विकासन्युज

सुलभ अग्रवाल र योगेन्द्र श्रेष्ठ नजिरः अदालतको ढोकामा सम्पत्ति शुद्धीकरणको सेन्ट्री !

काठमाडौं । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा विक्री गरेर कालोबजारी गरेको अभियोगमा २५ चैतमा नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले व्यवसायी सुलभ अग्रवाललाई पक्राउ गर्यो । र, काठमाडौं जिल्ला अदालतले १८ वैशाखमा उनलाई २५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । अदालतको आदेश भएपनि अग्रवाल रिहा भएनन् । उनलाई अदालतको ढोकाबाट नै पुनः पक्राउ गरियो । अभियोग थियो- सम्पत्ति शुद्धीकरणको । यद्यपि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तारेखमा छोड्यो । तत्कालिन नेपाल सेयर मार्केट बैंकिङ एण्ड फाइनान्सका प्रबन्ध संचालक योगेन्द्र श्रेष्ठलाई बैंकिङ कसुरको अभियोग लाग्यो । अभियोग प्रमाणित पनि भयो । अभियोग प्रमाणित भएका कारण उनी कसुर अनुसार जेल परे । जेलमुक्त भएपछि अहिले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २ अर्ब ६६ करोड रुपैयाँको स्रोत नखुलेको भन्दै मुद्दा दायर गरेको छ । यी दुईटा प्रतिनिधि घटना हुन् । गैरकानुनी रुपमा धन आर्जन गरेका व्यक्तिहरुको सम्पत्तिको स्रोत राज्यले खोज्नै पर्छ । यो राज्यको दायित्वभित्र पनि पर्छ । तर, सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग प्रभावकारी अनुसन्धान भन्दा पनि सहज देखिएका घटना र पात्रमा केन्द्रित भएको यी घटनाले पुष्टी गर्छ । विभागमा गुण्डागर्दी गरेर अकुत सम्पत्ती आर्जन गरेका गुण्डा नाइके, अस्वभाविक रुपमा सम्पत्ती आर्जन गरेका नेता तथा कर्मचारी र अन्य विभिन्न व्यवसायी विरुद्ध दर्जनौं उजुरी परेका छन् । तर, त्यस्ता उजुरीको उचित छानविन गरेर आवश्यक कारबाहीको लागि न्यायिक निरुपणमा जानुको साटो विभाग केही झिनामसिना मुद्दा दर्ता गरेर तथा अन्य अभियोगमा न्यायिक निरुपण प्रक्रियामा रहेका तथा अभियोग प्रमाणित भएका व्यक्तिमाथि मात्रै अनुसन्धानमा सिमित भएको छ । विभागलाई कानुनले नै स्पष्ट अधिकार दिए पनि र अन्तराष्ट्रिय रुपमा विभागको महत्व असाध्यै धेरै भएपनि राजनीतिक दबाबका कारण स्वतन्त्र रुपमा काम गर्न नसकिने अवस्था रहेको विभागकै एक पूर्व महानिर्देशक बताउँछन् । ‘विभागको महानिर्देशक भएर जाने भनेको सहसचिवहरु नै हुन्, कतिपय समकक्षी सहसचिव, आफूभन्दा माथिल्लो ओहोदाका सचिव र मुख्यसचिव विरुद्ध पनि उजुरी परेका हुन्छन्, त्यसैले कतिपय अवस्थामा महानिर्देशक भएर जाने सहसचिवले प्रभावकारी अनुसन्धानमा आँट नगर्ने पनि देखिएको छ, नेता तथा प्रभावशाली व्यक्तिहरु विरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न त निकै गाह्रो हुन्छ, राजनीतिक दबाब असाध्यै धेरै आउँछ,’ ती पूर्व महानिर्देशकले अनुभव सुनाए । आफू सत्तामा रहेको समयमा राजनीतिक नेतृत्वले विभागलाई राजनीतिक र अन्य स्वार्थ पूरा गर्न पनि विभागको त्रास