्कालीन कप्तान थापासहितका खेलाडीलाई २०७२ असोज २७ गते प्रहरीको अपराध महाशाखाले पक्राउ गरी जेठ २४ गते विशेष अदालतमा राज्यविरुद्धको कसूरमा मुद्दा चलाएको थियो । यसअघि नै विशेष अदालतले सफाइ दिने फैसला गरेको थियो ।