काठमाडाैं । सरकारी तथा निजी क्षेत्रका व्यवसायीसँग डेढ लाख मेट्रिक टन चामल मौज्दात रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग १५ हजार ५९ मेट्रिक टन र निजी क्षेत्रसँग १ लाख २३ हजार २ सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको छ ।
तथ्याङ्कअनुसार खाद्य कम्पनीसँग रहेको मौज्दात चामलमध्ये २ हजार ९ सय ५३ मेट्रिक टन दुर्गमका २३ जिल्लामा रहेको छ । यसैगरी निजी क्षेत्रका उद्योगसँग ६० हजार मेट्रिक टन चामल मौज्दात रहेको मन्त्रालयले जनाएको छ । निजी क्षेत्रसँग रहेको ९८ हजार ५४ मेट्रिक टन धानबाट ६३ हजार २ सय ४५ मेट्रिक टन चामल उत्पादन हुने अनुमान गरी निजी क्षेत्रसँग एक लाख २३ हजार २ सय ४५ मेट्रिक टन चामल मौज्दात रहेको बताइएको छ ।
मन्त्रालयका सहप्रवक्ता उर्मिला केसीका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग चामलसँगै ६ सय ५१ क्विन्टल फापर, ५ सय क्विन्टल सिमी, ५ सय ४३ मेट्रिक टन गहुँ खरिद गरी मौज्दात राखिएको छ भने १३ मेट्रिक टन दाल तथा गेडागुडी मौज्दात रहेको छ । धान र गहुँ खरिद प्रक्रियामा रहेको जनाइएको छ ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग दुर्गमका जिल्लामा २ हजार ७ सय ४८ मेट्रिक टन नुन मौज्दात रहेको र आयात प्रक्रियामा रहेको १ लाख ३६ हजार ७ सय ७५ मेट्रिक टन नुन आयात प्रक्रियामा रहेको छ । साल्ट ट्रेडिङसँग २ हजार १ सय ६८ मेट्रिक टन चिनी र निजी उद्योगसँग ३६ हजार ४ सय ६६ गरी ३८ हजार ६ सय ३४ मेट्रिक टन चिनी मौज्दात रहेको छ । निजी क्षेत्रका व्यापारीसँग दाल, केराउ तथा चना १६ हजार ८१ मेट्रिक टन मौज्दात रहेको छ भने ८३ हजार ९ सय ६७ मेट्रिक टन खानेतेल आयात प्रक्रियामा रहेको जनाइएको छ ।
तेल उद्योगसँग १ सय मेट्रिक टन पामआयल, २ हजार ८ सय ६८ मेट्रिक टन पामोलिन तेल, १ हजार ८ सय ३० मेट्रिक टन सोयाबिन तेल, १ हजार ३ सय ६५ मेट्रिक टन सूर्यमुखी तेल मौज्दात रहेको छ । यसैगरी ६ हजार ८ सय ८४ मेट्रिक टन तेल आयातको प्रक्रियामा रहेको छ भने ५३ हजार २ सय ६४ मेट्रिक टन तेल कोलकातामा मौज्दात छ ।
मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपाल आयल निगमको थानकोट डिपोमा ३५ हजार ९ सय २८ किलोलिटर डिजेल, सात हजार ५८ किलोलिटर पेट्रोल र १ हजार ३ सय ६० किलोलिटर मट्टिलेत मौज्दात रहेको छ । यसैगरी निगमको सिनामङ्गल डिपोमा ६ हजार ४ सय २९ किलोलिटर हवाई इन्धन मौज्दात रहेको छ भने विभिन्न ग्यास उद्योगसँग १ हजार ४ सय ३२ मेट्रिक टन ग्यास मौज्दात रहेको छ ।
सहप्रवक्ता केसीका अनुसार पछिल्लो समय पेट्रोलियम पदार्थको आयातको तुलनामा बिक्री वितरणमा वृद्धि भएको छ भने खाना पकाउने ग्यासको दैनिक आयातको तुलनामा मागमा वृद्धि भएको छ । रासस