देखाउने गरेका उदाहरण छन् । केही समयअघि प्रभावकारी बैंकर र केही नेताविरुद्ध उजुरी परेको र आफूले अनुसन्धान गरिरहेको मिडियाबाजी गरेर चर्चामा आएको विभागले ती उजुरीमाथि अनुसन्धान गरेर प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन । कुनै समय विभागले असाध्यै ताकेता गर्ने र ‘लाइन मिलाएपछि’ त्यस्ता विषय त्यसै सामसुम भएर जाने गरेको एक व्यवसायीले बताए । ‘गएको माघ अन्तिम सातातिर विभागले करसँग सम्बन्धित धेरै कागजात पेश गर्न पत्राचार गरेको थियो, यो विषयमा प्रभावकारी अनुसन्धान होला र हामीलाई निकै तनाव होला भन्ने हामीले अनुमान गरेका थियौं, तर कुरा त्यस्तो होइन रहेछ, त्योभन्दा अघिको जस्तै गरी प्रक्रिया मिलाएर सहज अवतरण गराउन सकियो,’ ती व्यवसायीले भने । उनले ‘प्रक्रिया मिलाएर सहज अवतरण गराउन सकियो’ भन्ने वाक्यांशको अर्थ खुलाएनन् । विभागले गत माघ अन्तिमसातातिर निजी क्षेत्रमाथि ‘पत्र आतंक मच्चाएको’ थियो । विभागले पठाएको पत्रमा ‘विभागलाई प्रारम्भिक जाँचबुझका सिलसिलामा तपशिल बमोजिमका कम्पनीको हालसम्म चुक्ता गरेको करको विवरण र कर कार्यालयमा पेश गरेको वासलात र नाफा नोक्सान हिसाव विवरण आवश्यक परेकाले उपलब्ध गराउने व्यवस्था गरिदिनु भई जाँचबुझ सम्बन्धी कार्यमा सहयोग गरिदिनुहुन अनुरोध’ गरिएको थियो । विभागको यस्तो कदम विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । फागुन पहिलो साता डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक सार्वजनिक गर्ने कार्यक्रममा उनले ‘कसैले सम्पत्ति कमाएको देख्नै नहुने ? कोही धनी हुनै नहुने ? कसैले धन कमाएको देख्ने वित्तिकै अनुसन्धान गरिहाल्नु पर्ने ?’ भन्दै विभागको सो कदमप्रति सार्वजनिक रुपमै प्रश्न गरेका थिए । विभागको सो गतिविधिको सहजीकरण प्रधानमन्त्री आर्थिक सल्लाहकार तथा पूर्व राजस्व सचिव लालशंकर घिमिरेले गरेका थिए । विभागलाई प्रभावकारी अनुसन्धान गर्ने निकायको रुपमा विकास गर्नुको साटो अन्तराष्ट्रिय वाध्यता सम्बोधन गर्ने कार्य मात्रै भइरहेको खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँले बताउँछन् । ‘कानुन र संरचना बनाउने सम्बन्धमा सम्पत्ति शुद्धीकरण विरोधी जस्तो देखिने तर कार्यान्वयन फितलो हुने र प्रकारान्तमा गलत काम गर्नेलाई नै उन्मुक्ति दिने हाम्रो राज्य संरचनाको प्रबृत्ति नै हो, सम्पत्ति शुद्धीकरण निवारणको क्षेत्रमा हामीले पनि केही गरेका छौं भनेर अन्तराष्ट्रिय समुदायलाई देखाउने प्रयोजनको लागि मात्रै यस्ता संरचना बनाइएको जस्तो अभास मिलेको छ, जुन संरचना जुन प्रयोजनको लागि निर्माण गरिएको हुन्छ, त्यसको प्रयोग र परिचालन त्यसै अनुरुप हुनुपर्छ,’ बरिष्ठ पत्रकार गाउँलेले भने । सम्बन्धित सामग्री कालोबजारी, सुलभ अग्रवाल र सरकारमाथि उठेका प्रश्न निजी क्षेत्रसँग ब्ल्याकमेलिङ गर्दै सरकार प्रधानमन्त्री ओलीले रोके सम्पत्ति शुद्धीकरणको पत्र आतंक

क्वारेन्टाइन बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग

काठमाडौं । नेपाल महिला सङ्घले कैलालीको लम्कीस्थित क्वारेन्टाइनमा राति सुतिरहेकी एक महिलामाथि भएको सामूहिक बलात्कार घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेको छ । सङ्घका अध्यक्ष उमा रेग्मीले मङ्गलबार एक विज्ञप्तिमार्फत पीडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न तथा घटनाका दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरे । गत जेठ ३२ गते कैलालीको लम्कीस्थित क्वारेन्टिनमा राति सुतिरहेकी एक महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवकलगायत चार जनाबाट पासविक तवरले सामूहिक बलात्कार भएको घटनाले स्तब्ध भएको सङ्घले जनाएको छ । साथै सङ्घले अव्यस्थित भएका क्वारेन्टिन महिलाका लागि हिंस्रक खाडल भएको जनाएको छ । अध्यक्ष रेग्मीले लकडाउनकै समयमा क्वारेन्टिनभित्र १ हजार ६ सय ८४ महिलामाथि हिंसा भएको र कतिपय हिंसाका घटना सार्वजनिक हुन नसकेको समेत उल्लेख गरे । उनले महिलामाथिका यस्ता घटना बढ्दै गइरहेको भन्दै कोरोना महामारीको यस्तो अवस्थामा नागरिकको सुरक्षा गर्न, रोग र भोकबाट बचाउन सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताए ।   रासस

बहुविवाहको आरोपमा सात वर्षपछि जेल

बहुविवाहको आरोपमा सप्तरीको बोदेबर्साइन नगरपालिका–९ देउरीका २७ वर्षीय विश्वनाथ साहलाई प्रहरीले पक्राउ गरेको छ । सप्तरी जिल्ला अदालतबाट एक वर्ष कैद सजाय पाएका आरोपित साह सात वर्षपछि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । जिल्ला अदालतले विसं २०७० माघ १२ गते बहुविवाह मुद्दामा साहलाई एक वर्ष कैद सजायको फैसला गरेको थियो । पक्राउ परेका अभियुक्तलाई कैद सजायका लागि राजविराज कारागारमा थुनामा पठाइएको छ । जेठी श्रीमती आशाकुमारी साहले आफू श्रीमती हुँदाहुँदै आरोपित साहले बलानबिहुल गाउँपालिका–४ बेल्हीकी २२ वर्षीया भवानीकुमारी साहसँग विसं २०६९ मा विवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । जेठी श्रीमतीले आरोपितविरुद्ध जिल्ला प्रहरी कार्यालयमा २०६९ चैत ९ गते वैवाहिक बलात्कारको उजुरीसमेत दर्ता गरे । वैवाहिक बलात्कारको आरोपमा २५ दिन थुनामा रहेका आरोपित २०७० वैशाख ४ गते रु २५ हजार धरौटीमा रिहा भएका थिए भने फैसला हुँदा सफाइ पाएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक रामराजा केशरीले जानकारी दिए । सप्तरी जिल्लाका लागि यो वैवाहिक बलात्कारको मुद्दा पहिलो रहेको जिल्ला अदालतले जनाएको छ ।   रासस

सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताए । मङ्गलबार स्याङ्जामा कोरोना सङ्क्रमित भएर जिल्लाका विभिन्न अस्पतालमा आइसोलेसनमा रहेर उपचार गराइरहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारेमा जानकारी लिनुका साथै आइसोलेसनको निरीक्षण गर्ने क्रममा मुख्यमन्त्री गुरुङले सो कुरा बताएका छन् । मुख्यमन्त्री गुरुङले भिरकोटमा रहेको कालिका सामुदायिक अस्पताल हेलु र गल्याङ नगरपालिकामा रहेको नगर अस्पतालको निरीक्षण गरे । मुख्यमन्त्री गुरुङले भने, “विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले कोरोना सङ्क्रमण भए पनि लक्षण नदेखिएकालाई १४ दिनपछि परीक्षणबिना घर पठाउने भने पनि प्रदेश सरकारले सङ्क्रमितको पिसीआर परीक्षण गरेर सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछ ।” मुख्यमन्त्री गुरुङले भारतबाट आएकालाई राख्न क्वारेन्टिनको व्यवस्थापनसँगै आइसोलेसन अस्पताल निर्माणमा तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेकाले सोहीअनुसार काम गर्नुपर्ने बताए । प्रदेश सरकार जनताको स्वास्थ्यप्रति सचेत रहेको बताउँदै मुख्यमन्त्री गुरुङले सबै मिलेर कोरोनाको सामना गर्नुपर्नेमा जोड दिए । रासस

चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको सङ्ख्या २० पुग्यो

काठमाडाैं । भारतीय र चिनियाँ सैनिकबीच लद्दाखको विकट गलवान उपत्यकामा सङ्घर्ष भएको भारत सरकारले पुष्टि गरेको छ । लद्दाखमा भएको भिडन्तमा मारिने भारतीय सैनिकको सङ्ख्या २० पुगेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाको पछिल्लो वक्तव्य अनुसार चिनियाँ सैनिकहरूसँग सोमवार भएको भिडन्तमा घाइते भएका थप १७ जना भारतीय सैनिकहरूको मृत्यु भएको छ । वक्तव्यमा भनिएको छस् भारतीय र चिनियाँ सैनिकहरूबीच गलवान इलाकामा सङ्घर्ष विराम भएको छ, जहाँ दुवै पक्षबीच १५्/१६ जुनको रातमा भिडन्त भएको थियो । भिडन्त भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरूको शून्य डिग्री सेल्सीअसभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा तिनीहरूलाई लागेको चोटका कारण मृत्यु भएको छ । सेनाका अनुसार दुई देशका वरिष्ठ सैन्य अधिकारीहरू विवाद समाधान गर्न वार्ता गर्दैछन् । केही समययता लद्दाखको गलवान क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेकाले विवाद बढेको भारतीय पक्षको भनाइ छ ।

एक लाख ३८ हजार मेट्रिक टन चामल मौज्दात

काठमाडाैं । सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग १ लाख २३ हजार २ सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको छ । तथ्याङ्कअनुसार खाद्य कम्पनीसँग रहेको मौज्दात चामलमध्ये २ हजार ९ सय ५३ मेट्रिक टन दुर्गमका २३ जिल्लामा रहेको छ । यसैगरी निजी क्षेत्रका उद्योगसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रसँग रहेको ९८ हजार ५४ मेट्रिक टन धानबाट ६३ हजार २ सय ४५ मेट्रिक टन चामल उत्पादन हुने अनुमान गरी निजी क्षेत्रसँग एक लाख २३ हजार २ सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको बताइएको छ । मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चामलसँगै ६ सय ५१ क्विन्टल फापर, ५ सय क्विन्टल सिमी, ५ सय ४३ मेट्रिक टन गहुँ खरिद गरी मौज्दात राखिएको छ भने १३ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ । धान र गहुँ खरिद प्रक्रियामा रहेको जनाइएको छ । त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा २ हजार ७ सय ४८ मेट्रिक टन नुन मौज्दात रहेको र आयात प्रक्रियामा रहेको १ लाख ३६ हजार ७ सय ७५ मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ । साल्ट ट्रेडिङसँग २ हजार १ सय ६८ मेट्रिक टन चिनी र निजी उद्योगसँग ३६ हजार ४ सय ६६ गरी ३८ हजार ६ सय ३४ मेट्रिक टन चिनी मौज्दात रहेको छ । निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ तथा चना १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने ८३ हजार ९ सय ६७ मेट्रिक टन खानेतेल आयात प्रक्रियामा रहेको जनाइएको छ । तेल उद्योगसँग १ सय मेट्रिक टन पामआयल, २ हजार ८ सय ६८ मेट्रिक टन पामोलिन तेल, १ हजार ८ सय ३० मेट्रिक टन सोयाबिन तेल, १ हजार ३ सय ६५ मेट्रिक टन सूर्यमुखी तेल मौज्दात रहेको छ । यसैगरी ६ हजार ८ सय ८४ मेट्रिक टन तेल आयातको प्रक्रियामा रहेको छ भने ५३ हजार २ सय ६४ मेट्रिक टन तेल कोलकातामा मौज्दात छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल आयल निगमको थानकोट डिपोमा ३५ हजार ९ सय २८ किलोलिटर डिजेल, सात हजार ५८ किलोलिटर पेट्रोल र १ हजार ३ सय ६० किलोलिटर मट्टिलेत मौज्दात रहेको छ । यसैगरी निगमको सिनामङ्गल डिपोमा ६ हजार ४ सय २९ किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ भने विभिन्न ग्यास उद्योगसँग १ हजार ४ सय ३२ मेट्रिक टन ग्यास मौज्दात रहेको छ । सहप्रवक्ता केसीका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको आयातको तुलनामा बिक्री वितरणमा वृद्धि भएको छ भने खाना पकाउने ग्यासको दैनिक आयातको तुलनामा मागमा वृद्धि भएको छ ।   रासस

भारतमा कोरोनाकाे कहर : एकै दिन २ हजार बढीको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा थप २ हजार ६ जनाको कोरोना भाइरसबाट मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको ११ हजार ९ सय २१ जना पुगेको । पछिल्ला दिनमा भारतको महाराष्ट्रमा कोरोना संक्रमणले भयाहक अवस्था पैँदा गरेको छ ।  हालसम्म ३ लाख ५४ हजार १ सय ६१ ज्ना कोरोना संक्रमित रहेको भारत १ लाख ८७ हजार ५ सय बढी रहेको छ । सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २७ सय १ जना संक्रमित थपिएर १ लाख १३ हजार ४ सय ४५ जना संक्रमित हुँदा २४ घण्टामा १ हजार ४ सय ९ जनाको ज्यान गएको छ । मृतक ५ हजार ५ सय ३७ पुगे । २४ घण्टामा दिल्लीमा ४३७, तमिलनाडुमा ४९, गुजरातमा २८, उत्तर प्रदेशमा १८, राजस्थानमा ७, वेष्ट बंगालमा १०, मध्य प्रदेशमा ११, हरियाणामा १८, कर्नाटकमा ७, बिहारमा २, आन्ध्रप्रदेशमा २ जनाको ज्यान गएको छ । भने  तेलंगानामा ४, जम्मूकश्मीरमा १, पंजाबमा २, उत्तराखण्डमा १ जनाको ज्यान गएको छ । त्यस्तै काेराेना संक्रमण बढ्दै जाँदा पनि भारत सरकारले लकडाउन कडाइँ गर्ने विषयमा केही कुरा सार्वजनिक गरेकाे छैन् ।

संसारभर कोरोनाबाट साढे ८२ लाख संक्रमित, निको हुनेको संख्या ४३ लाख नजिक

काठमाडौं । नेपाली समयअनुसार आज विहान ६ बजे सम्ममा संसारभरीमा कोरोना भाइरस संक्रमितको संख्या ८२ लाख ५१ हजार ६८ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ४ लाख ४५ हजार १ सय ८५ जनाको मृत्यु भइसकेको छ भने ४२ लाख ९९ हजार २ सय २१ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख १९ हजार १ सय २९ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने २२ लाख ८ हजार २ सय ४४ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या ३ लाख ५४ हजार १ सय ६१ पुगेको छ भने अहिलेसम्म ११ हजार ९ सय २१ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म ६ हजार ५ सय ९१ जना संक्रमित भएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १ हजार १ सय ५८ जना चाहिँ निको भएर घर फर्किसकेका छन् । (तथ्यांक साभारः वल्डोमिटर)